Category: स्थानीय

  • रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

    रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

    काठमाडौँ, १४ माघः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी हिजोदेखि अस्पताल भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको जानकारी दिए । उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढेर सेलुलाइटिस भएपछि अस्पतालमा भर्ना हुनुभएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले बताए ।

    उनका अनुसार चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण जोखिमयुक्त हुनसक्ने भएकाले केही दिन अस्पतालमै निगरानीसहित उपचार भइरहेको छ । “चोट आफैँमा गम्भीर नभए पनि सङ्क्रमण फैलिनसक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र सभापति पुनःनियमित राजनीतिक तथा साङ्गठनिक गतिविधिमा फर्किनु हुनेछ”, सहप्रवक्ता रावलले भने ।

  • पूर्वमाओवादी धारलाई एकतामा आउन प्रचण्डको आह्वान

    पूर्वमाओवादी धारलाई एकतामा आउन प्रचण्डको आह्वान

    काठमाडौँ, १४ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गरे ।


    “मुलुकलाई समृद्ध बनाउन र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पनि एक पटक फेरि एकताद्वारा सामथ्र्यवान् बन्नुपर्ने आवश्यकता छ”, संयोजक दाहालले भने, “विभाजित अवस्थामा रहेका पूर्वमाओवादीको घर र आउनुपर्ने ठाउँ ‘यहीँ’ हो ।” मुलुक अप्ठयारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले निर्वाचनबाट परिवर्तनकारी शक्तिलाई विजयी बनाउनुपर्ने बताए । कार्यक्रममा नेकपा (माओवादी)को एकता पक्षधर समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा सो पार्टीका केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन् ।

  • जब अस्पतालबाटै साटियो शव…

    जब अस्पतालबाटै साटियो शव…

    सिरहा, १३ माघः यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानका लागि समिति गठन गरिएको बताए ।

    उनले भने, “इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा मृतकका काका, अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाका अध्यक्ष र प्रहरी निरीक्षक सहभागी रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झालाई केही समयका लागि बिदामा बस्न र शवगृहका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकेका छौँ ।”

    गत शनिबार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो । सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरी राधिकाकुमारी साहको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको अवस्थामा अस्पतालले झुक्किएर निशाको शव राधिकाको परिवारलाई बुझाएको थियो । परिवारले आइतबार नै शवको अन्त्येष्टि गरिसकेका छन् । सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन पुग्दा मात्रै शव साटिएको रहस्य खुलेको हो ।

  • पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने

    पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने

    काठमाडौँ, १३ माघः आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए ।


    पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौँमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्ने छ । प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए । पछिल्लो १ घण्टामा दार्चुलामा दार्चुला र बैतडीमा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने तथा बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल लाग्नेछ छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात-वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन-चट्याङको सम्भावना रहेको छ ।

    बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू–भागमा साधारणतया बादल लाग्ने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

  • ओखलढुङ्गामा दम्पतीको विभत्स हत्या

    ओखलढुङ्गामा दम्पतीको विभत्स हत्या

    ओखलढुङ्गा, १३ माघः यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पतीको बीभत्स हत्या भएको छ । सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको हो । पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो । उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७ः४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो । घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । उनले भने, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।”

    गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका– ४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृङ्खलाबद्ध रुपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।

  • टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    रासस
    भोजपुर, १३ माघः यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।

    “किसानलाई व्यावसायिक नगदे तथा तरकारीखेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ”, अध्यक्ष बस्नेतले भने, “सबै किसानलाई कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।” कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उनले जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त रु १० लाख सशर्त अनुदानमार्फत कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।

    गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् । व्यावसायिक तरकारीखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए । कार्यक्रम छनोटमा आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका वर्ग, महिला तथा दलित किसानलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । कम्तीमा दुई सय वर्गमिटर (छ आना) क्षेत्रफलमा तरकारीखेती गर्दै आएका किसान कार्यक्रमका लागि योग्य मानिने छन्भने प्राथमिकतामा पर्नेछन् ।

    ‘एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी किसानलाई प्लास्टिक टनेल, सिँचाइका लागि पाइप तथा तरकारी उत्पादनका लागि उन्नत जातका बीउबिजन वितरण गरिने कृषि विकास शाखाले जानकारी दिएको छ ।

  • देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    काठमाडौँ, १३ माघः देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् ।

    यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ ।

    सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानिनोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ ।

    जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिमबारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ ।

    प्रविधिको प्रयोग एवं मानवसंशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्वचेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकाबीच समन्वय, सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ ।

    यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।

  • ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    बेलबारी (मोरङ), १३ माघः सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।


    प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उहाँले उल्लेख गरे । हालसम्म दुवैखण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए ।


    निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उहाँले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ ।

    एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

  • आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

    आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

    काठमाडौँ, १२ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठवटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिइन् ।

    आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरे पनि हालसम्म जवाफ प्राप्त नभएको उनले बताइन् ।


    काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण मागिएको हो । सो दफाअनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।

    यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको हो । सो दफामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ । सो दफाको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने भन्ने व्यवस्था छ । यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको हो ।

    दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो । हालसम्म स्पष्टीकरण माग गरिएका आठ जनामध्ये खरेलले मात्र स्पष्टीकरण पेस गरेको आयोगका सहायक प्रवक्ता श्रीसले जानकारी दिए । खरेलले गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत गराइएको आयोगले जनाएको छ ।

    आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो । परिषद्ले हालसम्म आयोगलाई स्पष्टीकरण पेस गरेको छैन । सरकार मातहतकै परिषद्लेसमेत आयोगलाई समयभित्र स्पष्टीकरण पेस नगरेको हो ।

    नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ । बस्नेतले पनि हालसम्म स्पष्टीकरण बुझाएका छैनन् ।


    कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । उनले पनि आयोगलाई स्पष्टीकरण बुझाएका छैनन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । यसको जवाफ पनि प्राप्त नभएको आयोगले जनाएको छ ।

  • पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

    पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

    महेन्द्रनगर (धनुषा), १२ माघः पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गरेका छन् । मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरे । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भए । उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

    पूर्वराजा शाहले जानकी मन्दिरदेखि करिब ५०० मिटरको दूरीमा रहेको राम मन्दिरको समेत दर्शन गरेका थिए । उनले राजदेवी मन्दिरको पनि दर्शन गरे । त्यसैगरी आजै साँझ गङ्गासागरमा आयोजना गरिएको गङ्गा आरतीमासमेत सहभागी भए ।

  • म मधेस बुझ्न आएको हुँः सभापति थापा

    म मधेस बुझ्न आएको हुँः सभापति थापा

    बरहथवा (सर्लाही), १२ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए । सिमरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

    नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उनले भने, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”

    काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे ।

  • चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

    चितवन, १२ माघः चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उनले भने, “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उनका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् ।

    दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हँुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो ।


    सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उनले जानकारी दिनुभयो ।

    चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।

    गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उनले भने, बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए ।

    उनका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।

  • मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मात्र मतदान हुने

    मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मात्र मतदान हुने

    मनाङ, १२ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो”, उनले भने ।


    नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

    सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

    सिरहा, १२ माघः सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र मन्त्री भइसकेका नौ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । विशेषगरी सिरहा क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री रहनुभएका बब्लु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    त्यसैगरी क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह चुनावी मैदानमा छन् । उनीहरु दुई पुराना र अनुभवी नेता भएकाले पनि उनीहरुको प्रतिस्पर्धाले यहाँको चुनावी माहोललाई थप तताएको छ । सिरहा क्षेत्र नं ४ मा भने पाँच जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक, र नेकपा (एमाले)बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा छन् ।

    यसका साथै, जनमत पार्टीकातर्फबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । पुरानै र पटकपटक मन्त्री भइसकेका नेताको बाहुल्यता रहेको यस क्षेत्रमा नेपाली कांग्रेसले भने नयाँ अनुहारका रूपमा चन्द्रकला देवी यादवलाई अगाडि सारेको छ । त्यस्तै, यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तपेश्वर यादवलाई आफ्नो उम्मेदवार बनाएको छ ।

  • एक दिनमा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

    एक दिनमा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

    काठमाडौँ, १२ माघः पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार देशभर १६ वटा आगलागीका घटना घटेका थिए । असावधानीका कारण परालको कुन्युमा आगो लागेको, हावाहुरीले आगो उडाउँदा अन्य क्षति भएको तथा आगो ताप्दा असावधानीका कारण आगो फैलन गई घाइते भएका जस्ता विवरण सार्वजनिक भएका छन् । विपद्मा परेर कूल रु २५ लाख ३० हजार बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी सात जना घाइते भएका छन् ।

    प्राधिकरणको विवरण अनुसार मोरङमा दुई, सुनसरी, भोजपुर, सप्तरी, सिरहामा एक\एक वटा आगलागीका घटना भएका थिए । सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान, कैलालीमा पनि आगलागीका घटना घटेका थिए । त्यसैगरी बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणका घटना घटेका छन् । प्राधिकरणले विपद्बाट जोगिन, सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

  • प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    काठमाडौँ, १२ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ ।

    आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे ।

    आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।

  • राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

    राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

    मकवानपुर, ११ माघः राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी भएका हुन् । कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गरिन् ।

    नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेस र नेकपा (एमाले) का गठबन्धनका साझा उम्मेदवार एमालेका प्रेमप्रसाद दङ्गालले ६ हजार २०५ मतभार प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिए ।

  • राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

    राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

    कर्णाली, ११ माघः राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा (एमाले) की मीना रखाल विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन् । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे । रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गरेको निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।

    उनका शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरे । त्यस्तै रखालका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गरेको सूचना अधिकारी चौलागाईंले बताए । उनका हाँअनुसार ६ मत बदर भएको थियो । कर्णालीमा कुल मतसङ्ख्या १९८ हुँदा प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए । त्यस्तै, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ मत खसेको थियो ।

  • गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी

    गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिमिल्सिना र देवकोटा विजयी

    कास्की, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट ‘अन्य समूह’ मा नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले)का उम्मेदवार सम्झना देवकोटा विजयी भएका छन् । पोखरामा आज सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९४१ मतभार पाए । यस समूहमा राष्ट्रिय जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसैगरी महिला समूहमा एमालेका देवकोटाले पाँच हजार १४ मतभार पाइन् । नेपाली कम्युनिष्ट पार्टीका गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाइन् । राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाइन् । राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले साझा उम्मेदवार उठाएका थिए । राष्ट्रियसभामा प्रदेशसभाका ५९ सदस्यमध्ये ५७ जना र स्थानीय तहका १६९ मतदातामध्ये १६६ जनाले मतदान गरेका प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।


    राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य र स्थानीय तहका तीन जनप्रतिनिधि मतदानमा अनुपस्थित रहे । विजयी उम्मेदवारलाई निर्वाचन अधिकृत हिमलाल बेल्बासे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले प्रमाणपत्र वितरण गरे । पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान भएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।

  • सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

    सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

    सुदूरपश्चिम, ११ माघः राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले) की लिलाकुमारी भण्डारी विजयी भए । अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन् । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरे ।


    महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाइन् । कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२० मतदाताले मतदानमा भाग लिएका थिए ।

    धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, प्रदेशसभा सदस्यद्वय नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपाकी खेमादेवी विष्ट, कैलालीको जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया मतदानमा अनुपस्थित रहे । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित दुई सदस्य पदको पदावधि आगामी फागुनमा सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो ।

    त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक सदस्य निलम्बनमा परेका छन् । अर्का एक सदस्यले राजीनामा दिएका थिए । ८८ पालिका तहका प्रमुख, उपप्रमुख-अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्य चुनावमा गठबन्धन गरेको थिए ।

  • सङ्खुवासभामा जिप दुर्घटना, दुईको मृत्यु–तीन घाइते

    सङ्खुवासभामा जिप दुर्घटना, दुईको मृत्यु–तीन घाइते

    किमाथाङ्का (सङ्खुवासभा), ११ माघः सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

    मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

  • राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ-छ जना प्रतिस्पर्धामा

    राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ-छ जना प्रतिस्पर्धामा

    बागमती, ११ माघ : राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचन तयारीका सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि कर्मचारी खटाइसकिएको र मतदान केन्द्रसमेत निर्माण भइसकेको छ । मतदान केन्द्रमा मतपत्रसमेत आइसकेको छ ।

    हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी छ जना प्रतिस्पर्धामा छन् । महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।

    त्यसैगरी, अन्य क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का डा प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराउनुभएको छ । एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ ।

    गण्डकी प्रदेश

    आज हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत दुुई जना सदस्यका लागि गण्डकी प्रदेशमा निर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले मतदानका लागि कर्मचारी व्यवस्थापन एवं सुरक्षा व्यवस्थालगायत सबै तयारी सम्पन्न भएको जानकारी दिए । उनका अनुुसार मतदानका लागि निर्वाचन कार्यालय परिसरमा नै दुईवटा केन्द्र स्थापना गरिएको छ । एउटा केन्द्रमा ५९ जना प्रदेशसभा सदस्यहरूले मतदान गर्नेछन् भने अर्को केन्द्रमा एक सय ६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् ।

    गण्डकीमा नेपाली कांग्रेस र नेकपा ९एमाले०ले साझा उम्मेदवार उठाएका छन् । एमालेबाट महिलातर्फ सम्झना देवकोटाको उम्मेदवारी परेको भने अन्यतर्फ नेपाली कांग्रेसका प्राध्यापक डा जगत् तिमिल्सिनाको उम्मेदवारी परेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले अन्यतर्फ शङ्करप्रसाद बराल र महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटालाई उम्मेदवार बनाएको छ । गण्डकीमा राष्ट्रियसभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् । जसमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।

  • आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

    आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

    काठमाडौँ, ११ माघ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ ।

    त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखा, ११ माघः जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताए ।

    किसानले रु एक करोड ५० लाखबराबरको कागतीसमेत बिक्री गरेको उनले जानकारी दिए । उनका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका सूचना अधिकारी रेग्मीको भनाइ छ ।

    “यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो”, उनले भने । गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ६०० मेट्रिक टन र आव २०७९÷८० मा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी रेग्मीले बताए ।

    कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उनले जानकारी दिए ।


    “मौसमको अनुकूलता र किसानको मेहनतका कारण यो वर्ष उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि आफ्नो ठाउँबाट प्राविधिक सहयोग गर्दै आएको छ”, उनले भने । जिल्लाको सुन्तला जात फलफूलखेतीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागू गरेर सुन्तलाखेती प्रवर्द्धन गर्दै आएको छ ।

    गण्डकी, सहिदलखन, भीमसेनथापा गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाको वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पूर्ण ढुङ्गाना बताउँछन् ।

    ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैँचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको छ । सुन्तला जोनबाहेकका क्षेत्रमा करिब १० प्रतिशत सुन्तला उत्पादन हुने गरेको छ ।

    सुन्तला जिल्लाको गण्डकी, भीमसेनथापा र सहिदलखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिदलखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने, अँधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ ।

    त्यस्तै, भीमसेनथापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । जिल्लाको करिब एक हजार ९७ हेक्टर क्षेत्रमा सुन्तलाखेती हँुदै आएको छ भने करिब तीन सय किसान सुन्तलाखेतीमा आबद्ध छन् । जिल्लाका किसानले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् ।

  • डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

    डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौँ, ११ माघ : डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ ।

    डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।

    विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने तीन सय २५ मेगावाट क्षमता र तातु खोलाको १।१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट क्षमताका दुईवटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ ।

    डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह र पानी निकास नहर निर्माण गरिनेछ ।

    आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक नौ सय ३३।१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ ।

    आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत रु एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजारबराबर रहनेछ । प्रतिमेगावाट लागत रु २८ करोड ५० लाख ९३ हजार ९८० बराबर रहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । भm्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

    मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युत्गृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।

    आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९।६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०।९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।

  • निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

    निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

    काठमाडौँ, ११ माघः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ ९१० बमोजिम मनोनयनपत्रसँगै पेस गरेको वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको हो ।

    निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेकाले आयोगले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्यअनुरुप सो विवरण आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल तीन हजार ४८६ उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

  • बागी उठेकाहरुलाई नेकपाले गर्यो कारवाही

    बागी उठेकाहरुलाई नेकपाले गर्यो कारवाही

    काठमाडौं, १० माघः नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।

    नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्काशन गरिएको जनाएको छ ।

  • हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    बैतडी, १० माघः भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् । रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ । उनले भने, “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।”

    यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

  • सुदूर पहाडमा हिमपात

    सुदूर पहाडमा हिमपात

    बैतडी, १० माघः सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

    वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

    यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    काठमाडौँ, १० माघ । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले प्रकृति र वन्यजन्तु संरक्षणमा प्राप्त सफलतालाई विश्व जगत्ले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएको छ ।

    अहिले १२ वटा राष्ट्रिय निकुञ्ज, एक वटा वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा नेपाली सेनाका आठ वटा गण, सात वटा अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालयका गरी करिब आठ हजारभन्दा बढी फौज परिचालित हुँदै आएका छन् । यसअघि विसं २०१८ मा नेपाली सेनाबाट गैँडा गस्ती कार्य सुरु गरिएको थियो । त्यसो त प्रकृति संरक्षणमा नेपालको औपचारिक प्रयास सन् १८६९ मा श्री ५ सुरेन्द्रको समयमा वन सम्पदा संरक्षणका रूपमा सुरु भएको थियो ।

    जुन कुरा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भेटिएको शिलालेखमा समेत उल्लेख छ । यस आधारमा नेपालको प्रकृति संरक्षणको प्रयास अमेरिकामा रहेको विश्वकै सबैभन्दा पुरानो यल्लोस्टोन नेशनल पार्क भन्दा तीन वर्ष अगाडि भएको देखिन्छ । सो पार्कको स्थापना सन् १८७२ मा भएको थियो । नेपालको संविधान २०७२ को धारा २६७, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र विसं २०६७ असार १६ को मन्त्रिपरिषद्को बैठकबाट पारित भएको संशोधित ‘स्थायी कार्य सञ्चालन विधि–२०६७’ अनुसार नेपाली सेना प्रकृति संरक्षणमा खटिँदै आएको छ ।

    त्यसक्रममा संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरू, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षामा सेना प्रत्यक्ष रूपमा संलग्न छ । नेपालको कूल क्षेत्रफलको करिब २३ प्रतिशत भू–भाग राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा शिकार आरक्षलगायत संरक्षण क्षेत्रले ओगटेको छ । चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपरी– नागार्जन, सगरपामाथा, बाँके, मकालु बरुण, शुक्लाफाँटा र शे–फोक्सुण्डो निकुञ्ज तथा कोशीटप्पु बन्यजन्तु आरण र ढोरपाटन शिकार आरक्षसहितले हिमाल, पहाड र तराईका ३३ जिल्ला समेटिएको छ ।

    विश्वमै दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि समग्र संरक्षण क्षेत्रकै नमूना हुन् । नियमित गस्तीका साथै जिम्मेवारी क्षेत्रमा सुरक्षा पहुँच बढाउन तथा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न ‘अपरेसन संरक्षण’ सञ्चालन गरिएको छ । फलस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सि¬ङ्गे गैँडा हाल ७५२ वटा भएको तथ्याङ्क रहेको छ ।

    जटिल भौगोलिक बनावट, ४२ डिग्री सेल्सियसदेखि माइनस २० डिग्री सेल्सियससम्मको मौसमी प्रतिकूलता एवं विषम् परिस्थितिका बाबजुत पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्दै आइरहेको छ । प्राकृतिक स्रोत, वनस्पति तथा वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय र भौतिक पूर्वाधारको संरक्षण र सुरक्षासमेत नेपाली सेनाले गर्दैआएको छ । प्रकृति संरक्षणमा परिचालित हुँदै गर्दा नेपाली सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरिसकेका छन् ।

    सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ । संरक्षित क्षेत्रमा प्रविधिको प्रयोगलाई बढी प्रभावकारी र सुरक्षित बनाउन सरोकार निकायसँगको सहकार्यमा सेनाले वास्तविक समय ‘स्मार्ट’ गस्ती र ‘स्मार्ट आई’को आफ्नै मौलिक प्रविधिको विकास गरेको छ ।

    जलवायु परिवर्तन, जैविक विविधता तथा पर्यापर्यटनको दृष्टिले नेपालका हिमाली क्षेत्र अतिनै संवेदनशील क्षेत्रमा रहेकाले यसको सौन्दर्यतालाई कायम राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सेनाकै नेतृत्वमा केही वर्षअघिदेखि सफा हिमाल अभियान सञ्चालन गरिएको छ । सेनासहितका सबै सरोकारवाला निकायसँगको समन्वयमा सन् २०१९ मा सुरु भएको अभियानबाट सेनाले सन् २०२४ सम्ममा हिमालबाट ११९ टनभन्दा बढी फोहोर सङ्कलन गरिसकेको छ ।

    त्यसक्रममा १२ वटा शव र चार वटा अस्थिपञ्जर व्यवस्थापन कार्य गरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी पुरन घलेले बताउनुभयो । सेनाले यस अवधिमा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि, अमदब्लम, मनास्लु, कञ्चनजङ्गा, अन्नपूर्ण, बरुञ्चे र नुप्से हिमालमा उक्त अभियान सञ्चालन गरेको थियो । त्यसले जिम्मेवार पर्वतारोहणको विश्वव्यपापी सन्देश प्रवाह गर्न सफल भएको छ ।

    प्रकृतिको अनुपम बरदानमध्ये नेपाललाई सगरमाथाको उचाइले झन समृद्ध बनाएको छ । प्रकृति तथा पर्यावरण संरक्षणमा राष्ट्रलाई योगदान गर्ने नीतिअनुरूप सफा हिमाल अभियान सेनाको प्राथमिकतामा परेको छ । उनका अनुसार प्रकृति संरक्षण कार्यमा परिचालित भएका फौजको अपरेशनल क्षमता अभिवृद्धि तथा देशका सम्पूर्ण संरक्षणकर्मी साझेदारको साझा शिक्षालयको रूपमा स्थापित गर्ने उद्देश्यले विसं २०७१ असार २८ गते चितवन राष्ट्रिय निकुञ्जको कसरामा श्री प्रकृति संरक्षण शिक्षालयको स्थापना गरिएको छ ।

    उक्त शिक्षालयमा सेनाको संरक्षणमा खटिएको फौजको अतिरिक्त निजामतीतर्फका गेम स्काउट तालिमसमेत सञ्चालन गरिएको छ । हालसम्म सैनिकतर्फ दुई हजार ३०४ जना र गैह्र सैनिकतर्फ २३६ जनाले प्रकृति संरक्षणसम्बन्धी तालिम प्राप्त गरिसकेका छन् । गैरसैनिकतर्फ निकट भविष्यमा रेन्जर तहसम्मको तालिमसमेत सञ्चालन गर्ने सेनाको योजना छ । प्रकृति र पर्यावरण संरक्षणमा नेपाली सेनाकै पहल र क्रियाशीलताका कारण नेपाल सन् २०११, १३, १५, १६, १८ र १९ मा शून्य शिकारी वर्षको रूपमा मनाउन सफल भयो । त्यसबापत ‘अब्राहम संरक्षण पुरस्कार’बाट नेपाली सेनाका विभिन्न छ वटा युनिटहरू सम्मानित भए । बर्दिया राष्ट्रिय निकुञ्ज डबल टाइगर अवार्डबाट समेत सम्मानित भयो ।

    सेनाको अगुवाइमा ‘वन र वन्यजन्तु सबैका लागि’, ‘प्रकृति र वन्यजन्तु भावी पुस्ताका लागि’ जस्ता नारा दिइएर संरक्षण अभियान तीव्र पारिएको छ । प्रकृति संरक्षणजस्तो पवित्र कार्यको आधा शताब्दी पार गर्दै गर्दा नेपाली सेनाले नेपाल सरकार तथा अन्य साझेदार निकाय एवं जनसमुदायसँग एकीकृत ढङ्गबाट कार्य गर्दै आएको छ । फलस्वरूप लोपोन्मुख वन्यजन्तु, वन पैदावार तथा हिमाली क्षेत्रको संरक्षणमार्फत विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान पुगेको छ । यसबाट नेपालको दिगो पर्यापर्यटनमा समेत टेवा पुग्न गएको छ ।

    प्रकृति संरक्षण कार्यमा नेपाली सेनाको क्षमता र योगदान क्रमिक रूपमा विस्तार हुँदै गएको नेपाली सेनाले जनाएको छ । हरियाली प्रवद्र्धनअन्तर्गत ‘फलफूल रोप्न बढाऊ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरियो । त्यस क्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा र तेजपातजस्ता बोटबिरुवा रोपियो । वातावरणलाई सन्तुलित तुल्याउन सेनाले ‘एक सैनिक, एक फलफूल बिरुवा’ अभियानसमेत चलाउँदै आएको छ ।