Category: कला / साहित्य

  • गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत

    गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे । मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

    सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।

  • उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

    उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।

  • नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ

    नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ

    काठमाडौं । इदमा प्रदर्शन हुने सलमान खान अभिनित ुकिसीका भाइ, किसिका जानुलाई वितरक मनोज राठीले नेपाल ल्याउँदैछन् । फिल्मलाई भारतीय रुपैयाँ एक करोडमा किनेर राठीले नेपाल प्रदर्शनमा ल्याउने भएका हुन् । ‘अब नेपालमा पनि सलमानको क्रेज धेरै छ । त्यसैले दर्शकले यो फिल्मलाई हेरिदेलान् भनेर हामीले फिल्मलाई एक करोडमा किन्ने जोखिम मोलेका छौं, राठीले भनेका छन् । हिन्दी फिल्मको वितरणमा सक्रिय राठीले नै यसअघि पुष्पालाई नेपाल प्रदर्शनमा ल्याएका थिए । फिल्म प्रदर्शनको मिति नजिकिएसँगै अभिनेता सलमानले नेपालका दर्शकलाई सम्बोधन गर्दै फिल्म हेर्न आग्रह गरेका छन् ।

    सलमानले नेपाली दर्शकलाई सम्बोधन गरेको भिडियोमा भनेका छन्, हेल्लो नेपाल । म हुँ तपाईंको भाइ, तपाईंको जान, सलमान खान । यो इदमा म लिएर आउँदैछु, फ्यामिली इन्टरटेन्टमेन्टले भरिएको मेरो फिल्म तपाईंको नजिकैको हलहरुमा यही अप्रिल २१ देखि प्रदर्शनमा आउँदैछ । धेरै माया दिनुस्, टिकट बुक गर्नुस् । इदको सबैलाई शुभकामना ।’

  • विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?

    विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?

    काठमाडौं । अध्ययनका लागि नेपालबाट एक वर्षमा सवा एक लाख युवा विदेशिएका छन् । २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको सरकारको तथ्यांक छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले एनओसी लिएका हुन् ।

    विद्यार्थीले विभिन्न ५६ वटा शैक्षिक कार्यक्रमको लागि एनओसी लिएको शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिए । वैदेशिक अध्ययन गर्नको लागि सबै भन्दा बढी अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । शाखाका अनुसार गएको वर्ष अस्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका छन् ।

    जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै संयुक्त अधिराज्य बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाको लागि ५ हजार ८२ जनाले, दक्षिण कोरियाका लागि दुई हजार २२५ जनाले एनओसी लिएका छन् ।


    विद्यार्थीले नयाँ एनओसी लिँदा पुरानो रद्द गर्नुपर्छ । यसवर्ष १७ हजार ७७५ वटा पुरानो एनओसी रद्द भएको शाखाले जनाएको छ । विदेश जाने अनुमति पत्र लिनेहरुबाट सरकारले २७ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ ।

  • जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

    जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

    काठमाडौं । आउँदो १० गते आइतबार हुने उपचुनावमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेको हो ।

    आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

    मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको–नासिएको अवस्था भए परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आउँदो १० गते बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।

  • २७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

    २७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

    काठमाडौं । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले शनिबार जिब्रो छेडेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

    सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए ।

    विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बास श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।


    नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।

    जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुन्छ । दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

    किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा सुरु भएको हो ।

    जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ ।

  • आज मन्त्रिपरिषद् बिस्तार हुँदै

    आज मन्त्रिपरिषद् बिस्तार हुँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए ।

    आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

  • ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने

    ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने

    काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा। श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।

    सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए । कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो । उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड छ्याप्ने पुरुषलाई प्रहरीले घटना भएको ६ वर्षपछि पक्राउ गरेको थियो ।

  • ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी

    ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमारको सांसद पद गएको छ । पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेसँगै उनको सांसद पद गएको हो । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

    यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रवि लामिछानेले जानकारी दिए । उनले भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’ लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उनकै भएकाले कारबाही गरेको सभापति लामिछानेले बताए ।

    यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने उनले बताए । सार्वजनिक भएको अडियो सम्वादमा सांसद श्रेष्ठले सभापति रवि लामिछानेको कोर टिमले पैसा मागेको भनेका थिए । श्रेष्ठले निरन्तर बोली फेरेको र अहिले बार्गेनिङमा उत्रिएको आरोप समेत सभापति रविले लगाए । ‘कोर टिम नै मैले बुझेको छैन, पार्टी स्थापनाको कोर टिम भनेको हो कि मेरो सचिवालय भनेको हो कि ? त्यो स्पष्ट छैन’, उनले भने ।


    श्रेष्ठले कोर टिम सार्वजनिक गरे के हुन्छ भन्ने प्रश्नमा रविले तथ्यसहित आए कारबाही गर्ने बताए । ‘उहाँले नाम लिनेवित्तिकै कारबाही गर्नुपर्छ भन्ने भएन । किनकी उहाँ एक लेभलले बार्गेनिङको तहमा आउनुभएको छ’, उनले भने, ‘म सकिएँ भने पार्टीलाई पनि छोड्दिनँ, जसलाई भनेपनि हुन्छ भन्नुभएको छ ।’

  • ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?

    ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आज बोलाएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको छ । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएकाले बैठक पछि सारिएको बताइएको छ ।

    केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ । पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरेको थियो। श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको छ।

    श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ। मेडिकल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको दाबी बयानका क्रममा श्रेष्ठले गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका छन् । श्रेष्ठसँग सोधपुछ गरेर अनुशासन समिति प्रमुख भरतमणि देवकोटाले प्रतिवेदन पार्टीमा बुझाइसकेका छन्।

    उक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाइएको छ। अनुशासन समितिले बुझाएको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरी आवश्यक छलफल र निर्णय लिने तयारीमा रास्वपा छ। २ करोड मागेको अडिओ श्रेष्ठकै रहेको पुष्टि भएमा रास्वपाले सांसद र पार्टीको साधारण सदस्यबाट उनलाई हटाउने सम्भावना छ।

  • जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध

    जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र लिन मन्त्रालयले निर्देशन दिएको हो । निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न र गुनासो पनि राख्न सक्ने मनलयले बताएको छ ।

    मन्त्रालयले शैक्षिक सत्र २०८० मा सुरु हुने विद्यार्थी भर्ना अभियानसँगै निजी लगानीका विद्यालयले लिने शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरुमा पाठ्यपुस्तकको उपलब्धता र विक्री वितरणका विषयमा जिल्ला तहमा सहजीकरण गर्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

  • नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने

    नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ ।

    यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।

  • पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

    पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

    काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेथान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने ।’

    विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न पनि विभागले परिपत्र गरेको छ । तर बच्चा मावलीमा बसेको भए मावलीकै ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ । बच्चाको जन्मदर्ता भइसकेपछि बाबु पत्ता लागेमा पुरानो जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट वा आमा वा दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न विभागले परिपत्र गरेको छ ।

    त्यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भए कानुन बमोजिमको संरक्षक वा माथवरले दिएको ठेगाना, नाम थर राखी जन्मदर्ता गरिदिन भनिएको छ । बाबुआमाको सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता बाबुको स्थायी ठेगानामा नभएको भए आमाको स्थायी ठेगानामा जन्म दर्ता हुने विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले बताएका छन् । कारागारमा बच्चा जन्मिएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन पनि भनिएको छ ।

  • प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल

    प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । शनिबार अपराह्नमा सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो। लामो समयपछि तीन जना शीर्ष नेताहरूबीच छलफल भएको हो।

    छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी र गतिशील ढंगले चलाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । अहिले प्रारम्भिक रूपमा छलफल भएको र केही दिनमै पुनः बैठक बस्ने पनि उनले बताए। ‘सदनका काम कारबाहीका सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले अगाडि बढाउने र अहिले आइराखेका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो। प्रारम्भिक छलफल भयो। छलफल सकारात्मक छ,’ उनले भने।

    बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टिआरसी)लाई समितिमा पठाउनेबारे पनि छलफल भएको उनले बताए। प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकलाई फास्ट ट्र्याकमा लैजान चाहेको बताए। तर प्रतिपक्षी दल एमालेले भने समितिमा लैजानुपर्ने अडान लिएको र बीचको बाटोबाट खोज्ने उनले बताए।

    ‘फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्ने छ। प्रतिपक्षीको कुरा चाहिँ समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोज्ने भन्ने पनि छ,’ उनले भने। यो विधेयकसँगै संवैधानिक परिषदसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउने विषयमा छलफल भएको उनले बताए।

  • आजदेखि निर्वाचन आचारसंहित लागु

    आजदेखि निर्वाचन आचारसंहित लागु

    काठमाडौं । आगामी बैशाख १० गते तोकिएको उपनिर्वाचनका लागि तीन जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।

    निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । यो यी तीन जिल्लाका लागि मात्र लागु हुने छ ।

  • न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु

    न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु

    काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नयाँ गठबन्धन बने र त्यसबाट मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको छ ।

    यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ । सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिने तयारी छ ।

  • उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने

    उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने

    काठमाडौं । उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने भएका छन् । त्यस अगाडी उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगको तालिका छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने छ ।

    आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ ।, २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको छ ।

    गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो।

  • उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता

    उपनिर्वाचन हुने क्षेत्रमा आज मनोनयन दर्ता

    काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ । २०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

    गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

  • कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति

    कांग्रेसको निर्णयप्रति गोविन्दराज जोशीको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने संकेत गरेका छन् ।
    आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय गरेको छ ।

    कांग्रेसको निर्णयमा भनिएको छ, ‘‘यही २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा आ–आफ्नो जिल्लारनिर्वाचन क्षेत्रका पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजय बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहेमा, त्यस्ता व्यक्तिको नेपाली कांग्रेसको क्रियाशील सदस्यता लगायत अन्य भूमिका र जिम्मेवारीको सम्बन्धमा पार्टीको आगामी बैठकले आवश्यक निर्णय गर्न सक्ने ।’

    तर जोशीले कांग्रेसले आफू र आफूसँग सम्बन्धित व्यक्तिहरुसँग सल्लाह नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै यसलाई नमान्ने बताएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनताहरुलाई आग्रह गर्दछु ।’

    गत ४ मंसिरमा भएको चुनावमा तनहुँ– १ मा जोशीले कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । रामचन्द्रले २५ हजार ३१३ मत ल्याएर निर्वाचित हुँदा तेस्रो स्थानमा आएका जोशीले ६ हजार ८७८ मत पाएका थिए । दोस्रो भएका एमालेका एकबहादुर रानाले १९ हजार ९२५ मत पाएका थिए ।

    १० वैशाखको चुनावमा तनहुँ– १ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ र जोशीको सहयोगको अपेक्षा गरेको छ । जोशीले आइतबार दिउँसो तनहुँमा पत्रकार सम्मेलन गरी आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्, तर कसलाई समर्थन गर्ने निर्णय गरिनसकेको बताएका छन् ।

    जोशीले कांग्रेसले आफ्नो कारबाही फकुवा भएको भ्रम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । ‘१० औं हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसको कारबाही फकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ ।’

    आफ्नो कारबाहीको विषयमा समस्या समाधानका लागि पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि कांग्रेसले बेवास्ता गरेको जोशीले बताएका छन् । ‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरणसमेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरुबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ’ उनले भनेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ साल भन्दा अगाडिको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको कारबाही भने फुकुवा गरेको छ ।

    यो निर्णय अनुसार चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालामाथिको कारबाही फुकुवा भएको छ । २०७० सालमा तत्कालिन सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ मा उम्मेदवारी दिएका विकासले त्यसपछि उम्मेदवारी दिएका थिएनन् ।

    कोइरालाले पनि आफ्नो कारबाही फुकुवा गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीको विधान अनुसार ६ वर्ष मात्र कारबाही हुनुपर्नेमा १० वर्षपछि मात्र कारबाही फुकुवा भएको उनले बताएका छन् ।

  • कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

    कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी बोलाइएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ ।

    गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो । आजको बैठकमा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको छ ।

  • एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

    एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

    काठमाडौं । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन् ।

    नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं ६ मा पराजित भएका थिए । बारा–२ को लागि भोलि बस्ने बैठकले उम्मेदवार छान्ने गुरुङले जानकारी दिए । चितवन–२, बारा–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपचुनाव हुँदैछ । उपचुनावका लागि उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले चैत २० गते सोमवारको समय तोकेको छ ।

    नेपाली कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णीम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

    कुशवाह बारा–२ मा उपचुनावमा उम्मेदवार बन्नकै लागि माओवादी केन्द्र छाडेर केही दिनअघि जनमत पार्टीमा प्रवेश गरेका हुन् । बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार बन्ने भएका छन् । बारा–२ मा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले पनि उपेन्द्र यादवलाई सघाउने बताए पनि निर्णय भने भएको छैन ।

  • भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

    भीम रावलसँग वार्ता गर्न एमालेले बनायो टोली

    काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गर्न एमालले वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।

    उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्। वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय गरेको हो । पछिल्लो समय एमाले र रावलबीच विवाद चुलिएको छ ।

  • सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

    सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय लिने भएको छ । १० वैशाखमा उपचुनाव हुँदैछ । पार्टीका सभापति रवि लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए ।

    प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको बताए । उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने उनको भनाई छ ।

  • रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

    रास्वपाबाट उप-निर्वाचन लड्ने उम्मेदवार निश्चित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए ।

    तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।

    बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचौ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।

  • एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री

    एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री

    काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । शुक्रवार बिहान आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्रीले परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।

  • मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी

    मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी

    काठमाडौं । शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ । मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार टुंगो लगाउने तयारी छ ।

    नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् । मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग सामूहिक र एक्लाएक्लै संवादमा छन् ।

    विवाद रहेका मन्त्रालयहरुका सन्दर्भमा मन्त्रीको नाम पाएपछि मन्त्रालय तोक्ने प्रधानमन्त्रीको प्रस्ताव छ । सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने समझदारी छ ।

  • आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी

    आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

    एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

  • राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार

    राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनीरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् । कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् । उनीहरुले नियुक्तपत्र समेत बुझेका छन् ।

  • आज मन्त्रिपषिद् बिस्तारको तयारी

    आज मन्त्रिपषिद् बिस्तारको तयारी

    काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसका लागि पार्टीहरुबाट मन्त्री बन्नेको नाम मागेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

    १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए । तर तीन वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

    आज बिहान फेरि सत्ता साझेदार दलहरुको बैठक बस्ने, सो बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय कसलाई दिने भनेर सुनाउने र आजै साँझ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । सत्ता साझेदार दलहरुको बुधबार बसेको संयुक्त बैठकमा मन्त्रालय बाँडफाँट लगभग टुंगिएको नेताहरुले बताएका छन् । बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

    संयुक्त बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २–२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १–१ मन्त्रालय पाउने समझदारी बनेको नेताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

  • नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?

    नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा। बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ ।

    यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो । पार्टी अध्यक्ष नेपालले सरकारमा पार्टीको संलग्नताका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आजै साँझ छलफल गर्ने जनाइएको छ । रासस