Category: कला / साहित्य

  • अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

    काठमाडौं । अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ। सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण वर्षाका कारण बन्दसत्र एक दिनको लागि स्थगित भइ पुनः सुचारु भएको थियो। उनका अनुसार बन्द सत्रमा प्रस्तावित प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

    पाारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न दसैँ अगाडिको समय अपर्याप्त भएको सुझाव प्राप्त भएको छ। अध्यक्ष मण्डलबिच बुधबार बसेको बैठकले यो अवस्था स्थगन गर्न उचित रहेको निष्कर्ष निकाल्दै सो निर्णय गरिएको उनको भनाइ छ।

  • सरकारले सर्वदलीय बैठक बोलाएपछि प्रचण्डले बोलाएको बैठक स्थगित

    सरकारले सर्वदलीय बैठक बोलाएपछि प्रचण्डले बोलाएको बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै आज बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सर्वदलीय बैठक बोलाएका थिए ।

    ‘नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन् । आज दिउँसो १ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाएका छन् ।

  • त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

    त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

    काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्।
    त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। उक्त निर्णय गरिएको सूचना मंगलबार सार्वजनिक गरिएको छ।

    मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ। बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।

  • दशैंका शुभसाइत सार्वजनिक, टिकाको उत्तम समय कति ?

    दशैंका शुभसाइत सार्वजनिक, टिकाको उत्तम समय कति ?

    काठमाडौं । यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ। शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ।

    विजया दशमी असोज २६ गते शनिबार परेको छ। घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ। टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ।

  • आज संविधान दिवस, धुमधामसहित मनाइदैं

    आज संविधान दिवस, धुमधामसहित मनाइदैं

    काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।
    टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ । आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् । साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

    संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

  • एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको  छ : प्रधानमन्त्री

    एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको  छ : प्रधानमन्त्री


    काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् ।

    राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको बताए । हाल एसइईम ५० प्रतिशतको हाराहारीमा  विद्यार्थी उत्तिर्ण हुँदै आएका छन् ।
    “एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तिर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन ।” प्रधानमन्त्री ओलीले भने, “सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँ गाउँमा स्वतःस्फुर्तरुपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरुले आफ्नो ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।” उनले  विश्वमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गरे ।


    ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधारमा मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।

  • आजबाट सोह्र श्राद्ध सुरु, यस्तो छ महत्व

    आजबाट सोह्र श्राद्ध सुरु, यस्तो छ महत्व

    काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष बुधबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो।

    पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ।

    यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ। यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मांगलिक कार्य गर्नुअगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन्।

    यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद प्रा डा रामचन्द्र गौतम बताउँछन्। सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ।

    अरूको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। अरूको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो। कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औंसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।

    यसबीचमा पनि सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिककृष्ण औंसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ। आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले बताए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

    rss

  • महतोले गठन गरे नयाँ पार्टी

    महतोले गठन गरे नयाँ पार्टी

    काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

    नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ । महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।

  • किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

    किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका सबैलाई छाडिएको हो । उनका अनुसार सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।

    मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर युवाहरु पुगेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो । स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो । दिउँसो साढे १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।

  • आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा बिदा

    आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा बिदा

    काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ ।

    उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए ।

    यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

  • रास्वपाको राष्ट्रिय भेला काठमाडौंमा

    रास्वपाको राष्ट्रिय भेला काठमाडौंमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन हुनेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब–लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

    सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

    यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक–उपसंयोजक, प्रदेशको समिति–विभाग, केन्द्रीय समिति–विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।


    भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ । आज पहिलो दिन संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुनेछ ।

  • संवैधानिक परिषद्को बैठक आज पनि बस्ने

    संवैधानिक परिषद्को बैठक आज पनि बस्ने

    काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आज प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने कार्यक्रम छ ।

  • आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

    आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

    काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

  • संसदको वर्षे अधिवेशन अन्त्य गर्ने घोषणा

    संसदको वर्षे अधिवेशन अन्त्य गर्ने घोषणा

    काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

    संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन् । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन –२०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो ।

    बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो । जो प्रमाणीकरण भएर लागू भइसकेको छ ।

  • १६ मंसिरमा उपनिर्वाचन गर्ने घोषणा

    १६ मंसिरमा उपनिर्वाचन गर्ने घोषणा

    काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।

    रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । यसअघि आइतबार नै आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका हुन् ।

  • बाल दिवस आज मनाइँदै

    बाल दिवस आज मनाइँदै

    काठमाडौं । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो । तर बालबालिकाको क्षेत्रमा सोचेअनुसार लगानी हुन नसकेको बालअधिकारकर्मीहरुले बताएका छन् ।

    तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा अधिकारकर्मीहरुको जोड छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । २०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

    नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । तर धेरै बालबालिका यस्ता हक र अधिकारबाट बञ्चित छन् ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए ।


    प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको पनि बताए । उनले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिए ।

  • रास्वपा केन्द्रिय समिति बैठक बस्दै, के छन् एजेण्डा

    रास्वपा केन्द्रिय समिति बैठक बस्दै, के छन् एजेण्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वापाले जनाएको छ । पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न ९ वटा एजेन्डामा छलफलको तयारी गरिएको छ । समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम, रिपोर्टका साथै प्रस्तावित कार्य तालिकाबारे छलफल बैठकमा हुनेछ ।

    राष्ट्रिय भेलाको हालसम्मको तयारी सबै उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनहरू, जिल्ला भेला र जिल्ला समिति गठनबारे पनि छलफल हुने कार्यबहाक प्रवक्ता झाले जानकारी दिए । यसबाहेक विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरूबारे पनि छलफल हुनेछ ।

  • एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

    एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ । नेकपा एमालेका कार्यालय सचिव भीष्म अधिकारीले समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताए । एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।

    बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाउने सम्भावना छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलसमेत गरेका थिए । अध्यक्ष ओलीले तीन शीर्ष नेताबीच भएको छलफल र राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यहरुलाई जानकारी गराउने भएका छन् ।

  • राप्रपा अध्यक्ष र पूर्वराजाबीच भेटवार्ता

    राप्रपा अध्यक्ष र पूर्वराजाबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । दमकस्थित चिया बगानमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।

    पार्टी कार्यक्रमका सिलसिलामा अध्यक्ष लिङ्देन गृह जिल्ला झापा पुगेका बेला त्यहीं रहेका पूर्वराजा शाहसँग बुधबार हिमालयन टी गार्डेनमा भेट गरेका हुन् । भेटमा पूर्वराजासँग लिङ्देनले आफ्नो पार्टीको घोषित कार्यक्रम र राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको राप्रपाका नेताहरुले बताएका छन् ।

    राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको वकालत गर्दै आएको राप्रपाका अध्यक्ष लिङ्देनले केही समय अगाडि पनि झापामै पूर्वराजासँग भेटेका थिए । बिर्तामोडस्थित एक विद्यालयमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका पूर्वराजासँग लिङ्देनले भेटेका थिए ।

  • कांग्रेसले सांसदहरुलाई भन्यो : उपत्यका नछाड्नु

    कांग्रेसले सांसदहरुलाई भन्यो : उपत्यका नछाड्नु

    काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

    त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए । उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् ।

  • कांग्रेस पदाधिकारीको बैठक आज, के छ एजेण्डा ?

    कांग्रेस पदाधिकारीको बैठक आज, के छ एजेण्डा ?

    काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। बैठक बुधबार बिहान ८ः३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ। विशेषगरी कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउने बैठकको एजेन्डा छ।

    त्यस्तै सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने कार्यसूची छ। सभामुखलाई हटाउने विषयमा सत्ता गठबन्धनको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए। त्यतिबेला कांग्रेस लगायत सत्ता साझेदार दलहरूले पनि सहमति जनाएका थिए।

    मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले संसदबाटै उपसभामुख रानामगरलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए। यद्यपि कांग्रेसका सांसदहरूले भने यसबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। ती सबै विषयमा कांग्रेसले पार्टीभित्र साझा धारणा बनाउनका लागि बैठक बोलाएको हो।

  • नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजिनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजिनामा

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन्। उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन्। पत्रकार महासंघको अधिवेशन दुई पटकसम्म हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ। मिति तोकेको एक सातासम्म पनि कार्यतालिका ल्याउन नसकिएको उनको भनाइ छ।

    साथै सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रूपमा अगाडि बढाउन बोलाएको बैठकमा केही पदाधिकारी र सदस्यहरू बैठक नसकिँदै बाहिरिनु र उपस्थितिमा हस्ताक्षर नगर्नेजस्ता समस्या देखिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। यस्तो अवस्थामा निर्वाचन गराउन नसकिने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएका हुन्।

  • सरकारको पक्षमा एक ढिक्का हुने सत्तारुढ दलको निर्णय

    सरकारको पक्षमा एक ढिक्का हुने सत्तारुढ दलको निर्णय

    काठमाडौं । सत्ता साझेदार दलहरुले सरकार र संसदलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सत्ताको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् । ‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने ।

    उनका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै निम्ति न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको हो । ‘एमाले र हाम्रो बीचमा सात बुँदे भइसकेकै थियो । तर त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौं । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, उनले भने । प्रमुख सचेतक घिमिरेले केही दिनभित्रै न्यूनतम साझा कार्यक्रम तयार हुने बताए ।

    आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।

    प्रमुख सचेतक घिमिरेले कार्यदलबाट बन्ने मस्यौदामाथि अरु सत्ता साझेदार दलहरुको धारणा पनि राखिनेछ । तर प्रमुख दल कांग्रेस र एमाले नै भएकाले दुई दलका नेताहरु रहेको मस्यौदा कार्यदल बनेको उनले बताए । कार्यदल बनेको भोलिपल्ट, आज सत्तारुढ अरु दलहरु जसपा, लोसपा, जनमत पार्टी र नाउपाका नेताहरु सहितको बैठक बोलाइएको थियो । बालुवाटारमा झण्डै तीन घण्टा चलेको छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि कांग्रेसकै घिमिरेसँग मिल्दो निष्कर्ष सुनाएका छन् ।

    ‘सरकार र संसदलाई प्रभावकारी बनाउन सत्तारुढ दलहरु एकताबद्ध भएर उभिनेबारे छलफल थालेका छौं’ प्रमुख सचेतक बर्तौलाले भने । सरकारको पक्षमा एकढिक्का भएर उभिने निष्कर्षसँग सत्तारुढ नेताहरुको बैठकमा संविधान संशोधनबारे पनि छलफल भएको छ । ‘संविधान संशोधन गर्ने कुरामा भ्रमहरु छरिएका छन् । दुई दलीय व्यवस्थामा सरकार लाग्यो भन्ने जस्ता भाष्य निर्माण गर्न खोजिएको छ’ प्रमुख सचेतक बर्तौलाले भने, ‘यस्ता भ्रम चिर्नेगरी अगाडि बढ्नेबारे छलफल भएको छ ।’

  • सत्ता साझेदार दलका शीर्ष नेताको बैठक आज बस्दै

    सत्ता साझेदार दलका शीर्ष नेताको बैठक आज बस्दै

    काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सोमबार बस्दैछ। सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। आज बस्न लागेको बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो। छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको छ।
    त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो। त्यसैमा टेकेर ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्।

  • प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

    प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरे नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्या रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबिचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको स्मरण गरे ।

    “इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बिचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन ।”

    भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको बताए । उनले भने। “पहिला पहिलाका वैदेशिक सम्बन्धहरू बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरुपमा प्रस्तुत गर्नुपर्छ । साझा स्रोतमा काम गर्दा एकपक्षीयरुपमा काम गर्नु हुँदैन । दुवै पक्षको सहमति र छलफलका आधारमा गरिनुपर्छ ।”

  • आज गणेश चतुर्थी, यस्तो छ महत्व

    आज गणेश चतुर्थी, यस्तो छ महत्व

    काठमाडौं । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । हामी सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छौं, साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मानिन्छ ।

    मानिसहरूलाई आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्या, अवरोध वा नकारात्मक तत्त्वहरू हटाउन, नयाँ कार्यको सुरुआत गर्न, भगवानको कृपा द्वारा आशीर्वाद प्राप्त गर्न भगवान गणेशजीलाई पूजा गर्ने गरिन्छ । यो पर्व भारत र नेपालका धेरै ठाउँहरूमा यस पर्वलाई निकै उत्साहका साथ मनाइन्छ ।

    विशेषगरी महाराष्ट्र राज्यमा दस दिनसम्म यस पर्वलाई विशाल रूपमा मनाइन्छ, जहाँ भगवान गणेशको मूर्ति स्थापना गरिन्छ र धुमधामका साथ पूजापाठ गरिन्छ र अन्त्यमा मूर्ति विसर्जन गरिन्छ ।

    यो पर्वले समाजमा एकता र सहयोगको भावना पनि ल्याउँछ । मानिसहरू सामूहिक रूपमा मण्डप सजाएर भगवान गणेशको मूर्ति स्थापना गर्छन्, र प्रायस् सबै समुदायका मानिसहरू पूजा, भजनकृतन, र विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने गर्दछन् ।

    गणेश चतुर्थीमा गरिएको भगवान गणेशजीको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद प्राप्त हुने र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

    गणेश, वक्रतुन्ड, लम्बोदर, विनायक, एकदन्त, गजाधर जस्ता नामले परिचित भगवान गणेशजीको लागि धेरै भक्तजनहरू यो दिन व्रत बस्छन् ।

    व्रतालुहरूले केवल फलफूल वा एक छाक मात्र खान्छन् र भगवान गणेशको पूजा गरी व्रत पूरा गर्छन् । गणेश चतुर्थीको दिन मानिसहरूले भगवान गणेशको माटोको प्रतिमा ल्याएर आफ्नो घर वा मण्डपमा स्थापना गर्दछन् र स्थापना गरिएको मूर्तिमा प्राणप्रतिष्ठा गरिन्छ त्यसपछि भगवान गणेशको मूर्तिलाई फूल, माला, दुबो, अगरबत्ती, धूप, दीप, पान, सुपारी आदि चढाएर विशेष पूजा गरिन्छ ।

    गणेश भगवानलाई लड्डु र मोदक चढाइन्छ, किनभने यो उहाँको प्रिय मिठाई हो। गणेशजीलाई प्रसाद स्वरूप विभिन्न प्रकारका मिठाई र फलफूल चढाइन्छ । गणेश चतुर्थीको अवसरमा मन्दिरहरूमा र घरहरूमा गणेश भगवानको स्तुति र भजन गाइन्छ । पछि मूर्तिलाई नदी, पोखरी वा समुद्रमा लगेर विसर्जन गरिन्छ ।

    यस दिन देखिने चन्द्रमामा दोष हुन्छ भनेर शास्त्रमा उल्लेख भएको हुनाले, त्यसैले चन्द्रमा हेर्न हुँदैन देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहिआएको छ, तर कसैको हानी नोक्सानी गर्नु वा चोर्नु चै राम्रो पक्कै होइन ।

    गणेश चतुर्थी केवल धार्मिक चाड मात्र नभएर सामाजिक, सांस्कृतिक, आध्यात्मिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण छ । यसले समुदायलाई एकताबद्ध राख्ने, परम्परालाई संरक्षण गर्ने र व्यक्तिगत तथा सामाजिक उन्नतिको माध्यम बन्ने कार्य गर्दछ । भगवान गणेशको कृपाले जीवनका सबै क्षेत्रहरूमा सफलता, समृद्धि र शान्ति प्राप्त होस् भन्ने आशयका साथ यो चाड मनाइन्छ।

  • फेसबुकले हटाएको काठमाडौंका मेयर बालेनको पोष्ट फिर्ता

    फेसबुकले हटाएको काठमाडौंका मेयर बालेनको पोष्ट फिर्ता

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले एमालेकी प्रदेश सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि हटाएको थियो ।

    फेसबुकले साहबाट ह्यारेसमेन्ट र बुलिइङ समेत भएकाले हटाइएको सूचना पठाएको थियो । साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए । त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।

    सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो । ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो । शुक्रबार अपराह्न फेसबुकले उक्त पोस्ट फेरि प्रकाशित भएको खुलाउँदै सूचना पठाएको छ ।

  • संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे

    संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।

    हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रका को स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताएका हुन् ।

    मन्त्री पाण्डेले भने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो।

    उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथकाे दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यबस्थापनका बारेमा बुझे । भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरे । पशुपति क्षेत्र विकास कोषले लाईन नै बस्न नपर्ने गरि छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै मुक्त कण्ठले प्रशंसा समेत गरे ।
    उनले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्र्र्याउनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले हरितालिका तीजको देश तथा विदेशमा बस्ने महिला दिदीबहिनीहरूलाई शुभकामना समेत दिए ।

  • माओवादी अध्यक्षसँग एमाले नेताहरुको भेटको कारण के हो ?

    माओवादी अध्यक्षसँग एमाले नेताहरुको भेटको कारण के हो ?

    काठमाडौं । नकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले जनाएका छन् ।

    भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले बताएको उल्लेख गरेका छन् । यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए ।

  • दीपक मनाङेले किन दिए मन्त्री पदबाट राजिनामा ?

    दीपक मनाङेले किन दिए मन्त्री पदबाट राजिनामा ?

    काठमाडौं । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा दिएका छन् । उनको राजिनामा स्वीकृत समेत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए ।

    मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए । मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् । मनाङेले भने कमजोर मन्त्रालय दिएको र बजेट तथा अधिकार नै नभएको भन्दै असन्ष्टी जनाएका हुन् ।