Category: कला / साहित्य

  • संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?

    संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?

    काठमाडौं । संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । शुक्रबार अधिवेशनको पहिलो दिन सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पनि कार्यसूची छ।

    सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० अनुसार सभामुखले बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जानकारी दिएको छ।

    बजेट अधिवेशन सुरू भएको सन्दर्भमा शुक्रबार दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची रहेको पनि संसद सचिवालयले बताएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्।

    त्यस्तैउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जानकारी दिएको छ। संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने, नगर्नेमा भन्ने अन्यौल छ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ। सत्ता पक्ष भने संसदीय छानबिन बनाउनु नपर्ने भन्दै आफ्नो अडानमा यथावत छ। अघिल्लो अधिवेशनमा कांग्रेसले गृहमन्त्रीलाई संसदमा बोल्न अवरोध गर्दै आएको थियो।

    यसबीचमा सभामुख घिमिरेले संसदलाई निर्बाध सञ्चालन गर्ने विषयमा सर्वदलीय छलफल पनि राखेका थिए। सभामुखको कार्यकक्षमा भएको छलफल दलहरू आ-आफ्नो अडानमा यथावत रहेकाले निष्कर्षमा पुग्न सकेको थिएन।

  • सरकारको नीति तथा कार्यक्रम १ जेठमा आउने

    सरकारको नीति तथा कार्यक्रम १ जेठमा आउने

    काठमाडौं । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संविधान र कानूनको व्यवस्थाबमोजिम आगामी मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्‌को बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने जानकारी दिइन् ।

  • संसदमा प्रस्तुत हुने विषयबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    संसदमा प्रस्तुत हुने विषयबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बोलाइएको छ । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ ।

    हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो । कांग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको थियो ।


    शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पनि कांग्रेसले आफ्ना माग उठाउने जनाएको छ । विहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो ।

  • सुहाङले सांसद पदको सपथ लिँदै

    सुहाङले सांसद पदको सपथ लिँदै

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

    अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङले जित हासिल गरेका थिए ।

  • संसदमा जवाफ दिनुपर्ने माग गर्दै गृहमन्त्रीले सभामुखलाई लेखे पत्र

    संसदमा जवाफ दिनुपर्ने माग गर्दै गृहमन्त्रीले सभामुखलाई लेखे पत्र

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उनले संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन् । संघीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ संसदमा उत्पन्न गतिरोधका कारण दिन नपाएको उनको भनाइ छ ।

    यसले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उपप्रधानमन्त्री लामिछानेले बताए । जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण सांसदहरुले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको उनले बताएका छन् ।

    ‘‘यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरुमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन ‘’ गृहमन्त्री लामिछानेले सभामुखलाई लेखेको पत्रमा भनेका छन् ।

    संसदको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम जोडिएको भन्द संसदीय छानबिन गर्न माग गरेको थियो । आफ्नो उक्त माग पूरा नभएसम्म लामिछानेलाई संसदको रोष्ट्रममा जान नदिने कांग्रेसको अडान छ । गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै पनि विषयमा उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट दिएको पत्र पनि सभामुखलाई बुझाएका छन् ।

  • सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

    सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग मंगलबार छलफल गर्दैछन्। बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन्।

    सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन्। सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरूको बैठक आह्वान गरेका थिए।

    तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन। सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग–अलग छलफल भएको थियो। संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरू हुँदैछ। संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन्। सभामुख निर्वाचित भएको १५ महिनामा सभामुखको पहलमा ९ पटक शीर्ष बैठक बसेको छ।

  • उपेन्द्र यादवसँग फुटेका नेताले दर्ता गरे नयाँ दल

    उपेन्द्र यादवसँग फुटेका नेताले दर्ता गरे नयाँ दल

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि आइतबार बहुमत सांसद र बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्तासम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्तासम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

    वरिष्ठ नेता अशोक राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गरिरहेको र अहिले भित्रभित्रै कांग्रेससँग गठबन्धनको तयारी गरिरहेको भन्दै असन्तुष्ट पक्षले बहुमतसहित नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

    आज निर्वाचन आयोगले दल दर्ता गरिदिएसँगै जसपा नेपाल औपचारिक रूपमा फुटेको छ । अब सात जना सांसदसहित जसपा नामको नयाँ दल बनेको छ । जसपा नेपालले आज विज्ञप्ति निकालेर अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गरेको भए पनि निर्वाचन आयोगले दल विभाजन भएर नयाँ दल बनेको मान्यता दिएको हो ।

  • अनेसासको शुभकामना कार्यक्रममा “फेसबुकको मान्छे” बिमोचित

    अनेसासको शुभकामना कार्यक्रममा “फेसबुकको मान्छे” बिमोचित

    बिष्णु सिंह, न्युयोर्क।

    गत मे ४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) न्यूयोर्क च्याप्टरले नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०८१ को शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा साहित्यकार कुन्ती थापाद्वारा लिखित “ फेसबुकको मान्छे” उपन्यासको छोटो समिक्षा र परिचय पनि गर्यो । कार्यक्रमको शुरुवात सभापतिको आसन ग्रहण गर्न अध्यक्ष लक्ष्मी श्रेष्ठ तथा भूपू अध्यक्ष ज्योति पौडेल र उपन्यासकार कुन्ती थापालाइ ड्यासमा निम्त्याईयो। पछि कार्यक्रममा ढिलो आईपुगेका भूपू अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि ड्यासमा बसाईएको थियो।

    तत्पश्चात च्याप्टरका महासचिव नदिया लिबांगले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै आ-आफ्नो स्थानमा आशन ग्रहण गराउनु भयो।
    यसैगरी च्याप्टरका कोषाध्यक्ष सृजना लामा र अन्य सदस्यले कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो। अनि प्रमूख अतिथि र बिशेष अतिथिहरुले पानसमा दियो प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमलाई अघि बढाउनु भयो। उक्त अवसरमा नेपाल र अमेरिकी राष्ट्रिय गान पनि गाईएको थियो।


    तत्पश्चात बिभिन्न सहभागीहरुले नव बर्षको शुभकामना मन्तब्य दिन शुरु गरियो।
    शुभकाना मन्तब्य दिने क्रममा कवि-कवियित्रीहरु बिकास बिष्ट, संजय थापा, कमला प्रसाई, शकुन्तला ज्ञवाली, पुनम काफले लगायतले छोटो कविता प्रस्तुत गर्दै शुभकामना दिएका थिए।
    शुभकामना दिने क्रममा बिष्णु सिंहले अनेसास न्युयोर्क च्याप्टरले जारी गरेको कार्यक्रमको सुचनामा सदस्यहरुलाई निम्तो गर्न छुटाएको जानकारी गराउदै अनेसास व्यवस्थापनले यस्तो त्रुटि नदोहर्याउन सतर्क हुनुपर्ने सुझाव गर्दै आफ्नो शुभकामना अर्पण गरेका थिए।

    उपन्यासकार कुन्ती थापाको अनुरोधमा डा. गोबिन्द कोइरालाले “फेसबुकको मान्छे” उपन्यासको छोटो समिक्षा र परिचय गरिदिएका थिए। छोटो समयमा अनुरोध आएकोले बिस्तृत रुपमा समिक्षा गर्न नसकिएको प्रकाश पारे। साथै उपन्यासले बिबिध पक्षको समस्या पहिचान गरेको तर समाधानको पहिचान गर्न केही कमी रहेको स्पष्ट पारे। तर लेखिका कुन्ती थापाले यस उपन्यासको दोस्रो भाग चाडै नै आउँन लागेको जानकारी गराएकोले सायद त्यस खण्डमा समाधानको उपायहरु पनि पहिचान हुने अपेक्षा गर्न सकिन्छ।

    लेखिका कुन्ती थापाले पनि “फेसबुकको मान्छे” उपन्यासको छोटो परिचय गरेकी थिइन्। उनले आफ्नो प्रकाशित रचनाहरु बितरण गरि आएको सहयोगबाट नेपालमा केही गरिब बालबालिकाहरुलाई अध्ययनकोलागि सहयोग पुर्याउदै आएको जानकारी गराईन। उनको यस्तो सहयोगी हृदयको सहभागीहरुले प्रशंसा गरेका थिए।
    कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका महिला उपाध्यक्ष लक्ष्मी थापा लगायत बिश्व थापा, शारदा क्षेत्री अन्य गण्यमान्य व्यक्तित्वहरुको उपस्थिति थियो । तर समग्रमा उपस्थित सहभागीहरुलाई हेर्दा ९५ प्रतिशत महिला र ५ प्रतिशत मात्र पुरुष देखिन्थे। निम्तो नपाएर हो कि निम्तोमा त्रुटी भएर हो, त्यसको अनुसन्धान व्यवस्थापनले गर्नुपर्ने देखिन्छ।

    अन्त्यमा अध्यक्ष लक्ष्मी श्रेष्ठज्युले उपस्थित सम्पूर्ण अतिथिज्युहरुलाई धन्यबाद मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो।

  • अलजजिरालाई इजरायलमा किन लगाइयो प्रतिवन्ध ?

    अलजजिरालाई इजरायलमा किन लगाइयो प्रतिवन्ध ?

    काठमाडौं । इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् ।

    इजरायलका सञ्चारमन्त्री स्लोमो कारहीले विज्ञप्तिमा इजरायलमा हमास पक्षधरहरूलाई वाक् स्वतन्त्रता नहुने बताए । ‘अलजजिरालाई तुरुन्त बन्द गरिनेछ र उपकरणहरू जफत गरिनेछन्,’ विज्ञप्तिमा भनिएको छ । सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन जफत गर्न उनले आदेश जारी गरेका हुन् ।

    इजरायल र प्यालेस्टिनी क्षेत्रमा अलजजिराको कार्यालय प्रमुख रहेका वालिद अल–ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया दिँदै इजरायलका चरम दक्षिणपन्थी मन्त्रीको सहज जितको खोजीको एउटा अभियान रहेको बताए ।

  • आज काठमाडौं उपत्यकाका विद्यालयमा बिदा

    आज काठमाडौं उपत्यकाका विद्यालयमा बिदा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयहरुलाई सार्वजनिक बिदा दिएको छ । महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि वागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरुमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नुनगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा भएको व्‍यहोरा निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ । ‘

  • उपेन्द्र यादवको पार्टी फुट्यो

    उपेन्द्र यादवको पार्टी फुट्यो

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटेको छ। अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेको छ ।

    जसपाका सात जना सांसद निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए । सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोग पुगेका थिए । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

  • गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

    अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।

    सभामुखलाई समेत गणना गरेर अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसले सर्वोच्च पुगेको थियो । तर सर्वोच्चले नेपाली कांग्रेसले दर्ता गरेको रिट खारेज गरेपछि उनले विश्वासको मत लिने बाटो खुलेको थियो । सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गरेको थियो ।

    मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । शनिबार बसेको दुवै पार्टीहको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका थिए । गण्डकीमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् । तर २ सांसद रहेको राप्रपा अझै अनिर्णित छ ।

  • रामगीता वाङ्मय मन्दिर अमेरिका-नेपालले गर्यो स्रष्टालाई सम्मान

    रामगीता वाङ्मय मन्दिर अमेरिका-नेपालले गर्यो स्रष्टालाई सम्मान

    बिके नेवा।

    रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।
    मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, डा. विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार अर्पण गरेको हो । डा. विमललाई उनको भरखरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी क्रमशः ५०–५० र २५ हजार नगदसहित सम्मानपत्र रहेको थियो ।


    कार्यक्रमको सभाध्यक्ष गीता खत्री, संरक्षक कमलबहादुर खड्का र मखमली खड्का तथा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेल रहेका थिए । उनीहरुसहित पुरस्कार स्थापित व्यक्तित्वहरु अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रुपमा ती पुरस्कारहरु स्रष्टालाई अर्पण गरे ।


    अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम—गीताको बारेमा चर्चा गरिन् भने महेश पौड्यालले सम्मानित स्रष्टाको बारेमा गहन परिचय व्यक्त गरेका थिए ।
    पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रुपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे ।


    गीता खत्रीले धेरै वर्ष अघिनै यो पुरस्कार स्थापना गर्ने सोच बनाएको तर दुई वर्ष अघि मात्र संस्था स्थापना गरेको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताइन् । अशेष मल्लले अरु अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन् । आफूले गरेको कामबाट कहिल्यै पनि घमण्ड नआओस् भन्दै सधैभरि कर्म गरिरहन पाए आफू खुसी हुने पनि उनले बताइन् ।


    परम्परागत ढर्रालाई तोड्दै कार्यक्रम अत्यन्त फरक तरिकाले व्यवथापन भएको थियो । मञ्चमा भिडाम्भिड अनि दर्शकदिर्घातिर कुर्सी खाली जस्ता असुहाउँदो दृष्य यहाँ देख्नुपरेन । उपस्थित सबैजनालाई समान स्तरमा बस्ने व्यवस्था मिलाइएको थियो । मञ्च र दर्शकको कित्ताकाट यस प्रोग्राममा थिएन । त्यसैगरी पानसमा बत्ती बाल्ने अनि कार्यक्रम समुद्घाटन गर्ने दृष्य पनि यहाँ देखिएन । बरू गीता खत्रीका ८९ वर्षीय बुबाले गणेश स्तुति गाउनुभएर कार्यक्रमको समुद्घाटन र समापन भयो । प्रमुख अतिथि, गीता खत्री र राम खत्रीको हातबाट सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण भयो । सम्मानित सबै व्यक्तित्वहरूले राम-गीता वाङ्मय प्रतिष्ठान र राम गीता दम्पत्तिप्रति हृदयत: आभार व्यक्त गरे ।

    प्रा.डा. सावित्री मल्ल कक्षपतिका अनुसार यसरी ज्यूँदा व्यक्ति त्यो पनि दम्पत्तिको नै नामबाट पुरस्कार स्थापना गर्ने कार्य विश्वमा नै यो पहिलो हो । मान्छे ज्यूँदो रहँदा नै उसका कर्मका बारेमा सम्मान गर्ने यो प्रचलनको शुरुवाति गर्ने यस सत्कर्मको सबैले खुलेर प्रशंसा गरे । यो गरिमामय कार्यक्रम सञ्चालनको भूमिकामा भवानी खतिवडा थिइन् ।

  • कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

    कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो।

    वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशन अघि नै कांग्रेस लगायतका प्रतिपक्ष दलसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसद्लाई सुचारु गराउने प्रधानमन्त्री दाहालको भनाइ थियो। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो सम्बन्धी समस्या समाधानका लागि सत्तारुढ दलबिच भइरहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनु पनि पार्टीका सांसदलाई निर्देशन दिनुभएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


    समाजमापछि परेको दलित उत्पीडितलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदलाई सुझाव दिनुपर्ने प्रधानमन्त्री प्रचण्डले बैठकमा बताए । उनले विकास बजेटका लागि अत्यधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढङ्गले वितरण गर्नेगरी सुझाव दिन पनि पार्टीका सांसदलाई सचेत गराउनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । बैठकमा सांसदले राजश्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरेर राष्ट्रिय आय वृद्धि हुनेगरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए।

  • नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन आजबाट

    नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन आजबाट

    काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने तय भएको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् ।

    केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
    यसअघि गत चैत ७ गते बसेको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले वैशाख २१ गते लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर पछि काठमाडौंमा सारिएको थियो ।

    केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ । यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ । निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।

  • उपनिर्वाचनको समिक्षाका लागि आज रास्वपाको बैठक

    उपनिर्वाचनको समिक्षाका लागि आज रास्वपाको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जानकारी गराएको छ ।

    सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

  • संसदको बजेट अधिवेशन २८ वैशाखबाट

    संसदको बजेट अधिवेशन २८ वैशाखबाट

    काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न

    न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न

    बिके नेवा, न्युयोर्क ।

    प्रत्येक वर्ष न्युयोर्क नेवाः गुठीले गर्दै आएको सामूहिक इही कार्यक्रम अहिले ७ औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ ।
    नेवाहरुको इही भनेको कन्यालाई विधि अनुसार सौभाग्यका रुपमा भगवान्लाई साक्षी राखी गरिने एउटा महत्वपूर्ण कार्य हो । इही पूजा सम्पन्न गर्न आठदेखि दस घण्टासम्म लाग्छ । कन्याहरु निराहार बसेर पूजामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
    लामो विधि अनुसार पूजा सम्पन्न भएपछि कन्यालाई एक किसिमको विविध धागोले बनाइएको साडी र सिन्दुर लगाइदिएर विभिन्न उपहार दिने गरिन्छ ।

    यसपालीको ७ औँ इही पूजामा ६ जना कन्याको पूजा गरिएको थियो । न्युयोर्क निवासी, लंग आइल्याण्ड निवासी र बोस्टन निवासी पूजामा सहभागी भएका थिए ।
    न्युयोर्कको ज्याक्सन हाइटस्थित धर्म हाउसको हलमा भएको उक्त पूजाको पुरोहित बाशल राजोउपाध्याय हुनुहुन्थ्यो ।


    सजना महर्जनको प्रमुख व्यवस्थापन, सुरजलक्ष्मी श्रेष्ठको सहव्यवस्थापन र पूजामा पुरोहितलाई साथ दिने र विशेष किसिमको परिकार राखी थाय भुको व्यवस्थापन हृदय तुलाधर र अनिता नकर्मीले गर्नुभएको थियो । पूजामा महत्वपूर्ण सहयोगीको भूमिका कृष्णमाया महर्जन, मुना डंगोल र सरिता श्रेष्ठले गर्नुभएको थियो ।

    कार्यक्रमको अन्त्यमा नेवाः गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंहले इहीमा सहभागी ६ जना कन्या एलिसा थांजु, सिचु श्रेष्ठ, युरिका डंगोल, नेहा श्रेष्ठ, अटुमन राई श्रेष्ठ, र जयदा अमात्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    अध्यक्ष सिंहले सहभागीहरु र कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेवाः गुठीले नेवाहरुको कला, संस्कृतिलाई बचाइराख्न, भावि पुस्तालाई देखाउने, सिकाउने र प्रवर्दन गर्दै आएको बताउँदै प्रत्येक वर्ष आफ्नो कार्यक्रम गर्दै आएकोले यसलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।

    नेवाः गुठी न्युयोर्कले नयाँ वर्षको भिन्तुना कार्यक्रम, इन्द्रजात्रा कार्यक्रम, म्हपूजा, रञ्जना लिपि सिकाउने धिमय बाजा सिकाउने, धिमय नाच सिकाउने लगायत प्रत्येक वर्ष सामूहिक व्रतबन्ध(कायता पूजा) र इही पूजा गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा झन्डै १५० जनाको सहभागिता थियो । कार्यक्रमको अन्त्यमा नेवारी भोजको आयोजना गरिएको थियो ।

  • इलाम २ मा एमालेका सुहाङ विजयी

    इलाम २ मा एमालेका सुहाङ विजयी

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले हराउँदै उनी विजयी भएका हुन् ।

    अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको हो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको हो ।


    सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।

    प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भए ।

    उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक–एक सिट थप्न सफल भएको छ । सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन ।

  • इलाममा रास्वपाको जमानत जफत

    इलाममा रास्वपाको जमानत जफत

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

    उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

    प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

    निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।

  • इलाम र बझाङमा प्रारम्भिक रुझान, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

    इलाम र बझाङमा प्रारम्भिक रुझान, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

    काठमाडौं । इलाम र बझाङमा शनिबार सम्पन उपचुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिन्छ । इलाममा फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना सकिँदा कांग्रेस झिनो मतले अगाडी छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६ सय ३० मत ल्याएका छन् ।

    तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन् । उनले ४ सय ३० र चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ३ सय ८ मत पाएका छन् । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम–२ मा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यति बेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।


    उता, प्रदेश सभा अन्तर्गत बझाङ–१ (क) को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १ हजार ५ सय ९३ सय मतसहित अग्रता लिएका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ९ सय ९८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ सय ५५, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५ सय ९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले ३४ मत पाएका छन् ।

  • उपनिर्वाचनको मतगणना आजबाट थालिँदै

    उपनिर्वाचनको मतगणना आजबाट थालिँदै

    काठमाडौं । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिँदै छ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरकुकामको गौतमबुद्ध सभागृह हुने छ । मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुने छ ।

    चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।

    इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

    यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

    आज बिहान ८ बजेभित्र मतपेटिका संकलन गरिसक्ने र १० बजेभित्र मतगणना सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

    प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह सहित ११ जना प्रतिस्पर्धामा छन् ।

  • इलाम २ मा सकियो मतदान, ५७ प्रतिशत खस्यो मत

    इलाम २ मा सकियो मतदान, ५७ प्रतिशत खस्यो मत

    काठमाडौं । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्ने बताइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।

  • बझाङमा कस्तो छ निर्वाचनको माहोल ?

    बझाङमा कस्तो छ निर्वाचनको माहोल ?

    काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

    प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।

  • इलाममा मतदान जारी

    इलाममा मतदान जारी

    काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । सोही मतदानस्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले पनि मतदान गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेबी माबि शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

    एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरिसकेका छन् । उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

    आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । इलाम २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

  • कक्षा १२ को परीक्षा आजबाट, झण्डै ४ लाख विद्यार्थी सहभागी

    कक्षा १२ को परीक्षा आजबाट, झण्डै ४ लाख विद्यार्थी सहभागी

    काठमाडौं । कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे।

    उनकाअनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी हुने भएका छन्। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

    परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए। सबैभन्दा बढी काठमाडौंमा एक सय ४४ र मनाङरमुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो।

    परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन्। परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्‍याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ। इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ।

  • कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने

    कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए।

    सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ। एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ। मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन।

    बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाएको थियो। उनलाई मुख्यमन्त्री कँडेलले विना विभागीय मन्त्री बनाएका थिए। बुधबार नै उनले सपथ लिइसकेका छन्। चैत २७ गते मुख्यमन्त्री बनेका कँडेलेले मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मंगलबार नै विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन्। नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ।

  • इलाम र बझाङमा मौन अवधि लागु

    इलाम र बझाङमा मौन अवधि लागु

    काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा हुने उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागु गरिएको छ । ४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

    निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न निषेध गरिएको हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस्, कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन्, मतदातालाई दबाव र प्रभावविना स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न र उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न पाइँदैन । साथै एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम र सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको छ ।

    मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । यदि आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि विशेष संयन्त्रमार्फत् सुक्ष्म अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

  • राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?

    राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

    शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु सहभागी थिए ।

    कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

    अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार नै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका छन् ।

  • आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन

    आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन

    काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२–६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

    २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदैहटाउँदै गरे ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०बीच १२ बुँदे समझदारी भयो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए ।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । यसैले यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।