Category: स्थानीय

  • स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

    स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

    काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए ।

    उपभोक्तालाई स्थानीय उत्पादन चिन्न र चिनाउनका लागि स्थानीय तथा रैथाने उत्पादनले सहयोग गर्ने भएकाले त्यस्ता उत्पादनलाई बजारीकरण गर्ने तयारी कामपाको रहेको वडाध्यक्ष तीवारीको भनाइ छ । “उत्पादन गरिएका वस्तुको बजारीकरण र प्रवर्द्धनका लागि वस्तु पहिचान गर्नु नै मुख्य कुरा हो”, वडाध्यक्ष तिवारीले भने, “हामी महानगरका अन्य वडामा पनि यस्ता स्थानीय सामग्रीको बजारीकरण विस्तार गर्ने योजनामा छौँ ।”

    स्थानीय उत्पादन पहिचान र बजारीकरणका लागि कामपाले ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बनाउँदै लगेको छ । यस कार्यक्रमअन्तर्गत यस वर्ष वडा नं ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठवटा वडामा अहिले सीप विकास तालिम सम्पन्न भई विभिन्न सामग्री उत्पादन भइरहेको छ । कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठवटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि तत्काल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको छ ।

    “सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्ने कामपाको भनाइ छ । यस वर्ष थालिएका ११ वटा वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबिसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःमसहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने जनाइएको छ । यसरी प्रत्येक वडामा उत्पादन गरिएको सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर समेत स्थापना गरिएको छ ।

  • कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

    कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

    कर्णाली, १७ पुसः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर आज मृत्यु भएको हो ।

    कोठामा कोइला बाली सुतेको अवस्थामा निस्सासिएर बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक यादवका अनुसार आमा तारा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

  • भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

    भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

    काठमाडौँ, १७ पुस । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन् । भृकुटीमण्डपको अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।”

    मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पारिन् । उनले भनिन्, “सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।” बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताइन् ।

  • प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

    प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

    काठमाडौँ, १६ पुस । नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ ।

    महासङ्घको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना अभिलेख भएका छन् । त्यसमा ११८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । दुई जना पत्रकारको मृत्यु भएको छ । गत वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटामात्र यस्ता घटना भएका थिए । सन् २०२४ को तथ्याङ्कसँग तुलना गर्दा सन् २०२५ मा हननका घटनामा करिब तेब्बरको हाराहारीमा वृद्धि भएको महासङ्घले जनाएको छ ।

    महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने किसिमका कानुनी प्रावधान अघि सारिएको, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा कठोर संशोधन गरिएको र फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक निर्णय गरिएको उल्लेख गरेको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्र २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।

    उक्त आन्दोलन र त्यसपछिको हिंसात्मक घटनामा १०० भन्दाबढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए । सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा करिब ६० करोड रुपैयाँ बराबरको संस्थागत क्षति र १८ करोड रुपैयाँ बराबरको निजी सम्पत्तिको क्षति भएको महाङ्घले जनाएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए । त्यसैगरी आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा हुनसक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन पत्रकार जगत् र सरोकारवालालाई आह्वान गरेको छ ।

  • शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

    शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

    काठमाडौँ, १६ पुसः शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

    मौसम सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । सोसडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनाले स्पष्ट पारेको छ ।

    पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौँ जाने सवारी साधनहरु काठमाडौँ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

  • तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

    तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

    काठमाडौँ, १६ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ ।

  • शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

    शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

    वीरगञ्ज (पर्सा), १६ पुसः वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
    पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

    वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो । आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ ।

  • कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    जुम्ला, १५ पुस । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पु(याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।

    कालीकोटमा २२, मुगुमा १९ र जुम्लामा ४५ वटा टावर विस्तार गरिएका छन् । कार्यालय प्रमुख पुजाराले भने, “जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भइ सुचारु भएको छ । लामो समयदेखि टेलिफोन टावर निर्माण नुहँदा यहाँका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका थिए ।”

    सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र फोरजी इन्टरनेट सेवा सञ्चालन भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । टेलिकमको फाइबर इन्टरनेट सेवा हाल सदरमुकाम खलङ्गामा मात्र विस्तार गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहसम्म विस्तार गर्न काम भइरहेको टेलिकम शाखा कार्यालयले जनाएको छ । नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णालीका ३७ स्थानीय तहमा सञ्चार सेवा विस्तार गरिएको जनाएको छ ।

  • काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौँ, १५ पुस । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाइते उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    यस्तै, आजै काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको इभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईँ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

    ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

    चन्द्रपुर (रौतहट), १५ पुष । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो ।

    अवरुद्ध राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिइन् । उक्त ग्यास बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएका छन् ।

    दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उनले बताइन् । दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए । हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा थन्किएको छन् भने केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर—गौर राजमार्ग हँुदै बालचनपुर, जङ्गल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजाबत गरिरहेका छन् ।

  • प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?

    प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?

    १५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक तर्फका उम्मेदवारमा सबै नयाँ अनुहारले अवसर पाएका छन् । पार्टीले यसअघि संघ र प्रदेशमा सांसद बनिसकेकाहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति सार्वजनिक गरेको थियो । सोही अनुसार नेकपाको सूचीमा सबै नयाँ अनुहार छन् । यो पार्टीको खर्स आर्यको महिलातर्फ करुणा बस्नेत र पुरुषमा प्रमेश हमाल पहिलो नम्बरमा छन् । आदिवासी जनजाति दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति, मंगलसिंह प्रजालगायत छन् ।

    मधेशीतर्फ तारा महतो, रामसखी देवी, जगिकुमार बरबरिया यादव, सुरेन्द्रकुमार जयसवाल लगायत छन् । दलिततर्फ गीता गहतराज, पार्वती विक, गणेशबहादुर विश्वकर्मा, डा।मित्र परियार लगायत छन् । थारु समुदायबाट निशा चौधरी, अञ्जु दहित, भवनकुमार थारु, रामअवतार थारु लगायतको नाम माथिल्लो क्रममा छ । यसैगरी मुस्लिमतर्फ केसर जहा भन्ने सकिना मुस्लिम, जरिना बेगम जार्मिया खातुन, कमरुल नशा, ताज मोहम्मद मियाँको नाम छ ।

    खस आर्य (महिला)

    करुणा बस्नेत

    उमा अधिकारी

    सीता दाहाल

    पञ्चा सिंह

    निशा न्यौपाने

    कमला नहर्की

    गंगा खड्का बोगटी

    निर्मला साउद

    दिलकुमारी पन्त

    मञ्जु कोइराला

    उषाकुमारी पोख्रेल

    भगवती नेपाल

    इन्दिरा ढुंगाना

    जयानन्द कार्की रावल

    ज्ञानु आचार्य

    यमुना गुरागाईं

    सावित्री पोखरेल

    खस आर्य

    प्रमेशकुमार हमाल

    महेन्द्रबहादुर कार्की

    प्रेम बयक

    नहेन्द्र खड्का

    जितेन्द्र दाहाल

    सुजाता काफ्ले

    डम्बरबहादुर क्षेत्री

    विनोद कटुवाल

    राममणी पोख्रेल

    तीर्थबहादुर बुढा

    विष्णु लम्साल

    भीमबहादुर भण्डारी

    कृष्णबहादुर बुढा

    गोविन्दराज पौडेल

    विष्णुप्रसाद खनाल

    आदिवासी जनजाति

    दिपक जंगम

    भिमकुमारी बुढा

    सोमती गुरुङ

    सर्मिली लामा

    ममता राजवंशी

    अञ्जिता श्रेष्ठ

    विष्णुकुमारी थापामगर

    मेनुका थुलुङ

    सुनिता बुढामगर

    निर्मला श्रेष्ठ

    रामदेवी तामाङ

    सुनिता घले

    सीता श्रेष्ठ

    सोनम लामा शाक्य

    नलिनी सिं

    सविता तामाङ

    जमुना गइजु

    कल्पना लिम्बु

    परशुराम तामाङ

    दिलिप प्रजापती

    झक्कुप्रसाद घर्ती

    कृष्णकुमार राई

    बेखानसिंह तमु

    पासाङ शेर्पा

    भरतकुमार श्रेष्ठ

    वीरबहादुर बुढाथोकी

    दंगध्वज खोयाहाङ

    शेरबहादुर तामाङ

    मंगलसिंह प्रजा

    जेतबहादुर पुन

    रुकुम पाख्रिन

    रहलसिंह तामाङ

    डा.पुष्पराज कर्णिकार

    मधेशी

    तारा महतो

    रामसखी देवी

    सुनितादेवी यादव

    पुर्णा बुढा झा

    जयरानी सहनी

    पुनम जैसवाल

    संगीतादेवी यादव

    सुधा सिं

    कल्पनाकुमारी यादव

    जगिकुमार बरबरिया यादव

    सुरेन्द्रकुमार जयसवाल

    घनश्यामप्रसाद रजक

    किसुन मण्डल

    श्रीप्रसाद साह

    कमलराय यादव

    छेदी रजक

    अभिमन्यु यादव

    अरविन्द दास

    दलित

    गीता गहतराज

    पार्वती विक

    विनिता विक

    रेखा राम

    शारदा दमै

    तारा विश्वकर्मा

    सुमरियादेवी पासवान

    कमला ज्ञवाली सिर्पाइली

    गणेशबहादुर विश्वकर्मा

    डा।मित्र परियार

    शरद रसाईली

    शंकर दुलाल

    ठाकुरकुमार विक

    कृष्ण नेपाली

    गोपाल परियार

    थारु

    निशा चौधरी

    अञ्जु दहित

    सस्मति चौधरी

    उषाकुमारी चौधरी

    भवनकुमार थारु

    रामअवतार थारु

    लक्षबहादुर चौधरी

    मुस्लिम

    केसर जहा भन्ने सकिना मुस्लिम

    जरिना वेगम

    जार्मिया खातुन

    कमरुल नशा

    ताज मोहम्मद मियाँ

  • आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

    आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

    काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

    गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ ।

    कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।

  • निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा

    निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा

    काठमाडौँ, १५ पुस ः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

    त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ ।

    त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

  • रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति

    रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति

    १४ पुस, कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीच त्रिपक्षीय सहमति भएको छ । सहमति पत्रमा लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । साक्षी बालेन बसेका छन् । सहमति अनुसार जेन जी आन्दोलनलाई आत्मसाथ गर्ने उल्लेख छ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने भएको छ । चुनाव चिन्ह समेत घण्टी नै रहने छ । पार्टीको अध्यक्षमा रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले गरी तीन जना हुने छन् ।

  • मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङ, १४ पुस । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो ।

    हालसम्म तन्तु प्रजनन प्रविधिबाट नेपालमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाईब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादनको परीक्षणका लागि बिरुवा उत्पादनतर्फ जोड दिन थालेको हो । नेपालका विभिन्न स्थानमा विभिन्न फलफूलको बिरुवा उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशाला प्रयोगमा रहेपनि यहाँको केन्द्रले यसप्रकारको हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादनका लागि प्रयोगशालामार्फत एम नाईन रुट स्टक बिरुवाका लागि बीउ उत्पादन गर्न थालेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूले जानकारी दिनुभयो ।

    यसप्रकारको हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा प्रयास गरिएको भए पनि यहाँको केन्द्रको तुलनामा प्रशारण र विकास गर्न नसकेको उहाँको भनाइ छ ।

    यहाँस्थित मुस्ताङको घरपझोङ—२ मार्फास्थित केन्द्रमा २०७८ मा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन प्रयोगशालामार्फत हाईब्रिड स्याउको प्रविधि प्रशारणतर्फ काम गर्दैआइरहेको केन्द्रका जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो । त्यस अवधिमा केन्द्रले प्रविधिको उपयोग गरी विभिन्न प्रोटोकलको विकास गरिहेको उहाँको भनाइ छ ।

    यसका अलावा यहाँको केन्द्रले तन्तु प्रजनन प्रयोगशाला प्रविधिलाई पछ्याउँदै फिल्डमा पनि दिशानिर्देशको रुपमा काम गर्दै हाईब्रिड स्याउ बिरुवा उत्पादनको व्यवस्थापनमा जान सकिने निष्कर्षका साथ प्रयोगशालामार्फत बीउ उत्पादन गरी स्याउका एम नाईन रुट स्टक बिरुवा उत्पादनतर्फ अग्रसरता देखाएको अधिकृत लिम्बूको भनाइ छ ।

    यहाँस्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसवर्ष केन्द्रको नाममा रहेको मुस्ताङको घाँसामा एक रोपनी र केन्द्रको मार्फास्थित एक रोपनी जग्गामा तन्तु प्रजजन प्रयोगशालामा प्रशारण भएका करिब ६००० हाईब्रिड एम नाईन रुट स्टक स्याउका कलमी बिरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको अधिकृत लिम्बूले जानकारी दिनुभयो ।

    यसैगरी केन्द्रले आव २०८०÷८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय बिरुवा उत्पादन भइसकेको र यो परीक्षणको रुपमा रहेको जानकारी दिनुभयो । यसका लागि किसानलाई वितरण गर्नुअघि केन्द्रले पर्याप्त अध्ययन अनुसन्धान गर्ने तयारी गरेको बताउनुभयो । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो ।

    केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार नहुुँदा सीमित मात्रामा बिरुवा उत्पादन गर्न थालेको छ । केन्द्रमा पर्याप्त मात्रामा सिसा घर ९हाईटेक० भएमा तन्तु प्रजनन प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको अधिकृत लिम्बूले बताउनुभयो ।

    यसवर्षको दोस्रो फेजमा यहाँ जेठ महिनाबाट प्रयोगशालामा बिरुवा उत्पादनका लागि विभिन्न प्रोटोकल अपनाएर बीउ उत्पादन गरी रोपण गर्न थालिएको हो । मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा आफ्नो उत्पादन सुरु गरेको केन्द्रले यहाँको उच्च उचाई, मध्यम उचाई र न्यून उचाईको स्थानमा लगेर परीक्षण आरम्भ गर्ने तयारी गरिएको हो । केन्द्रले यसअघि उत्पादन गरेका एम नाईन रुट स्टक बिरुवामा गाला,फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउलाई रुट स्टक गरिसकेको र त्यसको परीक्षण हुन बाँकी रहेको अधिकृत लिम्बूले उल्लेख गर्नुभयो ।

    यहाँस्थित केन्द्रमा रहेको यस प्रकारको तन्तु प्रजनन प्रविधि प्रयोगशाला ९ल्याबमा एम नाईन रुट स्टकको एक अंशलाई ल्याबमा राख्ने र त्यसपछि विभिन्न विधि अपनाएर बिरुवाका लागि बिउ उत्पादन गर्ने गरिन्छ । यसप्रकारको प्रविधिबाट बृहत रुपमा तन्तु प्रजनन प्रविधिको प्रशारण गरी गुणस्तरीय तथा आनुवशिंक रुपमा चुस्त एकैनासको बिरुवा उत्पादन गर्न सकिन्छ ।

    जिल्लामा विसं २०७० पछि उच्चघनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको हो । थोरै क्षेत्रफलमा धेरै र छोटो समयमा सोचे अनुरुपमा उत्पादन दिने भएकाले यहाँका किसान यसप्रकारको हाईब्रिड स्याउ खेतीतर्फको आकर्षण बढेको हो । यहाँ ईटालीबाट आयात गरिएका हाईब्रिड स्याउलाई सङ्घीय र प्रादेशिक सरकारले अनुदान सहुलियतमा वितरण गरेपछि मुस्ताङमा हाईब्रिडखेती विस्तार भएको हो ।

    केन्द्रले आफ्नो प्रविधिको प्रशारण गरी हाईब्रिड स्याउका बिरुवा उत्पादन गरेमा हाईब्रिड स्याउका बिरुवा भनेको बेलामा सस्तो मूल्यमा उपलब्ध हुनसक्ने सुनिश्चितता रहेको केन्द्रले जनाएको छ । ईटालीबाट आयात गरिएको हाईब्रिड एउँटै रुट स्टक बिरुवको एक हजार बढी मूल्य पर्छ ।

    यहाँ उत्पादन हुने एक नाईन रुट स्टक बिरुवमा विभिन्न प्रजातीका स्याउको कलमी गर्न सकिने छ । मुस्ताङमा ८३७ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । जसमध्ये ५७२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । यहाँको पाँच पालिकामा गरी ६२ हेक्टर क्षेत्रफलमा २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भएको थियो ।
    रासस

  • प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो

    प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो

    चन्द्रपुर (रौतहट), १४ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।

    विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान केन्द्र रहेकोमा यसवर्ष १८ वटा थपिएर पाँच सय ४१ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसैगरी विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा दुई सय ७६ वटा मतदानस्थल कायम रहेकोमा यसवर्ष एउटा स्थल थपेर दुई सय ७७ वटास्थल कायम गरेको उनले बताए । उनका अनुसार गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको हो । जिल्लामा २१ हजार एक सय ५६ जना मतदाता थपिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६ सय ११ जना मतदाता रहेका छन् । मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको कार्यालय प्रमुख दासले जानकारी दिएका छन् । विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ जना मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् यसमा एक सय ५७ वटा वडा रहेका छन् ।

    विसं २०७९ को निर्वाचनमा क्षेत्र नंं १ बाट तत्कालीन नेकपा एसको तर्फबाट माधवकुमार नेपाल, क्षेत्र नं २ बाट स्वतन्त्र किरण साह, क्षेत्र नं ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए । निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ मतदातामध्ये दुई लाख ८२ हजार चार सय ३० मतदाताले मतदान गरेका थिए ।

  • प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

    प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

    टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिए । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उनले जानकारी दिए ।


    निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना, षडानन्द नगरपालिका– २१ हजार आठ सय ९६, अरुण गाउँपालिका– १२ हजार छ सय ४३, आमचोक गाउँपालिका– १२ हजार चार सय ४४, पौवादुङमा गाउँपालिका– १० हजार छ सय ६३, टेम्केमैयुङ गाउँपालिका– १३ हजार पाँच सय ५७ मतदाता कायम छन् ।

    यस्तै रामप्रसाद राई गाउँपालिका– ११ हजार नौ सय, साल्पासिलिछो गाउँपालिका– आठ हजार सात सय २४ र हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताए । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिए ।

  • वाणिज्य विभागले तीन उद्योगलाई तिरायो एक लाख १० हजार जरिवाना

    वाणिज्य विभागले तीन उद्योगलाई तिरायो एक लाख १० हजार जरिवाना

    काठमाडौँ, १४ पुस । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ । विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरेको छ ।

    विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग÷फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

  • एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने

    एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने

    काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए ।

    उनका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्द सूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताए । निर्वाचन आयोगले सोमबारसम्म निर्वाचनमा भाग लिने दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकेको छ ।

    “अध्यक्ष ओलीले आज पेस गरेको बन्द सूचीबारे छलफल गरी पारित गरिएको छ । अध्यक्ष ओलीले आवश्यक ठानेमा बन्द सूचीलाई सच्चाएर आयोगमा पठाउने निर्णय गरिएको छ”, उनले भने । बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रत्याभूति सरकारले अझै बनाउन नसकेको बताए । उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले पार्टीको जनवर्गीय सङ्गठन नेशनल भोलिन्टियर्स फोर्स प्रत्येक बुथमा राख्नुपर्नेमा जोड दिए । पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

  • क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ

    क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान पक्राउ

    काठमाडौँ, १३ पुस : प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

    उनले भने, “क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले यसअघि क्यासिनोबाट चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो, सोही विषयको अनुसन्धानका लागि चिङलाई पक्राउ गरिएको हो ।” अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामा ‘क्यासिनो इभेन्ट’का नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

  • मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

    मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

    मनाङ, १३ पुस । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्रिय प्रकृति कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको अवस्था, गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो ।

    अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथा सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने नारफु, ङिस्याङ, खाङ्सार, तिलिचो, गुम्साङ, भिमथाङ आसपासका उच्च हिमाली भूभागमा गरिएको सर्वेक्षणले मनाङ हिउँ चितुवाको सम्भावित प्रमुख बासस्थानमध्ये एक रहेको विज्ञले पुष्टि गरेको उनले बताए ।


    “हिउँ चितुवा हिमाली पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो । यसको उपस्थिति सुरक्षित छभने उक्त क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणाली सन्तुलन पनि राम्रो अवस्थामा रहेको मानिन्छ”, प्रमुख भुजेलले भने । मनाङको ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र हिउँ चितुवाको सम्भावित बासस्थानका रूपमा पहिचान गरिएको उनले बताए । उनका अनुसार क्यामेरा ट्रयाप, पदचिह्न, मल ९स्क्याट० सङ्कलन र स्थानीय गोठालाको अनुभवका आधारमा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको छ ।

    सर्वेक्षणमा संलग्न वन्यजन्तु तथा वातावरण विज्ञका अनुसार हिउँ चितुवाको संरक्षण केवल एउटा वन्यजन्तु जोगाउने विषयमात्र नभई सम्पूर्ण हिमाली पारिस्थितिकीय प्रणाली, स्थानीय जीविकोपार्जन र भविष्यको पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो । समुद्री सतहबाट करिब तीन हजार २०० मिटरदेखि पाँच हजार २०० मिटरभन्दा बढी उचाइका मनाङ ङिस्याङ उपत्यका, भीमथाङ उपत्यका र नारफु उपत्यकालाई तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरिरहेको भुजेलले बताए ।


    यी क्षेत्रमा अल्पाइन घाँसेमैदान, शङ्कुधारी वन प्याच, सुक्खा नदीक्षेत्र, रिजलाइन र जनावरका बाटो समावेश गरिएका छन् । हिउँ चितुवा र तिनीहरूको सिकारका लागि प्रमुख बासस्थान हुन् । यस क्षेत्रमा कुल १२९ क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । मनाङ ङिस्याङ उपत्यकामा ५७, भीमथाङ उपत्यकामा २९ र नारफु उपत्यकामा ४३ क्यामेरा जडान गरिएको छ । क्यामेराले हिमाली ब्वाँसाको अध्ययन गर्ने एक अन्तरराष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्यात्मक प्रयास पनि समावेश गरी सर्वेक्षण भइरहेका छ । अनुसन्धानकर्ताले २२ क्यामेरा र तथ्याङ्क आदानप्रदान गरिरहेको एक्यापले जनाएको छ ।

    “हिउँचितुवा सुरक्षित छभने त्यसको अर्थ नाउर, झारलजस्ता सिकार प्रजाति, घाँसेमैदान र समग्र हिमाली वातावरण पनि सन्तुलित अवस्थामा छ भन्ने बुझिन्छ”, उहाँले भन्नुभयो । सन् २०२४ अक्टोबर १४ मा सुरु भएको अनुगमन अध्ययनले विगतमा हिउँ चितुवा विवरण अध्ययन ९छेत्री एटअल, २०१७० मा पहिचान गरेको वैज्ञानिकको रूपमा चयन गरिएका ग्रिड कोषलाई भीमथाङ उपत्यकासहित अन्नपूर्ण–मनास्लु क्षेत्र प्रमुख हिउँ चितुवा समेटेको छ ।

    यस अध्ययनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र एक्यापले मनाङ ब्लकलाई १४ ग्रिड कोषमा विभाजन गरी प्रत्येकको मापन ५×५ वर्ग किलोमिटर रहेको जनाएको छ । निष्पक्ष र व्यवस्थित तथ्याङ्क सङ्कलन सुनिश्चित गर्न प्रत्येक ग्रिडभित्र अनियमित रूपमा क्यामेरा ट्रयापिङका लागि जडान गरिएको छ ।


    मानव बस्ती र पूर्वाधारबाट टाढा जनावरका बाटो, रिजलाइन, वनक्षेत्र, पानीका स्रोत र ज्ञात वा शङ्कास्पद सिकारस्थलमा क्यामेरा ट्रयापिङ गरिएको एक्यापले जनाएको छ । हिउँ चितुवाको सङ्ख्या अनुमान र पारिस्थितिकीय प्रणालीको विश्लेषणलाई समर्थन गर्न प्रत्येक ग्रिड सेलभित्र सिकार प्रजातिको तथ्याङ्क रेकर्ड गरिरहेका छन् । क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, पन्जा, सिलिका जेल, स्क्याट सङ्कलन ट्यूब र तथ्याङ्क रेकर्डिङ फारमलगायतका उपकरण जडान गरिएको छ ।

    भुजेलले भने, “प्रारम्भिक सर्वेक्षणले यस क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब ५० भन्दा बढी अनुमान गरेको छ । सर्वेक्षण जारी रहेकाले अन्तिम तथ्याङ्क आउन बाँकी छ ।” हिमाली ब्वाँसो, रातो स्याल, नीलो भेडा, कस्तुरी मृग, पहेँलो घाँटी भएको मार्टेन्स, हिमाली सेरो, घोरल र चितुवा बिरालोजस्ता विविध वन्यजन्तु प्रजातिको जडान गरेको क्यामेराले रेकर्ड गरेको सर्वेक्षणकर्ताले जनाएको उहाँले जानकारी दिनुभयो । जसले स्वस्थ र सन्तुलित पहाडी पारिस्थितिक प्रणालीलाई प्रतिविम्बित गरेको छ ।

    क्यामेरा ट्रयापिङ, स्क्याट सर्वेक्षण र सिकार मूल्याङ्कनमार्फत सङ्कलन गरिएको तथ्याङ्कले मानव वन्यजन्तु द्वन्द्व हटस्पट पहिचान गर्न महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ । यसमा सुधारिएको पशुपालन अभ्यास, सिकार न्यूनीकरण, मौसमी चरन व्यवस्थापन र सहअस्तित्वमा केन्द्रित सामुदायिक जागरूकताजस्ता कार्यक्रमले नागरिकमा सचेतना फैलिएको छ । जसले हिउँ चितुवाको संरक्षणमा टेवा पुगेकाले सङ्ख्या बढ्न सक्ने सर्वेक्षणकर्ताले अनुमान गरेको एक्यापले जनाएको छ ।

    एनआरसिए, एनटिएनसी एक्याप मनाङका प्रकाश अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत गोपाल खनाल, एनटिएनसी एक्याप मनाङका ओमबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, यामबहादुर गुरुङ र भक्तसिं गुरुङको सहयोगमा सर्वेक्षण भइरहेको जनाइएको छ ।

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    म्याग्दी, १३ पुस । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् ।

    धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएका बताए । तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँचमार्ग निर्माण गरिसकेका छन् । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । खानी उत्खननका लागि अध्ययन थालिएकामा मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताए ।


    उनका अनुसार मच्छिमको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामा खानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउहरू देख्न सकिन्छ । तामाखानीको सुरुङ छन् । पहाडमा तामा रसाएको देख्न सकिन्छ ।

    स्थानीयवासीले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त खानीबाट निकालेको तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा तयार पार्ने गरिन्थ्यो । खानीको तामाले बनाएका भाँडा स्थानीयले घरमा सजाएर राखेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए ।

    उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहानहरु (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । मच्छिमको साथै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगङ्गाको ठाडाखानी, कुइनेखानी र मङ्गलेखानीमा तामाखानी छन् । धवलागिरिको नर्जा, मालिकाको रुम, डाँडागाउँ, निस्कोटमा स्लेट ढुङ्गा खानी छन् ।

  • रास्वपा र बालेन मिल्दा कुलमान छुटे

    रास्वपा र बालेन मिल्दा कुलमान छुटे

    काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति हुँदा कुलमान घिसिङ भने छुटेका छन् । यसबारे प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताको चाहना अनुसार नभई जनताको चाहना अनुसार भएको बताएका छन् । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले मात्र हस्ताक्षर गरेका छन् ।

    सहमति अनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने उल्लेख छ । पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

    त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् । यस सहमतिमा कुलमानलाई समेत सहभागी गराउने बालेनको प्रयास रास्वपाका कारण सम्भव भएन ।

  • खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

    खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

    काठमाडौँ, १२ पुस । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।

    उक्त यो ढुङ्गेधारा लिच्छवीकालीन हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गत भन्छन्, “प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्नसक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।”

    निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, “विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र नौदेखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।” पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै सङ्गत भन्नुहुन्छ, “यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङिको जीवन्त दशी हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।”

    उनका अनुसार सुन्धारा वास्तुकलात्मक छ । ढुुङ्गाहरूमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, “यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागीश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।”

    जयवागीश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्, “लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठाबाठा हुन् भनेर माताको आह्वान गरेका थिए । उनको आह्वानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयवागीश्वरी आएको विश्वास छ । शिला नदी तरेर आएपछि माताको इच्छाअनुसार उनले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।”

  • अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

    अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

    भद्रपुर (झापा), १२ पुसः चालु आर्थिक वर्ष २०८२–०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो ।

    अघिल्लो आव २०८१–०८२ को सोही अवधीमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलँैची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्व ८५ करोड ६२ लाख सात हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१–०८२ को सोही अवधिमा रु दुई अर्व ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।


    कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आव २०८२र०८३ को पहिलो पाँच महिनामा रु १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।

  • सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

    सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

    कञ्चनपुर, ११ पुस । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।

    “तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।”

    रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताउनुभयो । उहाँका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

    सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ । कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ । प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी)ले सङ्कलन गरेको नमूना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए ।


    यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुुख्य कारण उखुखेती कटानीका कारण प्राकृतिक बासस्थान नष्ट हुनु रहेको छ ।

    “उखु कटानीको सिजन सुरु भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ”, भट्ट भन्छन्, “बासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्रगतिमा फैलिएको छ ।” पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नु पर्दछ ।

    असामान्य व्यवहार गर्ने, टोक्ने वा र्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ रहेको छ ।

  • मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

    मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

    मुग्लिन (चितवन), ११ पुस । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए ।

    प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उहाँले जानकारी दिनुभयो । महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।

    महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि रु १० करोडको कारोबार गर्ने गरेको बताए । यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनले बताए ।

    सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ । सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।

  • हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

    हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

    ११ पुस, हुम्ला । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

    आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए । स्थानीयको पहलमा आगो निभाइएको उनले बताए ।

    आगलागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले बताए । “अहिले आगो निभाइसकिएको छ”, उनले भने । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।

  • बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    काठमाडौँ, १० पुस । बागमतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।


    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको बागद्धारबाट शुद्ध जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन लागिएको हो । जानकारहरूका अनुसार विसं २०४० सम्म पशुपतिनाथलाई बागमतीको नदीको जलले स्नान गराइन्थ्यो । वाग्मती प्रदूषित हुँदै गएपछि पशुपति क्षेत्रमा इनार खनेर स्नान गराउने गरिएको छ ।

    डेढ दशकअघिदेखि नै बागद्धारको जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन पहल गरिए पनि सफल हुन सकेको छैन । पूर्वप्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ यो अभियानमा लागेका थिए । बागद्धारको शुद्ध जल विभिन्न धार्मिकस्थल हुँदै आराध्यदेव पशुपतिनाथलाई स्नान गराउन ल्याउने विषयमा प्रथम चरणको कार्य सुरु गरिएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिए ।

  • सिरहामा किशोरी हत्या प्रकरण : तीन सातासम्म पनि भएन दोषीको पहिचान

    सिरहामा किशोरी हत्या प्रकरण : तीन सातासम्म पनि भएन दोषीको पहिचान

    सिरहा, १० पुस । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।

    मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् । उनले भनिन्, “छोरी गुमाएको पीडा त छँदै छ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ । पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामीजस्ताको आवाज कसैले सुन्दैन ।” स्थानीयका अनुसार बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, “तीन साता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो । दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ ।”

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताए । यस विषयमा उनले प्रष्ट पार्दै भने, “घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौँ ।”दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए । रासस