Category: स्थानीय

  • होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

    होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

    झापा, २५ पुस । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खसेर आज साँझ ६ः३० बजे सप्तरी जिल्लाको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए ।

    घाइतेलाई तत्कालै मेची आम्दा अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा साँझ ७ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । निर्माणाधीन भवनमा फलामको पाइप सार्ने क्रममा मण्डल चौथो तलबाट अचानक भुइँ तलामा खसेका थिए । घाइते मण्डलको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । शव मेची आम्दा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

  • शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    काठमाडौँ, २४ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

    नेपालगञ्जको कोहलपुर नगरपालिका ५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा ५ घर भई हाल बूढानीलकण्ठ ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।


    नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २८ मध्ये २३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेका छ भने पाँच जना उपचारपछि फर्किएका छन् ।

  • आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    काठमाडौँ, २४ पुस । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ ।”

    एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ । निर्वाचनका सिलसिलामा सेनाले चार वटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको समन्वय, सहयोग र सहकार्यमा तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहज होस् भन्ने हेतुले उक्त तालिम र अभ्यास गरिने छ ।

    मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने छ । विगतमा जस्तै आगामी निर्वाचनलाई लक्षित गरी सेनाले देशका विभिन्नस्थलमा सुरक्षा वेश स्थापना गर्ने तयारी गरेको छ । फागुन २१ गते मतदान सम्पन्न भएसँगै मत पेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षालगायतका जिम्मेवारी सेनाले गर्नेछ ।

    तोकिएको मितिमा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गर्ने सिलसिलामा अहिले प्रदेशस्तरमासमेत सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन् । गोष्ठीमा प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ । सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधि सुरक्षाबीचका समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारकारुपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरु तयार रहेको सेनाको भनाइ छ ।

  • निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

    निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

    काठमाडौँ, २४ पुस । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

  • काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते

    काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते

    काठमाडौँ, २३ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

    उनले भने, “बस दुर्घटनामा अहिलेसम्म मृतकको सङ्ख्या चार पुगेको छ । घाइते २२ जना छन् । घाइतेको उपचार भइरहेको छ ।” आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।

  • राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

    राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

    काठमाडौँ, २३ पुसस् नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेद्वारको टुङ्गो लगाएका हुन् ।

    नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झाको नाम टुङ्गो लगाएको संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

    यसैगरी, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति, अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाइएको छ ।

  • सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

    सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

    काठमाडौँ, २३ पुसः गृह मन्त्रालयले तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई दश बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । आज गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैरकानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

    यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एवं सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न निर्देशन भएको छ । यसका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भावका लागि सार्वजनिक आव्हान गर्ने निर्देशन भएको छ । सबै पक्षहरूको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी त्यस्ता घटनाहरू बढ्न नदिने र सीमा क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ चेक जाँचको व्यवस्था मिलाउन पनि गृहको सर्कुलरमा भनिएको छ ।


    स्थानीयस्तरमा समेत विभिन्न सञ्चारमाध्यमबाट स्थानीय भाषामा सामाजिक सद्भाव बढ्ने खालका कार्यक्रम सञ्चालन गर्न र प्रदेश तथा स्थानीयस्तरमा समन्वयात्मक र प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालनमा जोड दिन निर्देशन गरिएको छ ।यस्तै, बुँदा नम्बर ७ मा, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्सीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील गर्ने गराउने बारे निर्देशन गरिएको छ ।

    समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सदस्य, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला अध्यक्ष सदस्य, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सदस्य, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष सदस्य, जिल्ला समन्वय समितिका प्रमुखले तोकेको प्रतिनिधि र सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवा सदस्य रहने समिति गठन गरिएको छ ।

    यस्तै विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुनसक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको छ ।

  • नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको शपथ पुस २९ गते हुने

    नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको शपथ पुस २९ गते हुने

    काठमाडौँ, २२ पुसः नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “बागमती प्रदेशका केन्द्रीय सदस्यको काठमाडौँ उपत्यकामा र अन्यको हकमा सम्बन्धित प्रदेशलाई जिम्मा दिइएको छ, उनीहरूले निश्चित गरेको स्थानमा शपथग्रहण समारोह गर्ने निश्चित भएको छ”, सापकोटाले भने ।

    पुस २९ गतेसम्म सङ्गठनात्मक संरचना गठन गरिसक्ने निर्णय भएको उनले जानकारी दिए । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रवासी सङ्गठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भारतको नयाँदिल्ली गएको जानकारी दिँदै नेता सापकोटाले भारत भ्रमणका क्रममा त्यहाँका व्यक्ति व्यक्तित्वसँग छलफल हुनु स्वभाविक भएको बताए ।

  • लागुपदार्थ सेवन गरिरहेका बल्खु टिकट काउन्टरका सात कर्मचारी पक्राउ

    लागुपदार्थ सेवन गरिरहेका बल्खु टिकट काउन्टरका सात कर्मचारी पक्राउ

    काठमाडौँ, २२ पुसः काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।


    उनका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन् । त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौँ चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

    लागुपदार्थ सेवनगरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो । निजहरूलाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागुपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

  • मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

    मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

    महेन्द्रनगर (धनुषा), २२ पुसः मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि र असमझदारीप्रति चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबैमा अपिल गरेका छन् ।

    उनले आज एक सन्देश जारी गर्दै मधेस विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर सङ्गमस्थल भएको उल्लेख गर्दै परापूर्वकालदेखि नै आपसी सम्मान, सहिष्णुता र भाइचाराको संस्कारलाई आत्मसात् गर्दै आएको बताए । प्रदेश प्रमुख कर्णले ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्य–मान्यताले मधेसी समाजलाई एकताबद्ध बनाउँदै आएकाले त्यसलाई आत्मसात् गर्न आग्रह गरे ।
    उनले समाजलाई विभाजन गर्ने तत्वहरूबाट सचेत रहन आग्रह गर्दै कुनै पनि किसिमको उत्तेजना वा आवेगमा नआई धैर्य अपनाउन सबै नागरिकलाई अनुरोध गरे ।

    विचार र आस्था फरक हुन सक्ने भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा भएको प्रदेश प्रमुख कर्णको भनाइ छ । उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने खालका गतिविधि नगर्न आग्रह गर्दै समाजमा अमनचयन कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । संवाद र सहकार्य नै हरेक समस्याको समाधान भएको उल्लेख गर्दै प्रदेश प्रमुख कर्णले मधेस केवल विविधताको भूमि मात्र नभई अटुट एकता र प्रेमको भूमि भएको पुनः प्रमाणित गर्न सबैलाई आह्वान गरेका छन् ।

  • कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मङ्गलबार बस्ने

    कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मङ्गलबार बस्ने

    काठमाडौँ, २१ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार पुनः बस्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सोमबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक पुनः मङ्गलबार बिहान ११ः०० बजे बस्ने उनले बताए ।

    सोमबार सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

  • सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल

    सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल

    काठमाडौँ, २१ पुसः गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।

    सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्‍याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले स्पष्ट पारेको छ ।

    “विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति दिनु दण्डनीय अपराध हो”, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । मन्त्रालयले शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।

  • जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

    जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

    वीरगञ्ज (पर्सा), २१ पुसः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यू आदेश जारी गरेको छ । आज दिउँसो १ः०० बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ः०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।


    उनले दुई समुदायबीच हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यूआदेश जारी गरिएको छ”, उनले भने ।


    स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ । प्रजिअ दाहालले कफ्र्यूको बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनको लागि अनुरोध गरे ।

    कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ । प्रशासनले आज दिउँसो १ः०० बजेदेखि दिउँसो १ः०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्जमहानगर क्षेत्रमा चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

  • एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने

    एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने

    काठमाडौँ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठक मङ्गलबार बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौँमा बस्ने भएको छ ।

  • जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

    जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

    काठमाडौँ, २१ पुस । प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनका अनुसार शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट भागी फरार भएको चोरी मुद्दाको प्रतिवादी रोहित खड्गी शाहीलाई प्रहरीले फेला पारेको हो । यसैगरी निज शर्माकै कोठामा काठमाडौँ वसुन्धराबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो रङको एफजेड मोटरसाइकल, भक्तपुर ठिमी एरियाबाट चोरी भएको वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०६२५ ६३७० लाई हटाई बागमती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरेको अवस्थाको केटिएम डुक मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत फेला पारको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।


    यसैबीच प्रहरीले सुनका गरगहनालगायतका सामान चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २२ वर्षीय मनोज थापा रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए ।

    उनका अनुसार काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक कोठाबाट सुन, मोबाइल, घडीलगायतका धनमाल चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निज थापाको घर खानतलासी गर्ने क्रममा सुनका सामानसहित पक्राउ गरिएको हो ।

    \पक्राउ परेका निज थापाको घरबाट सुनजस्तो देखिने पहेँलो धातुले बनेको पोतेसहितको तिलहरी एक थान, सुनजस्तो देखिने पहेँलो धातुले बनेको औँठी एक थान, आइफोन एक थान, सामसुङ कम्पनीको आइप्याड एक थान, रियलमी कम्पनीको मोबाइल एक थान, आइटेल लेखिएको कि प्याड मोबाइल एक थान, गितार दुई थान, क्यासियो लेखिएको घडी एक थान तथा पाइनिङ लेखिएको पावर ब्याङ्क एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका निज थापाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा सम्पन्न

    रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा सम्पन्न

    काठमाडौँ, २१ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट\थारुवान अभियन्ताबीच समायोजन भएको छ ।
    आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो।

    सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट\थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गरे । सहमतिपत्रमा थारु समुदायको धार्मिक तथा सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धनका लागि थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी एवं संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ ।

    ‘टीकापुर घटना’लाई राजनीतिक घटनाका रूपमा स्वीकार गर्दै रास्वपाको नेतृत्वमा सङ्घीय सरकार गठन भएपछि शान्ति सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । निजामती सेवा, न्यायिक क्षेत्र, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने पनि सहमति भएको छ । भूगोल, जनसङ्ख्या, क्षमता र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयाममा सर्वदलीय राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमतिमा भनिएको छ ।

  • आफैँलाई गोली हानी मृत्यु

    आफैँलाई गोली हानी मृत्यु

    भक्तपुर, २१ पुस । मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी आज ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ । ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

    आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उनले बताए । घनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

  • धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने

    धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने

    काठमाडौँ, २१ पुसः नेपाल सरकारले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
    गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

    बैठकमा विभिन्न धार्मिक समुदाय र एकअर्काका धर्मलक्षित सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने, अर्काको धर्ममा खलल पुर्‍याएका घटनाबारे छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द कोइरालाले जानकारी दिए । यसैगरी धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक बस्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।


    प्रवक्ता कोइरालाका अनुसार निर्वाचनको सम्बन्धमा सुरक्षा निकायले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय भएको थियो । विशेष गरी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायले हालसम्म गरेका तयारी र मन्त्रालयले गर्नुपर्ने समन्वयबारे पनि छलफल भएको थियो । यस्तै, जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै सुरक्षा निकायलाई थप क्रियाशील बनाउने विषयमा विस्तृत छलफल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

  • धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल

    धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल

    जनकपुरधाम, २१ पुसः जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गरेका छन् ।

    सूचनामा भनिएको छ,“विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, धर्मलक्षित टीकाटिप्पणी गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड तथा आगजनी र लुटपाट गर्नेलगायत गैरकानुनी तथा हिंसात्मक र सामाजिक द्वेष फैलाउनेलाई प्रचलित कानुनबमोजम कार्यवाही हुनेछ ।”

    यसैगरी जिल्लामा क्रियाशील विभिन्न धार्मिक सङ्घसङ्गठन, राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत सरोकार भएकाहरुलाई शान्तिपूर्ण वातावरण बनाउन सहयोगका लागि आग्रहसमेत गरिएको छ ।

  • काठमाडौं–हेटौडा सडकमा जिप दुर्घटना, नौ घाइते

    काठमाडौं–हेटौडा सडकमा जिप दुर्घटना, नौ घाइते

    मकवानपुर, २० पुस । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।

    काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।

  • एक वर्षमा २७९० नेपाली विदेशबाट डिपोट भइ नेपाल फिर्ता

    एक वर्षमा २७९० नेपाली विदेशबाट डिपोट भइ नेपाल फिर्ता

    १९ पुस, काठमाडौं । एक वर्षको अवधिमा विश्वका विभिन्न ७७ मुलुकबाट २७९० जना नेपाली डिपोर्ट भई नेपाल फिर्ता आएका छन्। अध्यागमन विभागका अनुसार सबैभन्दा बढी मलेशियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, यूनाईटेड अरब ईमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन्। सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद भुक्तान गरेको, भिसा नलिई गैरकानूनी बसेको, सम्बन्धित मुलुकको अध्यागमन कानून विपरितको कार्य गरेको लगायतका कसूरमा डिपोर्ट गरिएको उल्लेख छ।

    सन् २०२५ मा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन्। त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न थिए। भिसाको उद्देश्यविपरित नेपालमा बसेका, लागूऔषध कारोवार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसूरजस्ता अपराधमा सजायँ भुक्तान गरी डिपोर्ट भएका हुन्।
    नेपालबाट वैदेशिक रोजगारीमा गएका युवाहरु विभिन्न कसुरमा फस्दा बढी डिपोट हुने गरेका छन्
    ।

  • कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

    कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

    झापा, १९ पुसः कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ । कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको पहिचान र डिस्पोज गर्ने तयारी गरिरहेको बताए ।

    स्थानीयवासीले उक्त वस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हाल प्रहरीले उक्त स्थानलाई शिलबन्दी गरेको छभने राजमार्गको अर्को छेउबाट सुरक्षित रुपमा सवारीसाधन तथा यात्रीहरुको आवागमन भइरहेको प्रजिअ गेलालले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ । शङ्कास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

    काठमाडौँ, १८ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेकी हुन् । अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताइन् ।

    सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार पूर्वराष्ट्रपति भण्डारीले अदालतको अवलोकन गरी बारेमा जिज्ञासा राखेकी थिइन् । जेनजी आन्दोलनपछि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको अवलोकन गरेकी थिइन् ।

  • भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल

    भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल

    चितवन, १८ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताएका छन् । ‘सुनौलो नेपाल’ले आज यहाँ आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उनले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताए ।

    “जसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए पनि मुख्य सहर न्युयोर्क हो, त्यसैगरी भरतपुर हाम्रो प्रमुख सहरका रूपमा स्थापित भएको छ ।” उनले जापानको टोकियो, भारतको नयाँदिल्ली, बेलायतको लण्डन, फ्रान्सको पेरिस भएजस्तै नेपालका लागि भरतपुर त्यो सहर भएको उल्लेख गरे ।

    भरतपुरलाई यहाँसम्म ल्याउन भरतपुर महानगरका मेयर रेनु दाहालको भूमिका महत्त्वपूर्ण रहेको मन्त्री खरेलको भनाइ थियो । यसभन्दा अगाडि जति पनि जनप्रतिनिधि, अभियान्ता र सरोकारवालाहरू हुनुहुन्थ्यो उहाँहरूको पनि योगदान ठूलो छ । “पछिल्लो आठ वर्षमा सबै कायापलट भएको होइन, तर यस अवधिमा जे भएका छन्, त्यो निकै उल्लेखनीय छ”, उनले भने ।


    मन्त्री खरेलले भरतपुर बन्यो तर देश किन बनेन भन्ने जवाफ पनि भरतपुरबाटै खोज्न सकिने बताए । “भरतपुरमा मेयरका रुपमा रेनु दाहालले आठ वर्ष लगातार काम गर्न पाउनुभयो, यदि उहाँले नौ महिनामात्र पाएको भए भरतपुरमा यो तहको विकास हुने थिएन”, उनले भने । त्यस अवसरमा मन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेमा आशङ्का नगर्न पनि आग्रह गरे । साथै आफू निर्वाचनमा उठ्ने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पारे ।

  • बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

    बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

    दमौली (तनहुँ), १८ पुस । बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् । तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् । बन्दीपुर भ्रमण वर्ष सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षमा एक लाख तीन हजार विदेशीले भ्रमण गरेको जानकारी दिए ।

    त्यस्तै भारतीय र आन्तरिक पाँच लाख ४७ हजार पर्यटक बन्दीपुर आएको गुरुङले बताए । गुरुङका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्वीटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।

    बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि घोषणा गरिएको बन्दीपुर भ्रमण वर्षले यहाँको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको गुरुङको भनाइ छ । उनले भने, “बन्दीपुर भ्रमण वर्षका बारेमा देश तथा विदेशमा प्रचारप्रसार गर्न सफल भयाँै, जसले बाह्य र स्वदेशी पर्यटकलाई बन्दीपुरसम्म आकर्षित गर्न सकियो ।”

    बन्दीपुर गाउँपालिकाको संरक्षकत्वमा घोषणा गरिएको बन्दीपुर भ्रमण वर्षका क्रममा विभिन्न कार्यक्रम गरिएको थियो । भ्रमण वर्षमा गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिएको थियो । बन्दीपुर बजारमात्रै नभई गाउँगाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुर्याउने लक्ष्य लिइएको र लक्ष्य सफल भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छवटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ ।

    भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिएको थियो । खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।

    भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

  • एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

    एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

    गोरखा, १८ पुस । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

    एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए । सन् २०२५ मा पर्यटन भित्रिएबापत रु तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचन बताउँछन् । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

    “पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ”, उनले भने, “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।” नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु एक सय प्रवेश शुल्क तोकिएको उनी बताउँछन् । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।

    मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्छन् । “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने होभने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।” मनासलुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

    एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–८१ मा नौ हजार ७८२ जना, आव २०७९–८० मा सात हजार ७०५ र आव २०७८–७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।
    सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ज्ञख्या २०७७–७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना, आव २०७६–७७ मा पाँच हजार ३३८ र आव २०७५र७६ मा सात हजार ६५५ जना रहेको थियो ।

  • भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

    भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

    पर्वत, १८ पुसः भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर धु्रव पोखरेलले बताए । पुल निर्माणका लागि रु छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

  • चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    रासस
    भोजपुर, १८ पुस । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।

    गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु २८ देखि ३० हजारसम्ममात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए । उनका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ । “गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ”, राउतले भने, “मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ ।”

    मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उनले बताए । हाल २० रोपनी क्षेत्रमा चिराइतोखेती गर्दै आउनुभएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतोखेतीबाट वार्षिक औसत रु तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनको भनाइ छ ।

    टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतोखेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन् । यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ ।

    स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्यालगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ । औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ । यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । यद्यपि अन्तरराष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापन अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।

    किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरेमा यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन् । स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बालीको संरक्षण र प्रवर्द्धनतर्फ जानुपर्ने उनीहरूको माग छ ।

  • स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

    स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

    वालिङ (स्याङ्जा), १८ पुस । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ ।

    गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

    स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छभने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उनले बताइन् । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको उनले जानकारी दिइन् ।

    गत वर्ष एक हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार ४२० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ । विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।

    स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ । सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ । पाखो, भिरालो जमिन तथा बारीमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् ।

    जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।

  • पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

    पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

    कृष्ण दवाडी–रासस
    कास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

    “कुँडहर सबस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ”, कार्यालय प्रमुख यादवले भने ।


    पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइन्छ । सबस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।

    पोखरालाई ताररहित बनाउन आग्रह

    पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।

    महानगरले इन्टरेनट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ । नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरे ।
    “पोखरा बजारक्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ । यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ”, उनले भने । प्रमुख आचार्यले एक महिनाभित्रमा तार हटाउन निर्देशन दिइएको र सम्बन्धित कम्पनीले नहटाए महानगरपालिका आफैँले हटाउनेसमेत बताए ।


    “विद्युत् प्राधिकरणले गरिरहेको तार हटाउने योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउँछौँ । उहाँहरूलाई एक महिनाको समय दिएका छौँ । एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ”, प्रमुख आचार्यले भने । पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंकचोक–शहिदचोक–लेकसाइड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ ।

    पोखराको सहरी सौन्दर्यकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्नेगरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ ।

    यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए । पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउने कार्य भइरहेको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण गरिरहेको छ ।

    प्राधिकरणले सडकमा न्यून क्षति हुनेगरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको र तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने आयोजना प्रमुख सुवेदीले बताए । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।