Category: स्थानीय

  • बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    बैतडी, २३ माघः जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।

    बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको सनाखत हुन बाँकी छ ।

    डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर पालिका –७ का १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ । उक्त बसमा वरवधु सवार थिएनन् ।

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    दार्चुला, २२ माघः कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उहाँहरूको कदम रोकिँदैन् । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पूरै हिउँले ढाकिएको छ ।

    चारैतिर सेताम्य पहाड, चिसोले जमेको आँगन र बरफले ढाकिएका छानाबीच सुरक्षाकर्मीको दैनिकी चलिरहेको छ । यस क्षेत्रको तापक्रम माइनस ६ डिग्रीदेखि २३ डिग्री सेल्सियससम्म रहने गरेको छ । हाल गुल्म वरपर करिब डेढ फिट हिउँ जमेको छ । गाउँ पूरै सुनसान छ । बादल लाग्ने वित्तिकै हिउँपर्छ ।

    वरिपरि अग्ला पहाड, टाढा टल्किँदै गरेका हिमालका चुचुरा र चिसो हावाले ठोकिरहेको हुन्छ । यो कुनै साहसिक यात्राको दृश्य होइन, यो हिमाली सीमामा खटिएका सुरक्षाकर्मीको दैनिकी हो । सशस्त्र प्रहरी यसरी चिसोमा ज्यानको प्रवाह नगरी सीमा सुरक्षार्थ खटिएका छन् । चिसो र हिमपातसँगै एक महिनादेखि पानी ल्याउने पाइप पूर्णरूपमा बरफ बनेका छन् ।

    पाइपमा पानी आउनै छोडेपछि टिङ्कर खोलाको पानी प्रयोग गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० का गुल्मपति फनिन्द्र शाहीले बताए । पाइपमा पानी बरफ भएपछि त्यहीँ खोलाको पानी पिइरहेका छौँ । गुल्मबाट खोला नजिकै छ । चिसोमा कि खोलाको पानी ल्याएर उमालेर खानु कि हिउँ पग्लाएर खानुबाहेक अर्को विकल्प पनि छैन । गुल्मभित्र आगो तापेर शरीर न्यानो बनाउनु यहाँको नियमित काम हो । तापक्रम शून्यभन्दा तल झर्दा हातखुट्टा सुन्निने अवस्था आउँछ । त्यसबीच पनि सशस्त्रको सीमा क्षेत्रको गस्ती रोकिएको छैन ।

    प्रहरी नायब उपरीक्षक फनिन्द्र शाही र सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरको नेतृत्वमा सुरक्षाकर्मी दिनहुँ जोखिम मोलेर सीमा क्षेत्रमा निगरानी गर्ने गर्छन् । उपरीक्षक शाही भन्छन्, “यो संवेदनशील क्षेत्र हो । हामी त्रिदेशीय सीमाको सुरक्षामा खटिएका छौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा यही क्षेत्रमा पर्छन् । नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पनि यही छ ।”

    राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने बेला चिसोमा नियमित ड्युटी हुनु सामान्य जस्तै लाग्छ ।छाङ्रूजस्तो दुर्गम हिमाली क्षेत्रमा सडक यातायात र पूर्वाधारको अभाव अझै ठूलो चुनौती बनेको छ । स्थानीय मात्र होइन, यहाँ खटिएका सुरक्षाकर्मी पनि आधारभूत सुविधाबाट बञ्चित छन् । रासन ल्याउनसमेत भारतीय परनिर्भरता अझै छ । नेपालतिर सडक बनेको छैन् । नेपाली सेनाले दार्चुला–टिङ्कर सडकअन्तर्गत ब्याँस–४ तुसरपानीदेखि छाङ्गरु जोड्ने गरी सडक निर्माण गरिरहेको छ । नेपालतर्फबाट अहिले सडक निर्माणको काम दुम्लिङमाथि पुगेको छ ।

    भारतीय क्षेत्रमा सडक भए पनि हिमपातका कारण हाल अवरुद्ध छ । भारतले कालापानी लिपुलेकसम्मै सडक विस्तार गरेको छ । अहिले एक महिनादेखि यो क्षेत्रमा हिमपात र बरफका कारण नियमित यातायात अवरुद्ध भएको हो । भारतीय सुरक्षाकर्मीका लागि भने हेलिकप्टरमार्फत नियमित रूपमा राशन ढुवानी हुने गर्छ । कालापानी क्षेत्रमा दैनिक दुई वटा हेलिकप्टरले सामग्री पु¥याउने गरिएको छ ।

    उनीहरूको ब्यारेकमा हिटर, न्यानो कपडा र मौसमअनुसारको सुविधा उपलब्ध छ, तर नेपालतर्फ सडक छैन । पैदलमार्ग सञ्चालनमा आए पनि अहिले हिमपातका कारण बन्द छ ।हिउँ पर्नुअघि ओसारिएको राशनमै सशस्त्र प्रहरी निर्भर छन् । सामान्य आवतजावत गर्न पनि बाटो नहुँदा त्यसको मारमा सुरक्षाकर्मी परेका छन् । “बुदी दोपाखेसम्म पुग्न नियमित हिउँ पन्छ््याउँदै बाटो खुलाउने प्रयास गरिरहेका छौँ,” डिएसपी शाहीले भने।

    सशस्त्र प्रहरीले छाङ्रूबाट गागा क्षेत्रतर्फ निरन्तर गस्ती गर्दै आएको छ । हिउँ कम भएको बेला कालापानी मुहानसम्म पनि नियमित गस्ती हुने गथ्र्यो तर अहिले बाक्लो हिउँ जमेका कारण माथिल्लो क्षेत्रमा पुग्न सम्भव छैन । नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीको सम्बन्ध सौहार्दरुपमा चलेको छ । केन्द्रमा कालापानी लिपुलेकबारे चर्को नारा लागे पनि सीमामा बस्ने सुरक्षाकर्मी एक आसपमा सीमा अपराधका सूचना आदानप्रदान र नियमित भेटघाट हुनेगर्छ ।

    गत महिना टिङ्करमा रहेको सशस्त्र प्रहरीको बिओपी छाङरूमा झारिएको थियो । टिङ्कर क्षेत्रमा छाङरूभन्दा दोब्बर हिमपात हुने भएकाले सुरक्षाकर्मीलाई तल सारिएको हो । उक्त बिओपीले चीनसँगको सीमा क्षेत्रमा गस्ती गर्दै आएको थियो । एक वर्षअघि मात्रै टिङकरमा बिओपी स्थापना भएको थियो ।

    मङ्सिर लागेसँगै टिङ्कर गाउँ पूर्ण रूपमा सुनसान छ । टिङ्कर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ । छाङरुमा भने केही परिवारको बसोबास अझै छ । वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ ।

    चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई छ महिनासम्म मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराएर राखेको छ । भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ । यति हिउँले ढाकिएको अवस्थामासमेत सुरक्षाकर्मीको मनोवल कमजोर भएको छैन । बरफले ढाकिएको गुल्मभित्र आगो ताप्दै सीमाको रक्षा गर्नु उहाँहरूका लागि कर्तव्य मात्र होइन, गर्वको विषय बनेको छ ।

    डिएसपी शाही भन्छन्, “यो राष्ट्रले दिएको जिम्मेवारी हो । हामी महिनामा कम्तीमा दुई पटक काउन्टरपार्ट बैठक पनि बस्छौँ ।” २०७७ जेठ ७ गते सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्शा जारी गरेको थियो । त्यसपछि असार २९ गते मन्त्रिपरिषद् बैठकले गुल्म स्थापना गर्ने निर्णय ग¥यो । असोज ९ गते विधिवत् रूपमा छाङरूमा ५० नम्बर गुल्म स्थापना गरिएको हो । भौगोलिक विकटता र कठोर मौसमका कारण यो हिमाली क्षेत्र राज्यका लागि सधैँ चुनौतीपूर्ण र संवेदनशील रहँदै आएको छ ।

    तराईको फाँटदेखि हिमालसम्म सशस्त्रको पहरा

    दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि भारत–चीन सीमा जोडिएको व्यास गाउँपालिका–१ सम्म सशस्त्र प्रहरी बलले पछिल्लो समय गस्ती र सुरक्षा उपस्थिति विस्तार गरेको छ । २०७७ सालसम्म सदरमुकाम खलङ्गामा सीमित रहेको सशस्त्र प्रहरी अहिले लेकमको लालीदेखि ब्यासको टिङ्करसम्म फैलिएको छ । चुच्चे नक्शा प्रकाशनसँगै सीमा क्षेत्रमा युनिट थप गरिएको हो ।

    सरकारले खलङ्गामा ४४ नम्बर गण स्थापना गरी त्यहाँ रहेको ५० नम्बर गुल्मलाई ब्यासको छाङरू–गागा क्षेत्रमा सारिएको थियो । दार्चुलामा नेपाल–भारत जोडिएका १० वटा सीमा नाका छन् । महाकाली नगरपालिका–४ खलङ्गा, वडा नं ९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी, वडा नं ६ बाकु, लेकम गाउँपालिका–३ लालीमा नेपाल र भारत जोड्ने सिमा नाका छ ।

    यसैगरी, व्यास गाउँपालिका–१ सितापुल, वडा नं २ माल, वडा नं ४ सुन्सेरा मलघट्टे, वडा नं ५ तिगरम र वडा नं ६ बडुगाउँमा दुई देश जोड्ने सिमानाका छन् । यीमध्ये ब्यास गाउँपालिका–१ सितापुलमा महाकाली नदीमा काठेपुल राखिएको छ भने बाँकी सबै स्थानमा झोलुङ्गे पुल बनाइएको छ ।चीनसँग जोडिएको टिङ्कर भञ्ज्याङ लक्षित गरी ब्यास–१ छियालेकमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ ।

    ४४ नम्बर गणका गणपति गुणराज न्यौपानेका अनुसार भारतसँगका १० नाका र चीनसँगको टिङ्कर नाका कभर हुने गरी सुरक्षा युनिट परिचालन गरिएको उनले बताए । सीमा क्षेत्र हाल जोलजिवीमा प्रस्तावित सीमा सुरक्षा गुल्म सञ्चालनमा छ भने दत्तु र लालीमा बिओपी स्थापना भइसकेका छन् । छाङरूस्थित ५० नम्बर गुल्मअन्तर्गत टिङ्कर छियालेक र राप्लाको दुम्लिङ बिओपी सञ्चालनमा छन् । सशस्त्र प्रहरीका अनुसार दार्चुलामा भारतसँग १९८ किलोमिटर र चीनसँग ७५ किलोमिटर लामो सीमारेखा रहेको छ ।

  • बैतडी बस दुर्घटना अपडेटः आठ जनाको मृत्यु, ४५ जना घाइते

    बैतडी बस दुर्घटना अपडेटः आठ जनाको मृत्यु, ४५ जना घाइते


    बैतडी, २२ माघः बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा आज बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो ।

    मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनले भने, “आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमा एक महिला र सात पुरुष छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।” दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।

  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा १६ जना घाइते

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा १६ जना घाइते

    बैतडी, २२ माघः बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा आज दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।

    पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए । अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

  • काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल

    काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल

    काठमाडौँ, २२ माघः “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र स्वास्थ्यसम्बन्धी सुविधा सहज र सरल हुनुपर्छ”, काठमाडौँ क्षेत्र नं ४ का मतदाता स्नेहा दाहालले रासससँगको कुराकानीका क्रममा भनिन्, “हामीले जिताउने जनप्रतिनिधिले यी विषयमा काम गर्नसक्ने हुनुपर्छ ।” दाहालका यी अपेक्षा अधिकांश मतदाताका अपेक्षासँग मिल्न सक्छन् । उम्मेदवारहरुले निर्धारण गर्दै गरेका कार्यसूचीमा पनि यी विषय पर्न थालेका छन् ।

    मतदाताका अपेक्षा र उम्मेदवारका प्रतिबद्धतासँगै क्रमिक रुपमा चुनावी वातावरण बढ्दो छ । विगतदेखि नै राजनीतिक चर्चाकै केन्द्रमा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं ४ काठमाडौँ महानगरपालिकाका चार वटा र बूढानीलकण्ठ नगरपालिकाको १२ वटा वडा समेटिएको छ । यस क्षेत्रमा अन्य क्षेत्रमा झैँ पुराना, नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच यस क्षेत्रमा हुने प्रतिस्पर्धा बहुआयामिक देखिएको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट १८ राजनीतिक दल र १० स्वतन्त्र गरी २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । गत दुई निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापाले विजय हासिल गरेको यो क्षेत्र यसपटक उहाँले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएकाले पनि चर्चाकै केन्द्रमा रहेको हो ।

    त्यसो त परम्परागत ठूला दलकैबीचमा आफ्नै खालको प्रतिस्पर्धा छँदैछ । यस क्षेत्रमा यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत निर्वाचनका प्रत्यासी डा राजन भट्टराईलाई नै उम्मेदवार खडा गरेको छ, भने नेपाली कांग्रेसले सभापति थापाको बिँडो थमाउने सोचका साथ नयाँ उम्मेदवार सचिन तिमल्सेनालाई उठाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई टिकट दिएको छ । उहाँ यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ र १ बाट चुनाव लडेका छन् ।

    त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका इन्द्रकुमार भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका डा सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, मितेरी पार्टी नेपालका प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीका श्यामकुमार भट्टराई खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीका दत्त बुढा, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टीका मुस्कान पौडेल, जय मातृभूमि पार्टीका राजन पुरी, श्रम संस्कृति पार्टीका बरुण अमात्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का करिष्मा खरेल, उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह) केम्शसिंह उम्मेदवार हुनुहुन्छ ।

    यस्तै, स्वतन्त्रबाट मदनदेव आचार्य, पुजन गजुरेल, अर्चनशमशेर राणा, विनोदबाबु प्रधान, डा दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी, देवराज पौडेल उम्मेदवार रहेका छन् । यहाँ कूल उम्मेदवारमध्ये दुई जना मात्र महिला रहेका छन् । काठमाडौँ महानगरपालिकाको वडा नं १ ७, ८ र ३० वडा तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्ने यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् । जातजातिगत आधारमा यस क्षेत्रमा मिश्रित जनसङ्ख्या रहेको छ ।

    पेसागत रुपमा यस क्षेत्रमा मध्यम तथा बौद्धिक वर्ग, कर्मचारी, व्यवसायी र मजदुर वर्गको बसोबास रहेको छ । यस क्षेत्रमा नक्साल भगवती, कुमारीगाल, गौशाला, डिल्लीबजार, ज्ञानेश्वर, चपली, मण्डिखाटार, कपन, पैयाटारलगायत क्षेत्र पर्दछन् । यस क्षेत्रमा निर्वाचन आयोगबाट खटिएका निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार यस क्षेत्रमा कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् ।

    उहाँले उम्मेदवारी मनोनयनअघि निर्वाचनका लागि भाग लिन दर्ता कायम रहेका र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको र आफूहरुले सबै मतदानस्थलको अवलोकन गरी स्थानीय तह÷सुरक्षा निकायसँग आवश्यक समन्वय गरेको बताए । निर्वाचन प्रचारप्रसारको घोषित समय (फागुन ४ देखि १८) सम्म आउन बाँकी रहेकाले हाल क्षेत्रमा चुनावी सरगर्मी तीव्र भइनसकेको उनको भनाइ छ ।

    काठमाडौँ उपत्यकाका सहरी निर्वाचन क्षेत्रमा प्रायः उस्तैउस्तै चुनावी मुद्दा र मतदाताका अपेक्षा देखिन्छन् । क्षेत्र नं ४ मा पनि एकीकृत सहरी विकास, सहरी व्यवस्थापन, सुुकुम्बासी समस्या, नदी र सम्पदा सफाइ तथा संरक्षण, पार्किङ, ढल तथा खानेपानी व्यवस्थापन आदि यस क्षेत्रका मुख्य मुद्दा देखिन्छन् । कपनको बाढी नियन्त्रण, कालोपुल–गौरीघाट टनेल निर्माणका लागि सम्भाव्यता अध्ययन, गुह्ेश्वरी–तिलगङ्गाको अवरुद्ध बाटो खोली यातायातलाई सहज बनाउने पनि उम्मेदवारका प्राथमिकता देखिन्छन् ।

    प्रजातन्त्र पुनःस्थापनापछिको अवस्थालाई हेर्दा यस क्षेत्रमा सङ्घीय संसद्मा २०४८ सालमा एमालेका साहना प्रधान, २०५१ र २०५४ मा पद्मरत्न तुलाधार, २०५६ मा कांग्रेसका प्रेमलाल सिंह र २०६४ मा कांग्रेसकै सुप्रभा घिमिरे निर्वाचित भएका थिए । संवत् २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका गगनकुमार थापा विजय हासिल गरे । पछिल्ला दुई प्रदेशसभा सदस्य निर्वाचनमा दुई÷दुई स्थान कांग्रेस र एमालेका उम्मेदवारले जितेका थिए । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता थापाले २१ हजार ३०२ मतसहित एमालेका डा भट्टराईलाई पराजित गरेका थिए ।
    समानुपातिकतर्फ गत २०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसको ११ हजार ८०८, एमालेको १० हजार ५६० मत रहेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले नौ हजार ४०१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ८८१, तत्कालीन नेकपा (एकीकृत समाजवादी) ले एक हजार ७१३ मत र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एक हजार ५६४ मत ल्याएको थियो ।

    एमालेका डा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका थिए । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कांग्रेससँग तालमेल गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका थिएनन् । विगतमा कांग्रेसले जितेको यसक्षेत्रमा हाल उक्त पार्टीबाट ठूला नेता नभए पनि युवा नेता उम्मेदवार रहेको र गगन थापाकै उत्तराधिकारीका रुपमा प्रस्तुत भएकाले आफूले पुनःजित्ने अपेक्षा लिएको छ ।

    एमालेले विगतकै उम्मेदवारलाई पुनःप्रस्तुत गरेको, साङ्गठनिक स्थिरता र जनतामा परिवर्तनका चाहना हुने भएकाले आफ्नो पक्षमा परिणाम आउने विश्वास गरेको छ । सङ्गठनात्मक पकड बलियो नभए पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आफूलाई सशक्त प्रतिस्पर्धीका रुपमा उभ्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले युवा उम्मेदवार अघि सारेको र राष्ट्रिय रुपमा आफ्नो पक्षमा माहोल देखिएकाले आफू बलियो भएको जिकिर गरेको छ ।

    अहिलेसम्मको निर्वाचन परिणामको स्थितिलाई हेर्दा यिनै चार÷पाँच उम्मेदवारले जनताको मत बढी पाउने देखिएको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले ठूला दलका कुन उम्मेदवारको कति मत काटछन् भन्ने अहिले नै भन्न सकिने स्थिति छैन । समग्रमा यसपटक यहाँ मुख्य नेतृत्व परिवर्तन, नयाँ दलको उदय र स्वतन्त्र उम्मेदवारको सङ्ख्याले चुनावी समीकरण फरक हुनसक्ने सङ्केत देखिएको छ । स्थानीय मुद्दा, उम्मेदवारको व्यक्तिगत छवि र मतदातासँगको प्रत्यक्ष सम्पर्क नै जितको मुख्य आधार बन्ने ठानिएको छ ।

    यस क्षेत्रका एमालेका उम्मेदवार एवं सो पार्टीका सचिव डा भट्टराईले राष्ट्रिय स्वाधीनता र समद्धिको नीति, नेतृत्व र परिणामका आधारमा युवाको रोजाइमा आफ्नो पार्टी रहेको बताए । यसपटक मतदाता तहबाटै आफूलाई उम्मेदवार बन्न आग्रह आएकाले प्रतिस्पर्धामा उत्रिएकाले बताउँदै सङ्गठनात्मक आधारका कारण आफूहरुले विजय हासिल गर्ने बताए । एमालेले यही माघ १० गते काठमाडौँ उपत्यकाकै निर्वाचन परिचालन कमिटी एकैसाथ घोषणा गरी प्रचार सुरु गरेको थियो । यस्तै अन्य दल र उम्मेदवारले पनि आफ्नो तयारीलाई अघि बढाएका छन् ।

    कांग्रेसले यस क्षेत्रमा यही माघ १७ गते सभापति थापाकै उपस्थितिमा निर्वाचन परिचालनसम्बन्धी भेला आयोजना गरेर निर्वाचन प्रचारको थालनी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार तिमल्सेनाले ‘युथ फर चेन्ज’ को नारा अघि सार्दै सभापति थापा सर्लाहीबाट उठेको सन्दर्भलाई थापाकै उत्तराधिकारीका रुपमा आफू आएको जिकिर गर्दै निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो कार्यशैली र नतिजा फेर्ने अवसर भएकाले सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणाली आफ्ना मुख्य प्राथमिकता भएको बताए ।

  • कारको ठक्करबाट बालिकाको मृत्यु

    कारको ठक्करबाट बालिकाको मृत्यु

    चन्द्रपुर (रौतहट), २२ माघः रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।
    बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो ।

    घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कारमा रास्वपाको चुनाव चिन्ह टासिँएको देखिएको छ । जसको सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ ।

  • निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

    निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

    भक्तपुर, २२ माघः प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छिन् ।
    भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताइन् ।

    “मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ । प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नु भएको रहेछ”, प्रधानमन्त्री कार्कीले भनिन् । निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले देशभर निर्वाचनको माहोल बनेको बताइन् ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईहरु निश्चिन्त मान्नुस्, चुनाव आयो, फरक पर्दैन, चुनाव एउटै र एकैदिनमा हुन्छ, दुई चोटी हुने वाला कहीँ छैन, एकै दिनमा हुन्छ, कहीँ कतै केही हुनेवाला छैन, तोकिएकै मितिमा चुनाव हुन्छ ।”

    निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकुल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै तिर राम्रो भएर आएको बताइन् । हामी सबैले मतदान गर्न पाउँछौँ भन्दै उहाँले मतदानको सबै नतिजा आएपछि नयाँ सरकार बन्ने र आफूहरु आफ्नो घर फर्कने बताइन् । “अब राम्रो हुन्छ, हामी सबैले मतदान गर्न पाउँछौँ, त्यसको परिणाम आउँछ, त्यसपछि सरकार बन्छ र हामी थपक्क सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्ना घरतिर जान्छौँ”, प्रधानमन्त्री कार्कीले भनिन् ।

    मतपत्र छपाइ अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी माहोल बन्दै गएको बताइन् । उनले भनिन्, “भदौ २३ गते मानवता र २४ गते मुलुक गम्भीर सङ्कटमा पुगेको थियो । अहिले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्व विस्तारै कम हुँदै गएको छ । देशभर चुनावी वातावरण बन्दै गएको छ । तोकिएकै मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।”

    वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताइन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै उनले अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध लागू गरिने बताइन् ।


    देश र नागरिकलाई कुनै पनि हालतमा असुरक्षित हुन नदिने भन्दै गृहमन्त्री अर्यालले चुनावका क्रममा एक थोपा रगत बग्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धतालाई अङ्गिकार गरी सुरक्षा योजना तयार पारेको बताइन् । निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र जनताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिने उल्लेख गर्दै उहाँले देशभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताइन् ।

  • पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

    पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

    काठमाडौँ, २२ माघः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिइन् ।

    उनले भनिन्, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।” भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र केहीबेरमा विद्युतीय शव गृहमा दाहसंस्कार गरिने उनले जानकारी दिइन् । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।

  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाउने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाउने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    काठमाडौँ, २२ माघः निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ ।

    कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने छ । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेदवारको उम्मेदवारी निस्सा वा परिचयपत्र, सम्बन्धित बैङ्कको दस्तखत नमूना कार्ड र खाता सञ्चालकको नागरिकता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

    आयोग वा निर्वाचन कार्यालयले कागजात जाँच गरी सिफारिस गरेपछि मात्र बैङ्क तथा वित्तीय संस्थाले खाता खोल्नेछन् । खाता खुलेको जानकारी आयोग, निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्नेछ । कार्यविधिअनुसार राजनीतिक दलको हकमा दलले तोकेका बढीमा दुई जना पदाधिकारीको संयुक्त दस्तखतबाट मात्र खाता सञ्चालन गर्न पाइनेछ ।

    उम्मेदवारको हकमा भने उम्मेदवार स्वयं वा उसले अख्तियारी दिएको व्यक्तिको एकल वा बढीमा दुई जनाको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्न सकिनेछ । यस्तै, निर्वाचन प्रचार–प्रसारसम्बन्धी सबै आम्दानी र खर्च नेपाली मुद्रामै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । स्वेच्छिक आर्थिक सहयोग, प्रचारप्रसारका क्रममा हुने खर्च, चेक, ड्राफ्ट, टिटी वा विद्युतीय माध्यमबाट गरिने भुक्तानी सबै बैङ्क खातामार्फत गर्नुपर्नेछ ।

    सुबास ढुंगाना/रासस

    राजनीतिक दल र उम्मेदवारहरुले रू २५ हजार भन्दा बढीको सहयोग नगदमा लिन पाइने छैन । यस्तो रकम सोझै बैङ्क खातामा जम्मा गर्नुपर्नेछ । रु २५ हजारभन्दा कम रकमका हकमा भने नगद रसिद वा भरपाई काटी खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

    कार्यविधिले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार निषेधित निकाय र व्यक्तिबाट आर्थिक सहयोग लिन कडाइका साथ प्रतिबन्ध लगाएको छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका निकाय, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाहरू, सार्वजनिक शेयर भएको पब्लिक लिमिटेड कम्पनी, सरकारी वा सामुदायिक शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विदेशी सरकार वा व्यक्ति, नाम नखुलेका व्यक्ति वा संस्था तथा आयोगले तोकेका अन्य संस्थाबाट सहयोग लिन पूर्ण रूपमा निषेध गरिएको छ ।

    कार्यविधिमा रु एक लाखभन्दा बढी सहयोग लिँदा सहयोग दिने व्यक्ति वा संस्थाको नाम, ठेगाना, पेशा, स्थायी लेखा नम्बर, रकमको स्रोत तथा करसम्बन्धी विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधि लागू हुनुअघि खोलिएका निर्वाचन खर्चसम्बन्धी बैङ्क खातामा रहेको रकम अब नयाँ कार्यविधिअनुसार खोलिएको खातामा सार्नुपर्ने छ । “राजनीतिक दल वा उम्मेदवारले यो कार्यविधि लागू हुनुभन्दा अघि निर्वाचन प्रचारप्रसार गर्ने प्रयोजनका लागि बैङ्क खाता खोली प्राप्त गरेको रकम यस कार्यविधिबमोजिम खोलिएको बैङ्क खातामा सार्नुपर्नेछ”, कार्यविधिमा भनिएको छ ।

    निर्वाचन सम्पन्न भएपछि दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । सो विवरणको प्रतिवेदन तयार भएको ३५ दिनभित्र बैङ्क खाता बन्द गर्न लगाइने छ, तर खाता विवरण भने छ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । दल खारेज भएमा वा उम्मेदवारी रद्द भएमा आयोगले जुनसुकै समयमा खाता बन्द गराउन सक्नेछ ।

    कार्यविधिले राजनीतिक दल र उम्मेदवारले चुनावमा गरेको खर्च अनुगमनको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) प्रमुखलाई दिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा कोलेनिका प्रमुखले यस्तो निगरानी गर्नेछन् । अनुगमनमा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको दुरुपयोग भए–नभएको, निषेधित निकायबाट सहयोग लिइएको–नलिइएको, खर्च सीमा नाघिएको–ननाघिएको, निषेधित कार्यमा खर्च गरिएको–नगरेकोलगायत विस्तृत विवरण संकलन गरिनेछ ।

    बैङ्क खातासम्बन्धी कागजात र विवरणलाई प्रचलित कानुनबमोजिम गोप्य र अनतिक्रम्य मानिने व्यवस्था गरिएको छ, तर निर्वाचन आयोग वा आयोगले अधिकार दिएको अधिकारीले आवश्यक ठानेमा खाता जाँच वा परीक्षण गर्न सक्ने स्पष्ट प्रावधान राखिएको छ । यसअघिका निर्वाचनमा प्रचारप्रसार खर्चको स्रोत, परिमाण र प्रयोगबारे गम्भीर प्रश्न उठ्दै आएको थियो ।

    स्वेच्छिक सहयोगको नाममा अपारदर्शी लेनदेन, नगद खर्च, निषेधित निकायबाट सहयोग लिने अभ्यास र खर्च सीमा नाघ्ने प्रवृत्तिले निर्वाचनको निष्पक्षता र सुशासनमा चुनौती थप्दै आएको थियो । यही सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र निर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाउन आयोगले यो कार्यविधि लागू गरेको जनाएको छ ।

  • रिजउड नेप्लिज सोसाईटीद्वारा स्वस्थानी महोत्सव २०२६ सु-सम्पन्नबारे प्रेस विज्ञप्ति जारी

    रिजउड नेप्लिज सोसाईटीद्वारा स्वस्थानी महोत्सव २०२६ सु-सम्पन्नबारे प्रेस विज्ञप्ति जारी

    न्युयोर्क

    नेपाली सनातन हिन्दू धर्मको पवित्र ग्रन्थ श्री स्वस्थानी ब्रतकथाको अवसरमा रिजउड नेप्लिज सोसाईटी न्युयोर्कले श्रद्धा, एकता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरण — न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य रूपमा सु-सम्पन्न गरेको छ ।

    सोसाइटीले प्रकाशित गरेको विज्ञप्ति;

    नेपाली–अमेरिकन विभिन्न संघ–संस्था, तथा मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाज (RNS) द्वारा न्यूयोर्कस्थित एकमात्र नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्र, रिजउडमा जनवरी ३, २०२६ देखि फेब्रुअरी १, २०२६ सम्म आयोजित श्रीस्वस्थानी व्रतकथा – न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य, मर्यादित तथा ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित भएका छौँ।

    एक महिनासम्म निरन्तर सञ्चालन भएको यस धार्मिक तथा सांस्कृतिक महोत्सवमा करिब ६,००० भन्दा बढी श्रद्धालु भक्तजनहरूको प्रत्यक्ष सहभागिताले नेपाली समुदायको आस्था, संस्कार, सांस्कृतिक पहिचान तथा सामूदायिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ।
    न्यूयोर्क क्षेत्रमा बढ़ेको चिसो हिमपात तथा अन्य प्रतिकूल परिस्थितिका बाबजुद पनि दैनिक रूपमा कथा–पाठ, पूजा–आराधना,आरती ,कर्ता (यजमान) सेवा, प्रसाद वितरण तथा सांस्कृतिक–आध्यात्मिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनु नेपाली समुदायको एकता, अनुशासन र संगठनात्मक क्षमताको सशक्त उदाहरण हो ।

    यस महोत्सव मार्फत कुल $358,974.81 (तीन लाख अठाउन्न हजार नौ सय चौहत्तर अमेरिकी डलर ,एकासी सेन्ट ) संकलन भएको छ। उक्त धनराशी मध्ये
    डीटीएनसी

    • पुरानो प्रतिबद्धता गरिएको $50,752.56,
    • मूर्तिहरू पुनर्स्थापनाको लागि $62,512.00, तथा
    • मंदिर संचालनको निमित्त “dollar A day ( मुठी दान) सामुदायिक अभियान” अन्तर्गत हाल सम्म ११० जना बाट $13,103.00 प्राप्त भएको हो।
      बाँकी रकम श्रीस्वस्थानी महोत्सव २०२६ अवधिभर विभिन्न कर्ता/यजमान, दाताहरू तथा श्रद्धालु भक्तजनहरूको स्वेच्छिक दान बाट प्राप्त भएको हो।
      यी सबै संकलित रकमहरू दुर्गा मंदिर (नेपाली मन्दिर), सामुदायिक तथा सांस्कृतिक केन्द्रको जारी पुनर्निर्माण तथा निरन्तर सञ्चालनका निमित्त खर्च गरिनेछ।
    • पुनश्च: सम्पूर्ण नेपाली समुदायहरूलाई यो जानकारी गराउन चाहन्छौँ कि नेपाली मन्दिर (दुर्गा मंदिर), समुदाय तथा सांस्कृतिक केन्द्रको भवन खरिद र पुननिर्माण को लागि लिइएको कुल ऋणमध्ये $1,180,000 (एघार लाख अस्सी हजार अमेरिकी डलर ) अझै भुक्तानी गर्न बाँकी रहेको छ साथै, जारी पुनर्निर्माण कार्य अन्तर्गत करिब $80,000 (असी हजार अमेरिकी डलर ) भुक्तानी गर्न बाँकी रहेको छ।

    केन्द्रको मासिक गृहकर्जा (mortgage) प्रतिमहिना $10,500 (दश हजार पाँच सय अमेरिकी डलर ) रहेकाले, यो उल्लेखनीय प्रगतिले ठुलो राहत प्रदान गरेको छ । अझ बाँकी दायित्वहरू पूरा गर्न समुदायको निरन्तर सहयोग, समर्थन र सहभागिता अत्यन्त आवश्यक छ।

    “न्यूयोर्क स्वस्थानी महोत्सव २०२६“ को सफल आयोजनामा योगदान पुर्‍याउनुहुने दुबै गुरूहरू, मुख्य आयोजक समिति, उपसमिति संयोजकहरू, सञ्चालन तथा व्यवस्थापन टोली, स्वयंसेवकहरू, कर्ता/यजमानहरू, दाताहरू, प्रायोजकहरू, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक प्रस्तुतिमार्फत कार्यक्रमलाई जीवन्त बनाउनुहुने प्रस्तुतिकर्ताहरू, मिडिया तथा कम्युनिटी पार्टनरहरू, सहभागी आदरणीय सरकारी पदाधिकारीहरू, साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ सहकार दिनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति हृदयदेखि हार्दिक धन्यवाद, साधुवाद तथा कृतज्ञता अर्पण गर्दछौँ।

    यस महोत्सवले आर्थिक मात्र होइन, हाम्रो साझा आस्था, संस्कार, सांस्कृतिक पहिचान र सामुदायिक एकताको दीर्घकालीन आधारलाई अझ मजबुत बनाएको छ। यही एकता, विश्वास र सेवाभाव आगामी दिनहरूमा पनि निरन्तर रही रहनेछ भन्ने दृढ विश्वासका साथ, बाँकी दायित्वहरू पूरा गर्न तथा नेपाली मन्दिर, समुदाय तथा सांस्कृतिक केन्द्रलाई पूर्ण रूपमा सुदृढ बनाउन सबैमा निरन्तर सहयोग, सहभागिता र समर्थनको हार्दिक अनुरोध गर्दछौँ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा प्रतिनिधि

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा प्रतिनिधि

    काठमाडौँ, २० माघः नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा प्रतिनिधि खटाएको छ । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आज सातै प्रदेशमा प्रतिनिधि खटाएको हो । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न र सहयोग गर्न प्रतिनिधि खटाएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

    तोकिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने उहाँले बताउनुभयो । कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा सहमहामन्त्री डा डिला सङ्ग्रौला, निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ ।

    कोशीकै सङ्खुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजङ्ग रायमाझीलाई खटाइएको छ । सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी प्रतिनिधि तोकिएका छन् ।

    यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौँका लागि सहमहामन्त्री बहादुरसिंह लामा, डा केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा अमिता प्रधानलाई खटाइएको छ । यस्तै, काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ ।

    भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतमलाई खटाइएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । गण्डकी प्रदेशका पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेललाई खटाइएको छ । यस्तै, स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल, गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई खटाइएको छ ।

    लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहलाई तोकिएको छ । यस्तै, कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य प्रतिनिधि रहेका छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रङ्गमती शाही खटिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    यस्तै, सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना खटिएका छन् भने कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा रणबहादुर रावल र नृपबहादुर वडलाई जिम्मेवारी दिइएको छ । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्टलाई खटाइएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो


    काठमाडौँ, २० माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको उहाँले बताउनुभयो । नाम हटाइनेमा नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना समानुपातिक उम्मेदवारको नाम हटाइएको विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, दुई वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम समावेश नभएका एक र मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका दुई जनाको नाम हटाइएको हो । यसैगरी, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूष उम्मेदवार पेस गरिएका कारण एक जनाको नाम हटाइएको छ ।

    सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताउनुभयो । माथि उल्लेख गरिएका कारणमध्ये एकभन्दा बढी कारण परेका दुई जना पनि बन्दसूचीबाट हटाइएका छन् ।

  • सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

    सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

    गलकोट (बागलुङ), २० माघः सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउनुभएका अनन्त खड्काले यसपटक भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गर्नुभयो ।

    यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा रु चार करोड भित्रिएको छ । खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गर्नुभयो । आफूजस्ता एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताउनुभयो । अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन् । सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडाँै र चितवनमा छ । कोदो बारी र धान खेत मासेर यहाँका किसानले २०५० सालयता व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान अहिले धमाधम सुन्तलाखेती विस्तारमा छन् । सिगानामा अबको पाँच वर्षमा गाउँ नै ढाकिनेगरी सुन्तलाखेती विस्तार भइरहेको छ । सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले सुन्तला लगाउनटे क्रम जारी छ ।

    गत वर्ष सुन्तला बिक्रीबाट रु तीन करोड ५० लाख भित्र्याएका सिगानाका किसानले यस वर्ष चार करोड रकम भित्र्याएका छन् । सिगानामा समग्रमा रु ५० लाखको सुन्तला उत्पादनमा गत वर्षको तुलनामा वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताउनुभयो । उहाँले सहकारीमार्फत सुन्तलाखेती विस्तार गर्दै अनुदानमा सुन्तलाका बिरुवा पनि वितरण गर्दै आएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो । यहाँका सुन्तलाको स्तरीकरण गरेर फरक–फरक मूल्यमा ठेकेदारले पोखरासहितका अन्य बजारमा पठाउने गरेका छन् । वडा कार्यालयले सुन्तलाको तथ्याङ्क समेत राख्न नसकेको भन्दै गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काले गत वर्षदेखि सिगानाको सुन्तलाको तथ्याङ्क संकलन गर्ने कार्य थालिएकाले यो वर्ष चार करोड बढी रकम सुन्तला बिक्रीबाट सिगाना भित्रिएको बताउनुभयो । सिगानामा २५० भन्दा बढी किसानको सानादेखि ठूलो सुन्तला बगैँचा छ । यस वर्ष ४०० नयाँ बोटले सुन्तला उत्पादन दिन सुुरु गरेका छन् । सिगाना गाउँका साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा सुन्तला उत्पादन बढिरहेको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले जानकारी दिनुभयो ।

    यहाँका टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गङ्गा केसीलगायत किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन् । बगैँचा विस्तार र मलजलका कारण सुन्तलाखेती उत्पादन फस्टाउँदै गएको पाइएको छ ।

  • नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

    नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो


    नवलपुर (नवलपरासी), २० माघ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट करिब ३०० निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

    जिल्लामा परेको दुई हजार ५०० बढी आवेदनमध्ये यहाँका लागि एक हजार ७४२ जना निर्वाचन प्रहरी छनोट गरिएको खड्काले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले माग गरेअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेपछि वैकल्पिक सूचीमा रहेकामध्ये २९० जनालाई स्याङ्जा पठाइएको खड्काले बताउनुभयो । “हामीले सफल उम्मेदवारहरुलाई आइतबारदेखि तालिम दिन सुरु गरेका छौँ, आजसम्म लगातार तीन दिन अनुपस्थित भएकालाई सूचीबाट हटाएर वैकल्पिकलाई तालिम दिन्छौँ”, उहाँले भन्नुभयो, “वैकल्पिकमा परेकामध्ये १०० जनाभन्दा बढीलाई हामीले जिल्लामा नै राखेका छौँ ।”

    जिल्लामा गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा आवश्यक सङ्ख्याभन्दा थोरैको आवेदन परेपछि पुनः माघ १० र ११ गते पनि निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो । दोस्रोपटक म्याद थपिएपछि जिल्लामा आवश्यकताभन्दा बढी आवेदन परेको खड्काको भनाइ छ । जिल्लामा नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीबाट आवेदन माग गरिएको थियो ।

    “जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिएर उत्तीर्ण भएका एक हजार ५४३ जना र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा आवेदन दिएर उत्तीर्ण भएका १९९ जना गरी एक हजार ७४२ जनालाई तालिम दिन सुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो । सशस्त्र प्रहरीतर्फबाट छनोट भएका निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा तालिम दिइएको भन्दै उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयबाट छनोट भएका एक हजार ५४३ जनालाई जिल्लाका विभिन्न स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तालिम प्रदान गर्दैछौँ ।”

    छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनको तालिमपश्चात निर्वाचन प्रहरीका रूपमा निर्वाचन सुरक्षाका लागि खटाइने खड्काले बताउनुभयो । आसन्न निर्वाचनमा जिल्लाको ११४ मतदानस्थलका ३११ मतदान केन्द्रबाट मतदान हुँदैछ । जिल्लामा जम्मा दुई लाख ६८ हजार ५२६ मतदाता रहेकामा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्लाका ११ मतदानस्थल अतिसंवेदनशील नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विभिन्न ११ मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका क्रममा भौगोलिक विकटता, विगतको अवस्थालगायत विभिन्न विषयलाई अध्ययन गरी निर्वाचनस्थलको वर्गीकरण गरिएको हो । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा ११ वटा अतिसंवेदनशील, ५० वटा संवेदनशील तथा ५३ वटा सामान्य मतदानस्थल रहेका भुसालले बताउनुभयो । प्रतिनिधिसभा सदस्यको दुईवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा निर्वाचन सुरक्षाका लागि केन्द्रीय तयारीअनुसार नै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिदैछन् । मतदान केन्द्रमा नेपाल प्रहरी र निर्वाचन प्रहरी मतदानस्थलको सुरक्षामा सशस्त्र प्रहरी तथा बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने जनाउँदै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले राष्ट्रिय अनुसन्धानका कर्मचारीले निर्वाचनको गतिविधिबारेमा बाहिरी घेराबाट सूचना सङ्कलन गर्ने जानकारी दिनुभयो ।

  • निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

    निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो


    काठमाडौँ, १९ माघ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ ।

    आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन् । मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौँस्थित कूटनीतिक नियोग एवं संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ ।

    सो कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

  • विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

    विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार


    म्याग्दी, १९ माघ : रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूताबासको समन्वयमा गत कात्तिक २५ गते डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्धार भएको हो ।

    गत हप्ता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको प्रतिक्रिया दिनुभयो । “सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका म लगायत १३ जना नेपाली चढेको डुुङ्गा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरेपनि राहदानी लगायत कागजात नहुँदा अलपत्र बनेको थिएँ,” भुवनले भन्नुभयो “मलाई त्यहाँ लैजाने सन्तोष विक, किसान विक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार भएर घर आउन पाउँदा नयाँ जीवन पाएको महसुस गरेको छु ।”

    चिसो पानीमा डुबेको र पानी निलेका कारण स्वास्थ्यमा गम्भीर समस्या भएका भुवनको स्वास्थ्यमा सुधार भए पनि आन्द्राको समस्या अझै निको हुन नसकेको बताउनुभयो । उनीहरु सर्बियामा जागिर र काम गरेको ठाउँमा तलब नपाएपछि त्यहाँबाट भागेर अवैध बाटोबाट इटली जाने क्रममा दुर्घटनामा परेका हुन् । आप्रवासी स्रोत केन्द्र म्याग्दीका कर्मचारी प्रमिला पौडेलले भुवनकी श्रीमती मीनाले गत पुस २३ गते पेस गरेको निवेदनको आधारमा गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन राजदूतावाससँग समन्वय गरेर उद्धार गरिएको जानकारीदिनुभयो ।

    प्रतिव्यक्ति रु ११ लाख तिरेर भुवनसँगै सर्विया पुगेका म्याग्दीका अन्य तीन पनि भने जस्तो काम र तलब नपाएपछि घर फर्किएका छन् । भुवनसँगै डुङ्गा दुर्घटनामा परेका बेनी–९ काउलेगौँडाका बिष्ने सार्कीको अवस्था भने अझै अज्ञात रहेकाले खोजी गरिदिन उहाँका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन् ।

  • सुक्खा पहिरोले टिमुरे–रसुवागढी राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले टिमुरे–रसुवागढी राजमार्ग अवरुद्ध


    रसुवा, १८ माघः रसुवा जिल्लाको टिमुरे–रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार साँझ पहिरो जाँदा चिनियाँ सामान आयातका लागि केरुङतर्फ जाँदै गरेका कन्टेनर घट्टेखोलामा रोकिएका छन् । यसैगरी, कामको सिलसिलामा केरुङ गई घर फर्कन लागेका नेपाली नागरिकहरु सडक अवरुद्ध भएपछि नेपाल–चीन मितेरी पुल पारि चिनियाँ भूभागमै रोकिएका छन् । राजमार्ग पुनः सञ्चालन गर्न स्काभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको सीमा प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कँुवरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करिब २९ किलोमिटर उत्तरतर्फ रहेको छ । प्रहरी निरीक्षक कुँवरले पहिरो ठूलो भएका कारण जोखिमको अवस्था विश्लेषण गरेपछि मात्र पैदल यात्रुलाई आवत–जावत गराइने जानकारी दिनुभयो । सुरक्षालाई दृष्टिगत गर्दै यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

  • नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौँ, १८ माघः नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौँका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटका ४२ वर्षीय केशव फुँयाल, नुवाकोटका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँका ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल रहेका छन् । कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डबाट नक्कली भएको पुष्टि भएकाले उक्त नक्कली प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

  • ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै काठमाडौं महानगर

    ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै काठमाडौं महानगर

    काठमाडौँ, १७ माघः काठमाडौँ महानगरपालिका (कामपा) ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि आइतबारदेखि थालिने भएको छ । त्यसका लागि घरदैलोमा पुग्ने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन पनि प्रदान गरिएको छ ।

    आर्थिक अवस्था कमजोर भएका र परिवारमा सदस्य साथमा नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । यसैगरी शारीरिक अशक्तता भएका, दीर्घरोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षण गरिन लागेको कामपाले जनाएको छ ।

    कार्यवाहक प्रमुख सुनिता डङ्गोलले धेरैका सन्तान विदेशमा रहेकाले पनि ज्येष्ठ नागरिकहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेली मेडिसिन प्रणाली बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौँ, कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकले हाम्रा लागि पनि कोही रहेछन् र पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।” सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिएको छ, भने यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण पनि प्रदान गरिएको छ । कार्यक्रमबारे कामपाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले यो सेवामा औषधि व्यवस्थापन तथा पोषण परामर्श दिनुका साथै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो । यसैगरी व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइनुका साथै सङ्कलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुने उहाँले बताउनुभयो ।

  • जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी

    जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी

    जुम्ला, १७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकामध्ये ८७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । सबै प्रक्रियाबाट सफल भई छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए ।

    निर्वाचनका लागि जिल्लामा जम्मा मतदाता ७१ हजार ७३९ रहेका छन् । कूल मतदातामध्ये महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको उनले  बताए। जिल्लामा अतिसंवेदनशील मतदानस्थलबारे सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गर्ने काम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्र र नौ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही प्रतिस्पर्धामा छन्  । यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट विर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेकपा (माओवादी)बाट विर्खबहादुर शाही चुनावी मैदानमा छन, भने भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

  • द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    नारायण न्यौपाने–रासस
    लेनडाँडा (मकवानपुर), १६ माघ । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई–मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक’ निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।

    सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ बे्रक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त दू्रतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।

    द्रूतमार्गअन्र्तगत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन् । हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोेजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । कार्यदलका अनुसार बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्टक्चर सम्पन्न भएको छ । विशिष्ट प्रकृतिका त्यस्ता पुलहरु एकैसाथ धमाधम निर्माण भइरहेकाले निर्धारित मितिमै आयोजना सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । ती सबै पुलको कुल लम्बाइमात्रै पनि १२.८८५ किमीभन्दा बढी हुनेछ । आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । दू्रतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भएको तथा इन्टरचेन्जको कार्य भइरहेको जनाइएको छ । त्यस्ता इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहनेछ । आयोजनाका लागि आवश्यक पर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा बाहेक अन्य क्षेत्रको जग्गा अधिग्रहण यसअघि नै भइसकेका छन् । राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलो दू्रतमार्ग हो ।

    फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ । दू्रतमार्गको निर्माणपछि राजधानीसँगको यात्रालाई छोटो र ढुवानीलाई सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौँबाट मध्यतराई पुग्न सकिने छ । द्रूतमार्ग निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकेहीलाई पनि उत्साह प्रदान गर्ने गरेको छ । मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने एउटा रूपन्तरणकारी आयोजनाका रूप्मा द्रूतमार्गलाई हेरिएको छ ।

    यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार यस आयोजनाको स्थलगत निरीक्षण गरी स्थानीयको भावनाअनुरूप् धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुर्याउने गरी आयोजनालाई तीव्र रूप्मा अघि बढाउन निर्देशन दिएकी थिइन् । सुरुआती चरणमा दू्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृतमा ढिलाइका कारण कार्य प्रारम्भ प्रभावित भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते उक्त आयोजना नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको थियो । आयोजनाको डिपिआर भने २०७६ भदौ १ गतेमात्र स्वीकृत भएको थियो । अन्तरराष्ट्रियस्तरको दू्रतमार्ग निर्माणपछि सडक निर्माणका क्षेत्रमा प्राप्त अनुभवले देशमा सडक सञ्जाल विस्तारमा राज्यको क्षमतासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

  • हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    मुस्ताङ, १६ माघ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो ।

    यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ ।

    चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ–२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी–कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायबसुब्बा देवकोटाको भनाइ छ ।

    हिमपातअघि कोरलानाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी–कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताउनुभयो । कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उनको अनुमान छ ।

    कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिए । छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन् ।

    हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ । चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालालाई पनि समस्या परेको छ ।

  • निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

    निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

    काठमाडौँ, १६ माघ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

    त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

    आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।

    अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।रासस

  • आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

    आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

    काठमाडौँ, १६ माघ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

    राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

    प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

    विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

  • उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    हेटौँडा (मकवानपुर), १६ माघः मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ । सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन् । झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम उनको नियमित कर्म बनेको छ।

    पात–पत्करका लागि डिपाट सामुदायिक वनमा १५ सय फिटका तीनवटा खाल्डा बनेका छन्भने प्रत्येक खाल्डामा १५ सय ट्रयाक्टर मल उत्पादन हुने गरेको छ । यही उत्पादनमा विमला व्यस्त थिइन् । उनी भन्छिन्, “खाल्डामा मलमात्र होइन, हाम्रो जीवन नै संगालेको महसुस हुन्छ, साना नानी लिएर घरमा आगो बल्ला भनेर रातभर नसुत्ने हामीलाई यही खाल्डाले आनन्दको निद्रा दिएको छ ।” उनलाई करिब १० वर्ष अगाडिसम्म हिउँदमा वन नजिकैको घर डढेलोले जलाउँला भन्ने डर थियो । विस्तारै वनमा काम, खेती र मल उत्पादनको विकल्प ल्याइयो र डढेलो पूर्ण रूप्मा नियन्त्रण भएपछि निद्रा लागेको उनको भनाइ छ ।

    अर्धसहरी जीवनशैली भएका र राजमार्ग छेउमा घर भएका विमलाको समुदाय नै यतिबेला सामुदायिक वनभित्र भेटिन्छ । दुईतीनवटा गाईवस्तु पाल्दा अरु काम गर्न नपाइने र त्यसैमा गुजारा नहुने कारण खेती गर्न नै मलले समस्या पारेकामा अहिले भने वनबाट मल र दैनिक ज्यालादारीका रूप्मा आम्दानी दुवै पाइरहेको विमला बताउँछिन् ।

    उनी भन्छिन्, “पहिला मलका लागि अनिवार्य रूप्मा पशु पाल्नुपर्ने बाध्यता थियो, गोठ बनाउने, घाँसदाउरा जोहो गर्ने र पशु स्याहारमै धेरै समय खर्च हुन्थ्यो”, “अहिले सामुदायिक वनबाटै कम्पोष्ट मल पाइने भएपछि धेरै सहज भएको छ ।” वनमा झरेका पात–पत्कर, झाडी सफाइबाट निस्किएको जैविक पदार्थ कम्पोष्टमा परिणत भएपछि खेतका लागि पर्याप्त मल उपलब्ध हुन्छ । यसले माटोको उर्वराशक्ति बढाएको छ, बाली उत्पादन राम्रो भएको छ र रासायनिक मल किन्ने खर्च पनि घटेको छ ।

    झाडी सफाइ केवल स्वच्छताका लागि मात्र होइन, आम्दानीको स्रोत पनि बनेको छ । वन उपभोक्ता समूहले सफाइबाट सङ्कलित सामग्रीलाई व्यवस्थित रूप्मा मल उत्पादनमा प्रयोग गर्छ । सो मल बिक्री हुँदा समूहलाई आम्दानी हुन्छ, जसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउँछन् । विमलाका अनुसार यस आम्दानीले छोराछोरीको पढाइ, घर खर्च र दैनिक आवश्यकतामा सहयोग पुगेको छ । छोराछोरी पाल्न अब पहिलेजस्तो गाह्रो छैन, उनी भन्छिन् ।


    झाडी सफाइ र पत्कर सङ्कलनले वनभित्र सुक्खा पदार्थ थुप्रिन दिँदैन । यसको व्यवस्थापनले आगलागीको जोखिम घटाएको छ । पहिले हिउँद सुरु हुनासाथ डढेलोको डरले राति निद्रा लाग्दैनथ्यो । अहिले भने वन सफा, चिस्यानयुक्त र निगरानीमा भएकाले समुदाय ढुक्क छ । विमलामात्र होइन, यस क्षेत्रका सबै सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको दैनिकी र उपलब्धि उस्तै छ ।

    डिपाट सामुदायिक वनसँगै सीमा जोडिएको सुनाचुरी सामुदायिक वन उपभोक्ता सरिता ब्लोन बिहानै कागतीका बिरुवा स्याहार गर्न वन पुग्छिन् । उनी भन्छिन्, “पहिले वन संरक्षण भनेको पहरा दिनुमात्र होजस्तो लाग्थ्यो, अहिले वनमै खेती गर्न पाउँदा आम्दानी पनि भयो । वन हाम्रो आफ्नै खेतबारीजस्तो लाग्न थालेको छ ।”

    सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन आज आत्मविश्वासका साथ वनमा काम गरिरहनुभएको देखिन्छ । तर उहाँका लागि १० वर्षअघिको हिउँद अझै पनि डरलाग्दो स्मृतिका रूप्मा रहेको छ । वनको छेउमै घर भएकी उनी भन्छिन्, “राति निद्रा लाग्दैनथ्यो, डढेलोले घर भेट्ला कि भन्ने डर हुन्थ्यो ।” छिमेकीको गोठमा आगलागी भएको घटनापछि धेरै रात अनिँदो बसेको सम्झना अझै ताजा छ । तर अहिले अवस्था फेरिएको छ । वनमा झरेका पात–पत्कर सङ्कलन गरी कम्पोष्ट मल उत्पादन सुरु भएपछि आगलागीको जोखिम न्यून भएको छ । “अब ढुक्क छु”, उनी भन्छिन्, “अहिले वनको निजी सम्पत्तिजत्तिकै माया लाग्छ, माया लागेपछि आगो लाग्न नदिने प्रयास आफैँ हुन्छ ।”

    डिपाट सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर मोक्तान उज्यालो हुनेबित्तिकै वनमा जान्छन् । उनको नेतृत्वमा उक्त सामुदायिक वनमा कम्पोष्ट मल र तेजपत्ताखेती भइरहेको छ । दिनमा खेती र रातमा पहरेदारीको काम गर्नु आफूहरुको दैनिकी भएको उनी बताउँछन् । ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोग र वन समूहको आन्तरिक कोषको करिब रु ३५ लाख लगानीबाट उक्त मल उत्पादनको काम सुरु गरिएको अध्यक्ष मोक्तानको भनाइ छ ।

    उनी भन्छन्, “पत्कर जलाउने परम्परा हटेपछि वन सफा भएको छ, आगो सल्किने सम्भावना घटेको छ र किसानका लागि जैविक मलको स्थायी स्रोत बनेको छ ।” उनका अनुसार करिब १० वर्षदेखि आगलागी नभए पनि पछिल्ला सात वर्षयता पूर्ण रूप्मा आगलागी शून्य रहेको छ ।

    डिपाट सामुदायिक वन आज दिगो वन व्यवस्थापन र स्थानीय समृद्धिको उदाहरण बनेको अध्यक्ष मोक्तानको दाबी छ । उनका अनुसार कुनै समय वनभित्र थुप्रिने पात–पत्कर डढेलोको मुख्य कारण थिए । हरेक सुक्खा मौसमसँगै आगलागीको त्रास थियो । तर उपभोक्ता समूहले ती पत्कर सङ्कलन गरी कम्पोष्ट मल बनाउने निर्णय गरेपछि वन व्यवस्थापनको सोच नै फेरियो । कम्पोष्ट मल उत्पादन र बिक्रीबाट आएको आम्दानी वन संरक्षण, सरसफाइ, आगलागी नियन्त्रण पूर्वतयारी र उपभोक्ता सचेतनामा पुनः लगानी भइरहेको छ । यसले समुदायमा वनप्रतिको अपनत्व र जिम्मेवारी भावना बलियो बनाएको उनको भनाइ छ ।

    वन जोगाउन सक्रिय उपभोक्ता

    मनहरी गाउँपालिका–७ मा अवस्थित डिपाट सामुदायिक वनसँग सिमाना जोडिएको पशुपति सामुदायिक वन क्षेत्रमा पछिल्ला वर्षहरुमा एक उदाहरणीय अभ्यास सुरु भएको छ । विद्युत् प्रसारण लाइन विस्तारका क्रममा ठूला रुख हटाइएपछि हाइटेन्सन लाइनमुनि खाली जमिन बाँकी थियो । पुनः रुख रोप्न नमिल्ने ती स्थान लामो समयसम्म प्रयोगविहीन रहे, जसका कारण झाडी बढ्ने र हिउँदयाममा आगलागीको जोखिम उच्च बन्दै गएको थियो ।

    तर अहिले ती बेवास्तामा परेका क्षेत्र महिलाका लागि आम्दानी र वन संरक्षण दुवैको आधार बनेका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन लाइनमुनि जडीबुटी, अदुवा र बेसारखेती सुरु गरेपछि वन व्यवस्थापनको स्वरूप् नै फेरिएको छ । खाली जमिन उत्पादनशील बन्दा झाडी बढ्न पाएन, सुक्खा पदार्थ थुप्रिन छाड्यो र आगलागीको सम्भावना उल्लेखनीय रूमा घट्यो ।

    लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियारका अनुसार खेती सुरु भएपछि वनमा बेवास्ता हुने ठाउँ नै बाँकी रहेन । “पहिले यहाँ झाडीमात्र हुन्थ्यो, हिउँद लागेपछि आगो लाग्ला कि भन्ने डर हुन्थ्यो”, उनी भन्छन्, “अहिले खेत बनेपछि सफाइ पनि हुन्छ, निगरानी पनि बढेको छ भने आगलागीको जोखिम घटेको छ ।”

    दलित समुदायकी चम्पामायाका लागि यो अभ्यास आर्थिक आम्दानीभन्दा पनि सामाजिक परिवर्तनको कथा बनेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएपछि उनले लेखपढ गर्न सिकेकी छन्, बैठकमा आफ्ना कुरा राख्न थालेकी छिन् र समूहको नेतृत्वसमेत गरेकी छन्, “पहिले दलित भनेर हेयको नजरले हेरिन्थ्यो, अहिले काम र क्षमताका आधारमा चिनिन थालेकी छु”, उनको अनुभव छ ।

    समूहले खेतीसँगै वन संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । नियमित झाडी सफाइ, सुक्खा घाँस र पत्कर हटाउने, आगलागी हुनसक्ने स्थानमा सतर्कता अपनाउने र समुदायस्तरमा निगरानी गर्ने काम भइरहेको छ । यसले वन क्षेत्रमा डढेलो हुन नदिनेमात्र होइन, माटो मलिलो बनाउन पनि सहयोग पुगेको समूहको दाबी छ । जडीबुटीखेतीबाट बाँकी रहने जैविक पदार्थ कम्पोष्ट मलमा प्रयोग हुँदा माटोको उर्वराशक्ति बढेको छ ।

    वन उपभोक्ता समूहका अनुसार महिलाको सक्रिय सहभागिताले वन संरक्षण थप प्रभावकारी बनेको छ । आम्दानीसँग जोडिएपछि वन जोगाउने जिम्मेवारी पनि साझा बनेको छ । पछिल्ला वर्षमा पशुपति सामुदायिक वन क्षेत्रमा कुनै ठूला आगलागीका घटना नभएको समूहले जनाएको छ । पशुपति सामुदायिक वनको यो अभ्यासले देखाएको छ– सिर्जनात्मक सोच, महिलाको नेतृत्व र सामुदायिक सहभागिता भए वन संरक्षण र जीविकोपार्जनसँगसँगै अघि बढ्न सक्छ । बेवास्तामा परेका जमिन उत्पादनशील बनेका छन्, आगलागीको जोखिम घटेको छ र समुदायमा सामाजिक रूपन्तरणको नयाँ बाटो खुलेको छ ।

    वातावरणीय फाइदा : कार्बनदेखि जैविक विविधतासम्म

    डिभिजन वन कार्यालय मनहरीका वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार सुक्खा पत्कर, हुरीबतास र मानवीय लापरवाहीका कारण हरेक वर्ष हजारौँ हेक्टर वन क्षेत्रमा आगलागी हुने गरे पनि मनहरी गाउँपालिकाका सुनाचुरी, डिपाट, पशुपति र मनकामना सामुदायिक वनमा विगत १० वर्षदेखि आगलागी नभएको र पछिल्ला सात वर्षयता पूर्ण रूप्मा शून्यमा झरेको छ । “आगोको जोखिम उच्च मानिने क्षेत्रमा आगलागी शून्य हुनु संयोग होइन”, उनी भन्छन्, “यो सचेत योजना, सामुदायिक सहभागिता र वनलाई आम्दानीसँग जोड्ने दूरदृष्टिको परिणाम हो ।”

    डढेलो नलाग्दा कार्बनडाइअक्साइड, मिथेन र सुक्ष्म कणजस्ता हरितगृह ग्यासको उत्सर्जन घटेको छ, जसले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुर्याएको छ । जैविक मल प्रयोग बढेकाले माटोको गुणस्तर, चिस्यानधारण क्षमता र कार्बन सञ्चिति बढेको छ । मनहरी क्षेत्रमा निर्माण गरिएका रिचार्ज पोखरीले भूजल पुनःभरण, मुहान संरक्षण, वन्यजन्तुका लागि पानीको उपलब्धता र जल सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

    विजयसाल, सतिसाल, दार, चिउरी र नीमजस्ता स्थानीय प्रजातिको रोपाइँ तथा लोपोन्मुख सालक (प्याङ्गोलिन) संरक्षणका प्रयासले जैविक विविधता संरक्षणलाई थप मजबुत बनाएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईका अनुसार वनलाई आम्दानीसँग जोडेर आगलागीजस्तो प्रमुख विनाशकारी कारक शून्यमा झारिनु सामुदायिक वनभित्रको सुशासन र दिगो विकासको स्पष्ट उदाहरण हो ।

  • अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    रासस
    मुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ ।

    वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ । यसका लागि आयोजनाको डोजर कागबेनी–मुक्तिनाथ सडकको बाक्लो हिउँ पन्छाउन त्यसतर्फ पुगिसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    कागबेनी–मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्रअधिकार भित्र रहे पनि कोरला सडक आयोजनाले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गरी आयोजनाले सडकको हिउँ पन्छाउन डोजर पठाइसकेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    मङ्गलबारको भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छाउन डोजर परिचालन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । स्थानीय प्रशासन र गाउँपालिकाको समन्वयमा सडकको डोजरले कागबेनीको पहिलो मोडदेखि सडकको हिउँ पन्छाउन सुरु गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म सडकमा बाक्लो हिउँ जमेकाले साँझसम्ममा सडकको हिउँ पन्छाएर यातायात सहज पारिने वडाध्यक्ष गुरुङले बताए । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छाउने कार्य भर्खरै सुरु भएको उनको भनाइ छ ।

    यसअघि भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्न यहाँस्थित सशस्त्र प्रहरी बल नेपालको टोली बुधबार बिहान खटिएको भए पनि हिमपात नरोकिएका कारण हिउँ पन्छाउन कार्यलाई स्थगित गरेको थियो । आज जिल्लास्थित सुरक्षाकर्मीहरुको जनशक्तिले अवरुद्ध सडकको हिउँ पन्छाउन निकै समय लाग्ने भएकाले सडक विभागको डोजर परिचालन गरिएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।


    भारी हिमपातका कारण मुक्तिनाथ सडक अवरुद्ध हुँदा सयौँ दर्शनार्थी भक्तजन बुधबार बिहानदेखि कागबेनीमा अलपत्र परेका थिए । हिउँ पन्छाएर सडक खुल्ने आशामा बसेका मुक्तिनाथ जाने दर्शनार्थी बुधबारदेखि कागबेनीमै रोकिएका छन् । कतिपय दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन् । हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध मुक्तिनाथ मन्दिरसमेत सुनसान बनेको छ । दर्शनार्थी उपस्थित हुन नसकेपछि मुक्तिनाथ मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित हुन पुगेको छ ।

  • दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा

    दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा

    काठमाडौँ, १५ माघः काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएका िथए । आगलागीको कारण भने खुलेको छैन ।

  • चितवनमा मोटरसाइकल नहरमा खस्यो, एक जनाको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्यो, एक जनाको मृत्यु

    चितवन, १५ माघः भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

  • हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

    हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

    मुस्ताङ, १४ माघ : मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ ।

    माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बस्ती र उच्चलेंकमा भारी हिमपात भएको हो । एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले लोमान्थाङमा बस्तीमै दुई फिट हिउँ परेको बताए । “भारी हिमपातका कारण यहाँको जनजीवन निकै कष्ठकर छ, बस्तीभित्र बाक्लो हिउँ जमेकाले बाहिर निस्कन सक्ने अवस्था छैन”, कर्मचारी नेपालीले भने । “घरका धाराहरू सबै जमेका छन्, हिउँकै पानी तताएर खानेकुरा पकाएर खानुपर्ने अवस्था छ, पशु गोठाला र स्थानीय नागरिकलाई निकै ठूलो समस्या देखिएको छ ।”

    भारी हिमपातका कारण स्थानीय नागरिकको घर माथिको छतमाथि बाक्लो हिउँ थुप्रिएकाले यहाँका परम्परागत घर चुहिने भत्किने जोखिम बढेको सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । कोरलास्थित सीमा सुरक्षाका लोमान्थाङ–२ न्हेचुङ छोसेरमा बसेका बिओपी सशस्त्र प्रहरीको सुरक्षाकर्मीको टोलीले स्थानीयवासीका केही घरमाथि थुप्रिएको हिउँ पन्छ्याइको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

    यसैगरी मङ्गलबार राति परेको भारी हिमपातका कारण जोमसोम–कोरला सडक र कागबेनी–मुक्तिनाथ सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातका कारण सडक अवरुद्ध भएसँगै दर्जनौँ सवारीसाधन मुस्ताङको कागबेनीमै राकिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।


    यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी हिमपातका कारण यात्रा जोखिम हुने भएकाले उच्च सर्तकता अपनाउन यात्रुलाई अनुरोध गरेको छ । कोरला सडक, मुक्तिनाथ सडक अवरुद्ध भएको र मुस्ताङ–डोल्पा सडक, मनाङ मुस्ताङ पदमार्ग, मनाङ–मुस्ताङ सरिबुङ पदमार्ग, मुस्ताङ–मनाङ मेसोकोन्दो पदमार्ग, धौलागिरि पदमार्ग अन्तर्गत धम्पुस पिक पदमार्ग लगायतका स्थानमा तत्काल यात्रा नगर्न नगराउन हुन पदयात्रीलाई अनुरोध गरिएको छ ।

  • नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु

    नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु

    काठमाडौँ, १४ माघः काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।