Category: कला / साहित्य

  • अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

    अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ। महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ। सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो।

    एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ। अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मालगायत दाबेदार छन्। अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ। साथै अनुशासनलगायत विभिन्न आयोग पनि गठनको तयारी छ।

  • राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

    राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्‌घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

    रु. २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

    नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

    महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

  • सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

    सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

    काठमाडौं । सरकार र माइतीघरमा धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मङ्गलवार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको हो । सहमतिअनुसार बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ ।

    त्यस्तै अनुसन्धान प्रक्रिया समीक्षा गर्न धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने सहमति भएको छ । बाँकेबाट काठमाण्डौ आएर ४८ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका महिलाहरूले सहमतिपछि धर्नाका कार्यक्रम स्थगित गरिएको छ ।

  • राष्ट्रपतिले दिइन दिवाभोज

    राष्ट्रपतिले दिइन दिवाभोज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन दिवा भोजको आयोजना गरेकि छिन् ।

    राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गर्नुभएको हो । दिवा भोजमा सङ्घीय संसद्का नवनिर्वाचन सदस्यको उपस्थिति थियो ।
    सङ्घीय संसद्का सदस्यसँगै दिवाभोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ । दिवा भोज कार्यक्रममा विभिन्न कार्यक्रमसमेत गरिएको छ । 

  • राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

    राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

    भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन । फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ । त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको सम्बोधनपछि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्डले सम्बोधनको प्रति टेबल गर्नेछन् भने सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

  • किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

    किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको नाम, चुनाव चिन्ह र पार्टीको संरचना बदल्ने निष्कर्षमा पुगेको छ । बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव आएसँगै माओवादीले नयाँ बहस सुरु गरेको हो । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको भर्चुअल बैठकमा प्रस्तुत गरे ।

    सशस्त्र विद्रोहको राजनीतिक कार्यक्रमसहित २०५२ मा नेकपा एकता केन्द्रलाई नेकपा माओवादीमा परिवर्तन गरिएको थियो । ‘गाउँदेखि सहर घेर्दै जनवादी क्रान्ति पूरा गर्न’ भन्दै त्यति बेला पार्टीको सिद्धान्तमै मार्क्सवाद र लेनिवादसँगसँगै माओवाद राखिएको थियो ।

    सशस्त्र विद्रोह त्यागेर संसदीय राजनीतिको अभ्यास गर्ने क्रममा २०७५ मा एमालेसँग एकता हुँदा पनि माओवादीले पार्टीको नाम र मार्गदर्शक सिद्धान्त स्थगन गरेको थियो । तर, सर्वोच्च अदालतले ३३ फागुन २०७७ मा नेकपा एकता बदर गरेर दुवै पार्टीलाई पुरानै स्थितिमा फर्काइदियो । यसपछि १ चैत २०७७ को केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्डले पार्टी नाम र विचारधारा बदल्ने प्रस्ताव ल्याएका थिए । तर त्यसबेला प्रचण्डको प्रस्ताव अगाडि बढेन ।

    फेरि अध्यक्ष प्रचण्डले नै पार्टी बैठकमा नाम र चुनाव चिह्न परिवर्तनको प्रस्ताव ल्याएका छन् । माओवादीका कतिपय नेताहरुले भने विभिन्न पार्टीहरुसँग एकता गरी समाजवादी केन्द्र निर्माण गर्न नाम परिवर्तनको प्रस्ताव आएको बताउँछन् । एकीकृत समाजवादीसँग एकताका लागि वार्ता चलिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता नजिक पुगिएको माओवादी केन्द्रले बताएको छ ।

    माओवादी नाम, माओ विचारधारा र हसिया हथौडा चुनाव चिह्नले शहरीया जनमत आकर्षण गर्न नसकेको माओवादी नेताहरुको निष्कर्ष छ । २०६४ को संविधानसभा चुनावमा पहिलो शक्ति भएको माओवादी त्यसयता भने निरन्तर ओरालो यात्रामा छ । पहिलो संविधानसभामा ३१ प्रतिशत मत पाएको माओवादी यस पटकको प्रतिनिधिसभामा ११ प्रतिशतमा खुम्चिन पुगेको छ ।

  • बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

    बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

    ढाका । बङ्ग्लादेशको ठाकुरगाँव जिल्लामा सडक छेउमा बनाइएका १२ वटा मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भएका १४ वटा मूर्ति रातिको समयमा तोडफोड गरिएको बताइएको छ। घटना सम्बन्धमा अज्ञात आरोपितहरूविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। “फेब्रुअरी ४ तारिखको राति केही अज्ञात व्यक्तिहरूले मूर्ति तोडफोड गरेका रहेछन्। प्रहरीले यसबारे छानबिन गरिरहेको छ,” बालियाडाँगी थानाका कार्यवाहक अधिकारी खैरुल अनामले भने।

    बालियाडाँगी उपजिल्लाका कार्यकारी अधिकारी विपुल कुमारका अनुसार ६७ किलोमिटर लामो सडक किनारमा बनाइएका ससाना मन्दिरका मूर्ति तोडफोड भएको छ। उनका अनुसार मन्दिरहरू एकदम सानासाना थिए र तिनको रेखदेख गर्ने खासै व्यवस्था थिएन। “ती ठूला वा चर्चित मन्दिर होइनन्। सडकछेउमा रूख र बाँसघारीनजिक अथवा सुनसान स्थानमा बनाइएका मन्दिर हुन्,” प्रहरी अधिकारी खैरुल अनामले भने।

    विवरणमा जनाइएअनुसार ती मन्दिरहरूमा कुनै पूजाआजा हुने गरेको थिएन। धनतला क्षेत्रमा सबैभन्दा धेरै आठवटा मूर्ति तोडफोड गरिएको छ। उपजिल्ला कार्यकारी अधिकारी विपुल कुमारका अनुसार रातिको समयमा मोटरसाइकलमा आएका मानिसहरू तोडफोडमा संलग्न हुनसक्छन्। “मोटरसाइकलमा सवार व्यक्तिले फलामको छडले मूर्ति तोडफोड गर्दै हिँडेको देखिन्छ। दलबलका साथ आएर सुनियोजित रूपमा घटना भएको जस्तो छैन,” उनले थपे। विगत सय वर्षमा सो क्षेत्रमा यो प्रकृतिको पहिलो घटना भएको विपुल कुमारले बताए।घटनामा बाहिरी मानिसहरूको संलग्नता हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन्।

    आउँदा दिनमा मन्दिरहरू बेवारिसे नरहून् भन्ने हिसाबले प्रशासन अगाडि बढ्ने विपुल कुमारले बताए। धनतलाका अध्यक्ष समरकुमार चटोपाध्यायका अनुसार मूर्तिमा तोडफोड गरिएको घटनाका कारण कुनै प्रकारको अशान्ति सिर्जना भएको छैन। “यो क्षेत्रमा सनातन धर्म मान्ने मानिसहरूको सङ्ख्या उल्लेख्य छ। सोमवार पनि प्रहरीले गस्ती गरेको थियो,” उनले भने। तोडफोडमा फलानो नै संलग्न होलान् भनेर किटान गर्न सक्ने अवस्था नरहेको चटोपाध्यायले थपे। चारोल क्षेत्रका अध्यक्ष दिलिपकुमार चटर्जीका अनुसार सो क्षेत्रमा पनि एउटा मन्दिरको मूर्ति तोडफोड भएको छ। घटनालाई लिएर सो क्षेत्रका मानिसहरूमा त्यस्तो कुनै सन्त्रास नरहेको उनले बताए।

  • प्रधानमन्त्रीले आज प्रमुख सचेतकहरुसँग छलफल गर्ने

    प्रधानमन्त्रीले आज प्रमुख सचेतकहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल आयोजना गरेका छन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राखिएको छ । प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति

    रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति

    काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको पनि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको समेत बताएको छ । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।’

    साथै, महासंघले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको पनि बताएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघले कडा शब्दमा निन्दा गर्दै त्यसलाई फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न पनि महासंघ माग गरेको छ । आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सभापति लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियाले आफ्नो दोहोरो नागरिकता र राहदानीको विषय निरन्तर उठाएकोमा गाली गरेका थिए ।

  • गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

    गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिने भएको छ । तर, अहिलेसम्म यस बारे कुनै सहमति जुटिसकेको छैन । रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान छ ।

    बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।

    आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्य गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको अडानमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।

    पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपाकै भागमा परेको भन्दै ओलीले प्रचण्डलाई दबाब दिइरहेका छन् । सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर भएपछि लामिछानेको सांसद र मन्त्री पद गएको छ । सर्वोच्चको आदेशपछि नागरिकता लिएका लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने दावि गरिरहेका छन् ।

  • गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

    गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालय लगायत विषयमा छलफल हुने बताइएको छ । बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत जानकारी गराएका थिए।

    यता गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट हट्नेसम्मको कुरा गरेको रास्वपाले दुई दिनसम्म पर्खने निर्णय गरेको छ। अध्यक्ष प्रचण्डले रविको मुद्दाको अन्तिम टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन्। तर सत्ता साझेदार दल नेकपा एमालेले भने गृह मन्त्रालय रविलाई दिनुपर्ने अडानमा छ ।

  • सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

    सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए ।

    दुबै नेताले २ दिनको समय मागेकाले पर्खिनो निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

    रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो । वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।

  • शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

    शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गरेकी छिन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेकी हुन्
    । शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले सन्देशमा उल्लेख गरेकी छिन् ।

    उता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आह्वान गरेका छन् । उनले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेको बताए ।


    शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भन्दै उनले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरणसहित उच्च सम्मान तथा आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गरेका छन् ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

    काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीले जनाएको छ ।

    अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पार्टीले तयारी गरिरहेको बताइएको छ ।

  • एसईई परीक्षाको तालिका सार्वजनिक

    एसईई परीक्षाको तालिका सार्वजनिक

    काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

  • चितवन २ मा पुन: निर्वाचन हुने

    चितवन २ मा पुन: निर्वाचन हुने

    काठमाडौं । चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि निर्वाचन आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ ।

    चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको छ ।


    राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर छोटो समयमै निर्वाचन लडेका लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।

  • रविको प्रतिक्रिया: म अनागरिक बनेको छु, प्रश्न नगर्नुहोस

    रविको प्रतिक्रिया: म अनागरिक बनेको छु, प्रश्न नगर्नुहोस

    काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलापछि पहिलो प्रतिक्रिया दिएका छन् । उनले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताए । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए ।

    मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’ उनले यतिखेर आफु अनागरिक भएको भन्दै एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ भन्दै प्रतिप्रश्न गरेका छन् ।

  • रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजिनामा

    रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजिनामा

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

    शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ।

  • कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

    कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

    काठमाडौं । गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार छलफल भएको छ । उनीहरुबीच कार्यकारी पदमा पुगेपछि पहिलो पटक छलफल भएको हो । बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरी सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

    बिहीबार दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् । मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएको बताइएाको छ ।

    उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका छन् । छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका छन् ।

  • श्रीपञ्चमी र सरस्वती पूजा आज

    श्रीपञ्चमी र सरस्वती पूजा आज

    काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी धुमधामसहित मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने प्रचलन छ ।

    सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । आज बिहान १० बजेर ४७ मिनेटमा नासल चोकमा वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।

  • संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

    संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

    काठमाडौं । मन्त्रीहरुले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने गरेकोप्रति प्रधानमन्त्री पुष्प कमल दाहालले असन्तुष्टी जनाएका छन् । प्रचण्डले मन्त्रिपरिषदका सदस्यले संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कुनै मन्त्रीलाई नहुने बताएका छन् । कसैले बोले स्पष्टीकरण सोध्ने उनको भनाई छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताको अहिलेको मोडलको विपक्षमा छ । राप्रपा प्रदेशको खारेजी, राजसंस्था र धर्म सापेक्ष हिन्दु राष्ट्रको एजेण्डा बोकेको पार्टी हो ।

    प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै आफ्नो क्याबिनेटमा बसेर संघीयता र गणतन्त्रविरुद्ध बोल्न नपाइने बताए । छलफलमा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले कानुनमन्त्री ध्रुवबहादुर प्रधानले संघीयता खारेज गर्नुपर्छ भनेको भन्दै सरकारको धारणा मागेकी थिइन् । त्यसको जवाफमा प्रधानमन्त्रीको यस्तो धारणा आएको हो ।

    सरकारभन्दा बाहिर बसेर आफ्नो कुरा राख्ने अधिकार कुनै पनि राजनीतिक दल वा सांसदलाई हुने भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने या प्रचार गर्ने अधिकार नैतिक र कानूनी रुपले हुन नसक्ने बताए ।

  • नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

    नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

    काठमाडौं । सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेले प्रमुख विपक्षी दलको मान्यता र सुविधा पाउने भएको छ । संघीय संसद सचिवालयले यस्तो निर्णय गरेको हो । सचिवालयका उपसचिव रामहरि थापाले सोमबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यस्तो जानकारी गराएका छन् ।

    संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्र अनुसार प्रतिनिधिसभामा विपक्षी दलको नेता शेरबहादुर देउवाले पाएका छन् । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम उनले त्यसवापत पाउने सुविधा पाउने भएका छन् ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

    राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल उपनेतामा विराजभक्त श्रेष्ठ बनेका छन् । आइतबार बसेको संसदीय दलको बैठकले उनलाई उपनेता बनाएको हो । प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक सन्तोष परियार बनेका छन् ।

    परियार समानुपातिक र बिराजभक्त प्रत्यक्ष निर्वाचित सांसद हुन् । संसदीय दलको वैठकअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो । वैठकले संगठन विस्तार कार्यविधि पारित गरेको छ ।

  • सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

    सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सोमबार भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता भएको हो । समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।

    संसदलाई सरकारले विजनेश उपलब्ध गराउने विषयमा समेत छलफल भएको बताइएको छ । देवराज नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्र लगायत दलले समर्थन गरी बिहीबार सभामुख पदमा निर्वाचित गराएका थिए ।

  • कांग्रेस पदाधिकारी बैठक आज

    कांग्रेस पदाधिकारी बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बोलाइएको छ । सोमबार बिहान ९ः३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेसमा १३ जना पदाधिकारी छन् ।

    कोषाध्यक्ष पद रिक्त छ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनको रणनीति र पार्टीको आन्तरिक विषयमा बैठकमा छलफल हुनेछ ।

  • बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

    बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

    नयाँ दिल्ली । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न भनेको छ । मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको स्वयमः बीबीसीले जनाएको छ ।

    इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डियाः द मोदी क्वेशन’ र त्यससँग जोडिएका करिब ५० वटा ट्विट हटाउन आदेश दिइएको हो। स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले लेखेको छ कि मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत यो आदेश दिएका हुन्।

    स्रोतका अनुसार यूट्यूबलाई भनिएको छ कि, “यदि उसको सञ्जालमा यो वृत्तचित्र अपलोड गर्ने कोसिस गरियो भने त्यसलाई ब्लक गरियोस्। ट्विटरलाई लिङ्कसहितका ट्विटहरू पहिचान गरेर त्यसलाई हटाउन भनिएको छ।” विपक्षी दलहरूले भारत सरकारको यो निर्णयलाई सेन्सर सीप भनिरहेका छन्। कंग्रेसका सञ्चार विभाग प्रमुख जयराम रमेशले ट्विटमार्फत सरकारको कदम सेन्सरसीप भएको टिप्पणी गरेका छन्।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ‘इन्डिया : द मोदी क्वोइच्चन’ निष्पक्ष नरहेको र त्यो प्रोपागान्डाको रूपमा आएको बताएका छन्। दुईवटा भागमा बनेको उक्त सिरिजको पहिलो भाग मङ्गलवार यूकेमा प्रसारण गरिएको थियो। दोस्रो भाग आउँदो मङ्गलवार प्रसारण हुँदैछ। बीबीसीले आफू संसारभरका महत्त्वपूर्ण विषयहरूमा प्रकाश पार्न प्रतिबद्ध रहेको जनाएको छ। उसले भारत सरकारलाई आफ्नो भनाई राख्ने अवसर दिइए तापनि उसले त्यो अस्वीकार गरेको जनाएको छ।


    पहिलो भागमा मोदी राजनीति प्रवेशका सुरुवाती कदम देखाइएको छ जसमा उनी भारतीय जनता पार्टी (भाजपा)का विभिन्न महत्त्वपूर्ण ओहदामा अघि बढ्दै पश्चिम भारतीय राज्य गुजरातको मुख्यमन्त्रीमा नियुक्त हुँदासम्मका विकासक्रम देखाइएको छ।

    उक्त वृत्तचित्रले यसअघि सार्वजनिक नभएका प्रतिवेदनहरू प्रस्तुत गरेको समाचारमा उल्लेख छ । ब्रिटिश विदेश मन्त्रालयबाट बीबीसीले प्राप्त गरेका ती विवरणहरूमा गुजरातको धार्मिक दङ्गामा मोदीको भूमिकाहरूबारे प्रश्न उठाइएको छ। त्यसबेला गुजरातमा हिन्दु तीर्थयात्रीहरू रहेको एउटा रेलमा आगजनी भएको भोलिपल्ट उक्त दङ्गा भड्किँदा दर्जनौँको सङ्ख्यामा मानिसहरू मारिएका थिए।

    धेरैजसो मुस्लिमहरूसहित १ हजारभन्दा धेरै मानिसहरू मारिएको उक्त दङ्गालाई भारत स्वतन्त्र भएपछिको सबैभन्दा खराब हिंसात्मक घटनाका रूपमा लिने गरिन्छ। उक्त प्रतिवेदनले हिंसा भड्किने गरी दण्डहीनताको माहौल बनाउन मोदी प्रत्यक्ष रूपमा जिम्मेवार भएको दाबी गरेको छ। मोदीले हिंसामा आफ्नो जिम्मेवारीबारे लगाइएका आरोपहरू लामो समयदेखि अस्वीकार गर्दै आएका छन्। उनले उक्त दङ्गाका लागि माफी समेत मागेका छैनन्।

    सन् २०१३ मा भारतको सर्वोच्च अदालतको एक इजलासले उनीमाथि अभियोजन चलाउन पर्याप्त प्रमाणहरू नरहेको जनाएको थियो। विदेश प्रवक्ता बाग्चीले यतिखेर उक्त वृत्तचित्र बनाउनुको बीबीसी उद्देश्यबारे प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘यो खास बदनाम गराउने उद्देश्यको भाष्यलाई बढाउने गरी डिजाइन गरिएको प्रोपागान्डा सामग्री हो। यसमा पूर्वाग्रह, वस्तुनिष्ठताको अभाव र औपनिवेशिक सोचको निरन्तरता स्पष्ट रूपमा देखिन्छ।’

  • तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता

    तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतबीच छलफल भएको छ । शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै उनले यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा. रुइतलाई बहराइन सरकारले ‘इसा अवार्ड’दिने घोषणा गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए । ‘यो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो ।’

    प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको भन्दै मोतिया बिन्दुको उपचारका लागिसमेत नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।

  • उपसभामुखको निर्वाचन आज

    उपसभामुखको निर्वाचन आज

    काठमाडौं । आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

    मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

  • उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि

    उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि

    काठमाडौं । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

  • मुलुकले पाउनेछ आज नयाँ सभामुख

    मुलुकले पाउनेछ आज नयाँ सभामुख

    काठमाडौं । नेपालले आज नयाँ सभामुख पाउने भएको छ । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ ।

    यसपटक एमाले सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए । सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

    सभामुख निर्वाचित हुन बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ । सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ ।