Category: कला / साहित्य

  • ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

    ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

    काठमाडौं । गृह मन्त्रालयले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन सुरक्षाको जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने बताए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा सम्पन्न हुने र ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका हुन् ।

    मतदानलाई असर पार्ने, निर्वाचनमा खटिएका कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरा सह्य नहुने बताउँदै सचिव सिंहले निर्वाचन बिथोल्ने व्यक्ति समूहलाई कानुनी दायरामा ल्याइने दाबी गरे। उनले निर्वाचन बिथोल्ने कतिपय व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिएको र निर्वाचनविरोधी गतिविधि गर्नेको गृह मन्त्रालयले सूक्ष्म रूपमा हेरिरहेको बताए ।

  • प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

    प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

    काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको भने तीन दिन भित्र सार्वजनिक गर्ने बताएको छ । समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका संकलन भए लगत्तैदेखि मतगणना थालिनेछ । तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना छ ।

    मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको थपलियाले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।

  • रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?

    रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेसँगै नयाँ बहस शुरु भएको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

    चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराइएको छ । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने बताइएको छ । रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम रहँदैन, तर नागरिकता नत्यागेको भन्दै उजुरी परेको हो ।

  • गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

    गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

    काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले २० घण्टासम्म नियन्त्रणमा राखेको छ । एक सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जान लागेका उनीहरु लेवनानको अध्यागमनमा २० घण्टासम्म नियन्त्रणमा बस्नु परेको छ । यसबारे आइतबार नेपाली सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।

    उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस समेत स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।

  • आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

    काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् ।

    महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी कात्तिक २१ गते सोमबार आइसल्याण्डतर्फ प्रस्थान गरेकी थिइन्। भ्रमणका क्रममा उनले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा विशेष सम्बोधनसमेत गरिन्। सोही कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको थियो।

  • दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

    दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

    निर्णयहरूमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था छ। त्यस्तै राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा) को माध्यमबाट निर्वाचन प्रचार–प्रसार गराउन सक्ने निर्णय गरेको छ।

    आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने छ। आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने छ।

    त्यस्तै आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा विदेशी अनलाइन सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ। राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने छ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवार समेतले पालना गर्नुपर्ने सञ्चारमाध्यमको प्रयोगसम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न सक्ने व्यवस्था छ।

  • पत्रकार तथा लेखक अधिकारी मृत फेला

    पत्रकार तथा लेखक अधिकारी मृत फेला

    काठमाडौं । पत्रकार तथा लेखक सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गरेको बताइएको छ ।

    ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखिएको थियो । त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको र उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । उनले कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता सञ्चारमाध्यममा काम गरेका छन् । उनका धम्बोजी, नोरा, जासुसीको जाल चक्रव्यूहमा चन्द्रसूर्य किताब प्रकाशित भएका छन् ।

  • मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

    मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

    काठमाडौं । थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगले जनाएको छ । तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको छ । आयोगका अनुसार मङ्सिर ४ गते हुने चुनावका लागि करिब एक करोड ८० लाख व्यक्ति मतदान गर्न योग्य छन्।

    तीमध्ये करिब साढे दुई लाख मतदाता नयाँ छन् । तर यसपालि नयाँ मतदाताहरूलाई मतदाता परिचयपत्र वितरण गर्ने कार्यक्रम छैन । परिचयपत्र नपाउने थपिएका मतदातासँगै पुरानो परिचयपत्र हराएका वा च्यातिएका अवस्थामा त्यस्ता मतदाताले पहिचान खुलाउने अन्य सरकारी कागजात देखाएर मतदान गर्न दिने आयोगले मङ्गलवार निर्णय गरेको छ।

    मौजुदा परिचयपत्रबाहेक अन्य सरकारी कागजातहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा अथवा सवारीचालक अनुमतिपत्रका आधारमा समेत मत हाल्न पाउने छन्। तर त्यसका लागि मतदाता नामावलीमा नाम हुन जरुरी रहेको आयोगको भनाइ छ।

  • प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

    प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

    काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

    उनीहरुले चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि स्पष्टीकरणमा परेका हुन् । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको सङ्केत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    यस्तै, ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने ब्यहोरा छापिएको टोपी प्रयोग गरेको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ ।

    निर्वाचन आचारसंहितामा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ । प्रचण्ड, श्रेष्ठ र लामिछानेलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।

  • आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने

    आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने

    काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आजबाट प्रचार गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न सक्छन् । चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन् । उनले सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी चुनाव प्रचार गर्न अनुमति पाएका हुन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् । निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ । आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइन्छ । उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउने छैनन् ।

  • विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

    विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

    काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धन दलहरूले समर्थन गर्ने निर्णय गरेका छन् ।

    सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले थापालाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूको हस्ताक्षरसहित बुधबार जारी गरिएको विज्ञप्तिमा थापालाई समर्थन गर्ने निर्णय गरिएको बताइएको छ ।

    सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट अरु कुनै आधिकारिक उम्मेदवार थिएनन् । नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

    सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को पनि उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

  • कांग्रेस महामन्त्री शर्मा किन परे आयोगको स्पष्टीकरणमा ?

    कांग्रेस महामन्त्री शर्मा किन परे आयोगको स्पष्टीकरणमा ?

    काठमाडौं । कांग्रेसका महामन्त्री तथा झापा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मा स्पष्टीकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले शर्मालाई स्पष्टिकरण मागेको हो।

    ‘विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोष्ट गरेको श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंले गर्नुभएको होइन भनी भन्न सकिने कुनै आधार नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले सोधेको छ।


    निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ को (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षलाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ। स्प्ष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंबाट रकम हस्तान्तरण भएको बारे के कसो भएका हो रु यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारवाही गर्न नपर्ने हो ?’

  • रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

    रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

    काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो ।

    ‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो’, आदेशमा भनिएको छ, ‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

    यसअघि रुपन्देही-२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएका थिए । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

    दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ९ज० मा कालोसूचीमा रहेको व्यक्ति त्यस अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

    सर्वोच्च अदालतको यो आदेशसँगै रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको उम्मेदवारविना नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसले एमाले उम्मेदवार एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सहज बनाएको छ । अब निर्वाचन आयोगलाई रुपन्देही–२ मा मतपत्र डिजाइन र छपाइको बाटो खुल्नेछ ।

  • निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

    निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

    काठमाडौं । आगामी आम निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमती पाएका छन् । नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय संस्थामध्ये रुसी संस्था सिभिक च्याम्बर अफ रसियन फेडेरेसन समेत छ । निर्वाचन आयोगका अनुसार एशियन नेटवर्क फर फ्रि इलेक्सन्सबाट १५ जना, सार्क ह्युमन राइट्स फाउन्डेसनबाट ४ जना, सिभिक च्याम्बर अफ रसियन फेडेरेसनबाट ५ जना र सपोर्ट इनिसिएटिभ फर लिबर्टी एन्ड डेमोक्रेसीबाट ४ जनाले अनुमति पाएका छन् ।

    विसं २०६४ सालको संविधानसभा निर्वाचनमा ८०० जना देखि ९०० जनाको हाराहारीमा अन्तर्राष्ट्रिय पर्यवेक्षक नेपाल आएका थिए। नेपालमा पछिल्लो समय हरेक जसो निर्वाचन पर्यवेक्षण गर्दै आएका युरोपेली र अमेरिकी पर्यवेक्षकहरू आगामी महिना हुने निर्वचनको पर्यवेक्षणमा भने नआउने भएका छन्।

  • एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

    एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

    पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ?’ उता, मंगलबार झापा पुगेका ओली अस्वस्थ बनेका छन् । जसका कारण उनको चुनावी अभियान समेत प्रभावित बनेको छ ।

  • पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

    पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ।


    निर्वाचन आचारसंहिता २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख छ।

    स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईँले निर्वाचन प्रचार–प्रसारका क्रममा आफ्नो नाम अङ्कित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार कारण के छ? स्पष्टीकरण पत्रमा अगाडि भनिएको छ, ‘तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने होरु यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला।’ रासस

  • बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

    बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरेका छन् ।

    कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको भनाइ छ । सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

  • लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण

    लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो।

    आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको छ।’’

    स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुनेतर्फ काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेशसभाका सिरहा क्षेत्र नम्बर २ (क) का उम्मेदवार राजलाल यादव छन्।

    यसैगरी, प्रदेशसभाका सिरहा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना छन् ।

    ती उम्मेदवारहरूलाई “आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान रहेको भनी प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार र कारण के छ ?’’ भनी स्पष्टीकरण सोधिएको छ। साथै अन्य कुनै उम्मेदवारले समेत यस्तै प्रकृतिको कार्य गरेको पाइएमा जिल्लास्थित सम्बन्धित अनुगमन अधिकृतले यसैबमोजिम सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया प्रारम्भ गरी आयोगलाई सोको जानकारी दिनसमेत आयोगले निर्देशन दिएको छ।

  • सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

    सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीका योगदानलाई राज्यले सधैं सम्झिइरहने प्रतिक्रिया दिएका छन् । जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनी २४ दिनदेखि किष्ट अस्पतालमा उपचारत थिए । जोशीको निधनको खबरले आफूलाई दुखि बनाएको देउवाले आज ट्वीट गर्दै उल्लेख गरेका छन्।

    उनले भनेका छन् , ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ,’ उनले भनेका छन्, ‘उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

  • रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

    रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको१०३ वर्षको उमेरमा निधन भएको हो ।

    ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट स्रोतलाइ उदृत गर्दै संचारमाध्यमले पुष्टि गरेका छन् ।

    जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।

  • डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज

    डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज

    काठमाडौं । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल रद्द गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो । प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

    एमाले, डडेलधुराको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘‘।।कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भंग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’ तर, डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।

  • आयोगको अनुमति बीना मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने

    आयोगको अनुमति बीना मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने

    काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो ।

    छलफलमा सुरक्षा निकायका अधिकारीहरुले उच्चपदस्थ सरकारी अधिकारीहरुलाई कार्यक्रममा सहभागी हुन बन्देज लगाउन कठिन हुने धारणा राखेका थिए । तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने भन्दै आचारसंहिता उल्लंघन हुने गतिविधि भए मौन नबस्न निर्देशन दिएका हुन् ।

    ‘मन्त्री, मुख्यमन्त्री वा स्थानीय तहका जनप्रतिनिधि जो कोही आउनुभयो भने पनि निर्वाचन आयोगको अनुमतिपत्र छ भनी सोध्नुहोला भनी निर्देशन दिएका हौं’, प्रमुख आयुक्त थपलियाले अनलाइनखबरसँग भने, ‘आयोगको अनुमति छैन भने उहाँहरुलाई ससम्मान सलाम ठोक्नुहोस्, अनि नियन्त्रणमा लिएर आयोगलाई खबर गर्नुहोस् । बाँकी प्रक्रिया हामी अघि बढाउछौं भनेका छौं ।’ यसबारे गृहसचिवलाई समेत बोलाएर सबै सुरक्षा निकायलाई सर्कुलर गर्नु भनी निर्देशन दिएको उनले बताए ।

  • सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

    सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

    काठमाडौं । सत्ता गठबन्धनले चुनावी कमाण्डर रामचन्द्र पौडेललाई तोकेको छ । सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । बिहीवार बसेको गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ ।

    यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्नेछ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारासहित मतदातासम्म पुग्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।

    सत्ता गठबन्धनले कात्तिक ४ गते बिहान ११ बजे पोखरा, त्यही दिन दिउँसो २ बजे बुटवल, कात्तिक ५ गते दिउँसो ११ बजे विराटनगर, त्यही दिन दिउँसो २ बजे जनकपुर, कात्तिक ६ गते बिहान ११ बजे धनगढी, कात्तिक ६ गते दिउँसो २ बजे सुर्खेत र कात्तिक ७ गते बिहान काठमाडौंमा भेला गर्ने भएको छ ।

  • ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

    ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

    काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले एमाले नछाड्ने घोषणा गरेका छन् । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न पार्टीको क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिएनन् । उनीजस्तै टिकट नपाएका घनश्याम भुसालले एमाले छाडेसँगै भीम रावलप्रति समेत धेरैको चासो थियो । तर, रावलले भने एमाले नछाड्ने घोषणा गरेका छन् ।

    अछाम १ बाट तीन पटक सांसद निर्वाचित भइसकेका उनी प्रभावशाली नेता मानिन्छन् । माओवादी केन्द्र छोडेर आएका झपट बोहोरा उनको स्थानमा उम्मदेवार बनेका छन् । एमाले नछाडे पनि रावले बोहोराको पक्षमा खुल्छन वा खुल्दैनन् भन्ने निश्चित छैन । रावलले टिकट नपाएको र एमालेको टिकट वितरण पद्धतिबारे आएका प्रश्नमा म गहन अध्ययन गरिरहेको छु, उचित समय आएपछि बोल्नेछु भनेका थिए ।

    रावलले बिहीबार पत्रकार सम्मेलन आयोजना गरे। जसमा उनले अध्यक्ष ओलीमाथि कडा आलोचना गरे । पत्रकार सम्मेलनका लागि उनले पाँच हजार शब्दको वक्तव्य तयार पारेका छन् । जसको सारमा उनले भनेका छन्, ‘टिकट वितरण प्रणाली स्वेच्छाचारी र अन्यायपूर्ण छ।’ आफू पनि त्यसैको शिकार भएको उनको भनाई छ । एमालेमा विवाद हुँदा समाधानको प्रयास गर्ने १० बुँदे पक्षधरलाई प्रतिशोध साँध्नकै निम्ति अध्यक्ष केपी शर्मा ओलीले एमालेमा कुनै योगदान नभएकालाई टिकट दिएको उनको भनाई छ ।

    पार्टीभित्र विधि र पद्धतिको वकालत गर्नेहरूलाई षडयन्त्रपूर्वक नेतृत्वले पाखा लगाएको उनले आरोप लगाए । एमाले अध्यक्ष ओलीले निकटहरूसँग १० बुँदे पक्षधरले पार्टीको अनुशासन उल्लंघन गरेकाले आत्मालोचना गर्नुपर्ने बताउँदै आएका थिए। पार्टीभित्र अनुशासनका कुरा गर्ने अध्यक्ष ओलीलाई नै रावलले प्रश्न गरेका छन्, ‘होली वाइनका प्रवर्द्धक एकनाथ ढकालले समानुपातिकको टिकट पाउने, एमालेका कार्यकर्तामाथि दमन गर्ने र पार्टीले प्रतिक्रियावादी भनेको व्यक्तिलाई मकवानपुरमा चुनाव चिन्ह दिने, एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने काम कुन विधि, अनुशासन र पद्धतिभित्र पर्छ ?’

    अछाम(१ मा अन्तरघात गरेर आफूलाई हराउन नसकिने निष्कर्षमा पुगेपछि ओलीले टिकट नदिएको रावलको दाबी छ। क्षेत्र र जिल्लाबाट सर्वसम्मत सिफारिस हुँदासमेत आफूलाई टिकट नदिनुले अछाम जिल्ला कमिटीको अपमानका साथै पार्टीको हित र एकतामा आघात पुर्‍याएको रावललको जिकिर छ।

    ‘एमालेमा कुनै योगदान नगरेको र सिफारिसमै नपरेको व्यक्तिलाई अघि सार्ने अध्यक्ष केपी ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छारी, अन्यायपूर्ण र गलत छ। यस्तो निर्णयले पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको अपमान भएको छ र पार्टीको हित र एकतामा आघात पुर्‍याएको छ।’

  • कांग्रेसका बागी उम्मेदवार ५ वर्षका लागि पार्टीबाट निष्कासित

    कांग्रेसका बागी उम्मेदवार ५ वर्षका लागि पार्टीबाट निष्कासित

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निष्कासन गरेको जानकारी दिएका छन् ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । तर चितवन-३, चितवन-१ लगायत केही क्षेत्रमा कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरुले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले निष्कासन गरेको हो ।

  • आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

    आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावाली आज प्रकाशन गर्दैछ । त्यसपछि आज निर्वाचन चिह्न प्रदान समेत प्रदान गर्ने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ । स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले चिह्न दिनेछ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको छ ।

    आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समय दिउँसो १ बजेदेखि ३ बजेसम्म तोको छ । अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म राखिएको छ ।

  • नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

    नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ । उृनीमाथि उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएको छ । वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारुको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाए ।

    थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले थारुलाई मंगलबार दिउँसो ३ बजेभित्र प्रमाणसहित उम्मेदवारी बदर गर्न नपर्ने कारण पेश गर्ने समय दिएको थियो । नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो ।

    त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् । २३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

  • आज उम्मेदवारको नामावली प्रकाशन

    आज उम्मेदवारको नामावली प्रकाशन

    काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुने भएकोछ । बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ । हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।

    आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेलदेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी विरुद्धसम्म उजुरी परेका कारण आयोगको निर्णय रोचक हुनेछ । आयोगले आज प्रकाशन गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ ।

    त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५२६ र प्रदेश सभाका लागि ३ हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

  • आज उम्मेदवारको विरोधमा सूचना दर्ता गर्न सकिने

    आज उम्मेदवारको विरोधमा सूचना दर्ता गर्न सकिने

    काठमाडौं । आज उम्मेदवार विरुद्ध कुनै सूचना भए दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ। निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो।

    आयोगले असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ। उम्मेदवारले नाम फिर्ता लिने भए असोज २६ मा समय पाउनेछन्।
    असोज २६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने पनि आयोगले जनाएको छ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तय भएको छ ।

  • विद्यार्थी राजनीति देखिका सहयात्री विष्ट र झाँक्री गुल्मीमा प्रतिस्पर्धी

    विद्यार्थी राजनीति देखिका सहयात्री विष्ट र झाँक्री गुल्मीमा प्रतिस्पर्धी

    काठमाडौं । विद्यार्थी राजनीतिदेखि नै सहयात्रा गर्दै आएका दुई युवा नेता गोकर्ण विष्ट र रामकुमारी झाँक्री यस पटक भने एक अर्का विरुद्ध मैदानमा उत्रिएका छन् ।, गुल्मी २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका हुन् ।

    विष्ट र झाँक्रीले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०५६ को निर्वाचनदेखि गुल्मी २ बाट विष्ट एमालेको उम्मेदवार बन्दै आएका छन् । उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए । झाँक्री भने पहिलोपटक चुनावी मैदानमा छन् । झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् ।