काठमाडौं । नेकपा (एमाले) ले मंगलबारदिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो। शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्।
पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा छन्। त्यस्तै जनता समाजवादीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्य पनि वक्तामा रूपमा छन्।
बाँकी ६ प्रदेशमा भने उपाध्यक्षहरूलाई खटाइएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ। कोशी प्रदेशमा इलाममै गोष्ठी हुने एमालेले बताएको छ। नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए। इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाँदै छन्। लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ। कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाँदै छन्। नेम्वाङको अघिल्लो सोमबार राति हृदयघातका कारण निधन भएको थियो। नेम्वाङ एमाले उपाध्यक्षसमेत थिए।
काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ। नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए।
‘प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेका हौं,’ उनले भने। उनका अनुसार सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा चलचित्रहरू ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’का तर्फबाट सहभागिताका लागि आवेदन परेको थियो।
मापदण्डअनुसार विसं २०७९ असोज १५ गतेदेखि विसं २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी भएका थिए। चलचित्र विकास बोर्ड सदस्य राजु केसीको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा मञ्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना सदस्य र रीतिका भट्टराई सचिव छन्। रासस
काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो।
‘‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने’’, मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ।
विगतमा विभुषणको गरिमा घटेको भन्दै तीव्र. आलोचना भइरहेको थियो । सोहीकारण सरकारले व्यवस्थापित बनाएर मात्र तक्मा बाड्ने निर्णय गरेको हो ।
काठमाडौं । फिल्म, फेसबुक, टिकटक भिडिओ, टेलिशृंखला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने नेपाल प्रहरीले जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडिओको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले यसबारे बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा उल्लेख छ: पोसाक दुरूपयोगका साथै सांगठानिक मर्यादाविपरीतका अपशब्द र संवादलाई प्रस्तुत गरेको तथा कतिपयले प्रहरीले व्यावसायिक रूपमा गरेका कार्यलाई अपव्याख्या गर्ने एवं प्रहरी कर्मचारीका पारिवारिक सदस्यसमेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवं अराजक प्रकृतिका अभिव्यक्तिबाट प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकाले नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।
‘नेपाल प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकतानुसार उक्त भिडियोको स्कृप्टसमेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्वस्वीकृति नलिई वा स्वीकृत परियोजन तथा स्क्रिप्टअनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्ननगराउन, प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिनरनगर्न तथा यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सर्वसाधारण सबैको लागि अनुरोध छ, प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।
काठमाडौं । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा गर्ने भएको छ । सात वटै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भए अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुन लागेको हो । आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने कार्यक्रम छ।
सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने छन् । यसअघि बुटवल, सुर्खेत र पोखरामा यस्तो सभा आयोजना भइसकेको छ ।
काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।
दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ।
काठमाडौं । समाजवादी मोर्चाले मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा आयोजना गर्ने भएको छ । दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यस्तो सभा गरिने छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा छन् । बुटवलको सभाको व्यवस्थापन नेकपाले गर्दैछ ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने भएका छन् । समाजवादी मोर्चाले यसलाई सन्देश सभा भनेको छ । मोर्चाले सातै प्रदेशमा सन्देश सभा आयोजना गरेको छ । भदौ ८ गते वीरगञ्जमा सभा गरेको थियो।
मोर्चाले धनगढीमा १३ गते, सुर्खेतमा १४ गते, पोखरामा १५ गते सभाको तयारी गरेको छ। त्यस्तै हेटौडामा २३ गते र विराटनगरमा भदौ २५ गते सभा गर्ने तयारी समाजवादी मोर्चाको छ ।
काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुँदैछ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सो कार्यक्रम हुन लागेको हो । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन्
। संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ । समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्ने छन्, जुन आज संसदमा प्रस्तुत हुन्छ । संसद बैठक विहान ११ बजे बोलाइएको छ ।
काठमाडौं । एकीकृत समाजवादीले पार्टी सदस्यता लिनका लागि आवेदकले फोनबाटै आवेदन दिनसक्ने व्यवस्था गर्ने भएको छ । मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने भएको छ ।
एकीकृत समाजवादील पार्टीमा कुनै पनि कमिटीको बैठकका निर्णअनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कसले कुन दिन कुन काम गरेको हो भन्ने जानकारी तुरुन्तै केन्द्रमा आउने व्यवस्था गरिने व्यवस्था समेत गर्ने भएको छ । साथै, पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिने निर्णय समेत एकीकृत समाजवादीको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने(दिने काम हुने बताए ।
सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए ।
यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् । मंगलबार राति सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा उच्चस्तरीय समितिमार्फत् सुन तस्करीबारे छानबिन गर्ने सहमति भएकाले एमाले संसदको अवरोध हटाउन तयार देखिएको छ । यही विषय राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन् ।
उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग र सरकारी संयन्त्रलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण साउन १० गतेदेखि संसद अवरुद्ध हुँदै आएको थियो । उच्चस्तरीय समिति गठनमा सहमति भएकाले आज दिउँसो तीन बजे बस्ने संसद बैठक भने अवरोध नगर्ने एमाले नेताहरुले बताएका छन् ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तय भएकोछ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थियो । गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । २३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाउँदैछन् । श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ। यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ।
विशेष गरेर यस दिनदेखि वर्षायामको समाप्ति हुने जनविश्वास रहँदै आएको छ। नागपञ्चमीको प्रचलन कहिलेबाट भयो भन्ने सम्बन्धमा विभिन्न खालका किंवदन्तीहरू पाइन्छ। विशेषतस् वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने विश्वास रहेको छ।
महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ।
यसरी नै वर्षाकालमा विशेषगरी नाग, सर्पले धेरै दुःख दिने हुनाले तिनीहरूलाई खुशी पार्नको लागि वर्षाको समयमा विशेषतस् श्रावण शुक्लपक्षको पञ्चमीका दिन नागहरूको पूजा गर्ने प्रचलन रहेको जनविश्वास पाइन्छ। कसै–कसैले यसलाई पानीसँग जोडेका छन्।
नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ। बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग र नागपञ्चमीको महत्त्व बढेको बताइन्छ।
काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ। यस सम्बन्धमा कसै कसैले नागले यो धर्तीको बोझ बोकेकाले काँध फेर्दा पृथ्वी कम्पन हुने वा हल्लने अथवा भूकम्प जाने बताउँछन्।
यिनै विश्वासले गर्दा घरको जग हाल्दा, घर निर्माण गर्दा पहिला नागलाई पूजा गर्ने र नागको शिरलाई विशेष ख्याल गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। विष्णु भगवान, शिव र देवीदेवतासँग समेत नागको सम्बन्ध रहेको जनविश्वास छ त्यसैले नागलाई शक्ति र देवताको रूपमा लिने र पूजापाठ गर्ने गरेको पाइन्छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । अहिले जारी संसद अवरुद्ध हटाउन राष्ट्रपतिले पहल गर्ने बताइएको छ ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेका कारण आजको बैठकबारे पनि अन्यौल कायमै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक बस्न सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । एमालेले भने १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन ।
यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आइतबारदेखि संसदको अवरोध हट्ने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि शनिबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने भएको छ । रास्वपाले आयोगमा रहने पदाधिकारी र सदस्य मागेको छ । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागेको बताएको छ । पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने उसले बताएको छ।
‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ ९५० च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ रास्वपाको सूचनामा भनिएको छ।
रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुने छ। जसमा प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ। पदाधिकारीहरू कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एकजना कानुनमा स्नातक गरेको हुनुपर्ने प्रावधान राखिएको छ। त्यसैगरी पदपूर्ति गर्न केन्द्रीय अनुशासन आयोगले परिपत्र गरेको छ।
जिल्ला अनुशासन समिति ३ सदस्यीय हुने छ। जसमा एकजना प्रमुख र दुई जना सदस्य रहने व्यवस्था गरिएको छ। प्रमुखको हकमा स्नातक गरेको हुनुपर्ने र सदस्यमध्ये एकजना कानुनको क्षेत्रमा अध्ययन र अनुभव भएको महिलालाई प्राथमिकता दिनुपर्ने उसले बताएको छ। आयोगमा बस्न चाहने व्यक्तिको उच्च नैतिक चरित्र र असल सामाजिक आचरण भएको हुनुपर्ने पनि रास्वपाले बताएको छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् ।
त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । २ विषयसम्म नन ग्रेडेड भएकाहरुका लागि ग्रेडवृद्धिका लागि असोज ६ र ७ गते परीक्षा तोकिएको छ ।
काठमाडौ. । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका मन्त्री मोदीलाई फिर्ता ल्याउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
मोदीले सरकारमा राम्रो काम गर्दा गर्दै पनि यसअघि जनमत पार्टीसँग भएको सहमतिका आधारमा फिर्ता बोलाउने निर्णय गर्नुपरेको उपमहासचिव पुनको भनाइ छ । बैठकमा मन्त्री मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टीको निर्णय स्वीकार रहेको बताएका छन् । मोदी माओवादी मन्त्रीमध्ये इमानदारीसाथ काम गर्नेमध्येमा पर्छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ।
प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेको बताइएको छ । जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ। जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो।
काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ । यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो ।
यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको कारोबार गर्ने थोक ब्यापारीमार्फत हवाईमा पुगेका थिए । बहुमूल्य सम्पदाहरु ‘उत्पत्तिको मुलुक’ नेपाल फर्काउन नेपाल सरकारले सन् २०११ मा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरेको थियो ।
सबै प्रकृया पूरा गरेर ११ मे २०२३ का दिन अमेरिकास्थित नेपाली राजदूतावासमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी अमेरिकी सरकारको तर्फबाट नेपाल सरकारलाई दूतावास मार्फत हस्तान्तरण गरिएको थियो ।
तर सामानको तौलका कारण नेपाल पठाउन सहज नभएकोले अमेरिकाको सान डियगोका लागि अवैतनिक महाबाणिज्यदूत ऋषि पुन्नाखर ढकालको सकृयता र पहलमा कतार एयरवेजले निशुल्क ती सामानहरु नेपालसम्म ढुवानी गर्न सहमत भएपछि नेपाली दूतावास अमेरिकाको समन्वयमा ती सामानहरु नेपाल फर्काइएको हो ।
अवैतनिक महाबाणीज्यदूत ढकालले यसअघि आफ्नै पहलमा ८ औं शताब्दीका बुङमतिको मछिन्द्रबहालमा रहेको बुध्दको ढुङ्गाको मूर्ति र १०औं शताब्दट्ठको नृत्यदेबीको काठको मूर्ती नेपाल फर्काईएको थियो । यी सामाग्रीहरु शनिबार नेपाल आइपुग्ने अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
काठमाडौं । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गरेको उनको सचिवालयले जनाएको छ ।
सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आग्रह गरेका छन् ।
साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका छन् ।
आइतबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरूले दिएका थिए ।
आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति जुम तथा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा आयोजित प्रत्यक्ष समारोहका साथ विमोचन सम्पन्न भएको छ । सो कार्यक्रममा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संस्थापक एवं नेपाली काँग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गर्नुभएको हो । कृतिको विमोचन गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई वाल्मीकि क्याम्पसको प्राङ्गणतिर चिनेको र सँगसँगै साहित्य यात्रामा अगाडि बढेको स्मरण गर्दै सिग्देलले नेपाल देश बाहिर छरिएर रहेका अन्तर्राष्ट्रिय नेपाली मनहरूलाई जोड्न सफल बताउनुभयो । ‘हामी नेपालमा घरमा हुँदा राष्ट्रिय झण्डा भन्दा पनि भिन्नभिन्न दलको झण्डा राख्छौँ । विचारमा, भुगोलमा वर्गमा विभाजित हुँदा रहेछौँ तर, विदेशमा जाँदा सबैको घरमा राष्ट्रिय झण्डा हुने रहेछ । परिचय गर्दा नेपाली भनेर परिचय गर्दा रहेछौँ। त्यसैले हाम्रो राष्ट्रिय परिचय बाहिर हुने रहेछ,’ उहाँको भनाइ थियो । समालोचनात्मक टिप्पणी गर्दा शर्माले कृतिभित्रका कविताका भावयुक्त पङ्क्ति पनि वाचन गरेर सुनाउनुभएको थियो ।
साहित्यकार एवं महामन्त्री शर्माले नेपालबाट बाहिर गएका नेपालीलाई त नेपालको माटोको, धर्मको, संस्कारको, सँस्कृतिको माया हुन्छ । नेपालको संविधानले पनि तेस्रो पुस्तासम्मलाई नागरिकताको व्यवस्था गर्छ तर नेपालीका विदेशमा जन्मेका छोराछोरी हजुरबा हजुरआमा हुँदा तिनीहरूका नातिनातिनीलाई पनि नेपालसँग जोड्न कसरी सकिन्छ ? यतातिर ध्यान दिनुपर्ने बताउनुभयो ।
‘विचारपुञ्ज’ कृतिमाथि टिप्पणी गर्दै नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. नवराज कट्टेलले ‘विचारपुञ्ज’ आत्मप्रकाशनको अनुभूति भएको बताउनु भयो । डा. कट्टेलले प्रतिभा सम्पन्न विनयशील र आज्ञाकारी व्यक्तित्व रहेका सिग्देलले आफू जस्तै अन्तर्राष्ट्रिय मनलाई जोडिरहेकोमा धन्यवादसमेत दिनुभयो । भूगोल मात्र राष्ट्रियता होइन रहेछ, राष्ट्रियता त नेपाली मन, नेपाली भावना, नेपाली विचार पनि रहेछ भन्ने लेखक सिग्देलबाट प्रमाणित हुँदै गएको उहाँको भनाइ थियो । प्रा.डा. कट्टेलले साहित्य खण्ड, संस्कृति खण्ड, बौद्ध धर्म-दर्शन खण्ड, संस्कृत खण्डमा संकलित विचारपुञ्जका लेखरचना र साहित्यले कृतिको उचाइ बढेको चर्चा गर्नुभयो । उहाँले राजनैतिक र सामाजिक सन्दर्भलाई बुझ्न अन्तर्वार्ताले पनि कृतिमा भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले ‘विचारपुञ्ज’ विचारप्रधान भइकन राम्रो, राम्रो भइकन मिठो, मिठो भइकन सरल, सरल भइकन बोधगम्य रहेको बताउनुभयो । कृतिमा संस्कृत भाषाको लघुनाटक रहेको प्रसङ्ग उल्लेख गर्दै सो नाटक मञ्चनीय समेत रहेको भनाइ राख्नुभयो । उहाँले कोरोना महामारीबाट मुक्ति पाउन आध्यात्मिक सूत्रलाई अनुसरण गर्नुपर्ने भाव भएको संस्कृत भाषाको सरल एकाङ्की रहेको जानकारी दिनुभयो । कृतिमा संस्कृत भाषामा कविता रचिएका छन् ।कविताका माध्यमबाट नेपाली माटो, नेपाली हिमाल, तराई, मधेस पहाड, नेपाली प्रकृतिलाई समेटिएको छ । प्रा.डा. कट्टेलका अनुसार नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी नै हो-विचारपुञ्ज । सोही अवसरमा कट्टेलले सर्जकको कलम कहिल्यै नरोकियोस्, कलम कहिल्यै नझुकोस् वर्षैपिच्छे यस्ता कृति पाइराखौँ भनेर शुभकामनासमेत दिनुभयो।
‘विचारपुञ्ज’ कृति आएकोमा सर्जक पीपलमणि सिग्देललाई धेरै श्रष्टाहरूले शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना दिने क्रममा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले सर्जकसँग वाल्मीकि क्याम्पसको स्ववियुमा रहँदाको किशोरावस्थाको स्मरण गर्दै अङ्ग्रेजी, नेपाली र संस्कृतको ज्ञान हासिल गरेकोमा बधाई दिनुभयो । उहाँले यदुनाथ खनालको समेत स्मरण गर्दै संस्कृत र अङ्ग्रेजी भाषामा अझै गहिराइमा पुग्न पनि सिग्देललाई शुभकामना दिनुभयो ।
परशुराम भण्डारीले जसरी विचारपुञ्जले सबै क्षेत्रलाई समेटेर साझा बनेको छ, त्यसरी नै पीपलमणि सिग्देल पनि सबैको साझा व्यक्तित्व भएको बताउनुभयो । विचारपुञ्जको सर्जक पिपलमणि सिग्देल भए पनि एनआरएनको साझा कृति बनोस् भनी भण्डारीले शुभकामना दिनुभएको थियो । सीता अर्यालले आफ्नो विद्वत्ता प्रस्तुत गरिएको गहन कृति ल्याएकोमा सिग्देललाई शुभकामना दिनुभयो । त्यस्तै कोमल भट्टले पीपलमणि सिग्देल र उनको कृति ‘विचारपुञ्ज’ कृतिका लागि उपजाति छन्दको मिठो कविता सुनाएर शुभकामना दिनुभयो । पत्रकार गुणराज लुइँटेलले सर्जक सिग्देल पूर्वीय र पाश्चात्य साहित्यलाई बुझ्न सक्ने क्षमता भएका व्यक्तित्व भएको बताउनुभयो । जीवनका विभिन्न पक्षलाई समेट्न सक्ने क्षमता भएका व्यक्तित्व सिग्देल अरूका विचारलाई पहिला सुनेर अनि मात्र आफ्ना विचार राख्ने सुसंस्कृत व्यक्तित्वका धनी सर्जकका रूपमा आफूले बुझेको लुईँटेलको भनाइ थियो ।
साहित्यकार राजेन्द्र अर्यालले बृहद् ज्ञानराशीले युक्त व्यक्तित्व पीपलमणि सिग्देलमा एटलान्टिक महासागरमा पानी जसरी ढलपल ढलपल गरी छचल्किएको छ, त्यसैगरी सिग्देलमा साहित्य, दर्शन र विचार छचल्किरहेको बताउनुभयो । त्यसैगरी साहित्यकार एवं फ्रेन्च भाषाका ज्ञाता हरिहर अर्यालले अमेरिकामा बसेर पनि संस्कृत भाषामा साहित्य सिर्जना गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । त्यस्तै कवि प्रकाश पाण्डेले सिग्देलको कृतिबाट रचना वाचन गर्नुभएको थियो । सो समारोहमा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संयोजक एवं गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी, डा. नीरजमान श्रेष्ठ, योगराज सापकोटा, नरेन्द्र सुवेदी, डा. छत्रपति दाहाल, अग्नि पराजुली, गौतम दाहाल, सुदर्शन सिग्देल लगायतका वक्ताहरूले पीपलमणि सिग्देलको व्यक्तित्व एवं कृतित्वका बारेमा चर्चा गर्नुभएको थियो ।
विचारपुञ्जका सर्जक आचार्य पीपलमणि सिग्देलले स्वागत मन्तव्य गरी सुरु भएको कार्यक्रममा सर्जक कृष्ण गिरीले कार्यक्रम संचालनकै क्रममा रचनासमेत सुनाउनुभएको थियो । जुम तथा विभिन्न पेजमामा लाइभ गरिएको कार्यक्रम सुरु गर्दा विलटन हिन्दु मन्दिर, क्यानेटिकट, अमेरिकाका संस्थापक एवं कार्यक्रमका सभापति स्वामी श्री १०८ बालगोपाल ब्रह्मचारीले दीप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नुभयो भने आचार्य चुडामणि पाठकले शान्ति पाठ गर्नुभएको थियो । सो समारोहमा माननीय सांसद प्रतिमा गौतम, प्रा. डा. धनेश्वर नेपाल, प्रा. डा. शान्तिकृष्ण अधिकारी, डा. बद्री पोख्रेल, वंशलाल तामांग, कृष्ण रिजाल, भरत खड्का, नेत्र बन्धु पोख्रेल, अर्जुन मैनाली, परमानन्द खनाल, रीता रिजाल, रेवतीराज अधिकारी, मेनका पराजुली, विनोद रोका, प्रकाश नेपाल, शिव लामिछाने, दुर्गेश जंग कार्की, रविन संग्रौला, बलराम दाहाल, सरिता होमागाईँ पाण्डे, राजन गौली, ज्ञानल थापा, उर्मिला निर्दोषी, गीता बजगाई, विमला निरौला, गोपाल घिमिरे, ध्रुव दाहाल, दिलाराम, मुरारी गुरागाईं, शरद ढकाल, टेकनाथ दाहाल, नारायण सापकोटा, इन्द्र लम्साल, प्रतिमा खनाल सिग्देल लगायतका साहित्यानुरागी एवं सर्जकहरूको उपस्थिति थियो ।
विभिन्न देशमा रहेका करिब ५५/६० जना नेपालीको सहभागितामा भएको जुम सभा सभामा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा प्रत्यक्ष कार्यक्रममा पनि जोडिएको थियो ! निरन्तर शनिबारको आयोजनामा भएको कार्यक्रममा विमोचनपछि संस्थापक संयोजक मनोजमणि आचार्य, वाल्मीकि विद्यापीठका प्राचार्य भागवत ढकाल, अतिथि वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल, संयोजक डिल्लीराम सुवेदी, प्रमुख अतिथि एवं संरक्षक विश्व प्रकाश शर्मा, सोझो गाउँले लगायतका वक्ताले विचार राख्नुभएको थियो । सो समारोहमा पूर्णिमा प्रतिविम्ब, रत्न बिरही घिमिरे, कृष्ण रिजाल, गणेश सिग्देल, अर्जुन बाबु दाहाल, सुशान्त आचार्य, उमानाथ खनाल, भावना अधिकारी लगायतका सयौंको सहभागितामा १५ जना सर्जकले रचना सुनाउनुभएको थियो ।
२४५ पेजको कृतिभित्र समय-समयमा कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपालब्रिटेन डटकम, विश्व सन्देश साप्ताहिक, हलिउडखबर डटकम लगायतका मिडियामा प्रकाशित सामग्री तथा थप रचना समेटिएका छन् !
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) थिए । उनको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।
मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर ड.। श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो ।
पार्टी महामन्त्री मुकुल ढकालका अनुसार प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ । स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री ढकालले बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
सैनामैना नगर र्यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। रूपन्देही २ निर्वाचन क्षेत्रीय कमिटी सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको बताए पनि उक्त घटनामा खत्री नै दोषी देखिएको भन्दै रास्वपाले कारबाहीस्वरूप तीन महिना निलम्बन गर्ने निर्णय गरेको हो।
बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निलम्बन भने फुकुवा गरिएको महामन्त्रीसमेत रहेका ढकालले बताएका छन्। उनीमाथि बझाङकै एक पत्रकारलाई कुटपिट गरेको आरोप लागेको थियो। त्यसमा उनको दोष नदेखिएको ढकालले बताए।
बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। त्यस्तै पार्टीका विभागको सदस्य र पदाधिकारी बन्न आवश्यक मापदण्डसमेत तोकेको छ। बैठकले नीति तथा विचार प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्थलगत अध्ययन गर्न गाउँ पठाउने र उनीहरूको भ्रमण खर्चसमेत स्वीकृत गरिएको प्रवक्ता ढकालले जानकारी दिए।
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शनिवारबाट अवकाश पाउँदै छन्।
संसद्को संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि मात्रै उनले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नेछन्। सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचका मतभेदले संसद्मा गतिरोध निम्त्याइरहेका बेला संवैधानिक परिषद्मा त्यसको प्रभाव कस्तो देखिएला भन्ने चासो अन्तिम समयसम्म कायमै थियो।
अझ मङ्गलवार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की सबैभन्दा पुछारको आसनमा बसेको देखिएपछि मर्यादाक्रम मिचिएको भन्दै उक्त घटनालाई न्यायपालिका भित्रैबाट अस्वाभाविक रूपमा लिइएको थियो। कार्कीले आफ्ना पूर्ववर्तीमाथि संसद्मा दर्ता गराइएको महाभियोग प्रस्तावका कारण गएको वर्ष असोजमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाए पनि बल्ल वैशाखको अन्तिममा आएर मात्रै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस हुन पाएका थिए। तर बिहीवार साँझ सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक सामान्य ढङ्गले नै चल्यो।
बिहीवारको बैठकमा भने मर्यादाक्रम अनुसार नै बसाइ मिलाइएको थियो। सन् १९५९ अक्टोबरमा सिलगडी डोटीमा जन्मिएका श्रेष्ठ सन् १९८२ मा शाखा अधिकृतको अस्थायी नियुक्तिसहित कानुन तथा न्याय मन्त्रालयमा आबद्ध भएका थिए। मूल घर कैलाली रहेका उनीसँग जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतहरूमा काम गरेको लामो अनुभव छ।
सन् १९८८ मा दार्चुला जिल्ला अदालतमा न्यायाधीश रहेका उनी सन् २००६ बाट तात्कालिक पुनरावेदन अदालतमा आबद्ध भएका थिए। उनी पुनरावेदन अदालतको मूख्य न्यायाधीश पनि बने। पछि सन् २०१६ मा उनले सर्वोच्च अदालतमा प्रवेश पाए।
उनले उमेर हदका कारण १४ महिनाजति प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न पाउने छन्। हालैका वर्षहरूमा न्यायपालिकाको नेतृत्वमाथि नै प्रश्न उठ्ने र विगतमा कहिल्यै नदेखिएका विवादहरू सतहमा आएको पृष्ठभूमिमा न्यायपालिकाप्रति जनआस्था बढाउनु उनको मुख्य चुनौती हुने कतिपय विज्ञहरूले बताउने गरेका छन्।
काठमाडौं । स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको बताइएको छ ।
रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको छ । पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ३९ सदस्यीय छ। विधानमा १ सय २१ सदस्यीय केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेको छ। रास्वपाले सांसदहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गर्ने तयारी गरेको छ।
प्रतिनिधि सभामा रहेका ६ जना सांसद मात्रै केन्द्रीय समितिमा छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, तनहुँ १ बाट निर्वाचित डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, शिशिर खनाल, मनिष झालगायत सांसद केन्द्रीय समितिमा छैनन्।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए ।
बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ । बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल भइरहेको छ । केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदसदस्यहरू, आयोगका पदाधिकारी, प्रदेश पदाधिकारी सहभागी भएको बैठकमा पहिलो दिन बुधबार अध्यक्ष प्रचण्डले मौखिम प्रतिवेदन पेस गरेका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्नेछ। अध्यक्ष प्रचण्डले ती दुई प्रतिवेदनलाई एउटै प्रतिवेदनका रूपमा पेस गर्ने महासचिव गुरूङले जानकारी दिए।
स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ। त्यसपछि समय रहेसम्म आजैदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने उनले बताए। यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ। यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएपछि त्यसबारेमा पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ।
माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा पार्टीको लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका सदस्यहरू पनि उपस्थित हुनेछन्। पाँचदिन सम्म चल्ने बैठकमा ७ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ।