Category: कला / साहित्य

  • भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

    भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

    काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखिएको छ । मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने छन् ।

    बहुमतका लागि २७२ सिट ल्याउनुपर्ने हुन्छ । मत सर्वेक्षणको अनुमानमा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ । गत १६ मार्चदेखि सुरु भएको लोक सभाको निर्वाचनको प्रक्रिया ४६ दिनसम्म चलेको थियो । मतदान १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा सम्पन्न भएको थियो ।

    निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिले पोस्टल ब्यालेटका भोट गणना हुनेछ । पोस्टल ब्यालेटमा पनि पहिलो चरणमा सेना, प्यारामिलिट्री, फोर्सका जवान र अधिकृतहरुले खसालेको भोट गणना हुने छ । त्यसपछि इलेक्ट्रोनिक विद्युतीय मेसिनबाट भएको मतदानको गणना हुने छ । भोट सुरु भएको चार घण्टापछि प्रारम्भिक रुझान सार्वजनिक हुने छ । अन्तिम नतिजा आजै बेलुका ६ बजेभित्र सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

    लोकसभाको नतिजासँगै आजै आन्ध्रप्रदेश र ओडिसा विधानसभा निर्वाचनको नतिजा पनि सार्वजनिक हुने छ । यसअघि विधानसभाका अरुणाचल र सिक्किमको नतिजा सार्वजनिक भइसकेको छ । अरुणाचलमा भाजपा र सिक्किममा प्रेम सिंह तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा अत्यधिक बहुमतका साथ विजयी भइसकेका छन् ।

  • आज सगरमाथा दिवस मनाइँदै

    आज सगरमाथा दिवस मनाइँदै

    काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।

    नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।

    प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल , नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स , ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।

    अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने उल्लेख छ ।

  • हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

    हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समिति बनेसँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाउने सर्वसम्मत पास गर्‍यो ।

    एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा कांग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् । समितिलाई चारबुँदे कार्यादेश र ३ महिना समय दिइएको छ ।

    मंगलबार विहान मात्र कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलले संसदीय विशेष समितिको चारबुँदे कार्यादेश (टीओआर) टुंगो लगाएको थियो । कार्यादेशअनुसार संसदीय समितिले सहकारी संस्थाहरुमा देखिएको संकट, यससँग जोडिएका कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणाालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरेर सुझाव दिनेछ । त्यस्तै समस्यामा परेका सहकारीको बचत रकम सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको वचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायको पनि अध्ययन गरेर सिफारिस गर्नेछ ।

    टीओआरमा आरेन्टललगायत सहकारी विभागले समस्याग्रस्त घोषणा गरेका विभिन्न २० सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीका वचतकर्ताको वचत फिर्ताको प्रक्रिया कहाँ पुगेको छ भन्ने अध्ययन गरी वचत फिर्ताको उपायको सुझाव दिने विषय पनि राखिएको छ । कार्यादेशमा सबैभन्दा बढी विवाद भएको विषय भने चौथो बुँदामा राखिएको छ । यही बुँदामा राखिएको व्यहोराका विषयमा दलहरुबीच लामो छलफल भएको थियो ।

    सहकारीको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरेको भनी संसद र सार्वजनिक रुपमा प्रश्न उठेका भनी विभिन्न ९ वटा सहकारीको नाम उल्लेख गरिएको छ र ती सहकारीबाट गोर्खा मिडिया नेटवर्क र अन्य कम्पनी तथा संस्थामा प्रपवाह भएको रकमको स्थितिबारे अध्ययन गर्ने विषय यो बुँदामा छ ।

    ती सहकारीबाट गैरकानुनी रुपमा रकम लगेको वा नलगेको र गैरकानुनी ढंगले रकम लगेको भए त्यसमा संलग्न व्यक्तिहरुको बारेमा अध्ययन तथा छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरुलाई कारबाहीको लागि सिफारिस गर्ने पनि कार्यादेशमा राखिएको छ ।

    यो बुँदामा उल्लेख भएको सहकारीमा पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला सहकारीको नाम राखिएको छ । त्यस्तै आइडल नमुना, इमेज, समानता र स्वर्णलक्ष्मी सहकारीको नाम पनि राखिएको छ ।

  • आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

    यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ । वि।सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

    वि।सं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि।सं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि।सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

    वि।सं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

    यसैको जगमा वि।सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । वि।सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो ।

    विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

  • सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी

    सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडानमा छ ।

    गत शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका कारण पास भएन । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।


    आज पनि नेपाली कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ । सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक आह्वान गरेका छन् ।

  • कांग्रेसले आज सडक प्रदर्शन गर्दै

    कांग्रेसले आज सडक प्रदर्शन गर्दै

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्ने कार्यक्रम छ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । काठमाडौंका १० क्षेत्रअनुसार क्रमशः उमेशजंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।

    ललितपुरका ३ क्षेत्रमा क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

  • प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । यो सम्भावित कार्यसूची संसद सचिवालयले सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको हो । यो कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ । संसद् सचिवालयका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् । उनीहरूले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव राखेका छन् ।

    नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा एक घण्टा अगावै नाम टिपाउन संसद सचिवालयले भनेको छ । त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक दिनहुँजसो बस्दै आए पनि संसदीय समितिको कार्यादेशमा सहमति जुट्न नसक्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन । आज संसदीय समितिको कार्यादेश टुंगो लगाएर सहज ढंगले संसद बैठक सन्चालन गर्ने तयारी सत्ता पक्षको छ । त्यसैले कार्यदलको बैठक आज पनि बस्दै छ ।

  • आज उभौली पर्व, किराँत समुदायमा मनाइँदै

    आज उभौली पर्व, किराँत समुदायमा मनाइँदै

    काठमाडौं । किराँत राई समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने प्रचलन छ । बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी गाउँ–गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ ।

    गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

    मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।


    किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।

    खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।

  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

    उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।

    सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको छ । त्यसको रणनीति बनाउन कांग्रेसले आज बिहान संसदीय दलको बैठकसमेत बोलाएको छ ।

  • कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै

    कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ ।

    आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

  • संसदीय समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान

    संसदीय समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक पनि चलन नदिने अडान लिएको छ । आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताए ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए । उनले गृहमन्त्री रवि लामिछानेविरुद्ध पर्याप्त प्रमाण रहेको समेत दावि गरे ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, चल्ने–नचल्ने भने अन्यौलमै

    प्रतिनिधिसभाको बैठक बस्दै, चल्ने–नचल्ने भने अन्यौलमै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेलाई तय गरिएको छ। बर्खे अधिवेशन आरम्भ भययता नै संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको छैन। यद्यपि सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम भने प्रस्तुत गरिसकेको छ।

    सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको यस प्रकरणलाई संसदीय छानबिन समिति बनाएर जाँचबुझ गरिनुपर्ने बताउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गरिरहेको छ । शनिबार साँझ सत्तापक्ष र प्रतिपक्षबीच सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन बनाउने सैद्धान्तिक सहमति जुटिसकेको छ।

    समितिको कार्यादेश तय गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति पनि बनेको छ। समितिमा कांग्रेसबाट जीवन परियार, एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका सांसद शिशिर खनाल सदस्य छन्। समितिको बैठक बसेर कार्यादेशबारे टुंगो लाग्नेछ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले अघि सारेको माग सम्बोधन भएकाले आज संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने विश्वास लिइएको छ।

    आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्ने पनि कार्यसूची रहेको छ। त्यस्तै सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूचीसमेत छ।

    आइतबार प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची पनि छ। उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

  • संसदीय समितिको टीओआर आज तोकिने

    संसदीय समितिको टीओआर आज तोकिने

    काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।

    तर समितिको कार्यादेश टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

  • सहकारी ठगीका विषयमा छानविन गर्न समिति बनाउने सहमति

    सहकारी ठगीका विषयमा छानविन गर्न समिति बनाउने सहमति

    काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । समितिको कार्यादेश के हुने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा भोलि विहानदेखि काम हुन्छ’, उनले भने ।

    समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक समिति बनाइएको छ । जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका कानुनमन्त्री गिरीले जानकारी दिए ।

    यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्नेछ । ‘भोलि नै सक्ने गरी काम हुन्छ, उहाँहरुसँग बस्ने सहमति खोज्ने, थप नेताहरुसँग छलफल गर्नुपर्‍यो भने गरेर यसलाई टुंग्याउँछौं’, गिरीले भने । सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए ।

    २८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो ।

  • प्रतिनिधिसभा बैठक आज पनि बस्दै, अन्यौल कायमै

    प्रतिनिधिसभा बैठक आज पनि बस्दै, अन्यौल कायमै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

    सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी रहेपछि लामिछानेले बोल्न पाएनन् ।
    नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् ।

  • आजको संसदको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

    आजको संसदको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

    तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् । सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन सकेको छैन । विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

    विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी राखेपछि लामिछानेले बोल्न पाएका थिएनन् ।

  • प्रधानमन्त्रीले ७ जेठमा पुनः विश्वासको मत लिन

    प्रधानमन्त्रीले ७ जेठमा पुनः विश्वासको मत लिन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिने भएका छन् । उनले ७ जेठमा विश्वासको मत लिने भएका हुन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।


    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

    उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।

  • एमालेले भन्यो : संसदमा ओलीमाथि अपमानजनक व्यवहार गरियो

    एमालेले भन्यो : संसदमा ओलीमाथि अपमानजनक व्यवहार गरियो

    काठमाडौं । नेकपा एमालेले बिहीबार संसदमा कांग्रेस सांसदहरुले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । साथै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु उनलाई रोक्न गएका थिए । त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । त्यतिबेला दुबै दलका सांसदहरुबीच धकेलाधकेलसमेत भयो ।

    बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको बताए । ‘हौसिएर सरकारको रोमा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने असंसदीय व्यवहार गर्नुभयो । हाम्रा संसदीय दलका नेतामाथि अपमानजक व्यवहार गर्नुभयो’, उनले भने, ‘कांग्रेसले आजको संसदमा घोर अलोकतान्त्रिक र असंसदीय व्यवहार प्रदर्शन गर्नुभयो ।’

    कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोजेको भन्दै उनले अगाडि भने, ‘अराजकता मच्चाउने जे काम भयो, यसको एमाले संसदीय दलको तर्फबाट भर्त्सना गर्न चाहन्छु । आगामी दिनमा यसप्रकारका असंसदीय व्यवहार प्रदर्शन नगर्न आग्रह गर्न चाहन्छु ।’

  • प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी

    प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच घम्साघम्सी भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको छ । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । सोही समयमा सत्तारुढ सांसद उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरेका थिए । कांग्रेस सांसद गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गरेका थिए । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे ।

    एमाले अध्यक्ष ओलीले नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई केही भनेको भिडियोमा देखिन्छ । गृहमन्त्रीतर्फ फर्केर नाराबाजी गरिरहेका गुरुङ त्यसपछि ओलीतिर फर्केर नाराबाजी गर्छन् । त्यस क्रममा एमालेका सांसदहरु पनि वेलमा आएर कांग्रेस सांसदहरुसँग धकेलाधकेल गर्दै गृहमन्त्रीलाई रोष्ट्रम जाने बाटो खाली गराउन खोज्छन् । सत्तापक्ष र विपक्षी सांसदहरुबीच धकेलाधकेल सुरु भएपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न आग्रह गरे र संसद बैठक स्थगित गरे ।

  • संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल

    संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ।

    आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन २०८०’पेस गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यसूची छ। उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म उनलाई रोष्ट्रम प्रयोग गर्न नदिने अडानमा छ। कांग्रेसकै अवरोधका कारण गृहमन्त्री लामिछाने यसअघिका बैठकहरूमा बोल्न पाएका छैनन्।

    बुधबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आजको बैठकमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताएका थिए। उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिए एमालेले त्यसको प्रतिवाद गर्ने समेत बताएका थिए।

  • काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

    काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

    काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ। मंगलबार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरू बिगार्न नहुने बताए। उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको बताए।

    उनले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने बताए।बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरूरी रहेको बताए। उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो। जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन। हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौं। राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरून्।’

    सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन्। बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ। यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिएका छन्। बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन्।

  • कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

    कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लागेका हुन् । महोत्सव तीन दिनसम्म आयोजना हुने छ ।

    नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकनमा सहभागी हुने कार्यक्रम तय भएको छ । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक सङ्गठन (युनेस्को) ले नेपालको राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ का रूपमा गत कात्तिकमा सूचीकृत गरिसकेको छ । फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’ को एक सदस्य हो ।

    कान्स नगरका नगर प्रमुख लिसनार्डले बालेनलाई पठाएको निम्तो पत्रमा यस चलचित्र महोत्सवले फिल्मको दुई रचनात्मक सहर काठमाडौँ र कान्सलाई एक ठाउँमा ल्याउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मे १४ देखि २५ सम्म आयोजना हुने यस चलचित्र महोत्सवमा नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड र नेपाली भाषाको फिल्म ‘तारा ः अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएको जनाइएको छ । उक्त महोत्सवमा नेपालबाट कुनै चलचित्र छनोट भएको छैन ।

  • संसदको गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रियता जारी

    संसदको गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रियता जारी

    काठमाडौं । संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सक्रियता कायम राखेका छन् । उनले नेपाली कांग्रेसका नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । उनले मंगलबार बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।

    सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी कांग्रेसले दिएको छ ।

    सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त आज बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्दैछ । त्यसअघि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलमा बसेका हुन् ।सोमबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेसँग पनि छलफल गरेका थिए ।

    छलफलमा लामिछानेले आफूमाथि लागेको आरोपबारे एक पटक संसदमा जवाफ दिन पाउनुपर्ने बताएका थिए । एमाले अध्यक्ष ओलीले भने कांग्रेसको माग अनुसार व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नसकिने बताएका थिए । ओलीको अडान सुनेपछि कांग्रेस संसदीय दलको बैठकपछि फेरि छलफल गर्ने गरी नेताहरु उठेका थिए ।

  • नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कांग्रेसको भूमिका अस्पष्ट

    नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कांग्रेसको भूमिका अस्पष्ट

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । अपरान्ह बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ ।

    संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ । अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

    सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ । संसदमा कांग्रेसको अवरोध जारी छ । सोहीकारण नीति तथा कार्यक्रम के हुने भन्ने अन्यौल जारी छ ।

  • स्वास्थ्य मन्त्रीमा यादव नियुक्त, मन्त्रिपरिषद् बिस्तार

    स्वास्थ्य मन्त्रीमा यादव नियुक्त, मन्त्रिपरिषद् बिस्तार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।

  • संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ। संसदीय दल कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे तय गरिएको छ। संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।

    समसामयिक राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। गत २८ गतेबाट संसद्को बर्खे अधिवेशन सुरू भएको थियो। सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने बताएपछि पहिलो दिनको बैठक नै अवरूद्ध हुन पुग्यो।

    संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष राजी भएको छैन। यसैबीच सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। संसद्को गतिरोध हटाउने विषयमा आज साँझसम्म एउटा निष्कर्षमा पुगिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन्।

  • मधेश प्रदेशमा एमाले र माओवादीका ८ मन्त्रीले दिए राजिनामा

    मधेश प्रदेशमा एमाले र माओवादीका ८ मन्त्रीले दिए राजिनामा

    काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्। दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्। एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

    त्यस लगत्तै भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन सिंह, शिक्षा तथा सांस्कृतिक मन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन मन्त्रालयका राज्यमन्त्री शारदा थापाले राजीनामा दिएका हुन् ।

  • बैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    बैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    काठमाडौं । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

    जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

    प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

  • अमेरिकामा गुन्जिने भयो ब्यान्ड ‘१९७४ एडी’

    अमेरिकामा गुन्जिने भयो ब्यान्ड ‘१९७४ एडी’

    काठमाडौं । लोकप्रिय ब्यान्ड १९७४ एडीले वर्षको पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट अमेरिकाबाट सुरु गर्ने भएको छ । २९ वैशाखमा मिनिसोटाबाट कन्सर्ट यात्रा सुरु हुने ब्यान्डले जनाएको हो । स्थापनाको ३० वर्षमा पुगेको यो ब्यान्ड अमेरिकाको ६ सहरमा गुञ्जँदैछ । कन्सर्टका लागि सदस्यद्वय निराकार याक्थुङ्बा, मनोजकुमार केसी र संजय श्रेष्ठ अमेरिका पुगिसकेका छन् । बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान र मनोज सिंह उतै बसोबास गरिरहेका छन् ।


    सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षक मिलेर स्थापना भएको यो ब्याण्डले सन् २०२४ लाई विशेष वर्षको रूपमा मनाउन धेरैभन्दा धेरै फ्यानहरूसम्म पुग्ने अभियानस्वरुप कन्सर्टको आयोजना गर्ने योजनामा छ । अमेरिकाको कन्सर्ट भने जेठ २६ मा सियाटल सहरमा आयोजनासँगै समापन हुने ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए । अमेरिकापछि जापान, अस्ट्रेलियालगायत देशमा पनि कन्सर्ट गर्ने तयारी भइरहेको संजयले जनाए ।

  • संसदमा कांग्रेसको अवरोध

    संसदमा कांग्रेसको अवरोध

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । शुक्रबार बोलाइएको पहिलो बैठकमा सुरुमै उठेका कांग्रेस सांसदहरु सांसद गगन थापा बोलिसकेपछि नाराबाजीमा उत्रिएकृा थिए । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि सुरु बैठकमा समेत कांग्रेस नाराबाजीमा उत्रिएको थियो ।

    बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिएका थिए । रोष्टममा जान अगाडि बढेका उनलाई कांग्रेस सांसदहरूले रोकेका थिए । त्यसपछि सभामुखले संसद बैठक १ जेठसम्मका लागि स्थगित गरेका छन् ।