भियना, ९ फागुन (रासस–एएफपी) । अस्ट्रियामा शुक्रबार आएको ठूलो हिमआँधीका कारण व्यापक षेत्रमा विद्युत सेवामा अवरोध आएको छ। आँधीका कारण सडकहरूमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवामासमेत अवरोध देखिएको छ । हिउँको पुरिएका एक व्यक्तिसहित दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उत्तरी शहर लिन्जको आवासीय परिसरमा छानाबाट हिउँको लप्का खस्दा ५३ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमी टायरोल क्षेत्रमा हिमपहिरोमा परी जर्मनीका एक ‘स्की’ खेलाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अल्पाइन राष्ट्र अष्ट्रियामा बिहीबारदेखि परेको हिउँ जमिनमा ४० सेन्टिमिटर (१६ इन्च)सम्म जमेको छ । जसले दक्षिणपूर्वी अस्ट्रियाको ग्राज शहर वरपरको क्षेत्रमा हिमपहिरोको जोखिम बढेको छ । भियना विमानस्थलले बिहान सबै उडानहरू अस्थायी रूपमा रोक्न बाध्य भएको र दिउँसोको उडानहरू केही समयका लागि ‘अवरोध’ भएको बताएको छ।
“भियना वरपरको मुख्य राजमार्गहरूमध्ये एउटा राजमार्ग अनिश्चित (केही घण्टा) समयसम्म बन्द गरिएको थियो, र राजमार्गका अन्य भागहरू हिउँको बहाव, अलपत्र सवारी साधन वा खराब दृश्यका कारण अवरुद्ध भएका थिए,” राष्ट्रिय अटोमोबाइल एसोसिएसन (ओएएमटिसी) ले जनाएको छ। इलेक्ट्रिक कम्पनीहरूले स्टायरियासहित दक्षिण र पूर्वका धेरै क्षेत्रहरूमा बिजुली कटौती भएको रिपोर्ट गरेको छ, जहाँ ३० हजार परिवारमा विद्युत् सेवा काटिएको छ। स्लोभेनियामा पनि ४० हजार घरपरिवार प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मनिला, ९ फागुन (रासस–सिन्ह्वा) । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोमा परि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । फिलिपिन्स रेड क्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो सहर स्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ ।
स्थानिय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । शुक्रबार डाभाओ ओरिएन्टलको माटी सहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको सहरको फायर स्टेसनले सामाजिक सञ्जाल मार्फत जनाएको छ ।
निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तहरूमा रेडक्रस शाखाहरू उच्च सतर्कतामा रहेको गोर्डनले बताए । सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग सहरका समुदायहरूमा पानी पसेकाले स्वयंसेवकहरूले प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरेको जनाइएको छ । अधिकारीहरूले क्षतिको आकलन र प्रभावितहरूको सुरक्षा सुनिश्चितको प्रयास जारी राखेका कारण स्थानीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यालयहरूसँग अनुगमन र समन्वय जारी रहेको रेड क्रसले जनाएको छ ।
काठमाडौँ, ९ फागुनः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागूऔषधसहित आज पक्राउ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए ।
चोरीको मोटरसाइकलको पार्टपुर्जा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जना पक्राउ
प्रहरीले चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडास्थित तथा काठमाडौँ महानगरपालिका–२२ सङ्कटा मन्दिरस्थित पार्किङ गरी राखेको बा प्र ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ, ८ फागुनः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु १३ लाख ८० हजारका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
उनले भने, “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।”
आइफोन १७ प्रोम्याक्स २५६ जिबीका चार थानका रु आठ लाख बराबर, एमफोर म्याकबुक ऐर २५६ जिबीका रु दुई लाख ६० हजार बराबर र एमफोर म्याकबुक ऐर ५१२ जिबीका रु तीन लाख २० हजार बराबरका विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता सिलवालले बताए ।
काठमाडौँ, ८ फागुन । यतिबेला देश निर्वाचनमय भएको छ । प्रतिनिधिसभा निर्वाचनको समय फागुन २१ गते नजिकिँदै गर्दा राजनीतिक दलले विभिन्न नाम दिएर घोषणापत्र जारी गरेका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ ६८ राजनीतिक दलले भाग लिँदैछन् । यी सबैजसो दलका घोषणापत्रमा दलित समुदायको मुद्दा समावेश गरिएको छ ।
तर नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत मुख्य ठूला राजनीति दलले ‘प्रतिनिधित्व सुनिश्चित गर्ने’ र ‘छुवाछूत अन्त्य गर्ने’ दुईवटा दलित समुदायको मुद्दालाई दोहोर्याएका छन् । पुरानै मुद्दा, पुरानै घोषणापत्रबाट साभार गरेका छन् ।
देशको सबैभन्दा ठूलो, पुरानो, लोकतान्त्रिक पार्टी कांग्रेसले बुधबार सार्वजनिक गरेको ‘प्रतिज्ञापत्र’मा ‘दलितलाई पार्टी र राज्यका प्रत्येक तह र निकायमा प्रतिनिधित्व र पहुँचसँगै सामाजिक न्यायको सुनिश्चित गरिनेछ’ भनेको छ । जुन कुरा यो पार्टीले २०७९ सालको घोषणापत्रमा पनि राखेको थियो ।
विसं २०७९ को निर्वाचनमा कांग्रेसले सार्वजजिक गरेको घोषणापत्रमा भनिएको छ, “नेपालको संविधानको भावना र मर्मअनुसार दलितको राज्यका विभिन्न तह र निकायमा न्यायोचित प्रतिनिधित्व गराई समावेशिताको सिद्धान्त पालना गरिनेछ”, तर विघटित प्रतिनिधिसभामा कांग्रसले पाँच जनामात्रै दलित समुदायको प्रतिनिधित्व गराएको छ ।
यो अवधिमा कांग्रेसबाट एकजना दलितले पनि मन्त्री बन्ने अवसर पाएनन् । त्यसैगरी कांग्रेसले पछिल्लोपटक सार्वजनिक गरेको चुनावी घोषणापत्रमा दलित समुदायले भोग्दै आएको ‘छुवाछूत अन्त्य गर्ने’ विषय आफ्नो पुरानै घोषणापत्रबाट साभार गरेको छ । जुन कुरा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनको घोषणापत्र र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको घोषणापत्रमा पनि समावेश छ ।
तर, दलित विषयवस्तुमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्दै आएको समता फाउन्डेसनका अनुसार जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८ लागू भए पनि पानी छोएको निहुँमा, अन्तरजातीय विवाह गरेका कारण वा चुलो छोएको निहँुमा १७ जना दलितले ज्यान गुमाउनुपरेको छ । जातीय कारण यो समुदाय विस्थापित हुनुपरेको छ । बहिष्करणमा परेको छ ।
दलित अभियन्ता पम्फा परियारले भन्नुभयो, “दलितको प्रतिनिधित्व गर्ने र छुवाछूत अन्त्य गर्ने विषय राजनीतिक पार्टीले हरेक निर्वाचनमा दोहोर्याएकै हुन्छन्, विडम्बना कार्यान्वयन गर्दैनन् ।” एमाले घोषणापत्रले भनेको छ, “दलितको संरक्षण गर्ने, सम्मानजनक जीवन जिउन दिने, मानवीय मूल्यसहितको लोकतन्त्रको अभ्यास गरिने, जातीय विभेद र छुवाछूतको अन्त्य र सामाजिक समावेशिता प्रवर्द्धन गर्दै मर्यादित जीवनस्तर र सबैका लागि न्याय सुनिश्चित गरिनेछ ।” जुन विषय एमालेको पुराना चुनावी घोषणापत्रमा पनि भेटिन्छ । यो पार्टीबाट पनि विघटित प्रतिनिधिसभामा छ जनामात्र दलितको प्रतिनिधित्व थियो । यो बीचमा एमालेले पनि दलितलाई क्याबिनेट मन्त्री बनाउन सकेन ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो घोषणापत्रमा ‘राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका दलितलाई राज्यका सबै अङ्ग, तह र समानुपातिक समावेशीकरणको प्रत्याभूति दिलाउने, अधिकार र अवसरमा समानता तथा सहभागिता सुनिश्चित गर्ने’ उल्लेख गरेको छ । यो पार्टीबाट पनि दुई जना दलितको प्रतिनिधिसभामा प्रतिनिधित्व थियो । यो पार्टीले पनि दलितलाई क्याबिनेट मन्त्री बनाएन ।
रास्वपाले पनि दलितको सवालमा आफ्नो चुनावी नागरिक करारपत्र÷बाचापत्रमा ‘प्रचलित कानुन र संविधानको मर्मअनुसार आरक्षण तथा समावेशिताको व्यवस्था सुनिश्चित गर्दै दलित समुदायमाथि भएको जातीय विभेद अन्त्यका लागि अझ ठोस कानुनी, नीतिगत र संस्थागत सुधार अघि बढाइने’ भनेको छ । यो पार्टीमा दलितबाट दुई जना सांसद बन्नुभएको थियो । तर यो पार्टीले पनि दलितलाई मन्त्री बनाउन भने सकेन ।
राप्रपाले पनि दलित समुदायको प्रतिनिधित्व बढाउने र छुवाछूत अन्त्य गर्ने विषय पुरानै घोषणापत्रबाट उतारेको छ । दलित आन्दोलनका अगुवा पदम सुन्दासले राजनीतिक दलले पटकपटकको चुनावमा दलित सुमदायका यी दुई मुद्दालाई उठाउँदै आए पनि कार्यान्वयन नगरेका कारण घोषणापत्रमै कार्यान्वयनको अवधि पनि समावेश गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक दलले दलित समुदायबारे संवैधानिक अधिकारलाई ‘दलितसम्बन्धी एकीकृत कानुन’ बनाएर प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा दलितको धेरै समस्या समाधान हुने उहाँको भनाइ छ ।
घोषणापत्रमा दलितको प्रतिनिधित्वको विषय उठाउँदै गर्दा राज्यका निकायमा उनीहरूको प्रतिनिधित्वको अवस्था अत्यन्त कमजोर देखिन्छ । दलित समुदायबाट राष्ट्रियसभामा छ जना, विघटित प्रतिनिधिसभामा १६ जना, समग्र प्रदेशसभामा ३० जना, निजामती सेवामा २।११ प्रतिशत, न्यायपालिका र परराष्ट्र सेवामा करिब एक प्रतिशत र राजनीतिक दलहरूमा औसत ५–९ प्रतिशत छ ।
तर, निर्णायक तहमा अत्यन्त न्यून प्रतिनिधित्व छ । जबकि दलित समुदायको जनसङ्ख्या १३।४ प्रतिशत छ । अहिले पनि ४२ प्रतिशत दलित समुदाय गरिबीको रेखामुनि छ । यो तथ्याङ्कले पार्टीको घोषणापत्र, संविधानको समावेशी चरित्र र व्यावहारिक कार्यान्वयनबीच गहिरो अन्तर देखाउँछ ।
काठमाडौँ, ८ फागुनः गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनीहरुले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गरे । अनुगमन टोलीमा क्रममा काठमाडौँ महानगरपाकिलाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।
उक्त टोलीद्वारा सुन्धारास्थित धरहराको अन्डरग्राउन्ड पार्किङको संयुक्त अनुगमन निरीक्षण गरी निर्माण भएको पार्किङलाई निःशुल्क रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो । काठमाडौँको ट्राफिकलाई सहज बनाउने गरी पार्किङ सौन्दर्य कायम गर्ने विषयमा छलफलमा जोड दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बैतडी, ८ फागुन । प्रतिनिधिसभा निर्वाचनमा खटिएका एक जना नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए । प्रहरी प्रवक्ता सिंहका अनुसार आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सदरमुकाम नजिक घर भएका निर्वाचन प्रहरी घरबाटै ड्युटी गर्न आउँछन् । ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव परीक्षणका जिल्ला अस्पतालमा रहेको र भोलिमात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जानकारी दिएको छ । यसअघि माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ का निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको पनि भिरबाट लडेर ज्यान गएको थियो ।
गण्डकी, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्थालगायतका विषयमा जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीलाई प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाललगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराए ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा भइरहेका तयारीलगायत विषयमा प्रधामन्त्रीले जानकारी लिनुभएको प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । “प्रदेशमा सुरक्षा संयन्त्रसहितको निर्वाचन सेल रहेको छ, यही सेलबाट भए गरेका गतिविधि जानकारी गराइनुुका साथै निर्देशन लिने काम भएको छ”, प्रमुख सचिव घिमिरेले भने । पोखरा विश्वविद्यलायको २१औँ दीक्षान्त समारोहको अवसर पारी प्रधानमन्त्री पोखरा आएकी हुन् ।
काठमाडौँ, ८ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ ।
यसै सन्दर्भमा निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा छलफल गरेको छ । काठमाडौँमा सम्पन्न कार्यक्रममा ७५ राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । चुनावी खर्चमा पारदर्शिता बढाउने उद्देश्यले आयोगले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
घोषणापत्र सार्वजनिक र जानकारी
निर्वाचनको घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्ने र आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ ले गरेको छ ।
आचारसंहिताको सोही व्यवस्थाबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई यही फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्वाचन आयोगले निर्देशनसमेत दिएको थियो । आयोगको निर्देशानुसार ४१ राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी सोको जानकारी आयोगमा गराइसकेको जनाइएको छ ।
आचारसंहिता अनुगमन र कारबाही
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटना न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया जारी राखेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील छन् ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ । जसमध्ये ५२ वटाको जवाफ प्राप्त भएको छ ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ क्रियाशील छ ।
हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा सामग्री उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा र ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एउटालाई विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको छ ।
चार हजार ३०० पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने
निर्वाचनको स्वच्छता प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न आयोगले निर्वाचन पर्यवेक्षणलाई महत्वका साथ अघि बढाइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले राष्ट्रियतर्फका ३७ वटा र अन्तरराष्ट्रियतर्फ चारवटा गरी ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको छ ।
अनुमति पाएका संस्थाका तर्फबाट पर्यवेक्षकको नाम प्रविष्ट गर्ने कार्य सम्पन्न भई आयोगले संस्थाका प्रतिनिधिहरूलाई अभिमुखीकरण सम्पन्न गरिसकेको छ । आयोगले अनुमतिप्राप्त संस्थाका करिब चार हजार ३०० जना पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको छ ।
आम मतदाता तथा सरोकारवालाको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा फागुन ७ गतेसम्म ‘भ्वाइस मेल’समेत गरी जम्मा तीन हजार ६४ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भएका छन् । प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ५०८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३११ मतदाता शिक्षासँग सम्बन्धित १२५ र अन्य ८०० रहेका छन् । कुल जिज्ञासामा ३२० वटा भ्वाइस मेल आएको आयोगले जनाएको छ ।
लिस्बन (पोर्चुगल), ८ फागुन : पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ । दूतावासको बिहीबार एक समारोहका बीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा आना इसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरे । गत अप्रिलमा स्थापना भई सेवा प्रवाह गर्दै आएको दूतावासको हाल औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
सो अवसरमा परराष्ट्र सचिव राईले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसैगरी पोर्चुगलका विदेश मामिला सचिव डा जेभियरले खुसी व्यक्त गर्दै दूतावासलाई पोर्चुगल सरकारको निरन्तर सहयोग रहने आश्वासन दिए । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन पुलको रूपमा काम गर्ने बताए । उद्घाटन समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, दूतावासका कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो ।
यसैबीच, दूतावासले नेपाली समुदायसँग अन्तक्र्रिया गरेको थियो । अन्तक्र्रियामा सहभागी वक्ताहरूले पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या, दूतावासको सेवा र कागजी प्रक्रियामा देखापरेका समस्यालगायत विषयमा गुनासो गरेका थिए । उनीहरूले दलालले प्रहरी चारित्रिक प्रमाणपत्रमा (प्रहरी रिपोर्ट) दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी ठगी गर्दा पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका सयौँ नेपाली समस्यामा परेको भन्दै सोको समाधानका लागि पहल गरिदिन सचिव राईसमक्ष गम्भीर ध्यानाकर्षण गराएका थिए । सहभागीहरूले नेपालमा पोर्चुगलको दूतावास नभएकै कारण दिल्ली धाउनुपर्ने बाध्यता रहेकाले नेपालमै पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए ।
सो अवसरमा सहभागीहरुको गुनासो र जिज्ञासालाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले पोर्चुगलवासी नेपालीका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । दूतावासले गैरआवासीय नेपाली सङ्घलगायत यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ७६औँ प्रजातन्त्र दिवससमेत मनाएको थियो। सचिव राईको सहअध्यक्षतामा आज नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा बस्दैछ ।
तेहरान, ८ फागुन (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रविरुद्ध सैन्य कारबाहीको सङ्केत गरेपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना सबै नागरिकहरूलाई इरान छोड्न आह्वान गरेका छन् । उनले एक पत्रकार सम्मेलनमा भने, “इरानमा रहेका पोल्याण्डका सबै नागरिकले तुरुन्त देश छोड्नु पर्छ र कुनै पनि हालतमा कसैले पनि इरानको यात्रा गर्ने योजना बनाउनु हुँदैन ।
उनले थपे, “तातो द्वन्द्वको सम्भावना धेरै छ । केही घण्टा वा केही दिन हुनसक्ला, इरानबाट बाहिरिने एक मात्र विकल्प हुनेछ ।” हालैका महिनाहरूमा पोल्याण्ड सरकारले आफ्ना नागरिकहरूलाई देश छोड्न आह्वान गरेको यो दोस्रो पटक हो । अमेरिकाले इरान नजिकै युद्धपोत, लडाकु विमान र इन्धन भर्ने विमानसहित सैन्य बल निर्माण गरिरहेको छ र ट्रम्पले आदेश दिएमा कुनै पनि समय युद्ध हुन सक्नेछ ।
काठमाडौँ, ८ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन् । बिहीबार उनले सम्प्रेषण गरेको बधाई सन्देशमा राष्ट्रपति पौडेलसहित नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक शुभकामना गरिएको यहाँस्थित युएईको राजदूतावासले आज जनाएको छ ।
त्यसैगरी, युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूम तथा उपराष्ट्रपति, उपप्रधानमन्त्री एवं राष्ट्रपति मामिलामन्त्री शेख मन्सुर बिन जायेद अल नाह्यानले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेललाई शुभकामना सन्देश पठाएका छन् ।
काठमाडौँ, ८ फागुनः नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बीच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गरे ।
त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । दूतावासले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सेतुका रूपमा काम गर्ने विश्वास व्यक्त गरे । उक्त दूतावासका अनुसार पोर्चुगलका परराष्ट्र सचिवले पोर्चुगलमा नेपाली दूतावासको आतिथ्य पाउँदा खुसी व्यक्त गर्दै दूतावासको सहज सञ्चालनका लागि पोर्चुगल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लिस्बनस्थित कूटनीतिक समुदायका ‘डिन’ एन्ड्रेस कारास्कोसा कोसोले कूटनीतिक ‘कर्पस्’मा नयाँ सदस्यका रूपमा नेपाली राजदूत प्रकाशमणि पौडेलाई स्वागत गरे । बिहीबार साँझ नेपाली दूतावासले ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा पोर्चुगलमा रहेका आप्रवासी तथा नेपाली समुदायका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह पनि आयोजना गरेको थियो ।
काठमाडौँ, ८ फागुनः देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।
अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।
काठमाडौँ, ८ फागुनः आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ। सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो । सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
म्याग्दी, ८ फागुन । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालोपत्र गर्न २०७७ साल चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
तेह्र किलोमिटर दूरीको सडकमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए । “ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ”, उनले भने, “वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक–एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।”
वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताउनुभयो । विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो । सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।
यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्र र दुई किलोमिटर २०० मिटर ढलान भएको थियो । गत मङ्सिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताउनुभयो ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो ।
यातायात व्यवसायी बुद्धि पुनले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । “पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउँरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौँ”, उनले भने, “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ ।” जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
मुस्ताङ, ८ फागुन । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार चार जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १७१ जना ९५।३३ प्रतिशत० पर्यटक कम भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख सङ्कलन गर्ने गरेको छ । पोखरा–जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख सङ्कलन गर्ने गरेका छन् ।
मुस्ताङमा आव २०८०÷८१ मा चार लाख ५४ हजार ३२६ जना र आव २०८१÷८२ मा सात लाख पाँच हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको हो । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी–जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ भित्रिने गर्छन् ।
मुस्ताङको कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ । मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोम–कोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यमा स्वदेशी पर्यटक कोरलानाकासम्म पुग्ने गरेका पाइएको छ ।
काठमाडौँ, ८ फागुन । उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सबै स्थानीय तहका बीचमा आवश्यकताअनुसार समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने जनाएको हो ।
काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महनगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३औँ बैठकले गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नुपर्ने धेरै काम छन् । फोरमको अहिलेको दृष्टि त्यसैमा छ । बैठकपछि फोरमका अध्यक्ष महर्जनले मेट्रोको अवधारणा कार्यान्वयनका लागि सङ्घ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तत्पर रहेको उल्लेख गर्दै मेट्रोको अवधारणाअनुसार पूर्वाधार निर्माण तथा सञ्चालन गर्न आफूहरू तयार रहेको बताए । बैठकमा कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता, सांस्कृतिक तथा सामाजिक चालचलन सुहाउँदो ढाँचाको उपयुक्त माध्यमको छनोट गरी पूर्वाधार निर्माण गर्न सरकारसँग सहकार्य गर्नुपर्ने बताइन् ।
यसअघि सार्वजनिक यातायात प्रणालीका विषयमा अध्ययन भएका कुन उपयुक्त छन् भन्ने कुराको ठोस निष्कर्षमा पुग्न विगतका अध्ययनहरूको पुनरावलोकन आवश्यक रहेको उहाँको भनाइ थियो । “समस्या सीमाविहीन छन्, तिनलाई प्रशासनिक साँधमा अडिएर आफ्नो भन्नुभन्दा पनि उपत्यकाका स्थानीय तहहरूको सहअस्तित्व स्वीकार गरेर समन्वयात्मक रूपमा सहकार्य गरेपछि नतिजा आउँछ”, डङ्गोलले भनिन् ।
उपत्यकामा सार्वजनिक यातायात सञ्चालनका लागि यसअघि गरिएको अध्ययन प्रतिवेदनको विश्लेषण र उपत्यका सुहाउँदो ढाँचाका विषयमा आगामी बैठकमा पेस गरिने अध्यक्ष महर्जनले जानकारी दिइन् फोहर व्यवस्थापन, सार्वजनिक यातायात सञ्चालन, खानेपानी वितरण तथा नदी सभ्यताको संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन, जलवायु परिवर्तनका असर कम गराउने सीमाविहीन समस्या हुन्, यी समस्या सुल्झाउन फोरमको उपयोग गरौँ डङ्गोलको भनाइ थियो ।
रमेश लम्साल–रासस काठमाडौँ, ८ फागुन । प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् । उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्वयन पक्षमा रहेको जटिलता हटाउने र ऊर्जा क्षेत्रमैत्री वातावरण बनाउने योजनासमेत अगाडि सारेका छन् ।
आन्तरिक खपतको वृद्धि, रोजगारी सृजना तथा ऊर्जा कूटनीतिमार्फत क्षेत्रीय बजारमा बिक्री गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेका छन् । नीतिगत जटिलताको अन्त्य, आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गरी निजी क्षेत्रलाई धक खोलेर लगानी गर्ने वातावरण बनाउने विषय घोषणापत्रमा समेटिएका छन् । वाचापत्र, प्रतिबद्धतापत्रजस्ता नाम दिइएका राजनीतिक दलका घोषणापत्रमा यसपटक सबैको साझा एजेन्डाका रूपमा ऊर्जा क्षेत्र पर्न गएको छ ।
कुनै राजनीतिक दलले १० वर्षको योजना अगाडि सारेका छन्, कुनै राजनीतिक दलले पाँच वर्षको नीति अवलम्बन गर्ने लक्ष्य राखेको छ । सरकारले अगाडि सारेको सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यको हाराहारीमा नै रहेर प्रमुख दलले ऊर्जा मिश्रण तथा वैकल्पिक ऊर्जालाई पनि उत्तिकै प्राथमिकता दिएको देखिन्छ ।
कार्यक्रमिक रूपमा नेपाली कांग्रेसले ‘पर्याप्त ऊर्जा : दिगो विकास’को नारा दिएको छ । त्यसमा आगामी पाँच वर्षमा देशको कुल विद्युत् जडित क्षमता १४ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । उज्यालोमात्र होइन, आर्थिक उपार्जन सेयरबाट स्वरोजगारका रूपमा सो दलले यस क्षेत्रको दिगो र दीर्घकालीन विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
यस्तै, प्रतिव्यक्ति विद्युत् खपत ७५० युनिट पुर्याउने, बढ्दो खपत, घट्दो महसुलको अवधारणा लागू गर्ने, राष्ट्रिय ऊर्जा सुरक्षा नीति बनाई ऊर्जा पूर्वाधारलाई सुदृढ बनाउँदै नागरिकलाई स्वच्छ र गुणस्तरीय ऊर्जा सुनिश्चित गर्ने कांग्रेसको योजना छ । यस्तै, पेट्रोल, डिजेललाई क्रमशः प्रतिस्थान गर्दै जाने लक्ष्य कांग्रेसको छ ।
“नेपाली कांग्रेसले ऊर्जा विकासलाई प्राथमिकतामा राखेको यथार्थ पार्टीको सरकारले २०४९ सालमा ल्याएको जलविद्युत् विकास नीति र हालसम्म पनि प्रचलनमा रहिरहेको विद्युत् ऐन, २०४९ का साथै जलविद्युत् विकास नीति, २०५८ बाट स्पष्ट हुन्छ”, सो दलको घोषणापत्रमा भनिएको छ । ठूलाठूला राजनीतिक परिवर्तन र सङ्क्रमणकालीन अस्थिरताले गर्दा अन्य क्षेत्रझैँ ऊर्जा उद्योगले पनि नीतिगत सुधारको यथोचित लाभ लिन नसकेको यर्थाथता कांग्रेसले स्वीकार गरेको छ ।
कांग्रेसले लागू गरेको उदार जलविद्युत् नीतिकै जगमा आजको ऊर्जा उद्योग उभिएको दाबी गरिएको छ । अनुभवी प्राविधिक जनशक्तिको उपलब्धता र बंैकहरूको सुधारिएको दक्षताले लगानीको वातावरण थप सुदृढ बनेको बैंक तथा वित्तीय संस्थाले परियोजना बुझेर लगानी गर्न थालेकाले वित्तीय पहुँच बढेको कांग्रेसको स्वीकारोक्ति छ ।
नेपाली निजी क्षेत्रले अहिले ठूला जलविद्युत् आयोजना निर्माण गर्न सक्ने आत्मविश्वास र क्षमता हासिल गरेको उल्लेख गर्दै सो दलले यस प्रकारको उत्साहलाई ठोस नतिजामा बदल्न आवश्यक नीतिगत सहजता र वित्तीय स्रोतको सही परिचालन गर्न सकिएको खण्डमा जलविद्युत् क्षेत्र मुलुकको औद्योगिक क्रान्तिको मुख्य आधार बन्ने उल्लेख गरेको छ ।
कांग्रेसले ऊर्जा सुरक्षालाई मध्यनजर गरी राष्ट्रिय ऊर्जा सुरक्षा नीति तय गर्ने, मुलुकको आर्थिक उन्नति, गरिबी निवारण र वातावरण संरक्षणसँग जोडेर हरेक नागरिकका लागि भरपर्दो र आधुनिक ऊर्जा सुनिश्चित गर्दै उर्जामा आत्मनिर्भर बन्ने कार्यक्रम समेटेको छ ।
कांग्रेसको प्रतिज्ञापत्रमा बुढीगण्डकी र दूधकोशीजस्ता ठूला आयोजना अघि बढाउने र हाल करिब ४५० युनिटको हाराहारीमा रहेको प्रतिव्यक्ति विद्युत् खपतलाई आगामी पाँच वर्षभित्र ७५० युनिट पुर्याउने विषयलाई प्राथमकितामा राखेको छ ।
बढ्दो खपत घट्दो महसुलको अवधारणालाई कार्यान्वयनमा लैजाने लक्ष्य राखेको कांग्रेसले हाल करिब चार हजार मेगावाट विद्युत् जडित क्षमता रहेकामा अन्तरराष्ट्रिय एवं निजी क्षेत्रको समेत सामूहिक लगानी जुटाएर सौर्य विद्युत्सहित थप करिब १० हजार मेगावाट क्षमताका आयोजनालाई निर्माण चरणमा लैजाने बताएको छ । त्यसका लागि नीतिगत र नियामकीय सुधार गरी कुल जडित क्षमता वृद्धि गर्ने बताएको छ ।
कांग्रेसले सरकारबाट ‘भायाबिलिटी ग्याप फन्डिङ’ उपलब्ध गराउँदै बुढीगण्डकी र दूधकोशीजस्ता जलाशययुक्त एवं अर्धजलाशययुक्त बेतन कर्णाली र चैनपुर सेती आयोजनाको निर्माण राष्ट्रिय प्राथमिकताका साथ सुरु गर्ने बताएको छ ।
विगत ३० वर्षदेखि अलपत्र रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय हितको अधिकतम रक्षा गर्दै प्राविधिक र राजनीतिक सहमतिमार्फत कार्यान्वयनमा लैजान गम्भीर पहल गर्ने कांग्रेसको प्रतिबद्धता छ ।
जलविद्युत् आयोजनाले पालना गर्नुपर्ने वन, जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियालाई छ महिनाभित्र टुङ्ग्याउने गरी एकद्वार प्रणालीको व्यवस्थासहित कानुनी सुधार गर्ने विषय प्राथमिकतामा छ ।
नेकपा एमालेले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा डिजिटल प्रविधिबाट प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीलगायत । तस्बिर : चन्द्रकला क्षेत्री / रासस
हाल आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको जलविद्युत् कम्पनीहरूको १० प्रतिशत अग्राधिकार सेयर खरिद गर्न सम्बन्धित विपन्न परिवारका लागि लाभांशबाट क्रमशः तिर्दै जानेगरी सहुलियतपूर्ण ऋणको नीतिगत व्यवस्था गर्ने कांग्रेसको योजना छ । आयोजना निर्माणमा संलग्न नेपाली नागरिक श्रमिकलाई पनि त्यस्तो सेयर खरिद गर्ने व्यवस्था र आर्थिक सहुलियत प्रदान गरिने भएको छ ।
स्वदेशी खपतपछि जगेडा हुनजाने विद्युत् निर्यातका लागि अन्तरदेशीय व्यापारमा रहेका जटिलता फुकाउन छिमेकी देशहरूसँग राजनीतिक र कूटनीतिक पहलमा जोड दिने, नेपाल–भारत विद्युत् व्यापारलाई उपक्षेत्रीय तहसम्म विस्तार गर्न प्रभावकारी आर्थिक कूटनीति अवलम्बन गर्ने कांग्रेसको योजना छ ।
‘स्वच्छ ऊर्जा, स्वदेशमा खपत हरित विकास, विदेशमा निर्यात’ नाराका साथ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले जलविद्युत्, सौर्य, ग्रीन हाइड्रोजनसमेतको नवीकरणीय ऊर्जाको उत्पादन, प्रसारण र वितरणका आयोजना सम्पन्न गर्ने योजना अगाडि सारेको छ ।
ऊर्जा सुरक्षाको प्रत्याभूति दिनुका साथै नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा निर्यातक हबका रूपमा विकास गर्ने, विद्युत् उत्पादन र प्रतिव्यक्ति विद्युत् उपभोग दोब्बर बनाउने कार्यक्रम सो दलले आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।
RSS
स्वच्छ ऊर्जा उत्पादन र प्रसारण तथा वितरण प्रणाली निर्माण गर्नका लागि राज्यको लगानी वृद्धि गर्ने एमालेको कार्यक्रम छ । निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् निर्यात गर्न उपयुक्त वातावरण विकास गर्ने एमालेको प्रतिबद्धता छ । जलविद्युत्, सौर्य ऊर्जा र ग्रीन हाइड्रोजनसमेत विकास गरी ऊर्जा आपूर्तिको विश्वसनीय प्रणाली स्थापित गर्ने सो दलको भनाइ छ ।
हिउँदको समयमा समेत विद्युत् आपूर्तिको समस्या नरहनेगरी माथिल्लो अरुण, दूधकोशी र बुढीगण्डकी आयोजनाको कार्यान्वयन गर्ने तथा निजी विद्युत् आयोजना निर्धारित समयमा सम्पन्न गर्ने सबै प्रकारको प्रयास गर्ने सो दलको कार्यक्रममा समावेश छ ।
सुनकोशी–मरिन तथा भेरी बबईजस्ता नदी पथान्तरणका सिँचाइ तथा विद्युत् आयोजना सम्पन्न गर्ने, कृषि, उद्योग, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय र वित्तीय क्षेत्रबाट हुने ऊर्जाको मागलाई प्राथमिकताका साथ आपूर्ति गरिने विषयलाई एमालेले प्राथमितामा राखेको छ ।
कुल गार्हस्थ्य उपभोगमा विद्युत्को खपतलाई प्रोत्साहित गर्ने, तराई, उपत्यका र टारमा डिपबोरिङ तथा लिफ्ट प्रणालीबाट सिँचाइ गर्न आवश्यक विद्युत सेवा सुपथ महसुलमा उपलब्ध गराउने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।
सामुदायिक विद्युतीकरणलाई प्रोत्साहन गर्न सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूको दिगो व्यवस्थापनका लागि मौजुदा नीति, कानुन र नियमलाई पुनरावलोकन गरी जनताको घरदैलोमा दैनिक उपभोगका लागि विद्युतीय सेवालाई सर्वसुलभ बनाउने लक्ष्य निर्धारण गरिएको छ ।
ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योग सञ्चालनका लागि र कृषिको औद्योगिकीकरणका लागि ऊर्जाको समुचित व्यवस्था गर्न सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम एमालेको रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले विशेष प्राथमिकताका साथ ऊर्जा तथा पूर्वाधार विकासलाई आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेको छ । त्यसमा जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत करिडोरको विषय अगाडि सारिएको छ ।
नेकपाले प्रतिव्यक्ति विद्युत् खपत पाँच वर्षमा ७५० किलोवाट घण्टा पुर्याउने विषय समावेश गरेको छ । हाल नै प्रतिव्यक्ति विद्युत् खपत ३८० किलोवाट घण्टाबराबर पुगेको छ ।
त्यसैगरी, विसं २१०० सम्म ४० हजार मेगावाट बिजुली उत्पादन गर्ने दीर्घकालीन लक्ष्य नेकपाले तय गरेको छ । विद्युत् उत्पादनको प्रक्रिया सुरु गर्दा १० हजार जनाले प्रत्यक्ष वा परोक्ष रूपमा रोजगारी पाउने अवस्थामा नेकपाले ऊर्जा क्षेत्रलाई समृद्धिको आधारका रूपमा व्याख्या गरेको छ ।
यस्तै, आगामी पाँच वर्षमा १० हजार मेगावाट बिजुली थप गर्ने लक्ष्य समेत नेकपाको प्रतिबद्धतापत्रमा उल्लेख छ । हाल निर्माणमा रहेका आयोजना, निर्माणमा जान ठिक्क भएका आयोजना र निर्माण सकिने चरणमा रहेका आयोजना जोडिनेबित्तिकै यो लक्ष्य पूरा हुन्छ ।
यस्तै, भारत र बङ्गलादेशमा थप व्यवस्थित तरिकाले बिजुली निर्यात गर्ने नेकपाको प्रतिबद्धतापत्रमा उल्लेख छ । केही कानुनी प्रश्नहरूको तत्काल समाधान गर्ने उल्लेख गरेको नेकपाले समाधान गर्ने र नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागजस्ता संस्थाको नेतृत्वमा कामकाजी मान्छे ल्याउनेबित्तिकै सबैभन्दा देखिनेगरी प्रगति यही ऊर्जा क्षेत्रमा नै हुने देखिन्छ ।
नेकपाले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रतिबद्धतापत्रमा समावेश गरेकाले पनि यो वस्तुनिष्ठ र व्यावहारिक देखिन्छ । उज्यालो नेपालको नेतृत्वकर्ता भएकाले नेकपाको प्रतिबद्धतापत्र अन्यको तुलनामा वैज्ञानिक र कार्यान्वयनमुखी रहेको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गरेको छ । ऊर्जा विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानुनमा सुधार र परिमार्जन गरिनेछ । यस्तै, हाल आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गरी एकल बिन्दु सेवा केन्द्रमार्फत काम हुने वातावरण बनाउने सो दलकोे योजना छ ।
RSS
जलस्रोत नीतिको तयारी गरी लागू गर्ने, पम्प स्टोरेज वा अन्य प्रविधिमा आधारित भण्डारण, वितरण प्रणालीमा निजी क्षेत्रमैत्री वा सहभागितामा काम गर्ने सो दलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तै, सौर्य प्रणालीको विकास र विस्तार, आन्तरिक विद्युत् खपत वृद्धि उद्योगसम्म प्रसारण लाइन विस्तार गर्ने योजना अगाडि सारेको सो दलले ऊर्जामा आधारित ठूला उद्योगको विकास गर्ने लक्ष्य राखेको छ । सिमेन्ट, रासायनिक मल उद्योग, डाटा सर्भर, वितरण प्रणालीमा सुधार गरिनेछ । यस्तै, बिजुलीको महसुलमा पुनर्संरचना, सन् २०३५ सम्म प्रतिव्यक्ति खपत एक हजार ५०० किलोवाट घण्टा पुर्याउने लक्ष्य राखिएको छ ।
ऊर्जा निर्यातका लागि भारत र बङ्गलादेशसँग ऊर्जा कूटनीतिक अवलम्बन गरी अप्लकालीन, मध्यकालीन र दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने सो दलको कार्यक्रम छ । यस्तै, सीमापार प्रसारण लाइनको विस्तार, ऊर्जा बजार पहुँच र स्थिर खरिद बिक्री संरचनामार्फत नेपाललाई विश्वसनीय ऊर्जा आपूर्तिकर्ता बनाउने लक्ष्य सो दलले राखेको छ ।
उज्यालो नेपाल पार्टीले पनि ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्त्वपूर्ण योजना र कार्यक्रम अगाडि सारेको छ । निर्वाचनमा भाग लिन लागेका अधिकांश राजनीतिक दलको प्रतिबद्धतामा ऊर्जा क्षेत्रले विशेष प्राथमिकता पाएको छ । आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा यो क्षेत्र स्थापित हुँदा बेरोजगारीको अन्त्य, आर्थिक विकास र समृद्धिको ढोका खुल्ने जानकारहरूको टिप्पणी छ । यस्तै, केहीले भने कार्यान्वयनको प्रक्रियामा जाँदा के–कसो हुने हो, त्यसलाई मध्यनजर गरेर मात्र यस विषयलाई थप प्रष्ट पार्न सकिने उल्लेख गरेका छन् ।
काठमाडौँ, ८ फागुनः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
लण्डन, ८ फागुन (रासस–एएफपी) । बेलायतका पूवै राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुन् । थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उनलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार दृढताका साथ आफुले कुनै पनि गलत कार्य नगरेको बताउँदै आएका छन् ।
उनको राजकुमार उपाधि गत वर्ष गुमेको थियो । उपाधि अन्त्यसँगै उनले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो । उनलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुल्न सकेको छैन, तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधन देखिएका थिए । उनले विन्डसरमा आफ्नो घर छोडेपछि स्यान्ड्रिङ्घममा बस्दै आएका थिए । तिनीहरू प्रहरीले प्रयोग गरेका प्रहरीको सङ्केत नभएका सवारी साधन भएको विश्वास गरिएको छ।
पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनी माथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ। बिबिसीको रिपोर्टका अनुसार उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो । यसैबीच, थेम्स भ्याली प्रहरीले एन्ड्रयूको गिरफ्तारीपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो अनुसन्धानको एक भागको रूपमा, हामीले आज सार्वजनिक कार्यालयमा दुव्र्यवहारको शङ्कामा नोरफोकबाट ६० वर्ष भन्दा बढी उमेरका एक व्यक्तिलाई पक्राउ गरेका छौँ। बर्कशायर र नोरफोकका ठेगानाहरूमा पनि खोजी भइरहेको छ। ती व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।”
विज्ञप्तिमा भनिएको छ, “हामीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्दैनौँ । कृपया यो पनि ध्यान दिनुहोस् कि यो मुद्दा हाल सक्रिय छ, त्यसैले कुनै पनि प्रकारको प्रकाशन गर्दा अदालतको अवहेलनाबाट बच्न सावधानी अपनाउनु पर्छ।”
सहायक प्रमुख प्रहरी हवल्दार ओलिभर राइटले भने, “विस्तृत मूल्याङ्कन पछि हामीले सार्वजनिक कार्यालयमा दुव्र्यवहारको यस आरोपको अनुसन्धान सुरु गरेका छौँ। “यो महत्त्वपूर्ण छ कि हामी यस कथित अपराधको अनुसन्धानको क्रममा अनुसन्धानको निष्पक्षता र न्यायको रक्षा गर्न हाम्रा साझेदारहरूसँग काम गर्छौँ। हामी बुझ्दछौं, यस मामिलामा सार्वजनिक चासो धेरै उच्च छ, र हामी उपयुक्त समयमा जानकारी साझा गर्नेछौँ।”
काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गरेका छन् । दशौँ निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने बताए ।
निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्नसक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गरे । “राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ”, उनले भने ।
कसैको दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उनले मतदातालाई पनि आह्वान गरे । सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागिएको जानकारी पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सो अवसरमा गराएका थिए । निर्वाचन आचारसंहिता बाहिर गएर प्रचारप्रसार गरे जिल्लाजिल्लामा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने भएकाले सचेत हुन पनि उनले ध्यानाकर्षण गराए । पर्यवेक्षण गर्नेले तोकिएका काम मात्र गनुपर्नेमा आयोगले सचेत गराएको छ ।
धेरै भन्दा धेरै मत खसाल्न लगाउने र खसेका मत सबै सदर गराउने गरी काम गर्न उनले मतदाता शिक्षामा संलग्न स्वयंसेवक, निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैमा अनुरोध गरे । निर्वाचनमा सानो गल्तीले पनि ठूलो समस्या आउन सक्ने भएकाले उच्च मनोबलका साथ सचेत भएर काम गर्नुपर्नेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जोड दिए ।
आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाजिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम भइरहेको जानकारी गराए । निर्वाचन शिक्षासम्बन्धी धेरै विषय आयोगले वेबसाइट र आयोगको आधिकारिक सामाजिक सञ्जालका पृष्ठबाट राखिरहेको पनि उनले उल्लेख गरे ।
अहिले देशभरका छ हजार ७४३ वटै वडामा मतदातालाई शिक्षा दिने काम भइरहेको सचिव राउतले जानकारी दिए । निर्वाचनलाई पारदर्शी बनाउन यसपटक आयोगले खर्च व्यवस्थापन कार्यविधि पारित गरी राजनीतिक दल र उम्मेदवारले पनि निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरेको जानकारी उनले बताए ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक निर्वाचन भएको सम्झनामा आयोगले २०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको जानकारी दिए । पहिलोपटक नागरिकले मत हालेर सार्वभौम भएको दिनको स्मरणमा आयोगले प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउन थालेको उनले बताए ।
काठमाडौँ, ७ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन् । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।
बैठकमा तीनवटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सातवटै प्रदेशका प्रमुख सचिव तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीति कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।
काठमाडौँ, ७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् । एमालेले तत्काल गर्नुुपर्ने ११ काम, पाँच विकासका लागि आधारभूत घोषणा र २५ समृद्धिको स्तम्भ समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणा पत्रमा समेटिएका तत्काल गर्नुपर्ने ११ काम गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा श्रमिकको तलब न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउने उल्लेख छ ।
यस्तै सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म निःशुल्क हरेक महिना १० जीवी इन्टरनेट डाटा, युवा र उद्यमीलाई रु १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।
सूचना प्रविधि र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपभोग गर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउने वाचा गरेको छ । एमालेले वैदेशिक रोजगारमा रहेका श्रमिकले विप्रेषण पठाउनेलाई बंैक खातामा रु पाँच हजार थप गर्ने तत्काल गर्नुपर्ने काममा उल्लेख गरेको छ । प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई रु २० लाखसम्म निव्र्याजी ऋण उपलब्ध गराउने, स्वास्थ्य स्वयंसेविकालाई रु २० हजार भत्ता र सामाजिक सुरक्षा उपलब्ध गराउने एमालेको घोषणा पत्रमा भनिएको छ ।
यस्तै रु २० हजार सुत्केरी भत्ता र रु पाँच लाखसम्मको निःशुल्क जीवन बिमा उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले राज्यद्वारा गरिब परिवारको रुपमा पहिचान भएका घर परिवारले बंैक तथा वित्तीय संस्थाबाट २०८२ भदौसम्म लिएको रु २५ हजारसम्मको ऋण मिनाह गराउने भएको छ । शिक्षकको मर्यादा तोक्ने र सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने, सुरक्षाकर्मीको सम्मान र कल्याणका लागि पेशागत मर्यादा, सेवा सुविधा, सामाजिक सुरक्षा र स्वास्थ्य उपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चिता गर्ने एमाले घोषणापत्रमा उल्लेख गरिएको छ ।
अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब
एमालेले कृषिको उत्पादत्व, विद्युत् उत्पादन क्षमता बढाउँदै, खनिज तथा औद्योगिक उत्पादन र भौतिक पूर्वाधारमा फड्को मार्दै ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर बढाउने घोषणापत्रमा उल्लेख छ । अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र १० वर्षमा रु २०० खर्ब पु¥याउने एमालेको लक्ष्य छ । प्रतिव्यक्ति आम्दानी पाँच वर्षमा करिब तीन हजार अमेरिकी डलर पु¥याउने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । एमालेले दुई वर्षमा सबैको घरमा खानेपानी पु¥याउने वाचा गरेको छ ।
पाँच लाख रोजगारी सिर्जना
एमालेले उच्च आर्थिक वृद्धिबाट वार्षिक चार लाख र सूचना प्रविधिको क्षेत्रसहित लक्षित रोजगार कार्यक्रमबाट थप एक लाख गरी वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने भएको छ । उद्योग क्षेत्रको विस्तार गरेर कूल ग्रार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने, पर्यटन पूर्वाधारको विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा गर्दै पाँच वर्षमा पर्यटकको आगमन दोब्बर बनाउने घोषणापत्रमा उल्लेख छ ।
पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने, सबै स्थानीय तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा नै उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । सबै सडकलाई दुई लेनको बनाउने र एक लेनका सडकलाई दुई लेनको बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।
एमालेले सबै राष्ट्रसँग सम्मानजनक सम्बन्ध राख्दै कुनै पनि राष्ट्रको स्वाधिनता, स्वनिर्णय र भौगोलिक अखण्डतामाथिको अतिक्रमण तथा हस्तक्षेप अस्वीकार गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई, सचिव छविलाल विश्वकर्मालगायत नेता सहभागी थिए ।
काठमाडौँ, ७ फागुनः नेपाली कांग्रेसले विदेशमा बस्ने गैरआवासीय नेपालीहरूका मुद्दालाई प्रष्टसँग प्रतिज्ञापत्रमा उल्लेख गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राजधानीमा आज आयोजित कार्यक्रममा प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रको १७० देखि १७४ पृष्ठसम्म ‘नेपाली डायस्पोराः अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षक दिएर प्रष्ट्याएको छ ।
सुरूमै कांग्रेसले गैरआवासीय नेपाली सङ्घले उठाउँदै आएको ‘एक पटकको नेपाली सधैँको नेपाली’लाई आत्मसात् गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गरेर डायस्पोराका सबै पुस्ताको भावना, ज्ञान, सीप र पुँजीलाई देशको समुन्नतिका लागि जोड्ने उल्लेख गरेको छ ।
“विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो माटोप्रतिको स्नेह बोकेका लाखौँ नेपालीको भावनामा आज ‘विस्तारित नेपाल’ जीवन्त छ । मातृभूमिको सामाजिक, सांस्कृतिक र आर्थिक प्रगतिमा डायस्पोराको योगदान उल्लेखनीय रूपमा बढ्दै गएको वर्तमान अवस्थामा उनीहरूको इज्जत र सम्मानलाई नेपालको समृद्धिसँग जोड्नु अनिवार्य भइसकेको छ”, कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
नेपाली डायस्पोराको प्रमुख माग र भावनालाई कदर गर्दै नागरिकताको निरन्तरतालाई सुनिश्चित गर्नु आजको प्राथमिक आवश्यकता रहेको उल्लेख गरिएको छ । प्रतिज्ञापत्रमा अगाडि भनिएको छ, “गैरआवासीय नेपालीको नागरिकता, पैतृक सम्पत्ति र मतदानको अधिकारलाई कानुनी रूपमै ग्यारेन्टी गर्नका लागि विद्यमान बाधक कानुनलाई परिमार्जन गर्दै एउटा एकीकृत गैरआवासीय नेपाली ऐन ल्याउनुपर्ने देखिन्छ ।”
एनआरएन नागरिकता लिए पनि अहिले उक्त नागरिकता कागजको खोस्टोको रुपमा परिणत भएको चर्चा भइरहेका बेला कांग्रेसले त्यसलाई कामकाजी बनाउन भूमि, अध्यागमन, कम्पनी र श्रमजस्ता क्षेत्रमा रहेका कानुनी जटिलतालाई फुकाएर डायस्पोरालाई नेपाली नागरिकसरहकै सुविधा र सुरक्षा प्रदान गर्ने कुरा उल्लेख गरेको छ ।
त्यसैगरी वर्षौंदेखि नेपालमा गैरआवासीय नेपालीको नोट चल्ने तर भोट नचल्ने विषयको बहस भइरहेका बेला कांग्रेसले विदेशबाट पनि मतदान गर्न पाउनुपर्ने आवाजलाई प्रतिज्ञापत्रमा समेटेको छ । “विशेषगरी सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै विदेशमा रहेका नेपालीलाई त्यहीँबाट मतदान गर्न पाउने व्यवस्थाका लागि निर्वाचन कानुनमा गरिने संशोधनले उनीहरूलाई राष्ट्रिय मूलधारसँग प्रत्यक्ष जोड्नेछ”, प्रतिज्ञापत्रमा उल्लेख छ ।
यसैगरी, नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने कुरालाई पनि प्रतिज्ञापत्रमा सम्बोधन गरिएको छ । “आर्थिक दृष्टिकोणले डायस्पोराको पुँजीलाई नेपालको पूर्वाधार विकासमा जोड्नु राष्ट्रिय अर्थतन्त्रका लागि कोशेढुङ्गा सावित हुन सक्छ । लगानीमैत्री वातावरण सिर्जना गर्न गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा सहज पहुँच पु¥याउने र दोहोरो कर प्रणाली अन्त्यका लागि विभिन्न देशसँग द्विपक्षीय सम्झौता गर्नु आवश्यक छ”, प्रतिज्ञापत्रमा उल्लेख छ ।
केबल आर्थिक रेमिट्यान्स मात्र नभई, विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधि नेपालको विकासका लागि झन महत्वपूर्ण छ । उच्च दक्षता हासिल गरेका नेपाली विज्ञको पहिचान गरी उनीहरूलाई देशको नीतिनिर्माण र अनुसन्धानमा जोड्न नलेज एण्ड इनोभेसन सेन्टर जस्ता संयन्त्रले ठूलो भूमिका खेल्न सक्छन् । डायस्पोराको दोस्रो र तेस्रो पुस्तामा नेपालप्रतिको लगाव र अपनत्व कायम राख्न विशेष सांस्कृतिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कुरामा पनि जोड दिइएको छ ।
“विदेशमा हुर्किएका नेपाली बालबालिकालाई नेपालको भाषा, कला र इतिहास बुझाउन आवासीय समर स्कूलजस्ता अवधारणालाई प्रोत्साहन दिँदै उनीहरूलाई नेपाली खेलकुद र कला क्षेत्रमा सहभागी गराउनुपर्छ । यसका साथै आफ्नो जन्मथलोको विकासमा योगदान दिन चाहने डायस्पोराका लागि सरकार–डायस्पोरा सामुदायिक विकास कोषमार्फत साझेदारी मोडेल अघि सार्नुपर्छ”, प्रतिज्ञापत्रमा उल्लेख छ ।
यदि कुनै गैरआवासीय नेपालीले आफ्नो गाउँमा शिक्षा वा स्वास्थ्य क्षेत्रमा लगानी गरेमा, त्यसमा सरकारले पनि थप रकम उपलब्ध गराएर सहकार्य गर्ने नीतिले मातृभूमिप्रतिको स्नेहलाई थप प्रगाढ बनाउने पनि विश्वास व्यक्त गरिएको छ । प्रतिज्ञापत्रमा नेपाली डायस्पोरा केवल आर्थिक सहयोग गर्ने माध्यम मात्र नभई नेपालको अन्तरराष्ट्रिय प्रतिष्ठा बढाउने र आधुनिक प्रविधि भित्र्याउने बलियो खम्बा रहेको उल्लेख गर्दै उनीहरूको अधिकार सुरक्षित गर्दै र मातृभूमिसँगको भावनात्मक सम्बन्धलाई कानुनी रूपमै कसिलो बनाउँदै लैजाँदा मात्र ‘समुन्नत नेपाल’ को सपना साकार हुने विश्वास व्यक्त गरिएको छ ।
काठमाडौँ, ७ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् । पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आज भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए । तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उनले बताए ।
“विसं २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकैबेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो”, उनले भने, “कांग्रेसले त्यसैका कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनुप¥र्यो । हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो । तर आज पनि नेपालमा जे–जति कुरा आएका छन् त्यसको कथा खोज्दै गयो भने २०५९ साल सुरु गरेकै योजनाको जगमा आएका छन् ।”
पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे । “जननायक बिपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीयस्तरको हुनुपर्छ भनेर सपना देख्नुभयो”, सभापति थापाले भने, “आज हामी हिजो गरेका उपलब्धिप्रति गौरब गर्छौं । हाम्रा ऐतिहासिक मूल्यमान्यतालाई अझै उज्याले बनाउछौँ ।”
विसं २०३३ को अप्ठ्यारा दिनमा सात वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनको भनाइ छ । सभापति थापाले भने, “हाम्रा आफ्ना सङ्घर्षका दिनहरू सम्झन्छौँ । तीस वर्षको पञ्चायती कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झदै हामी अघि बढ्ने छौँ ।” मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनको दाबी छ।
काँक्रेविहार (सुर्खेत), ७ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी ‘वाचापत्र’ आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ ।
‘हामी आयौँ’ परिवर्तन उद्घोष सभामा सार्वजनिक गरिएको वाचापत्र किन कर्णालीमै आएर रास्वपाले सार्वजनिक ग¥यो ? रास्वपाका सभापति रवि लामिछानेले यसको कारण खुलाए । “जब सञ्चारकर्मीका रूपमा रिपोर्टिङ गर्दै, समाचार खोज्दै कर्णाली आएको थिएँ, समाचार बोलेर समाचार बोकेर होइन एउटा अस्पताल दिएर जाने अवसर मैले पाएको थिएँ कालीकोटमा”, उनले भने ।
“त्यही नाताको आधारमा अलिकति हक लगाएर भन्छु कर्णालीबाट बाचापत्र सार्वजनिक गर्नुको पछाडि अर्थ छ”, सभापति लामिछानेले भने, “अर्थात् पछाडि पारिएको कर्णालीलाई अब पछाडि पार्न नदिने वाचासहित आजको वाचापत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो ।”
जोस प्लेटो, नाइजेरिया, ७ फागुन (रासस–एएफपी) । मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको स्थानीय स्रोतले एएफपीलाई जानकारी दिएको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएका छन् । स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले भने, “खानिमा विस्फोट भएको सत्य हो । विस्फोटमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ र अन्य २७ जनालाई अस्पताल लगिएको छ ।“
स्थानीय समयअनुसार बिहान ७ः३० देखि ८ः०० को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए । सानीले टेलिफोनमा एएफपीसँग भने, “हामी घटनास्थल नजिकै बस्छौँ । मानिसहरू खानिको खाल्डोमा थिए र अचानक ग्यास विस्फोट भयो।“ पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ। गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानिमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।
काठमाडौँ, ७ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरिन् ।
सामाजिक सञ्जालमा उनले भनेकी छिन्, “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ । पटकपटक आन्दोलन गर्नुपर्यो । अब त्यस नियतिको अन्त्य गर्नैपर्छ । भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ ।”
आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गरेकी छिन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।
काठमाडौं ७ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।
आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । सो सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछ ।
निर्वाचन आयोगले जारी गरेको उक्त कार्यविधिअनुसार कुनै व्यक्तिको नाम छुटेको वा कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।