Category: कला / साहित्य

  • शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन

    शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

    प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा थिए ।

    मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए ।
    हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धिविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे । “हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यहरुलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ । पीडादायी विगतबाट हामी गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठुलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासहरुलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक छैन ।”, प्रधानमन्त्री ओलीले भने ।

    सर्वाेच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर यो सहमति भएको उनको भनाइ छ । शान्ति प्रक्रियामा यो कोशेढुङ्गा सावित भएको भन्दै उनले फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएको बताए ।  विधेयक पारितसँगै हामी आपसी परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्ने उनले बताए ।
    उनले  विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिबिहीनताको बाटो आवश्यक नभएको स्पष्ट पारे ।  उनले  लोकतन्त्रलाई जीवनपद्धति मानेर चल्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको जनाउँदै लोकतन्त्रका लागि लडेकाहरु भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आफू अघि बढ्ने पनि बताए ।

    माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमितको प्रयास गरिएको स्मरण गरे । उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश जाओस् भन्ने आग्रह गरे ।

    कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए ।  उनले  सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरे ।

  • टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

    टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो । यद्यपी, कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।

    आज नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ । गत बिहीबार तीन दलका तीन शीर्ष नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबिच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

    सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको हो ।

    साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको हो । यसलाई चालु संसदबाटै विधेयक पारित गरेर अघि बढाइने छ । सङ्क्रमणकालीन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने बताइएको छ ।

  • कांग्रेस कार्य सम्पादन समितिको बैठक आजबाट, के छन् एजेण्डा ?

    कांग्रेस कार्य सम्पादन समितिको बैठक आजबाट, के छन् एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।

  • नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु

    नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु

    काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनस् चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन भनेको छ । दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो ।

    आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ । दूतावासले त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किइसकेको र बाँकी रहेका करिब ४ सय विद्यार्थी निरन्तर आफ्नो सम्पर्कमै रहेको जनाएको छ ।

    साथै नेपाल फर्किन चाहने विद्यार्थीसहित अन्य नेपालीहरुले राजदूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछिमात्रै यात्रा गर्नसमेत दूतावासले आग्रह गरेको छ । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका आफन्तहरूलाई निजामती सेवाका विभिन्न जागिरहरूमा दिइएको आरक्षण सुविधाको विरोधमा गत महिना विद्यार्थीहरू सडकमा उत्रिएका थिए ।

    सरकारले अधिकांश कोटा फिर्ता लिने निर्णय गरेपछि पनि विद्यार्थीले आन्दोलन जारी राखेका हुन् । सोही प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

    सुरुमा आरक्षण विरोधी आन्दोलनको रूपमा भएको आन्दोलन अहिले सरकार विरोधी आन्दोलनमा बदलिएको छ । विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।

  • यथार्थवादी उपन्यास–रोबोट जर्ज

    यथार्थवादी उपन्यास–रोबोट जर्ज

    बी.के. नेवा, न्युयोर्क

    गीता खत्री नेपाली साहित्यमा चर्चित नाम हो । उहाँ आख्यानकार, कवि, गजलकार, गीतकार, नियात्राकार, नाटककार, सम्पादक हुँदै अब एक सफल उपन्यासकार बन्नु भएको छ ।
    उहाँको पहिलो उपन्यास रोबोट जर्ज पाठकसामु आएको छ । विज्ञान र प्रविधिले मानिसको जीवनमा पारेको प्रभावसहित आजको सामाजिक यथार्थवादका साथै यौन मनोवादमा आधारित यो उपन्यायले पाठकलाई भरपुर तिर्खा मेटाउँछ ।
    विसं २०२० सालमा काठमाडौँमा जन्मेर हाल अमेरिका बस्दै आउनुभएकी खत्रीले यो उपन्यासमार्फत अमेरिकामा बस्ने नेपालीको दिनचर्यालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्नुभएको छ । उहाँले नेपाली समाज र अमेरिकी समाजको तुलना गर्दै श्रीमान् र श्रीमतीबीचको सम्बन्ध, प्रेम, विवाद, यौनसम्बन्ध, सम्बन्ध विच्छेदआदि कारणले जीवनमा परेको प्रभाव, त्यसका विज्ञान र प्रविधिले खेलेको भूमिका र प्रभावबारे सूक्ष्म विश्लेषण गरी अन्त्यमा मोहजालबाट मुक्त भई सामाजिक र मानवीय सेवामा लाग्न नारी पात्र तारामार्फत सन्देश दिनुभएको छ ।


    उमेरले पचास काटेकी चार छोरीकी आमा ताराको लाग्ने गोवर्धनसँग एकएक डिभोर्स हुन्छ । उनीहरुको तीस–पैतिस वर्ष लामो प्रेम कहानि एक झड्कामा टुङ्गिन्छ । लोग्नेका लागि जन्मदिने बाबुआमा र घरबार त्यागेर हिँडेकी तारालाई उसले पैसा, नोकरी र कामुकताको उडानमा नचाहिँदो आरोप, यातना, पीडा र दर्द दिन्छ । सहनशीलताको सीमा पार गरेपछि ताराले अदालतको सहारा लिनुपर्यो । अदालतको अगाडि आफूले जन्माएका छोरीहरुको डिएनए परिक्षणसमेत गर्नुपर्यो । अदालतले डिभोर्स गरिदिएपछि ताराको जीवनले नयाँ मोड लिनपुग्छ ।
    तारासित डिभोर्स भएपछि अर्की महिलासँग सम्बन्ध गासेको गोवर्धनलाई ताराको सराप लाग्छ । उनले अनेका कष्ट भाग्नुपर्छ । अनेकौँ हन्डर र ठक्कर खाएपछि उसले विगतमा गरेका पापकर्मको पश्चाताप गर्छ ।
    डिभोर्सपछिको एक्लो महसुस गरेकी तारालाई जीवन खुसी र सुखी बनाउन छोरीहरुले भरपुर सहयोग गर्छन् । इच्छा र चाहना दबाएर नबस्न उनीहरुले तारालाई बारम्बार सम्झाउँछन् ।
    ताराले जर्सी सिटी निवासी एक जना पुरुष जर्जसित फेसबुकबाट चिनजान गरिन् । ऊ पेसाले डाक्टर रहेछन् । उसको एउटी छोरी पनि छन् । श्रीमती क्यान्सर लागेर मरेपछि जर्ज पनि एक्लो महसुस गर्दै कसैको माया खोजिरहेका रहेछन् । तारालाई पनि समय कटाउन बोल्ने साथीको अभाव भइरहेको थियो । साथीका रुपमा बस्न सकिन्छ कि भनेर ताराले उसित कुरा अगाडि बढाएकी थिइन् ।
    केही समयपछि बार्नेस एन्ड नोबलमा तारा र जर्जको भेट हुन्छ । त्यसपछि बेलाबेलामा फोनमा कुरा हुने र कहिले काँही उपहारसहित तारालाई भेट्न जर्ज आउने क्रम जारी हुन्छ । दुवैजनाबीच आत्मीयता बढ्छ । एक अर्काबीच प्रेम सम्बन्ध गाढा हुँदै जान्छ । जर्जले एकदिन तारालाई जोन्स बिचमा घुम्न जाने विचार गरेर फोन गर्छन् । जर्जको गाडीमा दुवै जना जोन्स बिचमा घुम्न जान्छन् ।
    फर्केर आउँदा जर्जको गाडी अर्को गाडीसँग ठोकिएर गम्भीर दुर्घटना हुन्छ । दुवै जना गम्भीर घाइते हुन्छन् । अस्पताल पुर्याएलगत्तै जर्जको मृत्यु हुन्छ भने तारा बेहोस अवस्थामा आइसियुमा भर्ना गरिन्छ । ताराको होस खुल्दैन । बेहोस अवस्थामै उनले बेला बेलामा ‘जर्ज मलाई भेट्न किन आउँदैनौँ, तिमी कहाँ छौँ’ भन्ने गर्छिन् । अरु कसैलाई पनि उनी चिन्दिनन् । ताराले सबै कुरा बिर्सिए पनि जर्जलाई बिर्सेकी छैनन् ।
    लामो समयसम्म पनि ताराको होस खुलेन । उनका दुवै खुट्टाले काम नगर्ने भए नक्कली खुट्टा राख्नुपर्ने भयो । नक्कली खुट्टा राखियो । ताराका छोरीहरुले जर्जजस्तै रोबोट बनाए । रोबोट जर्जलाई तारासँग भेट गराइयो । रोबोट जर्जलाई भेट गरेपछि तारामा पूर्वस्मृति भयो । दुवै जनाको बिहे हुने कुरा पनि चल्यो तर चीनबाट फैलिएको कोरोना महामारीले बिहे पर धकेलियो ।
    एक दिन तारा र रोबोट जर्जबीच प्रणयका कुरा भइरहेका थिए तर रोबोट मानवीय व्यवहार गर्न चुक्यो अनिमात्र उनलाई यो जर्ज होइन रोबोट हो भन्ने अनुभूति भयो त्यसपछि तारालाई जर्जप्रति शङ्का लागेछ । उनलाई जर्ज पहिलेको जस्तो लाग्नै छाडेछ । तारालाई एक किसिमको झड्का लागेछ । हिराले हिरा काटेजस्तै नयाँ झड्काले पुरानो झड्कालाई काटिदियो । तारालाई दुर्घटनाबारे स्मरण भयो । जर्जको घाउ र चोटको सोधखोज गरिन् तर रोबोट जर्जले मानिसले जस्तो तारालाई सन्तुष्ट जवाफ दिन सकेन । त्यसपछि ताराले छोरीहरुसँग फोनमै जर्ज र आफ्नो दुर्घटनाको बारे कुरा गरिन् ।
    ताराले भनिन् – जीवनमा चाहेका सबै कुराहरु पूरा हुँदैनन् । जीवन अगाडि बढाउन मानिसले धेरै किसिमका नातागोता जोड्नुपर्छ । मायाका बन्धनहरु बाँध्नुपर्छ र तोड्नुपर्छ । यस क्रममा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् । असफल हुनेले पनि बाँच्नै पर्छ । मेरो जीवनका बन्धनहरु कहिल्यै नजोडिने समूहमा परेछन् । त्यसैले जोडिँदै र टुट्दै गए र अन्त्यमा शून्य ।
    ताराले बल्ल जीवनलाई राम्रैसँग बुझिन् । बरु अब बाँकी जीवन सामाजिक सेवामा अर्पण गर्ने, दीनदुःखी र असहायहरुको सेवामा लगाउने निर्णय गरिन् । त्यसपछि उनले माया मोहबाट अलग भई असहायहरुको सेवा गर्ने सोच बनाइन् ।

  • यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

    यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

    काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो ।

    उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् । आज मिस नेपालको ग्राण्ड फाइनल भएको हो ।

  • सरकारले आइतबार दियो काठमाडौंमा सार्वजनिक बिदा

    सरकारले आइतबार दियो काठमाडौंमा सार्वजनिक बिदा

    काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो बिदा काठमाडौं, भक्तपुर र ललितपुरमा लागू हुनेछ ।

  • रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

    रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प) चलाउने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार आज बिहान ७ बजेदेखि कार्यशाला सुरु गरिएको हो । कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने भएको छ । कार्यशाला भोलिसम्म चल्ने छ ।

  • राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

    राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

    काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको भन्दै आलोचना भएको थियो ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन तथा राष्ट्रिय परिचयपत्र इकाईहरुलाई पत्राचार गरेर उक्त जानकारी दिएको हो । विभागले सूचना प्रकाशित गरेर फोटो खिच्दा आफूले चाहेको नेपाली पोसाक लगाउन पाइने, सिन्दुर, टीका हटाउन नपर्ने जानकारी गराएको छ ।

    परिचयपत्रका लागि फोटो खिच्ने क्रममा आफ्नो संस्कृति र जातीय पहिचान झल्ने लुगा लगाउन पाउने विभागले जनाएको छ । यसअघि उक्त चिह्न परिचयपत्र अनिवार्य गर्ने नाममा नेपालीको खास पहिचान मेटाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत धेरै आलोचना हुँदै आएको थियो ।

    विभागका महानिर्देशक युवराज कँडेलका अनुसार सम्बन्धित निकायमा यसको जानकारी दिइसकिएको छ । पत्रमा उल्लेख भएअनुसार कुनै व्यक्तिले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि फोटो खिच्दा प्रस्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने छ ।

    पत्रमा भनिएको छ, ‘फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।’ विभागका अनुसार नागरिकतामा विवरण प्रस्ट नभएमा नगरिकताको अभिलेखरसीआईएमएससमेत रुजु गरेर विवरण दर्ता गर्ने व्यवस्था मिलाउन पत्रमा उल्लेख छ ।

    सरकारले राज्यका सबै सेवामा राष्ट्रिय परिचयपत्रलाई जोडेर सेवा प्रवाह गर्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा र पेन्सन प्रणालीमा जोडेर ६६ जिल्लामा परिचयपत्र अनिवार्य रुपमा लागू गर्ने निर्णय गरेको छ ।

    विभागका अनुसार गत जेठ २४ को मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामै परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो । गत असार १० गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकले भने परिचयपत्र नलिए पनि सेवा लिन बाधा नपर्ने राजपत्रमा उल्लेख छ ।

    सरकारले राजस्वसम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्रसम्बन्धी र कम्पनी दर्ता एवं नवीकरणका लागि पनि क्रमशः परिचयपत्र अनिवार्य गर्दै लैजाने योजना बनाएको छ । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेचमा पनि यो प्रणाली जोडिनेछ । परिचयपत्रका लागि सरकारले बितेको ६ वर्षमा ५ अर्बभन्दा बढी रकम खर्चिसकेको छ ।

  • नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

    नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले बुधबार उनीहरुलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

  • टीआरसी विधेयकमा सहमति

    टीआरसी विधेयकमा सहमति

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको दलहरुले बताएका छन् । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित विषयमा सहमति जुटेको हो ।

    गृहमन्त्री रमेश लेखकले यसबारे जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति भएको छ ।

    मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ । पीडितको सहमति नभएमा के गर्ने भन्ने विवाद थियो । ‘सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्नसक्छ, दुनियाँवादी फौजदारी मुद्दा भए के गर्ने भन्ने अधिकार पीडितलाई दिने सहमति गरेका छौं,’ गृहमन्त्री लेखकले भने ।

    द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति पनि जुटेको छ । यस्तै बहिगर्मित लडाकूहरुलाई द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति पनि भएको छ । यो सहमतिलाई कानुन मन्त्रालयले अन्तिम रुप दिएपछि शीर्ष नेताहरुलाई बुझाइने लेखकले जानकारी दिए ।

  • तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

    तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • आगामी चुनाव माओवादीले एक्लै लड्ने

    आगामी चुनाव माओवादीले एक्लै लड्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् ।

    सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डले बताएका छन् । आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिदै प्रवक्ता सापकोटाले भने ।

    यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए । तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।

    ‘हामीले के निष्कर्ष निकालेका छौं भने यो जनतामा जाने सूवर्ण अवसर पनि हो’, सापकोटाले भने । बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको छ । ‘देशभक्त र अग्रगामीहरुको संयुक्त मोर्चा पनि बनाउनुपर्छ, साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर निरन्तर गरिरहनुपर्छ’, उनले भने ।

  • बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    १२ साउन अर्थात् शनिबार मात्रै सरकारलाई पूर्णता दिएका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

    सत्ता समीकरण परिवर्तन भएसँगै ६ साउनमा मुख्यमन्त्रीबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै कांग्रेस–एमालेको समीकरणबाट लामाले ९ साउनमा सरकारमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिन लामालाई नियुक्त गरेर १० साउनमा सपथ गराएका थिए ।

  • तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

    तीन प्रदेशमा प्रमुख हटाएर नयाँ नियुक्ति

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो ।

    सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकार परिवर्तनपिच्छे आफ्नो पार्टी निकटका मान्छेलाई प्रदेशमा लैजाँदा संघसँगै प्रदेश सरकार समेत अस्थिर बनिरहेका छन् ।

  • योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त

    योजना आयोगको उपाध्यक्षमा प्रा.डा.अधिकारी नियुक्त


    काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको बैठकबाट पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    सदस्यहरुमा महोत्तरीका डा. आरपी बिच्छा, डा. रमेश सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र  गंगादत्त अवस्थी नियुक्त भएका छन् । योजना आयोगमा नियुक्त भएकामध्ये बिच्छा, टण्डन र अवस्थी नेपाली कांग्रेस निकट हुन् भने अरु नेकपा एमाले निकट हुन् ।

  • लीलादेवि बनिन् पहिलो महिला मुख्यसचिव

    लीलादेवि बनिन् पहिलो महिला मुख्यसचिव


    काठमाडौं । नेपालमा पहिलोपटक महिला निजामती कर्मचारीको सर्वोच्च पदमा पुगेकी छिन् । बिहिवार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवि गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । उनी महिलाबाट यो पदमा पुग्ने पहिलो व्यक्ति बन्दै इतिहास बनाउन सफल बनेकि छिन् । प्रधानमन्त्री केपि शर्मा ओलीले उनलाई औपचारिक रुपमा बधाई दिएका छन् ।

  • जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै

    जहाज दुर्घटनाका मृतकको शोकमा आज आधा झण्डा झुकाइदै

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकको शोकमा आज राष्ट्रिय झण्डाआधा झुकाइदैछ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले जहाज दुर्घटनाको छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमापाँच सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ ।

    बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । पाइलट भने घाइते भएका छन् । उनको उपचार जारी छ ।

  • मुकुल ढकाललाई कारवाही गरेपछि पहिलो पटक रास्वपा केन्द्रिय समिति बैठक बस्दै

    मुकुल ढकाललाई कारवाही गरेपछि पहिलो पटक रास्वपा केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो । आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

    बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनसक्ने छ । रानामगरले ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् । त्यसबाट उनी विवादमा तानिएकी थिइन् । रास्वपाले उनको बचाउ गर्दै आएको छ ।

  • बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

    बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

    काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।

  • मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक

    मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक

    काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैलालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेका छन् । छनोटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएको छ ।

  • अनेसासको २११ औं भानुजयन्ति कार्यक्रममा शारदा क्षेत्रीको गजल र मुक्तक संग्रह बिमोचित

    अनेसासको २११ औं भानुजयन्ति कार्यक्रममा शारदा क्षेत्रीको गजल र मुक्तक संग्रह बिमोचित

    बिष्णु सिंह (बैजु) न्युयोर्क ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले २११ औं भानु जयन्ति मनाएको छ । कार्यक्रमका प्रमूख अतिथि डा. गोबिन्द कोईराला, र बिशेष अतिथीहरुमा राजेन्द्र श्रेष्ठ, आनन्द श्रेष्ठ र शारदा क्षेत्री थिए। साहित्यकार शकुन ज्ञवालीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता च्याप्टरकी अध्यक्ष लक्ष्मी श्रेष्ठले गरेकी थिइन्। प्रमूख अतिथीले पानसमा दियो प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमलाई अघि बढाउनु भयो, र उपस्थित सबैले आदिकवि भानुभक्तको तस्बिरमा फूलमाला अपर्ण गरेका थिए । उक्त अवसरमा नेपाल र अमेरिकाका राष्ट्रिय गान गाइएको थियो।

    कार्यक्रममा अनेसास कार्यसमिति सदस्य साहित्यकार शारदा क्षेत्रीद्वारा लिखित “स्मृतिका पानाहरु” गजल संग्रह र “आँशुको उपहार” मुक्तक संग्रह” दुई कृतिहरुको समिक्षा गरि बिमोचन गरेका थिए। बिमोचित संग्रहको समीक्षा साहित्यकार आनन्द श्रेष्ठले गरेका थिए ।

    समिक्षक श्रेष्ठजले अत्यन्त निस्पक्ष भइ पहिले मुक्तक संग्रहको विविध पक्षबाट समिक्षा गरिदिनु भयो। शब्द र ब्याकरण नमिलेकोदेखि लिएर अन्य शब्द चयन नमिलेको समेत औल्याई दिनु भयो। त्यसपश्चात गजल संग्रहको समिक्षा गर्नु भयो। ‘गजल’ गीत वा कविता होईन। तर गजल गाउँन लायकको हुनुपर्ने स्पष्ट पारिदिनु भयो। उनले दुवै संग्रहरुबाट केही मुक्तक र गजलहरु निकै मार्मिक, केही मध्यम स्तरको र केही निम्नस्तरको भएको उदाहरण सहित स्पष्ट ब्याख्या गरिदिनु भयो। उनको यो विश्लेषण आफ्नो लेखहरुमा निकै उपयोगी हुने ठानि उपस्थित साहित्य अनुरागीहरु निकै ध्यानमग्न भएर सुनिरहेका थिए। सहभागीहरुले समिक्षक श्रेष्ठलाई यसको लागि कक्षा संचालन गरि सहयोग गरिदिन समेत अनुरोध गरेका थिए।

    कृतिको समिक्षापछि सहभागीहरुले भानु जयन्तिको शुभकामना दिदै आफ्ना रचनाहरु प्रस्तुत गरे ।यसक्रममा कवियत्री पुनम काफ्लेले कविता, गायक अभय ढुंगेलले मार्मिक गीत, जिपिकेका सभापित सोमनाथ घिमिरेले कविता प्रस्तुत गरेका थिए ।त्यसैगरी सुभकामना दिदै शान्ता घिमिरेले गीत प्रस्तुत गरिन। कुन्ती थापाले कविता सहित शारदा क्षेत्रीकै गजल वाचन गरिन। बेदा खरेलले पनि शुभकामना दिदै कविता प्रस्तुत गरिन।

    मलाई पनि आदिकविप्रति शुभकामना अर्पण गर्ने अवसर दिएकोमा मैले “भाषाले भूमिलाई नियन्त्रण” गर्ने बिचार राख्दै नेपाली खश भाषाले नेपालको सिमापारि समेत प्रभाव पर्ने हुनाले नेपाली भाषालाई स्तरीय, सबैले बुझ्ने र प्रयोग गर्न उत्साहित हुने गरि बिकास गर्नुपर्ने विचार राखें ।

    त्यसैगरि साहित्यकारहरु मिना देवकोटा, जीवन तिमल्सिना, जानकी वस्ती ढकाल पनि शुभकामना दिदै पनि शारदाकै गजल वाचन गरेकी थिइन्।
    तत्पश्चात “स्मृतिका पानाहरु” गजल संग्रह र “आँशुको उपहार” मुक्तक संग्रहकी लेखिका शारदा क्षेत्रीले आफ्नो कृति बारे प्रकाश पार्दै, एक्लै यात्रा गर्दा गर्दै बोलको गजल प्रस्तुत गर्दैगर्दा ड्यासमा भक्कानियर रुन थालिन। उनले कोरेका रचनाहरु मन हल्का पार्न आफ्नो हृदय भित्र गुम्सिरहेको आफ्नै बेदनालाई कापिमा उतारिएको बुझ्न गाह्रो भएन। शब्दहरु हृदय विदारक थिए। उनको बेदनालाई बुझेर अध्यक्ष लक्ष्मी श्रेष्ठ र अन्य कवियित्रीहरुले पनि आँखा पखाले। संचालिका ज्ञवालीले आफ्नो आमा उमेरकी साहित्यकर्मीको शब्दहरु सुनेर मन गरुङ्गो पार्दै बोलेकी थिइन। यो दृष्यले सबैलाई भावविह्वल परिदिएको थियो।

    तत्पश्चात मुख्य अतिथि डा गोबिन्द कोइरालाले अहिले देखिने भानुको तस्बिर साहित्यकार बालकृष्ण समले कल्पना गरि तयार परिएको बताए। साथै खश भाषा एकीकृत नेपाली समाज र सन् १९९२ तिर एलाईन्स फर डेमोक्र्यासी एण्ड ह्युम्यान राईट्स हरि अधिकारी नामक व्यक्तिले त्यतिबेला शुरु गरेको जानकारी गराए। पछि अन्तराष्ट्रिय नेपाली साहित्य समाज जन्मेपछि हराएर गएको ईतिहास बताए। शारदा क्षेत्रीले कोइरालालाई पनि ज्वाई भन्ने भएकोले डा कोइरालाले सासुकै सम्मानमा एक कविता वाचन गरि बिदा भए।

    कार्यक्रममा विश्व थापा, बिकास बिष्ट, महासचिव नदिया लिबांग र अन्य कवि कवियत्रीहरुको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा संचालिका ज्ञवालीले;
    “नेपाल प्यारो भन्दा भन्दै,
    प्रवाश मै फसे,
    आफ्नै गुडमा फर्कने छु ,
    संसार जति डुले पनि”
    उदागारका साथ् बिदा भईन।

    सभाध्यक्ष लक्ष्मी श्रेष्ठले कार्यक्रममा उपस्थित बहुमुल्य बिचारहरु प्रस्तुत गर्नु भएकोमा सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो।

    (कार्यक्रम नेपाली भान्छा घर ज्याक्सन हाईट्समा अपरान्हदेखि साँझसम्म चलेको थियो। सर्जक क्षेत्रीले खाजाको व्यवस्था बिमोचित सग्रह बिक्रबाट उठेको रकम अनेसास न्युयोर्क च्याप्टरलाई हस्तान्तरण गरिन्।)

  • एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

    एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरे ।

    उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।
    यस्तो छ सहमति

    १. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

    २. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।

    ३्. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

    ४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।

    ५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

    ६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

    ७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।

  • प्रधानमन्त्रीलाई दुई तिहाई समर्थन

    प्रधानमन्त्रीलाई दुई तिहाई समर्थन


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो ।

    संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

  • आज गुरु पूर्णिमा, के छ महत्व ?

    आज गुरु पूर्णिमा, के छ महत्व ?

    काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।

    आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

    आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
    वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।

  • माओवादी, रास्वपा र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    माओवादी, रास्वपा र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    काठमाडौं । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दल माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसदमा विपक्षी भूमिका निर्वाह गर्ने भएका छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने निर्णय गरेका हुन् ।

    संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच असार १७ मा नयाँ सत्ता गठबन्धन बनेपछि यी साना तीन दलले संसदबाट एक भएर सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतको विपक्षमा उभिने भएका छन् ।

    यी तीन दलले आइतबार आ–आफ्ना संसदीय दलको बैठक गरी विश्वासको मतको विपक्षमा उभिन आ–आफ्ना सांसदलाई ह्वीप जारी गर्ने तयारीमा छन् । गत असार २८ मा पनि निवर्तमान प्रधानमन्त्री दाहाललाई यिनै माओवादीका ३२, रास्वपाका २१ र एसका १० सांसदको मात्र विश्वासको मत प्राप्त भएको थियो । विश्वासको मत पाउन नसकेपछि स्वतः पदमुक्त भएका दाहालले संसदमा विपक्ष र सडकमा समाजवादी मोर्चा बनाएर ओली सरकारविरुद्ध साझा मञ्च बनाउन खोजेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठकले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबार बसेको बैठकले ओलीले आइतबार संसदमा विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो ।

    राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एमाले–कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि निर्देशन समितिको बैठकले विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको उल्लेख छ । राप्रपाले यसअघि भने कांग्रेस–एमाले गठबन्धनलाई सकारात्मक रूपमा लिँदै उक्त सहकार्यको स्वागत गरेको थियो । तर अब भने त्यसो गर्न नसकिने राप्रपा निर्देशन समितिले निष्कर्ष निकालेको हो ।

  • प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

    प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

    ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्री नियुक्त गरेका थिए । नियुक्तिलगतै उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित कांग्रेस, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी छन् ।

    माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभिने भएका छन् । संसदीय दलको बैठक डाकेर यी पार्टीले विश्वासको मत नदिने निर्णय नगरेका हुन् । एमालले विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्रिप जारी गरेको छ ।

    एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ । कांग्रेसको संसदीय दलको बैठक पनि संसद् बैठक अघि नै बस्दैछ । बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्ने कांग्रेस एक नेताले बताए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्दछ ।

  • राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो ।

    नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।

  • कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

    कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

    काठमाडौं । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेतृ कोइरालाले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्।

    ‘हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ,’ उनले भनिन्। कांग्रेसको १५ औं महाधिवेशन २ वर्षपछि हुँदैछ। २०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा पुनः सभापति चुनिएका थिए।

  • ७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

    ७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

    काठमाडौं । प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने तय भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य–प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।

    सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो । सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्ने गरी दुई साताको प्रतिनिधि सभाको कार्यतालिका तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि झैँ सभा र समितिका लागि सातामा तीन तीन दिनको समय तोकिएको छ ।

    प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ । नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ । प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ । सोही समूहका सदस्यले मात्र प्रश्न गर्न पाउने छन् । यस्ता प्रश्न सभामुखले तोकेको दिनभित्रै सचिवालयमा दर्ता गर्ने अभ्यास छ । एक दिनमा बढीमा १५ सदस्यले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ ।

    सभामुख र दलबिचको परामर्शमा तय भएको कार्यतालिकामा साउन ६, ७ र ८ गते प्रतिनिधि सभा बैठक चलाउने उल्लेख छ । यस्तै ९, १० र ११ गते समिति सञ्चालनको समय तोकिएको छ । दोस्रो सातामा १३, १४ र १५ मा पनि प्रतिनिधि सभा सञ्चालनको प्रस्ताव छ ।

    औपचारिक रूपमा कार्यतालिका शुक्रबार टुङ्गिने छ । प्रश्नोत्तरलगायतका दिनबाहेक आकस्मिक, शून्य र विशेष समय पनि सञ्चालत हुने छन् । यस्तै यसबिचमा विधायन व्यवस्थापन, सुरक्षण मुद्रणलगायतका विधेयकलाई पनि अघि बढाइने छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पनि अघि बढाउने गरी कार्यतालिकामा समावेश छ ।

    कार्यतालिकामा समावेश नभए पनि आकस्मिक रूपमा कुनै विधेयक अघि बढाउन सकिने छ । यस्तै मन्त्रीहरूले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिन चाहे समय उपलब्ध हुने छ । संसदीय अभ्यास अनुसार विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखले समय माग गरेमा दिनुपर्ने छ । विषयवस्तु हेरेर आकस्मिक समय पनि निर्धारण हुने छ ।