Category: स्थानीय

  • सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता

    सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता

    बरहथवा (सर्लाही), ६ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बसेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

    विगतमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेको नेता निरोज कार्कीले जानकारी दिए ।


    थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

  • रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता

    रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता

    चितवन, ६ माघ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

    लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन् । लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो । यससँगै चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मीना खरेल, नेकपा एमालेबाट अश्विन घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।


    यस्तै चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी, एमालेका दावा दोर्जे लामा, नेपाली कम्युनिष्ट पार्टीबाट डा कृष्णराज पन्तले र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उम्मेदवारी दर्ता गराएका छन् । ढकाल रास्वपाबाट यसअघि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ, नेकपा एमालेका शङ्करराज थपलिया, नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उम्मेदवारी दर्ता गराएका छन् । भरतपुर महानगर प्रमुख पदबाट राजीनामा दिएर दाहालले उम्मेदवारी दिएकी हुन् ।


    आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।
    क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

    क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटास्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

  • ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन

    ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन

    झापा (भद्रपुर), ६ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताए । अध्यक्ष ओली यसअघि २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।


    निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार हालसम्म निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफ्नो मनोनयन दर्ता गराएका छन् । शाह यसअघि काठमाडौँ महानगरपालिकाकाको प्रमुख थिए । नगरप्रमुखबाट राजीनामा दिएर शाह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा उम्मेदवार बनेका हुन् ।

    सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल फर्स्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहितका नेताको मनोनयन दर्ता भएको छ ।

  • स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार

    स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार

    विश्वन्यूज
    काठमाडौँ, ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू धमाधम पदबाट राजीनामा दिँदै उम्मेदवारी दिएका छन् । महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराए । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराए ।

    दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले मनोनयन दर्ता गराएका हुन् । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको प्रमुख निर्वाचित शाह अहिले प्रधानमन्त्रीको आकाङ्क्षा राख्दै राजनीतिमा प्रवेश गरेका हुन् । यही क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेकाले सो निर्वाचन क्षेत्रलाई चासोका साथ हेरिएको छ ।

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि पदबाट राजीनामा दिँदै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएकी छिन् । दुई कार्यकाल भरतपुरको नेतृत्व गरिसकेकी दाहाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार चितवन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार रेनु दाहाल । तस्बिरः सनद अधिकारी/रासस

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिँदै सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी उनी श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका साम्पाङसँग धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष पदबाट राजीनामा दिँदै मनोज भट्टराईले प्रतिस्पर्धा गर्दै छन् । विसं २०७४ र २०७९ का स्थानीय तहको निर्वाचनमा लगातार दुईपटक वडाध्यक्ष निर्वाचित भट्टराई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार छन् ।


    यसरी स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् । वीरगञ्ज महानगरपालिका–१० का अध्यक्ष सुशील साह कानु र वडा नं २० का अध्यक्ष रामकिशोर (पराग) सिंह प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । कानु राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नं २ मा उम्मेदवार बनेका छन् भने सिंह उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका हुन् ।


    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा पनि दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो । त्यसैगरी ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन् । थापालाई एमालेले टिकट दिएको हो ।


    सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहको नेतृत्वमा छोटो समय काम गरेका जनप्रतिनिधिहरू सङ्घीय संसद्मार्फत सिधै सिंहदरबार पुग्ने लक्ष्यसहित प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । यसले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ ।

    राससको सहयोगमा

  • तीन दशकपछि देउवाले छाडे मैदान, नैनसिंह महर कांग्रेसको उम्मेदवार

    तीन दशकपछि देउवाले छाडे मैदान, नैनसिंह महर कांग्रेसको उम्मेदवार

    ६ माघ, काठमाडौं । डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् ।

    महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका छन् । उनी निवर्तमान केन्द्रीय सदस्य समेत हुन् । २०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए । ३४ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् ।

  • ऋषि धमला रौतहटबाट चुनाव लड्दै

    ऋषि धमला रौतहटबाट चुनाव लड्दै

    ६ माघ, काठमाडौं । पत्रकार ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। उनी रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषिपत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन्।

    ‘आज मनमा गर्व पनि छ र अलि भारीपन पनि। वर्षौंसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ। पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो। पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौं र निकै सोचविचार गर्‍यौं। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनेकी छन्।

    उनले अगाडि लेखेकी छन्, ‘आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिह्न लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैंझैं उहाँको साथमा छु। यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो। यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि हो। यस्तो पवित्र यात्रामा उहाँको सहयात्री बन्न पाउनु नै मेरो सबैभन्दा ठूलो शक्ति हो।’ ऋषि धमला तीन दशकभन्दा बढीदेखि पत्रकारितामा आबद्ध थिए। उनी रिपोर्टस क्लबका अध्यक्ष हुन्। हाल प्राइम टेलिभिजनसँग आबद्ध छन्।

  • काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?

    काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?

    ६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ। कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ। क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ।

    काठमाडौँ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीका निर्वाचन कार्यालय स्थापना गरिएको छ। यस्तै, काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, काठमाडौँ क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस, क्षेत्र नं ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ।

  • गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?

    गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?

    ६ माघ, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य राजनीतिक दलले उम्मेदवारी टुङ्गो लगाएका छन्। मङ्गलबार उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम रहेको छ। यस जिल्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा र राप्रपाले दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको पाइएको हो।

    नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर–१ मा प्रभावशाली नेता डा. चन्द्र भण्डारी र क्षेत्र नम्बर–२ मा लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ। नेकपा (एमाले)ले निर्वाचन क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य प्रदीपकुमार ज्ञवाली र क्षेत्र नम्बर–२ मा केन्द्रीय उपाध्यक्ष गोकर्णराज विष्टलाई उम्मेदवार बनाएको हो।

    नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य सुदर्शन बराल र क्षेत्र नम्बर–२ मा पनि केन्द्रीय सदस्य श्रीराम महतलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा सागर ढकाल र क्षेत्र नम्बर–२ मा गोवन्द पन्थीलाई उम्मेदवार बनाएको छ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर–१ मा क्षेत्रीय अध्यक्ष अजित श्रेष्ठ र क्षेत्र नम्बर–२ मा जिल्ला सदस्य जनक सेनलाई उम्मेदवार बनाएको पाइएको छ। यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम छन्। जसमा निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन्।

  • एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने

    एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने

    ६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आएका छन् । अध्यक्ष निरौलाका अनुसार काठमाडौँ क्षेत्र ४ बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लागिसकेको छ ।

    काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाँल, क्षेत्र नंं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नंं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । रासस

  • आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता

    आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता

    ६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको हो ।

    उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

    आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

    नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

    आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

  • रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण

    रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण

    ५ माघ, काठमाडौं । २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार मनोनयन दर्ता हुँदैछ । त्यसअगाडी नै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको चर्चित पात्र बालेन शाहलाई प्रदर्शनीमा उत्रार्दै विपक्षीलाई कडा चूनौति पेश गरेको छ । आइतबार घण्टीघर प्रवेशसँगै बालेनलाई रास्वपाले भब्य स्वागत गरेको थियो ।

    आज जनकपुरमा त्यसलाई आम जनता र कार्यकर्ताले समेत स्वीकार गरेका छन् । उनको स्वागतका लागि हजारौं आमसभामा पुगेका छन् । भीड थाम्नै हम्मेहम्मे परेको अवस्था आज थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गरेको सभालाई ‘परिवर्तन उद्घोष सभा’ भनेको थियो । चुनावी सभालाई सोमबार सम्बोधन गर्दै रास्वपाका शीर्ष नेताहरूले ‘अब की बार, बालेन सरकार’को उद्घोष समेत गरे ।


    जनकपुरको तिरहुतिया गाँछीमा ठूलो संख्यामा उपस्थित समर्थकबीच रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने वाचा गरेको छ । सभामा सहभागी हुन बालेन आइतबार अपराह्न नै जनकपुर आइपुगेका थिए। रास्वपा सभापति रवि लामिछाने सोमबार जनकपुर पुगेका थिए। लामो समय कांग्रेसबाट राजनीति गरेका तर २०७९ सालको निर्वाचनमा सर्लाहीबाट स्वतन्त्र भएर चुनाव जितेका नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन्। सिंह सोमबार बिहानै बालेनसँगै जानकी मन्दिरमा पूजापाठ गर्न गएका थिए।

    सभामा बालेनले मैथिली भाषामा सम्बोधन गरेका थिए। ‘केना कि अई त’ (के–कसो छ नि) भन्दै करिब २० मिनेट लामो भाषण उनले मैथिलीमै सुरु र समाप्त गरेका थिए। ‘भाषण होइन, काम गर्ने मान्छे हुँ। काम गर्छु। काम गर्ने दिने हो नि ?’ बालेनले भने, ‘मलाई मानिसहरूले भेट्दैनन् भन्छन्। महानगरमा हुँदा चार वर्ष मेयर मै व्यस्त रहेँ। राजीनामा गरेको छु, फुर्सदमा छु। पहिलो पटक जनकपुर आएर भाषण गर्दैछु।’

    बालेनको सम्बोधनका क्रममा शब्द–शब्दमा ‘बालेन–बालेन’ का नारा लगातार लागिरहेका थिए। ‘प्रदेशलाई अझ मजबुत बनाइनेछ। प्रदेशको काम वडामा धारा जोड्ने होइन,’ उनले भने, ‘दुई–तीनवटा पालिकासँग जोडिएका काम गर्नुपर्छ।’ उनले जनकपुर प्रदेशको राजधानी भए पनि प्रशासकीय अधिकृत ल्याउन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए। ‘काठमाडौं अधिकार माग्नै जाऊँ, घुम जाऊँ पशुपति र स्वयम्भू,’ बालेनले भने, ‘मधेशिया छोरा प्रधानमन्त्री होइते, त्यसकै लागि हो। सही सरकार बनाउनुछ, त्यसैले मत दिनुहोस्।’

    सेतो कुर्ता–पाइजामा र कालो हाफ बन्डी लगाएका बालेनले जनकपुरको सभामा गम्छा बेरेका थिए। सोमबार बिहान जानकी मन्दिरमा पूजा गरेर उनी सिरहाको लहान पुगेका थिए, जहाँ मधेश आन्दोलनका क्रममा सहिद भएका स्मारकमा माल्यार्पण गरेका थिए। त्यहाँबाट जनकपुर फर्किने क्रममा उनी धनुषाको मिथिला नगरपालिका–बनिगामा मावाली गाउँ पुगेका थिए।

    चुनावी सभामा रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनमा बालबालिकामाथि गोली चलाउने सरकारले देश र मधेशलाई गरेको अन्यायको हिसाब गरिने बताएका छन्। लामिछानेले आफूलाई षड्यन्त्र गरेर संसद्बाट निकालिएको दाबी पनि गरे। उनले भने, ‘पहिले सबैभन्दा धेरै मत ल्याउने सांसद बनेर संसद् छिरेको थिएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु।’

    उनले बालेनसँग सम्झौता गर्नुअघि भएको कुराकानीको प्रसंग पनि निकाले। उनले बालेन र आफूबीच भेटघाट भएको भोलिपल्ट उज्यालो घाम लागेको अनुभव सुनाए। लामिछानेले उक्त कुराकानीका क्रममा बालेन र आफूले एक–अर्कालाई सपना सुनाएको पनि बताए। उनले भने, ‘हाम्रो वार्ता पाँच मिनेटमा सकिएको थियो। थप समय त एक–अर्कासँग राम्ररी चिनजानमा लागेको थियो।’ लामिछानेले कोही मधेशवादी र कोही हिमालवादी नभएको बताउँदै भने, ‘यहाँ कोही मधेशवादी छैनन्। सबै नेपालवादी हुन्।’

    रास्वपाले यसअघि मधेशमा उन्नत बिउ रोपेर गएको भन्दै अब सपना पूरा भएको दाबी गरेको छ। ‘हामीलाई धेरैले भने—मधेशमा त धेरै भोट ल्याउनुभएन, मधेशका जनताले तपाईंलाई माया गर्दैनन्। तर मलाई थाहा थियो मधेशले माया गर्छ,’ लामिछानेले भने, ‘त्यसैले त मधेशमा उन्नत बिउ रोपिएको थियो। त्यो बिउ आज हुर्किएर फल लागेर लहलह भएको छ। आजको उपस्थिति त्यही हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, तपाईंका तमाम आँखामा देखिएका सपना हो। अब त्यो सपना खोसेर मधेशले फिर्ता लिन्छ। मधेशमा ढिलो आए पनि ठीक समयमा आयो।’

    सभामा पार्टीका उपसभापति डीपी अर्यालले मधेशलाई चिन्ने र विकास गर्ने नेता नहुँदा मानव विकास सूचकांकमा मधेश पछाडि परेको बताए। उनले मधेशको विकाससँगै देशको उन्नतिका लागि मधेशले प्रधानमन्त्री पाउन लागेको दाबी गरे। अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा संघीयताविरोधी नरहेको बताए। ‘रास्वपा संघीयताविरोधी नरहेको सन्देश जनकपुरको सभाले पनि दिएको छ,’ उनले भने, ‘तर संघीय ढाँचामा सुधार आवश्यक छ। संघीयताको नाममा भएका बदमासी र विकृतिको अन्त्य गर्नुपर्छ।’

    सभाबाटै पार्टी प्रवेश गरेका अमरेशकुमार सिंहले आफूलाई रवि–बालेनको सिपाही भन्दै बालेन प्रधानमन्त्री हुने दाबी गरे। रास्वपा नेता सोबिता गौतमले पार्टीले मधेशको छोरालाई प्रधानमन्त्री बनाउन लागेको बताइन्। मधेशमा जन्मिएका बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउने उनको भनाइ थियो। देशको अवस्था परिवर्तनका लागि मधेश अग्रपंक्तिमा उभिनुपर्ने भन्दै उनले भनिन्, ‘यो देशको भाग्य परिवर्तनका लागि मधेशको अगुवाइ हुनैपर्छ।’ रास्वपा प्रवक्ता मनिष झाले आफू धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने घोषणा गरे।

  • बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट

    बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट

    ५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा(५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए । झापाबाट चुनाव लड्नकै लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए ।

    पदबाट राजीनामा दिएलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । त्यहाँ उनले वरिष्ठ नेताको पदभारग्रहण गरे । त्यसपछि उनी जनकपुर गएका थिए । हवाइमार्गबाट जनकपुर पुगेका उनले त्यहाँ आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेका छन् । बालेन झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

  • कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो

    कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो

    ५ माघ, काठमाडौं । नेपाली कांग्रेस यस पटक चुनाव अगाडी एक पार्टीकै रुपमा चुनाव लड्ने भएको छ । निर्वाचन आयोगले गगनलाई सभापतिको मान्यता दिएसँगै देउवा समूह अदालत पुगेको छ । अदालती प्रक्रिया थाँती राख्दै कांग्रेसका देउवा, गगन र शेखर कोइराला पक्ष निर्वाचनमा एक भएर जान सहमत भएका छन् । यससँगै कांग्रेसले टिकट वितरण समेत थालेको छ । देउवा पक्षका निर्वाचनमा लड्ने नेताहरु धमाधम गगनतर्फ खुल्न थालेसँगै सो समूह तुलनात्मक रुपमा कमजोर बनेको छ ।

    यसअघि आज अदालतमा दायर रिट समेत फिर्ता लिने सहमति जुटेको समाचार सार्वजनिक भएको थियो । यसको भने देउवा पक्षले खण्डन गरेको छ । कांग्रेसले टिकट वितरण पारदर्शी बनाउन संसदीय बोर्ड गठन गरेको थियो । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।


    निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका थिए । यससँगै निर्वाचनमा कांग्रेसलाई आन्तरिक कलहको प्रभावको जोखिमबाट पुनः एक पटक राहत मिलेको छ ।

  • आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?

    आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?

    ५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार सभापति गगन कुमार थापाले ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूलाई टिकट वितरण गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ ।

    कांग्रेस कैलालीका सचिव केशव मिश्रले कैलालीका नेता भीम बडुवाललाई उद्धृत गर्दै पाँचवटै क्षेत्रका उम्मेदवार टुंगो लागेको जानकारी दिए । जसअनुसार, क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भिम बडुवाल, ४ मा वीर बहादुर बलायर र ५ मा नरनारायण शाह ‘मनु’ उम्मेदवार बनेका छन् । यससँगै कैलालीमा आरजु देउवाले टिकट पाइनन् । कांग्रेसमा सभापति देउवा समेत टिकटको अपेक्षामा छन् ।

  • रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा

    रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा

    ५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्यसमिति, सबै पालिका समिति तथा वडा कमिटीका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वले पार्टीकै विधि र प्रक्रियाविपरीत उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। २३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको सन्दर्भ उल्लेख गर्दै तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा अवेर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई अन्य केही दल तथा पक्षको साझा उम्मेदवारका रूपमा अगाडि बढाउने राजनीतिक सहमति भएको उनीहरूको भनाइ छ ।

    उक्त सहमतिअनुसार घण्टी चुनाव चिह्नमार्फत आगामी निर्वाचनमा सहभागी गराउने निर्णय गरिएको र पार्टीको नियमित प्रक्रियाअनुसार प्रदेश तथा केन्द्रमा सबै औपचारिकता पूरा गरिएको उल्लेख गरिएको छ । तर, पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाविपरीत जिल्ला कार्यसमिति र प्रदेश समितिको भावनाविपरीत अमुक व्यक्तिलाई टिकट प्रदान गरिएको आरोप उनीहरूले लगाएका छन् ।

    यसले पार्टीको विधि र प्रणालीमाथि प्रश्न उठाउनुका साथै जिल्लास्तरमा बनेको व्यापक राजनीतिक सहमतिमाथि कुठाराघात भएको उनीहरूको निष्कर्ष छ । यस निर्णयले तेह्रथुमको जनभावनामा गम्भीर असर परेको पनि राजीनामा पत्रमा उल्लेख गरिएको छ । केन्द्र र प्रदेशसँग सहकार्य गर्दै गरिएको राजनीतिक सहमति कार्यान्वयन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै रास्वपा तेह्रथुम जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटिका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएको जनाइएको छ ।

    राजीनामा दिनेमा जिल्ला कार्यसमिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ नगरपालिका कमिटी संयोजक गणेश खापुङ, लालिगुराँस गाउँपालिका कमिटी सभापति सुमन लिम्बु, मेन्छयायेम गाउँपालिका कमिटी संयोजक छत्रबहादुर थापा, छथर गाउँपालिका कमिटी सचिव थिरबहादुर कटुवाल, फेदाप गाउँपालिका कमिटी संयोजक लक्ष्मण थापा, आठराई गाउँपालिका कमिटी सभापति चेतन गौतम तथा काठमाडौं सम्पर्क विभाग संयोजक गुणनिधि अड्तौला लगायत छन् । सामूहिक राजीनामा केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ ।

  • आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो

    आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो

    ५ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।

    आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छाप्न बाँकी छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ । केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ । समानुपातिक तर्फको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिनेछ । फागुन २१ गतेलाई तय भएको प्रतिनिधि सभा निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

  • बालेनले जानकी मन्दिरमा गरे पूजाआजा

    बालेनले जानकी मन्दिरमा गरे पूजाआजा

    ५ माघ, जनकपुर । सभालाई सम्बोधन गर्न मधेशको राजधानी जनकपुरधाम आएका रास्वपा नेता बालेन शाहले जानकी मन्दिरमा पूजा गरी आजको दिन सुरुवात गरेका छन् । जनकपुरधामबाट उनी मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान पुगेका छन् । उनी आज एकाबिहानै पूजाआजाका लागि जानकी मन्दिर पुगेका थिए ।

    पूजाआजापछि उनले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट पनि गरेका थिए । बालेनसँगै पूर्वसांसद अमरेश कुमार सिंह पनि भेटमा सहभागी थिए । जनकपुरधाममा आज आयोजना हुने सभाबाट अमरेश कुमार सिंह पनि रास्वपा प्रवेश गर्दैछन् ।

    सो सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछानेसँगै बालेन आइतबार साँझ जनकपुरधाम आइपुगेका थिए । त्यसअघि बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय बनस्थलीमा पदभार ग्रहण गरेका थिए । बालेन शाह २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दैछन् ।

  • धरानका मेयर हर्क साम्पाङले दिए राजिनामा

    धरानका मेयर हर्क साम्पाङले दिए राजिनामा

    ४ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले राजिनामा दिएका छन् । साथै धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले समेत समेत आइतबार साँझ राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख आइन्द्र बिक्रम बेघा समक्ष पदबाट राजीनामा दिएका हुन् ।

    उनीहरु एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिदै छन् । नगर प्रमुख राई श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छन् । धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनाव लड्दै छन् ।

  • काठमाडौं महानगरको कार्यबाहक मेयरमा सुनिता डंगोल

    काठमाडौं महानगरको कार्यबाहक मेयरमा सुनिता डंगोल

    ४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

    मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् । बालेनको राजीनामापछि डंगोलले आकस्मिक कार्यपालिका बैठक आह्वान गरेकी छिन् । बैठकले अहिलेसम्मको योगदानका लागि मेयर बालेन शाहलाई धन्यवाद दिने निर्णय गरेको छ ।

  • जनकपुर पुगे बालेन, मधेश केन्द्रित अभियानमा सहभागी हुने

    जनकपुर पुगे बालेन, मधेश केन्द्रित अभियानमा सहभागी हुने

    ४ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरधाम पुगेका छन् । उनी आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो।

    सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन बालेन जनकपुरधाम आएका हुन् । जनकपुरधामको कर्यक्रम पश्चात् सिरहाको लहानमा आयोजित कार्यक्रममा सहभागी हुँदै झापा जाने कार्यक्रम रहेको छ। उनी मधेशमा रास्वपाको जनमत बढाउन सक्रिय हुनेछन् । चुनावी केन्द्रमा भने झापा ५ रहनेछ । जहाँ बालेनको भिडन्त केपी शर्मा ओलीसँग हुनेछ ।

  • मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर

    मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर

    ४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । त्यसलगत्तै उनी रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिडले उनको स्वागत गरेको थियो ।

    उनी रास्वपा प्रवेश गरेर झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । उनले आजै पार्टीमा कार्यभार समेत ग्रहण गरे । घण्टीघरमा उनले १० मिनेट मात्र बिताएका थिए । त्यसलगत्तै उनी जनकपुर उडेका थिए ।

  • धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु

    धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु

    धरान (सुनसरी), माघ ४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

    सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान–१३ का सुवेक्षा सुब्बा रहेका छन् ।

    धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा दुर्घटना भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा डिजल सकिएपछि बाटोबाटै फर्काउने क्रममा दुर्घटनामा परेको हो । बसमा सवार घाइते १३ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिए ।

  • बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने

    बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने

    ४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिँदैछन् । उनले सम्भवतः आज राजिनामा दिने तयारी छ । आजै रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने र भोलीबाट चुनावी अभियानमा होमिने तयारीमा बालेन छन् । आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

    ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दैछन्। केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम रहेको छ। झापा ५ मा नेकपा एमालेका अध्यक्षको समेत उम्मेदवारी निश्चित भएसँगै यो क्षेत्रमा यस पटक रोचक भिडन्त हुनेछ ।

  • जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै

    जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै

    ४ माघ, काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो ।
    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालयमाअधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो ।

    आजको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

    सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए ।

    गत भदौ ३१ गते राष्ट्रियसभाको १८औं अधिवेशन अन्त्य भएको थियो । यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसक्नुभएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचनको तयारी अगाडि बढिरहेको र राष्ट्रियसभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको अवस्थामा यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

  • झापा ५ मा ओली र बालेन भिडन्त पक्का

    झापा ५ मा ओली र बालेन भिडन्त पक्का

    ४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सो क्रममा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको उनले बताए ।

    झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारीबीच झापा–५ को चुनावलाई चासोका साथ हेरिएको छ । झापामा मेयर बालेनको सचिवालयका लागि घर नै लिएर चुनावी गतिविधि बाक्लो बन्दै गएको छ । दुबै दलले यस पटक यो क्षेत्रको जितलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

  • बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    ३ माघ, काठमाडौं । बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहीपुर बस्ने २१ वर्षीय सुशीलकुमार थारू र २५ वर्षीय करण थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।

    मधुवन नगरपालिका वडा नं ४ गमक्कास्थित ओराली बजारदेखि ढोढरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०३२ च ७५५३ नम्बरको विद्युतीय भ्यान विपरित दिशाबाट आएको भे ११ प १९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना लगत्तै प्रहरीले उद्धार गरि बर्दिया अस्पताल पुर्याएको थियो । घाइते दुबैको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । विद्युतीय भ्यान र चालक बिक्रम बोहोरालाई प्रहरीले नियन्त्रणमा राखेको छ भने मृत्यु भएका दुवैजनाको शव बर्दिया अस्पतालमा राखिएको छ ।

  • नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु

    नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु

    ३ माघ, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१ प ९१०६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

    घाइते मध्य स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका ८ घर भई हाल देवचुली नगरपालिका ९ मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवारी देवचुली नगरपालिका ८ बस्ने वर्ष २१ का नारायण परियारको उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने पिक अप भेन र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

  • कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

    कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

    ३ माघ, मान्म (कालीकोट) । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
    सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।


    मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् । मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए ।

    भीरबाट तीन वटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ । जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।

    रासस

  • निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै

    निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै

    ३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । यही माघ ४ गते आइतबा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता झाले बताए । बैठकमा सबै पदाधिकारी एवं केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

  • सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन

    सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन

    काठमाडौँ, माघ २ गते। सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय गरेको बताए । सरकारले नेपालमा मानव तथा बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताए ।