Category: कला / साहित्य

  • काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

    काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

    काभ्रेपलाञ्चोक, २४ मङ्सिर । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित भएका छन् । दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

    दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भूटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेको विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले जानकारी दिए ।

    स्नातकोत्तर तहमा सबैभन्दा बढी चार सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एन्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अङ्क प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए तीन दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेजमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक तीन दशमलव ९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दङ्गाललाई प्रदान गरिएको छ ।

    प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन तथा नयाँ दिल्लीस्थित जवाहरलाल–नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको सहभागिता रहेको थियो । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् ।

    काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)को कार्यक्रममा सहभागी प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्की, कार्यक्रमका प्रमुख अतिथि भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा सान्तीश्री धुलिपुडी पण्डित, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुन र केयूका उपकुलपति प्राडा अच्युत वाग्लेलगायत । तस्बिरः पेमा लामा/रासस
  • युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की

    युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताएकी छिन् । सरकार र जेनजी समूहबीच आज सिंहदरबारमा भएको सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका इच्छा भने पूरा नहुने पनि स्पष्ट गरिन् ।


    “हाम्रा जति पनि हाम्रा युवा शक्तिहरू छन्, तिनीहरू देशमै बसुन्, रोजगारी गरुन् । राम्रो राजनीतिज्ञ गरुन् र देश चलाउनन् भन्ने हाम्रो इच्छा छ । एउटै दस्तावेजबाट सबैका इच्छा त पूरा हुँदैन”, प्रधानमन्त्री कार्कीले भनिन् । उनले उक्त सहमति नेपाल राजपत्रमा प्रकाशन हुने र यो ऐतिहासिक अभिलेख हुने बताइन् । सम्झौता हस्ताक्षर समारोहमा सहभागी केही जेनजी प्रतिनिधिले भने सम्झौतामा आफूहरूलाई चित्त नबुझेको गुनासो गरेका थिए ।

  • सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन् ।

    उनले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ । हामी एउटै पक्ष छौँ । जेनजी मेरा सन्तान हुन् । हामी सबैको एउटै विचार हो, युवा शक्तिले सत्ता लिओस् । उनीहरूका विचारअनुसार राज्य चलोस् । हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ ।”

    गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

    काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

    काभ्रेपलाञ्चोक, २४ मङ्सिर ः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।

    समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुनेुहुने कार्यक्रम रहेको छ । समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनुहुने कार्यक्रम, तय भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले जानकारी दिए ।


    समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कूल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित हुने छन् । दीक्षितमध्ये विद्यावारिधी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

    दीक्षितमध्ये हुनेमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्तराज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विभिन्न पदकसमेत प्रदान गरिने जनाइएको छ । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् । दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका हुन् । यस अवधीमा भारतका चार हजार ९७६ विद्यार्थी दीक्षित भएका हुन् ।

    त्यस्तै, श्रीलङ्काबाट ३९९, अमेरिकाबाट ८५, माल्दिभ्स ७५, जर्मनी ३३, बङ्गलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रेलिया १०, रुस १० जना छन् । हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताए ।

  • निर्वाचन ८५ दिन बाँकी : आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

    निर्वाचन ८५ दिन बाँकी : आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

    काठमाडौँ, २४ मङ्सिरः निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।

    नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ । मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।

  • समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौँ, २४ मङ्सिरः समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ ।

    यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ । आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ ।

    सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

  • इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु

    इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु

    पेरिस, २४ मङ्सिर (रासस–एएफपी) । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ०ले मङ्गलबार जानकारी गराएको छ। इजरायलको सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी पत्रकारहरूको मृत्यु भएको आरएसएफले जनाएको छ ।

    पेरिसस्थित मिडिया फ्रिडम ग्रुपले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२४ मा ६६ पत्रकारको हत्या गरिएकोमा यस वर्ष विश्वभर मारिने पत्रकारको संख्या ६७ पुगेको जनाएको छ । इजरायली सेनामने आक्रमणमा मृत्यु हुने पत्रकारको सङ्ख्या यो बर्ष आक्रमणमा मारिने पत्रकारको कुल सङ्ख्याको ४३ प्रतिशत हिस्सा रहेको ओगटेको आरएसएफले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

    पत्रकारमाथिको आक्रमणले इजरायललाई ‘पत्रकारहरूको सबैभन्दा ठूलो शत्रु’ बनाएको छ, आरएसएफले आफ्नो रिपोर्टमा भनेको छ । आरएसएफले सन् २०२४ डिसेम्बरदेखि १२ महिनामा भएका मृत्युको दस्तावेजीकरण गरेको छ । सबैभन्दा घातक एकल आक्रमण तथाकथित ‘डबल–ट्याप’ आक्रमण थियो । ‘डबल–ट्याप’ आक्रमणमा दोहोरो बम विस्फोट गरिन्छ र यो अगस्ट २५ मा दक्षिण गाजाको एक अस्पतालमा भएको थियो । ‘डबल–ट्याप’ आक्रमणमा अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्स र एसोसिएटेड प्रेस ९एपी० का दुई योगदानकर्तासहित पाँच पत्रकारको मृत्यु भएको थियो।

    समग्रमा अक्टोबर २०२३ मा गाजा युद्ध सुरु भएदेखि इजरायलमा हमासको आक्रमणपछि, लगभग २२० पत्रकारहरूको मृत्यु भएको छ, जसले इजरायललाई तीन वर्षसम्म विश्वव्यापी पत्रकारहरूको सबैभन्दा ठूलो हत्यारा बनाएको आरएसएफको तथ्याङ्कले देखाउँछ। इजरायली सेनाले हमासका लडाकु र नेताहरूलाई लक्षित गरी आक्रमण र गोलाबारी गरेको बताएको छ। मिडिया समूह र प्रेस स्वतन्त्रता संगठनहरूले पहुँचका लागि आह्वान गरे पनि विदेशी पत्रकारहरू अझै पनि गाजा प्रवेश गर्न असमर्थ छन् । उनीहरू इजरायली सेनाको कडा नियन्त्रणमा गाजा प्रवेश गर्नुलाई प्रेस स्वतन्त्रता मान्न सकिँदैन ।

    मेक्सिकोका वामपन्थी राष्ट्रपति क्लाउडिया शेनबामले पत्रकारको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे पनि सन् २०२५ मा मेक्सिकोमा कम्तिमा तीन वर्षमा सबैभन्दा घातक वर्ष भएको र नौ जना पत्रकारको मृत्यु भएको आरएसएफको वार्षिक प्रतिवेदनले बताएको छ । आरएसएफका अनुसार पत्रकारहरूका लागि सबैभन्दा खतरनाक देश भनिएका युद्धग्रस्त युक्रेनमा तीन र सुडानमा चार पत्रकारको मृत्यु भएको छ ।

    गत वर्ष मृत्यु हुनेको कुल सङ्ख्या सन् २०१२ मा मारिएका १४२ पत्रकारको तुलनामा कम हो । सन् २०१२ मा सिरियाली गृहयुद्धका क्रममा पछिल्लो तीन दशकमा सबैभन्दा बढी पत्रकार मारिएका थिए । यो बर्षको पत्रकारको मृत्यु सन् २००३ देखि प्रति वर्ष लगभग ८० जनाको मृत्यु हुने गरेको औसत तथ्याङ्कभन्दा भने कम हो।

    आरएसएफका सम्पादकीय निर्देशक एनी बोकान्डेले पत्रकारहरूलाई लक्षित गर्ने अपराधलाई ‘न्यायोचित’ साबित गर्ने तरिकाको रूपमा ‘धब्बा’ लगाउने बढ्दो प्रवृत्तिलाई उल्लेख गर्नुभयो । यी एक्कासी लागेका गोली र मृत्यु होइनन्। यो पत्रकारहरूलाई जानाजानी निशाना बनाइएको हो किनकि उनीहरूले विश्वलाई द्वन्द्वमा के भइरहेको छ भनेर जानकारी दिन्छन्,” उहाँले एएफपीलाई भन्नुभयो ।

    आरएसएफको वार्षिक प्रतिवेदनले आफ्नो कामका लागि जेलमा परेका पत्रकारहरूको सङ्ख्या पनि गणना गरेको छ । चीनमा १२१, रुसमा ४८ र म्यानमारमा ४७ जना पत्रकार जेलमा परेका छन् र यी पत्रकारहरूका लागि सबैभन्दा दमनकारी देशहरू मानिएका छन् । सन् २०२५ को डिसेम्बर १ सम्ममा ४७ देशमा ५०३ जना पत्रकारलाई हिरासतमा लिइएको रिपोर्टमा उल्लेख छ । अन्य संगठनहरूले पत्रकारको मृत्युको गणना गर्न फरक प्रमाणहरू प्रयोग गर्छन्। युनेस्कोका अनुसार सन् २०२५ मा ९१ जना पत्रकारको हत्या भएको थियो ।

  • बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

    बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

    चौरभिग्म (कालिकोट), २३ मङ्सिर । श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।
    तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए । भूकम्प गएको करिब १० वर्षपछि विद्यालयको हाताभित्र नयाँ तीनकोठे पक्की भवन तयार भएको हो ।


    नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा विद्यालय भवन बनाउन सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भवन बनाउन सहयोग गरेको हो । विद्यालयका शिक्षिका रञ्जना अधिकारीका अनुसार विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा हाल ४० बालबालिका मात्र अध्ययन गर्दछन् ।

    यसपछि थप अध्ययन गर्न यहाँका बालबालिका मालिका माविमा जाने गर्दछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णजीत बुढाले भने, “कक्षा कोठा नहुँदा बालबालिका कहिले खुला चौर त कहिले जीर्ण भवनका कोठमा बस्न बाध्य थिए । बल्ल नयाँ भवन बन्यो । यसका लागि तिलागुफा नगरपालिकाका मेयर र नेपाल रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।”

    नवनिर्मित भवनको अवलोकन गर्न यहाँ आइपुग्नुभएका तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने अन्य स्रोतसाधन सहयोग गर्ने जानकारी दिए । यस विद्यालयमा अतिविपन्न समुदायका बालबालिका अध्ययन गर्दछन् । नगरप्रमुख उपाध्यायको विशेष सक्रियतामा विद्यालयको नयाँ भवन बनेको हो ।

    तिलागुफा–१ का वडाध्यक्ष मनबहादुर बुढाले बालबालिका चौरमा बसेर पढ्नुपर्ने अवस्था अन्त्य भएको र आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने स्रोत-साधन उपलब्ध गराउन वडाले पहल र समन्वय गर्ने जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालका अनुसार विनाशकारी गोरखा भूकम्पबाट क्षति भएका विद्यालय भवन र अन्य विपद्बाट क्षति भएका विद्यालय, स्वास्थ्य सस्था, खानेपानीका संरचना जस्ता सार्वजनिक संरचनालाई पुनःनिर्माण गर्न नेपाल रेडक्रसले निरन्तर सहयोग गर्दै आएको छ । ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का जिल्ला संयोजक रवि लामिछाने विकट क्षेत्रका समुदायका मागलाई सम्बोधन गर्न कार्यक्रमले आफ्ना गतिविधिमा नगरपालिकालाई सहयोग गरिराखेको जानकारी दिए ।

    शौच गर्न जंगल छिर्नुपर्ने अवस्थाको अन्त्य

    सत्यदेवी माध्यमिक विद्यालयका बालबालिकाले घरबाटै खानेपानी लिएर विद्यालय आउन नपर्न भएको छ । तिलागुफा नगरपालिका वडा ६ जुविथास्थित बालीचौर स्थित सो विद्यालयमा खानेपानी सुबिधा भएपछि वर्षौपछि बालबालिकाले घरबाटै खानेपानी लिएर विद्यालय आउन नपर्ने भएको हो । विसं २०३८ मा यो विद्यालय स्थापना भएको थियो । तिलागुफा नगरपालिकाले लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम मार्फत् खानेपानी सहित शौचालय, विद्यालय भवनमा ‘च्यानल गेट’ राख्न सहयोग गरेको थियो ।

    कक्षा नौमा अध्ययनरत नर्जन शाहीले भने, “विद्यालय मै खानेपानीको धारा जडान भएपछि घरबाटै खानेपानी लिएर विद्यालय आउनुपर्ने अवस्था र शौच गर्न जङ्गल छिर्नुपर्ने अवस्था अन्त्य भएको छ ।” जुनियर तथा युवा रेडक्रस सर्कल कार्यसमितिका अध्यक्षसमेत रहनुभएका शाहीले भने, “शौच गर्न जङ्गल छिर्नु पर्दा पठनपाठनमा समस्या भएको थियो । शौचालय बनेपछि सुविधा भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद ।”

    विद्यालयका प्रधानाध्यापक सनम शाहीले, “विद्यालय भवनको तल्लो तलामा बालबालिका माथिल्लो तलामा गाईवस्तु हुन्थे । गाईवस्तुका गोबर सफा गरेर र गाईवस्तुलाई बाहिर धपाएर मात्र बालबालिका कक्षाकोठामा पस्नुपर्ने अवस्था थियो । भवनमा च्यानल गेटको व्यवस्था भएपछि विद्यालय भवनमा गाईवस्तु छिर्न बन्द भएका छन् ।” उनले विद्यालयमै खानेपानी सुविधा र शौचालय हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमाथि उठ्ने विश्वास व्यक्त गरे ।

  • निर्वाचन ८६ दिन बाँकी : समानुपातिकतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ८६ दिन बाँकी : समानुपातिकतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौँ, २३ मङ्सिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव माहादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् । उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

    कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने विश्वास व्यक्त गरे । उनले सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबैपक्षको भरोसा रहने उल्लेख गरे ।

    सो कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर रसगुन शम्शेर जबरा एवं आयोगका कर्मचारीको उपस्थिति थियो । यस्तै, सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गरेका छन् । छलफलमा अर्थमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।


    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक कानुनी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग गर्न आयोगलाई अनुरोध गरे । छलफलबाट प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप मद्दत पुगेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

  • प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेट, के भयो कुराकानी ?

    काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छिन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो । तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने उनको धारणा छ ।
    प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ ।

    अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरेका थिए । यता, प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको बताए । उनले प्रधानमन्त्री कार्कीले आगामी पौष २ गतेसम्म त्यसबारे निर्णय गर्ने आश्वासन प्राप्त गरेको समेत बताए ।

  • प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    काठमाडौँ, २२ मङ्सिर स् निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।

    १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् ।

    आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् । त्यसैगरी कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।

    आयोगका अनुसार, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्र्वाचन चिन्हका रुपमा प्रयोग हुनेछन् ।

    बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछ । दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोत्तल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कलो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् ।

  • निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    काठमाडौँ, २१ मङ्सिरः प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् ।

    आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ ।

    यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ ।

    प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

  • ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा

    ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा

    ओखलढुङ्गा, २१ मङ्सिरः ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।

    गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए । केही समय अगाडि गृहमन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको रत्न गङ्गा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए । बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ ।

    ओखलढुङ्गाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल नगरेको उनको भनाइ छ । “अर्को जिल्ला, अर्को प्रदेशका विद्यार्थी भए पनि हाम्रो विद्यालयमा पढ्ने बालबालिका गत असोजको बाढीले पुल बगाएपछि पढाइबाट वञ्चित भए । लामो समयसम्म त्यो जिल्लाका सांसद रामहरि खतिवडा र सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङसँग समन्वय गर्न खोजियो तर उहाँहरूले वास्ता नगरेपछि गृहमन्त्रालयबाट रबरबोट ल्याइयो, फिक्कल गाउँपालिको व्यवस्थापनमा बोट सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने गरिएको छ”, विव्यस अध्यक्ष भण्डारीले भने, “जोखिमपूर्ण अवस्था छ तर विकल्प छैन, त्यसैले दिगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने पुल निर्माण हो त्यसका लागि पनि हामीले माग गरिरहेकका छौँ ।”

    उनका अनुसार सुनकोशी पारिका विद्यार्थीलाई मौसम हेरेर नदीमा बाढी आउने–नआउने आकलन गरेर विद्यालय ल्याउनुपर्ने र दिउँसो बाढी आए त्यो बेलुका सिन्धुलीमै बसोबासको प्रबन्ध मिलाउने गरिएको छ ।

    विद्यार्थी ओसारपसारका लागि सुनकोशीमा बोट चलाउन फिक्कल गाउँपालिकाले सुरुदेखिनै एक जना कर्मचारी राखेको थियो । सुनकोशी गाउँपालिकाले पनि एक जना कर्मचारी राखेर तलब दिने आश्वासन दिएको छ ।

    बाढीले पुल बगाएपछि विद्यार्थीलाई विद्यालय ल्याउन अस्थायी विकल्पका रूपमा रबरबोट सञ्चालन गरिए पनि तीनखण्डेमा पुल निर्माणको पहल भइरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गरी छिमेकी जिल्लाका विद्यार्थीलाई विद्यालय जाने र त्यस क्षेत्रका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग गरिएको उपाध्यक्ष बरालको भनाइ छ ।

    “हाम्रो बाध्यता र कार्यक्षेत्रभित्रको समस्या होइन यद्यपी छिमेकी जिल्ला भएपछि र विगतदेखि हाम्रै विद्यालयका विद्यार्थी भएकाले ती अबोध बालबालिका लामो समय पढाइबाट वञ्चित भएको देखेर वैकल्पिक व्यवस्था गरी विद्यालय ल्याउने र घर फर्काउने गरिएको छ”, उपाध्यक्ष बरालले भने, “तीनखण्डेमा पुल निर्माणको पहल गरिरहेका छौँ । सबैको काम पनि भइसकेको छ तर सरकार परिवर्तन भएसँगै यो योजना ओझेलमा परेको छ ।” पुल निर्माणका लागि निरन्तर पहल गरिरहेको उनको भनाइ छ ।

    सुनकोशी नदी किनारमा बिहान ५ः०० बजेदेखि नै विद्यार्थीहरू भेला हुन्छन् । बालकक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी भएकाले एसइईको तयारीमा रहेका विद्यार्थीहरू बिहान कोचिङ पढ्न आउने र अन्य विद्यार्थी ९ः०० बजे सुनकोशी किनारमा आउने गरेका छन् । विद्यार्थी तार्न तीन वटा बोट राखिएको छ । जोखिमपूर्ण हुने भएकाले उमेर समूह अनुसार पालैपालो बोटमा राखेर सुरुमै अनुशासनमा बस्न, नहल्लीन, नचल्न निर्देशन दिएर नदी तारिन्छ ।

    बाढीले पुल बगाएपछि १० मिनेटको बाटो दुई घण्टा लगाएर छिमेकी जिल्ला विद्यार्थीहरू घुमेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य गर्न बोट सञ्चालनपछि सहज भएको फिक्कल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए । बोटमा आउने कोशीपारिका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर दिवाखाजा, छात्रवृत्तिजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उनको भनाइ छ ।

    रबर बोट (डुङ्गा) सञ्चालन भए पनि बर्सातको समयमा भने जोखिम हुने भएकाले तत्काल पुल निर्माण गर्न स्थानीयले माग गरिरहेका छन् । छोराछोरी विद्यालय पठाउन सुनकोशी नदी किनारसम्म आएका अभिभावक विद्यार्थी बोटचढेपछि पारी नपुग्दासम्म र साँझ फर्किने बेला वारी नआउँदासम्म पिरमा बस्ने गरेका छन् ।

    “नानीबाबुलाई खोलामा हेलाएर टुलुटुलु हेर्नुपर्छ आधा भाग कटेर पारि पुगेपछि ढुक्क हुन्छ फेरि बेलुका फर्किने बेला उस्तै पिरलो हुन्छ”, जेरोङघाटकी चन्द्रकुमारी माझीले भनिन्, “ढुङ्गामा बोट ठोकिँदा पनि नानीहरू डराएर चिच्याउँछन् कराउँछन् त्यो बेला भक्कानु छुटेर आउँछ । भगवान् पुकार्दै छोराछोरी पढाउन पठाउँछौँ ।” पुल नहुँदा यस क्षेत्रका नागरिकको दैनिकी पनि प्रभावित भएको छ । घरायसी सामान किन्न डेढ घण्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता छ । सिन्धुली क्षेत्र सुगम र नजिकै सुनकोशी नदीपारि रहेको ओखलढुङ्गा क्षेत्र दुर्गम छ ।

  • ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    पाटन (ललितपुर), २० मङ्सिरः विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका २९ वटै वडाका २९ उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, २९ उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक र एक उत्कृष्ट टिभी ट्रेसर र एचआइभी काउन्सलरलाई सम्मानसहित पुरस्कृत गरे । महानगरमा लामो समय काम गरेर अनिवार्य अवकाश भएका ६ जना महिला स्वास्थ स्वयंसेविका र २० जना टोल स्वास्थ्य उत्प्रेरकलाई नगल एक लाख रुपैयाँसहित सम्मान गरियो ।


    स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई÷तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताएका छन् । “तपाईंहरुको कारणले ललितपुर महानगरको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम भएको छ, हामी तपाईंहरुको कामको प्रशंसा गर्न चाहन्छु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समस्या समाधान गर्न तीन महिनाभित्र एउटा कार्यविधि निर्माण गर्नेछौँ, ७५३ स्थानीय तहमध्ये हामीले उत्कृष्टस्तरको काम गरेका छौँ, ललितपुर महानगर भन्नासाथ राम्रो काम गर्ने नगरपालिका भनेर चिनिन्छ, स्वास्थ्य क्षेत्रमा प्राप्त सुझावलाई ग्रहण गरेर कार्यान्वयन गर्छौँ, हामी बोल्ने मात्रै हैन, बोलेको कुरा काम गरेर देखाउन सक्छौँ ।” उनले भने ।

    ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएको सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले धेरै चर्चा गर्नेभन्दा पनि जनताको हीतमा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिका रूपमा ललितपुर महानगर प्रमुखको भूमिका रहेको भन्दै ललितपुर महानगरले उत्कृष्ट काम गरिरहेको धारणा राखे । उनी ललितपुर महानगरले मानव संशाधनको विकास, सम्पदाको संरक्षण, शिक्षा, स्वास्थको विकासमा अनुकरणीय काम गरेको भन्दै शारदा नगरपालिकाल पनि ललितपुर महानगरको समन्वय र सहयोगमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बताए ।
    कार्यक्रममा महानगरको सामाजिक विकास समितिका संयोजक प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले धेरै वडामा खुला आकाशमुनि बसेर भिटामिन ए खुवाउनु परेकोमा अवदेखि २९ वटै वडामा टेवल, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने बताए ।

    ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वयंसेवकको योगदानले स्थानीय समुदायदेखि विश्वले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने भन्दै सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न र आमसर्वसाधारणको स्वास्थ क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन महत्त्वपूर्ण काम भएको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कारण मातृमृत्युदर, बालमृत्युदरमा कमी आएको भन्दै महिला स्वास्थ स्वयंसेविकाको योगदानले सुरक्षित मातृत्वको लागि अतुलनीय योगदान भएको भन्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका महानगरको स्वास्थ क्षेत्रको मेरुदण्ड भएको धारणा राखिन् । जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले महिला स्वास्थ स्वयंसेविकाको योगदानले नेपालले स्वास्थ क्षेत्रमा दक्षिण एसियामा नै उत्कृष्ट स्थान हासिल गर्न सकेको धारणा राखिन् ।

  • प्रधानमन्त्रीको आह्वानमा दलहरुको संयुक्त बैठक, के भयो कुराकानी ?

    प्रधानमन्त्रीको आह्वानमा दलहरुको संयुक्त बैठक, के भयो कुराकानी ?

    काठमाडौँ, १९ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ ।”

    यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उनको भनाइ छ । मन्त्री खरेलले सरकारका तर्फबाट खासगरी संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै यसैमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको बताए ।


    “विगतका निर्वाचनहरूमा जेजस्ता चुनौतीहरू देखिएका थिए, ‘फेक न्यूज’, ‘मिस इन्फरमेसन’, ‘डिसइन्फरमेसन’बारे खुलेर कुराकानी भएको छ”, उनले भने, “यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ । केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएका छन्, सरकार त्यसप्रति सचेत छ ।”

    मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताए । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक भएको हो ।

  • जेन जी आन्दोलनपछि पहिलो पटक सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

    जेन जी आन्दोलनपछि पहिलो पटक सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौँ, १९ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी थिए । जेनजी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।

  • मधेस प्रदेशका मुख्यमन्त्री पदमा कांग्रेसका यादव नियुक्त

    मधेस प्रदेशका मुख्यमन्त्री पदमा कांग्रेसका यादव नियुक्त

    जनकपुर, १९ मङ्सिर । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई आज मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहित छ राजनीतिक दलका ७७ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको पत्रमा उल्लेख छ ।

  • आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

    आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

    रासस
    काठमाडौँ, १९ मङ्सिर । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन कायम गर्न राजनीतिक दललाई आज निर्देशन दिएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता कायम रहेका राजनीतिक दललाई आज निर्देशन दिएको हो ।

    नेपालको संविधानको मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्थालाई स्मरण गरी निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवं लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नलगायत विषयमा आयोगले दिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रत्येक राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पु¥याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनको लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिन आयोगले भनेको छ ।

    निर्वाचनमा प्रयोग हुने मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्न, राजनीतिक दलको घोषणापत्रलगायत दस्तावेजहरूमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न, महिला, दलित वा अल्पसङ्ख्यक समुदायको लागि आरक्षण गरिएका पदहरू बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तीमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्बित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्न आयोगले निर्देशन दिएको छ ।

    राजनीतिक दलले आफ्ना सदस्यहरूलाई लैङ्गिक तथा समावेशिताका सवालहरूमा संवेदनशील बनाउन आवश्यक सहजीकरण तथा प्रशिक्षणको व्यवस्था गर्ने।साथै तालिम तथा प्रशिक्षणका पाठ्यक्रम, पाठ्यसामग्री, निर्वाचनसम्बन्धी स्रोत सामग्री तयार गर्दा तथा कार्यक्रमस्थल छनोट गर्दा लैङ्गिक तथा अपाङ्गमैत्री र समावेशी बनाउन आग्रह गरिएको छ ।

    राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चित गर्न, कुनै कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्ग, क्षेत्र र समुदायको सहभागिता र प्रतिनिधित्व हुनेगरी कार्यक्रम सञ्चालन गर्न, निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवं समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवं कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य हुन नदिन सम्पूर्ण सतर्कता अपनाउन आयोगले निर्देशन दिएको छ ।

    ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवं प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता प्रदान गर्न, सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्न, निर्वाचनमा लैङ्गिक तथा समावेशिता, निर्वाचनको महत्व र मतदान गर्ने तरिकालगायत विषयमा मतदाताहरूलाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउन आयोगले स्मरण गराएको छ ।

    यसैगरी निर्वाचन आचारसंहिताको पालना गर्न, समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गरेपछि त्यसरी पेस गरेको बन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

    राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवं जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने, सरकारी, सार्वजनिक, सामुदायिक वा निजी सम्पतिको तोडफोड हानी नोक्सानी वा क्षति पु¥याउने वा पु¥याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य गर्नेलगायत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा उल्लेख भएका निषेधित कुनै पनि कार्य नगर्ने र नगराउने व्यवस्था गर्न आयोगले भनेको छ ।

  • पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

    पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

    भोजपुर, १९ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख सङ्कलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो ।

    ‘शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुन्’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रमअन्तर्गत बालबालिकालाई पाँच वर्षसम्म मासिक पाँच सयका दरले सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यसले अभिभावकलाई बालबालिकाको पठनपाठनमा प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ ।

    “सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन हामीले विशेष जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, विद्यालय छाड्नुका कारण पत्ता लगाउने र तत्काल समाधान गर्ने प्रक्रियालाई निरन्तर सञ्चालन गरिरहेका छौँ ।” यो अभियानमार्फत विद्यालय बाहिर रहेका १० जना विद्यार्थी पुनः भर्ना गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयलाई छाड्ने दर शून्य बनाउन गाउँपालिकाले सचेतनासँगै खोजी अभियान सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार हाल गाउँपालिकामा रहेका ३२वटै सामुदायिक विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् । “विद्यालय सुधार, सिकाइको गुणस्तर वृद्धि र बालमैत्री वातावरण निर्माणमा हामी निरन्तर केन्द्रित छौँ”, भट्टराईले भने ।
    शैक्षिक सुधारसँगै गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन भइरहेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयलाई सम्मान तथा आर्थिक प्रोत्साहन प्रदान गरिँदै आएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

    यो गाउँपालिकालाई २०८१ सालमा बालश्रममुक्त स्थानीय तहसमेत घोषणा गरिएको छ । बालमैत्री स्थानीय तह निर्माण गर्न बालश्रमुक्त स्थानीय तह पहिलो शर्त रहेकाले गाउँपालिकाले अहिले यसमा जोड दिएको गाउँपालिकाका रोजगार संयोजक तथा बालश्रमसम्बन्धी विषयका स्रोतव्यक्ति टेकराज खड्काले बताउए । गाउँपालिकाले बाल उद्धार कोष निर्माण गरेर आवश्यक कदम अघि बढाएको छ । स्थानीयवासीले गाउँपालिकाले सञ्चालन गरेको यो अभियानले विद्यालय फर्कने विद्यार्थीको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरेका छन् । राससबाट

  • स्वरसम्राट् नारायण गोपालको ३५ औँ स्मृति दिवस मनाइदैं

    स्वरसम्राट् नारायण गोपालको ३५ औँ स्मृति दिवस मनाइदैं

    काठमाडौँ, १९ मङ्सिरः प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।

    ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए, कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्….’, ‘अल्झेछ क्यारे पछ्यौरी..’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् । मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

  • प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

    प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

    काठमाडौँ, १९ मङ्सिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।

    आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ ।

    यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

    सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

  • एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

    एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

    काठमाडौँ, १८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमालेले यसअघि चितवनमा सम्पन्न १०आँै राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

    “हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ” उनले भने, “टेण्डर आव्हान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।” महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने जनाइएको छ ।

  • आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

    आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

    काठमाडौँ, १८ मङ्सिरः आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।

    एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो । यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।
    तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ

  • आज किराँत समुदायमा उँधौली पर्व मनाईदैं, देशभर सार्वजनिक बिदा

    आज किराँत समुदायमा उँधौली पर्व मनाईदैं, देशभर सार्वजनिक बिदा

    काठमाडौँ, १८ मङ्सिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए ।

    यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउनुहुन्छ ।

    किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

    ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

    पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

    उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् । खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । राससबाट

  • पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    काठमाडौँ, १८ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तै मध्येका एक हुन्, संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले बताए ।


    मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन् । । विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताए ।

  • कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

    कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

    मान्म (कालीकोट), १६ मङ्सिरः कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन सकिएको छैन । दुर्गममा पर्ने यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको हो ।

    वैशाखयता १५÷१५ दिनको फरकमा १८औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त नपरेको विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले बताए । “गणित विषयको शिक्षक पाउनै कठिन भएको छ”, उनले भने, “शिक्षक अनुमतिपत्र लिएको व्यक्ति आवश्यक हुन्छ । अहिलेसम्म पनि कसैको दर्खास्त परेको छैन ।” गत कात्तिक ३० गते विद्यालयले १९औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक हालसम्म नपाइएको प्रधानाध्यापकले जानकारी दिए । “अहिले पनि दर्खास्त नपरे पुनःविज्ञापन गर्नुपर्ने हुन्छ”, उनले भने, “सोमबार अन्तिम दिन हो, आवेदन भने परेको छैन ।”

    स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बालविकासदेखि १० कक्षासम्म ३७५ जना विद्यार्थी अध्ययनरत छन् । तीन जना प्राथमिक विद्यालयमा स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन् । त्यस्तै, जिल्लाको शुभकालिका गाउँपालिका–५ का माध्यमिक विद्यालयमा दरबन्दी शून्य छन् ।

    दाहाल मावि सुकाटिया र वडा नं १ को जनता माध्यमिक विद्यालय छातीले पनि सङ्घीय अनुदानको विज्ञान, गणित र अङ्ग्रजी विषयका शिक्षक नपाएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले बताए ।
    “स्थायी दरबन्दी नभएका १२ वटा माध्यमिक विद्यालयलाई अङ्ग्र्रेजी, गणित र विज्ञान विषयका प्रतिविद्यालय तीन जना शिक्षकका लागि सङ्घीय अनुदानको आएको छ”, उनले भने, “प्रतिव्यक्ति रु ४३ हजार ६८९ तलव दिने सरकारी नीति छ । तर, यहाँ शिक्षक पाउन कठिन छ ।”

    पलाता गाउँपालिकाले गत वर्ष अंग्र्रेजी, गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापन गर्न संघीय अनुदानको बजेटबाट आफै विज्ञापन गरे पनि दर्खास्त नपरेको शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताए । उनका अनुसार विषयगत शिक्षक नपाउनु कालीकोटका नौवटै स्थानीय तहको साझा समस्या हो ।

  • मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो

    मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो

    मुस्ताङ, १६ मङ्सिरः हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको पाइएको छ ।

    प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रुघाखोकी, निमोनियालगायत समस्याका बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएको छ । हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले बताए । उनका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन् ।

    अस्पतालबाट चालु आवको साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । साउनमा १८, भदौमा ३७, असोजमा ३७ र कात्तिकमा ४८ जनाले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिएका डा कँडेलले उल्लेख गरे । उनका अनुसार मङ्सिर १५ गतेसम्ममा २८ जना बिरामीले भर्ना भई सेवा लिइसकेका छन् ।

    पन्ध्र श्ययाको प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या दिनहुँ वृद्धि भइरहँदा प्रभावकारी उपचारमा समस्या हुनुका साथै श्यया अभाव भएको उनको भनाइ छ । बालबालिकामा रुघाखोकी लाग्ने, स्वाशप्रश्वासमा समस्या, स्वाँस्वाँ हुने, छाती घ्यारघ्यार हुने, ज्वरो आउनेलगायत समस्या देखिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले जानकारी दिए । अधिकांश रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर आउनेमध्ये ८० प्रतिशत जति १० वर्ष मुनिका बालबालिका रहेका उहाँले उल्लेख गरे ।

    रुघाखोकी र निमोनियाका लक्षण देखिएमा तुरुन्तै अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा जचाउँनुपर्ने डा कँडलले सुझाव दिनुभयो । चालु आवको साउनदेखि मङ्सिर दोस्रो सातासम्मको तथ्याङ्क अनुसार बिरामी भई अस्पताल भर्ना हुने बालबालिका करिब ७० प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ ।

    चिसोबाट सुरक्षित रहन दाउरा वा कोइला बाल्दा, गिजर, हिटरलगायत उपकरण प्रयोग गर्दा हावा छिर्ने गरी ‘भेन्टिलेसन’ खुला गर्नुपर्ने डा कँडेलले बताए । साथै तातोपानी पिउने, झोलिलो र पोषणयुक्त खानपान गर्नेलगायत आवश्यक सावधानी अपनाउनुपर्नेमा डा कँडेलले जोड दिए । यसैबीच, अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसी झरिसकेका छन् । यहाँका बालबालिकालाई चिसोबाट जोगाउन सुरक्षित स्थान खोज्दै बेँसी झारिएको जनाइएको छ । यहाँका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था भने सञ्चालनमा छन् ।

  • कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

    कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

    पाटन, १५ मंसिर । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । गत असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको आज सम्पन्न बैठकको निर्णय जानकारी गराउँदै पार्टी प्रवक्ता डा महतले केन्द्रीय महाधिवेशन तयारी प्रक्रियाअन्तर्गत यही मङ्सिर २० गतेभित्र क्रियाशील सदस्य वितरण गर्नेगरी कार्यतालिका स्वीकृत भएको बताए ।

    मङ्सिर २४ गतेसम्म क्रियाशील सदस्यता नवीकरण टुङ्गोेमा पु¥याउने र पुस ८ गतेसम्म नयाँ क्रियाशील सदस्यसम्बन्धी सबै काम सम्पन्न गर्ने तालिका तय भएको छ, नयाँ क्रियाशील सदस्य वितरणमा समावेशी, युवा तथा पार्टीमा प्रवेश गरेकालाई समेट्ने निर्णय भएको छ”, उनले भने ।


    पार्टीको निर्णयअनुसार आगामी पुस १५ गतेभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने, पुस १६ गते गाउँ तथा नगर वडा अधिवेशन, पुस १७ गते गाउँ तथा नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेश क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको समेत अधिवेशन हुने भएको छ ।

    त्यस्तै पुस २२ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तथा पुस २३ र २४ गते सातै प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ । यसैगरी आजको बैठकले यही मङ्सिर २३ गतेदेखि सकिने केन्द्रीय समितिको म्याद माघ महिनाको अन्त्यसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता डा महतले जानकारी दिए ।

  • जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस

    जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस

    काठमाडौँ, १५ मङ्सिरः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीलाई जानकारी दिए । यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको उनले बताए ।

    बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा रु पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए ।


    यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ । मन्त्रिपरिषद्का अन्य निर्णय मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने पनि मन्त्री खरेलले बताए ।

  • एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

    एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौँ, १५ मङ्सिरः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।

    पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।

    कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।