Category: कला / साहित्य

  • रास्वपा सचिवालय बैठक जारी

    रास्वपा सचिवालय बैठक जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक बसिरहेको छ । सोमबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याललाईं उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले नयाँ मोड लिने देखिएको छ ।

    उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाएको बताएको छ ।

  • राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै

    राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै

    काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यलाई आज शपथ खुवाइदैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको आज पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् ।

    आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो । रिक्त २० मध्ये १९ जना निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् । १९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ ।

    यी हुन् शपथ लिने सदस्यहरू

    रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा ।

    बिदा भएका सदस्यहरू

    गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल ९पार्वती०, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई विमला राई पौड्याल, रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा, नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा र जसपाकी प्रमिला कुमारी ।

  • टीआरसी विधेयक आज टुंगिएला ?

    टीआरसी विधेयक आज टुंगिएला ?

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बोलाइएको छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ । आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ ।

    विधेयकको मस्यौदा प्रतिवेदनका अधिकांश विषयमा दलहरुबीच सहमति भइसकेको छ । विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई आइतबार नै कानुन समितिको बैठकबाट पास गर्ने तयारी थियो । तर कानुन मन्त्री धनराज गुरुङले दलहरुबीच केही विषयमा सहमति जुटाउनका लागि समय मागेपछि बैठक स्थगित गरिएको थियो ।

    यस विषयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले, रास्वपासहितको नेतृत्व र प्रधानसेनापति प्रभुराम शर्मासँग आइतबार छुट्टाछुट्टै छलफल समेत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विगतका अडानमा लचिलो भएपछि विधेयकका मस्यौदा प्रतिवेदनमा सहमति जुटेको हो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने कामलाई आफ्नो प्रमुख कार्यभारको रुपमा लिएको छ ।

  • एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित

    एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालयल बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा समस्या आएको र नयाँ समिकरणमा जानु पर्ने बाध्यता आएको संकेत नेताहरुले बताउन थालिसकेका छन् ।

    यसमा एमालेले आकस्मिक रुपमा बोलाएको सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ । बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका छलफलका विषयमा जानकारी गराएएको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने सम्भावना छ ।

  • काठमाडौंका भित्तामा अब चित्र कोरिने

    काठमाडौंका भित्तामा अब चित्र कोरिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ । सार्वजनिक स्थलमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने महानगरले जनाएको छ । जसका लागि महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता समेत गरेको छ । महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्ते चित्र कोर्ने छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने शाक्यले बताए ।भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ । सम्झौतामा उल्लेख भए अनुसार चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्यांकन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ ।

    यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउने । सम्झौता भएपछि ६० प्रतिशत अर्थात ३० लाख रुपैयाँ र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत, २० लाख रुपैयाँ प्रदान गरिने सम्झौतामा उल्लेख छ । प्रतिष्ठानले कार्ययोजना बनाउँदा सम्झौतामा उल्लेख भएको रकम बमोजिकको बनाउनु पर्ने सम्झौतामा उल्लेख छ ।

    विभागकाअनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन भित्त, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्त लेखनका लागि स्वीकृत भएका छन् । महानगरपालिकाले पुल मुनिको भित्तामा पनि योजना बनाएको थियो तर आफ्नो मातहत नपर्ने भएकोले त्यहाँ भने स्वीकृत नपाएका जनाएको छ ।

  • संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

    संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

    काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदैछ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने परिवार स्रोतले जनाएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतासहितले श्रद्धाञ्जली व्यक्त गरेका छन् । १९९९ साल असोज १६ मा धनकुटामा जन्मिएका आचार्यको सोमबार निधन भएको हो ।

    १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीतमा आवाज दिएका छन् । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील छन् ।

  • भजन शिरोमणी भक्तराज आचार्य रहेनन्

    भजन शिरोमणी भक्तराज आचार्य रहेनन्

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको सोमबार अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । कालजयी गीतका गायक तथा संगीतकार भक्तराज आचार्य ३० वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । यस अवधिमा उनले ठोस खानेकुरा समेत खान पाएका थिएनन् । उनले दूध जस्ता झोलिलो कुरा खाएरै बिताउनु परेको थियो । आचार्यको निधनसँगै नेपाली संगीत क्षेत्रले अग्रज पुस्ताका एक दरिलो धरोहरलाई गुमाएको छ । उनी स्वरसम्राट नारायणगोपाल, प्रेमध्वज प्रधानका समकालीन हुन् ।

    मुटु जलिरहेछ यो मन गलिरहेछ, तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ जस्ता अमर गीतले नेपाली संगितको श्रीवृद्धिमा उनको अतुलनीय योगदान रहेको छ । १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको परिवार त्यस समय पूर्वी नेपालमा महामारी फैलिएपछि भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो । पारिवारिक अवस्था राम्रो नभए पनि गायक बन्ने सपना बोकेर काठमाडौं आएका उनले त्यसपछि भने व्यवसायिक संगितमा रमाउन थालेका थिए ।

    उनको पार्थिव शरिरलाई मंगलबार बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने र ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । सोमबार बेलुका ट्वीट गर्दै राष्ट्रपतिले आचार्यको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । दुःखको घडीमा स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत राष्ट्रपतिले व्यक्त गरेका छन् ।

  • पशुपतिको जग्गा खोज्न समिति गठन

    पशुपतिको जग्गा खोज्न समिति गठन

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन भएको छ । सरकारले पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो ।
    संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोज्न समिति बनाएको हो ।

    मन्त्रालयले आइतबार गठन गरेको समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी छन् । गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छविकालदेखि नै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि कोषले काम अगाडि बढाई सकेको समेत जनाएको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थालिएको समेत कोषले जनाएको छ । पशुपतिनाथको नाममा देशभर जग्गा रहेको र यसलाई व्यवस्थित गर्न समिति गठन गरी काम थालिएको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए ।

  • अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने

    अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने

    अमित शाह, न्युयोर्क ।

    मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका (Mithila Festival USA with Art & Culture Celebration) २०२४ आगामी अप्रिल महिनाको १४ देखि २० तारिखसम्म अमेरीकाको न्यूयोर्क सहरमा आयोजना गरिने भएको छ ।


    आयोजकको घोषणा;
    मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गरनुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (United Nations Sustainable Goals-SDGs) को प्रदर्शन गर्ने हाम्रो यो निरन्तर प्रयास हो। यसवर्षको मिथिला महोत्सव अमेरिकाको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला सम्पदा (Art for SDGs: the Mithila Heritage)” भएकोले दिगो विकास लक्ष्यको लक्ष्य १३ (जलवायु सम्बन्धि कारबाही) लाई केन्द्रित गरि जलवायु परिवर्तन तथा यसका प्रभावहरू, प्रभाव न्यूनिकरण तथा पूर्व चेतावनि दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने सम्बन्धमा सामुदायिक जागरूकता बढाउने तर्फ अग्रसर हुनेछौं ।तसर्थ, यो कार्यक्रममा सहभागी हुन चाहने सबै ईच्छुक कलाकारहरुलाई यस वर्षको मुख्य नारालाई ध्यानमा राखि तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय हाम्रो ईमेल [email protected] मा १६ मार्च २०२४ सम्ममा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।

    प्रथम मिथिला महोत्सव अमेरीका (Mithila Festival USA) सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा Arts for SDGs: the Mithila Heritage शिर्षकमा प्रारम्भिक चित्रकला प्रदर्शनी उच्च सफलताकासाथ सम्पन्न भएकोले हामी उत्साहित भएका छौं र हाम्रो प्रयासलाई निरन्तरता प्रदान गर्न हामी अझ क्रियाशील भएका छौं । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले यु. एस. ए. तथा अन्य राष्ट्रहरूस्थित हाम्रो समुदायले सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा मिथिला सम्पदाबाट हुनसक्ने योगदान बारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ । साथै, मिथिला राजा सलहेश जयन्ति समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धि कार्यक्रमहरू पनि यस वर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।

    दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ, किनकी रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो ।देवी सीता र भगवान रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता(जानकीको नामले पनि चिनिने) को विवाह भारतको अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो । मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो, किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् ।यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेकोछ। यु.एस.ए.मा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास गरेका न्यूयोर्क र न्यूजर्सी सहरहरू हुन् ।

    मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धि ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु (Canvas) माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुका लागि आय आर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

    विगतमाझैं, मिथिला महोत्सव अमेरिका (Mithila Festival USA) २०२४ को पनि सफलतापूर्वक आयोजना गर्न यहाँहरूको सहभागिता, सहयोग , समर्थन तथा सुझाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास लिएकाछौं।

    अन्तर्राष्ट्रिय मातृभाषा दिवसको शुभकामना हित आयोजकले सम्पूर्णलाई कार्यक्रममा निमन्त्रणा गरेको छ ।

  • कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?

    कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?

    काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक आज समापन हँदैछ । आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आज समापन हुने छ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्दैछन् । आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई उदृत गर्दै राससले जनाएको छ ।

    बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमासमूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए । प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिबद्धता’ का साथ बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
    छलफलका क्रममा महासमिति सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्नेलगायत विषयमा आफ्नो धारणा राखेका थिए ।


    महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलस्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्नुपर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्नेलगायत विषयमा सुझाव दिएका छन् ।

    शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदका पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने, जलवायु परिवर्तनको सङ्कटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने, सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्नुपर्ने सुझाव प्राप्त भएको विभागीय प्रमुख विश्वकर्माले बताए ।

  • कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल

    कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज प्रतिवेदनहरुमा छलफल हुँदै छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक बिहान ९ बजे बस्दै छ । अघिल्लो बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल हुनेछ ।

    बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । ती प्रतिवेदनहरुमा आजदेखि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

  • ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी

    ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको ललिता निवासमा बनेका संरचना हटाउन महानगरले सूचना जारी गरेको हो।

    ‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘अतः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ।’

    यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाइने महानगरले बताएको छ। ‘सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकारवालालाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

  • कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव

    कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् ।

    ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छहा, मी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

    उनले आफ्नै संगठनलाई उर्जाशील बनाउँदै नागरिकको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनस्स्थापित गर्ने पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । यसअघि २०७९ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा धेरै क्षेत्रमा गठबन्धन गर्दा कांग्रेसका समर्थक र शुभेच्छुकले आफ्नो चुनाव चिह्नमा मतदान गर्न नपाएको महामन्त्री थापाले बताएका छन् ।

    संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा र नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत हाल्न नपाएको उनले बताएका छन् । ‘यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै, अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्था सृजना भयो’ थापाले भनेका छन् ।

  • सुरु भयो कांग्रेस महासमिति बैठक

    सुरु भयो कांग्रेस महासमिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् ।

    नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् । यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ । बैठकमा दुई हजार बढी प्रतिनिधिहरु सहभागी छन् ।

  • त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस

    त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। प्रा. डा चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा डा. टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस भएको हो। सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

    उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा सर्टलिस्ट मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सिफारिस गरिएको हो। चित्रबहादुर बुढाथोकी त्रिवि शिक्षा संकायका डिन हुन् भने, केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति र टंकनाथ धमला त्रिवि गणित विभागका प्रमुख हुन्।

  • कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन

    कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण पार्टी कमिटी विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशको संगठनका गतिविधिका बारेमा गहन समीक्षा गरेको रास्वपाले जनाएको छ। ‘यस क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

    उनकाअनुसार अभियानमा संसदमा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउने निर्णय भएको छ। आइतबारको बैठकले विभागमा उपप्रमुख र सदस्यहरू पनि मनोनीत गरेको छ।
    केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटालाई मनोनीत गरेको छ। केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा मनोनीत भएका छन्। केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटी सदस्य थपिएका छन्।

    केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेल सदस्यलाई मनोनीत गरिएका प्रवक्तासमेत रहेका ढकालले जानकारी दिए। केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएको पनि उनले बताए। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा सांसद लैजान लागेकमा रास्वपाले त्यसको सट्टा विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरेको छ। ‘सांसद पठाउने भन्ने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सो अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय गरियो,’ ढकालले भने।

  • आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा

    आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ । सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम पनि तय भएको छ ।

    दिवसको दिन फागुन ७ गते नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल बजाएको थियो भने तोप र बन्दुकको बढाईंको कार्यक्रम पनि राखिएको छ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।

    गत गत माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समितिको बैठकले दिवसलाई फागु ६, ७ र ८ गते तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको थियो । बैठकले घर(घरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान समेत गरेको थियो ।

    दिवस मनाउन सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरिएको छ । काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गरिएको छ । साथै सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

    मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने


    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । ९ माघमा जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

    मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन् । नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९\९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ ।

    मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् । महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजायँ पाएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा भने छन् ।

  • प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर


    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ । बैठक ११ बजेका लागि बोलाइएको छ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरुलाई भनिसकेका छन् ।

    संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरुले प्रश्न सोध्ने छन् र ती प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् । प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

    आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची पनि छ ।

  • सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

    सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए।

    सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गरेका छन्। ‘सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ। नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ, राष्ट्रपति पौडेलले शुभकामना भनेका छन्।

    उनले वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गरेका छन्। आजका दिनलाई सरस्वती जन्मोत्सवको रूपमा पनि मनाइने उल्लेख गर्दै उनले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाएको बताएका छन्।

    राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गरेका छन् ।

  • बसन्ती राईको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका

    बसन्ती राईको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका

    न्यूयोर्क ।

    नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाले ५ औं अधिवेशन गत फेब्रुवरी १० शनिबार न्यूयोर्कको क्विन्समा सम्पन्न गरेको छ । अधिवेशनले कलाकार बसन्ती राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    कार्यक्रमको उदघाटन तथा अधिवेशनको प्रमुख अतिथी गायक जगदिश समाल र कार्यक्रम सभापति गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलित गरी शुभारम्भ गरिएका थिए ।

    अधिवेशनले बसन्ती राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा बिमल डॅागी, ५ उपाध्यक्षहरुमा शंकर बिसी, बिक्की पुलामी, राजेन्द्र राई, मधुर गिरी र एट्ना कार्कीलाई सर्वसम्मत चयन गरेको छ ।


    त्यसैगरी महासचिव संगीता थापा मगर, सह–सचिव प्रेम सेन्चुरी, कोषाध्यक्ष नबिन श्रेष्ठ, सह-कोषाध्यक्षमा पुष्पा बस्नेत युवा संयोजक दिलिप श्रीसमगर र मिडिया संयोजकमा पुष्कर बराल सर्वसम्मत चयन भएका छन् ।

    त्यसैगरी बोर्ड सदस्यहरु वीर घर्ति मगर, माया मेलिसा राई, चिनिलाल श्रेष्ठ, दिनेश सुनार र कुमार थापा मगर रहेका छन् ।

    कार्यक्रमको समापन जिपि फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशबराम राई, साहित्यकार गिता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले गरेका थिए ।


    महाअधिवेशनमा पर्यवेक्षकको भूमिका बिष्णु राना मगर, शोभाकान्त पाण्डे र डा. शंकर बिसुन्केले गरेका थिए ।

  • हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती

    हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती

    काठमाडौं । सरकारले हुलाकको संगठन संरचना परिवर्तन गर्दै १६ सय ३६ दरवन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने र हुलाक सेवा अन्तर्गतका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यसअनुसार अब सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुने भएको छ ।

    मन्त्रिपरिषदको निर्णयले हुलाकको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज भएका छन् । सरकारले संगठन तथा व्यवस्थापन(ओ एन्ड एम) सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ६३६ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गरेको हो ।


    चालु आर्थिक वर्ष २०८०–८१को बजेटले सरकारले जिल्ला र इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणाअनुसार जिल्ला र इलाका हुलाक कार्यालयसहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन भएको हो ।

    बजेटले सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउने घोषणा गरेको थियो । बजेट वक्तव्यमा सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्पन्न गर्नुपर्ने भनिएको थियो ।


    सरकारको निर्णयअनुसार हुलाकका खरिदारदेखि अधिकृतसम्मको दरबन्दी कटौती भएको छ । हुलाक सेवामा अहिलेसम्म कुल १७ हजारभन्दा बढी कर्मचारीको दरबन्दी थियो । त्यसमध्ये ६ हजारभन्दा बढी स्थायी दरबन्दी कायम भएकोमा १ हजार ६३६ सय कर्मचारीको दबरन्दी हटेको हो ।

    सरकारले हालका ८६२ वटा इलाका हुलाक कार्यालयहरुलाई पुनर्संचना गर्दै ६७६ स्थानीय तहको मुकाममा एक–एक वटा स्थानीय तहस्तरीय हुलाक कार्यालय स्थापना गर्ने गरी संगठन संरचनजा फेरेको छ । ७७ वटा जिल्ला सदरमुकाममा रहने जिल्ला कार्यालयहरुले सोही स्थानीय तहको हुलाकको काम गर्नेछन् । पुनर्संरचना भएर बन्ने हुलाक कार्यालयहरुमा खारेज भएका इलाका हुलाकसहित विभिन्न हुलाक कार्यालयबाट दरबन्दी व्यवस्थापन गर्ने गरी नयाँ संगठन संरचना बनेको छ ।

  • चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

    चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

    काठमाडौं । पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । असलमले नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नै नेपाल आउँदै छन् । कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले गर्न लागेको हो ।

    आयोजकका अनुसार केही दिनको नेपाल बसाइमा उनले उनले विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गर्नेछन् । सांगीतिक कार्यक्रमका लागि असलम दोस्रोपटक नेपाल आउन लागेका हुन् । उनी यसअघि सन् २०१२ मा दशरथ रंगशालामा भएको सांगीतिक कार्यक्रमका लागि नेपाल आएका थिए । आयोजकका अनुसार असलमको कार्यक्रममा नेपालका अन्य चर्चित कलाकारको समेत सहभागिता रहनेछ ।

  • संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

    संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

    काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।

  • इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

    इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

    काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई दोस्रो लता मंगेश्कर भनी प्रशंसा गर्ने पनि छन् । उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेका छन् ।

    मेनुका सोमबार घर फर्किंदैछिन्। मुम्बईबाट बिहान साढे १० बजे उनी बागडोगरा विमानस्थल ओर्लिने छिन् । मेनुकालाई बाजागाजासहित स्वागत सम्मान गर्न उनका प्रशंसकसहितको टोली बागडोगरा विमानस्थल जाने कार्यक्रम छ । इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दिवारी, सप्तक संगीत विद्यालय झापा लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।

  • हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

    हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी छ । यद्यपि संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ ।

    यद्यपि आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।

    बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने र त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नेछन् ।

  • संसदमा अब विद्युतीय हाजिरी

    संसदमा अब विद्युतीय हाजिरी

    काठमाडौं । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गते देखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो । यस सम्बन्धमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ । संसद सचिवालयका अनुसार विद्युतीय हाजिरीका लागि वानेश्वरस्थित संसद भवनमा बैठक कक्ष बाहिर चार वटा मेसिन राखिएको छ ।

    सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था मिलाइएको छ । विद्युतीय हाजिरीका लागि संसद सचिवालयले दुई जना बाहेकका सांसदको औठाछाप र अनुहारको विवरण संकलन गरिसकेको छ । भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका टेकबहादुर गुरुङ र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेलमा रहेका टोपबहादुर रायमाझीको भने विद्युतीय हाजिरीको विवरण लिइएको छैन ।

  • बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

    बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

    काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा जान महिनामा पाँच दिनको समय पाउने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर प्रस्तुत गरेका थिए । प्रस्तावित क्यालेन्डरमा नियमित रुपमा संसदका गतिविधि रहने उल्लेख छ । सातामा तीन दिन सभाको बैठक चलाउने र तीन दिन संसदीय विषयगत समिति चलाउने प्रस्ताव गरिएको बताइएको छ ।
    यसो गर्दा सांसदहरु निर्वाचन क्षेत्रको गतिविधिसँग जोडिन नपाउने भनी प्रमुख सचेतक र सचेतकहरुले समय छुट्याउनुपर्ने प्रस्ताव गरेका थिए । एक महिनामा ५ दिन निर्वाचन क्षेत्र जान छुट्टी दिने गरी तालिका बनाइएको छ । यसअघि सांसदहरुले संसद चलिरहँदा निर्वाचन क्षेत्रमा हुने गतिविधिमा संलग्न हुन नपाएको गूनासो गर्ने गरेका थिए । त्यसलाई समेत सम्बोधन गरेर संसदीय क्यालेन्डर बनाउन लागिएको हो ।

    संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरू हुँदैछ । यो अधिवेशनमा संसदीय क्यालेन्डर बनाएर लागू गर्ने पनि सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको निर्णय छ । संसदीय क्यालेन्डर लागू गर्ने विषय र संसदीय क्यालेन्डरको स्वीकृति प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले औपचारिक रुपमा गर्नेछ । शुक्रबार बसेको सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले हिउँदे अधिवेशनबाट विद्युतीय हाजिरी लागू गर्ने निर्णय पनि लिएको छ । राष्ट्रिय सभाले भने यसअगाडि देखि नै विद्युतीय हाजिरी गर्दै आएको छ ।

  • कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

    कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उभएको छ ।

    उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।

  • नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइयो, विभागको जिम्मा

    नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइयो, विभागको जिम्मा

    काठमाडौं । चोरी गरेर अमेरिका पुर्‍याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता ल्याइएको छ । यी मूर्ति बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं र १८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो । भैरवका दुई मुकुन्डो दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएर विभिन्न माध्यम हुदै अमेरिकाको डलास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेका थिए ।

    उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भएर ब्रुकलिन म्युजियममा पुगेको थियो । दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग रहेको स्थानबाट चोरी भएर अमेरिका पुगेको थियो । यी कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भए‌को भनी यस विभागवाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएको पुरातत्व विभागद्वारा जारी विज्ञप्तिमा छ ।

    यस अघि बेलायत, अस्ट्रिया, अमेरिका, चीन\तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १४५ थान मूर्तिहरु तथा कलावस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन्। अमेरिका, फ्रान्स, बेलायत, अष्ट्रेलिया जस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरु फिर्ताको लागि कूटनीतिक पहल भइरहेको विभागले जनाएको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या ७२ पुगेको छ ।

    यी कलात्मक वस्तुहरू फिर्ता गराउन अमेरिकाको न्यूयोर्कस्थित नेपाली बाणिज्यदूतावास, अमेरिकाको म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी अफिस न्यूयोर्क, यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन न्यूयोर्क, अमेरिका डलास म्युजियम अफ आर्ट, रुबिन म्युजियम अफ आर्ट, ब्रुकलिन म्युजियम, संस्कृति, तथा पर्यटन नागरिक उड्ययन मन्त्रालय र अर्थ मन्त्रालयले भूमिका खेलेको भन्दै विभागले धन्यवाद दिएको छ । यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवा गुठीले आर्थिक सहयोग गरेको थियो । गुठी प्रति पनि विभागले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरेको छ ।