Category: कला / साहित्य

  • माघ २२ का दिन किन हुँदैछन् देशभरका चलचित्र भवन बन्द ?

    माघ २२ का दिन किन हुँदैछन् देशभरका चलचित्र भवन बन्द ?

    काठमाडौं । २२ माघका दिन देशभरका फिल्म हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।


    संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।’

    चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ । कोरोना महामारीको कारण चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने समेत उल्लेख गरेको छ ।

  • शहीद दिवस आज, शहीदको सम्झनामा विविध कार्यक्रम हुँदै

    शहीद दिवस आज, शहीदको सम्झनामा विविध कार्यक्रम हुँदै

    काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ ।

    आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।

    सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको छ । वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

    यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

    शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।

  • आजबाट कार्यालय समय ५ बजेसम्म

    आजबाट कार्यालय समय ५ बजेसम्म

    काठमाडौं । आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिएको छ । आजबाट बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ ।

    जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार अब ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

  • समुदायमा कांग्रेस अभियान आजबाट

    समुदायमा कांग्रेस अभियान आजबाट

    काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् ।

    अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।

  • फिल्म खेल्दै केपी ओली, के हो भूमिका ?

    फिल्म खेल्दै केपी ओली, के हो भूमिका ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म खेल्ने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म नमेटिने घाउमा अभिनय गर्न लागेका हुन्। काठमाडौंमा आइतबार फिल्मको औपचारिक घोषणा गरिएको हो। सो कार्यक्रममा ओलीसमेत उपस्थित रहेका थिए। फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्। फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ।

    ‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ( नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो, कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन। उनका साथीभाइ र परिवारलाई पनि बारम्बार पीडा दिइरहेको हुन्छ। नमेटिने घाउले केही हदसम्म यसलाई अन्त्य गर्छ भन्ने मलाई लागेको छ।’

    एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनमा यो फिल्म आधारित रहनेछ। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहनेछ। एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन्। उनले पनि यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन्।

  • राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल

    राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल

    काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १–१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको छ ।

    यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बनेको हो ।

    हाल सबैभन्दा ठूलो दल रहेको भएता पनि अब राष्ट्रिय सभामा एमाले तेस्रो दल बन्नेछ । पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये ९ जना एमालेका परेका छन । जसमा निर्वाचित ८ जना हुन भने एक जना राष्ट्रपतिले मनोनीत गरेका सांसद छन् । निर्वाचित र मनोनित समेत गरी ९ सांसद घट्दा एमालेका एक सांसद मात्रै नयाँ अनुहार आए । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहनेछ ।

    हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन । जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

    राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् । निर्वाचित र मनोनित समेत गरी ९ सांसद घट्दा एमालेका एक सांसद मात्रै आए । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दल रहनेछ ।
    लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको चुनावमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भए । मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए ।

    बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।

    लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भए । कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भए । नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए । सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।

  • स्वस्थानी व्रत प्रारम्भ

    स्वस्थानी व्रत प्रारम्भ

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।

    स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

    माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ ।

    स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् । यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

  • आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने

    आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६र६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

    प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

    कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो । ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

  • राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु

    राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि लागु भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै गत रातीदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको छ । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन् । राष्ट्रिय सभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

  • एसईई परीक्षा १५ चैतबाट

    एसईई परीक्षा १५ चैतबाट

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) १५ चैतबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेको हो । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।


    १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

  • थेसिस बुझाउन त्रिविले दियो मौका

    थेसिस बुझाउन त्रिविले दियो मौका

    काठमाडौं । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले २०५८ सालपछि भर्ना भई थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको छ ।

    गत २५ पुसमा बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गतका २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भई सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको जनाएको छ ।

    वार्षिक प्रणाली अन्र्तगत २०५८ मा भर्ना भई भएका र सो पछि भर्ना भई समय सिमा काटेकाहरु तथा समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भनाई भई समय सिमा काटेकालाई असार मसान्त २०८१ भित्र सम्बन्धित क्याम्पस/विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय गरेको छ ।

    साथै एमफिल तहका परीक्षार्थीहरुको हकमा २०६८ सालमा भर्ना भई समय सिमा काटेकालाई पनि एक पटकको लागि मौका दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

  • रास्वपाको केन्द्रिय समिती बैठक बस्दै, के छन् एजेन्डा ?

    रास्वपाको केन्द्रिय समिती बैठक बस्दै, के छन् एजेन्डा ?


    काठमाडौं । राश्वपाको केन्द्रीय समिति बैठक आज बस्दै छ । महामन्त्री मुकुल ढकालका अनुसार बैठक दिउँसो ३ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा विभागहरुको रिपोर्ट कार्ड प्रस्तुत हुने उनले जानकारी दिए ।

    समसामयिक विषय र संगठनको अपडेट, आर्थिक तथा प्रशासनिक नियमावलीमा समेत छलफल हुने भएको छ । विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट र विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्ताव तयारी, अन्य काम तथा महाधिवेशनमा सहयोग गर्ने जिम्मेवारी दिने निर्णय समेत आज गरिने बताइएको छ । पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदन, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैङ्क, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययनमा समेत आज छलफल हुने भएको छ ।

  • राष्ट्रिय सभा निर्वाचनमा आजबाट आचारसंहिता लागू

    राष्ट्रिय सभा निर्वाचनमा आजबाट आचारसंहिता लागू

    काठमाडौं । आगामी ११ माघमा हुने  राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुने भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।

    मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन 

    सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

    आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

    मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको तीन सय मिटर वरपरबाट प्रचार सामग्री हटाउनुपर्ने छ ।

    निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

    कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

  • आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

    आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

    काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइँदैछ । यस अवसरमा मुलुकभर विभिन्न कार्यक्रम आयोजना हुनेछन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

    तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।

    विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।

    पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरुले शुभकामना सन्देश दिएका छन् । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

    राष्ट्रनिर्माताले त्यसबेला दिएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ संघसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

  • रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

    रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता शूल्क स्वेच्छिक बनाएको छ । पार्टीमा अब स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो प्रबन्ध गरेको हो। रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेको थियो । अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न सकिने प्रबन्ध गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

    ‘पार्टीको विभिन्न तहका समिति, पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त प्रतिक्रिया, सुझावहरुलाई छलफल गर्दा, पार्टी सदस्यता शुल्क एक हजार रहेकोमा सदस्यता शुल्क बढी दिन इच्छुकले बढाएर दिन सक्ने र असमर्थ हुनेका हकमा घटाएर दिन सक्ने गरी गर्नुपर्ने भन्ने सुझावलाई मनन गरी सदस्यता त्यसमा थपेर वा घटाएर स्वेच्छिक सदस्यता शुल्क तिरेर पनि सदस्यता लिन सक्ने व्यवस्था गरियोे,’ महामन्त्री ढकालले भने।

    त्यस्तै पार्टीको विभिन्न तहगत निकायका पदाधिकारी तथा सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने वार्षिक लेबी शुल्कलाई परिमार्जन गरिएको उनले बताए। यस्तै सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन कार्यदल र ऊर्जा नीति कार्यदलको म्याद तीन महिना थप गर्ने निर्णय गरिएको उनले बताए।


    पार्टी केन्द्रीय निर्वाचन आयोगमा तीन जना सदस्य पनि थप गरिएको महामन्त्री ढकालले जानकारी दिए। भूमिनन्द बराल आयोगको सचिव छन्। त्यस्तै, अतिन्द्र दाहाल, राम गुरुङ, सुमित्रा पण्डित क्षेत्री सदस्य थपिएको प्रवक्ता ढकालले बताएका छन्।

  • राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

    राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध उजुरी हाल्न सकिने दिन तोकिएको छ । सोमबार मनोनयन दर्ता गरिएको थियो ।
    निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका ताकिएको हो ।


    राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

    उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक\एक मतदान स्थल र दुई\दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।

  • राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

    राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

    काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । निर्वाचन भने ११ माघमा हुने छ । सात प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता हुने छ । राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।

    प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने निर्वाचन आयोगले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

    माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।

  • राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट

    राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट

    काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र संस्थापनइतर (शेखर–गगन पक्ष)का ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको भन्दै महामन्त्री थापाले असहमति जनाएका छन् ।

    सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको भन्दै थापाले यस्ता आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने पनि उल्लेख गरेका छन् । असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने थापाले स्पष्ट पारेका छन् ।

    उनले राखेको फरक मत यस्तो छ
    १. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो । संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

    २. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

    अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

    गगनकुमार थापा
    महामन्त्री
    २०८० पौष २२

  • राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?

    राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

    कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् । मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन् । वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुन् भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन् ।

    गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् । गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुन् भने पदम बहादुर परियार तनहुँका हुन् । परियार अपाङ्ग पनि हुन्। उनीहरू दुवै जना संस्थापन इतर पक्षका हुन् । लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् ।

    गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् । कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् । सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् । भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन् ।

  • त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

    त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियक्ति गर्न आह्वान भएको विज्ञापन रद्द गरिएको छ । उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड विवादित भएपछि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विज्ञापन रद्द गरेको जनाएको छ । समितिले २० पुसमा उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट दरखास्त माग्दै विज्ञापन खुलाएको थियो।

    खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो। सो मापदण्ड विवादित बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञापन रद्द गर्न निर्देशन दिएका थिए। समितिले आज अर्को सूचना निकालेर विज्ञापन रद्द गरिएको जनाएको छ। रद्द भएपछि उपकुलपति नियुक्तिका लागि समितिले अर्को विज्ञापन जारी गर्नेछ।

  • राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

    राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आगामी माघ ११ गतेमा हुँदैछ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक गरिएको थियो ।


    प्रकाशित नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो । ती सबै प्रक्रिया सकेर आज अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

    २०७२ को संविधान जारीपछि पहिलोपल्ट ०७४ माघमा राष्ट्रिय सभा गठन भएको थियो । संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यकबाट प्रतिनिधित्व हुनेगरी ५६ जना निर्वाचनबाट चुनिएका थिए । एक महिलासहित ३ जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।

    कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पुरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु विदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।

  • राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

    राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने भएका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो । सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट गर्ने निर्णय गरेको हो ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिए । ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ, लेखकले भने, ‘गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ । सरकारमा सहभागी सहयोगी दलहरूबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ । सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ ।’

    सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरूमध्ये कसलाई कति सिट दिने भन्ने विषयमा शनिबार नै टुंगो लगाउने पनि लेखकले बताए । एमालेसँग राष्ट्रिय सभा निर्वाचनका बारेमा भएको छलफलका विषयमा लेखकले भने, ‘सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा बृहत लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने हो, तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौँ ।’

  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

    अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । यो फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

    २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए । यही अभिव्यक्तिलाई लिएर २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

  • राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

    राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ जाँदै छन् । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए । राष्ट्रपति पौडेल आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

  • त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

    त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो। उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ।

    दरखास्त दिँदा बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धि सोचपत्र र पाँच हजार शब्दमा चार वर्षे कार्ययोजना बुझाउनुपर्ने छ। त्रिविमा कात्तिकदेखि उपकुलपति रिक्त छ। डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो। रिक्त रहेको २ महिनापछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया सुरू भएको हो। आवेदन परेकामध्येबाट समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले त्रिविको उपकुलपति नियुक्त गर्नेछ।

  • पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

    पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । बिहीबार गरिएको अभिनन्दनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहित पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरी प्रेरणा समेत सहभागी भए । अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनताले पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको बताए ।
    पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो ।

    कार्यक्रममा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्वमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।

  • राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

    राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज बस्ने भएको छ । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो ।

    सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुंगो नलागेपछि आ-आफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरु फेरि बैठक बस्न लागेका हुन् ।

    राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् । कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ गते मनोनयन दर्ता हुँदै छ ।

  • कांग्रेसले आज एकता दिवस मनाउँदै

    कांग्रेसले आज एकता दिवस मनाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निम्तो गरिएको छ ।

    मिलमिलाप दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने निम्तो नगरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा संविधान लेखनमा संलग्न राजनीतिक दलका शीर्ष नेताहरुलाई मात्र बोलाइएको पौडेलले बताए । यसपटक राष्ट्रिय एकता र मेलमिलाप दिवस फरक तरिकाले मनाउने कांग्रेसले निर्णय गरेको थियो । साझा मुद्दाहरुमा सरकार र प्रतिपक्ष नहुने उल्लेख गर्दै महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिको थप एकता आवश्यक रहेकाले मेलमिलाप फरक तरिकाले मनाउन लागिएको जानकारी दिए । ‘राजनीतिक दल विच केही मुद्दामा प्रतिस्पर्धा हुन्छ । केही कुरामा राष्ट्रिय दृष्टिकोण चाहिन्छ,’ महामन्त्री गगन थापाले भने, ‘संविधान बनायौं, केही कुरा अड्किएर बसेका छन् । संविधान कार्यान्वयनमा अड्किएका विषयलाई टुंग्याउन को सत्तापक्ष र को प्रतिपक्षले अर्थ राख्दैन ।’

    २०१७ साल पुस १ गतेको शाही कुपछि जेलमा परे कांग्रेस संस्थापक नेता बीपी कोइराला २०२५ कात्तिक १४ गते जुलमुक्त भएलगत्तै भारत निर्वासित भएका थिए । भारतमा आठ वर्ष बिताएपछि राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने भन्दै बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । सोही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ ।

  • एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

    एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

    काठमाडौं । सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् । आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा यो संख्या १२० पुगेको हो । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भइरहेको युद्धका कारण थप मुत्युको संख्या बढेको आइएफजेले जनाएको छ ।

    पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाउने सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो तर यस वर्षको घातक तथ्याङ्कहरूले पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षाको सवाललाई नराम्रो रूपमा चित्रण गरेको आइएफजेका महासचिव महासचिव एन्थोनी बेलाङ्गरले भनेका छन् ।

    यस वर्ष मारिएका पत्रकारहरुमा गाजा द्वन्द्वमा मारिने ६८ प्रतिशत छन् । गाजा युद्धका कारण ७५ प्यालेस्टिनी, चार इजरायली, तीन लेबनानी पत्रकार मारिए । सिरियामा तीन सञ्चारकर्मी मारिएका छन् । एसिया प्यासिफिक क्षेत्रमा भारतमा ३, अफगानिस्तानमा २ , फिलिपिन्समा २, बंगलादेशमा २, पाकिस्तानमा २ र चीन १ पत्रकार मारिएका छन् ।

    उत्तर र दक्षिण अमेरिकामा गरी तीन मेक्सिकन, एक पाराग्वे, तीन ग्वाटेमाला, एक कोलम्बियन, एक होन्डुरन र एक अमेरिकी पत्रकार मारिए । आइएफजेले विश्वका सरकारहरूलाई पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय बाध्यकारी महासन्धिलाई तुरुन्तै अपनाउन आह्वान गरेको छ ।

  • कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै

    कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ। हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए।

    महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेस मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेको शर्माले सुनाएका थिए। वर्तमान सरकारमा कांग्रेसका ९ मन्त्री छन्। केन्द्रीय समिति बैठक मन्त्रीहरूको ब्रिफिङबाट कार्यसूचीमा प्रवेश गरेको थियो।

    हिजो केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए। समयअभावका कारण अन्य मन्त्रीले धारणा राख्न पाएनन्। बाँकी रहेका ७ मन्त्रीहरूले आजको बैठकमा धारणा राख्नेछन्।

    उपप्रधानमन्त्री एवम् कानुनमन्त्री धनराज गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपि साउद, उद्योग मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्री सुरेन्द्रराज आचार्यले धारणा राख्नेछन्। सरकारमा रहेका मन्त्रीका कामकारबाहीबारे समीक्षा गरिने भएकाले कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको छैन।