Category: कला / साहित्य

  • सत्ता गठबन्धनको बैठक आज पनि

    सत्ता गठबन्धनको बैठक आज पनि

    काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।

    हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

  • महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

    महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

    काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बताए।दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो।

    उपकुलपति रेग्मीले दत्तको राजीनामा कार्यकारी परिषद बैठकमा पेश गर्ने बताए। ‘परिषदले राजीनामा स्वीकृत गर्ने हो। त्यो गरिहाल्छ,’ रेग्मीले भने। भिडिओ सार्वजनिक भएपछि दत्तलाई कारबाही गर्न विश्वविद्यालय सामू दबाब बढेको थियो।

  • सत्ता गठबन्धनको बैठक आज

    सत्ता गठबन्धनको बैठक आज

    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्। दलहरू सँग सहमति जुटाएर छिट्टै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्।

    सत्ता गठबन्धनमा १० दल छन्। आज यी दलका शीर्ष नेताहरू उपस्थित हुने बैठकमा मन्त्रिपरिषद बिस्तारबारे छलफल हुनेछ। कुन पार्टीले कति संख्यामा मन्त्रालय पाउने र कुन(कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धनभित्र समझदारी बनिसकेको छैन। मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद बिस्तार गर्नेबारे आज गठबन्धन बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएदेखि नै मन्त्रिपरिषद बिस्तार गर्न दलहरूसँग संयुक्त र एक्लाएक्लै भेटवार्ता पनि गरिरहेका छन् तैपनि सहमति भएको छैन।

    नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्। यी मन्त्रालयमा १० दललाई सहभागी गराउने तयारीमा प्रधानमन्त्री छन्। माओवादीले गृह मन्त्रालय आफैंसँग राखेर कांग्रेसलाई अर्थसहित मन्त्रालय दिन खोजेको छ। सत्ता गठबन्धन बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल हुनेछ। पहिले नै तयार गरिएको न्यूनतम साझा कार्यक्रमलाई परिमार्जन गर्न लागिएको हो। सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेपछि त्यही आधारमा सरकारमा जाने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउँदै आएका छन्।

  • नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

    नेपाली कांग्रेसले मन्त्री र उपनिर्वाचनका उम्मेदवार आज छान्दै

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। कांग्रेसले केन्द्रीय समिति बोलाउन तत्काल सम्भव नभएका बेला कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिँदै आएको छ।

    सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले मन्त्रीको नाम टुंगो गर्ने तयारी छ । यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो।

    यही मापदण्डका आधारमा सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ। कांग्रेसले सत्ता गठबन्धनका बैठकमा ८ मन्त्रालय दाबी गरेको छ। कांग्रेसले अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने बताइरहेको छ।

    तर माओवादीले गृह आफैँसँग राख्न चाहेको छ। कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ। चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसअघि नै उम्मेदवार तय गरेर जानु पर्ने बाध्यता दलहरुसँग छ ।

  • सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

    सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

    काठमाडौं । मन्त्रालय बाडफाँट सकाएर सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारी गठबन्धनमा रहेका दलहरूसँग प्रस्तुत गर्ने भएका छन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने जानकारी दिएका थिए ।

    गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एकजनालाई मन्त्री बनाउने प्रस्ताव तयार पारेको बताइएको छ । प्रचण्डले ६ फागुनमा कांग्रेससहित १० दलको समर्थनमा विश्वासको मत लिनुभएको थियो । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ ।

  • सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

    सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

    काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी भएको अवस्थामा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको छ ।

    सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए। खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताए । प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरेका छन् । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारी गरेको छ।

  • राष्ट्रपति पौडेल आज गोरखा जाने

    राष्ट्रपति पौडेल आज गोरखा जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन्। उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् ।

    उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ–जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ । यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा उनको प्रशंसा भएको थियो ।

  • सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

    सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    माओवादीले संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमासमेत छलफल गरेको छ। त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताले जोड दिएको सचिव पौडेलले बताए । बैठकमा सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भएको उनको भनाइ छ।

    ‘‘गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषय पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने र प्रदेशका सरकार पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भयो,’ उनले भने । बैठकमा नेताले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

  • गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

    गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए ।

    माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ । पुस २५ गते गण्डकीमा खगराज अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो ।

    सोही दिन नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री बनेका थिए । १० माघमा एमालेका रोेशनबहादुर गाहा र माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउँदै सरकारलाई पूर्णता दिइएको थियो ।

    नेपाल एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएसँगै सरकारको नेतृत्व माओवादी र कांग्रेस कसले गर्ने भन्नेमा रस्साकस्सी सुरु भएको छ । दुवैले आ–आफ्नो अडान छाडेका छैनन् । २७ सिटसहित गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि आफ्नो नेतृत्वमा सरकार बनाउन शीर्ष नेताहरुसँग छलफलमा छन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।

  • उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

    उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम गएको चैत ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको मुख्य कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।

    उपचुनाव प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर–२ को उपचुनावमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नुपर्ने छैन ।

    चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी निर्वाचन क्षेत्र रिक्त भएको छ ।

  • उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

    उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने

    काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।

    जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

    सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् । समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहे पनि अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा प्रचण्डले विश्वासको मत पाउने निश्चित जस्तै छ ।

  • देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

    देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशैभरका क्याम्पसमा हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

    हरेक २र२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटोरढिलो हुनसक्ने त्रिविले जनाएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा भने इलेक्ट्रोनिक्स भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ । स्ववियु क्याम्पसमा अध्ययनरत विद्यार्थीको साझा संस्था हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियुको हो ।

    त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले प्रेस विज्ञप्ति प्रकाशित गरी सबै विद्यार्थी, अभिभावक, पत्रकार, नेपाल सरकार र गृह प्रशासनलाई स्ववियु निर्वाच सम्पन्न नभएसम्म आवश्यक सहयोग गरिदिन अपिल गरेका छन् ।

  • सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

    सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

    काठमाडौं । प्रतिनिधि सभामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने कार्यसूची छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन(२०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको संसद बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

    शान्ति प्रक्रियासँग सम्बन्धित यी विधेयकलाई अघिल्लो संसदमै टेबल गरिएको थियो । तर त्यसमा थप छलफल आवश्यक परेको भन्दै संसदीय समितिमा फिर्ता गरिएको थियो । त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि पेस गर्ने सम्भावित कार्यसूची पनि छ ।

  • सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् ।

    आइतबार सं‌सदमा प्रस्तुत गर्ने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति बनेको उनको भनाई छ । संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुँदैछ ।

    सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले समर्थन गर्न लागेको हो।

    यसअघि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र लगायतले पनि विश्वासको मत दिएको थियो। यी दलहरू पनि सरकारमा सहभागी थिए। तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेपछि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु पर्छ ।

  • सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

    सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सर्वसाधारणलाई दुखः नदिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । उनको साथमा आज कारगेट थिएन । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन् । त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए । पैदलयात्रुलाई पनि रोकिएको थिएन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएपछि उनको आलोचना भएको थियो ।

    राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरे । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरे । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए ।

    यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

  • मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

    मुलुकले आज पाउँदैछ नयाँ उपराष्ट्रपति

    काठमाडौं । मुलुकले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाई छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी छ ।


    उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य , सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनको समेत नाम छ ।

    उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

    निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ । मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्विर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ ।

    उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

  • उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

    उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

    काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले आज ९बुधबार०देखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।

    आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।’’

    निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी चार जना उम्मेदवार छन् । प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । उपराष्ट्रपति निर्वाचनका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

  • माओवादी धारका दलको पत्रकार सम्मेलन आज

    माओवादी धारका दलको पत्रकार सम्मेलन आज

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारका पार्टीले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार दिउँसो २ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागिएको छ । ‘जनयुद्धकालीन मुद्दा’ अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगबाट समाधान खोजिनुपर्नेमा उनीहरू छन्।

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्चमा मुद्दा परेको र १५ दिनभित्र कारण देखाउन अदालतले समय दिएको अवस्थामा माओवादी धारका पार्टीहरूले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका छन्। यसअघि माओवादी धारका पार्टीहरूले २ पटक बालुवाटारमा पनि बैठक गरेका थिए।

  • राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । अब भण्डारीले शीतलनिवास छाड्नुपर्छ । उनी शीतलनिवासबाट बूढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने छिन् । उनी २९ फागुनमा निजी निवास सर्ने तयारी छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् ।

    त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् । नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९)मा हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनेछन् ।

  • उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु

    उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु

    काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बोलाइएको छ । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

    उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।


    उता, नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

  • उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता

    उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता

    काठमाडौं । उपराष्ट्रपति पदका लागि आज मनोनयन दर्ता हुने भएको छ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ। आजै मनोनयन दर्ता गर्नुपर्ने भएपछि सत्ता साझेदार दल र एमालेले उम्मेदवार तय गर्न बैठक बोलाएका छन् ।

    उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँचरपाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ ।उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

  • निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल

    निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा आफु प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भएको निर्वाचनबाट उनी राष्ट्रपति निर्वाचित भएका हुन् । बिहीबार राती एक आभार वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने उनले बताए ।

    राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहेर निर्दिष्ट कार्यसम्पादन गर्दा निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध पौडेलको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘नेपालको राष्ट्यि एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहने छन् ।’

    राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने उनले राष्ट्रपति पौडेलले बताएका छन् ।

  • को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

    को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

    काठमाडौं । करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।
    लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि देशको कार्यकारी पदमा पुग्न अधिक प्रयास गरेका थिए । तर, उनलाई भाग्यले सर्वोच्च पदमा पुर्याएको छ । पाँच दशक लामो राजनीतिक जीवनको यात्रामा उनी सभामुख र पटक पटक मन्त्री भने भएका छन् ।

    पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन्। तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाडौं आएका थिए।

    पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको बताइन्छ । संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक समेत लेखेका छन्। राजनीतिक जीवनको उत्तरार्द्धमा गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न पौडेललाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले साथ दिएका छन् । विसं २०५९ सालमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस विभाजन भयो। पार्टी विभाजन गर्ने अन्तिम तयारीसम्म पौडेल देउवाको साथमै थिए।

    तर देउवाले पार्टी घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै पौडेलले देउवालाई साथ नदिने निर्णय लिएका थिए । नेपाली कांग्रेस पुन एकीकरण भएपछि भने पौडेल कोइराला समूहसँग निकट भए र देउवासँग उनको राजनीति प्रतिस्पर्धात्मक बनेको थियो । पौडेल २०४८ सालमा पहिलो पटक मन्त्री बनेका थिए । पौडेलले पार्टीको १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेर बहादुर देउवासँगै प्रतिस्पर्धा गरे।

    पौडेल देउवाबीचको रोचक प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । दोस्रो चरणमा भएको मतदानमा देउवा निर्वाचित भए। लगत्तै कांग्रेस संसदीय दलको निर्वाचनमा पनि पौडेलले देउवासँग प्रतिस्पर्धा गरे तर पराजित भए। देउवा र पौडेल नेतृत्वको गुट कांग्रेसको १४औँ महाधिवेशनसम्मै कायम रह्यो।

    तर गत वर्ष भएको पार्टीको १४औँ महाधिवेशनमा पौडेल तटस्थ रहँदा देउवा निर्वाचित भए। पौडेलले आफ्नै पुरानो गुटका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह दुवैलाई समर्थन नगर्दा गुटभित्र उनको आलोचना समेत भयो । प्रतिनिधिसभाको सभामुख र पटक पटक मन्त्री समेत भइसकेका रामचन्द्र पौडेल शान्ति समितिको संयोजक समेत भएका थिए

    विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका पौडेल त्यसपछिका लगातार चार वटा निर्वाचनमा तनहुँबाट निर्वाचित भए। तर २०७४ को संसदीय निर्वाचनमा पौडेल पराजित भएका थिए । पौडेल २०४८ सालमा तनहुँ १ बाट निर्वाचित भएका थिए। पहिलो संसदीय निर्वाचनमा सफल भएपछि पौडेल स्थानीय विकासमन्त्री भए।

  • आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

    आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

    काठमाडौं । नेपालको नयाँ तथा तेस्रो राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गरिने भएको छ ।

    बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक हुने छ । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

    संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ । निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

    भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।

  • राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

    राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र राखिने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र राखिएको छ । मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । निर्वाचन बिहीबार हुँदैछ । राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिनेछ । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।

    संघीय संसद्का ३ सय ३४ मतदातामध्ये मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । चितवन निर्वाचन क्षेत्र २ रिक्त छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् । बिहीबार हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा मतदान केन्द्रमा ७ कर्मचारी खटिनेछन् । मतदान बिहीबार बिहान १० देखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

    संघीय र प्रदेश सांसदका लागि फरक रङको ९ सय ९० मतपत्र छापिएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ । मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । मतगणना सकिएलगत्तै मत गन्ने आयोगको तयारी छ । बिहीबार नै परिणाम आउनेछ ।

  • महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

    महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् ।


    ‘राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ ।’

    मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गरेका छन् ।

    ‘लोकतन्त्र प्राप्तिका आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण सङ्घर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण सङ्घर्षको जगमा नै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौं’, सन्देशमा भनिएको छ, ‘यो गौरवपूर्ण सङ्घर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’

    जनताको वीरतापूर्ण सङ्घर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको सन्देशमा उल्लेख छ ।

    ‘संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन’, शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ ।’

    सम्पत्ति, कानूनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको र लैङ्गिक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य स्मरण गर्नेपर्ने प्रधानमन्त्री दाहालले सन्देशमा उल्लेख छ ।

  • सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

    सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन् ।

    ‘महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।’

    अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएकी छन् ।

    ‘राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो’, सन्देशमा भनिएको छ, ‘त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।’

    अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्ने विश्वास राष्ट्रपति गरेकी छन् । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ ।

    यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

    ‘डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँचमार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ’, सन्देशमा भनिएको छ, ‘नवप्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।’

  • आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

    आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

    काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

    नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

    मन्त्रालयले संघीय सरकारका सबै निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु, नागरिक समाज लगायत सरोकारवाला सबैलाई दिवस मनाउन आह्वान गरेको छ । महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाउन मन्त्रालयले भनेको छ ।

    दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

    सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

    जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यापि कायमै छ ।