Category: कला / साहित्य

  • एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा

    एकीकृत समाजवादी त्यागेको दीपक मनाङ्गेको घोषणा

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र बुझाएका छन् ।

    एकीकृत समाजवादीमा प्रवेश गरेपछि त्यही दलको सदस्यका रुपमा संसदमा जानकारी आएको थियो र त्यहीरुपमा सूचीकृत गराइएको थियो । अहिले दल त्यागेर स्वतन्त्र नै रहेको जानकारी उनले गराएका छन् । मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै रहने भन्दै पत्र दिएपछि प्रदेशसभा सचिवालय परामर्शमा जुटेको छ ।


    प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।

    २१ फागुनमा एमाले–कांग्रेससहितको गठबन्धन बनेपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । कांग्रेसबाट निर्वाचित पाण्डेले २२ फागुनमै माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे भने माओवादीले पनि समर्थन फिर्ता लिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । उता एमाले र माओवादीले मात्र सरकार बनाउन सक्ने अवस्था छैन ।

    गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सजिलै सरकार बन्ने स्थिति पनि छैन । माओवादी सांसदको रुपमा गणना भएका फणीन्द्र देवकोटा पनि नेपाल समाजवादी पार्टीका नेता हुन् । उनी माओवादी चुनाव चिह्नबाट निर्वाचित भएका थिए । उनलाई पनि नेपाल समाजवादी पार्टीको सांसद कायम गराइदिन अध्यक्ष बाबुराम भट्टराई निर्वाचन आयोगमा पत्र लेखेका छन् ।

    संघीय सांसद महिन्द्र राय यादव, बागमतीका सांसद गंगानारायण श्रेष्ठले माओवादीसँग एकता गर्ने निर्णय गरे पनि फणीन्द्र भने अहिले पनि बाबुरामकै साथमा छन् । शनिबारमात्र काठमाडौंमा भएको कार्यक्रममा पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बाबुरामबीच सत्ता समीकरणबारे पनि छलफल भएको थियो ।

    २७ सांसदसहित कांग्रेस नेतृत्वमै सरकार कायम राख्न पाण्डेले राप्रपालाई पनि फकाइरहेका छन् । राप्रपाका २ सांसदसहित मनाङे र फणीन्द्र पनि पाण्डेकै पक्षमा उभिने स्थिति बनाउन मुख्यमन्त्री पाण्डेले कसरत गरिरहेका छन् ।

  • प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?

    प्रज्ञा-प्रतिष्ठानको पुरस्कार को-कसले पाउने भए ?

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० पुरस्कार घोषणा गरेको छ । पुरस्कृत हुनेहरुमा खगेन्द्र संग्रौलादेखि मोहनविक्रम सिंहसम्म छन् । खगेन्द्र संग्रौलालाई अनुवाद पुरस्कार र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

    यसैगरी शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा. देवीप्रसाद गौतमलाई भाषा पुरस्कार, वम देवानलाई साहित्य पुरस्कार (पद्य), राजवलाई साहित्य पुरस्कार (गद्य), गंगा कर्माचार्यलाई बालसाहित्य पुरस्कार र पदम विश्वकर्मालाई अन्तर्देशीय पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।

    यसअघि मातृभाषा साहित्य पुरस्कार पहाडी–हिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्गलाई र मधेश क्षेत्रबाट बेचन उराँवलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा प्रदान गरिएको थियो । नेपाल प्रज्ञान प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने यी पुरस्कारहरुको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

  • बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय

    बाबुराम भट्टराई पुनः एक्लिए, नेताहरु माओवादी केन्द्रमा विलय

    काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिएर डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) समेत फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।

    बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ । बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।

    साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ । कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

  • प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

    प्रतिनिधिसभाको आजको बैठकमा के छन् एजेण्डा ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

    त्यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धि (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आजकै बैठकमा आर्थिक वर्ष २०८१–२०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिक सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल जारी रहने कार्यसूची पनि रहेको छ।

  • प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप

    प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप

    काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ उनले भने, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’ प्रतिनिधिसभामा एमालेका ७६ सांसद छन् ।

    नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले बुधबार विश्वासको मत लिँदैछन् । संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र सांसदले सरकार बलियो बनाउन निर्देशन दिए । उनले अघिल्लो गठबन्धन सरकारबाट कमजोरी भए पनि नयाँ गठबन्धनले राम्रो काम गर्ने विश्वास व्यक्त गरे ।

    ‘जनताको कामलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुस्’ ओलीको निर्देशन थियो, ‘मन्त्रीलाई सुस्त हुने छुट छैन । तपाईंहरु प्रश्नको घेरामा नपरेर काम गर्नुस् ।’ उनले सरकारले अघि सारको सुशासन, समृद्धि, सामाजिक न्याय र विकासमा केन्द्रित हुन मन्त्री र संसद्‌मा प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिए ।

  • ओली र राजेश हमालबीच सिनेमा संवाद हुने

    ओली र राजेश हमालबीच सिनेमा संवाद हुने

    काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ ।

    नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ । चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए ।

    महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने, नम्रता शर्माले चलचित्रमा लैङ्गिक असमानताले पारेको प्रभावका बारेमा र अभिनेतृ रिमा विश्वकर्माले गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्ने कार्यक्रम रहेको छ । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटन बोर्डको हलमा हुने छ ।

    छलफलका शृङ्खला अन्तर्गत नै शनिबार प्रविधिविज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्न सक्ने असरका बारेमा एकल प्रस्तुति दिने कार्यक्रम रहेको छ । शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग ‘समीक्षा ताली कि गाली’ शीर्षकमा बहस चलाउने छन् ।

    शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसर शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउने कार्यक्रम रहेको छ । गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ । यस पटकको संस्करणमा ४० देशका ८८ चलचित्र देखाइने जानकारी दिइएको छ ।

  • राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

    राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

    काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

    सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो । नयाँ गठबन्धन बनेपछि अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । राष्ट्रिय सभामा माओवादी नै पहिलो दलसमेत हो ।

  • राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता

    राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत् आज उम्मेदवारी दर्ता हुन लागेको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको छ। आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।

    सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका हुन्। आइतबार बसेको माओवादी केन्द्रको बैठकले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ।

    नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।
    राष्ट्रिय सभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी थिए।

    उनलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए। सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार भएनन्। मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जानकारी दिएको छ।

  • उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

    उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ । तिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

    चार वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको रास्वपामा उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा छलफल चल्दै आएको छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ ।

  • ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व

    ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व

    काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’ले धुम मच्चाएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा जित हाँसिल गर्यो । फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे । ‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।

    यस्तो छ सर्वश्रेष्ठ सूची

    फिल्म: ओपेनहाइमर
    निर्देशक: क्रिस्टोफर नोलन (ओपेनहाइमर)
    अभिनेता: किलियन मर्फी (ओपेनहाइमर)
    अभिनेत्री: एम्मा स्टोन (पुअर थिंग्स)
    सहायक अभिनेता: रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
    सहायक अभिनेत्री: द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
    एडप्टेड स्क्रिनप्ले:अमेरिकन फिक्सन
    ओर्जिनल स्क्रिनप्ले:एनाटोमी अफ अ फल
    छायांकन: ओपेनहाइमर
    ओर्जिनल सङ: बिली एलिस (बार्बी)
    कस्ट्युम डिजाइन: पुअर थिंग्स
    ध्वनी: द जोन अफ इन्ट्रेस्ट
    ओर्जिनल स्कोर:ओपेनहाइमर
    डकुमेन्ट्री फिचर: ट्वेन्टी डेज इन मौरिपल
    अन्तर्राष्ट्रिय फिचर: द जोन अफ इन्ट्रेस्ट
    मेकअप एण्ड हेयरस्टाइलिङ: पुअर थिंग्स
    प्रोडक्सन डिजाइन:पुअर थिंग्स
    सम्पादन: ओपेनहाइमर
    भिजुअल इफेक्ट:गोडजिला माइनस वन

  • राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने

    राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  • माओवादीले कसलाई बनाउँदैछ राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार ?

    माओवादीले कसलाई बनाउँदैछ राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार ?

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने छ । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् ।

    शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए । यसअघि गठबन्धनका नेताहरू बीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने लिखित सहमति भएको थियो ।

  • जसपा आज सरकारमा जाँदै

    जसपा आज सरकारमा जाँदै

    काठमाडौं । जनता समाजवादी पार्टी आज सरकारमा सहभागी हुन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन । यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् । जसपालाई पनि समेटेपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने छन् । उनले फागुन ३० गते विश्वासको मत लिने तयारी छ ।

  • राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने सिटौला

    राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने सिटौला

    काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेका छन्।
    शनिबार देउवाले सिटौलालाई राष्‍ट्रिय सभामा कांग्रेसका संसदीय दलको नेतामा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए। देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्।

    गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनमा हुँदा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउनेबारे चर्चा भएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रकै हुनुपर्ने दाबी गरेका थिए। अहिले उनले सत्ता गठबन्धन परिवर्तन गरी नेकपा एमालेको साथ लिएका छन‍्।

  • अन्तर्राष्ट्रिय महिला दिवस आज

    अन्तर्राष्ट्रिय महिला दिवस आज

    काठमाडौं । आज ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ।

    महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ। सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

    नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन्। पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो।

    श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो। लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइने भएको छ।

    यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

  • संसद बैठक आज, के छ कार्यसूची ?

    संसद बैठक आज, के छ कार्यसूची ?

    काडमाढौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

    यस्तै, राष्ट्यिर सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज

    नेपाली कांग्रेस संसदीय दलको बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।

    देउवाको पहलमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा सामेल भएका छैनन् भने नागरिक उन्मुक्तिले पनि निर्णय गरिसकेको छैन । आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेका छन् ।

  • नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् ।

    त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् ।

    शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचनाप्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।

  • सरकार परिवर्तन भएसँगै लुम्बिनी शिखर सम्मेलन स्थगित

    सरकार परिवर्तन भएसँगै लुम्बिनी शिखर सम्मेलन स्थगित

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एन्ड लिड्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणवश सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

  • एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल

    एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित, सचेतकमा बराल

    काठमाडौं । एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । बर्तौला यसअघि सचेतक थिए ।

    बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो । बर्तौला र बराल दुवै अनेरास्ववियुको राजनीतिकबाट आएका नेता हुन् । बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

  • कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा

    कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजिनामा

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

    केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको मन्त्रीहरूले बताएका छन् । माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

  • सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

    सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस(माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् ।

    बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । कर्णाली सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् ।

    सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

  • कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

    कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

    काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

  • सरकारी सेवामा प्रवेश गर्ने अधिकतम उमेर घटाउने प्रस्ताव

    सरकारी सेवामा प्रवेश गर्ने अधिकतम उमेर घटाउने प्रस्ताव

    काठमाडौं । निजामती सेवा प्रवेशका लागि उम्मेदवार बन्न पाउने अधिकतम उमेर सीमा घटाउन प्रस्ताव गरिएको छ । सोमबार संघीय संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने प्रस्ताव गरिएको छ । यसअघि पुरुषहरुले ३५ वर्ष र महिलाहरुले ४० वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउँथे ।

    यसअघि ४० वर्षको उमेरमा सेवा प्रवेश गरेका महिलाहरु ५८ वर्ष उमेरमा सेवा निवृत्त हुँदा सेवा अवधि १८ वर्ष मात्र हुन्थ्यो । पेन्सन पाउन सेवा अवधि कम्तिमा २० वर्ष हुनुपर्छ । १८ वर्षमै सेवानिवृत्त हुने कर्मचारीहरुलाई २ वर्ष सेवा थप गरी सरकारले पेन्सन उपलब्ध गराउँथ्यो ।

    तर आइतबार संसद सचिवालयमा दर्ता भएको निजामती सेवा विधेयकमा भने महिला र पुरुष दुवै उम्मेदवारको सेवा प्रवेशको अधिकतम उमेर घटाइएको छ । विधेयको दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता सम्बन्धी व्यवस्था छ । राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने र राजपत्रांकित वा अधिकृत तहको पदमा एक्काइस वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

    यसैगरी पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था दफा १८ को ‘ग’ मा उल्लेख छ । तर भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको संघीय निजामती सेवाको पदमा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था राखिएको छ । यसैगरी अधिकृत नवौं तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने छन् ।

    पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता वा मध्यम अशक्त अपाङ्गता भएको व्यक्ति पनि ३७ वर्षसम्म उम्मेदवार हुन सक्ने छन् । संघीय निजामती सेवाका स्थायी कर्मचारी, कर्मचारी समायोजन सम्बन्धी संघीय कानुन बमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थानीय नियुक्ति भएका कर्मचारीलाई भने उमेरको हद नलाग्ने व्यवस्था छ । संघीय संसदमा दर्ता भएको विधेयक अब संसदभित्रै छलफल, संशोधन र परिमार्जन भएर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट अनुमोदन भएपछि लागू हुनेछ ।

  • नयाँ गठबन्धनको बैठक आज, मन्त्रालयको टुंगो लगाइने

    नयाँ गठबन्धनको बैठक आज, मन्त्रालयको टुंगो लगाइने

    काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
    गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल पनि बिनाविभागीय नै छन् ।

  • गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

    गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

    काठमाडौं । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको छ । बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।


    कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि नयाँ गठबन्धन बनाएपछि कांग्रेससहितको गठबन्धन टुटेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादीको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनबाट एमालेका पदम गरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल मन्त्री बनिसकेका छन् ।

  • नयाँ गठबन्धनमा भयो ८ बुँदे सहमति

    नयाँ गठबन्धनमा भयो ८ बुँदे सहमति

    काठमाडौं । नयाँ गठबन्धनमा ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भएको छ । उपाध्यक्ष एमालेले पाउने भएको छ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने भएका छन् ।

    ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

    यसअघि कांग्रेससहितका दलसँग भएको सहमति उल्ट्याउँदै प्रचण्डले नयाँ गठबन्धन बनाएका हुन् । यसले उनको सत्ता लम्बिएको छ ।

  • नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ

    नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेसँगै तीन जना मन्त्रीले सपथ लिएका छन् । प्रधानमन्त्री दाहालले बहालवाला सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै मन्त्री बर्खास्त गरेका हुन् ।

    नयाँ समीकरणमा सहभागी दलहरुसँगको सहमतिमा ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । नेकपा एमालेका पदम गिरी, आफ्नो दल नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई मन्त्री नियुक्त गरेका छन् । तीनै जनाले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    उनीहरुको मन्त्रालय भने पछि तोकिने राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्तिमा उल्लेख छ । १० पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले करिब डेढ महिनापछि गठबन्धन परिवर्तन गरेका थिए ।

    उनले एमालेसँगको सहकार्य छाडेर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेर मन्त्रिपरिषद गठन गरेका थिए । जसमा कांग्रेसका ९ जना, माओवादी केन्द्रका ५ मन्त्री र एक राज्यमन्त्री, जनता समाजवादी पार्टीका २ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १र१ जना मन्त्री थिए ।

  • गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने

    गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने

    काठमाडौं । काग्रेस–माओवादीसहितको सत्तारुढ गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब एमाले सहितका दलको समर्थनमा सत्ता चलाउने भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएका छन् । यसका लागि उनीहरुले आज पार्टी भित्र आन्तरिक छलफल गरेका थिए ।

    अब नयाँ गठवन्धन बन्ने भएको छ । एमाले र रास्वपाले आकश्मिक बैठक बसेर नयाँ समिकरणमा जाने निर्णय गरेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्ला घटनाक्रमको विश्लेषण भएको जानकारी दिए । आजै एमाले, रास्वपासहिता दलले एक एक जनाको नाम पठाएर सानो आकारको मन्त्रिमण्डल बनाउने र पुराना सबै मन्त्री हटाउने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

  • एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा

    एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा

    काठमाडौं । सोमबार बिहानैबाट राजनीतिक सरगर्मी बढेको छ । गठबन्धनमा खटपट आएको संकेतसँगै माओवादीप्रति एमाले लचक बनेको छ । यसबाट कांग्रेस शसंकित बन्दा गठबन्धन फेरिने सम्भावना समेत बढेको छ । आज गठबन्धनको बैठक बिहान ७ बजे बालुवाटरमा बोलाइएको थियो । तर, बैठक स्थगित भएको छ । तर, प्रमुख प्रतिपक्षी दलहरु एमाले र रास्वपाले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएका छन् ।

    उता, प्रधानमन्त्रीलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा समेत बालुवाटार पुगेको खबर छ । यसले गठबन्धन बचाउन कति भूमिका खेल्छ भन्ने जिज्ञासा मेटाउन बाँकी छ । कांग्रेसका मन्त्रीहरुको भूमिकाप्रति पछिल्लो समय प्रधानमन्त्री संतुष्ट छैनन् । सोहीकारण गठबन्धन जोगाउन मन्त्री फेर्ने प्रस्ताव सभापति देउवाले गर्न सक्ने समेत सम्भावना छ ।