Category: स्थानीय

  • केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

    केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

    वीरगञ्ज (पर्सा), ९ पुस । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडाँैमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए । त्यसैगरी, गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगञ्ज कारागार बुझाएको छ । निज उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले रु ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन् ।

  • जेनजी आन्दोलनमा फरार प्रतिवादी खोज्न दाङमा खोजतलास अभियान

    जेनजी आन्दोलनमा फरार प्रतिवादी खोज्न दाङमा खोजतलास अभियान

    दाङ, ९ पुस । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली खटिएर गरिएको खोजतलासका क्रममा विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

    प्रवक्ता शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा रु तीन लाख ७६ हजार ८५३ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । साथै उनीहरूलाई जम्मा चार वर्ष छ महिना १५७ दिन कैद सजाय तोकिएको छ । पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको पनि प्रवक्ता शाहले जानकारी दिए ।

  • वीरगन्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज (पर्सा), ९ पुस । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।


    गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् रु एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो ।

    चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो । त्यसैगरी रु १७ करोड ३६ लाख मूल्यको पेट्रोल र रु १२ अर्ब १७ करोडको एलपी ग्यासको पनि आयात भयो । त्यस्तै रु सात अर्ब २५ करोडको एटिएफ र रु १९ करोडको मट्टितेल आयात भएको छ ।

  • बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या, सासु र नन्द पक्राउ

    बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या, सासु र नन्द पक्राउ

    कमलामाई (सिन्धुली), ८ पुसः पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो ।

    अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । मृतकका श्रीमान् विगत दुई वर्षदेखि वैदेशि रोजगारीमा छन् । घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते छन् । उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ । घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

  • शीर्ष नेता र सरकारबीचको संवादले चिर्ला निर्वाचनको शंका ?

    शीर्ष नेता र सरकारबीचको संवादले चिर्ला निर्वाचनको शंका ?

    ८ पुस, काठमाडौं । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनाव हुने की नहुने भन्ने अन्योल जारी छ । निर्वाचन आयोगले प्राविधिक तयारीको काम तिव्र गतिमा गरेको छ । तर, एक हुन नसकेका जेन जी समूह, राजनीतिक दलहरुमाथि गरिने अविश्वास र ताजा आक्रमणका घटनासहितले निर्वाचनमा अन्यौल कायम रहेको हो । यसैबीच सरकार र राजनीतिक दलका बीचको संवादहिनता समेत आजबाट चिरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गरेका छन् ।


    उनीहरुबीचको भेट आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रित रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि उनीहरुबीच भएको यो पहिलो भेट हो । यस भेटले निर्वाचनको वातावरण बनाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

  • दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

    दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

    म्याग्दी, ८ पुस । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।

    कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा। महेन्द्र बानियाँका अनुसार दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते निर्माण कम्पनीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको योजनाको ताकम खण्डमा करिब नौ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएकाले ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

    छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिको कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ ।

    यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ ९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ ।

    म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताए । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघि नै सडक निर्माण भइसकेको छ ।

  • तनहुँ जिल्ला प्रशासन : तीन महिनामा एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

    तनहुँ जिल्ला प्रशासन : तीन महिनामा एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

    दमौली (तनहुँ), ८ पुस । जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व सङ्कलन भएको जानकारी दिए ।

    उनका अनुसार सङ्घसंस्था दर्ता नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण र नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार, न्यायिक दण्ड जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ राजस्व सङ्कलन भएको छ ।

    ४३४ गुनासा फछ्र्यौट

    चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालयमा ६१९ गुनासो दर्ता भएका छन् । विभिन्न माध्यमबाट कार्यालयमा गुनासो दर्ता गरिएको हो । प्रजिअ अधिकारीले सबैभन्दा बढी नागरिक एपमार्फत ५७२ गुनासो प्राप्त भएको जानकारी दिए । त्यस्तै कार्यालयमा निवेदनमार्फत ३४ र निमायक निकायबाट १३ गुनासो प्राप्त भएको उनले बताए । गुनासोमध्ये ४३४ गुनासो फछ्र्यौट गरिसकिएको उनले बताए ।
    सेवाग्राहीका सहजताका लागि कार्यालयले क्युआरकोडमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेपनि क्युआरकोडमार्फत कुनै पनि गुनासो नआएको प्रजिअ अधिकारीको भनाइ छ । त्यस्तै हेलो सरकारमार्फत पनि गुनासो प्राप्त भएको छैन । प्रजिअ अधिकारीका अनुसार नागरिक एपमार्फत प्राप्त गुनासोमध्ये ३८७, कार्यालयमा निवेदन प्राप्तमध्ये ३४ र निमायक निकायमार्फत प्राप्त गुनासोमध्ये १३ गुनासो फछ्र्यौट भएका छन् ।

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    रासस
    मुस्ताङ, ८ पुसः माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन् ।

    हिउँदयामको मौसममा बेंसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुश्किल परेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पु¥याएको छ । चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पु¥याउनसक्ने जोखिम छ ।

    माथिल्लो मुस्ताङका नागरिकले हिउँदयामको जाडो थेग्न गुइँठाको साहारा लिन थालेका छन् । सुक्खा पठार माथिल्लो मुस्ताङमा वनजङ्गल नहुँदा दाउराको समस्या छ । बर्खायाममा विद्युत् र ग्यासको प्रयोग हुने भए पनि त्यहाँका नागरिकले पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन् ।

    लोमान्थाङ–३ ठिङ्गरका पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुइठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिए । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाममा सुकाएर गुइँठा बनाएर आगो ताप्ने, पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको जानकारी दिए ।


    माथिल्लो मुस्ताङमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकले याकचाँैरी र भेडाच्याङ्ग्रापालन व्यवसाय गर्ने गरेका छन् । यिनै याकचौँरी र भेडाच्याङ्ग्राको गोबरलाई स्थानीयले लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन् । यद्यपि यो प्रचलन माथिल्लो मुस्ताङमा सदियाँैदेखि निरन्तर चल्दै आइरहेको छ ।

    माथिल्लो मुस्ताङमा याकचौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतोलाई लगातार घाममा सुकाएर गुइँठा तयार गरेपछि बोराभित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइँठालाई आवश्यकताअनुसार ऊर्जाका रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ–२ किम्लिङका ढिन्डुक गुरुङले उल्लेख गरे । यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठा दाउराभन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान इन्धनका रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाइ छ ।

    खेतबारी र चरन क्षेत्रमा खेर गइरहेका पशुचौपायाको आलो गोबर सङ्कलन गरी स्थानीयले गुइँठा बनाउँछन् । यसरी यहाँ गुइँठालाई ऊर्जाका रुपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पमा गुइँठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचतमा योगदान पु¥याएको छ ।

  • अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

    अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

    चन्द्रपुर (रौतहट) । ८ पुस । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो ।

    केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए । बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।

  • जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

    जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

    काठमाडौँ, ७ पुस । जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उनको भनाई छ ।

    गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु हुनेको सङ्ख्या बढ्दै गएको बताए । गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो । सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको थियो । डा गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् ।

    मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उहाँले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ ।

    जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो ।

  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    काठमाडौँ, ७ पुस । सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ । अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरूप पछिल्लो तीन वर्षमा दुई वटा नयाँ ‘मोड्युलर अप्रेशन थियटर’को निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    मेडिकल कलेजको लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी राखिएको छ । इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयमा टेलिमेडिसिन सेवासमेत सञ्चालन हुँदै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्य सेवा लिन सक्नेछन् । सशस्त्रलाई ३०० शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८१ असोजमा अनुमति दिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा एपिएफ अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भइसकेको छ ।

    उपचारार्थ आउने बिरामीलाई समयसापेक्षितरूपमा गुणस्तरीय सेवा उपलब्ध, अस्पतालको स्तरोन्नति र अस्पतालमा कार्यरत जनशक्तिको वृत्ति विकासको लागि समेत आवश्यक पर्ने भवन, कुरुवा घर, पुनस्र्थापना केन्द्रलगायत संरचना निर्माण गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । नेपाल एपीएफ अस्पताल तथा मातहत अस्पतालमा जलन उपचार युनिट सञ्चालनका लागि २२ जना स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीलाई कीर्तिपुरस्थित जलन अस्पतालमा पाँच दिन अवधिको तालिम उपलब्ध गराई उक्त सेन्टरका लागि आवश्यक पूर्वाधार तथा सामग्रीको जडान कार्य भइरहेको छ ।

    सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरभित्रै सःशुल्क फार्मेसी र सशस्त्र प्रहरीका वहालवाला तथा पूर्वकर्मचारीको लागि दैनिक उपभोग्य सामग्री सुलभ मुल्यमा उपलब्ध गराउन ‘सुपथ मुल्य क्यान्टिन’ सञ्चालनमा ल्याइएको छ । चालु आर्थिक वर्षदेखि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा आएको छ । सो इन्स्टच्यूटमा यसै शैक्षिक सत्रदेखि प्रवीणता प्रमाणपत्र तह नर्सिङ अध्ययन सुरु भएको छ । इन्स्टिच्यूटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ४ जना गरी ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

    कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल अब स्थायी संरचनामा सञ्चालन हुने भएका छन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) को कमाण्ड रहेकामा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (चिकित्सक)ले कमाण्ड गर्नेछन् ।

  • सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

    सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

    काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

    भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि थिए । यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । दुई नेताबीच संसद पुनर्स्थापनाको विषयमा चरणवद्ध छलफल जारी छ । स्रोतहरुका अनुसार कांग्रेस सभापति देउवा स्वयमः संसद पुनर्स्थापनाको पक्षमा छन् । सोही अनुसार उनले कांग्रेसका सांसदहरुलाई हस्ताक्षर अभियान चलाएका छन् ।

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    रासस
    ढोरपाटन (बागलुङ), ७ पुस । पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुनुहुन्छ । १३ वर्ष अगाडि सुबिधा खोज्दै बागलुङ बजार झर्नुभएका उहाँ अहिले पनि प्रायः गाउँमै भेटिनुहुन्छ । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा किसानका रुपमा परिचित कँडेलले बसाइँसरे पनि जग्गा जमिन र घर छोड्नु भएको छैन ।

    किमबोट गाउँमा उहाँको ३२० बोट सुन्तला छन् । यसमध्ये २५० बोटले फल दिइरहेका छन् । सुन्तलाको स्याहार सुसारका लागि उहाँ हरेक हप्ता गाउँ पुग्नुहुन्छ । कँडेलले सुन्तला खेती गर्न थालेको साढे तीन दशक बढी भयो ।

    विसं २०४७ मा रु ३५ हजार लगानी गरेर सुरु गरेको सुन्तलाखेती अहिले फस्टाएको छ । हरेक वर्ष आम्दानी बढ्दै गइरहेको छ । २०४७ सालमा कँडेलले सुन्तलाखेती सुरु गर्दा बागलुङ जिल्लामै सडक आएको थिएन । स्थानीय कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुन्तला खेतीको सुरुआत गर्नुभएको थियो । उहाँबाटै सिकेर उहाँले सुन्तला लगाउनु भएको हो । साठी वर्षीय कँडेलले १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आउनु भएको छ ।

    गाउँको माया र सुन्तला खेतीप्रतिको मोहले गर्दा बागलुङ छोडेर टाढा बसाइँ नसरेको कँडेल बताउनुहुन्छ । वरपरका छिमेकीले धमाधम गाउँ छोडेपछि आफूले पनि परिवार लिएर बागलुङ बजार आएको उहाँको भनाइ छ । बिरामी पर्दा नजिक उपचार गर्न आशले मात्रै आफू बजार झरेको कँडेलले बताउनुभयो । भएभरको सम्पत्ति गाउँमै रहेको जनाउँदै कँडेलले अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने आफू भएको बताउनुभयो ।

    “औषधि पानी खाने अस्पतालको नजिक भनेर बजार झरेको, हाम्रो नातागोता र छरछिमेकी सबै तराईतिर गए, हामीहरु चाँही घर पायकपर्छ भनेर बागलुङ बजारमा आएको हो, यहाँबाट गाउँ नजिक छ, हरेक साता गाउँ जाने सुन्तलामा मल पानी लगाउने, गोडमेल गर्ने काम गर्छु” उहाँले भन्नुभयो–“म बजारमा बस्ने भन्ने मात्रै मेरो मन दिनहुँ गाउँमा हुन्छ, गाउँमा धेरै सुन्तला छ, अझ यो बेला टिप्नका लागि तयार हुँदै छ, चोर लाग्ने डर हुन्छ ।”

    कोदो, मकै फल्ने बारीभरी सुन्तला

    अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गर्नुभयो । मकै र कोदो उत्पादन गर्दा वर्षभरी खान नपुग्ने जनाउँदै अहिले सुन्तलाले जीवनस्तरनै परिवर्तन भएको कँडेल बताउनुहुन्छ । सुन्तला खेतीबाट छोराहरु पढाएको सुनाउँदै अहिले सबै जापाज, अमेरिका र पोर्चुगल रहेको उहाँको भनाइ छ ।

    सुन्तलाखेती गर्न थालेपछि कुनै पनि जग्गा बाँझो राख्न नपरेको कँडेलले बताउनुभयो । सुन्तलाखेती गर्दाका बखत सडकले गाउँ नजोडिएको भन्दै डोकोमा बोकेर बागलुङ बजार ल्याएर बिक्री गरेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । बसाइँसराइ गरेर तराई झरेकाहरुले पनि सुन्तलाको मायाले जग्गा जमिन नबेचेको उहाँले सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, “सुरु सुरुमा ढोकोमा बोकेर बागलुङ बजार पु¥याउँथ्यौँ, अहिले व्यापारी बारीमै आएर बगानै किन्छन्, बगानै बिक्री गर्दा हामीहरुले उचित मूल्य पाउन सक्दैनौँ, व्यापारीलाई बगान नदिँदा बजार नपाएर कुहिने डर हुन्छ, राज्यले हाम्रो उत्पादनलाई उचित मूल्य दिएर बजारीकरण गरिदिने भए धेरै आम्दानी गर्न सकिन्थ्यो ।”

    जिल्लाकै बढी सुन्तला फलाउने लोकनाथ

    उहाँ बागलुङ जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान हुनुहुन्छ । उहाँले गत वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएको थियो, भने यसवर्ष रु १५ लाखको बिक्री गरिसक्नु भएको छ । थप दुई लाखको परिवारले खानका लागि राखेको कँडेलले सुनाउनुभयो । तीस बोटबाट खेती सुरु गरेको जनाउँदै हरेक वर्ष नयाँ बिरुवा थप्दै गएको उहाँको भनाइ छ ।

    हालसम्म करिब २५ लाख बढी लगानी गरिसकेको कँडेलले बताउनुभयो । अहिले किमबोट गाउँमा सुन्तलाखेती नगर्ने कोही पनि नभएको उहाँको भनाइ छ । पछिल्लो समय बिहुँ क्षेत्र सुन्तला गाउँका रुपमा पचिरित हुँदै गएको उहाँ बताउनुहुन्छ । यस वर्ष चितवन र धादिङका व्यापारीले सुन्तला बगान खरिद गरिसकेको कँडेलले बताउनुभयो । सुन्तलाको दाना बढ्ने बेला असिना पर्दा केही क्षति भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको उहाँको भनाइ छ ।

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    रासस
    पर्वत, ७ पुस । यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।

    बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै रु ७० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यसवर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।

    अहिले गाउँ गाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्याण्डिका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । बाँकी केही किसानले बोटबाटै दाना बिक्री गर्दै आएका छन्,भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेकोसमेत भुसालले बताए ।


    जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ । भुसालले सञ्चालन गरेको उद्योगमा आफू बाहेक सात जनालाई रोजगारी दिनुभएको छ । लप्सीसँगै अमला, अदुवा लगायतका परिवार बनाएर हुने कूल आम्दानीबाट खर्च कटाएर वर्षमा रु १० देखि १२ लाखसम्म बचत हुने गरेको उनले बताए ।


    चार वर्ष पहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकार अमेरिका पठाउनुभएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहेपनि अहिले पठाउने संयन्त्र नरहेको बताए । नेपालीहरुले विदेश फर्किदा कोसेली र पाहुँरको रुपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ ।

    जिल्लाका झण्डै ४० वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती सुरु भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले किसानलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ ।

    उद्योगमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानी लगायतको प्रशोधनसमेत हुँदै आएको छ । भने पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट लाखौं रुपैया आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताउनुभयो । लप्सी, अमला र अदुवा यामको बेलामा प्रशोधन हुने भए पनि मकै, भट्टमास, बदाम लगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए ।

  • सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    ७ पुस, काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ ।


    पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुग्नु भएका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताए ।


    उनले भने, समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’


    इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख ९करसहित०मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो ।


    सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।

  • प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

    प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

    काठमाडौँ, ६ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी थिए ।

  • मौन पीडामा रहेकी कालिमायाको याचना…..

    मौन पीडामा रहेकी कालिमायाको याचना…..

    रासस
    दमौली (तनहुँ), ६ पुस । यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन्, झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दैनन् र घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।

    कालिमायाले झलकलाई देखाउँदै भनिन्, ‘देखिहाल्नुभयो, झलकको अवस्था । यसरी बाँधेर राख्न मलाई रहर होला ? ” उनका अनुसार झलकलाई दुर्घटनामा पर्ने डर, अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउका काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो ।

    कालिमायाको पीडा व्यथाका कथा कहालीलाग्दो छ । झलक चार वर्षका हुँदा उनीले जीवनसाथी अर्थात् श्रीमान् गुमाउनु प¥यो । उनले भनिन्, ‘श्रीमानले अकल्पनीय रुपमा सदाका लागि छाडेर जानुभएपछि मैले नै फरक क्षमता (अपाङ्गता) भएको बाबुको हेरचाह गर्दै आएको छु । बाबुको सहायताका लागि विभिन्न निकाय धाए, सहायताको याचन मागे । आजसम्म आश्वासन र सहानुभूतिमात्र पाएको छु । ”

    केही समयअघि एक सस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गरायो । तर यो सहायताले पनि कालिमायाको आशामा पूरै उज्यालो थप्न सकेन । उनले भनिन्, “ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन, लड्ने डर झनै बढी हुन्छ । अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ । ”

    कालिमायाको माग धेरै छैन । उनलाई चाहिएको छ, झलकका लागि सुरक्षित र व्यवस्थित कोठा । बाहिर निस्केर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय । उनले भनिन्, “जग्गा म आफैँ व्यवस्थापन गर्छु । तर कोठा बनाउन सहयोग चाहिएको हो ।” झलकको अवस्था देखेपछि अधिकारकर्मीद्वय ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणका लागि पहल गरिने आश्वासन दिएका छन् ।

  • भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

    भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

    ताप्लेजुङ, ६ पुसः बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

  • पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

    पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

    रासस
    पथरी (मोरङ), ६ पुस । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोलेका थिए । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।

    विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हासीखुसी जीवन बिताइरहेका छन् । कुखुरासँगै गाईपालनमा लागेका किसान युवराज तिवारीले अहिले गाउँमै सफलता हासिल गरेका छन् । गाउँमै केही गर्ने उद्देश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ ।

    बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नुपर्ने बताउँछन् । बिहान ३ः०० बजे गाईको गोठमा पसेका तिवारी ५ः०० बजे दूधको क्यानसँगै पथरी बजारमा भेटिन्छन् । गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन् । गोठ नजिकैको फार्ममा एक हजार ५०० बढी ब्रोइलर कुखुरा छन् । गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दूध दिन्छ । तिवारी दूध बिक्रीका लागि बिहान ५ः०० र बेलुका ४ः०० बजे पथरी बजारमा पुग्ने गर्नुहुन्छ ।

    युवराज तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुदै गएको छ । ब्रोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि रु तीन लाख खर्च गरेर गाईको गोठ बनाए । सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त ठूलो अनुभव तर आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ सोच बोक्नुभएका युवराजका यात्रा कहिल्यै थाकेनन् ।

    श्रीमती र दुई छोरीको साथ पाएका उनले गाउँमै सफलता हासिल गर्दै आउनुभएको छ । श्रीमती चन्द्रकला बिहान श्रीमान्सँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्छन् । बिबीएस अध्यानरत दुई छोरी कुखुराको स्याहार र दानापानी तिर लाग्छन् । पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन् । बाबुआमाको मेहेनतका कारण आज हामीले उच्च शिक्षा हासिर गर्न सकेको बताउँछन् ।

    तिवारी बिहानको झिस्मिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन् । प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजलाई क्यानमा भरिएको दूधले नयाँ ऊर्जा दिन्छ । तिवारी मुस्कुराउँदै भन्छन्, “दूध बेच्ने बेला सुत्न पाइन्नँ, बेलुका पनि बजार पुग्नैपर्छ, तर थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ”, कृषिमा सफलता पाउँदै गर्नुभएका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ । पहिलापहिला दुई–तीन सय कुखुरा हुर्काउन गार्हो हुने तिवारीका फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिलापहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उहाँको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन् ।

    सरकारी अनुदानको आशा नराखेका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ । समयको बचत र कामको भार कम गर्न भए पनि दूध दुहुने मेसिन आवश्यक परेको बताउनुहुन्छ । नगर र वडाबाट अनुदान पाए केही सहज हुने आशा तिवारीले राखेका छन् । वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउँछन् ।

  • आहा…… आलिताल

    आहा…… आलिताल

    माधबि भट्ट (रासस)
    अमरगढी (डडेल्धुरा), ६ पुस । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

    आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले रु ९० लाख बजेट विनियोजन गरेको छ । गत वर्ष रु २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए । स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उनको भनाइ छ ।

    तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफँैमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए ।


    गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइने छ । साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनले बताए ।


    तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए ।


    महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर (डोटी)– जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।

    आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो । किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उहाँलाई चेतावनी दिइएको थियो । ‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु ।’ उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भने, तर उनको भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।

    रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई ‘आलिताल’ भनेर चिनाउन थालेका हुन् । रोपाइँ गर्नेहरू सबै डुबेर मरे । एकजना महिलामात्र खाना बनाइरहनुभएको थियो उनी जीवित रहे । पछि शिव भगवान्ले उनलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत (आली) भएको ठाउँमा ताल बनेकाले यसको नाम आलिताल रहन गएको बताइन्छ ।

  • दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

    दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

    रासस
    कञ्चनपुर, ६ पुस । जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ ।

    पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र गाउँको आर्थिक र सामाजिक मुहारमै परिवर्तन ल्याएको छ । लालझाडीको कञ्जका स्थानीय बासिन्दा बलराम राना पुराना दिन सम्झिँदै भन्छन्, “वर्षात सुरु हुनेबित्तिकै बाहिरी संसारबाट काटिन्थ्यौँ, सडकमा गोडासम्म डुब्ने हिलो हुन्थ्यो, कोही बिरामी परेमा अस्पताल लैजानका लागि एम्बुलेन्स आउने त टाढाको कुरा, मान्छेले बोकेर लैजान पनि बाटो भेटिँदैनथ्यो ।”

    हिउँदमा पनि कच्ची सडकमा सवारीसाधन गुड्दा उड्ने धुलोले सडक छेउका घर र खेतीपाती पूरै छोपिन्थे, जसका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या आमजस्तै थियो । खोलामा पुल नहुँदा काठको डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्नु यहाँका बासिन्दाको बाध्यता थियो । तर, गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउँछन् । “पहिले नदीमा झोलुङ्गे पुल बन्यो, त्यसले डुङ्गा तर्ने दिनको अन्त्य ग¥यो”, उन्छन्, “त्यसपछि दोदा नदीको बल्मी नजिकै पक्की पुल बनेपछि आवतजावतमा थप सहजता आएको छ, पहिले र आजको लालझाडीको तस्बिर पूरै फेरिएको छ ।”

    स्थानीय महेश्वरी राना आफ्नै घरअगाडि कालोपत्र सडक देख्दा चकित हुनुहुन्छ । “हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ कि हाम्रै घरअगाडि यति चिल्लो बाटो बन्ला”, उनले “सङ्घीयता र स्थानीय सरकार आएपछि जनप्रतिनिधिले सडकलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज यो सम्भव भएको हो ।” अहिले लालझाडीका मुख्य प्रशासनिक केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्र सडकको सञ्जाल फैलिँदैछ । धुलो र हिलोको सास्ती खेप्ने ती दिनहरू अब सम्झनामा मात्र बाँकी रहेको अर्का स्थानीय रामप्यारा चौधरी बताउँछन् ।


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार गाउँपालिकाले योजनाबद्ध रूपमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाउँदै आएको छ । हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र गरिसकिएको उनले जानकारी दिए । गाउँपालिका, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारको त्रिपक्षीय सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ को रणनीतिक महत्वको सडक कालोपत्र गरिएको छ । अधिकृत सार्कीका अनुसार गाउँपालिका अध्यक्ष विशेष पूर्वाधार कार्यक्रममार्फत छवटै वडाका सडक स्तरोन्नति तथा कालोपत्रको कार्य भइरहेको छ ।

    गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया सुरु गरेको छ । “चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एडिबीको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र गर्दैछौँ”, सार्कीले भने । उनका अनुसार कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने पालिका पनि लालझाडी नै बनेको छ, जुन अब सञ्चालनको तयारीमा छ ।

    पूर्वाधार विकासअन्तर्गत दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन् । यसैगरी जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल निर्माणको अन्तिम चरणमा छन् । यी पुलले वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएका छन् ।

    सडक र पुलको निर्माणले किसानलाई पनि ठूलो राहत दिएको छ । सडक बनेपछि किसानले आफ्नो उत्पादन (विशेषगरी उखु र तरकारी) खेतबाटै सिधै चिनी मिल वा बजारसम्म लैजान पाएका छन्, जसले गर्दा बिचौलियाको चलखेल घटेको छ । सडक सुविधा पुगेपछि एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका कुनाकुनासम्म पुग्न थालेका छन् । सडक छेउछाउमा नयाँ पसल, बजार र साना उद्योग खुल्ने क्रम बढेसँगै स्थानीय युवा गाउँमै स्वरोजगार बन्न थालेका छन् ।

  • सुन्तला उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

    सुन्तला उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

    धरान (सुनसरी), ६ पुस । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइरहेका छन् ।

    धरान कृषि बजारमा गत वर्षको तुलनामा यस वर्ष कात्तिक, मङ्सिरमै करिब २५ प्रतिशत बढी सुन्तला भित्रिएको धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार यस वर्ष सुन्तलाको कारोबारमा पनि ३० प्रतिशतले वृद्धि भएको छ । अहिले सुन्तलाको बिक्री राम्रो भइरहेकाले यो किसान र उपभोक्ता दुवैका लागि सकारात्मक पक्ष भएके उनले बताए ।

    पछिल्लो समय सुन्तलाखेतीको क्षेत्र बढेका कारण पनि कारोबार बढेको उनको भनाइ छ । कात्तिक १५ गतेदेखि सुन्तला बजारमा आउन सुरु भई चैतको दोस्रो सातासम्म सुन्तला आउने गरेको उनले जानकारी दिए । “ढुवानी व्यवस्थित गर्न, ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ गर्नसके कोशी करिडोरको सुन्तला स्वादिलो र मीठो हुने भएकाले बजार विस्तार अझ प्रभावकारी हुन्थ्यो”, उनले भने ।


    भोजपुरका किसान प्रदीप राई भन्नुहुन्छ, “प्रत्येक वर्ष २० देखि ३० मेट्रिक टन सुन्तला बिक्री गर्दै आएकामा गत वर्ष १६ मेट्रिक टनमात्र सुन्तला फल्यो तर यो वर्ष भने दुई महिनाको अवधिमै १२ मेट्रिक टन बढी सुन्तला बिक्री भइसकेको छ । यो वर्ष उत्पादन राम्रो छ, मूल्य यथावत रहे पनि उत्पादन वृद्धि भएकाले आम्दानी राम्रै हुने अपेक्षा छ । उहाँले विगत १३ वर्षदेखि सुन्तला व्यवसाय गर्दै आएको बताए ।
    अर्का व्यापारी अशोक राईका अनुसार यस वर्ष फल लाग्ने समयमा मौसम अनुकूल रहेकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो ।

    वर्षा भए पनि खासै क्षति भएन, रोग, कीरा पनि कमै लाग्यो । उनले भने, “पछिल्लो समय किसानले मकै र धानखेती हुने खेतबारीमा पनि सुन्तलाखेती विस्तार गर्न थालेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि किसान सुन्तलाखेतीप्रति बढी आकर्षित हुन थालेका हुन् ।” पछिल्ला चार वर्षदेखि मूल्य भने यथावत नै छ । अहिले सुन्तला आकार हेरेर प्रतिकिलो रु ३० देखि ८० सम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।


    विगत २२ वर्षदेखि धरान कृषि बजारमा व्यवसाय गर्दै आउनुभएका व्यापारी टीकाराम श्रेष्ठले वार्षिक करिब १२ सय क्विन्टलभन्दा बढी सुन्तला बिक्री गर्दै आएको बताए । उनका अनुसार दमक, काकरभिट्टा, झापादेखि पश्चिमी क्षेत्रमा सुन्तला पठाइने गरेको छ । सुन्तला एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने भएकाले यस वर्ष उत्पादन बढेको हो ।

    कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीका अनुसार गत वर्षको तुलनामा यस वर्ष धरान कृषि बजारमा सुन्तला प्रशस्त मात्रामा आएको छ । किसान र व्यापारीले ल्याएको सुन्तला सहज रूपमा बिक्री भइरहेको छ, जति आउँछ सबै खपत हुने गरेको उनले बताए । धरान कृषि बजारबाट हाल दैनिक ३० देखि ४० मेट्रिक टन सुन्तला कारोबार भइरहेको छ । अहिले कृषि उपज बजारमा प्रतिकिलो रु ७० देखि रु ८० सम्ममा सुन्तला बिक्री भइरहेको छ । मौसमअनुसार सुन्तलाको मूल्यमा घटबढ हुने भएकाले प्रतिकिलो रु ७० देखि १३० सम्ममा सुन्तला बिक्री हुने गरेको व्यापारीको भनाइ छ ।

    धरान कृषि उपज बजारको तथ्याङ्कअनुसार गत वर्ष पाँच हजार मेट्रिक टन सुन्तला खरिद बिक्री हुँदा करिब रु ६० करोडबराबरको कारोबार भएको थियोभने यस वर्ष धरान कृषि बजारबाट करिब २० हजार मेट्रिक टन सुन्तला बिक्री हुने अनुमान गरिएको छ । पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङलगायत जिल्लाबाट सुन्तला धरान ल्याइने गरिएको छ । व्यापारीले धरान कृषि बजारबाट इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमक तथा मधेस प्रदेशका विभिन्न जिल्लामा सुन्तला बिक्रीका लागि पुर्याउने गरेका छन् ।

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    भद्रपुर (झापा), ५ पुसः यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी–स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।


    दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र हालसम्म नाम, थर तथा वतन नखुलेका अन्दाजी २६ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ ।

  • समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

    समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

    चितवन, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा आज उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भने, “कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस् । राजनीतिलाई आफ्नो पेसा नभइ समाज सेवामा लगाउन आवश्यक छ । अबको राजनीति सेवा समर्पित हुनुपर्छ ।”

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा आशुतोष विजय पन्त, रिमा विश्वकर्मा, सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई रक्षा गर्दै नयाँ शक्तिका रूपमा आफूहरू आएको बताए । बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला नगर तथा पालिका भेलाको मितिसमेत तय गरेको छ ।

  • जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ

    जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ

    नारायण न्यौपाने–रासस
    काठमाडौँ, ५ पुस । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्न्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्‍याउने कार्यमा उमेश सशक्त रूपमा खटिइ राति अबेर घर फर्कनुभयो ।

    बानेश्वरमा प्रहरीले कति साथीहरूलाई छाती र टाउकोमा गोली हानेर ढाल्यो, धेरै घाइते भएका छन्, त्यसमध्ये केहीलाई आफैँले बोकेर अस्पताल पुर्‍याएँ भनी सोही दिन उमेशले दिदी सुमित्रालाई सुनाउनुभयो । ठूलो सङ्ख्यामा युवालाई गोली लागेको र हताहती भएपछि सरकारप्रति आक्रोशित भीड भोलिपल्ट सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न पुग्यो ।

    सोही सिलसिलामा उत्तेजित भीडले गौशालास्थित गाई फर्ममा आगजनीको प्रयास गरेकामा त्यसलाई रोक्न चिच्याउँदै अघि बढिरहेका बेला उमेशको दायाँ छातीमा गोली लाग्यो । उहाँ त्यही ढल्नु भएको थियो । साथीहरूले उठाएर बानेश्वरस्थित फण्ट लाइन अस्पताल पुर्‍याए । शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा पुर्‍याउँदा नपुर्‍याउँदै उमेशको निधन भयो ।

    उमेशलाई गोली लागेको सूचना महत परिवारले दिउँसो करिब २ः३० बजे उमेशकै मिल्ने साथी सुवास खत्रीले सुनाउनु भएको थियो । सुवासका पिता सुवर्णले उमेशलाई विदेश नजाउञ्जेल स्नुकर खेलाउने रोजगारी उपलब्ध गराउनुभएको थियो । त्यसबापत उमेशले मासिक रु १० हजार तलब प्राप्त गर्नुहुन्थ्यो ।

    घरको आर्थिक अवस्था कमजोर रहेकाले उमेशका बाआमा सिन्धुपाल्चोकबाट १९ वर्षअघि काठमाडौँ आएर चाबहिलमा तरकारी र सागसब्जी बेच्नुहुन्थ्यो । त्यही सागसब्जी बेचेर महत दम्पतीले घरपरिवारको गुजारा चलाउने र छोराछोरीलाई शिक्षादीक्षा दिलाउनुभएको थियो ।

    श्यामबहादुर महत र कालीमाया महतका चार सन्तानमध्ये एक छोरा र एक छोरीपछि विसं २०६२ असोज ११ गते उमेशको जन्म भएको थियो । सानो उमेरमै उमेशलाई पत्थरीसहित मिर्गौलाको समस्या भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो । बिरामीकै बीचमा उमेशले विद्यालय कपनको एक विद्यालय र उच्च माध्यमिक विद्यालयको शिक्षा चुच्चेपाटीस्थित लुम्बिनी कलेजबाट पूरा गर्नुभयो । लामो उपचार र स्वास्थ्य ठीक भएपछि पछिल्लो समय उहाँ वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने तयारी हुनुहुन्थ्यो । दिदी सुमित्राका अनुसार जुन दिन उमेशलाई गोली लाग्यो, त्यही दिन वैदेशिक रोजगारीमा जान भिसा लागेको खबर आयो ।

    दिदी सुमित्रा भन्नुहुन्छ, “आमाबाले साँझ बिहान तरकारी बेचेर दुःख गरेर हामीलाई पढाउने, बढाउने र काम गर्नुभयो ।” परिवारमा भने चञ्चले र हासमुखी स्वभावको परिचय बनाउनुभएका उमेश सानैदेखि खेलकुदमा फुटबल प्रेमी तथा खानपिनमा मःम र कफीको पारखी हुनुहुन्थ्यो । त्यसका लागि दिदीसँग खर्च मागी रहनुहुन्थ्यो । केही वर्षअघि फुटबल खेल्दा उहाँको हातसमेत भाँचिएको थियो ।

    छिमेकी मिल्ने अग्रज दाजु सुवास खत्रीका अनुसार उमेश साथीभाइका बीचमा सबैसँग बोल्ने, छिटो घुलमिल हुने, कसैलाई नबिझाउने र चित्त नदुखाउने युवा हुनुहुन्थ्यो । उमेशलाई सम्झँदै सुवास भन्नुहुन्छ, “साथीभाइको बीचमा उसले सबैको माया र सद्भाव पाएको थियो । पढाइमा मध्यम श्रेणीको ऊ निकै हासिलो र व्यवहारिक थियो ।”

    भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, राजनीतिमा युवाको पुस्तान्तरण र निष्क्रिय तुल्याइएको फेसबुकसहितका सामाजिक सञ्चाललको सञ्चालनको माग राखेर नयाँबानेश्वर केन्द्रित आन्दोलनका क्रममा भदौ २३ गते ठूलो सङ्ख्यामा युवाको हताहती भयो । धेरै घाइते भए ।

    जेनजी आन्दोलनका क्रममा मुलुकभर भएका आगजनी, तोडफोडसहितका हिंसात्मक घटनामा ७६ जनाको ज्यान गयो भने रु ८४ अर्बभन्दा बढी सरकारी र निजी सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । त्यसआन्दोलनका क्रममा प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनलगायतका देशका महत्त्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति भयो ।

    गत भदौ २४ गते कान्छो छोरा उमेश गुमाउनुपरेको दिनको स्मरण गर्दै आमा कालीमाया महत भन्नुहुन्छ, “म १०ः०० बजेतिर काममा निस्किए, ऊ सुतिरहेको थियो । केही छिनपछि उठेर सिक्न आएकालाई स्नुकर खेलाएछ । आन्दोलनमा जाने कुरा गरेपछि खत्री दाइले नजा भन्नुभएछ । ऊ आन्दोलनमा गएको कुरा गोली लागेको खबर सुनेपछि मात्रै थाहा पाएँ ।”

    कान्छोको पढाइलेखाइ राम्रो र चलाख भएकाले छिमेकी साथी सुवासको बाले स्नुकर खेलाउने रोजगारी दिएर मासिक रु १० हजार दिँदै आउनुभएको उमेशकी आमाको भनाइ छ । छोरा उमेशको निधनपछि पुरानो थातथलो सिन्धुपाल्चोक फर्केर भूकम्पको अनुदानबाट निर्माण गरिएको सानो भवनमा बस्दै आउनुभएको छ ।

    पुरानो थातथलो भए पनि नयाँ श्रृष्टि गर्नुपरेकाले दैनिक गुजारा चलाउनसमेत उहाँहरूले सङ्घर्ष गर्नुपरेको छ । दैनिक ज्यालादारी र बेसाह खोजेर घर चलाउनुभएको छ । नेपाली पुरानो मान्यताअनुरूप घरका मानिस गुमाएको एक वर्षसम्म मूलघरमै बस्नुपर्छ–छोड्न मिल्दैन भन्ने भएपछि उहाँहरू पुरानो घर फर्कनुभएको हो ।

    सहिद घोषणा गरेपछि राज्यले उपलब्ध गराउने रकम रु १५ लाख भने प्राप्त गरिसक्नुभएको छ । जेनजी पुस्ताको आन्दोलनका बलमा वर्तमान सरकार गठन भएको आजै मात्र १०० दिन पुगेको छ ।

    यसबीचमा जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्दै जाने सिलसिलामा जेनजी र सरकारबीच १० बुँदे सहमति भएको छ । त्यसमा सरकारले निर्धारित समयमा चुनाव गराउने, वित्तीय अनुशासन र सुशासनका लागि ठोस कदम चाल्ने तथा ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने विषय उल्लेख छ ।

    सुशासन सहिद उमेशकी आमा रुँदै भन्नुहुन्छ, “कान्छो निधनपछि मन आतिएको छ, शरीर छटपटिन्छ, सरकारले आफैँले बुझेर के गर्दा जनता र देशको भलो हुन्छ, त्यो गरोस् कसैलाई केही भन्न र गर्न सक्दिन ।” राजनीतिक दल, सरकारले आफैँले जानेर गर्नुपर्ने काम गर्न फेरि पनि युवाले दबाब दिनुपर्ने र ज्यान गुमाउन पर्ने अवस्था सदाका लागि अन्त्य होस् भन्ने उहाँको सरकारलाई सुझाव छ ।

    सहरका अरु युवापुस्ताझैँ खानपिनमा मःम र पिज्जा मनपराउने उमेशलाई अनेक दुःख गरेर भए पनि आमाबाले त्यो पुर्‍याउनुभएको थियो । उमेशकी आमा भन्नुहुन्छ, “छोरालाई बिरामी हुँदा सानोमा धेरै दुःख गरेँ विभिन्न रोगबाट बचाएँ, अहिले आन्दोलनको गोलीबाट बचाउन सकिन ।”

  • चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

    चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

    काठमाडौं ५ पुस । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो ।

    सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको उपस्थितीमा परिसङ्घको तर्फबाट महानिर्देशक डा घनश्याम ओझा र बैङ्ककोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गर्नुभएको परिसङ्घले जनाएको छ ।

    सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने घोषणा गरेअनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो । यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ ।

    सो अवसरमा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालनका लागि निफ्रासँग समझदारी गरी सुरुवातीको काम गर्न लागिएको बताए । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सीएनआइसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थान विन्दुको रूपमा लिएको बताए ।

    उनले परिसङ्घसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि लैजान सकिने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने भनेकाले यो समझदारीले राम्रो सन्देश गएको बताए ।

  • रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा

    रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्र सडकमा खाल्डा

    भकुण्डे (म्याग्दी), ५ पुस । बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको थियो ।

    बेनी नगरपालिका–२ भकुण्डेका बासिन्दा भिमबहादुर पौडेलले बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको बताउनुभयो । “पहिलो पटक कालोपत्र गर्दा दोस्रो पटक सुधार्ला भन्ने आशा थियो,” उनले भने, “तर दोस्रो पटक कालोपत्र गरिएपछि पनि बिटिमुनले चिप्स नसमातेपछि खाल्डै खाल्डा भएको छ ।”

    बेनी नगरपालिकाले शुक्रबार भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अर्जम, भकुण्डेका बासिन्दाले सडक स्तरोन्नति योजना निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तरअनुसारको काम नभएको भन्दै प्रश्न उठाएका छन् । पूर्णबहादुर सुवेदी, भिमबहादुर रिजाल, डम्मर सापकोटालगायतले सडक निर्माणमा देखिएको कमजोरीको विषयमा सम्बद्ध कार्यालयमा गुनासो गर्दा पनि सुनुवाई नगरेको गुनासो गरे । उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष यामबहादुर कार्कीले सडक निर्माणमा भएको लापरबाहीका बारेमा अनुगमन समितिले लिखित पत्र पठाउँदासमेत बेवास्ता भएको बताउदै पुनःएक पटक सडक डिभिजन र ठेकेदारलाई बिग्रिएको सडकलाई सुधार गर्न लगाउने प्रयास गर्ने प्रतिवद्धता जनाए ।

    “सङ्घीय योजनाका ठूला ठेकेदारले हामीमार्फत भुक्तानी नहुने र सिफारिस नचाहिने योजनाका विषयमा टेरपुच्छरनै लगाउँदैनन्,” उनले भने, “रत्नेचौर–भकुण्डे सडक निर्माणमा भएको लापरबाही योजनाको म्याद छदै सुधार गर्नतर्फ सहजिकरण र समन्वय गरेपनि सफल भएका छैनौँ ।” सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सञ्चालित योजनाको आधाभन्दा बढी भाग दोस्रो चरणको पनि कालोपत्र भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ ।

    उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधी भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ । सडक डिभिजनका अनुसार करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । विसं ०५६ मा ट्याक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ३ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् ।

    सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीलाई फोनमा सम्पर्क गर्दा तत्कालै सडकको निरीक्षण गरेर कमजोरी भेटिएमा सुधार गर्न लगाउने प्रतिक्रिया दिए । “म आफैँ सडकको निरीक्षण गरेर के भएको हो अध्ययन गर्छु,” उनले भने, “गुणस्तर र मापदण्ड अनुसारको काम नभएको रहेछ भने ठेकेदारलाई सुधार गर्न लगाउछु ।”

  • आन्दोलनको पहिलो ‘टार्गेट’ निजी क्षेत्र पर्नु दुःखद् : अध्यक्ष ढकाल

    आन्दोलनको पहिलो ‘टार्गेट’ निजी क्षेत्र पर्नु दुःखद् : अध्यक्ष ढकाल

    त्रिवेणी (नवलपरासी), ४ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले हरेक समयमा हुने गरेका आन्दोलनका क्रममा निजी क्षेत्र पहिलो टार्गेटमा पर्ने गरेको भन्दै यो दुःखद् भएको बताए ।

    आन्दोलनका क्रममा निजी क्षेत्रका संरचना लुटपाट, तोडफोडका घटनाले उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर पार्ने हुँदा यो सोचनीय विषय बनेको अध्यक्ष ढकालले बताए । गत भदौको आन्दोलनमा निजी क्षेत्रका हरेक प्रतिष्ठानमा लुटपाट र आगजनी तथा तोडफोडका घटना भएको भन्दै यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउनुपर्ने अध्यक्ष ढकालले बताए ।

    अध्यक्ष ढकालले नेपालको पुँजी परिचालन गरी ठूला आयोजना देशभित्र सञ्चालन गर्न सकिने बताए । नेपालका केही हुँदै हुँदैन भन्ने भाष्यलाई चिर्नका लागि आफूहरूले नेपालकै पुँजी परिचालन गरी सबै क्षेत्रका व्यवसायीलाई समेटी रु १० अर्बको लगानीमा कम्पनी स्थापना गरेको बताए ।

  • स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

    स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

    काठमाडौँ, ४ पुस । नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।

    सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन् ।

    काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो ।

    प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट ती बालिकाको उद्धार गरेको पनि प्रवक्ता खड्काले बताए । उनीहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

  • जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

    जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

    काठमाडौँ, ४ पुसः सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणित गर्नेछ । कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्ताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने छ । उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।

    गम्भीर घाइतेले मासिक रु नौ हजार र अतिगम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक रु १८ हजार प्राप्त गर्ने व्यवस्था गरिएको गृहमन्त्रालयले जनाएको छ । कार्यविधि अनुसार मध्यम प्रकृतिका घाइतेले मासिक रु चार हजार भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।

    गृहमन्त्री अर्यालको सक्रियतामा जेनजी घाइतेहरूको जनभावना अनुरूप वर्गीकरणका लागि मन्त्रालयले सम्बद्ध निकायलाई घाइतेहरूको वर्गीकरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन भए बमोजिम प्रक्रिया अघि बढाइएको वर्गीकरण सहजीकरण समितिले जनाएको छ ।