Category: कला / साहित्य

  • प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

    प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ ।

    १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दर्ता भएको छ । तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिहरूले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गरेका हुन् ।

  • मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

    मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन् । १ जेठमा समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि मङ्गलवार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले समेत विश्वासको मत दिए ।

    यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेश सभामा सबै सांसदको मत पाएका थिए । जनता समाजवादी पार्टीका सांसद यादव गएको पुस २७ गते मधेस प्रदेश सभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ–नौ, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक–एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

  • मर्ज हुन चाहने क्याम्पसलाई निवेदन दिन आह्वान

    मर्ज हुन चाहने क्याम्पसलाई निवेदन दिन आह्वान

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना निकालेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो । त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।

    मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्नुपर्नेछ । साथै समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ ।

    त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् । त्रिविबाट सम्बन्धन पाएका कतिपय आङ्गिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले सङ्कटमा परेका छन् । त्रिविका ५ सय २९ सामुदायिक क्याम्पस छन् । सबैधन्दा धेरै यी क्याम्पसमा विद्यार्थीको अभाव छ ।

  • एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

    एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

    काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । तत्काललाई यो व्यवस्था खारेज भएको एमालेका पदाधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् ।

    ७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका थिए । अध्यक्ष केपी शर्मा ओली आफैंले यो व्यवस्था तत्काललाई निलम्बन गर्ने निर्णय लिएसँगै ७० वर्षे उमेर हद हटेको हो । एमालेले २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो । यो व्यवस्था व्यवहारतः २०५९ सालको सातौं महाधिवेशनबाटै सुरु भइसकेको थियो ।

    त्यसबेला घनश्याम भूसाल, योगेश भट्टराई, अरुण नेपाल, ठाकुर गैरे, विजय पौडेल, प्रकाश ज्वाला जस्ता युवा नेताहरुले उमेर हदको व्यवस्था पार्टीमा हुनुपर्ने प्रस्ताव ल्याएका थिए । तर सातौं महाधिवेशनबाटै यो व्यवस्था कार्यान्वयन गर्दा साहना प्रधान केन्द्रीय कमिटीमा नसमेटिने देखिएपछि औपचारिक निर्णय गरेको थिएन ।

  • नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?

    नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?

    काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ ।

    उनीहरुमध्ये २ करोड ३६ लाख ७७ हजार ७४४ जनाले हिन्दु धर्म मान्ने गरेका छन् । २३ लाख ९३ हजार ५४९ जना अर्थात ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार यस्तो तथ्यांकहरु सार्वजनिक गरेको हो ।

  • नागरिकता विधेयक पास भएपछि गैरआवासीय नेपाली उत्साहित

    नागरिकता विधेयक पास भएपछि गैरआवासीय नेपाली उत्साहित

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ। सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।

    नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उहाँको भनाइ छ।

    “राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा.केसीले भने, “विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ।”

    विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उनको विश्वास छ। सङ्घले नागरिकता विधेयकालाई निष्कर्षमा पुर्‍याउन भूमिका निर्वाह गरेका प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ। राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

  • अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

    अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

    काठमाडौं । लगातार बढिरहेको गर्मीका कारण तराईमा विद्यालय बिदा दिन थालिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिएका छन् ।

    गर्मीका कारण बालबालिकालाई सम्भावित विभिन्न समस्याबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको हो । भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको छ । इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको हो । उता, बाराको जितपुर सिमरा उपमहानगरपालिकामा समेत गर्मी छल्न विद्यालयमा विदा दिइएको छ ।

  • नयाँ विधेयकपछि गैरआवासीय नेपालीले कसरी प्राप्त गर्छन् नागरिकता ?

    नयाँ विधेयकपछि गैरआवासीय नेपालीले कसरी प्राप्त गर्छन् नागरिकता ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । यो प्रावधानले अब गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । उनीहरुले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउनेछन् ।

    वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन् । यस्तो व्यवस्था बमोजिम नागरिकता लिन निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण चाहिन्छ । सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्छ ।

    विदेशी मुलुकको नागरिकता भएको प्रमाण चाहिन्छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र चाहिन्छ । विधेयक प्रमाणीकरण भएपछि नेपाली पुरुषसँग विवाह गरेर आउनेले विदेशी महिलाले तत्कालै अंगीकृत नागरिकता पाउनेछ ।

  • नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

    नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नागरिकता प्रमाणीकरण गर्न अपनाइएको शैलीलाई लामिछानेले राष्ट्रहित बिपरीतको कार्य भनेका छन् ।

    ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    अघिल्लो संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’मा राखेकी थिइन् । उक्त विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

  • आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

    आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ(आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।

    यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

    चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।

  • विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो

    विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो

    काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । आज संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शूल्क तीन प्रतिशत पु¥याइएको छ ।

    यसअघि दुई प्रतिशत रहेकोमा एक प्रतिशत बिन्दुले बढाएर तीन प्रतिशत पुर्‍याइएको हो । सरकारले शैक्षिक परामर्शदातामार्फत विदेशमा अध्ययन गर्न नो अब्जेक्सन सर्टिफिकेट लिँदा र विदेशी विश्वविद्यालयमा बैंकबाट विदेशी मुद्रा पठाउँदा सम्बन्धित शैक्षिक परामर्श संस्थाको स्थायी लेखा नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।

  • संघीय संसदको संयुक्त बैठक आज

    संघीय संसदको संयुक्त बैठक आज

    काठमाडौं । नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

    संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

  • मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

    मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

    काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते ।

    समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

    जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।


    भव्य फिनाले समारोहमा नेपाली रकस्टार अभया सुब्बाले एकल गायन प्रस्तुत गरिन् भने अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरियो । ‘आज किन’ बोलको गीत गाउँदै अभयाले गीत प्रस्तुत गरिन् । उनको गायकीमा प्रतिस्पर्धीले पनि नृत्य गरेका थिए । समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको बाक्लो उपस्थिती थियो । २४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

  • प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?

    प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ।

    शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन्। पशुपतिको जलहरीबारे माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेको थियो।

    शुक्रबार एमालेको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो। तर, अबेरसम्म पनि सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पशुपतिको जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि संसद चल्न नदिने बताएका छन् ।

    जलहरीमा अनियमितता भएको छ भने त्यसको अनुसन्धान गरेर कारबाहीमा ल्याउने सन्दर्भमा सरकारले चालेको कदमबारे पनि संसदलाई जानकारी दिनुपर्ने उनले बताए। बजेटको मुखमा एमालेले संसदमा गरेको अवरोधको भने चौतर्फी आलोचना भइरहेको छ ।

  • संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

    संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने उल्लेख छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत हुनेछ । संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने छ ।

  • राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

    राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन् ।

    मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

    गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी भए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

  • आज भोटे जात्रा, उपत्यकामा बिदा

    आज भोटे जात्रा, उपत्यकामा बिदा

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

    भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।

    डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

    मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

    आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

  • रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

    रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । निवेदनमा उठाएको विषयवस्तुको प्रकृति इजलासबाटै व्याख्या भई निरूपण संवैधानिक र कानुनी प्रश्न भएकोले दर्ता गराउन भन्ने आदेश भएको हुँदा मुद्दा दर्ता भएको बताइएको छ ।


    यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो। पुरानो नागरिकता फेरि लिएपछि उनी उपनिर्वाचनबाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएका छन्। अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गत माघमा उनले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताएका थिए। पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उनले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।

    लामिछानेले फेरि लिएको नेपाली नागरिताको वैधताबारे उनले फेरि अदालतमा प्रश्न उठाएका छन्। सर्वोच्च अदालतको प्रशासनले यसअघि पौडेलको निवेदन दरपिठ गरिदिएको थियो। मुद्दा दर्ता नगर्ने अदालतको निर्णयविरुद्ध पौडेलले पुनरावेदन दिएका थिए। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमवार उनको निवेदन दर्ता गर्ने आदेश दिएको थियो।

    लामिछानेले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको जिकिर गर्दै पौडेलले उनको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गरेका छन्। मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउन समेत पौडेलले अन्तरिम आदेशको माग गरेका छन्। रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा राहदानी दुरुपयोगको मुद्दा पनि विचाराधीन छ।

    उनले दोहोरो राहदानी प्रयोग गरेको उजुरीमा छानबिन गरेको महान्यायाधिवक्ताको कार्यालय यसअघि लामिछानेविरुद्ध मुद्दा चलाउन “आधार र प्रमाण” नपुगेको ठहर गरेपछि तीनै पौडेलले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए। सर्वोच्च अदालतले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउन आदेश दिएको छ।

    सञ्चारकर्मीका रूपमा चर्चा कमाएका रवि लामिछाने छुट्टै पार्टी खोल्दै गत वर्ष राजनीतिमा होमिएका हुन्। उनको दलले मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेको थियो। तर पौडेलले नै दायर गरेको रिट निवेदनमा अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो।

  • २ असोजमा शिक्षा दिवस मनाइने

    २ असोजमा शिक्षा दिवस मनाइने

    काठमाडौं । सरकारले २ असोजलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा माउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन् ।

    अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको उनले बताइन् । उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको समेत जानकारी दिइन् ।

  • काठमाडौंका  संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

    काठमाडौंका संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

    काठमाडौं । काठमाण्डौ महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ ।

    महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न सूचित गरिएको छ ।

    महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि भनेको छ । साथै, तोकिए अनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिएको छ । महानगरले वडाअध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि आग्रह गरेको छ ।

  • लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

    लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले कोषका उपाध्यक्षले पदीय दुरुपयोग, निर्माण कम्पनीसँगको सम्झौतामा मनपरी, टेण्डर निष्काशन रकमको अपचलन र दाताबाट प्राप्त रकमको परिचालन लगायतका विभिन्न १३ विषयमा १३ बुँदे स्पष्टीकरण बुझाउन १५ दिनको समय तोकेको हो।

    ‘महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढङ्गबाट बुद्धमूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मूर्ति बनाउन दिएको हो वा होइन भन्ने विषयमा कोषलाई १५ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो,’ मन्त्रालयद्वारा जारी टिप्पणी र आदेशमा उल्लेख गरिएको छ।

    विभिन्न प्लटहरू कोषले बदनियतपूर्ण ढङ्गले वितरण गरेको, सोक्यो जापानलगायतका सम्झौताको समय सीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरेको तर अन्य सङ्घसंस्थाको सम्झौता आफूखुसी समयावधि बढाउँदै लगेकोबारे मन्त्रालयले सम्पूर्ण विवरणको माग गरेको हो।

    मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तु नष्ट गरी बनाइएका पोखरीमा करोडौँको टेण्डर निष्काशन गरी रकमको अपचलन गरेको गुनासोमा स्पष्टीकरण मागेको हो। कोषको परिसरभित्र काम गर्ने सङ्घसंस्था, निर्माणाधीन परियोजना र परिसरभित्र मोटरबोट सञ्चालनका कानूनी आधारबारे यर्थाथ विवरण पेश गर्न भनिएको छ।


    कोषलाई पाँच वर्षदेखि विभिन्न दाताले गरेको सहयोग रकमको परिचालन र उपाध्यक्षले गरिमामय पदको दुरुपयोगबाट मासिक तलब बुझेको भन्ने विषयमा स्पष्टीकरण सोधेको छ। मन्त्रालयद्वारा जारी टिप्पणी तथा आदेशले मन्दिर जाने बाटोको पसलदेखि क्रेन (सारस चरा) फाउण्डेशनको दुरुपयोगको बारे यथार्थ पेश गर्नुपर्ने बताएको छ।

  • हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

    हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

    काठमाडौं । विश्वचर्चित हलिउड अभिनेता टम हार्डीले कृत्रिम खुट्टाको मद्दतमा सगरमाथा आरोहण गरेका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरलाई बधाई दिएका छन् । बुढामगरको सगरमाथा विजयलाई उनले अविश्वसनीय र प्रेरणादायी भएको बताएका छन् ।

    इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनले आरोहणका टिम लिडर एचएसटी एडभेन्चर्सका कृष थापालाई पनि बधाई दिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै बुढामगरले चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

    अभिनेता हार्डी भेनम, स्टार वार्स, स्पाइडरम्यान नो वे होम, द म्याट्रिक्स, द रेभिनेन्ट, म्याड म्याक्स फ्युरी रोड, इनसेप्सन, डार्क नाइट राइजेज लगायत चर्चित हलिउड फिल्मका लागि चिनिएका छन् । यसअघि उनले नेपाली आरोही निर्मल पूर्जालाई पनि ‘फोर्टिन पिक्स’ नेटफ्ल्क्सि फिल्मका लागि बधाई दिएका थिए ।

  • खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

    खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

    काठमाडौं । सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने भएका छन् । उनको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।

    धनगढीमा विहीबार भएको सम्मेलनको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहने जानकारी दिए । आध्यात्मिक सम्मेलनले सुदूरपश्चिम र खप्तडको महत्व अन्तर्राष्ट्रियस्तरमा पुग्ने विश्वास व्यक्त गरे ।

    छलफलमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन र धार्मिक क्षेत्रका अगुवाहरुले आध्यात्मिक सम्मेलनले खप्तडको परिचय अझ बृहत बनाउने विश्वास गर्दे सम्मेलन सफल बनाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएका थिए । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले चौकीदारी गर्न भारत र खाडीमुलुक गएकाहरुलाई यो सम्मेलनले आमाको काखमा र परिवारको साथमा पुगाउने अवस्था सिर्जना गर्ने बताए । उनले सुदूरपश्चिमको नाम नै खप्तड प्रदेश राख्न माग गरे ।


    खप्तडसँग जोडिएको डोटीको पूर्बीचौकी गाउँपालिकाका पूर्व अध्यक्ष दीर्घ बोगटीले पनि सम्मेलनको सफलता भनेको संस्कृतिको पहिचानसँगै रोजगारीबाट सम्बृद्धि हो भन्ने विश्वास व्यक्त गरे । ५०० जना विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता हुने सो सम्मेलनमा झण्डै तीन करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

    २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तडलाई २०४२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा रहेको खप्तडमा १२ हजार फिट अग्लो खप्तड लेक पनि छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन र ५३ वटा थुम्काहरू छन् ।

    किम्वदन्तीअनुसार महाभारतका पाण्डवपुत्र भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिकस्थल प्रसिद्ध छन् । सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री त्यहँ पुग्छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । खप्तडमा विभिन्न खालका बन्यजन्तु, फुलहरु र जडीबुटी समेत पाइन्छन् ।

  • संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

    संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

    काठमाडौं । आज बस्ने संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

    यसअघि नै आज प्रश्नोत्तर कार्यक्रमको तयारी गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८\०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।

  • अलबिदा प्रमिला !

    अलबिदा प्रमिला !

    कृष्ण सादगी, भर्जिनिया

    प्रमिला- भारी मन मटुले
    ‘भावपूर्ण श्रद्धाञ्जली’ लेख्दैछु
    आज तिम्रो अन्तिम बिदाईमा
    असह्य गहिरो पीडाबोध गर्दैछु।

    तिम्रो प्रेम-प्रतिज्ञा, प्रयास
    र प्रयोगलाई सलाम छ।
    तिम्रो निष्ठा, त्याग, साहास
    र संघर्षलाई सम्मान छ।

    जन्मेपछी मर्नु त निश्चित छ
    र, यो साश्वत सत्य नबुझ्ने को छ ?
    रहस्यमयी पर्दामा छिपेको यो मोक्ष-यात्रा
    आज किन यति निष्ठुर र निर्मम बन्न पुग्यो?

    बिगत् सम्झदैछु
    जब तिमी रामसंग प्रेमको
    अंकुरण अवस्थामा थियौ
    कति प्रष्ट! कति निडर ॥
    कति सरल! कति सहज॥
    तिम्रा ती हरेक कदमका
    हरेक सुख र दुख क्षणका
    साक्षी बनेर मैले जे अनुभुत गरें
    त्यो आज मन मुटु मथिंगल रित्याएर
    अलबिदा लेख्न सामर्थ्य जुटाउँदैछु।

    भरखरै अंकुरित पवित्र प्रेम सहित
    जब तिमी रामसंग धेरैधेरै पटक
    मलाई भेट्न आई रहन्थ्यौ,
    तिमीले चालेका ती हरेक कदममा
    म- रामको आँखामा आनन्द देख्थें
    तिमीले दिएको साथ र भरोषामा,
    म- रामको सधै हित भेट्थें
    तिम्रो बोलीको हरेक शब्दमा
    म- रामको मिठो गित सुन्थे।

    तिमी दुईको प्रेम कथा
    उम्दा उदाहरण थियो
    तिमी दुईको सम्बन्ध-गाथा
    कहिले हिमाल झै अग्लो अटल हुन्थ्यो
    कहिले हिमनदिको पानी झै
    पवित्र निर्मल जल बन्थ्यो
    जबजब तिमीहरुका बिगतका ती दिनहरु
    एक पछी अर्को गर्दै मेरो स्मृतीको ऐनाबाट
    हर-घटनालाई आज पुन: नियाँली रहेछु
    मेरा आँखामा आँशुको झरी बर्षिरहेछ।

    तिमी निडर थियौ-
    रामसंग प्रेमको सागरमा डुबिसकेकी थियौं
    प्रष्टसँग अपरिवर्तित चट्टान झै उभिन सक्थ्यौ।
    घर परिवारका लागि तिमी उज्यालो नक्षत्र थियौ
    तिमीमा अदम्य साहास कहाँबाट अउथ्यो कुन्नी
    तिमी आम नेपाली महिलाहरु भन्दा
    सोचाई, बुझाई र काम गराईमा फरक थियौ ।

    ज्वारभाटा झै बेजोडको हुटहुटी थियो तिमीमा
    तिमीले सधैं नयाँ सम्भावनाहरुको खोजी गर्यौ
    त्यसैले तिमीहरु धेरै राज्यमा बसाई सरीरह्यौ
    नयाँ ठाउँ र बिषय क्षेत्रमा निरन्तर लागिरह्यौ
    कंचनजंघा-फेदीको कन्चन बृक्ष बनेर तिमी
    सिंग्गो महादेश जत्रै देशको पुर्व पश्चिम उत्तर दक्षिण
    चारै तिर आफुहरुलाई सधैभरी एक्सप्लोर गरिरह्यौ।

    मेरो मित्र रामको तिमी सिता थियौ,
    महाभारतमा अर्जुनको सारथी कृष्ण झै
    राम, प्रमिस र मानवको जिवन-यात्रामा
    तिमी बढो बलियो र गर्विलो सारथी थियौ।

    निस्ठुरी दैवले
    राम-प्रमिस र मानवबाट यतिचाँडै
    यसरी हरेर लैजान सक्छ भन्ने
    किन्चित संकेत मात्रै हुँदो हो त
    आज हामीहरु
    तिमीलाई अल्पायुमा अन्तिम बिदाई गर्न
    किन बाध्य हुन्थ्यौ होला र?

    जन्मेपछी सबैले मर्नु पर्छ एक दिन
    ढिलो-चाँडो र अघी-पछी मात्रै हो
    तर तिमी करेन्टको झड्का झैं
    निमेश भरमै बिलुप हुन पुग्यौ
    सबैबाट अचानक बिदा लियौ।

    लाग्छ- जिवनको अर्थ राम्रो बुझेकी थियौ-
    त्यसैले सामाजिक कर्ममा पनि सक्रिय बन्यौ
    केही गरेर देखाउने हुटहुटी थियो तिमीमा
    त्यसैले तिमी जिवनभर
    कहिल्यै थाकेनौ! कहिल्यै गलेनौ।
    कहिं कतै किंचित डगमगाएनौ
    प्रमिला- तिमीले बास्तवमा
    एक सार्थक जिवन बाँचेर गयौं।

    अलबिदा प्रमिला!
    तिम्रो प्रेम-तिम्रो प्रतिज्ञा,
    र तिम्रो प्रयासलाई सलाम छ।
    तिम्रो निष्ठा, तिम्रो साहास
    र तिम्रो संघर्षलाई सम्मान छ।

    मे ८,२०२३

  • चितवनमा लामिछानेलाई उच्च अग्रता

    चितवनमा लामिछानेलाई उच्च अग्रता

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उनी ४१ हजार ५ सय ४ मतसहित अगाडि छन् । लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मतले अगाडि छन् । श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाएका छन् ।

  • आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै

    आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै

    काठमाडौं । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो।

    त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएको थियो। विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो।

    विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो।

    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ। जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।

  • प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता

    प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता

    काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् ।

    नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् । तनहुँ क्षेत्र नं १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् । आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

  • उपनिर्वाचनमा ६० प्रतिशत मतदान

    उपनिर्वाचनमा ६० प्रतिशत मतदान

    काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ ।

    ४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए । सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु हुनेछ ।

    आयोगका अनुसार बारा–२ का सबै मतपेटिका साँझ ८ बजेभित्र कलैयामा, चितवन २ का सबै मतपेटिका राति १० बजेभित्र भरतपुरमा र तनहुँ–१ का सबै मतपेटिका राति ११ बजेभित्र दमौलीमा ढुवानी भइसक्ने जानकारी दिएको छ ।

  • उप-निर्वाचनमा मतदान सुरु

    उप-निर्वाचनमा मतदान सुरु

    काठमाडौं । बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।

    चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार छन् ।
    तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।