Category: कला / साहित्य

  • नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

    नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

    काठमाडौँ, २६ कात्तिकः नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच आज पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो । सहमतिसँगै काठमाडौँको राष्ट्रियसभा गृहमा पार्टी एकता घोषणा सभा सुरु भएको छ ।

    जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने दुई पार्टीबीच सहमति भएको छ । यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पत्रमा उल्लेख छ ।

    महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ ।

    यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने तथा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गरिने सहमति पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निष्काषित गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।

  • २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काठमाडौँ, २६ कात्तिक । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।
    यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

    उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए । उनले भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।”


    यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो । चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।

  • एमालेले गर्यो पालिकाहरुमा प्रदर्शन

    एमालेले गर्यो पालिकाहरुमा प्रदर्शन

    काठमाडौँ, २५ कात्तिकः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ ।

    सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।


    उनका अनुसार यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उनले जानकारी दिए ।

  • राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

    राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

    काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

  • राम कुमारी झाँक्री र किसान श्रेष्ठ एमाले प्रवेश

    राम कुमारी झाँक्री र किसान श्रेष्ठ एमाले प्रवेश

    काठमाडौँ, २४ कात्तिकः घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गरे ।

    एमालेका कार्यालय सचिव डा भीष्म अधिकारीले ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ गरेर सुरुआत मात्रै भएको र देशैभर यो अभियान जारी रहने बताए । एमाले अध्यक्ष ओलीले केही दिनअघि विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए । सोही आह्वानअनुुसार घर फर्क अभियानअन्तर्गत आज १५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।

  • ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

    ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

    २४ कात्तिक, लण्डन । बीबीसीको एक प्रसिद्ध कार्यक्रम प्यानोरमा अन्तर्गत प्रशारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन्। यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा परेका थिए। उनी पाँच वर्षदेखि उक्त पदमा थिए।

    बाहिर चुहिएको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले सोमवार प्रकाशित गरेको थियो। त्यसमा प्यानोरमा कार्यक्रमले अमेरिकी राष्ट्रपतिको भाषणका दुई भागमा भएको सम्पादनले उनले ज्यानुअरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उक्साएको जस्तो देखाएको उल्लेख छ। यूकेका नेताहरूले डेभी र टर्नेसका राजीनामाले परिवर्तन हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले पनि उक्त निर्णयको स्वागत गरेका छन्।
    बीबीसीका कार्यकारी निर्देशक र समाचार प्रमुखले एकैदिन राजीनामा दिनु अभूतपूर्व घटना हो।

    बीबीसीबाट

  • आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

    आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, २४ कात्तिक । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरे्को प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।


    विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।


    राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका छ ।

    प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक रुपमा बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।
    विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताए ।

    विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । २०३३ सालमा बिपीसँगै राष्टिूय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे । तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे ।

    बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बने ।


    नेता सिंहलाई विसं २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    काठमाडौँ, २४ कात्तिक । अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘अभिमन्यु ः च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

    “मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भने । पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेका छन् । तर, उनी कलाकारिताको यात्रा त्यति सहज भने थिएन ।

    “अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौँ आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहँे । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे । त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो”, उनले भने ।
    अभिनय सिक्ने जोशमा उहाँले भारतको दिल्लीसम्म पुगेर प्रयास गरे, तर सफल हुन सक्नुभएन । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गरे । ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उनलाई खोज्न थाले । तर, उनको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए ।

    “म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा प¥यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो”, अभिनेता चौरासियाले भने । आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उनले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गरे । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उनलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गरे ।


    “मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ”, उनले भने । चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गरेका छन् ।
    मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका छन् ।

  • फेवातालस्थित ताल बाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    फेवातालस्थित ताल बाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    ऋषिराम बराल/रासस

    लेखनाथ (कास्की), २३ कात्तिकः पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले दिए । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ ।

    उहाँले फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम सृजना भएकाले पुनर्निर्माण गर्नुपरेको बताए । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनर्निर्माणका लागि बाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागले पुनर्निर्माणका लागि काम अगाडि बढाएको हो ।
    भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा हटाइसकिएको थियो । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका थिए । पोखराको लेकसाइड आउने पर्यटकको मुख्य गन्तव्यका रूपमा फेवातालको मध्यभागमा अवस्थित तालवाराही मन्दिर रहने गर्छ ।

    पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण सम्पन्न गर्न रु एक करोड ८४ लाख लाग्ने जानकारी अध्यक्ष पहारीले दिए । प्यागोडा शैलीमै कालिगढ भक्तपुर र ललितपुरबाट मगाएर वर्तमान स्वरुपमै मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले रु छ लाख दिएको छभने अन्य रकम तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिको कोषबाट र भक्तजनबाट सहयोग जुटाएर पुनर्निर्माण सम्पन्न गरिनेछ ।

    पुनर्निर्माण एक वर्षभित्र सक्ने भनिएको भए तापनि विविध कारणले पुनर्निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको छ । तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीका अनुसार आउँदो वैशाखभित्र सर्वसाधारण भक्तजनले दर्शन र पूजाआजा गर्न सक्नेगरी पुनर्निर्माण सक्नेगरी तयारी गरिएको छ । मुख्य काम मन्दिरको छानो छाउने र वरपरको रेलिङ निर्माण बाँकी छ ।

    कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गरेको बताइन्छ । यस मन्दिरको अस्तित्व १६६९ सालदेखि कायम रहिआएको छ । कतैकतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहींँ मन्दिर स्थापना गरी वाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पुजारी उमेश पहारीले सुनाए ।


    पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देख्नुका साथै पर्यटकीय गन्तव्य सराङकोट, पुम्दीकोट, कास्कीकोट दरबारलगायतका स्थान यहाँबाट देख्न सकिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्छ, पुजारी पहारीले भने ।
    यस्तो छ किंवदन्ती

    स्थानीय अग्रज ८० वर्षीय रमेशबहादुर भट्टराईका अनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको र एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै त्यस बस्तीमा आए, कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । वृद्धाले बास बस्न दिइन् । तर खान भने ढुटोको रोटीमात्र भएको सुनाइन् । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाईँ भने अग्लो ठाउँमा चाँडै जानु ।”

    जोगी हिँडेको केही समयमा आवाज आयो । आवाजसँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।

    फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको मध्यभागमा अवस्थित पुरानो मन्दिर तालवाराही भगवतीको पूजाआजाको प्रारम्भ १४६७ सालबाट भएको हो भने १८६८ सालबाट नित्य पूजाआजा सुरु भएको जानकारी मन्दिरका सूचना अधिकारी राजेन्द्र खत्रीले दिए ।


    सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले २०१७ सालमा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने २०५३ सालमा आएरमात्र भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

    कुल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण र गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए ।

    तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले बताउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

  • राष्ट्रपति पौडेलले गरे ‘एनटिभी वर्ल्ड’ शुभारम्भ

    राष्ट्रपति पौडेलले गरे ‘एनटिभी वर्ल्ड’ शुभारम्भ

    काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण ९पिएसबी० नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले पिएसबीको लोगो र मोबाइल एप सार्वजनिक गरे । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले प्रथम वार्षिकोत्सव मनाएको हो । राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो ।

    ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास ९समिति० गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो ।

  • भगवान बुद्धका पवित्र अवशेष भुटानको यात्रामा

    भगवान बुद्धका पवित्र अवशेष भुटानको यात्रामा

    थिम्पू, २३ कात्तिक (रासस–एएनआई) । भारत र भुटानबीचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धको प्रतीकस्वरूप भगवान बुद्धका पवित्र अवशेषहरू शनिबार भुटानको यात्रामा लागेका छन् । नयाँदिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित ती अवशेषहरूलाई भारतका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री डा. वीरेन्द्र कुमारको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारतीय वायुसेनाको विमानमार्फत थिम्पू पु¥याएको हो ।

    नोभेम्बर ८ देखि १८ सम्म भुटानमा हुने सार्वजनिक प्रदर्शनी भुटानका चौथो राजा जिग्मे सिङ्गे वाङचुकको ७० औँ जन्मदिवसको अवसरमा आयोजना गरिएको ग्लोबल पिस प्रेयर फेस्टिभल (जिपिपिएफ) को प्रमुख अङ्ग हो । यसको उद्देश्य विश्व शान्ति र मानव कल्याणको सन्देश प्रवद्र्धन गर्नु रहेको छ । वज्रयान बौद्ध धर्मको एक मात्र आधिकारिक राष्ट्र भुटानले आफ्नो गहिरो आध्यात्मिक परम्पराको सम्मानका रूपमा यो घटनालाई अत्यन्त महत्त्वका साथ मनाउँदैछ । पवित्र अवशेषहरू भुटान सरकार र मठीय निकायको ऐतिहासिक केन्द्र ताशिचो जोङस्थित कुएनरी हलमा प्रदर्शित गरिनेछन् ।

    प्रदर्शनीसँगै गुरु पद्मसम्भवको जीवन, भगवान बुद्धका अवशेषहरूको उत्खनन र बुद्धका शिक्षाको अन्वेषण गर्ने गरी तीनवटा विशेष प्रदर्शनीहरू पनि आयोजना गरिने कार्यक्रम छ । यसअघि नोभेम्बर ४ मा भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा थिम्पूको चाङ्लिमिथाङ स्टेडियममा ग्लोबल पिस प्रेयर फेस्टिभल २०२५ सुरु भएको थियो । यो १३ दिने आध्यात्मिक महोत्सवमा विश्वभरका बौद्ध धर्मगुरु, अभ्यासकर्ताहरू र शान्ति समर्थकहरू एकत्रित भई करुणा, सद्भाव र विश्व शान्तिको सन्देश फैलाउने अभियानमा संलग्न छन् ।

    भुटानको शाही सरकारले आयोजना गरेको यस पर्वमा पवित्र अनुष्ठान, गैर–साम्प्रदायिक शान्ति प्रार्थना, बाजागुरु मन्त्रको सामूहिक पाठ, सार्वजनिक आशीर्वाद र कालचक्र सशक्तीकरणजस्ता धार्मिक कार्यक्रमहरू समावेश छन् । थेरवाद, महायान र वज्रयान परम्पराका प्रख्यात बौद्ध आचार्य, विद्वान र गुरुहरूले सहभागी हुँदै भुटानले विश्व शान्ति र सद्भावका लागि माया, दया र जागरूकताको रूपान्तरणकारी शक्ति प्रयोग गर्ने आफ्नो प्रतिबद्धता प्रदर्शन गरिरहेको छ ।

    यो चाड केन्द्रीय मठ निकायद्वारा कुएन्सेलफोद्राङमा सम्पन्न जब्जी धोचोग नामक पवित्र अनुष्ठानबाट सुरु भएको हो । यो दुर्लभ धार्मिक विधिले शरीर, वाणी र मनका नकारात्मक कर्महरूलाई शुद्ध पार्ने उद्देश्यले शान्तिपूर्ण प्रसाद र क्रोधित संरक्षण दुवैको संयोजन गर्दछ । चाङ्लिमिथाङ मैदानमा विभिन्न बौद्ध सम्प्रदायका प्रतिनिधिहरूले अङ्ग्रेजी, तिब्बती र जोङ्खासहित विविध भाषामा विश्व शान्तिका लागि प्रार्थना गर्नेछन् । प्रदर्शनी र अनुष्ठानका क्रममा शिक्षा, व्याख्या र अनुवादहरू पनि उपलब्ध गराइनेछन् ।

    कार्यक्रमका प्रमुख लामाहरूले भक्तजनहरूलाई सार्वजनिक आशीर्वाद दिनेछन् र त्यसपछि विश्व शान्तिका साझा आकांक्षामा एकताबद्ध हुने उद्देश्यले बाजागुरु मन्त्रको सामूहिक पाठ गरिनेछ, जसले श्रद्धा, ध्यान र करुणाको भावनालाई बलियो बनाउनेछ ।

  • रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

    रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

    चितवन, २३ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।

    छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।

    रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।”

    जेनजी आन्दोलनका क्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ ।

    देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।

    फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति ९फागुन ७–९०मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ ।

    बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।

    केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो ।

    विस्तारित बैठकमा केन्द्रीय सदस्य डा तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

  • रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

    रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

    चितवन, २१ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । बिस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो । पार्टी प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो । केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उनले बताए । दुई दिन चल्ने बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गर्ने तालिका रहेको छ ।

    विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक र अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि प्रतिबद्धता पत्रको मस्यौदा पेस गर्नेछन् । बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्था बारेमा धारणा राख्नेछन् । पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्ने छ ।

    बैठकमा पार्टीले आगामी फागुनमा तोकेको महाधिवेशनका बारेमा पनि छलफल हुने जनाइएको छ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी छन् ।

  • नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित

    नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित


    काठमाडौँ, कात्तिक १९ गते। विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ। आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ।

    घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ। राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ। जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ।

    पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ। सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ। वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ।

    स्वदेशी कच्चापदार्थ र श्रमशक्ति प्रयोग हुने उद्योगधन्दाको व्यापक विस्तार र विकास गरी पर्याप्तमात्रामा रोजगारी सिर्जना गरिनेछ। देशको सम्पूर्ण श्रमसक्षम जनशक्तिलाई ‘योग्यताअनुसारको काम र कामअनुसारको दाम’ उपलब्ध गराउने गरी आर्थिक क्षेत्रको द्रुततर विकास गरिनेछ।

    सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

    नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धतापत्र पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। नेपालको राष्ट्रिय स्वाधीनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने, राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान् र समर्पित भई काम गर्ने सो पार्टीको प्रतिबद्धता छ।

    समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीयस्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सवलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा पहल गर्ने सो पार्टीको प्रतिबद्धता छ।

    भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शीता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने तथा उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने घोषणा गरेको छ।

    राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आमजनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने नेकपाको प्रतिबद्धता छ।

    विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरी सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्ने तथा पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने प्रतिबद्धता पत्रमा उल्लेख छ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी–समाजवादी, नेकपा (साम्यवादी)लगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरू एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको हो। सम्मेलनबाट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनुभएको छ। रासस

  • माओवादी र समाजवादीसहित १० बाम दलबीच एकता, बन्यो नेपाली कम्यूनिष्ट पार्टी

    माओवादी र समाजवादीसहित १० बाम दलबीच एकता, बन्यो नेपाली कम्यूनिष्ट पार्टी


    १९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो ।

    एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी भए । एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो ।

    त्यस अवसरमा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएकाले विभिन्न वाम घटकबिच एकता भएको बताउनुभयो । उहाँका अनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ ।

    एकीकृत पार्टीबिच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहने छ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुने छ ।

    एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलबिच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुने उल्लेख छ ।

  • विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

    विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

    थिम्पू (भुटान), १९ कात्तिक (रासस\एएनआई) । भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ । यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ । यसले द्वन्द्व र विभाजनले दिग्भ्रमित संसारमा शान्ति, करुणा र सद्भावलाई बढावा दिन सबै बौद्ध परम्पराहरूका आध्यात्मिकहरूलाई एकजुट गर्ने भुमिका खेल्ने जनाइएको छ ।

    भुटानी सरकारले आयोजना गरेको विश्वव्यापी शान्ति प्रार्थना महोत्सवमा पवित्र अनुष्ठान, गैर–साम्प्रदायिक विश्वव्यापी शान्ति प्रार्थना, सामूहिक पाठ, सार्वजनिक आशीर्वाद र कालचक्र सशक्तिकरण समावेश भएको जनाइएको छ । थेरवाद, महायान र वज्रयान परम्पराका प्रख्यात लामा, विद्वान र अभ्यासकर्ताहरूको सहभागिता रहेको यो उत्सवले विश्वव्यापी सद्भावका लागि माया–दया र जागरूकताको रूपान्तरणकारी शक्तिको उपयोग गर्ने भुटानको प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

    कुएन्सेलफोद्राङमा केन्द्रीय मठ निकायद्वारा सञ्चालित जब्जी धोचोगको पवित्र अनुष्ठानबाट महोत्सव सुरु भएको र यो दुर्लभ अनुष्ठानले, नकारात्मक कर्मको शरीर, बोली र मनलाई शुद्ध गर्न क्रोधित संरक्षणको साथ शान्तिपूर्ण प्रसादहरू संयोजन गर्दछ । चाङ्लिमिथाङ मैदानमा, विभिन्न बौद्ध सम्प्रदायका प्रतिनिधिहरू एकीकृत विश्वव्यापी शान्ति प्रार्थनामा सामेल हुनेछन् । अङ्ग्रेजी, तिब्बती र जोङ्खासहितका धेरै भाषाहरूमा विश्व शान्तिका लागि प्रार्थना गरिने छ । लामाहरूले भक्तहरूलाई सार्वजनिक आशीर्वाद दिनेछन्, भने विश्व शान्तिका लागि सहभागीहरूलाई एकताबद्ध गर्न बजागुरु मन्त्रको सामूहिक पाठ हुनेछ ।

    महोत्सवको मुख्य आकर्षण “कालचक्र इनिसिएसन एन्ड एम्पावरमेन्ट” हुनेछ, जसको अध्यक्षता परम पूज्य जे खेन्पोले गर्नु हुने छ । यसले व्यक्ति र ब्रह्माण्डबिचको पवित्र सम्बन्ध र सबै प्राणीहरूमा विद्यमान जन्मजात बुद्ध प्रकृतिका बारेमा गहन शिक्षा प्रदान गर्नेछ । महोत्सवमा मुख्य समारोहका अतिरिक्त, कालचक्र परम्परामा विद्वतापूर्ण सेमिनारहरू सँगै कालचक्र कला र कलाकृतिहरूको प्रदर्शनी हुनेछ ।

    यी घटनाहरूले बौद्ध धर्मको आध्यात्मिक सम्पदाको संरक्षण र साझेदारी गर्ने भुटानको स्थायी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । भुटानको विश्वव्यापी शान्ति प्रार्थना महोत्सव एकता, भक्ति र सामूहिक उपचारको ऐतिहासिक अवसरको अवसर हो जसले बढ्दो विभाजित संसारमा करुणा, विश्वास र आशाको शक्तिशाली सन्देश प्रदान गर्दछ ।

  • ऐतिहासिक नमोबुद्ध जात्रा सुरु

    ऐतिहासिक नमोबुद्ध जात्रा सुरु

    काभ्रेपलाञ्चोक, १८ कात्तिक । नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज साँझदेखि जात्रा सुरु भएको छ । जात्राअन्तर्गत आज साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् । कात्तिक शुक्लपूर्णिमा तिथि अर्थात् बुधबार दिनभरसमेत बत्ती बाल्ने गरिन्छ । जात्राअन्तर्गत रातिदेखि शनिबार बिहानसम्म मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।

    नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा दीप प्रज्वलन गरिन्छ । लामा अनसार बत्ती बाल्नाले पितृलाई वर्षभरी उज्यालो हुने मान्यता अनुसार यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ । पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ती बाल्ने गरिएको लामाको भनाइ छ ।

    पूर्णिमाको दिन भने शान्तिका प्रतिक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन मानिने भएकाले उक्त दिनमा भने विशेष ठूलो भीड लाग्ने गर्दछ । किंबदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको स्थान मानिन्छ ।

    द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गर्दै आएको हो । मेलामा बर्सेनि करिब ५० हजारले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    विशेषगरी तामाङ र नेवार समुदायका धर्मालम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामा गुरु कान्छा लामा बताउँछन् । उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।

    पाँच डमरु जन्माएका बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको कथन छ । लामा गुरुकाअनुसार राजकुमारले बघिनिलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । तत्पश्चात राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिँदै आएको उनले बताए । संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ ।

    उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँंले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति छ । जात्रा–मेला बाहेक पनि नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने स्थानीय राकेश लामाले बताए । मेलामा यसवर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने अनुमान गरिएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ ।

  • सलाम गर्न पुग्दा दोश्रो भएका गायक प्रताप सुब्बा

    सलाम गर्न पुग्दा दोश्रो भएका गायक प्रताप सुब्बा

    प्रेमकृष्ण श्रेष्ठ

    फेसबुकमा साथी बनेर अलिकति घनिष्टता बाक्लिएपछि, केही महिनाअघि अमेरिकाबाट निर्देशक विशाल गुरुङ्ग दाइले मेसन्जर कल गर्नुभयो । उहाँले गुरुङ्ग भाषाको लवजमा ‘लु प्रेमभाइ, गायक तथा संगीतकार प्रताप सुब्बाको वारेमा अनलाइनमा केही लेखौँ’ आग्रह गर्नुभयो । संगीतको अनुयायी भएकोले बाल्यकालदेखि नाम त सुनिएकै हो, प्रताप सुब्बा । गुगलमा खोतलेँ । छिटफुट भेटाएँ । युट्युबमा भने एकाध गीत बज्यो । निचोडमा पुगेँ, नेपाली संगीतको लागि धेरै योगदान गर्नु भएका तर कम सम्झिएका गायक तथा संगीतकार हुन् – प्रताप सुब्बा । उहाँलाई चिनाउन विशाल गुरुङ्ग अभियन्ता नै भएर हिँडनु भएको रहेछ । जसरी नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यलाई चिनाउन युवककवि मोतिराम भट्ट लागे, उहाँ पनि प्रताप सुब्बालाई चिनाउन लागिरहनु भएको रहेछ । आज साहित्यमा भानुभक्त आचार्य र मोतिराम भट्ट दुबैको टोपी अमर छ ।भोलिको दिनमा प्रताप सुब्बासँगै बिशाल गुरुङलाई पनि युगयुगान्तर सम्झिनेछ जस्तो लाग्यो र चुलाएँ सुब्बाका थोरै लिखित धेरै अलिखित कथा–सृंखला ।


    भुटानका नेपालीभाषी पहिलो गायक तथा संगीतकार प्रताप सुब्वाको एक जीवनलाई पढने हो भने दर्जनौं जीवनको अध्याय छिचोलेतुल्य हुन्छ । एउटै जीवनमा यति धेरै घामछाया, हाँसोआँसु र उकालीओराली सम्भव छ र भन्ने प्रश्न आउन सक्छ । एक थान जीवनमा सयौँ थान जीवन भोगेबरावरको तितामीठा अनुभूतिको भारी उनीसँग छ । परिस्थितिले उनलाई धेरै देशमा पुर्यायो । भुटान, भारत, नेपाल हुँदै आज उनको भौतिक शरीर सतरी वर्षको आयु लिएर, अमेरिकामा न यता हुनु न उता हुनुको पीडा लिएर दशगजाको पिलर जस्तो एक्लै ठिङ्ग उभिरहेको छ । परिस्थितिले भौतिक शरीर जहाँ ठडयाए पनि उनले आज पनि आफ्नो मातृभूमि सम्झिरहेका छन्, जुन देशले एकसमय उनलाई अनागरिक बनाएर मोरङको पथरीको शिविरको हट नं ब्छ(टद्द को एक अँध्यारो कोठामा कैदीतुल्य जीवन दियो । ‘जीवन खाली पाना हो र ती पानाहरु सुन्दर कर्मले भर्नुपर्छ, यसो गरेमा पछिल्लो जीवन सहज हुन्छ’ भनेर जीवनलाई सरल शैलीले परिभाषित गर्ने गायक तथा संगीतकार प्रताप सुब्बाको जीवन आज पनि सरल नै छ । उनी सरल जीवनको लयमा आज पनि अमेरिकामा गुँजिन्छ,
    ‘पूर्व गए पूर्व हजुर विदेशीको दाग लाग्छ
    उतर दक्षिण जता गए पाहुनाको भाग लाग्छ
    यो जातिको भाग्य कस्तो, आफ्नो भन्ने कहीँ छैन
    आसाम, बर्मा, भुटानबाट खेदुवाको ताँत लाग्छ’
    गायक तथा संगीतकार प्रताप सुब्बाको जीवन आज भन्दा उन्नसतरी बर्षअगाडि भुटानमा भएको थियो । पिता आसबहादुर लिम्बु र आमा इन्द्रमाया घलेको कोखबाट उनको जन्म बि.स २०१३ साल चैत्र ३० गते भुटानको चिराङ्ग लप्सीबोटेमा भएको थियो । आमा इन्द्रमाया र जेठी आमा सुकमती लिम्बुको सन्तानले बुनिएको, घरमा पाँच दाजुभाइ र दश दिदी बहिनीको एक विशालकाय परिवार थियो । डेढ दर्जन भन्दा बढी सदस्य भएको परिवारमा सुब्बा कान्छो छोरा थिए । उनका बुबाले आफ्ना लाहुरे ठूलो बाबुसँग बसेर दार्जिलिङ्गमा अध्ययन गर्न पाएका थिए । उनको बुबा सोझो र इमान्दार भएकोले भुटान सरकारको विश्वासपात्र हुनुहुन्थ्यो । त्यसकारण बुबालाई भुटान सरकारले जागिर प्रदान गरेको थियो । पछि बढुवा हुँदा दक्षिण भुटानमा डेपुटी कसिमनरसम्म हुनु भएको थियो । । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहलाल नेहरु भुटान भ्रमण आएको बेलामा उनको बुबालाई पनि भोजमा निम्तो गरिएको थियो ।
    उनको प्रारम्भिक बिद्यालय शिक्षा सन १९६२ बाट क्त ब्गनगकतष्लभ स्कुल कालिम्पोङमा ४ कक्षासम्म भएको थियो । कक्षा छ सम्म भने उनले कजभचगदतकभ एगदष्अि प्बलनगिलन मा अध्ययन गरे । उनले क्बचउबलन अभलतचब िवाट बिद्यालय शिक्षा पुरा गरे । उच्च शिक्षा भने भारतको कालिम्पोङ्ग पुगेर स्कर्टिज युनिभर्सिटी मिसन इन्टिच्युडबाट गरे ।
    सानोमा स्कुल पढदाको घटना पनि रोचक छ । सम्पन्न परिवारको दाजुभाइमध्ये सबैभन्दा कान्छो भएकोले उनी सानोमा अलि चकचके थिए । त्यसताक उनलाई बिद्यालयको होस्टेल झ्यालखाना जस्तो लाग्थ्यो । उनी बिद्यालयको होस्टेलबाट भागेर दिदीको घरमा आएर बस्थे । उनलाई लिनका लागि एक जना कर्म भन्ने केटा पठाउँथ्यो । ती केटो उनलाई लिन आउँदा उनी उसको आँखा छलेर चोर बाटोबाट भाग्थे । कर्म भन्ने केटोले उनलाई कान्ला, ढिस्को र गराहरुमा लखेटथ्यो । उनी ढिस्कोमाथिबाट ‘मलाई आज लखेटिस् तँ भोलि प्रहरी हुन्छस्’ भन्थे । संयोग नै भनुँ, प्रताप सुब्बालाई सानोमा खेदने ती कर्म भनिने केटो पछिल्ला दिनमा भुटानको प्रहरी अधिकृत नै भए ।
    सन १९७७ मा ‘गोर्खा दुःख निवारक संघ संगीत प्रतियोगिता’मा उनले भाग लिएका थिए । संयोगले त्यस कार्यक्रममा निर्णायक रहनु भएको थियो, गायिका अरुणा लामा । हातमा गितार समातेर गएको प्रताप सुब्बाले गितारलाई भुँइमा राख्न सकेनन् । एक हातले गितार समात्नु पर्दा, नमस्कार गर्ने ठाउँमा सलाम गरेछन् । प्रतियोगिताको निर्णय सुनाउने बेलामा ‘तिमीले अभिवादन गर्न जानेनौ, तिमी दोस्रो’ भन्दै उनलाई दोस्रो बनाएछन् । नमस्कार प्रथम भएको र सलाम दोस्रो भएको, प्रतियोगिताको टेप रेकर्ड गरिएकोले पछि उनले थाहा पाएका थिए कि –त्यही प्रतियोगिताको सुरुवातमा, उनले हाइ स्केलमा गाउन सक्दैनन् भनेर प्रतिक्रिया दिनु भएकी अरुणा लामा उनको गीत सुने पछि तीन छक्क परेका थिए ।
    अरुणा लामालाई एउटा भए पनि गीत गाउन लगाउने उनको सानैदेखिको सपना थियो । त्यसताक दार्जिलिङ्गमा ‘दिव्यवाणि’ भन्ने स्टुडियो थियो । स्टुडियोमा गीत रेकर्ड गर्न तीन हजार लाग्दथ्यो । चार पाँच बर्ष कोसिस गर्दा पनि उनले गोजीमा कैले तीन हजार अटाउन सकेन । गीत रेकर्ड गर्छु भनेर गोजीमा तीन हजार लिएर हिँडे पनि कैले गाडी भाडामा त कैले होटेलको खानामा चुहिएर तीन हजार भन्दा कम नै हुने गर्दथ्यो । ‘दुई चार सयको अभावले पनि ठूला ठूला सपनाहरु मर्न सक्छन्’ भनेर जीवनको बिश्वबिद्यालयबाट उनले पाठ त्यही बेला सिकेका थिए । त्यो गीत अरुणा लामाको आवाजमा रेकर्ड गर्न नपाएकोमा आज पनि उनको सुस्केरा चिसै छ । आज त्यो सपना पुरा गर्न सम्भव पनि भएन, किनभने आज उनको गोजीमा पैसा छ, तर अरुणा लामा कहीँ छैनन । सापटीको लागि उनको स्वाभिमानले उनलाई निषेध गर्थ्यो । पैसाको अभावमा ओइलाएका गीतका ती पंक्तिलाई आज पनि स्मृतिको मालामा उनेकै छन् । उनी त्यो टुहुरो गीतलाई बेला बेलामा सम्झन्छन् –
    ‘मान्छे तिमी पत्थर, पत्थर तिमी मान्छे
    युगको नाता कति सस्तो
    मान्छेको पो दुख्ने मुटु हुन्छ
    पत्थरको खोइ कहाँ मुटु हुन्छ ?
    आँखालाई चुपचाप सोधिहेरेँ
    पत्थरको आँसु कहाँ हुन्छ ?’
    रेडियो नेपालमा भ्वाइस टेस्ट दिन सन १९७८ मा काठमाडौ आए । भ्वाइस टेस्ट दिए तर नतिजाको लागि एक महिना कुर्न भन्यो । एक महिना काठमाडौंमा बस्न सहज थिएन । दार्जिलिङ्ग नै हिँडे । उनलाई पास वा फेल कुनै जानकारी प्राप्त भएन । त्यस्को चार वर्षपछि उनले सन १९८२ मा पुनः रेडियो नेपालमा भ्याइस टेस्ट दिए । संगीतकार नातिकाजीले लिएको त्यो परीक्षामा उनी पास भए । त्यस पछि उनले बल्ल रेडियो नेपालमा गीत गाउन पाए । एक समय रेडियो नेपालमा गीत रेकर्ड गर्न पालो कुरेकै बेलामा भक्तराजले उनलाई भनेका थिए ‘हुन त आज गाउने डेट मेरो हो, तिमी टाढादेखि आएको छौ, तिमीले पहिला गाउनु’ । यति मात्र होइन भक्तराजले उनको गीतमा बाजा नै बजाउनुभयो ।
    रेडियो नेपालमा स्वर परीक्षा दिएर पास त भए, तर भुटानबाट लेखेटिएको नेपाली भएकोले गोजीमा नेपाली नागरिकता थिएन । जस्को कारण, सिंहदरवारमा गयो भने गेटमै उभिनुपर्ने बाध्यता आयो । रेडियो नेपालको पर्खाल समातेर बस्न उनको स्वाभिमानले उनलाई दिएन । बरु भोकै बसुँ, शिविरमै आत्मसन्तोष छ भन्दै उनी फेरि मोरङको पथरीको शिविर नै फिर्ता भए ।
    उनी गीत रेकर्ड गर्न ‘संगम स्टुडियो’ गइरहन्थे । एकदिन संगम स्टुडियोमा संगीतकार दिब्य खालिङ्गले उनको गीतको मिक्सिङ्गमा खुब चाख लिएर सुने । यसरी बरिष्ठ संगीतकार दिब्य खालिङ्गले उनको गीतमा चाख लिएर सुन्दा सम्भावित प्रतिक्रियाको डरले उनको मुटु ढुकढुक भयो । पछि दिब्य खालिङ्गले पाँच ओटा अति मीठा गीतहरु सुनाए । सायद ती गीतहरु रेकर्ड गर्न सकेको भए नेपाली संगीतको शिखर थप उचालिन्थ्यो कि जस्तो उनलाई लाग्छ । नारायण गोपालको मृत्युपछि वैकल्पिक गायकको खोजी गरिरहेको खालिङले प्रताप सुब्बामा त्यो प्रतिच्छाया भेटाएको हुन सक्थ्यो । उनले ती गीतहरु अर्थाभावले रेकर्ड गर्न सकेनन् । पछि दिव्य खालिङ पनि थलिए र ती गीतहरु कहिले रेकर्ड भएनन् । यसरी रितो गोजीबाट धेरैपटक उनका सपनाहरु चुहेका छन् । कहिले अरुणा लामासँग जोडिएको सपना चुहुयो त कहिले दिव्य खालिङसँग जोडिएका सपना चुहे । खालिङले उनको स्वरबाट प्रभावित भएर, ‘शिविरमा नबस्, यही काठमाडौमा बस’ भनेर धेरैपटक अनुनय विनय गरेकै थियो । हलुको गोजी, खालि पेट, भुलभुलैया शहर, बेनाम राष्ट्रियतालगायत धेरै कुराले उनलाई काठमाडौंमा बस्न असहज बनाइदियो । उनी फेरि पथरीको शिविर नै फिर्ता भए ।
    काठमाडौंमा आउने जाने क्रममा उनको चिनजान नारायण गोपाल, गोपाल योञ्जन, भक्तराज आचार्य, अरुण थापा, ओमविक्रम विष्ट, प्रकास गुरुङ र दिपक थापासँग भएछ । एकपटक उनी, उदय सोताङ, मणिकमल क्षेत्री र भुटानको केबी राई संगीतकार गोपाल योञ्जनकोमा गीत माग्नु गएका थिए । गोपाल योञ्जनले ‘गीत त्यसै कहाँ पाइन्छ र गाएर देखाउनु पर्छ’ भन्नुभयो । त्यहीँ हार्मोनियम बजाइयो । उनले गीत गाउँदा गोपाल योञ्जन निकै प्रभावित भए । उनले एउटा गीत क्यासेटमा रेकर्ड गरेर ‘ल म पर्सी स्टुडियो आउँछु’ भन्नु भएछ । पछि स्टुडियोमा ‘ल सुब्बा भाइ, तिमी भोकै छौ । खाजा खाएर आऊ । यहाँ बस् मेरो स्टुडियो चलाएर बस् म तिमीलाई संगीत पनि सिकाउँछु’ भन्नु भएको थियो । त्यहाँ पनि गितारले भोको पेटसँग हारे र जसै गितार लिएर आएको हो, त्यसै फिर्ता भए पाइलाहरु, सपनाका डोबहरु मेटदै, पथरीको शिविरतिर ।
    उनले कैयन हिट गीत गाएका छन् तर उनका ती गीतमध्ये ‘बन्धनको चिनो’ गीत सर्वाधिक लोकप्रिय भए । सन १९८४ मा जयबहादुरको आँखाको उपचारको लागि कलकतामा हिँडदा आफ्ना मित्र अम्बरसिंह गुरुङको घरमा रात काट्न पुगेछन् । अम्बरसिंहको कोठामा एउटा गितार थन्काइएको थियो । ‘ल गितार पनि छ एउटा गीत गरौँ न’ भनेर साथीले गरेको अनुरोधमा त्यो कम्पोज भएको रहेछ – बन्धनको चिनो । पछि काठमाडौं आएर म्युजिक नेपालमा त्यो गीतलाई रेकर्ड गरे । गोठाले प्रेमीले आफ्ना प्रेमिकालाई आफ्नो क्षमताले दिन सक्ने उपहारहरुको परिकल्पना गरेर गीत बुनिएको छ । त्यति मात्र होइन, सन २०२३ मा उनले उनले आफ्नो जन्मभूमिलाई सम्झेर ‘माथाङ, माथाङ’ गीत रेकर्ड गरेका छन् । हालै फेरि उनले राष्ट्रप्रेमले ओटप्रोट भएर ‘तिम्रो बुन्थल’ गीत पनि रेकर्ड गरेका छन् ।
    प्रताप सुब्वाले राष्ट्रप्रेम, क्रान्तिकारी, प्रेमका अनेक गीत गाए । उनले काठमाडौंलाई धेरैपटक सम्झे तर काठमाडौले भने उनलाई आफ्नो स्वार्थ बिना कहिले सम्झेन । काठमाडौका विभिन्न म्युजिक कम्पनीमा आफैले गाएका गीतहरु आफ्ना भएनन् । आजसम्म एक सय भन्दा बढी गीत रेकर्ड गरिसकेका सुब्बालाई सन २००८ मा ‘पलेँटी’ले भने सम्झयो । सन २००० बाट सँधैका लागि संगीतबाट विश्राम लिन्छु भन्ने सोच बनाएको बेलामा शिविरमै ‘तपाईले हाम्रा गजलहरु गर्नुपर्छ’ भनेर दमकका केही जागरुक युवाहरुले उनलाई गजल लेखेर दिए । उनीहरु उनको शिविरको आएर गीत दिन्थे । उनले ती गजलहरु संगीतबद्ध गरे र पछि अरिबहादुर गुरुङ र सिता खालिङको आर्थिक सहयोगमा ती गजलको एल्बम पनि निकाले ।
    उनको गीत सुन्ने हो भने आकास जतिकै विशाल र धर्ती जतिकै दूरगामी हुन्छ । तर पनि उनी गुगलमा कम लेखिन्छ, युटयुबमा कम गुँजिन्छ र पत्रपत्रिकामा कम भेटिन्छ । प्रताप सुब्बा आज पनि जिउँदै छन् र उनी अमेरिकामा बस्छन् । उनको परिवारलाई नियाल्ने हो भने दुई श्रीमती मिङ्गमा शेर्पा र डम्बरकुमारी रिमाल, तीन छोरा र दुई छोरी छन् । अमेरिका पुगेर पनि उनले आफूले टेकेको भुइँ बिर्सेको छैन । आज पनि उनी विहान उठदा आफूसँगै संगीत लिएर उठछन् । दिनभरि संगीतलाई गुनगुनाउँछन् र राति सुत्दा संगीतलाई शिरानीमुनि राखेर सुत्छन् । उनी संगीतसँगै जन्मे र संगीतबाटै सँधैका लागि हराउन चाहान्छन् । बन्धनको चिनो, पूर्व गए पूर्व हजुर, मायालु भनेर, ठाउँ छैन मुटु परेलीको, तिमी देऊ या नदेऊ, मनै मर्यो, मैले कसैलाई, तिमीलाई मायाको चिनो, म पर्खिबसेँ कहिलेकाँही मंसिरको महिनालगायत गाइएका प्राय गीत कालजयी छन् । भोलिको दिनमा, गायक तथा संगीतकार प्रताप सुब्बा अस्ताचलमा अस्त भए पनि, उनले नेपाली संगीतमा छोडिएका संगीतरुपी ताराहरु उदय भैराख्नु पर्छ । प्रताप सुब्बा युगदेखि युगसम्म गुँजिनुपर्छ । आकासको जुनिसम्म उनको गीत गुँजिनुपर्छ, धर्तीको जीवनसम्म फैलिनुपर्छ । विश्वास छ, उनका गीत सुनेर फूलमा टाँसिएका कुनै पनि पुतलीहरु उडदैनन्, आकासमा चम्किएका एउटै तारा झर्ने छैन । उनका गीत गीत मात्र हैनन्, जीवनका उत्प्रेरणा हुन् ।

  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    राष्ट्रिय समाचार समिति (रासस)
    म्याग्दी, १८ कात्तिक । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

    मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए ।
    “सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।” समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताए ।


    खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उनको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

    समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । “चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ”, उनले भने, “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।”

    ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताउनुभयो । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

    धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुुग्ने उनले बताए ।

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    रासस
    तानसेन, १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिडी) मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

    पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ । यस वर्ष पनि ऋषिकेश भगवान्को रथयात्रा निकालिएको छ । देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधुसन्त र भक्तजनको यहाँ ठूलो उपस्थिति थियो । मन्दिरमा रथयात्राका दिनमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । अघिपछि पनि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको पुजारी विवेक भट्टराईले बताए । उनका अनुसार ठूलो सङ्ख्यामा आएका भक्तजनले रथलाई रुरु क्षेत्रधामस्थित ऋषिकेश मन्दिर परिसरबाट रिडी बजार, ऋषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई भगवान्को दर्शन पूजाआजा गरेका थिए ।

    रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्त्व विष्णु भगवान्को अवतार ऋषिकेशसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान् ऋषिकेशको दर्शन गरे पापकर्म नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिए ।


    यहाँ वर्षभरि तीर्थयात्रीको आगमन हुने गरेको छ । विशेषगरी माघेसङ्क्रान्ति र ऋषिकेश रथयात्राका अवसरमा हजारौँ सङ्ख्यामा भक्तजन जम्मा हुने गर्छन् । हालका वर्षमा रुरु क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न सङ्घसंस्थाले पहल गरेका छन् ।

    मन्दिर पुनःनिर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरुक्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताउनुभयो । यो रथयात्रा केबल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । ऋषिकेश भगवानको रथयात्राका लागि तानसेन नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ ।

  • किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    काठमाडौँ, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले सोमबार पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।


    मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख छ । दुई पार्टीबीच विगतमा भए गरेका वैचारिक–राजनीतिक एवं साङ्गठनिक गल्ती कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्ने, किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति भएको छ ।

    तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी नयाँ दल गठन गरेका थिए ।

  • फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

    फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

    काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन् । निर्वाचन सफल बनाउन उनले सबैलाई आग्रह गरे । कतारको दोहास्थित नेपाली राजदूतावासमा आज आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा सम्बोधन गर्दै उनले निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण हुने पनि बताए ।


    युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बताए । उनले संसारका अन्य देशमा युवाको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे । कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरे ।

    कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज नै त्यहाँ पुगेका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्चपदस्थ कर्मचारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले स्वागत गरेका थिए । उनी सम्मेलनका लागि कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेका हुन् ।

    सो अवसरमा राजदूत पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूका बारेमा जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन् ।

  • हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

    हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

    काठमाडौंँ, १७ कात्तिकः निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो ।

    आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा १२५ दलको दर्ता कायम छ । दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भने, “ हामीले २८ सदस्यीय कार्यसमिति बनाएका छौँ, हामी देशका लागि काम गरेर देखाउँछौँ । देश र जनताप्रति हामी इमानदार छौँ ।”

  • सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

    सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

    काठमाडौँ, १७ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गर्नुभएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि सङ्घ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उहाँहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यो कदम फलदायी हुने विश्वास व्यक्त गरिन् । मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राख्नुभएको थियो । सङ्घ, प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उनीहरुको भनाइ थियो ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौँ, तर चुनावको वातावरण बनाउन सङ्घ सरकार लागोस् र त्यसमा हाम्रो भूमिकालाई पनि नबिर्सोस् । अबको निकास चुनाव नै हो ।” यस्तै, ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि सङ्घ सरकारले नै ‘प्याकेज’ ल्याउनुपर्ने मुख्यमन्त्रीहरूले सुझाव दिए । उनीहरुले खर्च कटौतीका लागि सङ्घीय सरकारले गरेको परिपत्रले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको हो कि भन्ने आशङ्का उत्पन्न भएको पनि बताए ।


    सङ्घ सरकारले कानुनले तोकेभन्दा बढी सहयोगी र सल्लाहकार राख्न नपाउने, रु १० लाखभन्दा माथिका योजनाको ठेक्कामा अनिवार्य बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराउनुपर्नेजस्ता मार्गदर्शन गरेको थियो । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच गठित सरकारले न्यायिक, प्रशासनिक सुधारका काम नगरेको तर प्रदेशका राजनीतिक पदाधिकारीको सुविधामा मात्र लक्षित गरी परिपत्र गरेको हो कि भन्ने आशङ्का रहेको पनि मुख्यमन्त्रीहरुले बताए ।

    मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल)ले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न माग गरे । मुख्यमन्त्रीहरूले ‘डेडिकेटेड फिडर’को बक्यौता नबुझाउने उद्योगको बिजुलीको लाइन काट्ने निर्णयले उद्योगका साथै मजदुर र सरकारको राजस्वमा असर पर्र्नेतर्फ पनि ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले पनि राजनीतिक दल नै यस व्यवस्थाकावाहक भएकाले जतिसक्दो छिटो निर्वाचन गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

  • मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

    मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

    राष्ट्रिय समाचार समिति
    १६ कात्तिक, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आएका छन् । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थालेपछि दुलामणिसँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् ।
    थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला, सीप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । दुलामणि गुरौले अहिले मेडरी नाच समूहको नेतृत्वसँगै नाचको संरक्षणका लागि नयाँ पुस्तालाई पनि सिकाउन थालेका हुन् । पुरानो पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको गुरौले बताए ।

    “मेडरी नाच्न धेरै जना हुनुपर्छ, अहिले धेरै हामी ७० वर्ष पार गरेका पाका पुस्ता छौँ, इच्छा देखाउने युवाहरूलाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उनले भने, “युवा पुस्तालाई यो नाचको महत्त्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।” हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु नगरपालिका–३ लेडाहादेखि कावासोती नगरपालिका–१५ गुन्द्रहीसम्म धार्मिक विधिअनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारू समुदायको ऐतिहासिक नाचमध्येको एक रहेको मेडरी नाच नचनिया गुरौले बताए ।


    “मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीता हरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँच पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”

    थारू समुदायका अन्य नाच युवा पुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताए । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”

    महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाहरूले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताए ।

    “यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, थनेतले भने । थारू समुदायको लाठीनाच र झाम्टा नाचप्रति युवा पुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भर पर्नुपर्ने अवस्था रहेको छ । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्त्व रहेको चुनिलाल थनेतले बताए । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्त्व बिर्सिँदै गएको उनको गुनासो छ ।

    “पहिलेपहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गाह्रो हुन थालेको छ”, थनेतले भने, “अहिले केही युवाको सहभागिता बढ्न थालेको छ ।” थारू समुदायमा कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्र देखाउने गरिएको छ भने सीता हरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताए ।

  • मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

    मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

    १६ कात्तिक, काठमाडौं । मध्यरातमा बालेनले अश्लिल शब्दसहित राखेको स्टाटसका कारण विवादमा तानिएका छन् । बालेनले सो स्टाटस १५ मिनेटमै हटाएका थिए । तर, सामाजिक संजालमा भने चर्को आलोचना भइरहेको छ ।

    उनले अमेरिका, भारत र विभिन्न राजनीतिक दलको नाम लेख्दै स्टाटस राखेका थिए । समर्थकबाटै आलोचना भएपछि उनले सो स्टाटस हटाएका हुन् । सार्वजनिक जिवनमा नदेखिने तर सामाजिक संजालबाट विवादित स्टाटस लेख्ने बालेनको पुरानै बानी हो ।

  • प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

    प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

    १६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निम्तो दिइएको छ ।

  • हरिबोधिनी एकादशीः एक दिनमै २६ हजारले गरे चाँगुनारायण दर्शन

    हरिबोधिनी एकादशीः एक दिनमै २६ हजारले गरे चाँगुनारायण दर्शन

    भक्तपुर, कात्तिक १५ गते। भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन्। मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण नगरपालिका–४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड घुइँचो लागेको बताए ।

    पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको जानकारी दिए । चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेकाले यहाँ बिहानदेखि भक्तजनको घुइँचो लागेको उनको भनाई छ ।
    धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्तपछि थकित भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको छ ।


    आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नगर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको छ । चाँगुनारायण नगरपालिकाले यस वर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमन वृद्धि गर्न नगरले मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । मन्दिरलाई सयपत्री फूलको मालाले सिङ्गारिनाका साथै रात्रिकालीन प्रहरका लागि झिलीमिली बत्तीले रौनक बनाइएको थियो ।


    मन्दिर आउने नाका तथा स्वागतद्वार सिङ्गारिएको बताउँदै उनले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको उल्लेख गरे । नगरप्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरी सडकको व्यवस्थापन गर्नाका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको जानकारी दिए ।


    हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज परम्पराअनुसार मठलाई सिङ्गारेर पूजा गरी माला लगाई दामोदरसँग विवाह गरिदिने परम्परा छ। आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सक्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ। त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। नारायणका पूजा एवं दर्शन गर्न बर्तालुहरुको भीड लागेको स्थानीय गोकर्ण पुरीले जानकारी दिए । रासस

  • देशभरीका नारायण मन्दिरमा आज दिनभर भक्तजनको घुँइचो

    देशभरीका नारायण मन्दिरमा आज दिनभर भक्तजनको घुँइचो

    काठमाडौँ, कात्तिक १५ गते । हरिबोधिनी एकादशीको अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको हो ।

    मन्दिरमा आज विशेष मेला लागेको छ । साथै नागार्जुन नगरपालिका –७ रामकोटस्थित बद्रीनारायण धाममा पनि मेला लागेको छ । यसैगरी तनहुँको व्यास नगरपालिका –९ स्थित सिद्धेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला लागेको छ। काठमाडौँ उपत्यकाका चार नारायणस्थानमा जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चतुर्बाहु नारायण मन्दिरको दर्शन गर्दा चार नारायणको दर्शन एवं पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यी दुवै मन्दिर शेषशायी भगवान् नारायण विराजमान हुनुहुन्छ ।

    बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर र हरि भगवानको यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको बताइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी, बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ।

    प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।

    हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रतगरी विशेष पूजा गर्दैआएकोमा आज दामोदरसँग तुलसीको विवाह गर्ने प्रचलन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठनजिकै विष्णुको प्रतीकका रुपमा निगालाका लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । रासस

  • कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

    कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

    १५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छिन् । शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छिन् । करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।


    प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताइन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भएता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय गर्छौँ। नेकपा (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’

    उनीहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले के के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उन्रीहरुले राखेका छन् । प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छिन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ।

    प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।