Category: कला / साहित्य

  • कुलमान र बालेनबीच भेट

    कुलमान र बालेनबीच भेट

    १४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । मन्त्री घिसिङले आज भेटवार्ताको पुष्टी गर्दै भनेका छन्, देश बनाउने अभियानमा हामीसँगै छौँ।’ पछिल्लो समय नयाँ दलहरुबीच आगामी चुनावका लागि सहकार्यको चर्चा चलिरहेको समयमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    अहिअले पार्टीहरुबीच तीव्र ध्रुविकरण जारी छ । ठूला दलहरुसमेत एकता प्रक्रियामा छन् । जेन जी पुस्ताले भने साना र नयाँ दलहरुलाई आगामी निर्वाचनमा सहकार्य गर्न सुझाव दिइरहेका छन् । बालेन र कुलमानको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

  • रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

    रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

    काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

  • वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

    वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

    काठमाडौँ, १३ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकता, ध्रवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ । नेकपाले आज एक अपिल जारी गर्दै विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनःगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएकाले ध्रुवीकरण अभियानमा समाहित हुन आह्वान गरेको हो ।

    श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र माक्र्सवाद–लेनिनवाद भएकाले पार्टीको मार्गनिर्देशक सिद्धान्त पनि सोही भएको उल्लेख गर्दै नेकपाले सही विचार, राजनीतिक कार्यक्रम, सबैखाले अनुभव र ऊर्जाको सङ्केन्द्रण पार्टी एकताको सार भएको जनाएको छ ।

    “नेपाली पूँजीवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद पार्टीको रणनीतिक कार्यक्रम हो”, उक्त अपिलमा भनिएको छ, “यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आधारमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने सङ्कल्प हाम्रो एकताका मुख्य आधार हुन् ।”

    गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा तथा सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने अभिभाराका साथ विभिन्न १५ कम्युनिष्टसहित समाजवादी पार्टीबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको अपिलमा उल्लेख गरिएको छ ।

  • एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

    एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

    काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताए । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उनले भने, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।”

    उनले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताए । उनका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् । आज छनोट भएका प्रतिनिधि विवरण यही मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ । एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ ।

  • विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

    विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

    भक्तपुर, १३ मङ्सिरः मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रदर्शनीको समापनमा एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु ३० हजार नगदसहित ट्रफी र मेडल हात पारेको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिए ।
    प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीले भोट गरेको आधारमा प्रदर्शनरत उपकरण एवं सामग्रीमध्येबाट एभरेष्ट इङ्लिस स्कुलले रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा एवं प्रदर्शनी गरेवापत् प्रत्येक सहभागि ६७ विद्यालयलाई रु ६ हजारका दरले नगद प्रदान गरिएको थियो ।

    प्रदर्शनीमा उपत्यकाभित्रका ६७ विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ उपकरण एवं सामग्री राखिएका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य ऊर्जा, स्वास्थ्य, भवन निर्माणलगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरिएको थियो ।

    दुई दिनसम्म सञ्चालन भएको प्रदर्शनीको १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरेका थिए ।

  • निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    काठमाडौँ, १३ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए । नयाँ मतदाताको सङ्ख्यालाई आकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उनले उल्लेख गरे । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा शीघ्र जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने जनाए ।

    उनले एकीकृत सुरक्षा योजना तथा म्यादी प्रहरी छनोटको मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगेकाले थप हुने मतदान केन्द्रका आधारमा जनशक्ति स्पष्ट हुने बताए । निर्वाचनका क्रममा कूल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानले पाउनेसरह आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा पाउनेछन् । निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिए ।


    केन्द्रीय सुरक्षा समितिले निर्वाचनभन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ । निर्वाचनका लागि सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट बिहीबार नेपाली सेना परिचालनको स्वीकृति भइसकेको छ । निर्वाचनको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् भने म्यादी प्रहरीले नेपाल प्रहरीलाई सघाउनेछन् ।

    यही मङ्सिर ५ गते सम्पन्न भएको मतदाता नामावली सङ्कलन कार्यमा फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नयाँ मतदाता मतदान नामावलीमा दर्ता भएसँगै कूल मतदाता एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ ।

    आयोगले विवरणमा त्रुटि सच्याउन वा उजुरी दिन सकिने समय दिएपछि अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । त्यसबेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए ।

  • निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

    निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, १३ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्तिसुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको स्पष्ट गरिन् ।

    गौरवमय इतिहास भएको नेपाली सेनाले निर्वाचन सुरक्षाका क्रममा यसअघि जस्तै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् । “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिन्छु”, प्रधानमन्त्रीले भनिन् ।
    आगामी निर्वाचनका क्रममा नागरिकको ज्यान जाने र घाइते हुने अवस्था आउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिइन् ।

    प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलाससहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न, मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न तथा फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिइन् । जङ्गी अड्डा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिइन् । यसैगरी सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ‘ब्रिफिङ¬’ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो । प्रधानमन्त्रीलगायत भ्रमण टोलीमा संलग्न विश्ष्टि पदाधिकारीहरुलाई प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए । निरीक्षण भ्रमण टोलीमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याललगायत विश्ष्टि अधिकारीको उपस्थिति थियो ।

  • मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

    मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

    काठमाडौँ, १२ मङ्सिरः यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिए । पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

    नेपालको संविधानका उपलब्धिलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष, सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा सो पार्टीका सैद्धान्तिक दृष्टिकोण रहेका छन् । सो पार्टीको अवधारणा मन्त्री कुलमान घिसिङको हो । कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा रहने छन् ।

  • नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

    नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

    काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले आज यहाँ नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला आयोजना गरेको छ । उनीहरुले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित बृहत भेला आयोजना गरेका हुन् । भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए ।


    कार्यक्रमका वक्ता एवं नेविसङ्घका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेपाल विद्यार्थी सङ्घलगायत भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको बताए । उनले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे । कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने तथा जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखे । उनले भने, “पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक छैन । वडादेखि केन्द्रसम्म जेनजी युवाको प्रतिनिधित्व सुनिश्चितता गराउन नियमित महाधिवेशन आवश्यक छ ।”

    अधिकांश वक्ताहरुले देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

  • पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

    पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

    काठमाडौँ, १२ मङ्सिरः पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । आज रास्वपाले उनलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरेको छ । रास्वपाले आजै अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ । त्यसैगरी पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजनमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्रसमेत रहने उम्मेदवार छनोट अडिट समिति गठन गरिएको जनाइएको छ । त्यसैगरी, विभिन्न केन्द्रीय विभाग तथा आयोगमा पनि १५ जनाको नयाँ मनोनयन गरिएको छ ।

    आजै रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणाको तयारी अघि बढाइएको जनाएको छ । सो पार्टीको आजको सचिवालय बैठकले पार्टी एकता घोषणा कार्यक्रमबारे छलफल गर्न आजै केन्द्रीय समितिको बैठक डाकिएको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार उच्च संवाद समितिले प्रस्तुत गरेको प्रगतिसहित परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूलाई एउटै ध्रुवमा ल्याउने प्रक्रियामा उल्लेख्य उपलब्धि नजिकिएको बैठकमा जानकारी गराइएको थियो ।

  • भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

    भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

    म्याग्दी, १२ मङ्सिर । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो ।

    रु नौ लाख ७४ हजार खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । “गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटीलगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ती जडान गरिएको हो”, उनले भने, “रातको समयमा पनि उज्यालो भएपछि भक्तजनलाई सहज, सुरक्षा व्यवस्थापनमा सहयोग पुग्नुका साथै गलेश्वर मन्दिर परिसर पनि रमणीय देखिएको छ ।”

    सोह्र मिटर अग्लो विद्युत्को पोलको टुप्पामा चारैतिर फर्काएर चार–चार सय वाट क्षमताका आठ वटा बत्ती राखिएको छ । अग्लो पोलमा राखिएको बत्तीले मन्दिर परिसरलाई उज्यालो बनाएको छ । रातको समयमा मात्र बत्ती बल्ने र दिउँसो बन्द हुने स्वचालित उपकरण जडान भएको छ । कोषका संरक्षकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बत्तीको स्वीच थिचेर बिहीबार साँझ उद्घाटन गरे । कोषका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीलगायत प्राविधिक र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि टोलीको उपस्थिति थियो ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

    गलेश्वर मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ । यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्यसचिव सम्मरबहादुर थापाले बताए । उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।

  • प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

    प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

    काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनका वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायत नेताले सरकार गठन र संसद् विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने र निर्वाचनको निष्पक्षताबारेमा ढुक्क हुनुपर्ने विषय राखेका थिए ।


    छलफलमा सहभागी एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले देशमा भइरहेका विभिन्न घटनाले पनि निर्वाचनको वातावरण बनिनसकेको प्रधानमन्त्रीलाई स्मरण गराइएको बताए । एमालेले आफूहरु निर्वाचनबाट डराएर भाग्ने पक्षमा भने नरहेको पनि स्पष्ट गरेको छ । सर्वोच्च अदालतमा एमालेका तर्फबाट र अन्य अधिवक्ताहरुका तर्फबाट परेका रिट विचाराधीन रहेको छ भने आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन सरकार र निर्वाचन आयोग जुटिसकेको छ ।

    निर्वाचनको तयारीलाई घनिभूत बनाउन प्रमुख दलसँग संवाद बढाउने क्रममा आज प्रधानमन्त्री कार्कीले एमालेका नेतहरुलाई बोलाएकी हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनको विश्वसनीयतामा शङ्का नगर्न आग्रह गर्दै जेनजी आन्दोलनको मूल मर्म नै नयाँ जनादेश रहेकाले चुनावमा केन्द्रित हुनु सबैको दायित्व भएकामा जोड दिनुभएको उनको सचिवालयले जनाएको छ ।

    एमालेले सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिनु, फरार कैदी पक्राउ नपर्नु र लुटिएका सबै हतियार फिर्ता नहुनुजस्ता घटनाले पनि निर्वाचनको वातावरणमा प्रश्न उठेको जनाएको थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई स्थान हद गरिनु पनि लोकतान्त्रिक अभ्यास नभएकामा एमाले नेताहरुले ध्यानाकर्षण गराएको नेता बर्तौलाले जानकारी दिए ।

  • पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

    पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

    काठमाडौँ, ११ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए ।

    पुरातत्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए ।

  • एमालेको दल दर्तासँगै दलहरु चुनावमा होमिएको सरकारको निष्कर्ष

    एमालेको दल दर्तासँगै दलहरु चुनावमा होमिएको सरकारको निष्कर्ष

    ९ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । खरेललाई पत्रकारले सर्वोच्च अदालतमा दलहरू समेत प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर जान थालेको, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै नियन्त्रणमा आउन नसकेको अवस्थामा कसरी चुनाव हुन्छ भनेर सोधका थिए ।

    जवाफमा खरेलले चुनाव हुँदैन कि भनेर शंका गरिरहेका राजनीतिक दलहरू समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा आइसकेको बताए । ‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अगाडि बढाएको छ । महत्त्वपूर्ण प्राय सबै राजनीतिक दलहरूले निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन्,’ खरेलले भनेका छन्, ‘तपाईंले कुरा उठाउनु भएको राजनीतिक दलले पनि निर्वाचन आयोगमा आज मात्रै दल दर्ता र नविकरणको प्रक्रिया अगाडि बढाइसकेको छ ।’

    मंगलबार नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत करिब ७० वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् ।

    यसैलाई आधार देखाएर मन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेको बताएका हुन् । ‘निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले दल दर्ता गरिसके । हामी निर्वाचन विरोधी होइनौं भनिरहेका छन् । सुरक्षाको वातावरण बनाउ भनिरहेका छन् । गाउँटोलदेखि जिल्ला देखि निर्वाचन क्षेत्रसम्म निर्वाचन लक्षित बिभिन्न कार्यक्रम गरिसकेका छन्’ उनले भने । सबै दलहरू चुनावका लागि तयार भएको पनि उनले बताए ।

    ‘सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके । जुन राजनीतिक दलहरू चुनावमा आउँदैनन् कि भन्ने आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुभएपछाडि अब निर्वाचनको वातावरण राजनीतिक दलको तर्फबाट बनिसक्यो ।’

    मतदाता नामावलीमा समेत नाम दर्ता गरेर जनता चुनावमा होमिइसकेको उल्लेख गर्दै उनले सुरक्षा निकाय समेत तम्तयार रहेको बताए । निर्वाचन प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सम्बन्धित निकायका पठाइसकेको उल्लेख गर्दै उनले चुनावको वातावरण बनेर धेरै अगाडि बढिसकेको दोहोर्‍याए ।

  • एमालेमा इश्वर पोखरेलले गरे अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    एमालेमा इश्वर पोखरेलले गरे अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    ९ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए ।

    मंगलबार भने उनले विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । साथै, उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको पनि बताएका छन् ।

    मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए । तर जेनजी आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन् । पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको समर्थन रहेको बताइएको छ ।

  • निर्वाचनको प्रयोजनका लागि एमालेले पनि गरायो दल दर्ता

    निर्वाचनको प्रयोजनका लागि एमालेले पनि गरायो दल दर्ता

    ९ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा। भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए । प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए । एमाले ६६ नम्बरमा दर्ता भएको हो ।

    दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए । निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये जुन-जुन दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्छन उनीहरूले निर्वाचनमा भाग लिन पाउँछन् ।

  • मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

    मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

    काठमाडौँ, ९ मङ्सिरः मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उनी नियुक्त भएका थिए । मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे ।


    उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पारे । अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ ।

    एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ । योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ ।

    सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ । उहाँको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ । उनका कार्यकालमा अन्तरराष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ ।

  • निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

    निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

    काठमाडौँ, ९ मङ्सिरः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।

    आयोगका अनुसार यही मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए । आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

  • बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    मुम्बई, ९ मङ्सिर (रासस–एएफपी) । भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ अभिनय गर्ने उहाँको क्षमता प्रशंसनीय मानिन्थ्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै भन्नुभयो, “धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एउटा युगको अन्त्य भएको छ । उहाँ एक प्रतिष्ठित कलाकार मात्र होइन, हरेक भूमिकामा गहिराइ, आकर्षण र मौलिकता भर्ने अद्वितीय अभिनय प्रतिभाका धनी व्यक्ति हुनुहुन्थ्यो ।”

    अभिनेता धर्मेन्द्रको स्वास्थ्य पछिल्ला महिनाहरूमा राम्रो थिएन र उपचारका लागि केही समयअघि उहाँलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।
    धर्मेन्द्रले करिब छ दशक लामो आफ्नो चम्किलो करियरमा २५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभयो । साथै उहाँले संसद् सदस्यके रूपमा पनि सेवा गर्नुभयो र भारतका उच्च नागरिक सम्मानमध्ये एक प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुभयो । सन् १९८० को दशकमा उहाँले एक्सनप्रधान चलचित्रहरूको लामो शृङ्खलामा काम गर्दै ‘हि–म्यान’ उपनाम पाउनुभयो । त्यसअघि–पछि उहाँले गरेका थुप्रै बेजोड भूमिकाहरू आज पनि बलिउड इतिहासका अविस्मरणीय कोसेढुङ्गाका रूपमा सम्झिन्छन् ।

    धर्मेन्द्रको सबैभन्दा चर्चित र प्रिय भूमिकामध्ये सन् १९७५ को क्लासिक फिल्म ‘सोले’ मा उहाँले निभाएको ‘वीरु’ विशेष उल्लेखनीय मानिन्छ । वीरुको हाँसो, जोश र उदार मनका लागि उहाँ आज पनि दर्शकमाझ उत्तिकै लोकप्रिय हुनुहुन्छ । छ सन्तानका पिता धर्मेन्द्र आफ्ना छोराहरू—सन्नी देओल र बबी देओल—अभिनीत चलचित्रहरूको निर्माणमा समेत सक्रिय हुनुहुन्थ्यो, जसले देओल परिवारको बलिउड यात्रालाई निरन्तरता दियो । उहाँको अन्तिम अभिनय यात्रा भने निर्देशक श्रीराम राघवनको आगामी चलचित्र ‘इक्किस’ हुनेछ, जसको प्रदर्शन अर्को महिना निर्धारित गरिएको छ ।

  • विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

    विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

    जनकपुर, ८ मङ्सिर । जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचाँै दिन माता जानकीको मटकोर विधि मनाइएको छ । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज मटकोर सम्पन्न गरिएको हो । त्यस क्रममा जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको एतिहासिक गङ्गासागरमा पुगेर भव्यतापूर्वक मटकोर सम्पन्न भएको हो । यो विवाहपूर्वको विधि हो ।


    आज महोत्तरीको मटिहानीमा पनि ‘मटकोर’ सम्पन्न भएको छ । मटिहानीस्थित लक्ष्मीनारायण मठले रामजानकी विवाह महोत्सवको ‘मटकोर’ विधि सम्पन्न गरेको हो । हिन्दू मैथिल परम्परामा विवाहको एक दिनपूर्व कर्मकाण्डीय विधिले ‘मटकोर’ सम्पन्न गर्ने चलन छ । त्रेता युगमा चन्द्रमासको मङ्सिर शुक्लपञ्चमीका दिन अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र विदेह (मिथिला) नरेश शिरध्वज जनककी पुत्री जानकीको विवाह भएको सम्झनामा प्रत्येक वर्ष उत्सवका साथ यो पर्व मनाउने चलन छ । यसपालि मङ्सिर शुकल पञ्चमी भोलि मङ्गलबार हुँदा ‘मटकोर’ आज सम्पन्न गरिएको हो ।

    ‘मटकोर’ विधिमा मिथिलानीहरु जानकीस्वरुपा कन्यालाई अघि लगाएर मङ्गलगीत गाउँदै सागर पुगेर भूमिपूजन गर्दै माटो खनेर ल्याउँछन् । माटो खन्ने कार्यमा पूरुषहरूको पनि सहयोग लिइन्छ । खनिएको माटोले मठ परिसरकै मन्दिरको प्राङ्गणमा वैदिक विधिपूर्वक वेदी बनाइन्छ । यस अवसरमा जानकीस्वरुपा पात्रलाई बसाइ मङ्गलगीत गाइँदै विवाहको पूर्वाङ्ग (कन्याको घरमा विवाहपूर्व गरिने वैदिक विधि) सम्पन्न गरिन्छ ।

  • राजधानीमा एमालेले गर्यो प्रदर्शन

    राजधानीमा एमालेले गर्यो प्रदर्शन

    काठमाडौँ, ६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्‍याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत भएको हो । जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गरे ।


    यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा ¥याली सम्पन्न गरेको थियो । यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिएको थियो । एमालेका प्रदर्शनका कारण सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा चाप देखिएको छ । एमाले नेता तथा कार्यकर्तासहितको ¥यालीका कारण उक्त क्षेत्रमा सवारी सञ्चालनमा समस्या उत्पन्न भएको हो ।

    र्‍यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि आज प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “र्‍यालीका कारण सवारी आवागमनमा समस्या भएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र राष्ट्रिय सभागृहमोडबाट डाइभर्सन गरिएको हो ।”

  • निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    पाटन (ललितपुर), ६ मङ्सिरः नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो ।

    यही असोज २८ मा प्रारम्भ भएको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ । निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ, तर हाल हजारौँ कैदीबन्दी फरार रहेका, ठूलो परिमाणमा हातहतियार हराएका, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाइरहेका र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नुलगायत सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । त्यसैले तत्काल शान्तिसुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”

    गत भदौ २४ गते मुलुकमा अकल्पनीय विध्वंश र अराजकताको अवस्था सिर्जना भएको जटिल परिस्थितिमा तत्कालीन सङ्कटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्ने प्रश्न अत्यन्त संवेदनशील बनेको स्मरण गर्दै कांग्रेसले सरकारविहीन अवस्थाका बीच प्रदर्शनरत युवाहरूको माग सम्बोधन र शान्तिसुरक्षा कायम गर्न राष्ट्रपतिले संसद् बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।

    संवैधानिक व्यवस्थाअनुसार संसद् भित्रैबाट निकास खोज्न सकिन्थ्यो भन्नेमा कांग्रेसको स्पष्ट धारणा रहेको पनि विज्ञप्तिमा उल्लेख छ । “कांग्रेस कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकले संसद् विघटनको उपक्रम, संविधानको परिकल्पना तथा सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत छ भन्दै संसद् विघटन असंवैधानिक भएको र यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको ठहर गरिसकेको छ । संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ”, विज्ञप्तिमा भनिएको छ,“हाल अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि हो । सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकाले अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेसले विश्वास गरेको छ ।”

    बैठकले विद्यमान शान्तिसुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन नसक्ने कांग्रेसले जनाएको छ ।

    “लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन । यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ । यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ । अतः उत्तेजना होइन संयम, निषेध होइन संवाद, अविश्वास होइन विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आह्वानमा जनताले धैर्य, सङ्घर्ष र त्यागका माध्यमबाट स्थापित गरेको सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी हो भन्दै यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको पनि निष्कर्ष निकालेको छ ।

    निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न कांग्रेसले जोडदार माग गरेको छ । गत भदौ २३ गते ‘जेनजी’ पुस्ताका युवाहरूको आह्वानमा भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा अत्यन्तै अकल्पनीय र दुःखद घटना घट्न पुग्यो भन्दै कांग्रेसले उक्त दिन १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्न माग गरिएको छ ।

    कांग्रेसले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण अकल्पनीय जनधनको क्षति भएको उल्लेख गर्दै प्रदर्शनकारी तथा राष्ट्रसेवक सुरक्षाकर्मीसहित सोही दिनमा नै ५७ जनाको ज्यान गएको र सयौँ नागरिक घाइते बनाउने सो दिनको हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भएको ठहर गरेको छ ।

    कांग्रेसले प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट, कुटपिटका घटनालाई अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी भनेको छ । “प्रदर्शनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अदालत, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, प्रहरी कार्यालय, ऐतिहासिक तथा प्रशासनिक संरचनाहरू, विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीबारीस्थित गणेशमान सिंह निवास, ललितपुर बाँडेगाँउस्थित सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाइयो ।

    पार्टी केन्द्रीय कार्यालय, ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालय, पार्टी सभापति शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी, केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमणका साथै उहाँहरूको निवासमा भएको तोडफोड, लुटपाट र आगजनीका साथै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ भन्दा बढी नेताका निजी निवास जलाइएका छन् । यस्तै, अन्य विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी घर–डेरा, औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान एवं निजी सम्पत्तिमा भएका यस्ता आक्रमण, तोडफोड, लुटपाट र आगजनीका सबै घटना अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी थिए”, विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले यस्ता घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भदौ २४ मा भएको आक्रमण, लुटपाट, आगजनीसहितका विध्वंशकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन पुनः सरकारसँग माग गरेको छ । यसैगरी घटनाक्रममा लुटिएका सुरक्षाकर्मीका हातहतियार, बर्दी तथा सुरक्षा सामग्रीहरू तत्काल फिर्ता गराउन, विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालयसहित सबै सरकारी संरचनाहरूको शीघ्रातीशीघ्र पुनर्निर्माण गरी समाजमा शान्तिसुरक्षाको प्रत्याभूति प्रदान गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।

    कांग्रेसले भदौ २४ को घटनाक्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यावसायिक क्षति व्यहोर्नुपरेका व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानहरू एवं अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारलाई गरेको छ ।

    ‘जेनजी’ पुस्ताले प्रदर्शनमार्फत उठाएका ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता’ जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज हुन् भन्दै कांग्रेसले प्रदर्शनमार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढङ्गले लिने स्मरण गराउँदै ती माग पूरा गराउने आवश्यक भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

    असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नुभएको लिखित मन्तव्यलाई बैठकले स्वागत र अनुमोदन गरेको छ । साथै सभापति देउवा र उहाँकी धर्मपत्नीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै केन्द्रीय कार्यसम्पादन समितिको २०८२ भदौ २७ र असोज ३ गते बसेको बैठकको निर्णयहरूलाई अनुमोदन गरेको छ ।

    यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गर्दै सो प्रयोजनका लागि केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

    बैठकले जेनजी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको ठहर गर्दै सुशासन र पारदर्शितालगायत विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्र्ने, संविधानको मर्म र मूल्यमान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यकका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विघटित प्रतिनिधिसभाका दलहरू, प्रदर्शनपश्चात् उदाएका दल, जेनजी पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकार भएकाहरूसँग बहुपक्षीय संवाद तथा साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेको छ ।

    ‘जेनजी’ प्रदर्शन तथा पछिल्ला घटनाक्रमको सूक्ष्म विश्लेषण गरी पार्टीभित्र र बाहिरका विभिन्न पक्षसँग संवाद तथा छलफल गर्न पार्टीका तर्फबाट यससम्बन्धी अध्ययन, अनुसन्धान गरी दस्ताबेजीकरण गर्ने निर्णयसमेत गरिएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “हाल मुलुक गम्भीर राजनीतिक सङ्कटमा छ, कांग्रेसले संयमता र धैर्यताका साथ एकताबद्ध भई सङ्कटको सामना गर्नुपरेको छ । विगतमा आएका कैयौँ राष्ट्रिय सङ्कटहरूलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शिताले समाधान गर्दै आएको अनुभवका आधारमा यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ । यस राष्ट्रिय दायित्वलाई आत्मसात् गर्दै नेपाली कांग्रेस सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न हार्दिक अपिल गर्दछ”, जारी विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पुनः बस्ने जनाइएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको छ ।

  • थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

    थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

    काठमाडौँ, ६ मङ्सिरः प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।

  • बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट

    बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट

    मुम्बई, ४ मङ्सिर (रासस–एएफपी) । करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ । उद्योगभित्रका जानकारहरूका अनुसार हेरफेर गरिएको फिल्म समीक्षा, फुलाइएका बक्स अफिस तथ्याङ्क र नक्कली टिकट बिक्रीका दाबीहरूले दर्शकको धारणा विकृत बनाइरहेको छ, जसले अन्ततः टिकट बिक्रीमै नकारात्मक असर पारिरहेको छ ।

    स्ट्रिमिङ प्लेटफर्महरूले परम्परागत सिनेमालाई प्रतिस्पर्धामा पारेका छन्, तर उद्योग भित्रकै व्यक्तिहरू बलिउडका धेरै समस्या स्वयं उद्योग–प्रेरित हुन् भन्छन् । फिल्म रिलिज हुनुअघि नै ‘सुपरहिट’ घोषणा गर्ने प्रवृत्तिबाट लिएर प्रभावकर्ताहरूलाई भुक्तानीमा सकारात्मक समीक्षा लेखाउने प्रचलनसम्मका सबै कारणले दर्शकको विश्वास घट्दै गएको छ ।

    निर्माता तथा वितरक सुनील वाध्वाले भने, “यदि तपाईंले प्रभावकर्ताहरू वा आलोचकहरूलाई संलग्न गर्नुभएन भने फिल्म राम्रो भए पनि उनीहरूले नराम्रै समीक्षा लेख्छन् । उल्टो, फिल्म कमजोर भए पनि निर्माता वा स्टुडियोले भुक्तानी गरे सकारात्मक समीक्षा आउने गर्छ ।” उनका अनुसार यसले समीक्षाको विश्वसनीयता नै धराशायी बनाइरहेको छ ।

    व्यवसाय विश्लेषक तथा अनुभवी वितरक राज बंसलले हालका प्रारम्भिक समीक्षाप्रति दर्शकहरू अत्यन्तै शङ्कित भएको बताए । “मिडियाले चार तारा दियो कि मानिसहरू मलाई म्यासेज गर्छन्—‘सर, यसको अर्थ फिल्म राम्रो छैन रहेछ ।’ फिल्म साँच्चिकै राम्रो भए पनि उनीहरूले अब विश्वास गर्दैनन्”, उनले टिप्पणी गरे ।
    यस अविश्वासको प्रत्यक्ष असर बक्स अफिसमा देखिन थालेको उद्योग भित्रकै विशेषज्ञहरूको भनाइ छ ।

    धेरै दर्शकले फिल्म रिलिजको पहिलो दिन नै हेर्न जाने परम्परा तोडेर ‘साँचो प्रतिक्रिया’ आउञ्जेल पर्खिन थालेका छन्, जसले उद्घाटन दिनको टिकट बिक्रीलाई ठूलो झड्का दिइरहेको छ । भित्री सूत्रहरूका अनुसार केही प्रभावकर्ताहरूले ‘रेट कार्ड’ नै तयार पारेका छन्—समीक्षा वा प्रचारका लागि भुक्तानीको निश्चित दर, जुन कमजोर प्रमोशन भएका फिल्महरूको लागि अझै महँगो पर्छ । यसलाई बढाउने अर्को अभ्यास भनेको निर्माताहरू आफैँले उद्घाटन–हप्तामा थोक टिकट खरिद गरी बक्स अफिस नम्बर कृत्रिम रूपमा बढाउनु हो ।

    जेम सिनेमाज, जयपुरका मालिक सुधीर कासलीवालले शाहरुख खानको एक चलचित्रका क्रममा सयौँ अनलाइन बुकिङ देखिए पनि हलमा थोरै दर्शक मात्र उपस्थित भएको अनुभव सुनाउँदै भने, “यदि निर्माता, निर्देशक र कलाकारहरूले नै टिकट किनिरहने यो चलन जारी रह्यो भने बलिउडको भविष्य अत्यन्तै अन्धकार देखिन्छ । गलत सन्देश पठाइन्छ, दर्शक भ्रमित हुन्छन् र राम्रो सामग्री बिना उद्योग उठ्नै सक्दैन ।”

    हालैको विवाद अक्षय कुमार अभिनीत फाइटर–जेट एक्शन फिल्म ‘स्काईफोर्स’ सँग पनि जोडिएको छ । निर्देशकले ब्लक–बुकिङको आरोप अस्वीकार गरे पनि मुम्बईका एक अनुभवी व्यापार–विश्लेषकले यसको वास्तविक कलेक्सन करिब ६० लाख डलर रहेको, तर रिपोर्ट गरिएको रकम ९० लाख डलरभन्दा बढी रहेको दाबी गरे । “अनलाइनमा घर–भरिएको देखिन्थ्यो तर धेरै हलहरू खाली नै थिए”, विश्लेषकले नाम नखुलाइकन भने ।

    बंसलका अनुसार मिडिया वा प्रभावकर्ताहरूका सामान्यतया ‘सकारात्मक समीक्षाको खेल’ नखेल्नेहरूलाई उद्योगबाटै हुत्याइने जोखिम बढेको छ । “जब म कलेक्सन कमजोर भएको लेख्छु, कलाकार र निर्माताहरूले हटाइदिन आग्रह गर्छन्”, उनले सुनाए । वितरक वाध्वाले सन् २०२५ को रोमान्टिक–कमेडी–हरर फिल्म ‘थम्मा’ को कलेक्सन पनि हेरफेर गरिएको दाबी गर्दै वास्तविक बिक्री करिब एक करोड ५० लाख डलर रहेको बताए । तर रिपोर्ट भने एक करोड ८० लाख डलरको गरिएको थियो । निर्देशक आदित्य सरपोतदारले भने आफ्नो सङ्ख्या ‘सबैभन्दा सही’ भएको जिकिर गर्दै निर्माता र व्यापारका कलेक्सन आँकडामा हल चलिरहेका बेला असान्दर्भिक भिन्नता हुन सक्ने बताए ।


    विज्ञहरूको चेतावनी स्पष्ट छ—बक्स अफिस तथ्याङ्कमा हेरफेर गर्नुको दीर्घकालीन असर गम्भीर हुन सक्छ । यो प्रवृत्तिले नयाँ प्रतिभाहरूका अवसर सङ्कुचित बनाउने, स्टारहरूको पारिश्रमिक अनावश्यक रूपमा बढाउने र उद्योगको विश्वसनीयता झनै खस्काउने जोखिम हुन्छ । “दर्शक मूर्ख छैनन्, उनीहरू सत्य चिन्न जान्छन्”, वाध्वाले भने ।


    यता, स्ट्रिमिङ प्लेटफर्महरूले पनि आफ्नो रणनीति कडाइ गर्दै बक्स अफिस तथ्याङ्कको अडिट अनिवार्य बनाउन थालेका छन् । यसले निर्माताहरूलाई पारदर्शितातर्फ धकेलिरहेको छ । “स्ट्रिमरहरू अब धेरै सावधान भइसके”, वाध्वाले भने । तर तिनै विशेषज्ञहरूको निष्कर्ष के छ भने यो चलन चाँडै रोकिइहाल्ने कुनै सङ्केत छैन । निर्माता तथा स्टुडियोहरूले ‘टिकट किनेर नम्बर बढाउने भोक’ छोड्ने दिन नआएसम्म बलिउडको यो आत्मघाती अभ्यास निरन्तर चलिरहने सम्भावना छ ।

  • एमाले नेता महेश बस्नेत र शंकर पोखरेल सहभागी हुने कार्यक्रम जेन जीले विथोले, दलहरुबाट आलोचना

    एमाले नेता महेश बस्नेत र शंकर पोखरेल सहभागी हुने कार्यक्रम जेन जीले विथोले, दलहरुबाट आलोचना

    ३ मंसिर, काठमाडौं । बुधबार बाराको सिमरास्थित विमानस्थलमा जेन जीले आक्रमण गरेका छन् । सो क्रममा विमानस्थलको गेट भत्किएको छ । जेन जी समूहले बुद्ध एयरको जहाजमार्फत एमाले नेताहरु बारा आउने सूचना पाएसँगै विमानस्थल आक्रमणमा पुगेका थिए । त्यसपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । त्यसका वावजुत सडकमा टायर बालेर आन्दोलन गरिएको थियो ।

    जेन जीको आन्दोलनका कारण एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितका नेताको बारा जाने कार्यक्रम रद्द गरिएको थियो । गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ । आज साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिइ स्थिति सामान्य बनाउँदै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।

    मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । “मुलुकमा शान्तिसुरक्षा कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको छ । यसका लागि सबै पक्षले आआफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयमा शान्तिपूर्वक तरिकाले व्यवस्थित र मर्यादापूर्वक सञ्चालन गर्नु गराउनु वाञ्छनीय रहन्छ”, विज्ञप्तिमा उल्लेख छ ।

  • तीनकुने हिंसामा ज्यान गुमाएका पत्रकार सुरेश रजककी जीवनसंगिनीलाई सरकारले दियो रोजगारी

    तीनकुने हिंसामा ज्यान गुमाएका पत्रकार सुरेश रजककी जीवनसंगिनीलाई सरकारले दियो रोजगारी

    काठमाडौँ, २ मङ्सिरः सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतिलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमति सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो । आज सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुजन मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै एक घरभित्र आगजनीमा परी पत्रकार रजकको निधन भएको थियो ।

    सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरु सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे । उनले भने, “पत्रकार सुरेशको क्रियाशील पत्रकारका रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भए पनि रोजगारीको पहल गरिएको छ । यसले थोरै भए पनि सान्त्वना मिल्ने अपेक्षा छ ।”

    सञ्चारमन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए । दिवङ्गत पत्रकार सुरेश रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमा नै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे ।

  • प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

    काठमाडौँ, १ मंसिर । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
    आयोगको आइतबारको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइटमा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरिएको हो ।

    पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार विसं २०८२ माघ ६ गते बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

    मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

    माघ ९ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम विसं २०८२\०८\२० गतेदेखि सञ्चालन हुनेछ ।

    सो कार्यक्रमअनुसार मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते दिउँसो ४ः०० बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्ने, मङ्सिर २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि ४०० बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १०ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

  • सवा करोड लागतमा कुमारी घरको छानो जीर्णोद्धार गरिने

    सवा करोड लागतमा कुमारी घरको छानो जीर्णोद्धार गरिने

    काठमाडौँ, २८ कात्तिक । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२–८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो ।

    कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारीघरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड दिँदै जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिइन् । बर्खायाममा कुमारीघरको छानो चुहिने भएपछि जीर्णोद्धारको अध्ययन गर्न गत साउन २० गते समिति गठन भएको थियो ।

    समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्वविज्ञ पुरुषोत्तम डङ्गोल थिए । सदस्यहरूमा विभागका इञ्जिनियर रोशन डङ्गोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र कामपाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य थिए ।
    अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार कुमारीघरका नामले चिनिने कुमारीवहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही धाम र मेथहरूले ठाउँ छोड्ने अवस्था छ । कतिपय दलिन कीराले खाएर स–साना प्वाल पारेको छ । ठाउँठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा छ । धामबाहेक अधिकांश काठका अवयव अग्राखका नभई कुकाठ प्रयोग भएकाले तत्काल जीर्णोद्धार गर्नुपर्ने देखिएको छ । बैठकमा समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिए ।


    बज्राचार्यका अनुसार झिङ्गटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी चाङ फुटेर खसेको छ, आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठलहरू खुस्केका छन् । झिङ्गटीहरू खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरू फेर्नुपर्ने अवस्थाका छन् ।

    श्री कुमारी घरको ऐतिहासिक पृष्ठभूमि 
    राजा जय प्रकाश मल्लका पालामा वि. सं. १८१४ मा यो वहाल निर्माण गरिएको हो । हनुमानढोका दरबार परिसर, वसन्तपुरस्थित काष्ठकला र वास्तुकलाले सुसज्जित नेवारी शैलीको यो वहाल कुँदिएका थाम, झ्याल, मेथको कलात्मक सौन्दर्यले भरिएको छ । प्रवेश द्वारमा प्रस्तरका जोर सिंह, भित्री भागमा खुला चोक (वहाल), तान्त्रिक भित्तेचित्र संरक्षित तीन तले चौघेरा संरचना सहित झिंगटी छाना भएको घर बसन्तपुर क्षेत्रको स्मारक हो । यो घर तलेजु भवानीको अवतार मानिने जीवित देवी श्री कुमारीको निवास हो ।

  • ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

    ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

    काठमाडौँ, २७ कात्तिकः निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छिन् । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताए । उनले भने, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नव कलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरेकी छिन् । चलचित्रमा उनको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।”

    निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिसँग जोडिएको नभई विशुद्ध प्रेमकथामा तयार गरिएको चलचित्र रहेको बता्रए । चलचित्रमा नव अभिनेत्री गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा’ अन्तरराष्ट्रिय बजारलाई लक्षित गर्दै तयार हुने निर्देशक चाम्सले बताए ।


    “हामीले बजार विस्तार र वृद्धिलाई सोचेर चलचित्र बनाउनु पर्छ । बजार र दर्शक बढाउने गरी हामीले काम गरेमा मात्र आगामी दिन चलचित्र क्षेत्रका लागि सुनौला हुनेछन्”, निर्देशक चाम्सले भने । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतको एक चलचित्र भवनमा ‘आइम्याक्स’ प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा ढालेर प्रदर्शन गरिएको पहिलोपटक थियो । निर्देशक चाम्सले निर्देशन गरेको पछिल्लो चलचित्र ‘अञ्जिला’ सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो ।

  • प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल, चुनावको तयारी तीव्र

    प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल, चुनावको तयारी तीव्र

    काठमाडौँ, २६ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसमेतसँग छलफल गरेकी हुन् । आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्याङ्कनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी गराएको छ ।

    आयोगमा दर्ता रहेका र कम्तीमा वडा सदस्यसम्म विजय भएका दलसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताइन् । बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमाभन्दा अझै सहज वातावरण बन्दै गएको भण्डारीको भनाइ थियो ।

    आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुनेक्रम पनि उत्साहजनक रहेको बताउँदै उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव रहेको र आयोग यसका लागि सक्षम आयोगले आफ्नो अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको जनाएको छ ।

    यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्कलन गरेको जैविक तथ्याङ्क निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए । आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ

    निर्वाचनका लागि हालसम्म २२ वटा राष्ट्रिय र दुई वटा अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिएका छन् । यस्तै निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको र अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको आयोगले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्चको सीमा घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भन्ने विषयमा चासो राखेकी थिइन् ।