Category: कला / साहित्य

  • दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्देशन

    दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्देशन

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । अघिल्लो हप्ता वैशाख ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईलाई निर्देशन दिएको हो ।

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै उजुरी परेपछि यसबारे आवश्यक अनुसन्धान गरेर कारबाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले केन्द्रलाई निर्देशन दिएकी थिइन् । यसैबमोजिम केन्द्रले इकाइलाई परिपत्र गर्दै अनुसन्धान गरेर कारबाही गर्न भनेको हो । शिक्षा मन्त्रालयको यो निर्णयमा शिक्षक, कर्मचारीका संघ, संगठनले बिरोध गर्दै आएका छन् ।

  • एमालले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव पदक’बाट सम्मान गर्ने

    एमालले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव पदक’बाट सम्मान गर्ने

    काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । ललितपुरको गोदावरीमा चलिरहेको एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा प्रतिनिधिहरुले सहमति जनाएका हुन् । प्रस्ताव प्रश्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए ।

    ‘‘पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले गणतन्त्र गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँ’, पोखरेलले बैठकमा प्रस्ताव प्रस्तुत गर्दै भनेका थिए । नेकपा एमालेले सोमवार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ ।

  • एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारबाट

    एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारबाट

    काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरू हुँदैछ। ललितपुर गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे महाधिवेशन परिषद् बैठकको उद्घाटन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो।

    दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी हुनेछन्। जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरू दुई हजार ७३ जना छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनीत गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना र आयोजक गरी दुई हजार ४५४ पुगेको प्रचार विभाग प्रमुख गौतमले बताए।

    आइतबारसम्म चल्ने बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै अनुशासन, लेखा, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने कार्यसूची रहेको छ। एमालेको प्रतिनिधि परिषद् बैठक डिजिटल हुने बताइएको छ।

    मोबाइल एपमा दस्तावेजहरू राखिने र त्यहीँबाट छलफल गर्न सकिने व्यवस्था मिलाइएको महासचिव पोखरेलले जानकारी दिएका छन्। त्यसका अतिरिक्त प्रतिनिधिको नाम दर्ता र ओपिनियन पोलको समेत व्यवस्था गरिएको महासचिव पोखरेलले जानकारी दिएका छन्। परिषद् बैठकमा सहभागी प्रतिनिधिहरूलाई समूहमा विभक्त गरेर छलफल गरिने पनि पोखरेलले बताएका छन्। महाधिवेशन प्रतिनिधि परिषद्ले केन्द्रीय कमिटीलाई निर्देशनसमेत दिन सक्ने निकाय भएकाले सोही अनुसार बैठकले निचोड निकाल्ने पनि महासचिव पोखरेलले जानकारी दिएका छन्।

    यसैबीच एमालेले वैशाख १० गते नेकपा स्थापनाको ७५ औं वर्ष पूरा भएको सन्दर्भमा हीरक महोत्सव आयोजना गर्दैछ। महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन्।

  • सत्तारुढ दलका शीर्ष तीन नेताबीच भेट, के भयो कुराकानी ?

    सत्तारुढ दलका शीर्ष तीन नेताबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे तीन नेताले छलफल गरेका हुन् ।

    बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको बताए । सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भेटघाट गरेका थिए ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सरकार बनाउन खोजेका थिए । तीन नेताबीच यस विषयमा पनि छलफल भएको लामिछानेले बताए । तर प्रदेशमा देखिएका सामान्य समस्याले केन्द्रमा गठबन्धनमा खटपट नआउने उनले बताए ।

  • चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन

    चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन

    काठमाडौं । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ७० वर्षका थिए । उनी केही समयदेखि जण्डिस र निमोनियाका बिरामी थिए । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उनको उपचारमा आर्थिक अभावसमेत देखिएपछि आफन्त र घर परिवारको आग्रहमा साँस्कृतिक परिवारले मंगलबारदेखि नै आर्थिक संकलन अभियान सुरु गरेको थियो । उनको उपचारमा पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

    कास्कीको रूपा गाउँपालिका–५ निवासी उनका श्रीमती, १ छोरा र १ छोरी छन् । शृंगारिक र प्रेमरसले भरिएका उनका चर्चित गजल छन् । उनको कविताकृति ‘अक्षरभरि अक्षता’, गीत संग्रह ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ र गजल संग्रह ‘प्रणयवेदका ऋचाहरू’ प्रकाशित छन् । बुधबार पोखरामा उनको अन्त्येष्टि गरिने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष पौडेलले जानकारी दिए ।

  • मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

    सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

  • नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

    नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

    काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् ।

    अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ ।

    अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि सहजीकरण कार्ययोजना तयार पारेको छ ।

    त्यसलाई कार्यान्वयन गर्न सबै पालिका, विद्यालय तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ । गएको चैत १५ गतेदेखि आवश्यक पाठ्यपुस्तक वितरण शुरु भएको र देशका धेरै ठाउँमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई विद्यालय भर्नाकै समयमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गरिएको छ ।

  • प्रतिनिधिसभा बैठक आज, कांग्रेसले के गर्ला ?

    प्रतिनिधिसभा बैठक आज, कांग्रेसले के गर्ला ?

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको लगायतका विषयमा छलफल हुने बताइएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभाको बैठक पनि वैशाख २ गते बिहान ११ बजे राखिएको छ ।

    संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयकमात्र पारित गरेको छ । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक मात्र पारित भएका छन् ।

  • राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

    राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

    काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज हुने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ। राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा (एमाले)की सांसद विमला घिमिरेलाई अघि सारेका छन्।

    आज बस्ने राष्ट्रिय सभा बैठकमा सांसद् भगवती न्यौपानेलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ। उनलाई निर्वाचित गरियोस् भनेर दुर्गा गुरूङले प्रस्ताव प्रस्तुत गर्नेछिन्।

    राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १—१ सांसदले मत हाल्नेछन्।

  • राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

    राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

    काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारासहित प्रदर्शन गर्दैछ । प्रदर्शनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने छन् ।

    प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो । प्रदर्शनमा सहभागीहरुले निषेधाज्ञा तोड्न सक्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • अनुमति नलिएका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा मन्त्रालयको आह्वान

    अनुमति नलिएका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा मन्त्रालयको आह्वान

    काठमाडौं । अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो । आइतबार एक सूचना प्रेसित गर्दै सूचीकृत नभएका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

    ‘आईबी, सीबीएसई लगायत विदेशी शिक्षण संस्थाको सम्बन्धनमा मन्त्रालयको अनुमति विना विद्यालय सञ्चालन भइरहेका भनी विभिन्न गुनासो आइरहेकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ’ सूचीकृत शिक्षण संस्थाको सूची सार्वजनिक गरिएको सन्देशमा भनिएको छ, ‘यहाँ सूचीकृत विद्यालयहरू बाहेकका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिरहेकाले आफ्ना बालबालिकालाई त्यहाँ भर्ना नगर्न, नगराउनुहुन मन्त्रालयको अनुरोध छ ।’


    अनुमति लिएका ४९ शिक्षण संस्थाहरूमध्ये ३० वटा ए–लेभल (बेलायत), २ वटा इन्टरनेसनल ब्याकलरियट (स्वीट्जरल्याण्ड), १३ वटा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (भारत) र ४ वटा कूटनीतिक नियोगको सिफारिसमा सञ्चालित रहेको मन्त्रालयद्वारा सार्वजनिक सूचीमा उल्लेख छ ।

  • इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

    इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

    इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् ।

    खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् । पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।

  • इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

    इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

    काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए ।

  • उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    काठमाडौं । इलाम-२ र बझाङ १ (१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तापश्चता आजै साँझ नै मनोनयन सूची प्रकाशन हुनेछ । आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिनेछ ।

    २६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन भएपछि २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पाँचबजेसम्म निर्वाचन निह्न प्रदान गरिने कार्यतालिका छ । मतदान २०८१ वैशाखा १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

    इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो भने बझाङमा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो । इलाम-२ मा पहिचानवादीहरूको समर्थनमा डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवासकै छोरा सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङले लगायतले उम्मेदवारी दिंदैछन् ।

    बजाङमा एमालेबाट दमनबहादुर भण्डारी, कांग्रेसबाट अभिषेक सिंहले उम्मेदवारी दर्ताको तयारी गरेका छन् । इलाममा एमालेलाई समर्थन गरेको माओवादीले बजाङमा भने कुनै निर्णय गरिसकेको छैन ।

  • इलाम-२ मा एमालेलाई माओवादीको साथ

    इलाम-२ मा एमालेलाई माओवादीको साथ

    काठमाडौं । इलाम(२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । यो क्षेत्रमा पहिचानवादीहरूको समर्थनमा डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवासकै छोरा सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङले लगायतले उम्मेदवारी दिंदैछन् ।

  • कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो।

    तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक आजका लागि सारिएको हो । सत्ता गठबन्धनको भागबन्डामा कर्णाली प्रदेश एमालेले पाउने सहमति भएको थियो। तर गठबन्धनले भागबन्डाको निर्णय गर्नुअघि नै कर्णालीमा मुख्यमन्त्री शर्माले प्रदेश सभालाई विश्वासको मत लिने सूचना दर्ता गराएका छन् ।


    भागबन्डामा कर्णाली एमालेले लिने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत नलिई राजीनामा गर्न एमालेले आग्रह गरेको थियो। तर मुख्यमन्त्री र माओवादी केन्द्रले विश्वासको मत लिएर एक–दुइ दिनमै राजीनामा गर्ने प्रस्ताव राखेपनि एमाले सहमत नहुँदा मंगलबार विश्वासको मत लिनका लागि तय भएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो।


    एमालेले माओवादीसँग यसमा लिखित प्रतिबद्धता मागेको थियो। उक्त मागमा माओवादी सकारात्मक रहेको माओवादीको कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिएका छन्। ४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सांसद चाहिन्छ। प्रदेशमा एमालेका १० र माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना सांसद छन्। कांग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

  • बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    बागमतीका मूख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । विपक्षमा ३७ जना सांसदले मत दिए । १५ जना सांसद तटस्थ बसे । एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।

    बहुमतका लागि ५६ जना सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदको समर्थन पाए । उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिए ।
    २०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलो पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

  • बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    बागमती प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्थ्यो । त्यसैले गत शुक्रबार नै मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

    ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

  • संवैधानिक परिषद्को बैठक आज बस्दै

    संवैधानिक परिषद्को बैठक आज बस्दै

    काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।


    बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

  • संसद बैठक आज बस्दै, के छ एजेण्डा ?

    संसद बैठक आज बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । सभामुख देवराज घिमिरेको विदेश भ्रमणका कारण १० दिनपछि बस्न लागेको बैठकमा झन्डै आधा दर्जन सम्भावित कार्यसूची छन् । यद्यपि सम्भावित कार्यसूचीमा सभामुखले केही हेरफेर पनि गर्न सक्ने छन् । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सुरुमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।

    त्यसपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने र भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

  • शीर्ष नेताबीच वालुवाटारमा छलफल

    शीर्ष नेताबीच वालुवाटारमा छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो ।

    २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए ।

    संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषदको बैठक आइतबार बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन् । प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषदका सदस्य थिए भने अहिले देउवा सदस्य रहेका छन् ।

  • ज्याकलिन फर्नान्डिज नेपालमा

    ज्याकलिन फर्नान्डिज नेपालमा

    काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । ज्वेलर्सका अध्यक्ष महर्जनले नेपाली गहनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न ज्याकलिनको उपस्थितिले महत्वपूर्ण सन्देश दिने बताए ।

  • थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

    थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

    काठमाडौं । संसद्‌को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यससँगै अब थाईल्यान्डले वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ। उक्त विधेयक कानुन बन्न माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ। यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो दक्षिण पूर्व एशियाली देश बन्नेछ। यो कदमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि तुलनात्मक रूपमा उक्त क्षेत्रको सबैभन्दा उदार मानिने थाईल्यान्डलाई थप खुला बनाउनेछ।

    ूयो समानताको सुरुवात हो। यो हर समस्याको सर्वस्वीकार्य हल होइन तर समानता तर्फको पहिलो पाइला हो,, सांसद तथा तल्लो सदनस्थित वैवाहिक समानतासम्बन्धी समितिका अध्यक्ष न्यानुफोर्न पुनकान्तले विधेयकको मस्यौदा प्रस्तुत गर्ने क्रममा भने। तल्लो सदनमा उपस्थित ४१५ सांसदमध्ये ४०० जनाले उक्त विधेयकको पक्षमा मतदान गरे। त्यो विधेयकले विवाहलाई महिला र पुरुषबीचको भन्दा पनि दुई व्यक्तिबीचको साझेदारीको रूपमा परिभाषित गरेको छ।

    त्यसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूलाई विवाहका कारण पाइने कर छुट सुविधा लिन, सम्पत्ति जोड्न र उपचारका लागि आफ्नो सहयात्रीका निम्ति मञ्जुरी दिन पाउने व्यवस्था गरेको छ। नयाँ कानुन अनुसार विवाहित समलिङ्गी जोडीले सन्तानका रूपमा धर्मपुत्र–पुत्री पाल्न सक्नेछन्।

    तर थाई संसद्‌को तल्लो सदनले बाआमाको साटोमा त्यस्ता जोडीलाई अभिभावक शब्द प्रयोग गर्नुपर्ने भनी समितिले दिएको सुझावलाई स्वीकार गरेन। व्यापक जनसमर्थन हुँदाहुँदै पनि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विगतका प्रयासहरू असफल भएका थिए। गत वर्षको अन्त्यमा गरिएको एउटा सरकारी सर्वेक्षणले त्यसमा सहभागीमध्ये ९६.६ विधेयकको पक्षमा देखिएका थिए।

  • यस वर्षको एसईई परीक्षा आजबाट सुरु

    यस वर्षको एसईई परीक्षा आजबाट सुरु

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

    विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

  • इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ

    इलाम-२ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङ

    काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ’, उपमहासचिव ज्ञवालीले भने ।

    सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

  • समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

    समाजवादीले दीपक मनाङेसँग स्पष्टीकरण सोध्ने

    काठमाडौं । स्वतन्त्र हैसियत मागेको भोलिपल्ट नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । मनाङेलाई मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका थिए ।

    ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । माओवादीले समर्थन फिर्ता लिएपछि फागुन २३ गतेबाट पाण्डे सरकार अल्पमतमा छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७ छन् ।


    एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८ छन् । अहिलेको सत्ता समीकरणअनुसार सरकार बन्न नदिने योजनाअनुसार पाण्डेले एकीकृत समाजवादी त्यागेर स्यतन्त्र हैसियत मागेका मनाङेलाई मन्त्री बनाएका छन् । तर, गण्डकीमा २ सदस्य भएको राप्रपा निर्णायक देखिएको छ ।

    आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारमा नजाने बताइरहेको राप्रपालाई एमाले र कांग्रेस दुबैले फकाइरहेका छन् । राप्रपाले साथ दिइहाल्यो भने पनि पाण्डेका निम्ति बहुमत संख्या ३१ पुग्दैन । यस्तो अवस्थामा नेपाल समाजवादी पार्टीबाट हँसिया हथौडा चुनाव चिह्नमा विजयी फणिन्द्र देवकोटालाई पनि तान्ने योजना पाण्डेको छ ।

  • ज्याकलिन फर्नान्डिज नेपाल आउने

    ज्याकलिन फर्नान्डिज नेपाल आउने

    काठमाडौं । गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् ।

    सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष डायमण्ड कलेक्सन प्रस्तुत गर्ने जनाइएको छ । यो कार्यक्रमबारे सार्वजनिक गरिएको भिडियो सन्देशमा ज्याकलिनले आफू नेपाल आउन लागेकोमा उत्साहित रहेको बताएकी छन् ।

    ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले लोगो पनि सार्वजनिक गरेको छ । आरबीले सोही कार्यक्रममा व्यावसायिक दूतको रुपमा चर्चित कन्टेन्ट क्रिएटर रेहान श्रेष्ठलाई नियुक्त गरेको छ । ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले नेपाली गहनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न ज्याकलिनको उपस्थितिले महत्वपूर्ण सन्देश दिने बताए ।

  • संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै

    संसदमा आज प्रधानमन्त्रीले जवाफ दिँदै

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।
    कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने उल्लेख छ । यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् ।

  • सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै

    सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै

    काठमाडौं । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । उक्त कार्यक्रम शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो । गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

    कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए । कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीका साथै शीर्ष नेताहरूलाई बुझाएको थियो ।

  • साहित्यकार परशु प्रधानको निधन

    साहित्यकार परशु प्रधानको निधन

    काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग २० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिएका छन् ।

    विसं २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा र उपन्यास विधामा कलम चलाउने गरेका थिए । पी।आर। प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना वि।सं। २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो ।

    सुरुमा उनले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाएका थिए । उनका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । उनका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह प्रकाशित छन् । प्रधानले बाल साहित्यमा पनि कलम चलाएका थिए । उनका नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित छन् ।