Category: कला / साहित्य

  • प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

    प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

    सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित उनी प्रधानमन्त्री बनेका हुन् ।

  • १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड

    १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड

    काठमाडौं । नेपालको राजनीति पछिल्लो साढे दुई दशकयता आफ्नो इशारामा चलाउन सफल व्यक्तिमा पर्छन् पुष्प कमल दाहाल प्रचण्ड । २०५२ सालमा जनयुद्ध सुरु भएयता उनले जे जस्तो चाहेका छन्, राजनीतिले उस्तै मोड लिएको छ । नेपालमा राजतन्त्रकालिन व्यवस्था उन्मुलनदेखि गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड पुनः एक पटक शान्तीपूर्ण राजनीतिाबाट मुलुकको कार्यकारी पदमा पुग्न सफल भएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै हुनेछ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए । यसमध्ये दोस्रो कार्यकाल सफल मानिन्छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म विसं २०११ साल मङ्सिर २६ गते ढिकुरपोखरी २ कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गरेका छन् । २०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट राजनीति थालेका प्रचण्ड २०३१ सालमा मार्क्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गर्नुभयो ।

    चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक सङ्घको महासचिव बनेका प्रचण्ड २०४० सालमा अनेयुसङ्घको अध्यक्ष बने । युवक सङ्घको अध्यक्ष बनेपछि उनी पार्टी नेतृत्वमा छलाङ मार्न थाले ।

    उनी २०४१ सालमा नेकपा मसालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिट ब्युरो सदस्य बने । २०४२ मा पार्टी विभाजनपछि उनी मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर कान्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडेलगत्तै पार्टी प्रमुख अर्थात् २०४६ मा महामन्त्री बनेका प्रचण्ड अहिलेसम्म पार्टीको प्रमुख पदमा आसिन छन् । प्रचण्डकै नेतृत्वमा माओवादीले २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेको थियो ।

    २०७८ पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पनि उनी अध्यक्ष निर्वाचित भए । यसअघि २०७४ सालको चुनावपछि एमाले र माओवादीको एकता भएर गठन भएको तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये उनी एक थिए । उनी २०६४ सालमा सम्पन्न संविधान सभा चुनावमा काठमाण्डौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । उनी २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बने ।

    संविधान सभाको दोस्रो चुनाव २०७० सालमा काठमाण्डौ १० बाट पराजित भए पनि उनी सिरहा ५ बाट निर्वाचित बने । २०७३ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री बने । २०७४ सालको चुनावमा उहाँ चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा उनी गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका हुन् ।

  • क्षणभरमै रित्तियो कांग्रेस

    क्षणभरमै रित्तियो कांग्रेस

    आइतबार बिहानसम्म सत्ता राजनीतिको सबैभन्दा शक्तिशाली दल क्षणभरमै प्रतिपक्षी बनेको छ । कांग्रेस वर्तमान संसदको सबैभन्दा ठूलो दल हो । तर, गठबन्धन जोगाउन गम्भीर नबन्दा कांग्रेसले आफ्नो शक्तिमात्र गुमाएन, ५ वर्ष ढुक्कसँग चलाउन सक्ने महत्वपूर्ण पदहरु समेत गुमाएको छ । यसमा राष्ट्रपति, सभामुखदेखि प्रदेश सरकारहरु समेत पर्छन् । अब कांग्रेसले ७ वटै प्रदेशमा प्रतिपक्षमा बस्नु पर्ने भएको छ ।

    आइतबार बनेको नयाँ गठबन्धनबाट माओवादी र एमालेले भने सोच भन्दा राम्रो लाभ पाउने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी भने सबैभन्दा धेरै गुमाउनेमा पर्छन् । कांग्रेसले माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउने निश्चित थियो
    । सात वटा प्रदेशमध्ये कम्तीमा चार वटामा मुख्यमन्त्री अनि प्रदेश प्रमुखलगायतमा कांग्रेसको दाबी स्वभाविक थियो ।

    आज दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट लागेसँगै कांग्रेसको हातबाट धेरै चिज गुमेको छ । अब कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेशमा मुख्यमन्त्रीलगायतका पद पाउने सम्भावना सकिएको छ ।

  • प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ

    प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

    स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् । प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

    नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को संज्ञा दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन् ।
    उनले लेखेका छन्ः

    नयाँ सांसदहरू,

    नयाँ गफाडीहरू

    उही पुरानो देश
    उही पुराना व्यापारीहरू।

    उनले यो कुन प्रसंगलाई लक्षित गरी भनेको भन्ने चाँही खुलाएका छैनन् । मंसिर ४ मा भएको चुनावबाट निर्वाचित नयाँ सांसदले बिहीबार शपथ लिएका छन् । यस पटक स्वतन्त्र पृष्ठभूमीका सांसदहरु धेरैले जितेका छन् । अझ नयाँ अनुहारको बाहुल्य छ । मेयर बालेन शाह आफैं पनि स्वतन्त्र हुन्।

  • म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा

    म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा

    काठमाडौं । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ ।

    झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कोइरालाले बताए । रासस

  • अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली

    अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसदले सरकार दिन सक्ने अवस्था नरहेको बताएका छन् । यसले मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेको समेत उनको तर्क छ । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको बताए । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने उनको भनाई छ ।

    अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफूआफूलाई हेरे भने, देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना रहेको उनले बताए । ‘जाँदैन भन्न सकिँदैन’ उनले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?’ अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्द एमाले मुकदर्शक बनेर नबस्ने बताए ।

  • अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

    अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अध्ययनका लागि विदेशिने प्रयोजनका लागि ३८ हजारले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार मंसिंर मसान्तसम्म ३८ हजार ६१ जनाले यस्तो अनुमति लिएका हुन् । साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ।

    यस अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ। शाखाका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा करिब एक लाख १४ हजार जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए। पछिल्लो समय यस अवधिमा ५९ मुलुकका लागि ‘नो अब्जेक्सन लेटर’ लिइएको छ। सबैभन्दा बढी अस्ट्रेलियाका लागि यस्तो पत्र लिएका छन्। अस्ट्रेलिया जान १० हजार ७९९ जनाले पत्र लिएका छन्।

    जापानका लागि छ हजार ६२५ जना, क्यानडाका लागि छ हजार ५३१ जना, बेलायतका लागि पाँच हजार ३०४ जनाले यस्तो पत्र लिएका छन्। भारतका लागि एक हजार ९० जना, यूएईका लागि ९१३ जना, रुसका लागि ९७२ जना, कोरियाका लागि ७४४ जना तथा न्युजिल्यान्डका लागि ३९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका छन्।

    सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्यान्डका लागि एक–एक जनाले यस्तो पत्र लिएका छन्। अमेरिकाका लागि एक हजार ५५९ जनाले मात्र ‘नो अब्जेक्सन लेटर’ लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ घटेको देखाउँछ। कुनै बेला सबैभन्दा बढी ‘नो अब्जेक्सन लेटर’ लिने मुलुकमा अमेरिका पथ्र्यो। पछिल्लो तथ्याङ्कले विद्यार्थीको आकर्षण अस्ट्रेलियातर्फ बढेको प्रस्ट देखाएको छ। यस अवधिमा चीन, साइप्रस, डेनमार्क, फ्रान्स, जर्मनी, थाइल्यान्डमा जाने विद्यार्थीको सङ्ख्या पनि उल्लेखनीय रहेको पाइन्छ।

  • प्रतिनिधिसभा सदस्यको सपथ आज

    प्रतिनिधिसभा सदस्यको सपथ आज

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन्

    शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

    संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

  • समाजवादीको संसदीयको दलको बैठक बस्दै

    समाजवादीको संसदीयको दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
    संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुने सम्भावना छ। साथै आइतबार एकीकृत समाजवादीले सचिवालय बैठक गरेको थियो। विचार मिल्ने दलहरूसँग एकतावद्ध भएर जाने विषयमा उक्त बैठकमा छलफल भएको थियो।

  • माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

    माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

    माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति नजुटेको बताइएको छ ।

  • नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै

    नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै

    काठमाडौं । नेपाली कांग्रेस नयाँ सरकार गठनबारे छलफलमा जुट्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसको भनाई छ ।

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

  • निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

    निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छ ।
    आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

    ती टोलीले सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम भने निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ ।

  • कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान

    कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान पौडेललाई बिहीबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रदान गरे । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बिहीबार साँझ वरिष्ठ नेता पौडेलले ग्रहण गरेका हुन् । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए ।

    वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानको कदरस्वरुप सम्मान दिइएको हो । वरिष्ठ नेता पौडेलले आफू सभामुख रहदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

    जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।

  • आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै

    आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज बुझाउँदैछ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाउँदैछन् । निर्वाचनको अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । तर आयोगले अन्तिम मतपरिणाम बुधबार नै सार्वजनिक गरेको थियो ।

    आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने छ । आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन बुझाउने छ । आयोगबाट प्रतिवेदन बुझेपछि नयाँ सरकार गठनको बाटो खेल्नेछ ।

    केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्न सक्छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदले समर्थन गर्नुपर्छ ।

  • निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

    निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

    काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्ने भएको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी छ ।

    भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिने भएको छ । सङ्घीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० समानुपातिकतर्फबाट तथा सात वटा प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिकतर्फबाट सांसद चयन हुने व्यवस्था छ ।

  • सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति

    सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति

    काठमाडौं । धरहरा र यसको आसपासका संरचना बनाउने क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट गरिएको छ । सोमबार सो संरचनामा डोजर चलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आपत्ति जनाएका छन् । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने बताए । उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरे ।

    रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडी ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य बस्तु (काठको लामो पाइप) नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं २२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो ।

    सो विरोधपछि आज प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो ।

    प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारे । सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ ।

    रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्याङ्की निर्माण लगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए ।

    सो अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ ।

    ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुई सय वर्ष अघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार(पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

  • समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै

    समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै

    काठमाडौं । समानुपातिक निर्वाचन पद्दतीबाट निर्वाचित भएका सांसदको नाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको हो । ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गरिने छ । यससँगै नयाँ संसदले पूर्णता पाउने छ । निर्वाचन आयोगले का अनुसार आज समय अपुग भएमा मंगलबारसम्म सूची सार्वजनिक भइसक्ने भएको छ ।

    दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ ।

    गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए । ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।

  • लेखक बुद्धिसागरले ल्याए ‘एक्लो’

    लेखक बुद्धिसागरले ल्याए ‘एक्लो’

    काठमाडौं । लेखक बुद्धिसागरले उपन्यास कृति ‘एक्लो’ लोकार्पण गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे । लेखक बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गरे । लेखकले कथा कल्पँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनूभूति पाउने उनको भनाई छ । ‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मीठो लेनदेन हो, यो चलिरहोस्’, उनले भने ।

    कैलालीमा जन्मिएका बुद्धिसागर २०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम आयोवा का मानार्थ फेलो उनको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ। उनका ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता प्रकाशित छन्। ‘एक्लो’ उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो।

  • दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

    दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

    काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन सकिने आयोगले जनाएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।

    दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने तयारी आयोगको छ । निर्वाचन आयोगका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे–नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए–नभएको छानबिन हुनेछ ।

  • यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

    यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची तय गरेको छ । समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको एमालेले कुल ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी–जनजाति सूचीबाट देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा चयन भएका छन् ।


    खस÷आर्यबाट रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल सांसद बनेका छन् । थारुबाट आश्माकुमारी चौधरी, शान्ति चौधरी सांसद बने ।

    दलितबाट ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा सिफारिस भएका छन् । मधेशीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया सांसद बन्दा मुस्लिमबाट सराज अहमद खान सांसद बन्ने भएका छन् ।

  • माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

    माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गरेको छ । पार्टीले निर्वाचन आयोगमा सूची बुझाएको छ। पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार गरेका छन् । माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसद पाएको छ। त्यसमा उसले आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्। खस आर्यतर्फबाट माओवादी केन्द्रले हितराज पाण्डे, ज्ञानु बस्ने सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई सांसद बनाएको छ।

    थारुतर्फ रूपा सोसी चौधरी सांसद बनेकी छन्। दलिततर्फ रणेन्द्र बराली र सुशिला श्रीपाली ठकुरी चयन भएका छन्। मधेसीतर्फ भने मीना यादव र उमरावती देवी यादव सांसद बनाउने माओवादीको निर्णय छ। उमरावती नेपाल समाजवादी पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेकी हुन्। यस्तै, मुस्लिमतर्फ कल्पना मियाँलाई चयन गरिएको पार्टीले सुचि बुझाएको छ ।

  • एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

    एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

    काठमाडौं । नेकपा एमालेले गत निर्वाचनमा पार्टी हित विपरित गतिविधि गरेको भन्दै नेताहरुलाई निष्काशन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको निर्णय गरेको हो ।

    बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने निर्णय पनि भएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

  • राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

    राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंग्याएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

    आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएको बताइएको छ । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउने थियो ।

  • निर्वाचनमा धाँधली भएको भन्दै विष्णु पौडेलको जितविरुद्ध रास्वपाले गर्यो मुद्दा दायर

    निर्वाचनमा धाँधली भएको भन्दै विष्णु पौडेलको जितविरुद्ध रास्वपाले गर्यो मुद्दा दायर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।

    रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

    उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् । मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन । निर्वाचनसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।

  • नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

    नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

    काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ ।

    अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताएका छन् । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्न लाग्नु शुभ सङ्केत भएको बताए ।

    नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

    नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा चलचित्रकर्मी, आयोजक, सञ्चारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

    कोरोना महामारीका कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । महामारी सकिएपछि चलचित्र क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यस पटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा चलचित्र हेर्ने कार्यक्रम छ ।

  • गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

    गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले आगामी दिनमा अझ एकतावद्ध रहने बताएका छन् । चार दलका शीर्ष नेताले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने उल्लेख गरेका छन् ।

    ‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

    उनीहरूले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यबादसमेत दिएका छन्। निर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामनासमेत उनीहरूले दिएका हुन्। निर्वाचनका बेला कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना देखिएको चार दलका शीर्ष नेताको भनाइ छ। ती असमझदारीबारे आगामी दिनमा थप समीक्षा गरिने उनीहरूले उल्लेख गरेका छन्।

    मंसिर ४ को चुनावले गठबन्धनको आवश्यकता र सान्दर्भिकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। ‘मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरूरी छ,’ उनीहरूले भनेका छन्।

  • दिपक मनाङे समाजवादीमा प्रवेश

    दिपक मनाङे समाजवादीमा प्रवेश

    गण्डकी प्रदेश सांसद तथा प्रदेश युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका छन् । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

    ‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । गण्डकी प्रदेशसभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन् । गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । तर दुबै उम्मेदवार पराजित भएका थिए ।

  • चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक

    चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक

    काठमाडौं । निर्वाचनपछि पहिलो पटक सत्तारुढ गठबन्धनको संयुक्त समिक्षा बैठक बस्ने भएको छ । यस बैठकमा नयाँ सरकार गठनबारे समेत छलफल हुने भएको छ । चुनावी नतिजा अब अन्तिम चरणमा पुगेको छ । यससँगै दलहरु समिक्षामा जुटेका हुन् । बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जितेका छन् ।

    चुनावी नतिजाबाट सत्तारुढ र प्रतिपक्षी नेकपा एमाले नै संतुष्ट भने छैन । दलहरुबीच अन्तर्घातको समेत आरोप–प्रत्यारोप चलिरहेको सन्दर्भमा आज संयुक्त बैठक बस्न लागेको हो । नयाँ सरकार गठनमा समेत सबै दलले आफ्नो दावी छाडेका छैनन् । दलहरु रणनीतिमा जुटेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने विषयमा सहमत भएपनि पहिले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विवाद कायमै छ ।

  • सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश

    सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । उनका अनुसार सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको छ ।

    माओवादीको बैठकमा अपेक्षा अनुसार सिट नआएको विषयमा समेत छलफल भएको बताइएको छ । चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने बताइएको छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ।