Category: स्थानीय

  • आयोगको निर्णयपछि देउवा पक्ष विरोधमा

    आयोगको निर्णयपछि देउवा पक्ष विरोधमा

    २ माघ, काठमाडौं । शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले निर्वाच आयोग विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजनीमा माग गर्दै प्रदर्शन गरेका हुन् । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधर गगन थापा-विश्वप्रकाश शर्मा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि त्यस निर्णय विरुद्ध उनीहरूले नाराबाजी गरेका हुन् ।

    तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका नेता तथा कार्यकर्ताहरूले आयोगले गरेको विवादित निर्णय खारेज हुनुपर्ने माग राखेका छन् । आजै कांग्रेसको देउवा पक्षले पत्रकार सम्मेलन गर्दै आफुहरुले मान्यता नपाए देशव्यापी आन्दोलनको चेतावनी समेत दिएका थिए । आज दिनभर निर्वाचन आयोग अगाडी दुबै पक्षका नेता कार्यकर्ता धर्नामा समेत बसेका थिए ।

  • काङ्ग्रेस देउवा पक्षले आज पत्रकार सम्मेलन गर्ने

    काङ्ग्रेस देउवा पक्षले आज पत्रकार सम्मेलन गर्ने

    २ माघ, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने भएका छन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । खड्काले पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव पौडेलले जानकारी दिए । अहिले निर्वाचन आयोगले कुन पक्षलाई आधिकारिकता दिन्छ भन्नेमा सबैको चासो छ ।

  • आज २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइदै

    आज २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइदै

    २ माघ, काठमाडौं । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

    उक्त दिन दिउँसो २स्२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो । वि.सं १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।

    यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६७० जनाको ज्यान गएको थियो भने ७ लाख भन्दा बढी आवासमा क्षति पुगेको थियो । भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउने उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।

  • पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

    रसुवा, २ माघ । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेका हुन् ।

    यसमा पाँच हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई रु तीन हजार र नेपालीलाई रु एक सयका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व सङ्कलन भएको जानकारी दिए ।

    काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाईंकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । रासस

  • काठमाडौंमा सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

    काठमाडौंमा सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

    काठमाडौँ, १ माघ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ । दुर्घटना न्यूनीकरण विशेष अभियानअन्तर्गत प्रहरीले आज थप स्कुल कलेजका ६६ जना विद्यार्थीलाई सचेतना, एक हजार ५१२ जनालाई रात्रिकालीन विशेष सचेतना, पाँच हजार ३१५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, दुई हजार ७४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, तीन हजार ६१४ जनालाई यात्रुसँग सचेतनामूलक कार्यक्रम गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।


    त्यसैगरी १५ वटा ट्राफिक कोणमा सरसफाइ, २०७ जनालाई मस्कटसहित सडक नाटक प्रदर्शन, १४० जनालाई आरक्षण सिट यात्रुमैत्री व्यवहार, सरसफाइ कार्यक्रममा संलग्न १४ जना, सडक दुर्घटनामा दिवङ्गत भएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा २९० जना सहभागी भएका छन् । २१ जना दुर्घटना पीडित घाइतेसँग भेटघाट, १२५ जनालाई आकाशे पुलबाट बाटो काट्न सिकाइएको, ३० जना चालकलाई लागुपदार्थ सेवन गरे नगरेको जाँच, २३ हजार ७०३ जना सडक प्रयोगकर्ता आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् ।

    साथै १५ हजार ३७ जनालाई पर्चापम्प्लेट वितरण तथा नो हर्नलगायतका स्टिकर चार हजार ९६४ वटा स्टिकर टाँस गरेको छ । ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ गत २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।


    यो अभियानमा एक हजार ६३५ जना ट्राफिक स्वयंसेवक परिचालन, सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिनसक्छ भन्ने यथार्थलाई आत्मसात् गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

  • सुनसरीमा ट्रक पल्टिँदा पाँचको मृत्यु, तीन जना घाइते

    सुनसरीमा ट्रक पल्टिँदा पाँचको मृत्यु, तीन जना घाइते

    इटहरी (सुनसरी), १ माघः विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो । ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ । चालक भने फरार रहेका जनाइएको छ ।

  • पाटेबाघको आक्रमणबाट सुर्खेतमा एक सातामा तीन जनाको मृत्यु

    पाटेबाघको आक्रमणबाट सुर्खेतमा एक सातामा तीन जनाको मृत्यु

    काँक्रेविहार (सुर्खेत), १ माघः पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।

    गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो । सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए ।


    गत पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । एक साताभित्रै तीन जनाको ज्यान गएपछि निकुञ्ज क्षेत्र आसपासका बासिन्दामा त्रास छाएको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनले बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आतङ्क सिर्जना गरेको भन्दै स्थानीय त्रासित बनेका उल्लेख गरे ।


    जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत टेकबहादुर रावलले बाघले दुई वटा घरपालुवा गाईगोरुलाई पनि आक्रमण गरेर मारेको जानकारी दिए । बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतङ्क फैलाउन थालेपछि डिभिजन वन कार्यालय सल्यानले उक्त बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गर्दै तत्काल कार्यान्वयन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पुस ३० गते पत्राचार गरिएको अधिकृत रावलले जानकारी दिए । स्थानीयमा त्रास बढ्नुका साथै दैनिक कामका लागिसमेत घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि पत्राचार गरिएको उनको भनाइ छ ।

    “बाघको आतङ्क नियन्त्रण गर्न पालिकासहित स्थानीयको अनुरोध आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधनसमेत) को दफा १० ‘क’ र ‘ख’ तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधनसमेत) को दफा ३६ क अनुसार सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ”, वन अधिकृत रावलले भने । संरक्षित वन्यजन्तुका रूपमा रहेको पाटेबाघलाई नियन्त्रण वा मार्ने आदेश जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न विशेषज्ञ टोली परिचालन गर्नका लागि बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको उनले बताए ।

  • दाङमा बस र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

    दाङमा बस र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

    घोराही (दाङ), १ माघः दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • निर्वाचन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

    निर्वाचन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

    काठमाडौँ, १ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ । यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ ।

    मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ । यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ ।
    सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ ।

    यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन् । नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।

  • कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा

    कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा आज नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे ।

    “जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ”, नवनिर्वाचित सभापति थापाले भने ।

    उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे । सभापति थापाले भने, “भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।”

    नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए । त्यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

  • बालेनसँग महानगरमा भिडेका सुमन सायमी प्रचण्डको पार्टीमा समाहित

    बालेनसँग महानगरमा भिडेका सुमन सायमी प्रचण्डको पार्टीमा समाहित

    काठमाडौँ, ३० पुस । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच आज औपचारिक रूपमा पार्टी समायोजन भएको छ । यहाँ आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरे ।


    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय मुक्ति पार्टी नेपालसँगको समायोजनले विशेषगरी काठमाडौँ उपत्यकाका नागरिकका समस्या समाधानमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले काठमाडौँमा सुकुम्बासी, खोला किनारका पीडित, अव्यवस्थित बसोबास तथा सामाजिक–आर्थिक समस्याबाट ग्रसित नागरिकका पक्षमा सङ्घर्ष गर्दै आएका नेताहरू पार्टीमा समाहित हुनु सकारात्मक सङ्केत भएको बताए ।

    उनले भने, “काठमाडौँका सुकुम्बासी, खोला किनाराका पीडितलगायत थुप्रै नागरिकका समस्या समाधानका लागि अग्रसर रहेका नेताहरू र हाम्रो पार्टीबीच समायोजन भएको छ । अब हामी सङ्गठित रूपमा यहाँका नागरिकका समस्या समाधान गर्न सक्षम हुनेछौँ ।” पार्टीका सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए ।

    त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । उनले भावनात्मक निर्णय, भीडको दबाब वा क्षणिक स्टन्टभन्दा माथि उठेर आफूहरूले राजनीतिक निर्णय गरेको स्पष्ट पारे ।

    उनले भने, “हामी भावना, भीड वा स्टन्टका आधारमा होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितका आधारमा यहाँ आएका हौँ । जनताको मुक्ति हाम्रो मूल चाहना हो र त्यो लक्ष्य नेपाली कम्युनिष्ट पार्टीमार्फत मात्रै पूरा हुन सक्छ भन्ने विश्वासका साथ हामी यो समायोजनमा सहभागी भएका हौँ ।”

    कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता वामदेव गौतम, राजेन्द्र श्रेष्ठलगायत राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सायमी बालेनसँग महानगरमा भिडेका थिए ।

  • कांग्रेस विशेष महाधिवेशन : मतदान आजै, सभापतिमा गगन निर्विरोध

    कांग्रेस विशेष महाधिवेशन : मतदान आजै, सभापतिमा गगन निर्विरोध

    काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आजै राति मतदान हुने भएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले केहीबेर अगाडि एक सूचना जारी गरी मतदान राति ८ बजेदेखि सुरु हुन लागेको जानकारी दिएको हो ।


    निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले जानकारी दिए । पुनः नामावली प्रकाशन ५ः०५ बजेसम्म, उम्मेदवार मनोनयन दर्ता फिर्ता ५ः३५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ६ बजेसम्म र मतदान सुरु राति ८ बजेदेखि गरिने निर्वाचन समितिका संयोजक केसीले बताए ।


    पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् । सभापतिमा गगन थापाको मात्र उम्मेदवारी गरेको छ । महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरेको उम्मेदवारी परेको छ ।

  • विशेष महाधिवेशनले वैधानिकता पाउनेमा ढुक्क महामन्त्रीद्वय थापा र शर्मा

    विशेष महाधिवेशनले वैधानिकता पाउनेमा ढुक्क महामन्त्रीद्वय थापा र शर्मा

    काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने जिकिर गरे ।


    महामन्त्री थापाले भने, “विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको हो । हामी सत्यको पक्षमा उभिनुपर्छ । विशेष अधिवेशन समापनका विषयमा सम्वाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा कारवाहीको पत्र पठाइएको छ, त्यो गलत छ ।” युवाभावना अनुरूप अघि बढिरहेको नेपाली कांग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै उनले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाए ।


    उनले भने, “कांग्रेस कसैको निजी पार्टी होइन, आफूहरूलाई कारवाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारवाही गर्न पर्दैन ? केन्द्रिय कमिटी भङ्ग भएको छ, बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको यो विशेष महाधिवेशन आधिकारिक छ ।” महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहु¥याउन नपर्ने बताउँदै उनले कांग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलनमलिन र भ्रममा नपर्न सुझाव दिए ।


    महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचान आयोग, संविधान र पार्टीको विधानका आधारमा अहिले देखिएको विवादको समाधान निस्कने धारणा राखे । उनले पार्टीको आधिकारिक विशेष महाधिवेशन भएको र निर्वाचन प्रक्रिया अघि बढाइ सकेकाले उम्मेदवार भइसकेको व्यक्तिलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताए । सहमहामन्त्री फर्मूला अन्सारीले नेपाली कांग्रेस विशेष अधिवेशनको मूल कार्यदेश नेताको चयन र नीतिको तर्जूमा गर्ने भएको बताए ।

    उनले भने, “आदेश दिएर पार्टी चलाउने समय गयो, देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले पार्टीको माग हो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न सक्दैन ।” नेपाली कांग्रेसको कार्य समितिको आज सानेपामा बसेको बैठकले भने उनीहरु तीन जनालाई नै पार्टीको हित र अनुशासन विपरित कार्य गरेको भनी पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको जनाएको छ ।

  • शुक्लागण्डमा तीन जनाको हत्या प्रकरणः एक पक्राउ

    शुक्लागण्डमा तीन जनाको हत्या प्रकरणः एक पक्राउ

    दमौली (तनहुँ), ३० पुस स् तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।

    उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ ।

    मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • निर्वाचन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

    निर्वाचन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

    काठमाडौँ, ३० पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।
    बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।

    आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् ।

    नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० उम्मेदवार रहेका सहायक प्रवक्ता जिसीले बताए । उक्त पार्टी अन्य दलसँग एकता गरेकाले तयसअघि पेस भएका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएका उनको भनाइ छ ।

    यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार÷चार जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई÷दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

    संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक\एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।

  • बुधबार बिहानका लागि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    बुधबार बिहानका लागि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    पाटन (ललितपुर), २९ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको भए पनि केही छलफल र तयारी आवश्यक भएकोले भोलिका लागि सारिएको उनले जानकारी दिए ।

  • त्रिशूली किनारमा बालुवाले पुरिएको बस गत साल वेपत्ता गाडी भएको पुष्टी

    त्रिशूली किनारमा बालुवाले पुरिएको बस गत साल वेपत्ता गाडी भएको पुष्टी

    काठमाडौँ, २९ पुसः त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेँसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पाट्र्सपुर्जा फेला परेको हो । पाटपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका थिए । गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । सो मध्ये १४ जनाको शव फेला परेको थियो । अन्य हालसम्म बेपत्ता छन् ।

  • अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

    अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

    म्याग्दी, २९ पुसः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन् । हिमालय संस्थाले यस वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष रु पाँच लाख र क्लबले रु एक लाख खर्च गरेका थिए ।

    उपभोगविहीन बाँझो सार्वजनिक भिरालो पाखामा डोजर परिचालन गरेर सम्याएर ११० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान तयार भएको निर्माण समितिका अध्यक्ष श्याम खड्काले बताए । फुटबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने खेलमैदानमा पर्खाल, प्यारापिट र घेराबारका लागि वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको निर्माण समितिले जनाएको छ ।

    यसअघि खेलमैदान अभावमा विद्यालय परिसरमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन हुने गरेको थियो । विद्यालयमा हुने खेलकुद गतिविधिका कारण बालबालिकाको पठनपाठन प्रभावित भएपछि छुट्टै ठाउँमा खेलमैदान निर्माण गरिएको निर्माण समितिका सचिव जितबहादुर बरुवालले बताए ।

  • कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

    कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

    काठमाडौँ, २९ पुसः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्र पुनः जारी रहने जानकारी दिए ।

    उनले महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रियासमेत जारी रहने बताए । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ । महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ ।

  • नुवाकोटमा आठ हजार मतदाता बढे

    नुवाकोटमा आठ हजार मतदाता बढे

    त्रिशूली (नुवाकोट) २९ पुसः आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ मा एक लाख २३ हजार ९२९ तथा क्षेत्र नं २ मा एक लाख २३ हजार ९३९ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो ।

    कूल मतदातामध्ये महिला एक लाख १८ हजार ९७५, पुरुष एक लाख २८ हजार ८९० तथा तीन तेस्रोलिङ्गी रहेका निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि नुवाकोटमा १३२ निर्वाचन स्थलमा २९३ मतदान केन्द्र कायम गरिएका छन् । अघिल्लो चुनावभन्दा यस तीन मतदान केन्द्र बढाइएको छ ।

  • बैतडीमा जिप दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    बैतडीमा जिप दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    बैतडी, २८ पुसः जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप आज बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा परेर सिगास –१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परेर बैतडीको सिगास – १ बस्ने वर्ष १९ की बिमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका– ८ बस्ने वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका– १ बस्ने वर्ष २५ की लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते रहेका छन् । घाइतेको डडेल्धुरा अस्पताल उपचार भइरहेको छ ।

  • विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

    विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

    काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिनुभयो ।

    सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताए । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।

  • ढिक्री बनाउन व्यस्त थारू समुदाय

    ढिक्री बनाउन व्यस्त थारू समुदाय

    तुलसीपुर (दाङ), २८ पुसः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ ।उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् ।

    कसरी बनाइन्छ ढिक्री ?

    चामलको पीठोबाट ढिक्री बन्छ । चामलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ । त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ । त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ । खासगरी उसिनेर ढिक्री बनाइने भएकाले त्यसले स्वास्थ्यमा असर गर्दैन । किनकि त्यसमा चिल्लो पनि हुँदैन भने चिनी पनि राखिँदैन । यसरी ढिक्री खाएमा मान्छेको आयु बढ्ने पौराणिक मान्यता रहेको छ ।

  • १ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

    १ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

    दमौली (तनहुँ), २८ पुसः तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

    उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताए । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

    कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

    काठमाडौँ, २७ पुसः काठमाडौँको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज आठ ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

    उनका अनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भातृ, भेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ ।

  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन् । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरे ।


    मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

  • ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    अमरगढी (डडेल्धुरा), २७पुस । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा परी दुवै जना घाइते भएको र घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

    जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताए । परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट फरार छन् । उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

    ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

    ढोरपाटन (बागलुङ), २७ पुसः अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालय घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि यहीँबाट सञ्चालित छन् ।

    चिसोमा पढाइ हुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । चिसोले विद्यार्थी र शिक्षक बिरामी पर्दा पठनपाठन प्रभावित हुने गरेको छ । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास मावि तथा छेन्तुङस्थित सिद्धबराह प्राविका विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित बनेको छ । ढोरपाटनमा बिहानमा बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पढाइ प्रभावित बनेको ज्योति विकास मावि प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । चिसोका कारण धारो र खोलामा पानी जमेको छ ।

    अघिल्लो वर्ष पुस पहिलो सातादेखि माघ अन्तिम सातासम्म बिदा हुने गरे पनि यसपाली नगरपालिकाको वार्षिक क्यालेण्डरअनुसार चल्दा समस्या भएको प्रअ अदैले बताए । ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन् ।

    अघिल्ला वर्षमा बर्खे बिदाको समयमा पठनपाठन गर्ने र हिउँदमा विद्यालय बन्द गर्ने गरेका भए पनि यस वर्ष चिसोमा कठ्याङ्ग्रिँदै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रअ अदैले बताए । अघिल्लो वर्षदेखि कक्षा १० सञ्चालन गरेको भन्दै यो याममा पोखरामा लगेर ट्युसन पढाएको उनको भनाइ छ । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको यस विद्यालयमा अहिले १६८ विद्यार्थी अध्ययनरत छन् ।

    “चिसोले पानी जमेको छ, बालबालिका बिरामी पर्ने गरेका छन्, एकैदिन १५–२० विद्यार्थी बिरामी हुँदा पठनपाठनमा समस्या हुने गरेको छ, पोहोरपरार त यो बेलामा बिदा हुन्थ्यो”, उनले भने, “पहिले बर्खामा पढाउने र यो बेला बन्द गर्ने गथ्र्यौैँ, हिउँदमा पठनपाठन गर्न थालेको यसपालि पहिलोपटक हो, तर निकै गाह्रो भइरहेको छ ।”

    चिसोका कारण हातखुट्टा कठ्याङ्गिँ्रदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताइन् । जाडोले विद्यालय जावतजावत गर्न गाह्रो हुने गरेको उनको भनाइ छ । जाडोका कारण पुस लागेपछि दुई तीन पटक बिरामी परेको विकले बताइन् । ढोरपाटनमा अधिकांश विपन्न वर्गका बालबालिकाले पढ्ने गर्छन् । ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटले विद्यालयसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए । शिक्षकहरूकै राय लिएर वार्षिक क्यालेण्डर बनाएको उनको भनाइ छ ।

  • नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

    नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

    काठमाडौँ, २६ पुसः नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।
    केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मनुभएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले । उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका श्रीमती, दुई छोरा छन् ।

  • विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

    विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

    काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुुस २७ र २८ गते काठमाडौँमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ । विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डमा हुने महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनको तयारी भएको जानकारी दिएको हो ।

    समितिका संयोजक एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौँका विभिन्न छ फरकफरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको जानकारी दिए । पुस २७ गते आइतबार मध्याह्न १२ः०० बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने उनले बताए । समितिका संयोजक केसीले सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डप आउने कार्यक्रम रहेको बताए ।