Category: कला / साहित्य

  • पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बोलाउने तयारी

    पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बोलाउने तयारी

    काठमाडौँ, १ पुस । राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने भएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बोलाउने तयारी भइरहेको र पुस दोस्रो साता वा १२ गतेभित्रै बस्ने जानकारी दिए ।


    उनले भने, “मैले ठेकेदारलाई जतिसक्दो चाँडो काम पूरा गर्नु भनेको छु, मलाई लाग्छ, अब छिट्टै हल तयार हुन्छ, अब पुसको १२ गते बैठक बोलाउँछु ।” मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको सङ्घीय संसद् भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय संसद् भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । त्यसको १६ दिनपछि ठेकेदारसँग रु छ अर्ब ९२ करोडमा सम्झौता भएको थियो ।

    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले भाडाबापत वर्षमा रु १५ करोड तिर्दै आएको छ । अध्यक्ष दाहालले सदन बस्ने विषयमा प्रधानमन्त्रीसँग सल्लाह गरिसकेको बताउँदै सदन बस्ने विषयमा कहीँकतैबाट विमति नभएको बताए । सभाको बैठक बोलाएर विधेयकमाथिको छलफल, आयोगको प्रतिवेदनको काम गर्न सकिने, मन्त्रीलाई आमन्त्रण गरेर सम्बन्धित विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।

    अध्यक्ष दाहालले भने, “हामीसँग चार वटा विधेयक छन्, एउटा विधेयक अध्यादेशमार्फत आएको छ, त्यो आर्थिक विधेयक हो । राष्ट्रियसभालाई छलफल गर्ने अधिकार छैन, त्यो प्रतिनिधिसभामा मात्रै छलफल हुने हो, त्यसकारण सरकारलाई विजेनसका बारेमा सोच्नुस् भनेर भनेको छुु ।”

  • एमाले महाधिवेशन : मतदान बुधबार बिहान

    एमाले महाधिवेशन : मतदान बुधबार बिहान

    काठमाडौँ, १ पुस । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान बुधबार बिहान हुने भएको छ । आज साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ः०० बजेदेखि मतदान हुने छ ।

    “विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि आज साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको छ”, उनले भने । यसअघि आज साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

  • एमालेको नयाँ नेतृत्वका लागि आज मतदान

    एमालेको नयाँ नेतृत्वका लागि आज मतदान

    काठमाडौँ, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

    उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

    रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ”, उनले भने, “तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।”

    अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

  • स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

    स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

    भोजपुर, १ पुस । स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिए । उनका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो ।

    “धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि स्थानीयको सक्रियतामा गुम्बा निर्माण गरिरहेका छौँ”, कोषाध्यक्ष शेर्पाले भने, “हालसम्म करिब रु दुई करोड ३५ लाख बराबरको निर्माण सम्पन्न भइसकेको छ ।” हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर नगरपालिकाबाट रु १७ लाख, वडा कार्यालयबाट रु छ लाख तथा स्थानीय समुदायबाट रु एक करोड ८१ लाख चन्दा सङ्कलन गरिएको समितिले जनाएको छ । गुम्बा परिसरमा एक जना व्यक्तिले व्यक्तिगत रूपमा रु २७ लाख खर्च गरी छोर्तेन निर्माण गरिदिएका हुन् । हाल अमेरिका रहेका फराडेन्डी शेर्पाले आफ्नै लगानीमा छोर्तेन निर्माण गरिदिएका हनु ् ।

    गुम्बा निर्माणका लागि वडा नं ७ र ९ का करिब ११४ शेर्पा परिवारले न्यूनतम रु २० हजारका दरले सहयोग गरेका गुम्बा व्यवस्थापन समितिले जनाएको छ । गुम्बा निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजनाबद्ध रूपमा अघि बढाइएको छ । गुम्बाको बाँकी तथा थप संरचना निर्माणका लागि आवमा वडा कार्यालयबाट रु दुई लाख र नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार विगतका वर्षदेखि नै वडाको उपलब्ध स्रोत–साधनअनुसार गुम्बाको संरक्षण र विकासमा निरन्तर सहयोग हुँदै आएको छ ।

    “वडा नं ९ मा गुम्बा, मन्दिरलगायत धार्मिक संरचना धेरै रहेकाले यहाँ धार्मिक पर्यटनको राम्रो सम्भावना छ”, वडाध्यक्ष तामाङले भने, “बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्न गुम्बा निर्माण गरिएको हो ।” भोजपुर बजार क्षेत्रमै पर्ने पानीट्याङ्की क्षेत्रमा चार रोपनी आठ आना क्षेत्रफलमा गुम्बा निर्माण गरिएको छ । बजार नजिकै भएकाले यस क्षेत्रका धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनमा वडाले विशेष जोड दिएको जनाइएको छ ।

  • निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

    निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

    काठमाडौँ, १ पुस । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् ।

    सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक दलले मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छन् भन्ने मान्यता रहन्छ । संविधान प्रदत्त व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएर राजनीतिक दलले सोहीअनुसार उम्मेदवार छनोट गर्ने गरिन्छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिएर समानुपातिकतर्फ सहभागी नभएको देखिएको छ ।

    आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि १०० राजनीतिक दलले दर्ता गराएका छन् । उनीहरूका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ । यस्तै, प्रत्यक्षतर्फ कूल ११४ राजनीतक दल दर्ता भएका छन् । आयोगले तोकेको कार्यविधि पूरागरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल र राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल चुनाव चिन्ह लिइ १२ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

    आयोगका अनुसार प्रत्यक्ष मात्रै सहभागी हुने राजनीतिक दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी छन् ।
    यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टी छन् । यी राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने भाग नलिने भएका छन् । समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत एवं आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय दलले भने अर्को दलको निर्वाचन चिन्हमा समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेका हुन् ।

  • एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

    एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

    काठमाडौँ, २९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । उनका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ ।

    महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए । आज साँझ ८ः३० बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए । एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

  • एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

    एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

    काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराए ।


    महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ । उम्मेदवारी मनोनयनको समय यसअघि ३ः३० बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

  • पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग

    पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग

    रासस
    म्याग्दी, २९ मङ्सिर । धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ । बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो ।

    बालविवाह, विभेद, बाल मजदुरजस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्यान्वयनमा प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

    विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने, विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरीयतामा ध्यान दिने, बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउने, गुणस्तरीय शिक्षा कायम गराउने, बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने प्रतिबद्धता जनाइएको छ ।

    विद्यालयमा दिवा खाजालाई पोषणयुक्त र आत्मनिर्भर बनाउन विद्यालयमै करेसाबारी बनाउने, विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभावविरुद्ध शून्य सहनशीलताको रणनीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।

    गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बालअधिकारको संरक्षण र बालविवाह न्यूनीकरणमा जोड दिएको बताउँदै दिवाखाजा र छात्राबासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास सुरु भएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा सहभागी धवलागिरि मावि मुना, बुद्धि विकास मावि मुदी, लमसुङ, हेम नमूना आवासीय मावि र ताकम माविका छ–छ जना विद्यार्थीले जनप्रतिनिधि र सरोकारवालालाई गाउँपालिकामा बालअधिकारसम्बन्धी कार्यक्रम, बालविवाह न्यूनीकरण, विपन्न विद्यार्थीको शिक्षामा पहुँच, शैक्षिक गुणस्तरलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    गाउँपालिकाका उपाध्यक्ष पुन, सामाजिक विकास समितिका संयोजक रोका, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख सम्झना खाती, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदी, महिला बालबालिका शाखाका पुष्पा दवाडी, ताकम प्रहरी चौकीका प्रमुख विक्रम तिवारीले जिज्ञासाको जवाफ दिनुभएको थियो ।

    गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित एकीकृत विकास परियोजनाको आयोजनामा भएको कार्यक्रममा रामबहादुर रावतले बालअधिकारको अवस्था, चुनौती र आवश्यकताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    गुड नेवर्स इन्टरनेसनलको पर्वत कलस्टरका संयोजक रञ्जीतकुमार चौधरीले परियोजनाका बारेमा प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । सङ्गम म्याग्दीले सन् २०१३ देखि धवलागिरि गाउँपालिकामा एकीकृत विकास परियोजना सञ्चालन गर्दै आएका परियोजनाका जीविकोपार्जन अधिकृत अनुषा लामिछानेले बताउनुभयो । सङ्गमले गल्र्स फस्ट फण्डको सहयोगमा धवलागिरि गाउँपालिकामा बालविवाह न्यूनीकरणसम्बन्धी छुट्टै अर्को कार्यक्रम पनि सञ्चालन गरेको छ ।

  • निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

    निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

    काठमाडौँ, २९ मङ्सिर । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो ।

    निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ ।

    उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ । तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ । यसैगरी रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत नै गर्नुपर्ने जनाइएको छ ।

    व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई बैंक वा वित्तीय संस्थामा जम्मा गराउनुपर्नेछ । खर्चको विवरणसमेत तथा बिल भरपाई राख्नुपर्नेछ । आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेका ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ ।

    आयोगले खर्चको बिल भरपाई तथा बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने सो थप गरिएको व्यवस्थामा उल्लेख गरेको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ । रासस

  • एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा कमिटी गठन

    एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा कमिटी गठन

    काठमाडौँ, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औं राष्ट्रिय महाधिवेशनको निर्णय र छलफललाई औपचारिक रुपमा अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन गरेको छ । महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकमा माइन्युट कमिटी गठन गरिएको जानकारी दिए । समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् । महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षलाई व्यवस्थित रुपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।

  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

    कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

    काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर २९ गते सोमबार बस्ने भएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…

    सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…

    काठमाडौँ, २८ मङ्सिर । राजनीतिमा सधँै पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता नेताहरुमा छ भन्ने भाष्य नेकपा (एमाले) का केही पुराना नेताहरुबाट खण्डित भएको छ । अन्य नेताहरु पद र अवसरका लागि सक्रिय रहेको स्थितिमा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।


    एमालेकै अधिकांश नेताहरु आफू पुनः पदमा आउन अध्यक्ष केपी शर्मा ओली वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट वा स्वतन्त्ररुपमा उम्मेदवारी हुन तछाडमछाड गरिरहेका बेला एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपाध्यक्षहरु ज्ञवाली र शाक्यले लगातार एकै व्यक्ति पदमा रहिरहन नहुने र अब आफूहरुको पालो पुगेकाले अब कुनै पदमा उम्मेदवार नबन्ने जानकारी गराए । यस्तै बन्दसत्रमा समय लिएर आयोगका अध्यक्ष बडालले आफू अब जिम्मेवारीमा नहरने उद्घोष गरे । उनीहरुले पदमा नहरने भए पनि पार्टीको नीति र विचारका पक्षमा जहाँ रहेर पनि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


    पार्टीको दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहनुभएका उहाँहरुले पार्टीले विधानमा ती व्यवस्था कायम नराखेको अवस्थामा आफूहरु पदबाट अलग हुने स्पष्ट गरे । एमाले केन्द्रीय सदस्यहरु दलबहादुर राना, भीम केसी र ईश्वरी जिएमले अबको नेतृत्वमा नआउने भन्दै स्वैच्छिक अवकाश लिने घोषणा गरे । पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षदेखि बहुदलीय लोकतन्त्र, संविधान निर्माण र सङ्घीय व्यवस्थासम्मको लामो राजनीतिक यात्रा पार गरेर पार्टीको माथिल्लो तहमा पुगेका उनीहरु वैचारिक र सादगी नेताहरुमध्येमा पर्छन् ।


    लामो समय पार्टीको सङ्गठन, सरकार सञ्चालन र वैचारिक बहसमा संलग्न रहँदै आएका नेताहरूको सक्रिय राजनीतिबाट बिदाइले नयाँ पुस्तालाई बाटो खोलेको अवसरका रुपमा लिइएको छ । विसं २०२६ देखि कम्युनिष्ट पार्टीमा लाग्नुभएका पूर्वसंविधानसभा सदस्य उपाध्यक्ष ज्ञवाली २०६० सालमा स्थानीय विकासमन्त्री बनेका थिए । उनले पार्टीको केन्द्रीय कमिटीमा लामो समय रहेर सङ्गठन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।


    पार्टीको सल्लाहकार पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका नेत्री शाक्य एमालेको सङ्गठन निर्माण र महिला नेतृत्व सुदृढीकरणमा अग्रणी नेतृ मानिन्छन् । बागमती प्रदेश सरकारको पूर्वमुख्यमन्त्री शाक्य राष्ट्रपति पदका उम्मेदवार बनेकी थिइन् । बडाल पूर्वसांसद तथा सहकारी अभियानका अगुवा हुन् । नेपाली राजनीतिमा पुस्तान्तरण केवल उमेरको विषय नभई दृष्टिकोण, कार्यशैली र राजनीतिक संस्कारसँग जोडिएको विषयका रुपमा चर्चाको विषय हुँदै आएको छ ।

    एमाले महाधिवेशनको बन्दसत्रअन्तर्गत सोमबार उम्मेदवारीको मनोनयन भएकाले थप कुन कुन नेताले पुनः केन्द्रीय कमिटीमा उम्मेदवारी दिँदैनन् भन्ने त्यसपछि थप स्पष्ट हुनेछ । विसं २०७१ असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने प्रबन्ध गरिलगत्तै तत्कालीन स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पार्टीको केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष सिद्धिलाल सिंहले सक्रिय राजनीति परित्यागको घोषणा गरेका थिए । एमालेको २०७८ सालमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने व्यवस्था हटाइएको थियो ।

  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ, २८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए । उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।


    यस्तै, बिहान ८ः०० बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो । शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

  • निर्वाचन ८१ दिन बाँकी : देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

    निर्वाचन ८१ दिन बाँकी : देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

    काठमाडौँ, २८ मङ्सिर ः प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ ।

    राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् ।

    नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ ।

    नेकपा (एमाले)को शनिबारदेखि ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा सो दलका अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ ? भन्ने प्रश्न गरेका छन् । उनले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राखे । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरे । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।


    यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ । सो दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको सो दलले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने प्रष्ट मत जाहेर गरेको छ ।

    सो दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको सो पार्टीले पनि भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ ।

    आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।

    यस्तै, समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन् ।

    सो निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । यस्तै, प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् ।

    आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन् ।

  • नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    काठमाडौँ, २७ मङ्सिरः नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छन्दुस्थित नेपाली महावाणिज्यदूतावासले आज जनाएको छ । त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो ।

    सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए । महावाणिज्यदूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगातय ५० जना सहभागी थिए ।

  • नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

    नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

    प्रकाश सिलवाल–रासस
    काठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरबाट आरम्भ भएको नेकपा अहिले विभिन्न धार र पार्टीमा क्रियाशील छ ।

    विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । त्यसबेला चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अङ्ग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको थियो भने नेपालीहरू १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको बेला थियो ।

    त्यहीबीचमा स्थापना भएको नेकपाको पहिलो महाधिवेशन २०१० साल माघ १० देखि २० गतेसम्म ललिपुरको पाटनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले महामन्त्रीमा मनमोहन अधिकारीलाई चयन गरेको थियो । दोस्रो महाधिवेशन २०१४ साल जेठ १५ देखि २५ गतेसम्म काठमाडौँको दरबारमार्गमा भई महासचिवमा डा केशरजङ्ग रायमाझीलाई जिम्मेवारी दिएको थियो । यो महाधिवेशनपछि पार्टीभित्र प्रजातन्त्र कि राजतन्त्र भन्ने विवाद उत्पन्न भएको थियो ।

    नेकपाको तेस्रो महाधिवेशन पञ्चायतकालकै बीचमा २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भई महासचिवमा तुल्सीलाल अमात्य चुनिनुभएको थियो । नेकपाको चौथो महाधिवेशन भने २०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा भई महासचिवमा मदनकुमार भण्डारी निर्वाचित हुनुभएको थियो । यो महाधिधवेशनपछि नेकपाका विभिन्न समूह र उपसमूह देखा पर्न थाले भने एमालेले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ’ भन्ने नाराका साथ आफूलाई अलग धारका रूपमा अगाडि बढाएको देखिन्छ ।

    एमालेको पाँचौँ महाधिवेशन २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा भएको थियो । यस महाधिवेशनबाट पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारी नेतृत्वमा आएका थिए । एमालेको हालसम्मको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवाद (जबज)लाई महासचिव भण्डारीले प्रस्तुत गरी पारित भएकाले यो महाधिवेशन एमालेको वैचारिक इतिहासमा महत्त्वपूर्ण मानिएको छ ।

    RSS

    यस्तै, एमालेको छैठौँ महाधिवेशन विसं २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्ज, बाँकेमा भई अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाल चयन भए । यो महाधिवेशनको मूलनारा ‘विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गरौँ, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ’ रहेको थियो । एमालेको सातौँ महाधिवेशन विसं २०५९ माघ १८ देखि २२ गतेसम्म, जनकपुर, धनुषामा भएको थियो । ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास १’ को मूल नारा रहेको उक्त महाधिवेशनले महासचिवमा माधवकुमार नेपाललाई चयन गरेको थियो ।

    त्यसपछि विसं २०६५ फागुृन ५ देखि १४ गतेसम्म, बुटवलको रुपन्देहीमा भएको आठौँ महाधिवेशनले अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भए । उक्त महाधिवेशनको मूल नारा ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान १’ रहेको थियो । एमालेको नवौँ महाधिवेशन भने विसं २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा भई अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित ग¥यो । महाधिवेशनको नारा ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ १’ रहेको थियो ।

    पछिल्लो पाँच वर्षयता एमालेले नीति र विधान तथा नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशनको परिपाटी थालनी गरेको छ । एमालेको प्रथम विधान महाधिवेशन विसं २०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुरमा भएको थियो । उक्त महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ रहेको थियो ।

    एमालेको दसौँ राष्ट्रिय महाधिवेशन २०७८ मङसिर १० देखि १२ गतेसम्म, सौराहा, चितवनमा भएको थियो । सो महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ भन्ने रहेको थियो । उक्त महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली र महाचिवमा शङ्कर पोखरेललाई निर्वाचित गरेको थियो ।

    एमालेको दोस्रो विधान महाधिवेशन २०८२ भदौ २० देखि २२ गतेसम्म, गोदावरी, ललितपुरमा भई नेतृत्वमा दुई कार्यकालभन्दा बढी रहन र ७० वर्षे उमेर हद हटाउने व्यवस्था गरिएको छ । आजदेखि पार्टीको ११औँ महाधिवेशन सुरुभएको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन भएको छ भने बन्दसत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । यस महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ ।

  • एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

    एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

    काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे ।


    “लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ”, अध्यक्ष ओलीले भने, “कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।”

    एमाले समावेशिताको अगुवा भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए । एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उहाँले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए ।
    महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै उहाँले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष ओलीले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको आरोप पनि लगाए ।

  • निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

    निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

    काठमाडौँ, २७ मङ्सिरः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो । सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए ।

    सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भएपनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिन्ह कायम भएको उनको भनाइ छ । आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसङ्ख्या र निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ । अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरेको छ ।

    आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटाँैमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिन्ह निर्धारण गरेको छ । त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिन्ह रहने छन् ।

    यसैगरी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गरेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया (जाँतो) चुनाव चिन्ह पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी), नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिन्ह पाएको आयोगले जनाएको छ ।

  • एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

    एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

    महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

    महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

    टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ । महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए ।


    महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।

    महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हँुदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ । उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य ¥याली गरी आउने व्यवस्थासमेत गरिएको छ ।

  • एमाले ११औँ महाधिवेशनको तयारी पूरा

    एमाले ११औँ महाधिवेशनको तयारी पूरा

    भक्तपुर, २६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघामा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो । विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको जानकारी दिँदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालय च्यासलमा आज सम्पन्न भएको बताए ।
    कार्यक्रममा महाधिवेशन जनपरिचालनका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटनसत्रमा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहने बता्रए । उनले कार्यक्रममा नेपालको एकताको प्रतीकका रूपमा दुई सयभन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताए ।


    उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायतका नेताहरू आउने प्रतिबद्धता जनाइसकेको जानकारी दिँदै विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरूको सहभागिता रहने बताए । उनले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिहरूको शुभकामना सन्देश प्राप्त भइरहेको बताए ।


    त्यसैगरी, महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसङ्गठनहरूको प्रतिनिधित्व रहनेगरी पाँच सय बढी स्वयंसेवक ड्रेसकोडमा खटिने व्यवस्था गरेको बताए । जनसभालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने बताए । पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातिसम्ममा सम्पूर्ण कार्य पूरा हुने बताए ।

  • महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

    महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

    काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छिन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘राष्ट्रिय लैङ्गिक परिक्षण कार्यविधि–२०८२’ को परिमार्जित मस्यौदा स्वीकृत गर्ने निर्णय गरिन् ।

    नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धकसमेत रहेकी मन्त्री श्रेष्ठले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी छिन् । उनी संयुक्त राष्ट्रसङ्घको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटिपी)की राष्ट्रिय परियोजना संयोजकसमेत रहेर काम गरेकी छिन् । उनको योग्यता पर्यटनमा भए पनि प्रधानमन्त्रीले सुशीला कार्कीले महिला मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

  • मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ

    मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ

    काठमाडौँ, २६ मङ्सिर ः नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ गराए ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्त गरेका हुन् । गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १४ पुगेको छ ।

    त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ गते र कात्तिक ९ गते विस्तार भएको थियो ।

  • एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

    एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

    रासस
    म्याग्दी, २६ मङ्सिरः म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।

    बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको गणेश मन्दिरलाई गुठीयार र नगरपालिकाको करिब रु २० लाख २५ हजार लगानीमा पुनर्निर्माण गरिएको जानकारी दिए । “पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छाना पित्तलले छाइएको छ”, उनले भने, “बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु छ लाख अनुदान उपलब्ध गराएको थियो । समुदायले अनुदानभन्दा बढी सहयोग जुटाएका छन् ।”

    हालसम्म रु १९ लाख ९३ हजार ७९५ खर्च, रु १७ लाख ६९ हजार ९७४ आम्दानी र रु दुई लाख २३ हजार ८२१ भुक्तानी दिन बाँकी रहेको निर्माण समितिका किशोर श्रेष्ठले बताए । मन्दिरको वरपर राखिएको बत्ती बाल्ने दियोको खर्च जोड्दा कूल रु २० लाख २५ हजार पुग्ने उनले बताए । बेनीका स्व मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरेर गणेश मन्दिर बनाएका थिए । मन्दिर जीर्ण भएपछि निर्माणकर्ता मोतिकुमारका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीलगायत परिवारसँग समन्वय गरेर पुनर्निर्माण गरिएको हो ।

    मन्दिर पुनर्निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरुको योगदान बढी छ । प्रत्येक दिन नित्य पूजा हुने गणेश मन्दिरमा गणेशचौथी र मङ्गलचौथी तिथिमा विशेष पूजाआजा हुने गर्छ । पुनर्निर्माण सकिएपछि यसै हप्ता हिन्दू धर्मावलम्बीहरुको भगवान् गणेशको मूर्तिको प्राण प्रतिष्ठा गरेर नियमित पूजाआजा सुरु गरिएको छ ।

    यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बेनी बजारमा हरेक वर्षको घण्टा कर्ण चतुर्थीदेखि हरितालिका तीजसम्म देखाइने बर्खे नाचको समापन यही गणेश मन्दिर परिसरमा गरिन्छ । गणेश मन्दिर बेनी बजारको पुरानो धार्मिकस्थल हो । बेनी भ्रमणमा आउने पाहुना र पर्यटकका लागि गणेश मन्दिर र नजिकैको बेनीकोत आकर्षण हो ।

  • निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

    निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

    काठमाडौँ, २६ मङ्सिर । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।

    जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि रहेको छ सदस्यीय समिति गठन गरिएको छ ।

    सो समितिले राष्ट्रिय जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश तोकिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गर्ने आयोगको तयारी छ ।

    आयोगले त्यसका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, मुख्यसचिव सुमनराज अर्याल, निर्वाचन आयुक्त डा जानकी तुलाधरसहितका आयोगका पदाधिकारी, गृहसचिव रामेश्वर दङ्गाल, प्रमुख तथ्याङ्क अधिकृत मधुसुदन बुर्लाकोटीबीच छलफल भएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

  • सम्पादकहरुसँग ओलीको भेट, के भने ?

    सम्पादकहरुसँग ओलीको भेट, के भने ?

    काठमाडौँ, २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे । उनले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रह गरे ।


    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहना अनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गरे । अध्यक्ष ओलीले संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको जनाउँदै एमाले संसद् पुनःस्थापनाको पक्षमा रहेको बताए ।

    अदालतको फैसलालाई चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कानुनी व्यवस्था नभएको जिकिर गरे । एमालेको महाधिवेशन यही मङ्सिर २७ देअि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

  • मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

    मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

    काठमाडौँ, २५ मङ्सिर । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले उक्त सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रुपमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको थियो ।

    बैठकले गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिन जाने विषयमा दिएको अभिव्यक्ति सम्बन्धमा सोधिएको प्रश्नमा मन्त्री खरेलले आयोगको कार्यक्षेत्र विस्तार गरिएको र आयोगले आफ्नो काम कानुनबमोजिम गर्ने विश्वास रहेको प्रतिक्रिया दिए ।
    आजको बैठकमा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक सम्पति र भौतिक क्षतिको पुनः मूल्याङ्कन तथा पुनःनिर्माण गर्न गठित समितिको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरिएको थियो । बैठकले न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै समाजकल्याण परिषद्को रिक्त सदस्यसचिवमा पनि नियुक्ति गरिएको मन्त्री खरेलले जानकारी दिए ।

  • राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

    राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौँ, २५ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।


    उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

  • एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

    एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

    भक्तपुर, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् ।

    आज रातभर पनि उद्घाटनस्थलमा मञ्चलगायत विभिन्न संरचना निर्माण कार्य जारी रहने मञ्च निर्माणमा खटिएका नेकपा (एमाले) भक्तपुरका जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको उनले बताए ।


    उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन् । उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको उपाध्यक्ष थापाले जानकारी दिए । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

  • ‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

    ‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

    काठमाडौँ, २५ मङ्सिरस् सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सहमतिमा योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेसमेत उल्लेख छ ।

    बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिने पनि सहमतिपत्रमा उल्लेख छ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिक, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ ।

    यस्तै, निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिने छ । सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सोउपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीउपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने पनि सहमति भएको छ ।

    निर्वाचन प्रणाली सुधारका लागि प्रचलित कानुनमा तत्काल संशोधन गरिने, मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिनँ’ विकल्प राखिने सम्झौतामा उल्लेख छ । राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्तिमात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिने पनि सम्झौता भएको छ ।

    निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल÷उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ । राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्र हुनसक्ने प्रबन्ध गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि मात्र हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिने जनाइएको छ ।

    आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिने सम्झौतामा जनाइएको छ ।रासस

  • सरकार-जेनजी  सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

    सरकार-जेनजी सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

    काठमाडौँ, २४ मङ्सिर : सरकार र जेनजीबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गर्ने सहमति भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको सहमतिमा भनिएको छ, “राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका देहायका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने, सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनीत व्यक्तिको जीवनशैली, आयस्रोत र अकूत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुनबमोजिमको कारबाही गर्ने ।”

    सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबन्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने पनि सहमति भएको छ । विभिन्न सार्वजनिक पदधारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद्, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरीत वा गैरकानुनी गतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने पनि सहमति भएको छ ।

    सम्झौतामा भनिएको छ, “नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीको पुनःसंरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाइको व्यवस्था र विद्युतीय सुशासन प्रवद्र्धनलगायत स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता गर्ने ।”

    स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित/सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत/थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने पनि सहमति भएको छ ।

    सहमति पत्रमा भनिएको छ, “नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिस बमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछ, विसं २०८२ भाद्र २३ र २४ गते जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन गरिने छैन ।”

    उक्त सम्झौताको पूर्ण विवरण यसप्रकार रहेको छ :

    जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक–सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन–जीको नेतृत्वमा वि.सं. २०८२ साल भाद्र २३ र २४ गते भएको राजनीतिक–सामाजिक जनआन्दोलन निम्त्याएको वास्तविकतालाई स्वीकार गर्दै जनआन्दोलनका क्रममा जीवन बलिदान गर्ने शहीद, घाइते एवं तिनका समस्त परिवारजनप्रति सम्मान प्रकट गर्दै, जनआन्दोलनका क्रममा भएका अपूरणीय मानवीय, सामाजिक, मानसिक, भौतिक, आर्थिक तथा अन्य सबै प्रकारका क्षतिप्रति दुःख व्यक्त गर्दै, जनआन्दोलनको सन्दर्भमा भएका सम्पूर्ण गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र छानबिन गरी सत्य, न्याय, परिपूरण र संस्थागत सुधारका उपाय अवलम्बन गरी दण्डहीनताको अवस्था अन्त्य गर्नुपर्ने अपरिहार्यता बोध गर्दै, जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनपश्चात् सिर्जित असाधारण परिस्थितिमा जनआन्दोलनका मागहरू सम्बोधन गर्न एउटा गैरदलीय, पारदर्शी, जवाफदेही, समावेशी र सक्षम अन्तरिम नागरिक सरकारको ऐतिहासिक आवश्यकताको उपजको रूपमा वर्तमान सरकार बनेको तथा जनविश्वास गुमाइसकेको सङ्घीय संसद्को प्रतिनिधि सभाको विघटन गरी निर्वाचनको मिति तय गरिएको ऐतिहासिक तथ्यलाई स्वीकार गर्दै, नेपालमा विभिन्न कालखण्डमा नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मुस्लिम आन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन लगायतका हरेक आन्दोलनहरूबाट हासिल गरिएको प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक, अभिव्यक्ति तथा साङ्गठनिक स्वतन्त्रता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानतामा आधारित समानुपातिक समावेशी राज्य प्रणाली, सामाजिक र आर्थिक न्याय सुनिश्चित गर्दै नेपाली जनताले संविधान सभामार्फत जारी गरेको नेपालको संविधानको सान्दर्भिकता र वैधतालाई आत्मसात् गर्दै, नेपाली जनताले प्रयोग गर्ने ‘डिजिटल’ माध्यमलाई नागरिक अभिव्यक्तिको वैध माध्यमका रूपमा ग्रहण गरी यस जनआन्दोलनका क्रममा आन्दोलनकारीहरूले प्रयोग गरेका नयाँ डिजिटल माध्यम, सांस्कृतिक प्रतीक र सिर्जनात्मक अभिव्यक्तिलाई वैध नागरिक राजनीतिक संलग्नताको रूपमा स्वीकार गर्दै, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, संरचनागत विभेद तथा आर्थिक शोषणको कारणले सिर्जना भएको वर्गीय, जातीय, लैङ्गिक तथा यौनिक असमानता, गरिबी, सिमान्तीकरण एवम् बहिष्करण अन्त्य गर्ने दृढ सङ्कल्प लिँदै, राज्यका स्रोत साधनसम्म हरेक नेपालीको न्यायिक पहुँच र ती स्रोतसाधनको समतामूलक वितरण, बाँडफाँट र दिगो प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, सुशासन, समावेशिता र जनसहभागिताका मान्यतामा आधारित सङ्घीयता, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको सुदृढीकरणबाट शिक्षा, स्वास्थ्य, रोजगार, आवास, भूमि, भाषा, संस्कृति, लैङ्गिक तथा सामूहिक अधिकारहरूको कार्यान्वयन तथा उद्यमशीलता, नवप्रवर्तन र अन्वेषण राज्यका भावी नीति र कार्यक्रमका मुख्य प्राथमिकता बन्नुपर्ने आवश्यकतामा जोड दिँदै, जनआन्दोलनपश्चात्को नवनिर्माणका हरेक क्रियाकलापहरूलाई सुशासनका मूल्यमान्यताबाट अनुप्राणित गरी भ्रष्टाचारमुक्त, पारदर्शी, जवाफदेही, चुस्त, मितव्ययी, समावेशी, प्रभावकारी र स्वार्थको द्वन्द्वरहित बनाउने प्रण गर्दै, नेपाली जनताको सुशासनको तीव्र आकाङ्क्षाबाट प्रेरित भई जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्यमान्यतालाई आत्मसात् गर्दै नेपाल सरकार र जेन–जी जनआन्दोलनका प्रतिनिधिबीच यो सम्झौता सम्पन्न गरिएको छ । सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन् ।

    १. शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण

    १.१ वि.सं. २०८२ साल भाद्र २३ र २४ गते जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको क्रममा तत्कालीन सरकारबाट भएको दमन र व्यापक हिंसाका घटनामा सहादत प्राप्त गर्नु भएका व्यक्तिलाई शहीद घोषणा गर्नेलगायत शहीद परिवारको माग र भावनाको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था गरिनेछ ।

    १.२ शहीद परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथोचित सम्बोधन गर्न सम्बन्धित शहीद परिवार र घाइतेसँगको परामर्श तथा समन्वयमा तत्काल एक उच्चस्तरीय कार्यदल गठन गरी अन्तरिम राहत, क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निःशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षा एवं अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेशन) समेतको परिपूरणीय व्यवस्था सुनिश्चित गरिनेछ।

    १.३ जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेको सामूहिक माग अनुरूप मुलुकमा सदाचार तथा सुशासन प्रवद्र्धन, भ्रष्ट्राचार निवारण तथा दण्डहीनता अन्त्य गर्न छुट्टै स्थायी प्रकृतिको आयोग गठन गरिनेछ ।

    २. भाद्र २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार २.१ नेपाल सरकारले गठन गरेको भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगलाई देहायबमोजिमको कार्यादेश थप गरिनेछः

    (क) यस जनआन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगको परिणामस्वरूप गैरन्यायिक हत्यालगायतका मानव अधिकार उल्लङ्घनसम्बन्धी आरोपहरूको बिना विभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता बहन गर्न सिफारिस गर्ने ।

    (ख) जाँचबुझ, सत्य निरूपण तथा मेलमिलापको मान्यतालाई ध्यानमा राखी उपयुक्त प्रक्रिया अपनाई जनआन्दोलनको प्रकृति तथा भाद्र २३ र २४ को विशिष्ट परिस्थितिजन्य अवस्थालाई दृष्टिगत गरी जनआन्दोलनका क्रममा भएका घटना र अन्य व्यक्ति वा समूहले आपराधिक मनसायका साथ सुनियोजित तथा सङ्गठित तरिकाले गरेका हिंसात्मक कार्यहरूको भेदलाई पूर्वाग्रहरहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेश गर्ने ।

    (ग) कसैलाई आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा अभियोजनको दायरामा पारिएको छ भनी आन्दोलनकारी स्वयं वा निजका तर्फबाट अन्य कसैले अनलाइन, लिखित वा हटलाइनमार्फत उजुरी दिएमा सो सम्बन्धमा सम्बन्धित निकायबाट विवरण झिकाई सो विवरणका आधारमा यो सम्झौता भएको मितिले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने ।

    (घ) स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित/सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत/थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने ।

    २.२ नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिस बमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछन् ।

    २.३ यस जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसै उपर फौजदारी मुद्दाको अनुसन्धान वा अभियोजन गरिने छैन ।

    २.४ यस जनआन्दोलनसहित नेपालका विभिन्न आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएका अन्यायपूर्ण तथा गैरकानुनी बल प्रयोगसम्बन्धी घटनाको आवश्यक जाँचबुझ गरी भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुनबाट रोक्नका लागि नेपालको प्रचलित कानुन, सुरक्षा निकायका कमीकमजोरी, सुरक्षाकर्मीलाई सामाजिक, मानसिक सुरक्षाको अभावलगायत अन्य कारणहरू पहिचान गरी सम्बन्धित कानुन तथा सुरक्षा निकायमा आवश्यक संस्थागत सुधारका उपायहरूको अध्ययन तथा सिफारिस गर्न छुट्टै संयन्त्र गठन गर्ने र सो संयन्त्रले पेस गर्ने प्रतिवेदन सार्वजनिक गरी प्रतिवेदनमा उल्लिखित सिफारिसहरू तत्काल कार्यान्वयन गरिनेछ ।

    ३. राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य

    ३.१ राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका देहायका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गरिनेछः

    क) सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनीत व्यक्तिको जीवनशैली, आयस्रोत र अकूत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुनबमोजिमको कारबाही गर्ने प्रक्रिया,

    (ख) सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबन्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनको विषय,

    (ग) विभिन्न सार्वजनिक पदधारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद्, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरीत वा गैरकानुनी गतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने विषय,

    (घ) नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीको पुनःसंरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाइको व्यवस्था र विद्युतीय सुशासन प्रवद्र्धन लगायतका विषय ।

    ४. स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता

    ४.१ आगामी प्रतिनिधि सभा तथा हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउन प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिनेछ ।

    ४.२ योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेछ । बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिनेछ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिकहरू, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइनेछ ।

    ४.३ निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिनेछ ।

    ४.४ सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ ।

    ४.५ निर्वाचन प्रणाली सुधारका लागि माथि उल्लिखित कुराको अतिरिक्त प्रचलित कानुनमा तत्काल संशोधन गरी निम्न व्यवस्था लागू गरिनेछः

    (क) मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिन (NOTA)” विकल्प राखिनेछ।

    (ख) राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्ति मात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिनेछ ।

    (ग) निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल/उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ ।

    (घ) राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्रै हुन सक्ने प्रबन्ध गरिनेछ ।

    (ङ) निर्वाचन प्रयोजनका लागि मात्रै हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिनेछ ।

    (च) आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिनेछ ।

    ५. नेपालको संविधानमा गर्नुपर्ने सुधार

    ५.१ नेपालको संविधानले सुनिश्चित गरेको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त, प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय व्यवस्था, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यका आधारभूत मूल्य मान्यताहरूलाई अक्षुण्ण राख्दै सुशासन कायम गर्न, संविधानको प्रभावकारी कार्यान्वयनमार्फत सामाजिक–आर्थिक रूपान्तरण तथा समतामूलक समृद्धि, दिगो शान्ति र दिगो विकासका वाचा पूरा गर्न तथा बदलिँदो परिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षालाई समेट्न गरिनुपर्ने संवैधानिक, कानुनी तथा संस्थागत सुधारका विषयहरूको पहिचान, अध्ययन र विश्लेषण गरी अग्रगामी परिवर्तनका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न स्वतन्त्र विज्ञ, जेन–जी र युवासहित सरोकारवालाहरूको सहभागिता रहने गरी एक उच्चस्तरीय ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिनेछ ।

    ५.२ उल्लिखित आयोगले स्थानीय, प्रदेश र सङ्घीय तहमा व्यापक बहस, संवाद, अन्तरक्रिया तथा नागरिक परामर्श गरी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ ।

    ५.३ संविधान संशोधन सुझाव आयोगको कार्यादेशमा अन्य कुराको अतिरिक्त निम्नानुसारका विषयवस्तु समेत तोकिनेछः–

    (क) संविधान कार्यान्वयनका दस वर्षको सिंहावलोकन गरी कार्यान्वयनका उपलब्धि र कमीकमजोरी पहिचान गर्ने तथा कार्यान्वयनको प्रभावकारिताका लागि ठोस सुझाव दिने,

    (ख) सुशासन कायम गर्न, अख्तियारको दुरूपयोग तथा भ्रष्टाचार निवारण गर्न, स्वार्थको द्वन्द्वको निराकरण गर्न, संविधानको कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय खोज्न तथा बदलिँदो परिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षाको समीक्षा गरी समयानुकूल संविधान संशोधनका लागि सुझाव दिने,

    (ग) माथि प्रकरण १.३ बमोजिमको आयोगलाई संवैधानिक हैसियत प्रदान गर्ने सम्बन्धमा सुझाव दिने,

    (घ) सङ्घीय संसद् एवम् प्रदेश सभाको संरचनाको सम्बन्धमा स्थानीय, प्रदेश र केन्द्रस्तरमा बहस एवम् अन्तरक्रियामार्फत सुझाव सङ्कलन गरी देहायका विषयमा सिफारिस सहितको प्रतिवेदन पेस गर्नेः

    (१) जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आवश्यक सुधार,

    (२) अधिकतम परिपूरणीय, अधिकारपूर्ण र अर्थपूर्ण प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसात् गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडि पारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्व सुनिश्चित गर्न सुधारात्मक व्यवस्था,

    (३) राज्यको राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको कार्यकाल १० वर्षमा नबढ्ने गरी दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने विषय,

    (४) प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष राख्ने विषय,

    (५) न्यायपालिका, संवैधानिक परिषद्, संवैधानिक आयोग र न्यायपरिषद्लाई राजनीतिक तथा दलीय हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्र ढङ्गले कार्यसम्पादन गर्न सक्षम बनाउन र राज्यका संरचनामा युवाहरूको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न उक्त आयोगहरूको संरचना तथा पदाधिकारी नियुक्तिको प्रक्रियामा सुधार,

    (६) राजनीतिक दलहरूको आन्तरिक समावेशी लोकतन्त्र र सुशासनका क्षेत्रमा गर्नुपर्ने सुधारका उपाय ।

    ६. पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व

    ६.१ यो सम्झौताबमोजिम बन्ने संयन्त्रहरूमा यथासक्य समावेशिता सुनिश्चित गरिनेछ । राज्यका संयन्त्रहरूमा अधिकतम परिपूरणीय, अधिकारपूर्ण र अर्थपूर्ण प्रतिनिधित्वका सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडि पारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्व सुनिश्चित गर्न यस सम्झौताबमोजिम गठन हुने जेन–जी परिषद्ले सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।

    ७. पारदर्शिता

    ७.१ पारदर्शी र जवाफदेही सरकारको अवधारणाअनुरूप सरकारले आफ्ना कामकारबाही, निर्णय तथा खर्चमा पारदर्शिता सुनिश्चित गर्नका लागि विधि, प्रक्रिया, कानुन, प्रविधि तथा संयन्त्रहरूमा आवश्यक सुधार, समायोजन र परिमार्जन गरिनेछ । सरकारका यस्ता निर्णय तथा कार्यलाई सूचनापाटी, वेबसाइट, सामाजिक सञ्जाल र आम प्रयोगमा रहेका सूचना तथा सञ्चारका माध्यममार्फत समेत सर्वसाधारणको सहज पहुँचमा पु¥याउने व्यवस्था मिलाइनेछ ।

    ७.२ नेपालमा विगतमा भएका मानव अधिकार उल्लङ्घन तथा हिंसाका घटना र भ्रष्टाचारसँग सम्बन्धित छानबिन लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न गठन गरिएका सम्पूर्ण छानबिन, जाँचबुझ आयोगका प्रतिवेदन प्रचलित कानुनको अधीनमा रही सार्वजनिक गरिनेछ ।

    ७.३ नेपाल सरकारको सार्वजनिक पदहरूमा हुने सबै नियुक्तिका लागि पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय छनोट प्रक्रिया सुनिश्चित गर्न, अवसरको समानता सुनिश्चित गर्न तथा नातावाद, कृपावाद र भेदभावको अवस्था अन्त्य गर्न जेन–जीलगायत सरोकारवालासँग परामर्श गरी आवश्यक उपायहरू अवलम्बन गरिनेछ ।

    ८. अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता

    ८.१ इन्टरनेट र डिजिटल माध्यममा अभिव्यक्ति, सूचना प्रवाह र संवादमा कुनै किसिमको स्वेच्छिक, गैरकानुनी नियमन, निषेध वा पूर्वाग्रही सेन्सरसिप हुन नदिन आवश्यक कानुनी, भौतिक र प्राविधिक पूर्वाधारको व्यवस्था गरिनेछ ।

    ८.२ सर्वसाधारण नागरिकको डिजिटल तथ्याङ्क (डेटा) माथि राज्य वा तेस्रो पक्षका तर्फबाट गैरकानुनी निगरानी र दुरूपयोग हुन नदिने गरी कानुनी, भौतिक र प्राविधिक सुधारसहित आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ ।

    ९. जेन–जी परिषद्को गठन ९.१ जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न, खबरदारी गर्न, सुशासन, दिगो विकास तथा समृद्धिका लागि नेपाल सरकारलाई सल्लाह, सुझाव र सहयोग प्रदान गर्नका लागि जेन–जी परिषद् गठन गरिनेछ ।

    १०. सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयन

    १०.१ दुवै पक्षका प्रतिनिधिद्वारा हस्ताक्षर भएको मितिदेखि यो सम्झौता लागू हुनेछ ।

    १०.२ यो सम्झौताको कार्यान्वयन नेपाल सरकार र जेन–जी जनआन्दोलनका प्रतिनिधिको आपसी सहमतिमा हुनेछ ।

    १०.३ यो सम्झौताको अधीनमा रहेर दुवै पक्षको सहमतिमा अन्य सम्झौता गर्न बाधा पुगेको मानिने छैन । —