Category: समाचार

  • विभिन्न जिल्लामा पर्यो असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

    विभिन्न जिल्लामा पर्यो असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

    काठमाडौँ, १३ फागुनः पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ ।

    काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ । विभागमा साँझ अभिलेख भएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६ म्याग्दीमा १०.६,प्यूठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौँमा २.६, भक्तपुरमा ३.४, दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ । अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा तल वर्षा भएको छ । केही ठाउँमा असिनासहितको वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पनि विभिन्न ठाउँमा वर्षा हुने देखिएको छ ।

    विभागका सूचना अधिकारी दिनकर कायस्थले बुधबार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ ।

    तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    काठमाडौँ, १३ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छिन् । उनले आज साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिएकी हुन् । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

    हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • बन्दीको मुद्दामा कट्टेल थुनामुक्त, प्रसाईं थुनामै

    बन्दीको मुद्दामा कट्टेल थुनामुक्त, प्रसाईं थुनामै

    काठमाडौँ, १३ फागुनः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको हो ।

    नेपाल प्रहरीले निर्वाचन बिथोल्न प्रयास गर्ने आशङ्का कट्टेललाई यही फागुन ६ गते पक्राउ गरेको थियो । यसैगरी सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमै राख्ने आदेश भएको छ । मेडिकल व्यवसायी प्रसाईंले निर्वाचन बिथोल्ने प्रयासमा संलग्न भएको आशङ्कामा प्रहरीले यही फागुन ४ गते पक्राउ गरेको थियो ।

  • कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

    कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

    धनकौल, १३ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा आज आयोजित चुनावी कार्यक्रममा उनले पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरेर अगाडि बढाउने बताए । सभापति थापाले सर्लाही ४ लाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञा पत्रमा रहेको ‘जनता दलान’ कार्यक्रमअन्तर्गत क्षेत्रका मतदातासँग आफू सिधै सम्पर्कमा रहने बताए ।

    “मेरो कार्यालय यहाँ रहन्छ, यस क्षेत्रका मतदाताले मलाई उक्त कार्यालयमार्फत सिधै सम्पर्क गर्नसक्नु हुनेछ । म आफैँ पनि प्रत्येक महिनाको दुई दिन यहाँ आएर जनतासँग छलफल गर्नेछु”, उनले भने, “म यहाँको बेटा हुन आएको हुँ, बेटा बनेपछि निभाउने कर्तव्य मैले राम्रोसँग बुझेको छु । यस क्षेत्रका जनताले गर्व गर्ने किसिमले आगामी पाँच वर्ष काम गर्नेछु ।”

    सभापति थापाले मधेसको नेतृत्व गरेपछि मात्र आफू सिङ्गो राष्ट्रको नेतृत्वका लागि योग्य हुने बुझाइका साथ सर्लाहीबाट नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन आएको बताए । उनले यस क्षेत्रमा देखिएका धेरै समस्या आगामी एक वर्षभित्रमै न्यूनीकरण हुने बताए ।

    “मैले असल नियतले चुनौती दिएको हुँ । मधेसबाट निर्वाचन लड्ने आफ्नै पार्टीका अग्रज नेतालाई पनि मैले भनेको छु, आगामी एक वर्षमा मधेसका ३२ क्षेत्रमा हुने कामको मूल्याङकन गर्दा मेरो अङ्क बढी आउँछ । सबै प्रतिनिधिले आफ्ना क्षेत्रमा जनताको सेवासँगै शिक्षा, स्वास्थ्य र आवश्यकताअनुसारका काम गर्न सके गुनासो विस्तारै कम हुन्छ”, सभापति थापाले भने ।

  • मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    तेहरान, १३ फागुन (रासस–एएफपी) । इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ । दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।

    लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् । यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकू जेट दुर्घटना ग्रस्त हुदाँ दुई जना पायलटहरू मध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।

  • अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु

    अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु

    वासिङ्टन, १२ फागुन (रासस–क्युएनए) । अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु–औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ । युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा आतङ्कवादी सङ्गठनसँग सम्बन्धित जहाजमा आक्रमण गरिएको उल्लेख गरिएको छ । जहाज क्यारिबियन क्षेत्रका नार्को–तस्करी मार्गहरूमा ओसार– पसार गरिरहेको उल्लेख गर्दै नार्को–तस्करी अपरेसनमा संलग्न रहेको विज्ञप्तिमा भनिएको छ ।

    सन् २०१५ सेप्टेम्बर को सुरुदेखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न रहेको शशङ्कित पानी–जहाज तथा डुङ्गाहरूलाई लक्षित गर्दै आएको छ, जसको परिणामस्वरूप अहिलेसम्म दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा सन्दिग्ध लागु–औषध तस्करहरू विरुद्धको सैन्य कारबाही समावेश गरिएको जनाइएको छ ।

  • भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    मुम्बई, १२ फागुन (रासस–एएफपी) । पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ ।

    उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गल भित्र रहेको जनाएका छन् । “डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परीक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले पत्रकारहरूसँगको साक्षातकारमा बताए ।

    उनका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए । डिजिसिएले सोमबार राति रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले मौसमका कारण सन्तुलन गुमाएको जनाकारी गराएको २३ मिनेट पछि हवाई ट्राफिक राडारसँग सम्पर्क गुमाएको बताइएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानका लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।

  • धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

    धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

    काठमाडौँ, १२ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो ।

    संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ । साथै, घाइते सबैको शीघ्र भएका स्वास्थ्यलाभको कामना गरिएको छ । उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन्भने अन्य २५ जना घाइते भएका छन् ।

  • चुनावका लागि सरकारले घोषणा गर्यो तीन दिन सार्वजनिक बिदा

    चुनावका लागि सरकारले घोषणा गर्यो तीन दिन सार्वजनिक बिदा

    काठमाडौँ, १२ फागुनः सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।

  • वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

    वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

    काठमाडौँ, १२ फागुनः काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरूले चीर ठड्याउने चलन छ । यो वसन्त ऋतुको आगमन भएको सङ्केत पनि हो ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको साइतअनुसार बिहान ७ बजेर १३ बजे पूर्व फर्काएर चिरोत्थान गरिएको हो । यसपछि उपत्यकावासीमा रङ र खुसीको पर्व फागु (होली) सुरु पर्व भएको छ । यस वर्ष फागुको उल्लास आगामी आठ दिनसम्म रहनेछ । अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वले मानिसहरूलाई जातीय र सामाजिक विभेद बिर्सेर एउटै रङमा समाहित गराउने विश्वास गरिन्छ ।

    धार्मिक र ज्योतिषीय गणनाअनुसार यस वर्ष फागुको मुख्य दिनअर्थात् पूर्णिमा फागुन १८ गते सोमबार परेको छ । सोही दिन पहाडी जिल्लाहरूमा रङ खेलेर हर्षोल्लासका साथ फागु मनाइनेछ । तराईका जिल्लाहरूमा भने त्यसको भोलिपल्टअर्थात् फागुन १९ गते मङ्गलबार यो पर्व मनाइने तयारी छ ।

    समितिले दिएको साइतअनुसार फागुन १८ गते सोमबार साँझ ५ बजेर ३१ बजे मिनेटको साइतमा चीर ढालेपछि पर्व समापन हुनेछ । ढालिएको चीर घिसार्दै टुँडिखेल पुर्‍याइनेछ । त्यही साँझ ५ बजेर ५१ मिनेटमा चीर दाह (जलाउने) गरिनेछ । चीर जलेसँगै यस वर्षको फागु पवको औपचारिक रूपमा समापन हुनेछ ।

  • रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामाः सभापति लामिछाने

    रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामाः सभापति लामिछाने

    धरान (सुनसरी), १२ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताएका छन् । आज इटहरीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा उहाँले देश नयाँ इतिहास लेख्ने चरणमा पुगेको उल्लेख गर्दै आगामी २१ मा हुने मतदानले परिवर्तनको दिशालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।

    निर्वाचनपछि प्राप्त परिणामलाई सबैले स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आवश्यक रहेको उनले बताए । सभापति लामिछानेले देशमा विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने बताए । उनले विसं २०४६ सालदेखि भएका सबै काण्डको छानबिन हुने बताए ।

  • मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

    मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

    चितवन, १२ फागुन । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ ।

    यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू समेत दुर्घटनाका घाइतेको उपचार गर्न सक्षम छन् । भरतपुर अस्पतालमा मात्र २० जना अर्थोपेडिक सर्जन र २१ जना जनरल सर्जन रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार सिटी स्क्यान, एमआरआईलगायतका उपकरणमा कमी छैन ।

    यससँगै मुटु, नसालगायतका जटिल उपचार यहाँ हुन्छ । यस्तै ट्रमाको धेरै उपचार गर्ने चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेका छन् । समयमा उपचार हुँदा घाइते बचाउन सक्ने चिकित्सकहरू बताउँछन् ।

    चितवन मेडिकल कलेजका निर्देशकसमेत रहनुभएका आकस्मिक विभाग प्रमुख प्रा डा दयाराम लम्साल दुर्घटनाको एक घण्टाभित्रको समयलाई ‘गोल्डेन आवर’ भन्ने गरिएको भन्दै उनले जतिसक्दो छिटो घाइते अस्पताल पुर्याउन सकेमा बचाउन सकिने सम्भावना बढी हुने बताउँछन् । उनले भने, “दूरी र सुविधाका हिसाबले जहाँ नजिक हुन्छ, त्यहाँ घाइते पठाउनुपर्छ ।” पछिल्ला दिनहरूमा एम्बुलेन्समा स्वास्थ्यकर्मी राखेर उपचार गर्दै अस्पताल पुर्याउनुपर्ने मान्यता रहेको उनको भनाइ छ ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेल मोफसल मनोविज्ञानका कारणले पनि घाइतेहरू काठमाडौँ पठाइने भन्दै उनले त्यहाँको जति सुविधा भरतपुर अस्पतालमा रहेको बताउँछन् । मुग्लिन–मलेखु सडकका घाइते काठमाडौँ पठाउँदा उकालो र अप्ठ्यारो सडक पार गर्दै लामो दूरी तय गर्नुपर्छ भने भरतपुर आउँदा छोटो दूरी र सहज सडक पर्दछ । घाइतेहरूको उद्धारपछि स्थानीय अस्पताल पुग्ने र त्यहाँबाट काठमाडौँ पठाइने गरिन्छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने एक पक्षले उद्धारको काम गर्छ भने अर्को पक्षले व्यवस्थापन गर्दैगर्दा यो विषयमा ध्यान नपुगेको बताउँछन् ।


    विगत लामो समयदेखि धादिङमा रहेर पत्रकारिता गर्दै आउनुभएका पोषनाथ अधिकारी पहिले नारायणगढ–मुग्लिन सडकखण्ड अप्ठ्यारो भएकाले घाइते काठमाडौँ पठाउने गरिएकामा अहिले पनि त्यसै गरिँदै आएको बताउँछन् । उनको भनाइमा घाइते भइसकेपछि नजिकको अस्पतालमा लैजाने गरिन्छ । यसरी लैजाँदा मुलेखु र गजुरीका अस्पतालहरूमा घाइते पुग्छन् । त्यहाँबाट काठमाडौँ दूरी छोटिँदै गएपछि सहज मानेर पनि त्यतै जाने गरेको उनको भनाइ छ ।

  • आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना

    आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना

    काठमाडौँ, १२ फागुनः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सबैलाई अनुरोध गरेको छ ।

  • प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

    प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

    रमेश लम्साल\रासस
    काठमाडौँ, १२ फागुनः प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।

    अर्थतन्त्रको आकार वृद्धि, गुणात्मक आर्थिक वृद्धि तथा अर्थतन्त्रको तेस्रो चरणको सुधारको योजनासमेत घोषणापत्रमा समावेश गरिएको छ । अर्थतन्त्रको बहुआयामिक विस्तार, आत्मनिर्भरता एवं आन्तरिक सवलीकरणका विषयलाई महत्वका साथ प्रमुख राजनीतिक दलले समावेश गरेका छन् । राजनीतिक स्थिरतासँगै आर्थिक विकास र समृद्धिका विषयलाई घोषणापत्रमा समावेश गरेर मुलुकको सवलीकरणमा जोड दिइएको छ ।

    नेपाली कांग्रेसले आगामी पाँच वर्षलाई आर्थिक पुनरूत्थानको अर्धदशक घोषणा गर्दै दोस्रो पुस्ताको आर्थिक सुधारमार्फत नेपालको अर्थतन्त्रलाई रु ११५ खर्ब बनाउने लक्ष्य राखेको छ । प्रतिव्यक्ति आयलाई दुई हजार ५०० अमेरिकी डलर पु¥याउने सङ्कल्पसमेत कांग्रेसको छ । त्यसका लागि ठूलो मात्रामा लगानी परिचालन गर्ने र त्यसमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रको कायम गर्दै राज्यको भूमिकालाई केबल सहजकर्ता र निष्पक्ष नियामकमा सीमित गर्ने लक्ष्य राखिएको छ । यस्तै, मुद्रास्फीतिलाई पाँच प्रतिशतभित्र नियन्त्रण गर्ने योजना कांग्रेसको छ ।

    उदार अर्थतन्त्र निजी क्षेत्रलाई समृद्धिको मुख्य इञ्जिनका रूपमा स्थापित गर्दै नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने जहाँ सरकारले बजारको प्रतिस्पर्धी निष्पक्षता र स्वच्छताका लागि एक कुशल नियामकको भूमिका मात्र निर्वाह गर्ने योजना छ । उत्पादनमुखी अर्थतन्त्र स्रोजगारीमूलक र उत्पादनमा आधारित उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने योजना अगाडि सारेको कांग्रेसले युवा केबल श्रमिक मात्र नभई सम्पत्ति सिर्जना र उद्यमशीलताका वास्तविक साझेदार रहेको तथ्यलाई आत्मसात गरेको छ ।

    न्यून आय भएका र सिमान्तकृत समुदायलाई सम्पत्ति सिर्जना गर्ने, उत्पादक र सम्पत्तिको मालिक बनाउने गरी विशेष आर्थिक अवसर र संरक्षणको सुनिश्चितता गर्ने लक्ष्य कांग्रेसले राखेको दलको छ । हाल सञ्चालनमा रहेका विभिन्न प्रकारका उद्योगले भोग्नु परिरहेका नीतिगत अस्पष्टता, कानुनी झन्झट र संस्थागत जटिलतालाई तत्काल सम्बोधन गर्न एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै झन्झटमुक्त उद्योग सञ्चालनको वातावरण बनाउन कांग्रेसको योजना छ ।

    करका दर र सर्तहरू कम्तीमा पनि १० वर्षसम्म स्थिर रहने व्यवस्था, उद्योग दर्तादेखि नवीकरणसम्मका सबै प्रक्रियालाई कागजविहीन र हैरानीमुक्त बनाउन सरलीकृत डिजिटल प्रणाली लागू गर्ने योजना अगाडि सारिएको छ । यस्तै, लगानी बोर्ड र उद्योग विभागलाई गाभेर पारदर्शी शक्तिशाली, लगानी प्रवद्र्धन एवं संरक्षण बोर्ड स्थापना गर्ने, हाल स्थापना र सञ्चालनमा रहेका विशेष आर्थिक क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने सो दलले घोषणापत्रमा समावेश गरेको छ ।

    कांग्रेसको प्रतिज्ञा नाम दिइएको घोषणापत्रमा अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिक बनाउन आवश्यक ज्ञान सूचना तथा सेवासुविधा दिइ सहजीकरण गर्ने योजना अगाडि सारिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आधा दशकमा रु एक सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य निर्धारण गरेको छ । एक दशकमा रु दुई सय खर्बको अर्थतन्त्र बनाउने योजना राखेको छ । कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै सात प्रतिशतदेखिसम्मको आर्थिक वृद्धि गर्ने लक्ष्य छ ।

    प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर तीन हजार पु¥याउने लक्ष्यका साथ सम्पूर्ण राष्ट्रिय स्रोतसाधन र सामथ्र्य परिचालन गरिनेछ । समतामूलक द्रुत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गर्ने लक्ष्य एमालेको योजना छ । कृषिको आधुनिकीकरण गर्दै यस क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई शिक्षा, सीप र प्रविधि विकासद्वारा औद्योगिक र सेवा क्षेत्रमा स्थानान्तरण गर्ने लक्ष्य एमालेले निर्धारण गरेको छ । समष्टिगत आर्थिक तथा क्षेत्रगत नीतिहरूलाई लगानीमैत्री र उत्पादन सहयोगी तुल्याउने योजना अगाडि सारेको छ । वित्तीय क्षेत्रको पुँजी उत्पादक क्षेत्रमा विनियोजन गर्ने, पुँजी बजारको विकास तथा सुदृढीकरण गर्दै थप आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी उच्च आर्थिक वृद्धिका लागि लगानी परिचालन गर्ने एमालेले योजना बनाएको हो ।

    आर्थिक वृद्धिमा गुणक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने लक्ष्य राखेको एमालेले अर्थतन्त्रका सबै क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि हुने र आमजनताको जीवनस्तरमा गुणात्मक सुधार आउने प्रमुख आयोजना सम्पन्न गर्न पर्याप्त हुनेगरी बजेट तर्जुमा गर्ने लक्ष्य राखिएको छ । सार्वजनिक संस्थानको कार्यकूशलता अभिवृद्धि गर्ने, आगामी पाँच वर्षसम्म पुँजी निर्माण र अनिवार्य दायित्वका खर्चबाहेकका अन्य खर्च कटौती गरी रोजगारी सिर्जना हुने उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने एमालेको योजना छ । बजेटको अङ्क, निर्धारित समय, नतिजा र गुणस्तरको सीमा उल्लङ्घन गर्ने वा मापदण्ड पूरा नगर्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था गरी बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्नमात्रै सार्वजनिक ऋण लिने तथा सार्वजनिक ऋणलाई राष्ट्रिय सामथ्र्यको सुरक्षित अनुपातभन्दा बढ्न नदिने एमालेको भनाइ छ । मुद्रास्फीतिलाई नियन्त्रण गर्ने, खाद्यसुरक्षा कायम गर्ने, उत्पादन वृद्धि, मूल्य तथा आपूर्ति नियमन र उपभोक्ता सचेतना वृद्धि गरी उपभोक्तहित संरक्षण गर्ने योजना सो पार्टीले अगाडि सारेको छ ।

    त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरण सुरुआत गर्ने विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ स्थान दिएको छ । नेपालको संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेअनुसार नेकपाले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय आर्थिक परिवेशलाई ध्यान दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता र आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई केन्द्रमा राख्ने नयाँ चरणको बृहत् र संरचनागत आर्थिक सुधारको प्रक्रिया अगाडि बढाउने नेकपाको सङ्कल्पपत्रमा उल्लेख गरिएको छ । सम्पत्ति शुद्धीकरणलगायत विषयमा अध्ययन गर्ने एक अन्तरराष्ट्रिय संस्थाले नेपाललाई खैरो सूचीमा राखेका सन्दर्भमा त्यसलाई बाहिर निकाल्न समयबद्ध कार्ययोजना ल्याउने नेकपाको सङ्कल्प छ ।

    नेकपाले कृषि तथा ग्रामीण अर्थतन्त्रको रुपान्तरण, ऊर्जा तथा पूर्वाधार विकास, औद्योगिक तथा उद्यमशीलता प्रवद्र्धन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्र, पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नेकपाले उत्पादनमूलक रोजगारीमार्फत जनसाङ्ख्यिक लाभको उच्च उपयोग गर्ने गरी प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक रुपमा पाँच लाख रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । नेकपाले आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै पाँच वर्षमा हालको बहुआयामिक गरिबीको दर २० दशमलव १५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

    उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आयात निर्भरता क्रमशः न्यूनीकरण गर्ने, स्वदेशी निजी क्षेत्रको लगानी क्षमता अभिवृद्धि गर्दै वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग, हरित तथा डिजिटल अर्थतन्त्रको जग बसाल्ने नेकपाको उद्देश्य छ । सम्भाव्यताका आधारमा प्रत्येक प्रदेशलाई एक विशिष्ट आर्थिक क्रियाकलापको क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य निर्धारण गरेको नेकपाले सङ्कल्पपत्रमा निजी, सहकारी तथा सार्वजनिक क्षेत्रबीच सन्तुलन कायम गरेर आर्थिक विकास गरिनेछ ।

    नेकपाले अर्थतन्त्रका तीन खम्बालाई सुदृढ गर्दै सामुदायिक क्षेत्रलाई चौथो खम्बा बनाउने योजना अगाडि सारेको छ । उत्पादन लागत कम गर्ने नीति तथा संरचनागत सुधार गर्ने, स्वदेशी उतपादन मूल्य प्रतिस्पर्धी बनाउने योजना अगाडि सारेको नेकपाले खाद्यान्नलगायत रणनीतिक वस्तु तथा सेवामा आत्मनिर्भरता सुनिश्चित गर्ने योजना अगाडि सारेको छ ।

    व्यापार घाटा नियन्त्रणमा ल्याउन प्रतिस्पर्धात्मक लाभका उच्च मूल्यका वस्तुको उतपादन बढाउने वैदेशिक व्यापारको देशभगत विविधीकरण गर्ने, निश्चित उतपादनमा केन्द्रित रही सरकारी निजी तथा सहकारी क्षेत्रको एकल र साझेदारीमा निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्ने नेकपाको सङ्कल्पपत्रमा समावेश गरिएको छ । कृषि र उद्योग क्षेत्रको विकासबाट उत्पादन र रोजगारी बढाउने कार्यक्रम नेकपाले अगाडि सारेको छ ।

    नेपालमा वित्तीय क्षेत्रको साधानको ठूलो हिस्सा समिति घरानाले मात्र गर्ने अवस्था हटाउन मझौला र साना कर्जाको लक्ष्य निर्धारण गर्ने व्यवस्था गरी बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नेकपाको योजना छ । फिनटेकको अवधारणाअनुरुप वित्तीय सेवा तथा प्रणालीलाई सजिलो, सरल छरितो र पहुँचयोग्य पारदर्शी बनाउने लक्ष्य निर्धारण गरेको नेकपाले कृषि तथा ग्रामीण अर्थतन्त्र रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    गरिबीको दर पाँच प्रतिशतमा झार्ने, एक वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण र वर्गीकरण गर्ने, पाँच वर्षमा थप ११० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । नेकपाले २० वटा सहरलाई ‘स्मार्ट सिटी’ र १०० वटा ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज बनाउने, २०८८ सम्म सबै नागरिकलाई स्वास्थ्य बिमा र केन्द्रमा २५ जना मन्त्रीबाट घटाएर विज्ञसहितको सानो आकारको मन्त्रिपरिषद् बनाउने योजना नेकपाको प्रतिबद्धतापत्रमा समावेश छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक उन्नयनको हाम्रो मूल आधार उत्पादकत्वमा निरन्तर वृद्धि हुनेछ भन्ने विश्वास राखेको छ । समग्र विकासको मापन केबल आय वृद्धिबाट होइन, रोजगारी विस्तार, सामाजिक सामञ्जस्य, अवसरको समानता र पर्यावरणीय सन्तुलनमा देखिने गुणात्मक सुधारबाट हुनुपर्छ भन्ने रास्वपाको धारणा छ । निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवद्र्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरण गर्ने रास्वपाको योजना छ ।

    असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने, झन्झटिला ऐन र तजबिजी प्रक्रिया शृङ्खलाबद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गर्ने सो दलले वाचापत्रमा समावेश छ । नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक सात प्रतिशत कायम गर्ने रास्वपाले लक्ष्य राखेको छ ।

    आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुग्ने लक्ष्य सो दलले राखेको छ । सामाजिक न्यायसहितको उदार अर्थनीति निजी क्षेत्रसँगको उन्नत समझदारीका आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करहरूको बोझ घटाउने योजना अगाडि सारेको छ । स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्थासहित ‘वान स्टप’ सेवा प्रदान गर्ने सो दलले वाचापत्रमा समावेश गरेको छ । सार्वजनिक आयोजनालाई स्पष्ट उद्देश्य, प्राथमिकता, सुनिश्चित बजेट, निश्चित समय सीमा, योग्य तथा पर्याप्त मानवीय स्रोत र परिणाममूलक लक्ष्यसहित लक्ष्य केन्द्रित कार्यशैली कार्यान्वयन गर्ने सो दलको वाचापत्रमा समावेश गरिएको छ ।

  • निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

    निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

    रासस
    काठमाडौँ, १२ फागुनः प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भएरनभएका विषयमा विशेष अनुगमन गरिरहेको स्मरण गराएको हो ।

    काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    यो उम्मेदवारले जित्नेछन्, ‘यो उम्मेदवार त्योभन्दा धेरै अगाडि’ ‘नयाँतिर आकर्षित’ ‘यसको लहर छ, यसको छैन’ ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आममतदाता दिग्भ्रमित हुने समाचार सामग्री प्रकाशित भएकामा काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको स्पष्ट पारेको छ ।

    प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ–हानि पुग्नसक्नेतर्फ सचेत गराउँदै काउन्सिलले तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकार यस महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्ने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए । निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुनेहुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न काउन्सिलले आग्रह गरेको छ ।

    आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्नरनगराउन ध्यानाकर्षण गराइएको छ ।

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    रासस
    काठमाडौँ, १२ फागुनः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ ।

    नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ । यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

    सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीसमेत आचारसंहिताको दायरामा छन् । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्छ ।

    निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी तथा कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा छन् । यस्तै, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिता लाग्ने आयोगको भनाइ छ ।

    संवैधानिक निकाय, सो निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, एवं कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति अनुमगन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई निर्वाचन आचारसंहिता लाग्छ । यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्छ ।

    स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो । सोमबार पुनःसरकारी वा निजी क्षेत्रमा पूर्ण रूपमा आचारसंहिता लाग्ने स्मरण गराएको हो ।

  • इरानबाट बाहिरिन आफ्ना नागरिकलाई भारतको आग्रह

    इरानबाट बाहिरिन आफ्ना नागरिकलाई भारतको आग्रह

    नयाँदिल्ली, १२ फागुन (रासस–एएफपी) । तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशङ्काबीच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न औपचारिक सल्लाह दिएको छ । क्षेत्रीय तनाव बढ्दै गएको मूल्याङ्कन गर्दै विदेश मन्त्रालयले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।

    तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा भनिएको छ, “इरानमा विकसित अवस्थालाई ध्यानमा राख्दै हाल त्यहाँ रहेका भारतीय नागरिकहरूलाई व्यापारिक उडानसहित उपलब्ध यातायातका माध्यम प्रयोग गरी इरान छोड्न सल्लाह दिइएको छ ।”

    दूतावासले सबै भारतीय नागरिक र भारतीय मूलका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन, विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक सूचना लिइरहन पनि आग्रह गरेको छ ।

    भारतको विदेश मन्त्रालयका अनुसार इरानमा सामान्यतया करिब १० हजार भारतीय नागरिक बसोबास गर्दै आएका छन् । हालको अस्थिर अवस्थाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने स्थिति सिर्जना भएको सरकारी धारणा छ । यो चेतावनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बुधबार तय भएको इजरायल भ्रमणअघि सार्वजनिक भएको हो ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार उक्त भ्रमणले ‘कट्टरपन्थी’ चुनौतीहरूको सामना गर्न नयाँ सहकार्य सुदृढ गर्ने अपेक्षा व्यक्त गरेका छन् । मोदीले पनि सामाजिक सञ्जालमार्फत इजरायल भ्रमणका क्रममा हुने छलफलप्रति आफू ‘अगाडि हेर्दै’ रहेको उल्लेख गरेका छन् । “विश्वास, नवीनता र शान्ति तथा प्रगतिप्रतिको साझा प्रतिबद्धतामा आधारित इजरायलसँगको स्थायी मित्रतालाई भारतले गहिरो महत्त्व दिन्छ”, उनले लेखेका छन् ।


    नयाँदिल्लीले रक्षा, कृषि, प्रविधि र सुरक्षाजस्ता क्षेत्रमा इजरायलसँग सहकार्य विस्तार गर्दै आएको छ । त्यस्तै, भारतले खाडी राष्ट्रहरू र इरानसँग पनि दीर्घकालीन रणनीतिक सम्बन्ध कायम राखेको छ । इरानको चाबहार बन्दरगाह विकासमा भारतको संलग्नता अफगानिस्तानसम्म व्यापारिक पहुँच विस्तार गर्ने योजनासँग जोडिएको छ, जहाँ भारतले तालिबान प्रशासनसँग पनि सम्पर्क बढाउँदै आएको छ ।

  • रास्वपा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

    रास्वपा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

    बागमती, ११ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन् । रास्वपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उहाँले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    सभापति लामिछानेले लोकतन्त्रको उत्सवका रूपमा रहेको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गर्दै निर्वाचनबाट आउने परिणाम आफूहरूलाई स्वीकार्य हुने बताए । “निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन । जनताले जे दिन्छ, त्यही स्वीकार्नुपर्छ, जनतालाई मताधिकारबाट वञ्चित गर्ने कार्य कसैले पनि गर्नुहुँदैन”, उनले भने ।

    निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्व सरकार बने सुशासन र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति लामिछानेले सुशासन र विधिको शासन कायम गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने उल्लेख गरे । पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले मुलुकमा सुशासन र विधिको शासन स्थापित गर्न आफ्नो पार्टीलाई विजयी बनाउन आग्रह गर्नुभयो । यस्तै, रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतम, क्षेत्र नम्बर २ का उम्मेदवार प्रशान्त उप्रेतीले सम्बोधन गरेका थिए ।

  • गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा

    गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा

    चन्द्रपुर (रौतहट), ११ फागुनः रौतहटको गौर नगरपालिका–६ सबगढामा सद्भाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्भाव भड्काउने गरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो ।

    पक्राउ पर्नेमा शुभनारायण साह, समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेशकुमार राम, रितिक कुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोदकुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।


    गौर–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको बखतमा उपस्थिति गराउने शर्तमा रिहा गरिएका प्रवक्ता बस्यालले जानकारी दिए । जिम्मा जमानीमा छुटेका साह र जमशैदसहित तीन जना व्यक्तिको मोबाइल प्रहरी नियन्त्रणमा राखिएको र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाइने उनले बताए ।

    सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजीकार्य जारी रहेको र प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्थाको लागि यस क्षेत्रमा शनिबारदेखि आज दिउँसो जसम्म कर्फ्यु लगाएको थियो । आज बिहान सबगढा गाउँमा सद्भाव र्याली गरेपछि हाल गाउँको अवस्था सामान्य बनेको छ ।

  • पर्सामा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

    पर्सामा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

    वीरगञ्ज (पर्सा), ११ फागुनः पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाश्रिघ सम्पन्न गर्ने र त्यस्ता दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले सहजीकरण गर्ने निर्णय भएको छ ।

    प्रजिअ दाहालका अनुसार बैठकले व्यक्तिगत घटना\दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने\दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, घृणा फैलाउने भाषण प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

    आगामी दिनमा, धार्मिक, सामाजिक सद्भाव कायम राख्न एवं बैठकमा उपस्थिति सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक एवं सम्पूर्ण जनप्रतिनिधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने बैठकले निर्णय गरेको छ । पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकमा सहभागी विभिन्न पार्टीका प्रतिनिधि तथा धार्मिक क्षेत्रका अगुवाको उपस्थिति रहेको थियो ।

  • धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल

    धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल

    काठमाडौँ, ११ फागुन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । आज गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए । मन्त्रालयले दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

  • स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्छः एमाले अध्यक्ष ओली

    स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्छः एमाले अध्यक्ष ओली

    दमक (झापा), ११ फागुनः नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिएका छन् । पार्टी निकट नेसनल ‘भोलेन्टियर फोर्स’ कोशी प्रदेश कमिटी घोषणासभालाई आज दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन बिथोल्न खोजिएकाले सरकारले निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए ।

    एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्दै उनले एमालेले अब देशको समृद्ध र विकासका लागि नेतृत्व गर्नुपर्ने विचार राखे । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका ओलीले भने, “एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ, अब देश बनाउन एमालेले अगुवाइ गर्छ ।”

    सरकारकै सुरक्षा अङ्गलाई सघाउन पार्टीले भोलेन्टियर फोर्स बनाएको उल्लेख गर्दै उनले चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि यो फोर्स गठन गरिएको बताए । “राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो”, उनले भने ।

  • धादिङमा भएको बस दुर्घटनालाई लिएर गृह मन्त्रालयमा आकस्मिक बैठक, के के भयो छलफल

    धादिङमा भएको बस दुर्घटनालाई लिएर गृह मन्त्रालयमा आकस्मिक बैठक, के के भयो छलफल

    काठमाडौँ, ११ फागुनः धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शीघ्र प्रतिवेदन बुझाएर यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ ।

    आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ कानुन कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालक तथा सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्नुहुँदै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिए ।


    दुर्घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए । निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौती थपिन सक्ने खतरा औँल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वक लाग्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

    गृहमन्त्री अर्यालले भने, “सडक र नागरिकको सुरक्षामा हेलचेक्र्याइँ गरिनु हँुदैन । कसैलाई पनि दण्डहीनता क्षम्य हुनेछैन । त्यसैले सडक सुरक्षालाई मजबुद बनाउन सबै निकाय जिम्मेवारी भएर लाग्नुपर्छ । सडक दुर्घटनासम्बन्धी बनेका विभिन्न छानबिन समिति र अध्ययन प्रतिवेदनको कार्यान्वयन गरिनेछ, राजमार्गको ट्राफिक व्यवस्थापन, सडक नियमन र अनुगमनलाई प्रभावकारी बनाइने बताए ।


    छलफलबारे मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको बताए । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सबै सरोकारवालालाई सक्रिय र जिम्मेवार बनाउने बैठकले निर्णय गरेको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस राति १ः३० मिनेटमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त हुँदा १७ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने २५ जना घाइतेको काठमाडौँ विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

    बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

    मलेखु (धादिङ), ११ फागुनः दुर्घटनाग्रस्त ग।२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।

    भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए । पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ ।

    “मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन । धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,” प्रहरी उपरीक्षक खड्काले भने, “उपचारका लागि काठमाडौँ रिफर गरिएको छ, उनको अवस्था सामान्य नै देखिएको छ ।”

    पोखराबाट काठमाठौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ ।

  • पोखराबाट बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस

    पोखराबाट बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस

    गण्डकी, ११ फागुनः आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

    उनका अनुुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए । “प्रहरीबाट प्राप्त जानकारी अनुुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन् ।”, उनले भने ।


    उक्त बसको चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए । उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    महानगरप्रमुख आचार्यद्वारा दुुःख व्यक्त

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुुबाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् । महानगरप्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनुभएका १७ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    “राति करिब १ः३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नं को यात्रुवाहक बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु ।”, उनले भने ।

    दुर्घटनामा घाइते २४ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदै घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गरेका छन् । दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन् ।

  • दुर्घटनाग्रस्त बसमा पोखराबाट चढेका थिए ३४ यात्रु

    दुर्घटनाग्रस्त बसमा पोखराबाट चढेका थिए ३४ यात्रु

    गण्डकी, ११ फागुन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए ।

    “पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने, बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

  • कालीगण्डकी लोकमार्गको एक पुल : दुईवर्षमा सम्पन्न हुनुपर्नेमा ८ वर्ष लाग्यो

    कालीगण्डकी लोकमार्गको एक पुल : दुईवर्षमा सम्पन्न हुनुपर्नेमा ८ वर्ष लाग्यो

    पर्वत, ११ फागुनः उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि सम्पन्न भएको छ । यहाँको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको ढिलासुस्ति र गलत डिजाइनका कारण आठ वर्षमा सम्पन्न भएको हो । यो पुल दुई वर्षमा सम्पन्न हुनेगरी विसं २०७४ असार २८ गते सम्झौता भई विसं. २०७४ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो ।

    विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको ढिलासुस्तिका कारण आठवर्षपछि सम्पन्न भएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । रु पाँच करोड ८९ लाख ८९ हजार २७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल सम्पन्न भएपछि कालीगण्डकी लोकमार्गमा सिधा यातायात सञ्चालन हुन थालेका छन् ।

    पुल सम्पन्न भएसँगै दक्षिण पर्वतका बासिन्दालाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न मात्र सहज नभएर लोकमार्ग हुँदै बुटबल, भैरहवा, पाल्पा, गुल्मी तथा यस क्षेत्रबाट मुस्ताङ, पर्वत, बागलुङ, म्याग्दीतर्फ आउने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ । पुल बनेपछि झण्डै एक घण्टा घुमाउरो बाटो हिँड्नुपर्नेमा पाँच मिनेटमै पुग्न सकिने भएको छ ।

    करिडोर अन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्र्याक खुलिसकेको छ, भने पर्वतको सेतीवेणीदेखि लमाएखोला सम्मको सडक कालोपत्रसमेत भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सिधा यातायात सञ्चालन हुन सकेका थिएनन् । गत साता पुल निर्माणको सबै काम सम्पन्न भएसँगै सिधा यातायात सञ्चालन हुन थालेको कालीगण्डकी लोकमार्ग आयोजनाका साइड इञ्जिनियर पिपुल गौतमले जानकारी दिए ।


    कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपछि इञ्जिनियरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं २०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

    कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर गौतमले पुलको नयाँ डिजाइन गरेर पुनः निर्माण सुरु गरिएकोले ढिलाइ भएको बताउनुभयो । पुरानै ठाउँलाई संरक्षणको काम गरेर पुल निर्माण गरिएको गौतमले बताउनुभयो । गौतमका अनुसार गत वर्षको बाढीले स्लाब ढलान गर्न थालेको अवस्थामा बगाइदिएपछि झनै ढिला भएको हो ।

    पुल निर्माण सम्पन्न गर्नका लागि छैटाँै पटकसम्म सम्झौताकोे म्याद थपिएको थियो । विसं २०७४ पुसमा काम सुरु गरेका व्यवसायीले विसं २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल विसं २०८० मङ्सिरदेखि काम सुरु भएको थियो ।

    यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्ष अघिनै सम्पन्न भएको थियो । कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्डको १४ किलोमिटर सडक कालोपत्रको काम पनि सुरु भएको छ । यो सम्पन्न भएपछि पर्वतको ५५ किलोमिटर सडक पूरा हुने आयोजनाले जनाएको छ ।

  • म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरु

    म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरु

    म्याग्दी, ११ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो । डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस जेभीले पुलको संरचना निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

    गत असार महिनामा डिभिजन र निर्माण कम्पनीबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि रहेपनि चालु आर्थिक वर्षभित्रनै पुल निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले बताए । काउसीबोट तर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । बाँसबोट तर्फ फाउण्डेशन खनेर जग्गा तयार पारिएको छ । संरचना तयार भएपछि लठ्ठा तान्ने र स्टिल डेग जडान गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाको हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाँडाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

    धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवतजावतको लागि यात्रा अवधि छोटिनुका साथै पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको बताए । एक घण्टाको यात्राअवधि पाँच मिनेटमा छोटिने उनले बताए । बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज हुने बताइएको छ । धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो ।

    धवलागिरि गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर र वडा नं –३ फलियागाँउ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । हाल म्याग्दीमा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या छ वटा रहेको छ ।

    रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने २४४ मिटर लामो पुुल निर्माण भइसकेका छन् ।

  • निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ, ११ फागुनः निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ ।

    सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमासंलग्न हुनसक्ने भएपनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ । निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।

  • धादिङ बस दुर्घटनामा दुई विदेशी नागरिक रहेको पुष्टी

    धादिङ बस दुर्घटनामा दुई विदेशी नागरिक रहेको पुष्टी

    ११ फागुन, मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै भएको यात्रुवाहक बस दुर्घटना दुई विदेशी नागरिकको मृत्यु भएको पुष्टी भएको छ । प्रहरीका अनुसार दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

    तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।