काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म सिफारिस हुन सकेको छैन ।
संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए। आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्न सक्छ । किनकी श्रेष्ठ वरीयताक्रममा अगाडि छन्।
काठमाडौं । दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको सङ्ख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको जानकारहरूले बताएका छन्। सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ मा बढेर ३५५ पुगेको सरकारी निकायहरूले घोषणा गरेका थिए। उक्त उपलब्धि नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै व्यापक चर्चाको विषय बनेको थियो।
तर सङ्ख्या बढेसँगै बाघ र उनीहरूको वासस्थान रहेका स्थान आसपासमा बस्ने सर्वसाधारणबीच द्वन्द्व पनि चर्किँदैँ गएको घटनाहरू प्रकाशमा आउने गरेका छन् जसको प्रत्यक्ष प्रभाव स्थानीय समुदायमा परेको छ। अधिकारीहरूका अनुसार पछिल्लो गणना पश्चात् वैज्ञानिक रूपमा मूल्याङ्कन नगरिएको भए पनि अप्रत्यक्ष सूचकहरूले सङ्ख्या बढ्दो क्रममा नै रहेको देखाएका छन्।
विज्ञहरू पनि पछिल्ला वर्षहरूको अवस्था र सँगसँगै मृत्युदरलाई नियाल्दा ५० देखि ६० को हाराहारीमा पछिल्लो एक वर्षमा बाघको सङ्ख्या बढेको हुनसक्ने अनुमान गर्न सकिने बताउँछन्। त्यसका कारण आगामी दिनहरूमा बाघ र स्थानीयवासीबीच सन्तुलन कायम गर्नु नै मुख्य चुनौती हुने जानकारहरूको बुझाइ छ।
अधिकारीहरूका अनुसार नेपालमा आर्थिक वर्ष २०७८–७९ मा बाघको आक्रमणबाट २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९(८० मा त्यो सङ्ख्या १२ थियो। चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाउँछ।
‘‘पक्कै पनि यो बाघको सङ्ख्या बढेर हो भनेर अनुमान लगाउन सकिन्छ,’’ पछिल्ला केही वर्षमा बाघबाट हुने आक्रमण तुलनात्मक रूपमा घटेको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले भने। ‘‘तर नेपालको सन्दर्भमा हामीले त्यति धेरै गहन रूपमा अध्ययन गरिसकेका छैनौँ। सङ्ख्या कति हुन्छ, हाम्रो क्षमताले कति धान्ने हो भन्ने विषयमा पनि भरपर्दो अनुमान र अध्ययन अनुसन्धान हुन सकेको छैन।’’
नेपालका प्राकृतिक वासस्थानमा कति बाघ बस्न सक्छन् भन्ने कुरा पर्यावरणीय अवस्था, मौसममा हुने परिवर्तन, प्रत्येक वर्ष फेरिने वासस्थान र सामाजिक परिस्थितिहरूले समेत असर गर्ने हुनाले उक्त विषय अनुमान गर्न कठिन भएको उनी बताउँछन्।
नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटास्थित राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रहरूमा बाघको वासस्थान छ। एक अध्ययनका अनुसार पूर्वका दुई क्षेत्र (चितवन र पर्सा) मा १७५ वटा बाघ बस्न सक्ने देखिएको छ। पश्चिमी भेगमा भने त्यस्तो अध्ययन भई नसकेको अधिकारीहरू बताउँछन्। तर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रकी आयोजना व्यवस्थापक रचना शाहका अनुसार पछिल्लो एक अध्ययन अनुसार नेपालले अझै थप बाघको सङ्ख्या धान्न सक्ने अवस्था देखिन्छ।
कोषका अनुसार सन् २०२२ को गणना अनुसार चितवनमा बाघको सङ्ख्या १२८ देखिएको थियो भने पर्सामा ४१ वटा बाघ देखिएका छन्। एक अध्ययनले चितवनमा मात्रै २०० भन्दा बढी बाघ बस्न सक्ने उल्लेख गरेको कोषले जनाएको छ। बाघसँगै देशको जनसङ्ख्या पनि बढ्दै गएको अवस्थामा राष्ट्रिय निकुञ्जहरूमा भएका अतिक्रमणका कारण पनि समस्या उत्पन्न भएको शाहको बुझाइ छ।
बाघ संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरेको नेपालका लागि अबको सबैभन्दा ठूलो चुनौती ती जनावरको व्यवस्थापन रहेको जानकारहरू बताउँछन्। पछिल्ला दिनहरूमा सङ्ख्या बढेसँगै मानव बस्तीमै आएर बाघले स्थानीयवासी र घरपालुवा जनावरहरूलाई आक्रमण गरेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।
‘‘जहाँ बाघ पाइने वन छ ती क्षेत्रका मानिसहरूको जीवनस्तर निम्न किसिमको छ जस कारण उनीहरू वनमा आश्रित छन्। जीविकोपार्जनका लागि उनीहरू वनमा पटक पटक जानुपर्ने आवश्यकता र अवस्था छ जसले गर्दा यस्ता घटना दोहोरिने गरेका छन्,’’ कार्कीले भने।
यस्ता घटना न्यूनीकरण गर्नका लागि बाघलाई मानव बस्तीमा आउन नदिने, मान्छेको वनमा निर्भरता घटाउने र मानिसहरूको आनीबानी परिवर्तन गर्ने अभियान चलाउन आवश्यक रहेको र त्यस तर्फ केही काम आफूहरूले सुरु गरिसकेको विभागको दाबी छ। कार्कीका अनुसार सन् २०२२ मा विभागले पारित गरेको रणनीतिमा पनि यी विषयवस्तु उल्लेख छन् र चालू आर्थिक वर्षको कार्यक्रममा पनि तीनलाई प्राथमिकतामा राखिएको छ।
‘‘बाघको बानी बेहोरा बुझ्न पनि कठिन छ र त्यो परिवर्तन गर्न पनि कठिन छ। मान्छेको बानी बेहोरा तुलनात्मक रूपमा बुझ्न पनि सहज छ र त्यसलाई परिवर्तन गर्न पनि सहज छ। हामी इन्टरभेन्सन (हस्तक्षेप) गर्न सक्छौँ। त्यसो भएर हामीले अहिले इन्टरभीन गर्ने भनेको मान्छेको बिहेभिअर (आनीबानी) परिवर्तन गर्ने अभियान। त्यो कार्यक्रमलाई धेरै प्राथमिकतामा राखेका छौँ।
विज्ञहरूका अनुसार बाघ र मानिसहरूबीचको द्वन्द्व रोक्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा प्राकृतिक वासस्थानको उचित व्यवस्थापन हो। हाल नेपाल सरकारदेखि विभिन्न दातृ निकाय तथा गैर सरकारी संस्थाका कार्यक्रममा उक्त विषयलाई केन्द्रमा राखिएको कार्की बताउँछन्। वासस्थानबाहेक आहार प्रजातिका जनावरको सङ्ख्या वृद्धि अर्को महत्त्वपूर्ण विषय हो।
‘‘आहार प्रजातिका जनावर पूर्व र पश्चिममा नै फरक पर्छ। त्यसको व्यवस्थापन गर्ने कार्यक्रम पनि हामीले ल्याएका छौँ,’’ कार्कीले भने। शाहका अनुसार आहार पर्याप्त मात्रामा नपाउँदा बाघ वन बाहिर निस्कने सम्भावना बढी रहन्छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा आहार प्रजातिको जनावरको सङ्ख्या पनि पर्याप्त रहेको देखिएको उनी बताउँछिन्। तर नजिकै मानव बसोबासका कारण नै बेलाबेला बाघको आक्रमणमा मानिसहरू पर्ने गरेको उनको बुझाइ छ।
त्यस्तै संवेदनशील स्थानहरूमा रहेका मानव बस्तीमा जनावर नआऊन् भनेर तारबार गर्ने कामहरू पनि गरिएको सरकारी दाबी छ। ‘‘मानिसहरूको जीवनस्तर उकास्ने गरी सिपमूलक तालिमहरू दिने, जीविकोपार्जनका विभिन्न वैकल्पिक उपायहरू सुझाउने गरी सिपमूलक कार्यक्रमहरू सर्वसाधारणहरू समक्ष पुर्याइएको अवस्था छ,’’ कार्कीले भने। शाह पनि सबैभन्दा महत्त्वपूर्ण पाटो जनचेतना नै रहेको बताउँछिन्।
‘‘निकुञ्जहरूमा नछिर्ने, सामुदायिक वनमा पनि निश्चित समयमा मात्रै जाने, जति पनि मापदण्डहरू छ सबै पालना गर्ने हो भने एउटा हदसम्म यो द्वन्द्व हामीले पनि कम गर्न सक्छौँ,’’ उनले थपिन्। बाघबाट हुने आक्रमणका घटनाहरू बढ्दो क्रममा रहे पनि पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्नका लागि पनि बाघको सङ्ख्या वृद्धि गर्नुको विकल्प भने नभएको संरक्षणमा जुटेका अधिकारी तथा विज्ञहरू बताउँछन्। बीबीसी
काठमाडौं । नेपाली कांग्रेसले पार्टी सम्वद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ । बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको छ ।
‘कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अथार्त शारिरीक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अबिलम्ब खारेज गर्ने निर्णय गरिएको छ,’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।
पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृसंस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो। यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने गरी बोलाएका छन् । विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । साउन २ मा बोलाइएको बैठक एकवर्ष पछि बसेको थियो ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न नसकेको बताएका थिए । विधानलाई कार्यान्वयन गर्ने गरि देउवाले असोज २ गते अर्को बैठक बस्ने सार्वजनिक रुपमा भनेका छन् । बैठक अन्त्य गर्दै अर्को मिति देउवाले घोषणा गरेका हुन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले स्मृति दिवस मनाउँदैछन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले पुष्पलाल स्मृति उद्यानमा एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए ।
१९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् ।
काठमाडौं । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरे । इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।
काठमाडौं । संघीय संसद्सहित सातै प्रदेशसभाका सभामुख–उपसभामुखहरूको बैठक चन्द्रागिरिमा सुरु भएको छ । बैठकमा संसद् संचालनको अनुभव आदानप्रदान हुने जनाइएको छ । उद्घाटन सत्रमा धारणा राख्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठकले सभा संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, संघीयता ठीक छैन भन्ने आएको छ । यसलाई कसरी लिनेबारे छलफल हुनेछ । समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउने छ ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफूहरुको भूमिका निष्पक्ष पार्दै संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । संसद्लाई प्रभावकारी कसरी बनाउने, हाम्रो भूमिका निष्पक्ष बनाउनु पर्छ । विधिसम्म्म्त हुनुपर्छ । अनि मात्रै संसद्को विश्वास हुन्छ, उनले भने, सरकारलाई पनि संसद्प्रति जिम्मेवार बनाउनुपर्छ । संसद् सरकारको उपस्थितिले मात्रै प्रभावकारी हुन्छ ।
वाग्मती प्रदेश सभामुख भुवन पाठकले संघ र प्रदेशबीच शक्ति सन्तुलन नमिलेको बताए । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले प्रदेशहरुबीच एकरुपता नभएको उल्लेख गरिन् ।
बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर तथा कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने, गण्डकीकी उपभामुख विनाकुमारी थापा, वाग्मतीकी उपभासमुख अप्सरा चापागाईं, मधेशकी उपसभामुख बविताकुमारी रावत, लुम्बिनीकी मेनुका खाँड केसी र सुदूरपश्चिमकी कोइलीदेवी चौधरी छन् ।
त्यस्तै संघीय संसद् सचिवालयलका महासचिव भरतराज गौतम, प्रतिनिधिसभा र राष्ट्रियसभा सचिव, प्रदेशसभाका सचिवलगायतको पनि बैठकमा उपस्थिति रहेको छ ।
काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।
साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन आज सार्वजनिक बिदा दिइएको छ । आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।
काठमाडौं । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन । पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।
आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । धेरैजसोले साधारण तरिकाले लाइनमा बसेर पशुपतिको पूजा गरे पनि विशेष पूजा गर्नेहरुका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।
साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्छ । काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।
काठमाडौं । विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय छन् ।
शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।
छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालय जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल, पोल्सान मन्टेश्वरी स्कुल, सृजना किण्डर गार्टेन मन्टेश्वरी र हेप्पील्याण्ड चाईल्ड डे केयर, इन्द्रेणी स्कुल, इटहरी नमुना स्कुल, शुनाखरी विद्या मन्दिर र जानकी मन्टेश्वरी स्कुललाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको हो ।
माध्यमिक विद्यालयतर्फ गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, इटहरी चिल्ड्रेन स्कुल, इटहरी मोडल सेकेण्डरी स्कुल, ह्वाइट सोल एकेडेमी र लिटल केयर बोडिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको हो ।
नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए । यसअघि उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउनका लागि सूचना जारी गरेको थियो ।
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाडौं, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिएका हुन् । भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुजयन्तीका अवसरमा आज गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ ।
चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले जानकारी दिएका छन् । चिया प्रविधि पढाइका लागि दुई वर्षै पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ ।
‘यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरुमा चिया प्रविधि सिकाइको अभ्यास हुने बताइएको छ । यसैवर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई यो शिक्षामा सहभागी गराउने लक्ष्य रहेको बताइएको छ । २० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधिमा समावेश गराइने बताइएको छ । चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।
मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीले विनाखर्च अध्ययन गर्न पाउनेछन् । नेपालमा विसं १९२० मा इलामबाट चिया रोपण कार्य सुरु भएको इतिहास छ । तर, अहिलेसम्म देशभरमै कतै पनि चियासम्बन्धी पढाइ भएको छैन ।
काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
साउन पहिलो साता पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन प्रदेशमा कार्यक्रम गर्ने तयारी मोर्चाको छ । समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुने बताइएको छ ।
कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरूङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्। मोर्चाको अघिल्लो बैठकले उनीहरूलाई कार्यादेश दिएको थियो।
मोर्चाको अघिल्लो बैठकले आलोपालो अध्यक्षता गर्ने र नेतृत्व ६–६ महिनामा चक्रीय हिसाबले परिवर्तन हुने निर्णय गरेको थियो। मोर्चाको अहिलेको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्। मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन्। विप्लवबाहेक तीनैवटा सत्ता घटक पनि हुन्।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ ।
त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ । देउवाले बिहान नौ बजे शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई(दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।
गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसबीचमा कांग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो ।
काठमाडौं । सिरिया सरकारले बीबीसीमाथि पक्षपातपूर्ण तथा भ्रामक रिपोर्ट प्रसारण गरेको आरोप लगाएको छ । उसले बीबीसी पत्रकारको मान्यता पनि रद्द गरिदिएको छ । सिरियाको सूचना मन्त्रालयले बीबीसीले व्यवसायिक आचरणको पालनामा चुचेको बताएको छ । हालै ड्रग कारोबारबारे बीबीसीले एक रिपोर्ट बनाएको थियो । जसमा केप्टागोन ड्रगको कारोबार र राष्ट्रपति बशर अल असदको परिवारबीच सम्बन्ध रहेको दावि गरिएको थियो ।
बीबीसीले भने संस्था निष्पक्ष र स्वतन्त्र पत्रकारितामा अडिग रहेको बताएको छ । बीबीसी न्यूज़ अरबले अघिल्लो महिना एक खोजपूर्ण रिपोर्ट प्रकाशित गरेको थियो । जसमा केप्टागोन ड्रगको कारोबारमा सिरियाका सैन्य बलका वरिष्ठ सदस्य र असद परिवारका बीचमा सम्बन्ध रहेको खुलासा गरेको थियो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, नेपाली संस्कृति संरक्षण तथा संवर्धन समितिद्वारा प्रकाशित साहित्यिक कृति “साहित्य-सौरभ” को जुम कार्यक्रमका माध्यमबाट बिहीवार विमोचन गरिएको छ । आचार्य पीपलमणि सिग्देलको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि शहरी विकास मन्त्री माननीय सीता गुरुंग तथा विशिष्ट अतिथि हाउस अफ जनरल असेम्बली डेलिगेट मेरिल्यान्ड राज्य अमेरिकाका माननीय डा. ह्यारी भण्डारीले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको थियो । समितिका संरक्षक एवं अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले दीप प्रज्वलन गरी प्रारम्भ भएको कार्यक्रममा प्रधान सम्पादक राजेन्द्रप्रसाद अर्यालले स्वागत मन्तव्यका साथ विषय प्रवेश गराउनुभएको थियो ! प्रमुख अतिथि माननीय मन्त्रीज्यूले परदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा निरन्तर कृयाशील एनआरएनए अमेरिकालाई बधाई र धन्यवाद दिनुभयो साथै नेपाल राष्ट्र्को सर्वतोमुखी विकासमा हातेमालो गर्न सबैसँग आग्रह गर्नुभयो।
अर्का वक्ता कार्यक्रमका विशिष्ट अतिथि डेलिगेट माननीय डा. ह्यारी भण्डारीले मन्तव्यका क्रममा अमेरिकाको मेरिल्याणड राज्यलगायत अन्य केही राज्यहरुमा नेपाली भाषामा पनि ड्र्ाईभिंगको परीक्षा दिन पाईने भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै उहाँको राज्य मेरिल्याण्डले नेपालीहरुको ठुलो पर्व दशैँमा विदा दिने बिल पास गरेको र स्कूलहरूमा नेपाली संस्कृतिको पनि पढाई सुरू हुन थालेको विषय जानकारी दिनुभयो।समारोहमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, समितिका संरक्षक सर्वज्ञ वाग्ले, अनेसासका अध्यक्ष गोवर्धन पूजा, बिओटिका सभापति पदम विश्वकर्मा, समीक्षक डा़ छत्रपति दाहाल, साहित्यकार निलम कार्की नीहारिका, साहित्यकार एवं फ्रेन्च भाषा विज्ञ हरिहर अर्याल, समाजसेवी परशुराम भण्डारी लगायतका वक्ताहरूले धारणा राख्नु भएको थियो ।
सम्पादक आचार्य चूडामणि पाठकले मंगलाचरण गरी प्रारम्भ भएको कार्यक्रममा सम्पादक कोमल भट्ट र प्रकाश पाण्डेले शुभकामना कविता सुनाउनुभएको थियो । सम्पादकहरू कृष्ण गिरी र गीता बजगाईले संचालन गर्नुभएको समारोहमा साहित्यकारहरु उर्मिला निर्दोषी, मोहन सिटौला, अग्नि पराजुली, मेनका पराजुली, रेवतीराज अधिकारी लगायतले विचार राख्नुभएको थियो । सो कार्यक्रममा साहित्यकार सुदीपभद्र खनाल, वसन्त श्रेष्ठ, डा. ऋषी वस्ताकोटी, तीर्थ अधिकारी, अर्जुन पराजुली, डा. बद्री पोख्रेल, प्रा डा नवराज कट्टेल, उपप्रा. टेकनाथ दाहाल, सम्पादक डा. नीरजमान श्रेष्ठ, गोविन्द श्रेष्ठ, गौतम दाहाल, गोविन्द गिरी प्रेरणा, शरद ढकाल, राजु कोइराला, सरोज अर्याल, आविष्कार भारती, पूर्ण श्रेष्ठ, अयोध्या बाटाजु , लेखनाथ काफ्ले, खिमान्द पोख्रेल, अभिमन पसछे, अर्चना धाख्वा, दिपक थापा , युवराज पोख्रेल, सुरेन उप्रेती, अर्जुन मैनाली , गोविन्द श्रेष्ठ, विश्वराज बास्कोटा, लगायतका अतिथिहरूको उपस्थिति थियो । विशेषतः अमेरिका लगायत विभिन्न मुलुकमा रहेका १२० जना साहित्यकारहरूको सिर्जनाहरू समावेस साहित्य सौरभ कृतिमा २०४ पेजको रहेको छ।
काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६–६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६–६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
‘सामान्यतया यो मोर्चाको ६–६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरुसँग उनले भने ।
यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन । शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । तर त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताए ।
बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् । चार दलले ४ असारमा समाजवादी मोर्चा गठन गरेका थिए । समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसद छन् ।
काठमाडौं । कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्। उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। ३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का गरी अहिले शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन्।
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्। उनी हाल फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसंगै नम्रता श्रेष्ठको मुख्य भूमिका छ।
काठमाडौं । कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ। कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ।
‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९र०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ,’ महानगरले भनेको छ।
क्यूआर स्क्यान गरेर महानगरपालिकाको वेब पेजको सूचना परिपत्र खण्डमा गएर पत्रमा क्लिक गरेपछि खुल्ने पेजको अन्तिममा देखिने फारममा विवरण भर्न महानगरले बताएको छ। यसैबीच काठमाडौं महानगरले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।
‘राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन भइसकेको छ। विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ उसले भनेको छ।
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ ।
प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ । यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ । त्यसैले यदि कसैको सच्याउन पर्ने भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा र सिफारिस लिएर आउनु हुन अनुरोध छ ।’ यदि कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउनको लागि निवेदन दिनुपर्नेछ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार नागरिकता प्रमाणपत्रमा उमेर, नाम र जात संशोधन गर्न सीडीओले संशोधन गर्नुको आधारहरू समेत उल्लेख गरेर संशोधन भएको थर ठहर्ने गरी निर्णय गरेको भन्ने फैसला पर्चा खडा गरी नियमावली अनुसार परीक्षा नियन्त्रण कार्यालयलाई थर सच्याउनको लागि सिफारिस सहित पठाउनुपर्छ । यी सबै प्रमाणहरू जुटाएर एसईईको प्रमाण पत्र पाएको ६ महिना भित्रै बोर्डमा आइपुग्नुपर्ने हुन्छ ।
बोर्डको अनुसार ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ व्यवस्थाबारे विद्यालय, विद्यार्थी, अभिभावक तथा शैक्षिक संघसंस्थाहरू जानकार नहुँदा धेरै विद्यार्थी समस्यामा परेका छन् । तोकिएको समयावधि भन्दा ढिलो सच्याउन आउने विद्यार्थीको संख्या धेरै भए पनि नीति संशोधन नहुँदा विद्यार्थीको समस्या समाधान हुन नसकेको बोर्डले जनाएको छ ।
काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । रविनको फेसबुक पेजबाट उनको मृत्युको जानकारी दिइएको छ । मंगलबार बेलुका यस्तो पोष्ट भएको थियो । जसलाई पारिवारिक स्रोतले पुष्टी गरेको हो । उनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको हो । मृत्युको कारण खुलेको छैन । उनको निधनपछि प्रहरी घरमा पुगेको थियो । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।
उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।
उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।
काठमाडौं । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका- ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनीहरु श्रीमान् श्रीमती हुन् । उनका अनुसार वैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा उनीहरुविरुद्ध जाहेरी दर्ता भएको थियो ।
प्रहरीले सोमबार मात्र उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ । बैतडीमा किस्मती चन्दको नामबाट नागरिकता लिएकी उनले कञ्चनपुरमा भने कलावतीको नामबाट लिएको बुझिएको छ ।
बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर झरेकी चन्दले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाट समेत नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर आफैंले सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यस्तो जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् यसबारे सूचना जारी गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिने मेयर शाहले बताएका छन् ।
‘काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्नेछ, महानगर प्रमुख शाहले उल्लेख गरेका छन् ।
काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् । आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु गरिएको छ । हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरु गरिएको हो । पुरातत्त्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो ।
काठमाडौं –१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् । सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँबाट काठमाडौं उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण मानिस आउने गरेको पाइएको छ ।
प्राचीन सम्पदा भएकाले पुरातत्त्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्धार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिनुभयो । उक्त महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा ठुलो हावाहुरीले क्षति पुर्याएको स्थानीयको भनाइ छ ।
मर्मत तथा जीर्णोद्धारको काम सकिएपछि विशेष विधिअनुसार क्षमा पूजा गरी गजुर पुनः प्रतिस्थापन गरिने जनाइएको छ । चैत्यको आसपास क्षेत्रमा रहेका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ । यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो । रासस
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।
प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सुनाएको हो। ढकाल र शर्मालाई ९(९ वर्ष कैद सुनाएको छ। इजलासले उनीहरूलाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको हो।
उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेको छ। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो।
अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो।
९ वर्षअघि गठित आयोगले कर विवाद फर्छ्यौट गर्ने जिम्मेवारी पाएको थियो। अख्तियारको सुरूको मुद्दा २० अर्ब ९८ करोड रुपैयाँ कर छुट दिने निर्णयबारे थियो। सो मध्ये १० अर्ब दुई करोड रुपैयाँ नियम बमोजिम कर छुट दिएको निष्कर्ष अख्तियारले निकालेको थियो।
बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ थियो। अख्तियारले दुई वर्षअघि पनि उनीहरूविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दा चलाएको थियो। उक्त मुद्दामा पनि कसुर कायम हुने ठहर विशेष अदालतले गरेको छ।
काठमाडौं । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।
प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्तीलाई पनि पक्राउ गरेको छ । डीएसपी गौतमका अनुसार ज्ञानबहादुरले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी राखेर नाति विवेकलाई छोरा हो भन्दै जन्मदर्ता प्रमाणपत्र बनाएका थिए ।
जन्मदर्ताको आधारमा वडा कार्यालयले विवेकको नागरिकताको लागि सिफारिस गरेको थियो । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट विवेकले नागरिकता लिएका थिए । नातिलाई छोरा बनाएर नागरिकता बनाइदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।
मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने उनले बताए ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर शाहले चेतावनी दिएका हुन् । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले काठमाण्डौ महानगरभित्रका सबै विद्यालयहरुमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । यदि कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने उनको चेतावनी छ । उनले विद्यालयमा उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन अनुसार पदबाट हटाउने र कक्षा सञ्चालनको पहल नभएमा विद्यालय व्यवस्थापन समिति विघटन गर्ने चेतावनी दिएका छन् ।
उनले नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको स्मरण गराउँदै विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू गर्न नहुने बताए । यस्तै, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी पक्राउ गर्न लगाएर लगाएर फौजदारी मुद्दा चलाउन पहल गरिने पनि मेयर शाहले चेतावनी दिए ।
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानी सत्रमा प्रदर्शन रोकेका छन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शो नगरेनन् ।
फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ । सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् ।
सोही निर्देशनको पालना गर्दै हलहरुले प्रदर्शन रोकेका छन् । बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातीसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट विक्री भैसकेको थियो ।
काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।
मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए । उनले तीन दिनको डेट तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो । तर, नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।