Category: कला / साहित्य

  • यस वर्षको स्रोह श्राद्ध शुरु

    यस वर्षको स्रोह श्राद्ध शुरु

    काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार)देखि विधिवत् आरम्भ गरिंदैछ । आज एकै दिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।

    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    यसैगरी यस वर्ष असोज १ गते कुनै पनि तिथिको श्राद्ध नपरेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । भदौ ३१ गते सप्तमी तिथि श्राद्ध परेको छ । अष्टमी तिथि भने असोज २ गते परेको छ । असोज २ गते अष्टमी तिथि बढी परेकाले त्यस दिन अष्टमी श्राद्ध गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    पुरोहितले आफू अनुकूल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउनुहुँदै उहाँले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्छ । यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिए ।

    पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि सुझाव दिनुभयो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

  • किन खस्कियो कक्षा १२ को नतिजा ?

    किन खस्कियो कक्षा १२ को नतिजा ?

    काठमाडौं । माध्यमिक तह (कक्षा १२) को परीक्षाफल प्रकाशित हुँदा निरासाजनक नतिजा आएको छ यस वर्ष आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परे । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार नतिजा सार्वजनिक गरेको हो । जसमा एक लाख ८८ हजार ४१० जना नन ग्रेडेडमा परे । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले भविश्य लक्षित विषय रोजेर पढ्न पाउँछन् । त्यसमा पनि निरासाजनक नतिजा आउनुलाई शिक्षा बिदहरु भने सकारात्मक संकेत मान्दैनन् ।

    लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को परीक्षामा ३ लाख ६३ हजार ८ जना परीक्षार्थी सहभागी थिए । एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । उनीहरुमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन सक्नेछन् ।

    दुई विषयसम्म नन ग्रेडेड ल्याएकाले परीक्षा दिन पाउनेछन् भने दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएको अवस्थामा अर्को वर्ष सबै परीक्षा दिनुपर्छ । यसरी हेर्दा ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ । कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३।६ जीपीए कटाएका थिए ।

    यो वर्ष बोर्डले केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४ जीपीए ल्याउने ४ हजार १७९ विद्यार्थी मात्र देखिए । ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको र नियमिततर्फको परीक्षार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको छ । यो निर्देशिका अनुसार सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।


    कार्यालयको अनुसार आंशिकतर्फ पनि जम्मा ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागी ३ हजार १३२ जना मध्ये १ हजार २८८ जना मात्रै उत्तीर्ण भएको जनाएको छ । ४३ जनाको परीक्षाफल रद्द भएको छ ।

  • राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पारित भएको छ । भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचार गर्न राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो।

    राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको हो । अब यो विधेयक कानून बन्ने निश्चित भएको छ । विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन्। पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता लिन समेत बाटो खोलेको छ । यो विधेयक अब प्रमाणीकरणका लागि पुनः राष्ट्रपति समक्ष पुग्नेछ ।

  • नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण

    नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नैतकताको प्रश्न उठेका व्यक्तिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने स्पष्टीकरण दिएका छन् । जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सिफारिस गरेसँगै अहिले पार्टीको व्यापक आलोचना भइरहेको छ । यसैतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् । साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए ।

    ‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ उनले भने । जवाफमा कांग्रेस महामन्त्री थापाले आलमको नाम नलिई नैतिकताको प्रश्न उठेकालाई सांसद नबनाइने बताए । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैन ।’

  • सन्दुक रुइतलाई पद्यश्री पुरस्कार

    सन्दुक रुइतलाई पद्यश्री पुरस्कार

    काठमाडौं । पद्मश्री गौरव नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले प्रतिष्ठित आँखा चिकित्सक तथा मानव सेवी रुइतलाई पद्मश्री गौरव रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो । २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहले पाउने भएको छ ।

    पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं यस वर्ष पनि कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।

    वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने संस्थाका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

  • सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

    सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

    काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने कार्यक्रम छ । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका छन् । तर, कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न भने सकेका छैनन् ।

    बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो । तर कुनै सहमतिमा पुगेन। कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। यसपछिका बैठकमा भने दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन सकिरहेको छैन।

  • सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?

    सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?

    काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारीमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । यसै बैठकबाट प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने विषय टुंगो लगाइने भएको छ । गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ ।

    यसमा कांग्रेसले माग्ने सीटको साझा धारणा बनाउने तयारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलस्तरबाट भने अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन ।

  • प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन

    प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।

    प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन र बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन्।

    गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेश ५८ वटा दलबाट ५० वटा निवेदन परेको आयोगले जानकारी दिएको छ।

  • नवराज लम्सालको ‘अग्नी’ले जित्यो मदन पुरस्कार

    नवराज लम्सालको ‘अग्नी’ले जित्यो मदन पुरस्कार

    काठमाडौं । नेपालको प्रतिष्ठित साहित्यित पुरस्कार ‘मदन पुरस्कार’ यस वर्ष डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराएका छन् ।

    अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ। दुवै पुरस्कारको राशी जनही चार लाख रुपैयाँ रहेको छ । यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिन्छ । देशभरका उत्कृष्ट कृतिबाट छानिएका सर्वोकृष्ट ५ मध्ये एक\एक जनाले यी पुरस्कार पाउने गर्छन् ।

  • नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै

    नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै

    काठमाडौं । नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ।

    राष्ट्रियसभाका सचिव फुयाँलले प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६, सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको’ सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६, लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नेलगायत सम्भावित कार्यसूची छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेधिक विश्वविद्यालय विधेयक २०७९ माथि प्रतिनिधि सभामा संशोधन भएको उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।

  • सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक

    सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक

    काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि अझै सिटको बाँडफाँट टुग्याउन सकेको छैन । सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

    बिहीबार नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए । कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।

  • माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत

    माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत

    काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने निश्चित भएको छ । दुई पार्टीबीच पार्टी एकतासम्मको सहमति रहेको छ । निर्वाचन आयोगले निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको जनाएको छ । जसमा यी दुई पार्टी एकल चुनाव चिन्हबाट लड्नेछन् । आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो ।

    आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् । दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । आयोगले ती १२ दलका चारवटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको छ । जसबमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।

    नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी बाहेक नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीको समेत एकल चुनाव चिह्न कायम गरिएको छ । आयोगले सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीले समेत तालमेल गर्ने निर्णय गर्दै माग गरेको एकल चुनाव चिह्न स्वीकृत गरेको छ । नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाल पार्टी र नेपाल सुशासन पार्टीले तालमेल गरी नेपाल आमा पार्टीको चुनाव चिह्न कायम गरिदिन माग गरेको थियो ।

  • राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति

    राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति

    काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै पठाएसँगै असन्तुष्ट राष्ट्रपति विद्यादेवि भण्डारीले राजिनामा दिन सक्ने आशंकाका बीच राजनीतिमा नयाँ बहस शुरु भएको छ । बुधबार एमाले निकट सञ्चारमाध्यमले राजिनामा आउन सक्ने सम्भावना रहेको प्रकृतिका समाचार प्रकाशित गरेका थिए । यसलाई बल पुग्ने गरी बुधबार नै राष्ट्रपतिले आफ्नो सुरक्षामा खटिएका वर्तमान र विगतका सुरक्षाकर्मीलाई समेत बोलाएर धन्यवाद ज्ञापन गरेको खबर सार्वजनिक भएको छ ।

    यसले राष्ट्रपति राजिनामा दिने मुडमा पुगेको आशंकमा अझ बढी बल पुगेको हो । आजै प्रधानमन्त्री शेर बहादुर देउवाले समेत आफ्नो दलका नेताहरुसँग यस्तौ खबर सुनाएका थिए । राजिनामाले राष्ट्रपतिको राष्ट्रवादी छवि बस्ने र यसले उनको पार्टी एमालेलाई समेत फाइदा हुने विश्लेषण एमाले निकट सञ्चारमाध्यमले गरेका छन् । साथै राष्ट्रपति सक्रिय राजनीतिमा फर्कने सम्भावना समेत जनाइएको छ । नागरिकता विधेयकमा भने राष्ट्रपतिले कानूनी विषय समेटेर आफ्नो असहमति राखेकी थिइन् । सरकारले त्यसलाई अटेर गरेसँगै उनी असन्तुष्ट छिन् ।

  • समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

    समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलसँग निवेदन माग गरेको छ । आयोगले बुधबार भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिन सकिने गरी सूचना जारी गरेको हो । आयोगले साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो ।

    सो क्रममा ८४ वटा दल दर्ता भएका छन् । दर्तामध्ये १२ वटा दल तालमेलमा पुगेका छन् । अब यसरी दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टै निवेदन दिनुपर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ।

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकमा भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ। एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउनेछन्।

    ‘एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ’, सूचनामा भनिएको छ।

    दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ। आयोगको निर्वाचन कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ।

  • निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

    निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

    काठमाडौं । आगामी निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थासँग निर्वाचन आयोगले प्रस्ताव मागेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन मागेको हो । राष्ट्रिय संस्थाहरूलाई आयोगले पर्यवेक्षण अनुमति दिने तयारी गरेको छ।

    संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी विवरणलगायत खुलाएर आयोगमा निवेदन दिन सकिनेछ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेश नगर्ने संस्थालाई अनुमति नदिइने पनि आयोगले प्रष्टाएको छ।

  • मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

    मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आवद्ध नहुन सचेत गराएका हुन् ।

    ऐनको दफा १४ को उप दफा २ को खण्ड ग ले कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था रहेको छ । काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

    कुनै शिक्षक वा कर्मचारी दलमा आवद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले सार्वजनिक अपिल गरेका छन् । यसअघि निर्वाचन आयोगले पनि शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

  • प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

    प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

    काठमाडौं । सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने गरी तयारी थालिएको छ । दुबै दलका नेताहरु एकता प्रक्रियालाई औपचारिकता दिन सहमत भएसँगै यो प्रक्रियाले गति लिने देखिएको छ । दुई दलबीचको छलफलमा ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेता तयार भएका छन् ।

    सो प्रयोजनका लागि एकता संयोजन समिति गठन हुने भएको छ । यसले एकताको अवधारणापत्र तयार पार्नेछ । यस्तो समितिको संयोजकमा दुबै दलका अध्यक्ष रहने भएका छन् । चुनाव अगाडि संयुक्त घोषणापत्र लिएर अगाडी जाने सहमति समेत भएको छ । यसरी एकता भएमा पार्टीलाई दोस्रो शक्तिसम्म बनाउन सकिने आंकलन नेताहरुको छ ।

  • चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

    चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावको मुखमा आफ्नो भातृ सङ्गठन  योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई सक्रिय बनाएको छ । बिहिवार अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई निर्देशन दिए । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । 

    विस्तृत शान्ति सम्झौतापछि जनआन्दोलन र जनयुद्धको बलमा जुन शक्ति प्राप्त भयो । पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा पनि वाईसीएलको भूमिका निकै महत्त्वपूर्ण करिब-करिब निर्णायक भयो,’दाहालले भने ‘पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ । चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ । क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

    पहिलो संविधानसभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरुले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् । ‘प्रतिक्रियावादी जाली फटाहाहरुबाट जनतालाई सुरक्षित गराउने वाईसीएल नेपालको भूमिका दुरगामी र महत्त्वपूर्ण रह्यो,’ दाहालले भने ।

    कार्यक्रममा दाहालले देशभरका वामपन्थी दलहरुलाई एकतामा ल्याउन प्रयास भइरहेको बताएका

  • अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट

    अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट

    काठमाडौं । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलका उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन् । उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनीसहित ब्यान्डका अन्य चार सदस्य पनि काठमाडौं आएका हुन् ।

    पोखरेल आगामी शनिबारबाट शुरु हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन् । उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिनेछन् । सन् २०२० को अमेरिकन आइडलमा उपविजेता बनेका उनी त्यसयता पहिलोपटक नेपाल आएका हुन् ।

  • काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल

    काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच ब्याटल भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैन्छ’ भन्दै स्टाटस लेखे । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

    साम्पाङले सडकमा थुप्रिएको फोहोरबारे निरन्तर घोचपेच गरिरहेका छन् । उनले काठमाडौंमा खाल्डाखुल्डीको सडक भए पनि धरान नै सफा भएको भन्दै काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको समेत लेखेका थिए । बालेनले सुझावलाई आलोचनाका रुपमा लिएको बारे समेत साङपाङले अर्को स्टाटस लेखेका छन् । त्यसमा भने बालेनले थप प्रतिक्रिया दिएनन् ।

  • आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

    आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

    काठमाडौं । आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशको निर्वाचनमा ८४ वटा दल दर्ता भएका छन्। मंगलबार दल दर्ता गर्ने अन्तिम दिन थियो । निर्वाचन आयोगका अनुसार दर्ता भएका दलमध्ये चार वटा दल संयुक्त रूपमा दर्ता भएका छन् ।

    दुई वा दुईभन्दा बढी दल एउटै पार्टी र चुनाव चिन्हबाट लड्ने गरी चार वटा दल दर्ता भएका हुन् । २०७४ सालको निर्वाचनमा ८६ वटा दल दर्ता भएका थिए। दल दर्ता गर्ने समय सकिएसँगै अब निर्वाचन आयोगले पेस गरिएका विवरण केलाउनेछ । त्यसपछि मात्र दलको सूचि सार्वजनिक गर्ने तयारी आयोगको छ ।

  • सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

    सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ । अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

  • आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज पुरा हुने भएको छ ।
    सरकारले चुनावको मिति घोषणा गरेपछि आयोगले २२ साउनमा दल दर्ताका लागि आह्वान गरेको हो ।

    साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिने प्रयोजनका लागि आयोगमा दल दर्ता गराउनु पर्छं आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता छन् । चुनावमा भाग लिन आइतबारसम्म ६२ दल मात्र दर्ता भएका छन् । नेपाली कांग्रेसले समेत आइतबारसम्म दल दर्ता गराएको छैन ।

  • डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?

    डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?

    काठमाडौं । डा. बाबुराम भट्टराई वर्तमान पार्टीहरुमध्ये आफ्नो माउ पार्टी माओवादी केन्द्रको चर्को आलोचक बनिसकेका थिए । नयाँ युगका लागि पुरानो पार्टीको काम छैन भन्ने निष्कर्षसहित ७ वर्षअघि तत्कालीन नेकपा एकीकृत माओवादी परित्याग गरेका उनी आगामी निर्वाचनमा भने माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जान तयार भएका छन् ।

    नयाँ संविधान बनेलगत्तै उनले पार्टी परित्याग गरेका थिए । ६ वर्ष अगाडी नयाँ शक्ति पार्टी गठन नै गरेका थिए । त्यसपछि उनी सोही पार्टीका माध्यमबाट संघ र प्रदेशसभाको पहिलो चुनावमा गए । तर, सफलता भएनन् ।

    आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि भट्टराई माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हतौडामै चुनाव लड्न तयार भएसँगै उनको नयाँ यात्रा पुरानै धारमा फर्किएको हो । यसलाई कतिपयले राजनीतिक थकान भनेका छन् भने कतिपयले चुनावी रणनीति भएको बताएका छन् । यी पार्टीबीचको मौखिक सहमतिलाई सोमबार औपचारिकता दिने तयारी छ ।

  • चोरी भएर अमेरिका लगिएको टुँडाल र मूर्ति नेपाल फिर्ता

    चोरी भएर अमेरिका लगिएको टुँडाल र मूर्ति नेपाल फिर्ता

    काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका पुरातात्विक महत्वका काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिव मूर्ति ल्याइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागको अनुमान छ । यो १३ औं वा १४ औं शताब्दीमा निर्माण भएको टुँडाल हो। शिवको मूर्ति भने महानगरपालिका १९ स्थित कंकेश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो।

    यो मूर्ति १० औं वा ११ औं शताब्दीमा बनेको अनुमान गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुलेको हो । उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो।

    अमेरिका र बेलायतमा रहेका यस्तै अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी गराए । विभागले आइतबार एक कार्यक्रम आयोजना गरी मूर्ति सार्वजनिक गरेको हो। म्युजियमका वरिष्ठ कला विशेषज्ञ जोन गाईले विभागका महानिर्देशकलाई दुवै सामग्री हस्तान्तरण गरे ।

  • न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी

    न्यूयोर्कमा सलमान रुस्दीमाथि छुरा प्रहार भएको पुष्टी, आइसीयूमा उपचार जारी

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि चर्चित लेखक सलमान रुस्दीबारे जानकारी सुखद नरहेको उनका प्रतिनिधिले बताएका छन्। उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए। अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्। उनले रुस्दीले एउटा आँखा गुमाउन सक्ने समेत बताए।

    सन् १९८८ मा द साटेनिक भर्जेज पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट मृत्युको धम्की खेपिरहेका छन्। प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। न्यूयोर्क प्रहरीले ती सन्दिग्ध व्यक्ति रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कको सटोअक्ल्वा इन्स्टिच्युसनमा हमला गरेको जनाएको छ। हमलापछि उनलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो।

    हमलापछि रुस्दीलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो। ‘सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ, उनको हातका नशामा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन,’ उनका एजेन्ट वायलीले भनेका छन्। प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन।


    प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ। रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन्। उनलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो। भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए जुन पुस्तक यूकेमा मात्र दश लाखभन्दा धेरै सङ्ख्यामा विक्री भएको थियो। तर उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द साटेनिक भर्जेजले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पारेको हो ।

  • विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण

    विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण

    न्यूयोर्क । विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । न्युयोर्कमा एक कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको छ । आक्रमणपछि रुस्दी भुईँमा ढलेको तस्वीर सार्वजनिक भएको छ । उनीमाथि मुड्की वा चक्कु के प्रहार गरिएको छ भन्ने बारे खुलि नसकेको समाचारमा उल्लेख छ ।

    रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् । उनी भारतीय मूलका लेखक हुन् । उनले सटानिक भर्सेस लेखेपछि उनीमाथि यसअघि इरानी धर्मगुरु आयतुल्लाह रुहोल्लाह खोमिनीले फतवाह जारी गरेका छन् ।

  • सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज

    सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज

    काठमाडौं । आगामी निर्वाचनमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाइएको छ । कार्यदलको पहिलो बैठकले संयोजक तोक्ने काम गरेको थियो । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्।

    कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न कार्यादेश दिइएको छ । यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन्। आजको कार्यदल बैठकमा दलहरूले आ आफ्ना दाबी पेश गर्ने तयारी छ ।

  • ३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने

    ३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो । मंसिर ४ गते मतदान हुँदैछ ।

    २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन् । आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

  • निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी  दर्ता

    निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।

    असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।


    असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ ।

    मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।