१ फागुन, काठमाडौं । प्रशासनको निषेधाज्ञा तोड्दै आज पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । विमानस्थलबाट बाहिर निस्किएका ज्ञानेन्द्रले गाडीबाट निस्किएर समर्थकको अविभादन स्वीकार गरेका छन् ।
उनी समर्थकको र्यालीसङ्गै निर्मल निवासतर्फ लागेका छन् । काठमाडौं विमानस्थलको गेट अगाडि सयौ समर्थक जम्मा हुदा सो भेगको यातायात प्रभावित बनेको छ । साथै विमानस्थल पुग्नुपर्ने यात्रु समेत समस्यामा परेका छन् ।
कास्की, १ फागुन । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे पनि सफल भएको थिएन । सडक किनार, चोक, बिजुलीका पोलको वरिपरिमात्र नभई मुख्य सडकमै फोहर थुप्रो लागेपछि बजारमा दुर्गन्धसमेत फैलिन थालेको छ ।
महानगर प्रमुख धनराज आचार्यले बिहीबार साँझदेखि क्रमशः फोहर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएको बताए । उनले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विर्सजन नगर्नसमेत आग्रह गरेका छन् ।महानगरले फोहर उठाउन सुरु गरे पनि कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने खुलाएको छैन ।
“पोखरा महानगरपालिका तत्कालीन, अल्पकालीन, अस्थायी तथा स्थायी रूपमा फोहर व्यवस्थापनको काममा सक्रिय रूपमा लागिरहेको र तत्कालका लागि केही प्रबन्ध गरेका छौँ । गाडी नआउँदासम्म कृपया धैर्यतापूर्वक पर्खनुहुन अनुरोध गरेका छौँ, धेरै दिनदेखि सङ्कलन भएका फोहर भएकाले सुरुका एकदुई दिन केही बढी चाप हुनसक्छ तर सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विसर्जन नगर्नुहोस् भन्ने अपिल नगरवासीसँग गरेका छौँ”, महानगर प्रमुख आचार्यले भने ।
प्रमुख आचार्यले शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहरमैला उठाइसकिने उल्लेख गरे । महानगरले जथाभावी सार्वजनिक स्थानमा फोहर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्नेसमेत जनाएको छ । पोखरामा जेनजी आन्दोलनका क्रममा भारी मात्रामा फोहर निक्लेपछि लामेआहालको ल्यान्डफिल साइट नै भरिएकाले फोहर व्यवस्थापनमा समस्या निम्तिएको हो । महागनरले यसबीचमा धेरै स्थानमा फोहर व्यवस्थापनको स्थान खोजी गरे पनि स्थानीयको विरोधका कारण सफल हुनसकेको थिएन ।
महानगरले फोहर व्यवस्थापनमा सहयोग गर्न बुधबार सरोकारवालाहरूको सर्वदलीय र सर्वपक्षीय बैठक आह्वान गरेको थियो । बैठकमा ७२ घण्टाभित्र पोखरा महानगरको फोहर उठाउने र दलहरूले सहयोग गर्ने सहमति भएको थियो । महानगरले पोखरा–३३ मा फोहर प्रशोधन केन्द्र निर्माण गरी फोहरको स्थायी समाधानको प्रक्रिया अघि बढाएको छ । तर स्थानीयवासी विरोधमा उत्रिएका छन् ।
स्थानीयको विरोधका कारण प्रशोधन केन्द्र निर्माणको अन्य काम अघि बढ्न सकेको छैन । महानगरले समन्वय र सहमतिबेगर निजी कम्पनी छनोट गरी फोहर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।
काठमाडौँ, १ फागुन । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही प्रदर्शन, भेला र र्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवं सूचना र सामाजिक सञ्जालका विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।
यस प्रकारका प्रदर्शन, र्याली, भेलाजस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अनुमति लिनुर्पेमा कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्वस्वीकृति लिने कार्य नगरेको पनि उनले बताए । उनले एक सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचनविरोधी भनिएका समूहसमेतको घुसपैठ हुनसक्ने सम्भावना रहेको पनि बताए ।
काठमाडौँ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवं सांस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रूपमा सम्पन्न गर्न, अन्तरराष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासका क्षेत्रसमेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवं सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक सङ्कुचन हुनेगरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हड्ताल, र्याली, भेला हुनेजस्ता कार्य नगर्नरनगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउनेजस्ता गतिविधि नगर्नरनगराउन जानकारी गराइएको छ ।”
निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानुनविपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जानकारी गराएको छ ।
रुकुमपूर्व, १ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुगेका छन् ।
विसं २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आएका हुन् । रुकुमपूर्व जनयुद्धको उपलब्धि सङ्घीयतापछि बनेको कान्छो जिल्ला हो । सङ्घीयताले जन्माएको रुकुमपूर्वबाट उनी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । भूमे गाउँपालिका–२ खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवसमा नेकपाका संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्नुहुने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुमले जनाएको छ । रुकुमपूर्वमा २५२ जना सहिद छन् ।
क्रान्ति र शान्ति सुरुआत गर्ने रुकुम
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा ९माओवादी०ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीको कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरुआत गरेको थियो ।
जनयुद्ध अगाडि बढाउन माओवादीले रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायत जिल्लालाई आधार इलाका बनाएको थियो । रुकुमपूर्वलाई आधार इलाका बनाउन जिल्लामा रहेका प्रहरी कार्यालयहरूमाथि चरणबद्ध आक्रमण गरेर सफलता पाएको थियो । विसं २०५३ वैशाख २३ मा उपल्लो सेराको छेरावाङमा माओवादीले एक प्रहरीको ज्यान जाने गरी प्रहरीलाई पहिलोपटक एम्बुस धरापमा पारेको थियो । विसं २०५४ माघ १६ गते क्युवाङमा एम्बुस आक्रमण गरेर माओवादीले नेपालमै पहिलोपटक थ्रीनट राइफल कब्जा गरेको थियो ।
माओवादीले २०५६ असोज ५ महतमा रहेका प्रहरीमाथि आक्रमण गरेर कब्जा गर्नुका साथै प्रहरी नायब उपरीक्षक ठूले राईसहितका प्रहरी जवानहरूलाई नियन्त्रणमा लिएको थियो । राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी थिए । माओवादीले आफ्ना शीर्षनेता देव गुरुङसँग राईलाई साटफेर गरेको थियो । विसं २०५७ चैतमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो । त्यस आक्रमणमा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो ।
विसं २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । विसं २०६२ असोजमा रुकुमको चुनवाङमा बसेको तत्कालीन नेकपा ९माओवादी०को केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो ।
माओवादीको चुनवाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीति दलबीच १२ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य हुनुका साथै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भई शान्ति स्थापना भएको थियो ।
क्रान्ति र शान्ति स्थापनाको सुरुआत भएको रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । आज जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महतगाउँ र बाबुराम भट्टराईलाई कारबाही गर्नेगरी बैठक बसेको लावाङगाउँको भ्रमण गर्नेछन् । उनले ती गाउँमा जनभेटघाट गर्नेछन् । प्रचण्ड आजै चुनवाङ पुग्नुहुने कार्यक्रम छ ।
जलेश्वर (महोत्तरी), २९ माघः महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा गाउँमा आज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ । आज दिउँसो रोटाभेटरले काटेर स्थानीय इमरान राइनकी छोरी सात वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी आठ वर्षीया रफियाखातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
ज१त ९७८२ नम्बरको ट्याक्टरमा बसाएर स्थानीय गरिब आलमको खेत जोतिरहेका बेला अचानक दुवै बालिका रोटाभेटरमुनि खस्दा घाँटी काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता भट्टले बताए ।
मध्यविन्दु (नवलपरासी), २९ माघः नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली–१४ का १४ वर्षीय रिप्सन सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
गम्भीर घाइते देवचुली–१४ कै १३ वर्षीय रिजन धितालको चितवनमा उपचार भइरहेको छ । पूर्वपश्चिम राजमार्गमा कावासोतीबाट रजहरतर्फ आउँदै गरेको बा २१ च ५१६८ नं को जिपले विद्यालयबाट साइकलमा घरतर्फ जाँदै गरेका दुवै जनालाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेख, २९ माघः दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो । दुल्लू अस्पताल नजिकै भएको उक्त घटनामा सङ्लग्न रहेको अभियोगमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ । तीनै जनाबीच विवाद भएपछि उक्त घट्ना घटेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि फरार भएका दुवैजनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढाको चामुण्डाको जङ्गलबाट नियन्त्रणमा लिएको हो ।
सोलुखुम्बु, २९ माघः प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन् । हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् । उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।”
प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उहाँले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिइन् ।
जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिइन् । हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न उनले निर्देशन दिइन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गरेको अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । जिल्लामा १२३ मतदानस्थल छन् ।
यसमा सातवटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताइन् ।
काठमाडौँ, २९ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।
तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
काठमाडौँ, २८ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो । सोही सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुमगनकर्ताका रुपमा तोकेको थियो । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ ।
आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोरकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागेको हो ।
काठमाडौँ, २८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ ।
देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागको मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनुका साथै तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषण पनि कायमै रहने देखिएको बताएको छ । प्रतिकूल मौसममा सुरक्षित रहन महाशाखाले सर्वसाधारण तथा सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।
रामेछाप, २७ माघः रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए । मृतक दुई जनको सनाखत हुन बाँकी रहेको उनले बताए ।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार उक्त दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका थिए । घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।
२७ माघ, काठमाडौं । काठमाडौंबाट ओखलढुंगा छुटेको यात्रुवाहक बस रामेछापमा दुर्घटनामा परेको छ । रामेछापस्थित तामाकोसी नदिमा बस खस्दा भएको दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार दुर्घटना लगत्तै सुरक्षा निकाय र स्थानीय उद्दारमा जुटेका छन् । ६ जनाको उपचारका क्रममा मृत्यु भएको र तीन जनाको शव फेला परेको प्रहरीले बताएको छ । प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको बस नदिमा खसेको हो । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । पुरै विवरण आउन बाकी छ ।
वीरगन्ज (पर्सा), २७ माघ । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए । “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ”, उनले भने, “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्नेछौँ ।”
संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सो ठाउँबाट सशस्त्र प्रहरीले करिब रु १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।
काठमाडौँ, २७ माघ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ ।
देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरोको सम्भावना रहेको तथा तत्काल वर्षा हुने सम्भावना नरहेकाले तराई भूभाग र उपत्यकामा वायु प्रदूषण पनि रहिरहने भएकाले प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ ।
त्रिशूली (नुवाकोट), २६ माघः भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले ४१ वर्षीया गङ्गामाया तामाङको घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा आज त्रिशूली अस्पचालमा निधन भएको जानकारी दिए ।
उनका अनुसार ल्होसार पर्व मनाउन आफन्तको घरमा पाहुना गएकी तामाङले शनिबार भोजमा खानासँगै कुखुराको मासुसँग खाने क्रममा घाटीमा हड्डी अड्किएको थियो । घटनालगत्तै उपचारका लागि अस्पताल पु¥याएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामाले बताए । हाल काठमाडौँको स्वयम्भूमा बस्दै आएकी तामाङ ल्होसार पर्व मनाउनको लागि यही शुक्रबार मात्रै तारकेश्वर–५ गोस्र्याङस्थित दिदीको घरमा आएकी थिइन् ।
काठमाडौँ, २६ माघः राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन गरेको यो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो ।सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको १ वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रति एक हजार जीवित जन्ममा ३१ रहेको छ । नवजात शिशु मृत्युदर हेर्दा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको एक महिनाअघि नै मृत्यु हुने गरेको देखिएको छ ।
प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ र सबैभन्दा कम बागमती प्रदेशमा १० रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३८ र बागमती प्रदेशमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४८ र गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको छ ।
प्रतिवेदनअनुसार ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर पहुँच पुगेको छ । प्रदेशगत रूपमा विद्युत् पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा ९९ दशमलव ५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव ८ प्रतिशत रहेको छ । टेलिफोन सेवातर्फ हेर्दा ९५ दशमलव पाँच प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोनको पहुँच रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९७ दशमलव एक प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२ दशमलव छ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको देखिन्छ । प्रत्येक पाँचमध्ये चार घरपरिवार अर्थात् ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने गरेको पाइयो ।
अध्ययन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्यदेखी दशमलव छ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ, भने ७२ दशमलव सात प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल प्रयोग गरेका छन् । सोही उमेर समूहका पुरुषमध्ये ९० दशमलव चार प्रतिशतसँग मोबाइल फोन रहेको र ७८ दशमलव ७ प्रतिशतले हालै मोबाइल प्रयोग गरेको देखिएको छ ।
सर्वेक्षणअघि एक महिनामा १५ देखि ४९ वर्ष उमेर समूहका पाँच दशमलव एक प्रतिशत महिलाहरु र ४१ दशमलव आठ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । त्यस्तै, १५ वर्षअगाडि नै सात दशमलव छ प्रतिशत पुरुष र दुई दशमलव एक प्रतिशत महिलाले चुरोट वा बिँडी सेवन सुरु गरेको देखिएको छ ।
कूल प्रजनन दर अनुसार प्रति महिला औसत एक दशमलव नौ जीवित सन्तान जन्मिने गरेको देखिएको छ । १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा प्रति एक हजार किशोरीमा ४८ जीवित जन्म भएको छ भने २० देखि २४ वर्ष उमेर समूहका ११ दशमलव दुई प्रतिशत महिलाले १८ वर्षभन्दा अगाडि नै सन्तान जन्माएको पाइएको छ ।
हालै विवाहित १५ दशमलव ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् भने ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् । सर्वेक्षणभन्दा दुई वर्षअघिसम्म सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । त्यस्तै, ९० दशमलव पाँच प्रतिशतले स्वास्थ्य संस्थामा, ९१ दशमलव चार प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५ दशमलव तीन प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएका छन् ।
पाँच वर्षमुनिका बालबालिकामध्ये २४ दशमलव तीन प्रतिशत तौल कमी ९लिखुरे० र ३१ दशमलव पाँच प्रतिशत उचाइ कमी ९पुड्को० रहेका छन् । सात दशमलब छ प्रतिशत ख्याउटे र दुई दशमलव छ प्रतिशत बढी तौल भएका बालबालिका देखिएका छन् । लिखुरे बालबालिका सबैभन्दा बढी मधेस प्रदेशमा ९३३।२ प्रतिशत० र सबैभन्दा कम बागमती प्रदेशमा ९९।६ प्रतिशत० रहेका छन् ।
तीन आमामध्ये दुई आमाले अर्थात् ६९ दशमलव ७ प्रतिशतले छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने गरेको पाइयो । यो दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ७६ दशमलव छ प्रतिशत रहेको छ । त्यस्तै १२ देखि २३ महिनाका बालबालिकामध्य ८० दशमलव सात प्रतिशतले पहिलो वर्षमै सबै खोप पूरा गरेका छन् । सर्वेक्षण भन्दा दुई साता अघि सम्मको अवधिमा सात दस आठ प्रतिशत बालबालिकालाई झाडापखाला लागेको र तीमध्ये २० दस्जमलव छ प्रतिशतलाई जिङ्क र पुनर्जलीय झोल खुवाइएको देखिन्छ ।
यो अध्ययन अनुसार ३६ देखि ५९ महिनाका बालबालिकामध्य ५७ दशमलव ९ प्रतिशत प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी भएका छन् ।आधारभूत तह (कक्षा १–५) मा ४ दशमलव ५ प्रतिशत, कक्षा ६–८ मा ३दशमलव ६ प्रतिशत र माध्यमिक तह (९–१२) मा १३ दशमलव २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । त्यस्तै पाँच वर्षमुनिका बालबालिकाका ८५ दशमलव चार प्रतिशत जन्मदर्ता भएको छ । यो दर कर्णाली प्रदेशमा सबैभन्दा बढी ९५ दशमलव ८ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ७८ दशमलव ४ प्रतिशत रहेको छ ।
नेपालको ९८ दशमलव दुई प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरेको भए पनि ६० दशमलव ४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको छ । त्यस्तै ९२ दशमलव चार प्रतिशतले सुधारिएको चर्पी प्रयोग गरेका छन् भने ८६ दशमलव चार प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ ।
स्वास्थ्य बिमातर्फ हेर्दा १५ देखि ४९ वर्ष उमेर समूहका १७ दशमलव आठ प्रतिशत महिला र १९ दशमलव छ प्रतिशत पुरुष बिमामा आबद्ध छन् ।यो बहुसूचक सर्वेक्षणले सङ्घीय तथा प्रदेश तहका योजना तर्जुमा, नीति निर्माण, दिगो विकास लक्ष्यको अनुगमन तथा बहुआयामिक गरिबी मापनका लागि महत्वपूर्ण तथ्याङ्कीय आधार प्रदान गर्ने विश्वास लिइएको छ ।
सर्वेक्षणका क्रममा देशभरका ५४० गणना क्षेत्रबाट १२ हजार ९६० परिवार छानिएका थिए । यसमा महिला, पुरुष, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र खानेपानीको गुणस्तरसम्बन्धी विवरण सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
मध्यविन्दु (नवलपरासी), २६ माघः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको प्ररही उपरीक्षक खड्काले बताए । गम्भीर घाइते भएका खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो । दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नं को मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते छन् । प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
खोटाङ, २५ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको स्थानीयवासी वीरबल किरातीले जानकारी दिए । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।
बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए । स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि शिविरमा आउनेजानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था मिलाइएको हो ।
भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिइन् । “शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ । विवाह भोज खाएका सबै बिरामी भएका छन्”, उनले भनिन्, “विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ ।”
केही उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीहरूले बताएका छन् । भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले बताए । “विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल सङ्कलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाडौँ गएका एक बिरामीलाई टेकु पठाएका छौँ”, उनले भने, “फुडपोइजनले धेरै दुर्घटना हुनसक्छ । जन्तेढुङ्गामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले घटना नहोला भन्नेमा हामी विश्वस्त छौँ ।”
बिरामी चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । प्रभावित क्षेत्र बाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।
भोजपुर, २५ माघ । स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएका छन् । खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला तथा देशका विभिन्न स्थानबाट आउने खेलाडी र खेलप्रेमीको उपस्थितिले यहाँको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको स्थानीयवासीले बताएका छन् ।
खेलकुदलाई पर्यटन प्रवर्द्धनको आधार बनाउँदै जिल्लाको पौवादुङमा गाउँपालिकाले हालै तेस्रो पौवादुङमा गोल्डकप तथा माघी मेला सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगिता तथा मेलाका कारण जिल्लाभित्र र बाहिरबाट आएका आगन्तुकको उपस्थितिले स्थानीय पर्यटन र व्यवसायमा सकारात्मक प्रभाव पारेको छ ।
गोल्डकप तथा माघी मेलाका अवसरमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो । घरेलु कृषि उपज, हस्तकला सामग्री तथा परम्परागत खानाका स्टलहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए । यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नुका साथै किसान र उद्यमीलाई प्रोत्साहन मिलेको गाउँपालिकाले जनाएको छ ।
स्थानीयस्तरमा सञ्चालन हुने यस्ता खेलकुद प्रतियोगिता तथा सांस्कृतिक मेलाले रोजगारी सृजना, आर्थिक गतिविधि विस्तार र गाउँको पहिचान निर्माणमा योगदान पुर्याउँदै आएका छन् । स्थानीयवासीले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
शुक्रबार सम्पन्न गोल्डकप तथा माघी मेलामा सहभागी हुन गाउँपालिकाका विभिन्न वडासहित छिमेकी जिल्ला तथा देशका अन्य स्थानबाट खेलाडी, प्रशिक्षक, दर्शक र खेलप्रेमीको बाक्लो उपस्थिति देखिएको थियो । प्रतियोगिता अवलोकनका लागि बाहिरबाट आएका आगन्तुकका कारण होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए । “यस्ता प्रतियोगिता हुँदा बाहिरबाट धेरै मानिस आउँछन्”, उनले भने, “यसले खेलकुदसँगै गाउँको चिनारी बढाएको छ । होटल तथा व्यापार व्यवसायलाई पनि फाइदा पुगेको छ ।”
खेलकुद क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पौवादुङमा गाउँपालिकाले विगतका वर्षदेखि नै पौवादुङमा गोल्डकप तथा माघी मेला आयोजना गर्दै आएको छ । गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय सम्भावना उजागर गर्ने र गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने रणनीति लिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । खेलकुद र संस्कृति जोडिएका कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ”, अध्यक्ष राईले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउने योजना छ ।”
काठमाडौँ, २४ माघः इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
सेरिका थापा २४ माघ, काठमाडौं : सुनचाँदी बजारले पछिल्ला महिनाहरुमा इतिहासमै बिरलै देखिएको मूल्यको उचाइ छोएको छ । तोलाको तीन लाख रुपैयाँ नाघ्दै साढे तीन लाखतर्फ उन्मुख सुनको भाउले बजार मात्र होइन, समग्र नेपाली समाजलाई नै गहिरो प्रभाव पारेको छ । ‘अब सुन किन्न सकिएला त ?’, ‘यहीं रोकिएला कि अझै बढ्ला ?’, ‘विवाह, संस्कार कसरी गर्ने ?’ यस्ता प्रश्नहरु आज शहरदेखि गाउँसम्म, धनीदेखि मध्यम र गरिब वर्गसम्म उस्तै गुञ्जिरहेका छन् ।
नेपाली समाजमा सुन केवल धातु होइन । यो संस्कार हो, परम्परा हो, सामाजिक सुरक्षाको माध्यम हो र कठिन समयको सहारा पनि हो । तर, आज यही सुन नेपाली नागरिकको पहुँचभन्दा टाढिँदै जाँदा यसको मूल्यवृद्धिले आर्थिकभन्दा बढी सामाजिक र सांस्कृतिक बहस जन्माइरहेको छ ।
किन बढ्यो सुनको भाउ ? सुनको मूल्य वृद्धिलाई केवल माग–आपूर्तिको सामान्य नियमबाट बुझ्नु अपूरो हुन्छ । यसको जरो अन्तर्राष्ट्रिय राजनीति, विश्व अर्थतन्त्र र लगानीकर्ताको मनोविज्ञानसँग गहिरो रुपमा गाँसिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार हालको मूल्यवृद्धि विश्वव्यापी अस्थिरताको प्रत्यक्ष परिणाम हो ।
‘सुन सधैं सुरक्षित लगानीको प्रतीक मानिन्छ,’ उनी भन्छन्, ‘अहिले ग्रीनल्याण्ड, भेनेजुएला, इरान, युरोप र अमेरिकाबीचको टकराव, युद्धको सम्भावना, आर्थिक मन्दीको डर र मुद्रा अवमूल्यनले गर्दा विश्वभरका लगानीकर्ता जोखिमयुक्त क्षेत्रमा पैसा राख्न चाहँदैनन् । त्यसैले उनीहरु सुनतर्फ आकर्षित भएका हुन् ।’ विश्व बजारमा जब अनिश्चितता बढ्छ, लगानीकर्ता शेयर, बण्ड, क्रिप्टो जस्ता जोखिमयुक्त साधनबाट हटेर सुन जस्तो भौतिक र स्थिर सम्पत्तिमा पैसा सार्छन् । यही मनोविज्ञानले अन्तर्राष्ट्रिय बजारमा सुनको माग आकासिएको छ, जसको असर सिधै नेपालसम्म आइपुगेको छ ।
केन्द्रीय बैंकहरु नै सुनतर्फ फर्किंदै पछिल्ला वर्षहरुमा सुनको माग व्यक्तिगत लगानीकर्ताबाट मात्र होइन, राष्ट्र–राज्यहरुबाट पनि बढिरहेको छ । धेरै देशका केन्द्रीय बैंकहरुले अमेरिकी डलरमा रहेको आफ्नो विदेशी मुद्रा सञ्चिती घटाएर सुनको भण्डारण बढाइरहेका छन् । डलरको दीर्घकालीन स्थायित्वप्रति बढ्दो शंका, विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन र आर्थिक नाकाबन्दीको डरले देशहरुलाई सुनतर्फ उन्मुख गराएको विश्लेषकहरुको बुझाइ छ ।
जब केन्द्रीय बैंक जस्ता ठूला खेलाडी नै बजारमा प्रवेश गर्छन्, त्यसको प्रभाव मूल्यमा पर्नु स्वाभाविक हुन्छ । ‘अहिलेको अवस्थामा सुनको मूल्य कहिले ‘ब्याक’ हुन्छ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन,’ वज्राचार्य भन्छन्, ‘अवस्था सामान्य नहुँदासम्म यस्तै ट्रेन्ड रहन सक्छ ।’
नेपाली बजार : भाउ बढ्यो, कारोबार घट्यो अन्तर्राष्ट्रिय बजारमा सुनको चमक बढिरहँदा नेपाली बजारमा भने त्यसको अर्को पाटो देखिएको छ– कारोबारमा भारी गिरावट । व्यवसायीहरुका अनुसार अहिले नेपालमा दैनिक दुई केजी सुनको कारोबार हुन पनि मुस्किल परेको छ । कोभिड–१९ महामारी अघिसम्म दैनिक ५० केजीभन्दा बढी सुन किनबेच हुने बजार आज लगभग ठप्प जस्तै छ ।
महिनामा औसत ७५० केजी सुन खपत हुने बजारमा खपत घटेपछि आयात पनि कम गरिएको छ । पछिल्लो समय जम्मा १९३ केजी मात्र सुन आयात भइरहेको छ, त्यो पनि पूर्ण रुपमा बजारमा नगएर विभिन्न बैंकहरुमा मौज्दातका रुपमा थुप्रिएको अवस्था छ । ‘अहिले सुन किन्न आउनेभन्दा बेच्न आउने धेरै छन,’ वज्राचार्य भन्छन्, ‘मूल्य बढेकै कारण पुराना गहना बेचेर नगद बनाउने प्रवृत्ति बढेको छ ।’
नेपाल किन फरक ? भारत, चीन वा पश्चिमी मुलुकहरुमा सुनलाई दीर्घकालीन लगानीको साधनका रुपमा हेर्ने गरिन्छ । मूल्य बढ्दा किन्ने, घट्दा पनि भण्डारण गर्ने संस्कृति त्यहाँ विकसित छ । तर, नेपालमा अवस्था फरक छ । नेपालमा सुन मुख्यतः सांस्कृतिक र पारिवारिक आवश्यकतासँग जोडिएको छ । विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान, सामाजिक प्रतिष्ठा– यी सबैसँग सुन गाँसिएको छ । मूल्य बढ्दा नेपाली लगानीकर्ता सुन थुपार्नेभन्दा बेच्ने मानसिकतामा देखिन्छन् । यसले देखाउँछ कि नेपालमा सुन अझै पनि लगानीभन्दा बढी आवश्यकता र संस्कारको वस्तु हो ।
नेपालमा कहाँबाट आउँछ सुन ? नेपालमा सुनको मुख्य आयात केन्द्र दुबई हो । व्यक्तिगत रुपमा ल्याइने सुनबाहेक बैंकहरुमार्फत आयात हुने सुन प्रायः दुबईबाटै आउँछ । कहिलेकाहीँ सिंगापुरबाट पनि सीमित परिमाणमा सुन आयात हुने गरेको छ । व्यवसायीहरुको अनुमानअनुसार नेपालमा करिब ४० टन सुन रहेको छ । यो सुन सरकारी भण्डारमा नभई सर्वसाधारण नागरिकसँग रहेको मानिन्छ । तर विडम्बना, सरकारसँग नेपालमा कति सुन छ भन्ने कुराको यकिन तथ्यांक छैन । यसले नीतिगत कमजोरी मात्र होइन, सुनजस्तो महत्वपूर्ण सम्पत्तिबारे राज्यको दृष्टिकोण कति कमजोर छ भन्ने पनि देखाउँछ ।
मध्यम वर्गमाथि सबैभन्दा ठूलो मार सुनको मूल्यवृद्धिको सबैभन्दा ठूलो असर मध्यम र न्यून आय भएका परिवारमा परेको छ । विवाहको तयारी गरिरहेका परिवारहरु योजना बदल्न बाध्य छन् । कतिपयले सुनको परिमाण घटाएका छन्, कतिपयले कृत्रिम गहनातर्फ ध्यान दिन थालेका छन् । ग्रामीण भेगमा सुन अझै पनि आर्थिक सुरक्षाको अन्तिम सहारा मानिन्छ । संकट पर्दा बेच्न सकिने, ऋण लिन सकिने सम्पत्ति भएकाले सुनको मूल्य बढ्नु त्यहाँ खुशीभन्दा बढी चिन्ताको विषय बनेको छ ।
संस्कृति र बजारको द्वन्द्व नेपाली समाजमा सुनसँग जोडिएको सांस्कृतिक दबाब अझै बलियो छ । सामाजिक प्रतिष्ठा, छरछिमेकको तुलना र परम्परागत सोचले गर्दा ‘सुनबिना विवाह अधुरो’ भन्ने मानसिकता अझै जीवित छ । तर, बजारको वास्तविकताले यो सोचलाई चुनौती दिइरहेको छ । सुनको मूल्यले संस्कृतिलाई नै पुनर्विचार गर्न बाध्य बनाइरहेको अवस्था देखिन्छ ।
अब के होला ? सुनको भाउ घट्ला कि अझै बढ्ला ? यसको स्पष्ट उत्तर अहिले कसैसँग छैन । विश्व राजनीति, युद्ध, आर्थिक मन्दी, डलरको भविष्य– यी सबै कारकले सुनको मूल्य निर्धारण गर्छन् । तर यति भने स्पष्ट छ– तीन लाख नाघेको सुनको भाउले नेपाली समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा नयाँ मोडमा पु¥याएको छ । सुन अझै चम्किरहेको छ, तर त्यो चमक आम नागरिकका लागि उज्यालोभन्दा बढी चुनौती बन्दै गएको छ ।
के नेपालमा सुन खानी छ ? संसारभर सुनको मूल्यले ऐतिहासिक उचाइ चुमिरहँदा, यही पहेंलो धातुको उपलब्धता र भविष्यलाई लिएर विश्वस्तरमा गम्भीर बहस सुरु भएको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार अहिलेसम्म संसारभरका खानीबाट करिब २ लाख १६ हजार २ सय ६५ टन सुन निकालिसकिएको छ । चकित पार्ने तथ्य के छ भने उक्त सुनको ठूलो हिस्सा सन् १९५० पछि मात्रै पत्ता लागेको हो ।
file
अर्कोतर्फ, अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले भूमिगत खानीहरुमा अझै करिब ६४ हजार टन सुन निकाल्न सकिने अनुमान गरेको छ । अर्थात्, सुन सकिँदै छ भन्ने होइन, तर सजिलै उपलब्ध हुने सुनको युग भने बिस्तारै समाप्त हुँदैछ । यही सन्दर्भमा, सन् १९७९ पछि पहिलो पटक अहिलेको स्तरमा सुनको भाउ तीव्र गतिमा बढिरहेको छ । विश्व बजारमा सुनको मूल्य आकासिंदै गर्दा प्रश्न उठ्छ– नेपाल जस्तो प्राकृतिक स्रोतले भरिएको देश यस दौडमा कहाँ उभिएको छ ?
दशकौंदेखि सुनखानीको चर्चा तर प्रगति शून्य नेपालका विभिन्न जिल्लामा सुनका खानीहरु रहेको तथ्य नयाँ होइन । नदी, खोला, पहाड र चट्टानसँग जोडिएर नेपालमा सुनको अस्तित्व दशकौंदेखि चर्चा हुँदै आएको छ । तर विडम्बना, आजसम्म नेपालका सुनखानीहरुको यथार्थ अवस्था, परिमाण र व्यावसायिक सम्भावना यकिन गर्न सकिएको छैन ।
भूगर्भशास्त्री कृष्णप्रसाद काफ्लेको लामो अध्ययन तथा प्रतिवेदनले नेपालका धेरै भू–भागमा सुनको सम्भावना रहेको देखाएको छ । उनका अनुसार म्याग्दी, कालीगण्डकी, भेरी, महाकाली, सुनकोशी लगायतका नदी प्रणाली र आसपासका पहाडी क्षेत्रहरुमा सुनका कण र भण्डार पाइने सम्भावना प्रचुर छ । तर, यी अध्ययनहरु अधिकांशतः कागजमै सीमित भएका छन् । समुचित उत्खनन्, आधुनिक प्रविधि प्रयोग, वातावरणीय मूल्यांकन र आर्थिक सम्भावनाबारे गहिरो अनुसन्धान आजसम्म हुन सकेको छैन ।
संविधानसभापछिको आशा निराशामा परिणत नेपालका सुन खानीको व्यावसायिक उत्खनन्को सन्दर्भमा सबैभन्दा आशावादी क्षण भने पहिलो संविधानसभा निर्वाचनपछिको समय मानिन्छ । तत्कालीन प्रधानमन्त्रीको पहलमा नेपालका सुनखानी उत्खनन्का लागि अन्तर्राष्ट्रिय कम्पनीहरुसँग संवाद अघि बढाइएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार त्यसबेला म्याग्दी खोलाको सुन खानी उत्खनन्का लागि एक अमेरिकी कम्पनी नेपाल आएको थियो । ‘सरकारकै पहलमा आएको त्यो कम्पनीले १० हजार जनालाई रोजगारी दिने र उत्खनन्बाट निस्किएको सुनको ४० प्रतिशत नेपाललाई दिने प्रस्ताव गरेको थियो,’ वज्राचार्य सम्झन्छन्, ‘यो नेपालका लागि ऐतिहासिक अवसर हुन सक्थ्यो ।’तर त्यो अवसर धेरै समय टिक्न सकेन । सरकारी संयन्त्रभित्रै देखिएको कानूनी जटिलता र प्रक्रियागत अल्झनका कारण अमेरिकी कम्पनी अन्ततः रित्तो हात फर्किन बाध्य भयो ।
कानुनी जटिलता : लगानीमा बाधा अमेरिकी कम्पनी फर्किनुको मूल कारण नेपालको खनिजसम्बन्धी कानूनी संरचना नै भएको सरोकारवालाहरु बताउँछन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार नेपालको कानूनले विदेशी व्यक्ति वा कम्पनीलाई सिधै खानी उत्खनन् गर्न दिने व्यवस्था गरेको छैन । ‘हाम्रो कानूनअनुसार विदेशी व्यक्ति वा कम्पनीले प्रत्यक्ष रुपमा खानीको काम गर्न पाउने स्पष्ट व्यवस्था छैन,’ बाँस्कोटा भन्छन्, ‘यसले विदेशी लगानी भिœयाउन ठूलो अवरोध सिर्जना गरेको छ ।’
हालसम्म पनि नेपालमा खानी तथा खनिज पदार्थ ऐन २०४२ कै आधारमा खानीसम्बन्धी काम हुँदै आएको छ । यद्यपि, २०५६ सालमा नियमावली बनाइए पनि त्यो न त सरल छ, न त अन्तर्राष्ट्रिय लगानीमैत्री । यसले गर्दा विदेशी कम्पनीहरु नेपालमा सुनजस्ता मूल्यवान खनिजमा लगानी गर्न इच्छुक हुँदाहुँदै पनि कानूनी अनिश्चितताका कारण पछि हटिरहेका छन् ।
नेपालका सुन पाइने खोला तथा नदी तटीय क्षेत्रमा निरन्तर सुन बगिरहेको छ । त्यो सुन कुन ठाउँबाट निस्किएको भन्ने पनि यकिन छैन । तर, सयौं व्यक्तिले बालुवामा चालेर दैनिकी चलाइरहेका छन् । निरन्तर बालुवामा सुन चालेर दैनिकी गुजार्ने सयौं परिवार छन् । तर, राज्यले भने सुनखानीको विस्तृत अध्ययनसमेत गरेको छैन । नेपालमा विदेशी कम्पनीले बेलाबेलामा चासो र आफूहरुको व्यावसायिक संलग्नताका बारेमा चासो व्यक्त गर्दै आइरहेका छन् ।
बग्दै सुन, छुट्दै अवसर विशेषज्ञहरुका अनुसार नेपालका धेरै नदी प्रणालीमा सुनका कण प्राकृतिक रुपमा बगिरहेका छन् । आधुनिक उत्खनन् प्रविधि प्रयोग नगर्दा यो सुन पानीसँगै बगेर सीमापार भइरहेको छ । अर्कोतर्फ, देशभित्र बेरोजगारी बढ्दो छ, वैदेशिक रोजगारीमा युवाको निर्भरता बढिरहेको छ । यदि सुन खानीको व्यवस्थित उत्खनन् गर्न सकिएको भए हजारौं रोजगारी सिर्जना हुन सक्थ्यो, राज्यले ठूलो राजस्व पाउन सक्थ्यो र आयातमा निर्भर अर्थतन्त्रलाई केही हदसम्म टेवा मिल्थ्यो ।
आज विश्व बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा छ । केन्द्रीय बैंकहरु सुन भण्डारण बढाइरहेका छन् । लगानीकर्ता सुरक्षित सम्पत्तिको खोजीमा सुनतर्फ आकर्षित छन् । तर, यहीबेला नेपालका सम्भावित सुन खानीहरु भने नीति, कानून र उदासिनताका कारण मौन छन् । यो अवस्था केवल आर्थिक अवसर गुमाउनु मात्र होइन, दीर्घकालीन रुपमा राष्ट्रिय स्वार्थसँग जोडिएको प्रश्न पनि हो । देशको विकासका लागि पनि यो महत्वपूर्ण कोशेढुंगा बन्न सक्छ ।
नीतिगत सुधार अबको आवश्यकता विश्लेषकहरुका अनुसार नेपालले अब ढिला नगरी खानीसम्बन्धी ऐन र नियमावलीलाई समयसापेक्ष र लगानीमैत्री बनाउनुपर्छ । विदेशी प्रविधि र पूँजीलाई राष्ट्रिय हित सुरक्षित गर्दै भिœयाउने स्पष्ट ढाँचा आवश्यक छ । साथै, विस्तृत भूगर्भीय सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन र स्थानीय समुदायको सहभागितासहित सुन खानीको सम्भावनालाई व्यवहारमा उतार्न सकिए नेपालले ठूलो आर्थिक लाभ लिन सक्छ । सुन केवल भविष्यको सपना होइन, अहिलेको अवसर हो । संसारभर सुन सकिँदै जाँदा यसको मूल्य अझै बढ्ने सम्भावना छ । यही बेला नेपालले आफ्नै भूमिमा लुकेको सम्भावनालाई चिन्न नसक्नु ऐतिहासिक चूक हुन सक्छ ।
खनिज नेपालका प्रमुख प्राकृतिक सम्पदा नेपाल २५०० किलोमिटर लामो हिमालयन पर्वत शृङ्खलाको केन्द्रीय भागमा अवस्थित भूपरिवेष्ठित विकासोन्मुख देश हो । नेपालको करिब ८३ प्रतिशत भूभाग पहाडी तथा हिमाली क्षेत्रले ओगटेको छ । यस्तो भौगोलिक बनावट र जटिल भूवैज्ञानिक संरचनाका कारण नेपाल प्राकृतिक स्रोतसाधन, विशेषगरी खनिज स्रोतको दृष्टिले अत्यन्त सम्भावनायुक्त देश मानिन्छ । जलस्रोत, वन, जैविक विविधता, जडीबुटीका साथै धातुजन्य, अधातुजन्य, इन्धन तथा बहुमूल्य रत्न खनिज नेपालका प्रमुख प्राकृतिक सम्पदा हुन् ।
खनिज स्रोतहरु पुनः नवीकरण नहुने प्राकृतिक स्रोत भएकाले तिनको वैज्ञानिक अन्वेषण, योजनाबद्ध उत्खनन र दिगो उपयोग अत्यन्त आवश्यक हुन्छ । खनिज क्षेत्रको विकासले औद्योगिकीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, निर्यात प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिन सक्छ । यद्यपि, नेपालमा खनिज स्रोतको सम्भावना हुँदाहुँदै पनि यो क्षेत्र अपेक्षित रुपमा विकास हुन सकेको छैन ।
सुन पाइने नेपालका खानी नेपालमा खनिजको प्रयोग र उत्खननको इतिहास प्राचीन कालदेखि नै रहेको पाइन्छ । ऐतिहासिक प्रमाणअनुसार नेपालमा साना स्तरमा फलाम, तामा, सिसा, जस्ता, कोबाल्ट तथा सुनको उत्खनन तथा प्रशोधन गरिन्थ्यो । विभिन्न स्थानमा पाइने पुराना खानी खाल्डा, सुरुङ, धातु पगाल्ने भट्टीका अवशेष तथा स्ल्यागहरुले विगतको खानी गतिविधिको पुष्टि गर्छन् ।
आधुनिक र व्यवस्थित खनिज अन्वेषणको सुरुआत भने विसं २०१८ मा नेपाल खानी ब्युरो स्थापना भएपछि भएको हो । त्यसपछि विसं २०२४ मा नेपाल भूवैज्ञानिक सर्वेक्षण स्थापना गरियो । यी दुई संस्थालाई २०३४ मा गाभी नेपाल सरकारले खानी तथा भूगर्भ विभागको स्थापना ग¥यो । निरन्तर अध्ययनबाट देशका विभिन्न भागमा सम्भावनायुक्त खनिज क्षेत्रहरु पहिचान गरियो ।
नेपालमा सुन मुख्यतया नदीजन्य प्लेसर सुनका खानी पाइन्छ । महाकाली, कर्णाली, कालीगण्डकी, सुनकोशी र भोटेकोशी नदीहरु सुनका लागि प्रसिद्ध छन् । हाल साना स्तरमा परम्परागत तरिकाले सुन संकलन भइरहेको छ । कालीगण्डकी क्षेत्रमा प्राथमिक सुनको सम्भावना देखिए पनि विस्तृत अन्वेषण हुन बाँकी छ । नेपालमा माणिक, नीलम, टुरमालिन, एक्वामारिन, गार्नेट जस्ता रत्न पाइन्छन् । गणेश हिमाल, रोलवालिङ, इलाम र मुस्ताङ रत्न सम्भावनायुक्त क्षेत्र हुन् । तर, प्रशोधन प्रविधि र बजार व्यवस्थापन कमजोर भएकाले यो क्षेत्र अपेक्षित रुपमा विकास हुन सकेको छैन ।
काठमाडौँ, २४ माघ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पटिकरण सोधेकामध्ये २४ जनाले बुझाएपनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन् ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाइ आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ । जिल्लामा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउनेकार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारवाही गरिएको आयोगले जनाएको छ ।
काठमाडौँ, २३ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी भएको दाबी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी सल्यान सम्पर्क समितिले आज यहाँ आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रममा उनले नयाँ र पुरानाको निधो विचार, एजेन्डा र सङ्घर्षले गर्ने बताए ।
“गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ ? आजको सबैभन्दा नयाँ विचार गणतन्त्र हो । त्यसको नेतृत्व नेकपाले गरेको हो । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र उत्पीडित वर्ग र समुदायलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा कसैले ल्याएको छ ?”, संयोजक दाहालले भने । संयोजक दाहालले नयाँ दल भन्नेले जनतासामु पार्टीको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए । उनले नयाँ आन्दोलन र मुद्दाको नेतृत्व गर्ने पार्टीलाई पुरानो भनेर लगाइएको आरोप नै गलत भएको बताए ।
नेकपाका नेता प्रकाश ज्वालाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सृजना र समृद्धिमार्फत समाजवादको यात्रातर्फ आफ्नो पार्टी अघि बढिरहेको बताए । नेकपा सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रमेश मल्लले जनता र पार्टीको शिर निहुरिन नदिने गरी आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वीरगञ्ज (पर्सा),२३ माघ । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा केपी चन्द राउत बरईको मृत्यु भएको हो ।
पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा निधन भएको जानकारी दिए । बरईलाई कुटपिटमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगर–२३ प्रसौनी बस्ने ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।
पाटन (ललितपुर), २३ माघः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताए ।
“समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियोे, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो,” उनले भने, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।”
उनले जेनजी आन्दोलनको अपेक्षालाई सम्बोधन गर्दै मानिस–मानिसबीचको विश्वास कायम गर्न र देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै नेपाली समाजलाई गाँस्न सक्ने नेतृत्व नेपाली कांग्रेससँग भएको उल्लेख गरे । नेपाली कांग्रेसका अग्रज नेता एवं केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले आफूले ७० वर्ष योगदान गरेको नेपाली कांग्रेसले समयको मागअनुसार आवाजलाई सम्बोधन गर्ने बताउँदै आठ लाखभन्दा बढीको सङ्ख्यामा रहेका क्रियाशील सदस्यहरुले नेपाली कांग्रेसको नीतिअनुसार देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी सक्रिय हुनुपर्नेमा जोड दिए ।
कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ का उम्मेदवार उदयशम्शेर राणाले जेनजी आन्दोलनले नेपालीहरूको सोचाइमा परिवर्तन ल्याएकाले त्यही सोचअनुसार नेपाली कांग्रेस पनि बदलिएको बताए । अब देशको आर्थिक, सामाजिक रुपान्तरण, आमनागरिकको जनजीविकामा सुधार ल्याउँदै आर्थिक समृद्धि हासिल गर्न, सुशासन कायम गर्न पार्टीले बहुमत हासिल गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट क्षेत्र नं २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले नेपाली कांग्रेसको नेतृत्व र कार्यशैली बदलिएको बताउँदै देशको परिवर्तनका लागि जिम्मेवारीबोध गर्दै एकताबद्ध भएर २०४८, २०५६ र २०७० सालमा जस्तै बहुमत हासिल गर्न क्रियाशील भएर लाग्नुपर्ने धारणा राखे ।
जलेश्वर (महोत्तरी), २३ माघ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताएका छन् । उज्यालो नेपाल पार्टीले आज महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
अध्यक्ष घिसिङले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको र आफ्नो पार्टीको मुख्य एजेन्डा नै मधेस तथा समग्र देशबाट भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरे उनले मधेसमा सामाजिक, वर्गीय जस्ता अनेकौ विभेद कायम रहेकाले प्रदेश पछाडि परेको हुँदा ती विभेदलाई अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।
खोटाङ, २३ माघ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए ।
विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको धाप्लाङघाट मोटरेबल पक्की पुलका लागि स्ल्याब ढलानको काम सुरु गरिएको छ । विसं २०७६ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी धाप्लाङघाटको माटरेबल पक्की पुलका लागि सम्झौता गरिए पनि निर्माण कम्पनीमा आवद्ध ठेकेदारको लापारवाहीका कारण निर्माणको काम अलपत्र परेको हो ।
ठेकेदारको लापरवाहीले अलपत्र परेको धाप्लाङघाट पुल निर्माणका लागि खोटाङ प्रदेशसभा ९२०का सदस्य एवं कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास र स्वास्थ्यमन्त्री भूपेन्द्र राईले निरन्तर खबरदारी गरेपछि अहिले पुल निर्माणले तीव्रता लिएको स्थानीयवासीले बताएका छन् । सङ्घीय सरकारको रु २१ करोड ६५ लाख लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको पुल अलपत्र परेपछि लिड पार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालोसूचीमा राखेर धरौटी तानेपछि ज्वाइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको काम थालेको हो ।
विभिन्न कठिनाइका बीच पुल निर्माणको कामलाई पुनः सुरु गराउन सफल भएको निवर्तमानमन्त्री राईले बताएका छन् । “धाप्लाङघाट पुलमा पाँचवटा स्ल्याब रहन्छ । एउटा भर्खरै ढलान भएको छ । यस वर्ष कम्तीमा तीनवटा ढलान सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ”, उनले भने, “धाप्लाङघाट पुल सञ्चालनमा आएपछि खोटाङको समृद्धिको यात्रा सुरु हुन्छ । यसतर्फ निर्वाचित जनप्रतिनिधिले ध्यान दिन जरुरी छ ।”
पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको काम ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो ।
त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ । पुल निर्माणका लागि छवटा पिलर निर्माण गर्नुपर्नेमा चारवटा मात्र सकिएको छ । तर निर्माण भएको एउटा पिलर गर्त वर्षको बाढीले बङ्ग्याएकाले पुनर्निर्माण गर्नुपर्ने भएपछि अझै तीनवटा पिलर बनाउन बाँकी छ ।
धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौँअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । तर सुनकोसीमा पक्की पुल नहुँदा ठूला सवारीसाधन वारपार गर्ने अवस्था छैन । मोटरसाइकल भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । धाप्लाङघाटमा पुल नहुँदा पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महँगो हुनुका साथै स्थानीय उत्पादनलाई निकासी गर्न कठिन भएको बराहपोखरी गाउँपालिकाका प्रमुख सालिकराम बञ्जराले बताए । “धाप्लाङघाट पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएका छौँ ।
पछिल्लो समय पुल निर्माणको कामले गति लिएसँगै केही आशा जगाएको छ, निरन्तर खबरदारी आवश्यक छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ”, उनले भने । धाप्लाङघाटमा पुल निर्माणपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको छ । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडानको कामसमेत थालिएको छ ।
सन्तोष गौतम–रासस म्याग्दी, २३ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आएका पुनको सक्रियताले यहाँको राजनीतिमा तरङ्ग ल्याएको छ । राष्ट्रिय राजनीतिमा सृजना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरूको उदय, प्रतिस्पर्धी उम्मेदवारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उम्मेदवारहरूको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति चासो बढेको बेनीका धनञ्जयकुमार श्रेष्ठ बताउँछन् ।
“विगतका चुनावमा राष्ट्रियस्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उम्मेदवारीले चर्चामा ल्याएको छ”, उनले भने, “राजनीतिक दलहरूको साङ्गठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपालि म्याग्दीको चुनावलाई रोचक बनाएको हो ।” नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (ध्रुव)लाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन् ।
सार्वजनिक रूपमा स्वतन्त्र उम्मेदवार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायमै छ । एमालेका श्रेष्ठ दोस्रोपटक उम्मेदवार बनेका हुन् भने बाँकी सबै पहिलोपटक प्रतिस्पर्धामा उत्रिनुभएको हो । विसं २०७४ यता यसपालि दलहरूबीच एक्लाएक्लै गठबन्धन नगरी प्रतिस्पर्धा हुन लागेको हो ।
विसं २०७९ मा प्रतिनिधिसभामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनुभएको थियो । प्रदेशसभाको १ ९१० र ९२० मा गठबन्धनबाट माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित भएका थिए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभाको १ (१) मा माओवादीका विनोद केसी र (२) मा एमालेका नरदेवी पुन विजयी भएका थिए ।
विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी भएका थिए । विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए । विसं २०७९ मा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलहरूको सर्मथन पाएका नेपाली कांग्रेसका गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २० हजार १८९ मत पाउनुभएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकवटा निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताए । उम्मेदवारहरू मतदाता, कार्यकर्ता घेटघाट र घरदैलोका लागि गाउँ पसेका छन् । राजनीतिक गतिविधिले ग्रामीण क्षेत्रमा चहलपहल बढाएको छ । धवलागिरि गाउँपालिका–७ धारापानीका कर्णबहादुर थापा सबै दल र उम्मेदवारका कुरा सुनेर निर्णय लिने बताउँछन् ।
“भोट माग्न आउने सबै उम्मेदवारलाई स्वागत, सम्मान गर्ने र उनीहरूका योजना सुन्ने हो”, उहाँले भन्नुभयो, “हामी जनताको मन र विश्वास जित्ने उम्मेदवारले मत पाउँछ ।” अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका खगवीर पाइजा मतदाताहरू सबैका विचार र योजना सुनेर निर्णय लिने मनस्थितिमा रहेका बताउँछन् । म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।
बिर्तामोड, २३ माघ । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते हुनुभएका उनको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।
आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।