Category: समाचार

  • आज प्रजातन्त्र दिवस मनाइदै, राष्ट्रपतिले दिए शुभकामना

    आज प्रजातन्त्र दिवस मनाइदै, राष्ट्रपतिले दिए शुभकामना

    काठमाडौँ, ७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरेका छन् । उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गरेका छन् ।


    शुभकामना सन्देशमा भनिएको छ, “प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।’ राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल पनि गरेका छन् ।


    विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

    लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै उनले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरेका छन् ।

    “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने छ”, शुभकामना सन्देशमा उल्लेख छ,“जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।”

    राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिलसमेत गरेका छन् ।

  • प्रजातन्त्र दिवसमा पूर्वराजाको सन्देश : के भने ?

    प्रजातन्त्र दिवसमा पूर्वराजाको सन्देश : के भने ?

    काठमाडौँ, ७ फागुनः पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याए ।

    पूर्वराजा शाहले भनेका छन् , “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।” एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड छ । उनले निर्वाचनमा जानु अगाडी मुलुकमा रहेका समस्या समाधानमा समेत जोड दिएका छन् ।

  • देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, ७ फागुनः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।


    आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भभागका एकदुई स्थानमा हल्का र वर्षा हिमपातको सम्भावना रहेकाले यातायातका साधन सञ्चालन, कृषिकर्मलगायत अन्य दैनिक गतिविधिमा संग्लन सर्वसाधारण तथा सरोकार भएका सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

  • म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    रासस
    म्याग्दी, ६ फागुनः म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका उम्मेदवारले उक्त विषयलाई चुनावी मुद्दा बनाएका हुन् ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन ऐन, नियम र कार्यविधि संशोधन गर्ने विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी म्याग्दीलाई २१औँ हिमाली जिल्लाका रूपमा सूचीकृत गरेको थियो । ऐन तथा कानुन संशोधन नहुँदा हिमाली जिल्लाको मापदण्डअनुसार सङ्घीय र प्रदेश सरकारले विनियोजन गर्ने बजेट, सञ्चालन गर्ने योजना, स्थानीय तहले पाउने अनुदान, शिक्षक तथा कर्मचारीले सेवासुविधालगायत पाउन सकेका छैनन् ।

    नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीले पाएको हिमाली जिल्लाको मापदण्ड कार्यान्वयन गराएर विकास आयोजना कार्यान्वयन गराउनेदेखि सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउनुपर्ने मुख्य आवश्यकता रहेको बताए । तराई, सहरी र सुगम जिल्लाको मापदण्ड र कार्यविधिका कारण म्याग्दीमा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा असर परेकाले कानुन संशोधन गर्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले जोड दिए ।


    विकास आयोजना कार्यान्वयनमा देखिएको जटिलता, कर्मचारी आउनै नमान्ने, आए पनि सुगम क्षेत्र खोजेर जाने गर्नाले सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्या समाधानका लागि हिमाली जिल्लाको मापदण्ड कार्यान्वयन गराउनुपर्ने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले बताए ।

    सन्तुलित विकासका लागि हिमाली जिल्लाको मापदण्ड कार्यान्वयनमा जोड दिने स्वतन्त्र उम्मेदवार महाविर पुनले उल्लेख गरे । शिक्षक तथा कर्मचारीले हिमाली जिल्लाको मापदण्डअनुसार अतिरिक्त आर्थिक सुविधा र कार्यसम्पादन मूल्याङ्कनको अङ्क नपाउँदा आकर्षित हुन सकेका छैनन् ।

    सुगम ठाउँको मापदण्डलाई आधार मानेर दुर्गम र हिमाली जिल्लाको योजनामा छुट्टाइने र बजेट अपुग हुने भएकाले अलपत्र पर्ने, अधुरा हुने र पूर्णता दिनका लागि नागरिक तथा स्थानीय तहलाई बढी भार पर्दै आएको उम्मेदवारको भनाइ छ । सुविधा र मूल्याङ्कन नहुँदा सरकारी कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव हुने समस्या पनि देखिएको उनीहरुले बताए ।


    हिमाल नजिकका बस्ती पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा वञ्चित भएका धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । धौलागिरि गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगङ्गाको कुइनेमङ्गले, चिमखोला, अन्नपूर्णको नारच्याङ र शिखको भूभाग हिमालसँग जोडिएका छन् ।

    विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै मानापाथी, गुर्जा, चुरेन, पुथा, अन्नपूर्ण प्रथम, बराह शिखर, नीलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीको भूगोलमा समेटिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।
    पैँतालिस वडा र छ स्थानीय तह रहेको म्याग्दीमा आसन्न निर्वाचनका लागि ११ दल र एक जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका भण्डारी, एमालेका श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका थापा र स्वतन्त्र उम्मेदवार पुन मुख्य प्रतिस्पर्धी देखिएका छन् । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायम रहे पनि उनले पुनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।


    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन् । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् भने ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम गरिएका छन् ।

  • क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँः संयोजक दाहाल

    क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँः संयोजक दाहाल

    रुकुमपूर्व, ६ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनतासँगको भेटघाट तथा अन्तरक्रियामा क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए । “रुकुमपूर्व मेरा लागि नयाँ ठाउँ होइन । म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ । रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो । यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ”, उनले भने ।


    संयोजक दाहालले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोका रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए । जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गरे । “कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन् । मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ”, उनले भने । उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे । आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे ।


    उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे । “यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ । देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ”, उनले भने । भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै दाहालले रुकुमपूर्वलाई विकासको नमुना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्‍याए ।

  • ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)

    ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)

    काठमाडौँ, ६ फागुनः आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
    पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मधेस प्रदेशको जनकपुरमा आयोजित प्रतिज्ञासभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
    नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रको पूर्णपाठ

    ‘नेपाली कांग्रेसको ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’

    आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइ, जय नेपाल ।

    नेपाली कांग्रेस ‘जनता जनार्दनको बलमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहने, जीवनलाई सुखी बनाउने कुनै कुराको अभाव नभएको व्यवस्था ल्याउने महान ध्येय बोकेर स्थापना भएको पार्टी हो । युग परिवर्तन भए पनि जनतालाई सम्पन्न र सम्मानित बनाउने सङ्घर्षकालीन इतिहासको त्यही लक्ष्य नै हाम्रो मूल प्रेरणा हो । परिवर्तित समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको नेपाली कांग्रेस विचारमा प्रष्ट र कार्यशैलीमा चुस्त बनेको छ ।

    विगतका थुप्रै ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमीकमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिज्ञाका साथ तपाईको घरदैलोमा आएका छौँ ।

    आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ । यसका निम्ति हामीले हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ तल लिपिबद्ध गरेका छौँ । यो आगामी पाँच वर्षभित्रै हासिल हुनसक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्बिर हो । हाम्रो यो प्रतिज्ञापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रम त्यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइलाहरू हुन् ।

    १. सम्मानित भएर बाँच्न पाउने नेपाल

    हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ । कानुनको परिधिभित्र रही इच्छाअनुसारको काम, पैसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ । देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन् ।

    हामी यस्तो समाजको निर्माण गर्नेछाँै, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त हुनेछ । वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानका आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ ।

    जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सृजना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्नसक्ने साझा घर र सहिष्णु समाज बनाउने छौँ ।

    २. सपना देख्नसक्ने नेपाल

    हाम्रो परिकल्पनाको नेपाल प्रगति र उन्नतिको सपना देखे नागरिकहरूको देश हुनेछ । दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुनेछन् । राष्ट्रिय नवनिर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन् ।

    उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सृजनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ । हाम्रो राज्य प्रवास रहेर पौरख र सामथ्र्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ । संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सीप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ । हाम्रो देश विदेशिएका नेपालीलाई ‘फर्कन रहर लाग्ने र स्वदेशमा रहेकालाई यहीँ सुनौलो भविष्य देखिने’ जीवन्त देश हुनेछ ।

    ३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल

    आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ । सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ । साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आयआर्जन गर्नसक्ने गरी सक्षम बनाउनेछ ।

    अमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ । राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ ।

    ४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

    राम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि सा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई पहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिचतासमेत पाउनेछन् ।

    उहाँहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, मार भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड बनाउने भिजन बोकेका कृषि–उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।

    ५. ओखती र ओत दिने नेपाल

    हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले ‘कसरी उपचार गर्ने’ र ‘अस्पतालको शुल्क कसरी तिर्ने’ भन्ने डरबाट नागरिकहरू मुक्त हुनेछन् ।

    स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ ।

    ६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

    हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन ।

    शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन् । प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् ।

    जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्नसक्ने बनाउनेछ ।

    ७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

    आमनागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानुनको नजरमा समान हुनेछन् । ‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् ।

    अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति बफादार नागरिकहरू नियुक्त हुनेछन् ।

    राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपाल’ को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउनेछन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्नसक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।

    ८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

    हाम्रो विविधता र विशिष्टता नै नेपालको मौलिक पहिचान हो । नेपालका हिमाल, पहाड र मधेसमा बस्ने सबै जातजाति, उनीहरूले बोल्ने भाषा, मान्ने धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुनेछ । हाम्रो परिकल्पनाको नेपालमा यी सबै विविधता र विशिष्टताहरूको समान रूपमा सम्मान र सम्वद्र्धन हुनेछ ।

    यिनै विविधता र विशिष्टताको जगमा उभिएर हामी आधुनिकतासँग कुममा कुम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौँ । विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ ।

    ९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

    हाम्रो परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित्त हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिनेछ ।

    हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाउनेछ ।

    हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौँ । हामी यस्तो नेपाल बनाउने छौ, जहाँको राहदानीलाई अरूले सम्मान गरून् र हामीले सदैव गर्व गर्न सकौँ ।

    १०. समुन्नतिमा लम्कने नेपाल

    हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ । सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आइटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको दूत विकास हुनेछ । हिमाल, नदी, वनजङ्गलजस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन् । हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुनेछ, जसले अन्तरराष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्नेछ ।

    हाम्रो परिणाममुखी लोकतन्त्रमा सरकार सत्ताको निरन्तरतामा होइन, जनजीवनमा देखिने प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित हुनेछ । देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता रहनेछ । समुन्नतिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने अवस्था सुनिश्चित हुनेछ ।

    सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयत्नबाट निर्माण हुने समुन्नत नेपालमा जातीय, भाषिक, क्षेत्रीयलगायतका विविधताको जोडबाट नयाँ भाव सृजना भई नेपाली राष्ट्रियता सुदृढ र सवल हुनेछ ।

  • प्रतिज्ञापत्रबारे सभापति थापासँग बिहीबार खुला प्रश्नोत्तर

    प्रतिज्ञापत्रबारे सभापति थापासँग बिहीबार खुला प्रश्नोत्तर

    पाटन (ललितपुर) । ६ फागुनः नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । आज जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका छन् ।

    बिहिबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिए । सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको सङ्क्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता चालिसेले बताए ।


    “नेपाली कांग्रेसले आज मधेसको राजधानी जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौँमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ, देशविदेशबाट प्रत्यक्ष रूपमा आफ्नो प्रश्न राख्न सकिनेछ, सभापतिज्यूले त्यसको जवाफ दिनुहुन्छ”, उनले भने ।
    प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए । कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ ।

    कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ । प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आमनागरिकले प्रश्नहरू गर्न र जिज्ञासा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो ।

  • देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा सभापति लामिछाने

    देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा सभापति लामिछाने

    कैलाली, ६ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताएका छन् । रास्वपाले आज धनगढीमा आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले रास्वपाले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाइ जनतालाई अधिकार सम्पन्न बनाउने बताए ।

    “हामी कसैको राजनीतिक आकांक्षा ठूलो कुरा होइन”, उनले भने, “देशको राजनीतिक आंकाक्षा केन्द्रमा राखेर यस हामी पटक निर्वाचनमा आएका हौँ ।”राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गरे ।

    सोही कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिम र देश बनाउने जिम्मा अब राष्ट्रिय स्वतन्त्र पाटीको काँधमा आएको बताए । निर्वाचनबाट यदि ठूलो दल बनेर सरकारमा जान सकेमा नेपालीको सपना साकार पार्ने उनको भनाइ थियो । वरिष्ठ नेता शाहले गरिब तथा विपन्न वर्गले प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्यलगायतका विषयहरूनै पार्टीको एजेन्डा रहेको उल्लेख गरे ।

  • देशमा सुशासन स्थापना गर्ने सभापति थापाको प्रतिज्ञा

    देशमा सुशासन स्थापना गर्ने सभापति थापाको प्रतिज्ञा

    काठमाडौँ, ६ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा आज आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको दाबी गरे । सभापति थापाले भने, “मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ । आट लिएको छ । अब मधेसले देशको सङ्घीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।”

    उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परिवर्तिन गर्नुपर्ने बताए । उनले भने, “मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेसका शिक्षकले पढाएका हुन् । उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेसको शिक्षा, स्वास्थ्य र बिमाको अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावर्यावरणको अवस्था भयावह छ । खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ ।”

    सभापति थापाले सिङ्गो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने मधेस बनाउने कांग्रेसले प्रतिज्ञा गरेको बताए । उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने उल्लेख गरे । सभापति थापाले भने, “अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ ।”

    सभापति थापाले मधेसको वित्तीय संरचना खल्बलिएकाले यहाँका सहकारी ठगलाई तह लगाउन कांग्रेस मधेस आएको बताए । “यहाँको वित्तीय संस्था खल्बलिएको छ”, उनले भने, “सहकारी ठगको बिगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेस झरेको छु ।” सभापति थापाले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी बनाउने रहेको बताएका छन् ।

    उनले भने “मैले यहाँका युवाको क्रिकेटको सपना पूरा गर्न चाहन्छु ।” उनले आफू मधेसको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेसमा आएको बताए । कांग्रेस पखालिएर जनविश्वास लिन मधेस आएको सभापति थापाले बताए । “अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएक छौँ । देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाको सपना पूरा गर्न र युवाहरूको साँझा पार्टी बनाउन आएको हुँ”, उनले भने ।

  • बहत्तर वर्षमा भुजेललाई नागरिकता

    बहत्तर वर्षमा भुजेललाई नागरिकता

    दमौली (तनहुँ), ६ फागुनः बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक उहाँलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।

  • एक दिनमै देशभर १५ स्थानमा आगलागीका घटना

    एक दिनमै देशभर १५ स्थानमा आगलागीका घटना

    काठमाडौँ ६ फागुनः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलानीका घटना भएको पाइएको छ ।

    प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङजामा दुई÷दुई वटा आगलागीका घटना भएका छन् । यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ । संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए । त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ । विपदमा परेर छ जना घाइते भए भने रु ३४ लाख १२ हजार बराबरको क्षति भएको छ । प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने भएकाले आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ ।

  • स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    काठमाडौँ, ६ फागुन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने बताए । “समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ”, कार्यकारी निर्देशक पन्थीले भने ।


    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिइ पात्रो तथा क्यालेण्डर प्रकाशन गरे रु १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिइ पात्रो वा क्यालेण्डर प्रकाशन गरेको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ ।

    कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशन गर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताए । बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरण गर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने हुन्छ ।

    समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तय गरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेण्डरको स्वीकृतिका लागि रु दुई हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेण्डरको स्वीकृतिका लागि रु पाँच हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेण्डर स्वीकृतिमा रु १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

  • निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

    निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

    काठमाडौँ, ६ फागुनः निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरे । उनले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चार माध्यमहरुलाई आग्रह गरे ।


    उनले भने, ‘‘हालैका केही अभ्यासहरु, जसमा मतदान हुनुअघि नै मतदाताहरुको कुराकानीलाई आधार बनाएर हारजीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ । त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।” निर्वाचन आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारहरुलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पु¥याउन काम नगर्न आयोगले अनुरोध गरेको छ ।

    प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भुमिका निर्वाह गरिदिन आयोगले विशेष आग्रह गर्दै आएको छ । प्रविधिले सूचना प्रवाहमा सहजता ल्याएपनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न आयोगले ध्यानाकर्षण गराएको छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा हरेकले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने आयोगको धारणा छ ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

  • सार्वजनिक बिदामा राहदानी विभाग आंशिक खुला

    सार्वजनिक बिदामा राहदानी विभाग आंशिक खुला

    काठमाडौँ, ६ फागुन । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ ।

    दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।

  • बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्रीद्वारा नेपालमा निर्वाचनको सफलताको कामना

    बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्रीद्वारा नेपालमा निर्वाचनको सफलताको कामना

    काठमाडौँ, ६ फागुन । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

    त्यस अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्री भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गरे । सन्देशमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनाका साथ उहाँसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए ।


    उक्त दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले निर्वाचन सफलतापूर्वक सञ्चालन गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाई ज्ञापन गरे । प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेश सरकार र जनताप्रति दर्शाइएको सद्भाव र एकता प्रतिबिम्बित गरेको बताए ।


    नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारेमा छलफल गरेका थिए । त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशको नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा पनि सहभागी थिए ।

    साथै उनले बङ्गलादेश जमत‑ए‑इस्लामीका नेता तथा शफिकुर रहमानसँग पनि भेटवार्ता गरेका छन् । उक्त भेटमा उनीहरुबीच द्विपक्षीय सहकार्यका मुख्य क्षेत्रमा विचारविमर्श गरेका थिए । परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन उहाँ गत सोमबार ढाका प्रस्थान गरेका थिए ।

  • पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

    पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

    कास्की, ५ फागुनः कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक राखिएको छ । ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेमजा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।

    धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो । उद्यान निर्माणका लागि समाजको रु २६ लाख र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी रु ४० लाख खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनले भने, “धम्पुस आफैँमा पर्यटकीय गाउँ हो । यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्देश्यले हामीले पार्क बनाएका हौँ ।”

    धम्पुस र बेलायतको ब्रेकन सहरबीचको भगिनी सम्बन्ध स्थापनाको सातौँ वर्ष पुगेको छ । सोही अवसरमा हालै उद्यान औपचारिक उद्घाटन गरेर खुला गरिएको हो । धम्पुसबाट उत्तरतर्फ आँखै अगाडि देखिने अन्नपूर्णलगायतका हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ । उद्यान निर्माणपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको माछापुच्छ«–७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले बताए ।
    वडाध्यक्ष भण्डारीले भने, “पार्क निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको छ ।

    यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुनेछ भने धम्पुस र ब्रेकनको सम्बन्धलाई पनि थप प्रगाढ बनाउने छ ।” पोखरादेखि २० किमी दूरीमा धम्पुस गाउँ पुगिन्छ । पोखरा–बाग्लुङ राजमार्गको घट्टेखोलाबाट धम्पुस जान सकिन्छ । धम्पुस विश्वप्रख्यात मर्र्दी हिमाल पदयात्राको प्रवेशद्धार पनि हो । धम्पुस हुँदै वार्षिक हजारौँ पर्यटकले मर्दीको पदयात्रा गर्ने गर्दछन् ।

  • लन्डनस्थित दूतावासमा मनाइयो २६३ औँ नेपाली सेना दिवस

    लन्डनस्थित दूतावासमा मनाइयो २६३ औँ नेपाली सेना दिवस

    बेलायत, ५ फागुनः ब्रिटिश सेनाका चिफअफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सिबिइले नेपाली सेना विश्व प्रतिष्ठित संस्था भएको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासमा २६३औँं नेपाली सेना दिवसका अवसरमा सोमबार साँझ आयोजित विशेष समारोहका प्रमुख अतिथिका रुपमा बोसवेलले नेपाली सेना गर्विलो इतिहास र उत्कृष्टताका कारण विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्था रहेको बताए ।

    संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा असाधारण योगदान दिँदै नेपाली शान्ति सेनाले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा कमाएको उनको भनाइ छ । उनले संयुक्त अधिराज्यको वेल्समा आयोजित विश्वकै कठिन अभ्यास ‘क्याम्ब्रियन पट्रोल एक्सरसाइज–२०२५’ मा नेपाली सेनाले स्वर्ण पदक जितेकामा प्रशंसा गरे ।


    उनले ब्रिटिस गोर्खा सैनिक पनि बहादुरी, बफादारी र व्यावसायिकताको उदाहरण बनेको उल्लेख गर्दै दुई सेनाबीचको साझेदारी संयुक्त तालिम र शिक्षा, विपद् प्रतिक्रिया सहयोग, व्यावसायिक आदानप्रदान, शान्ति, स्थिरता र अन्तरराष्ट्रिय नियम–आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत अगाडि बढेको बताए ।

    कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली सेनाको गौरवशाली इतिहास र सेनाले राष्ट्रका लागि हासिल गरेका महत्वपूर्ण उपलब्धि स्मरण गर्दै, नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनादेखि विभिन्न सैन्य गतिविधिमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।


    कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत मन्तव्य दिँदै नेपाली सेनाले रणनीतिक नीतिको कार्यान्वयन, राष्ट्र निर्माण प्रयास प्रवद्र्धन र सन्तुलित सैन्य कूटनीतिमा संलग्न हुँदै आफ्नो सम्मानित स्थान कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । सो कार्यक्रममा बेलायतस्थित नेपाली डायस्पोराका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका १०० बढीको सहभागिता रहेको थियो ।

  • विश्वकप क्रिकेट : नेपालको सान्त्वना जितमा चम्किए दीपेन्द्र र सोमपाल

    विश्वकप क्रिकेट : नेपालको सान्त्वना जितमा चम्किए दीपेन्द्र र सोमपाल

    ५ फागुन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध सान्त्वना जित निकालेको छ । मंगलबार भारतको मुम्बईस्थित वानखडे स्टेडियममा समूह चरणको अन्तिम खेलमा दुई एशोसिएट राष्ट्र नेपाल र स्कटल्याण्ड भिडेका थिए । नेपालको जितमा बलिङमा सोमपाल कामी र ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी चम्किए ।

    दुबै टोली प्रतियोगिताबाट बाहिरी सकेका कारण आजको खेल प्रतिष्ठाका लागि मात्र थियो । नेपालले १७१ रनको लक्ष्य ३ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा भेट्टायो । दीपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक बनाए । स्कटल्याण्डमाथि ७ विकेटको जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जितको स्वाद समेत चाखेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई हराएको थियो ।


    यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।

    आजको खेलमा दीपेन्द्रले २३ बलमा ५० रन जोडे । यो प्रतियोगितामा उनले लगातार दुई अर्धशतक प्रहार गरे । कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन बनाए । बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।

    स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए ।

  • गैँडा गणना आगामी चैतमा गरिँदै

    गैँडा गणना आगामी चैतमा गरिँदै

    चितवन, ५ फागुनः बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैत लागेसँगै गणना गर्ने तयारी गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक चार÷चार वर्षको अन्तरमा गर्दै आएको गैँडा गणना गतवर्ष रोकिएको थियो । यसवर्ष बाघ गणनासमेत गर्ने वर्ष परेकाले फरक विधिबाट गैँडा गणना गर्न लागिएको हो । कम खर्च र कम समयमा गर्ने गरी फरकविधि अपनाएर गणना गर्ने तयारी गरिएको जनाइएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस अघिका वर्षमा ब्लक छुट्याएर एकै साथ ठूलो सङ्ख्यामा हात्ती र मानवीय जनशक्तिको प्रयोग गरेर गैँडा गणना गरिँदै आएको थियो । यसरी गैँडा गणना गर्दा लामो समय र खर्च लाग्ने भएकाले यसवर्ष फरक विधि अपनाउन लागिएको हो । आचार्यले दुईवटा विधिमध्ये कुन विधि अपनाउने भन्ने बारेमा केही दिनमा टुङ्गोमा पुग्ने बताउनुभयो । आनुवंशिक विधिबाट गैँडा गणना गर्दा वैज्ञानिक र दीर्घकालीन दृष्टिले उत्तम हुने उहाँको भनाइ छ । नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ ।

    विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने उनको भनाइ छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो र जोखिमपूर्ण हुने गर्छ । आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारीमा खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता समय लाग्ने गर्दछ । त्यसमा ठूलो सङ्ख्यामा हात्ती लगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए ।


    आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने उहाँले बताउनुभयो । त्यसैगरी आनुवंशिक वा हरेकको पहिचानको आधारमा आइडीबेसमा गणना गर्ने विषयमा बहस भइरहेको छ । यो विधि पनि उत्तम विधि मानिन्छ । जसमा निकुञ्जलाई ब्लकमा विभाजन गरेर त्यसभित्र गैँडाको हुलियाको आधारमा गणना गरिन्छ ।

    आचार्यका अनुसार गैँडाको आँखा, नाक, छालाको फोल्डिङ्, छालाको चोट, धब्बालगायत हेरेर गणना गर्ने गरिन्छ । बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा सहजै गणना गर्न सकिने भए पनि चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या धेरै भएकाले गणनामा कठिनाइ हुने गर्छ । यस निकुञ्जलाई विगतमा १८ वटा ब्लकमा विभाजन गरेर गणना गर्ने गरिएको थियो । नयाँ विधि अपनाउने भएमा सोही ब्लक वा फरक बनाएर पनि गणना गर्न सकिने आचार्यले बताउनुभयो । पुरानो विधिबाट गर्दा एउटै टोलीले सबै ठाउँमा गणना गर्छ भने नयाँ विधिबाट गर्दा ब्लक–ब्लकमा फरक टोलीले गणना गर्ने गर्दछ ।

    गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि गैँडा गणना रोकिएको थियो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको हो । सन् २०२१ को गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान गरिन्छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाको सङ्ख्या वृद्धि भएर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो ।

  • काठमाडौंको सडकमा कारबाट झरेर पैदल यात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

    काठमाडौंको सडकमा कारबाट झरेर पैदल यात्रुलाई हातपात गर्ने पक्राउ, सात दिन म्याद थप

    काठमाडौँ, ५ फागुनः काठमाडौँमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति हाल बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षका पारस बम रहेको र उनलाई नियन्त्रणमा लिइएको बताए ।


    अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई हातपात गरेका भिडियोमा देखिन्छ ।

    नारायणगोपाल चोकस्थित सडकखण्डमा बा३च ११०३ नं को निजी जिप चालकले सार्वजनिकस्थलमा पैदलयात्रीलाई हातपात तथा दुव्र्यव्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो । उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

  • मुस्ताङमा महिलाको हत्या श्रीमानले गरेको पुष्टी

    मुस्ताङमा महिलाको हत्या श्रीमानले गरेको पुष्टी

    मुस्ताङ, ५, फागुन । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका—५ स्थायी घर भई मुस्ताङको घरपझोङ—२ मार्फा स्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो ।

    सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतिको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ । हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए ।

  • नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

    नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौँ, ५ फागुन । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौतापत्रमा हस्ताक्षर गरे । सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज ३० गते उक्त सम्झौता गर्ने निर्णय गरेअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए ।


    सो सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण सङ्कलन तथा आदानप्रदानलगायत विषयमा दुवै मुलुकका सक्षम अधिकारीबीच सहयोग आदानप्रदान गर्न विधिवत् मार्गप्रशस्त गर्ने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । सम्झौताले विधिको शासन सुदृढीकरण गर्न तथा न्याय प्रशासनमा संस्थागत समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ छ । उनले सम्झौताको कार्यान्वयनसँगै दुवै देशका केन्द्रीय अधिकारीहरूबीच सहकार्य अझ सबल एवं परिणाममुखी हुने अपेक्षा बताए ।


    प्रवक्ता अधिकारीले सम्झौताले नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा सावित हुने उल्लेख गरे । सो सम्झौताले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्नेसम्बन्धी पारस्परिक मूल्याङ्कनमा थप मद्दत पु¥याउने अपेक्षा गरिएको छ । समारोहमा मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

  • सही व्यक्तिलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

    सही व्यक्तिलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

    कञ्चनपुर, ५ फागुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गलत व्यक्तिलाई मतदान गर्दा देशले दीर्घकालीन दुःख भोग्नुपर्ने भएकाले सही व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतदातालाई गम्भीर र सचेत भएर मतदान गर्न उनले आग्रह गरे । “मतदान सामान्य प्रक्रिया होइन, यो भविष्य निर्माण गर्ने निर्णय हो,” उनले भने, “जनता सार्वभौम सत्ताका मालिक भएकाले आफ्नो मत प्रयोग गर्दा हजार पटक सोच्नुपर्छ ।”

    उनले देश हाल भू–राजनीतिक चक्रब्यूहमा फसेको उल्लेख गर्दै राष्ट्रिय हित केन्द्रमा राखेर नयाँ समझदारी र स्पष्ट दिशाको आवश्यकता औँल्या्रए । सबै राजनीतिक दललाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न आग्रह गर्दै उनले देश जोगाउने शक्ति कुन दलसँग छ भन्ने विवेकपूर्ण निर्णय गर्न मतदातासँग अपिल गरे । राजा र राजनीतिक शक्तिबीच सहकार्य भए मात्र देश सुरक्षित रहनसक्ने उनको दाबी थियो ।

    अध्यक्ष लिङ्देनले युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । “आमा–बुवा र परिवार छाडेर युवाहरू विदेश जानुपरेको अवस्था अन्त्य गर्न सकिन्छ,” उनले भने, “दृढ इच्छाशक्ति र सही नीति भए पाँच वर्षमै देशको मुहार फेर्न सकिन्छ ।” देशको वर्तमान अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले बढ्दो वैदेशिक ऋण र कमजोर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

    राष्ट्रको सुरक्षा र स्वाधीनताको रक्षा गर्न राप्रपालाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ मतदान गर्न उनले आग्रह गरे । यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तीर्थराज चटौतले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । विजयी भए राज्यबाट पाउने कुनै पनि सेवा–सुविधा नलिने घोषणा गर्दै उनले स्वच्छ राजनीति र पारदर्शीताको अभ्यास गर्ने प्रतिबद्धता जनाए ।

  • स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पायो

    स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पायो

    काठमाडौँ, ५ फागुनः आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ । भारतको मुमबईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो ।

    स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिए । त्यस्तै, जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक÷एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

    जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

    काभ्रेपलाञ्चोक, ५ फागुन । जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा यहाँको रोशी गाउँपालिका–३ स्थित साझाकोटमा विद्यालय भवन निर्माण गरिएको छ । भीमसेन प्राथमिक विद्यालयको नवनिर्मित एकतले तीनकोठे पक्की भवनको गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा उद्घाटन गरे ।

    जर्मनीको ओच्सेहौसेन ग्याम्नासुम हाइस्कुलका करिब ७०० विद्यार्थीबाट उपलब्ध रु ३१ लाख ७७ हजार ३०० सहयोगले उक्त भवन निर्माण भएको हो । विद्यार्थीले प्राचार्य इल्की रेमार्फत हिमालयन परियोजनामा दिइएको उक्त रकमले विद्यालय भवन निर्माण गर्न सकिएको हुसेनले बताए । विद्यालय भवन निर्माणका लागि हिमाली गाउँ संरक्षण नेपालले परियोजनासँग समन्वय गरेको थियो ।

    स्थानीय टङ्कबहादुर राउत र दमाइसिं तामाङले दान गर्नुभएको जग्गामा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक मनिका राउतले जानकारी दिए । यस्तै कार्यक्रममा उक्त परियोजनाले विद्यालयलाई एक थान ल्यापटप कम्प्युटर सहयोग गरेको छ । सो अवसरमा अध्यक्ष लामाले नवनिर्मित भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको र विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।


    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर लामा, वडा नं ५ का अध्यक्ष निरध्वज लामा, वडा नं ३ का अध्यक्ष धनजित लामा, स्थानीय समाजसेवी टुल्कु लामालगायतले विद्यालयमा थप शैक्षिक गुणस्तरका लागि शुभकामना व्यक्त गरे । सो अवसरमा जग्गादाता राउत र तामाङलाई सम्मान गरिएको थियो ।

  • पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    वीरगन्ज (पर्सा), ५ फागुन । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए ।

    गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए । सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट रु २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ ।

  • म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

    म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

    म्याग्दी, ५ फागुन : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान–पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ–मराङ–बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट,म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।

    जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति गर्ने पछिल्ला तीन वटा चुनावी प्रतिबद्धता पूरा गरेका राजनीतिक दलले राहुघाट र म्याग्दी करिडोरको समग्र विकासका लागि राहुघाट(म्याग्दी चक्रपथ र ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गका वैकल्पिक मार्ग बनाउनुपर्ने विषयलाई चुनावी मुद्दा बनाएका हुन् ।

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दी भएर ढोरपाटन हुँदै पूर्वीरुकुम पुग्ने सडक ६५ देखि ७० किलोमिटर छोटो पर्ने भएकाले वैकल्पिक सडक बनाउन सकेमा पर्यटन, सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले बताए ।

    बेनी–जोमसोम–कोरला सडक सहज हुँदा म्याग्दी हँुदै मुस्ताङमा वार्षिक आठ लाखभन्दा बढी पर्यटक आवतजावत गर्दा त्यसको लाभ जिल्लाले पाउन थालेकाले पश्चिमी र राहुघाट क्षेत्रमा पनि सडक यातायातको पूर्वाधारलाई सहज बनाउनसकेमा बसाइँसराइ रोकिने, रोजगारी सिर्जना हुने र आयआर्जन वृद्धिमा सहयोग पुग्ने नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले बताए ।


    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले सडक पूर्वाधार विकासको मुख्य आधार भएकाले नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा रणनीतिक महत्वका सडक योजनालाई प्राथमिकता दिने उल्लेख गरे । बेनीबाट ७५ किलोमिटरको दूरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरि गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रूपमा लिएका हुन् ।

    हाल प्रयोगमा आइरहेको बागलुङबाट ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ । बेनीबाट विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनी–मुना–खोरिया–मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग यसैवर्ष खुलेको हो । पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्ने भएकाले मुना–ढोरपाटन खण्डको स्तरोन्नति र ढोरपाटन पूर्वीरुकुम मार्ग खुलाउने विषय म्याग्दीको साझा मुद्दा बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले बताए ।

    प्रदेश सरकारले दरबाङबाट ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा उम्मेदवारले साझा मुद्दा बनाएका हुन् ।

    पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिकलगायत अवसर छन् ।

  • सुगमका भन्दा दुर्गमका अधिकांश उम्मेदवारले खोले बैंक खाता

    सुगमका भन्दा दुर्गमका अधिकांश उम्मेदवारले खोले बैंक खाता

    बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
    काठमाडौँ, ५ फागुनः निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ ।

    सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिए ।


    निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बंैकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ ।

    आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको स्पष्ट पारेको छ । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता नखोलेका बताए । नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् ।

    राजनीतिक दल र उम्मेदवारले रु २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो । सो छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका थिए । बैंकसँगको छलफलमा हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी दिएका थिए ।

  • पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

    पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

    काठमाडौँ, ५ फागुनः महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गर्नुभएका दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिए ।

    बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए । नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ ।

    पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आई बसेका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिए । “पहिले पशुपतिमा नागाबाबा र साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट दक्षिणासहित बिदाइ गरिन्थ्यो ।

    कोत पर्वमा मारिएका सबैलाई कालमोचनघाटमा जलाइएकाले शिवरात्रिमा धेरै साधुसन्तलाई यहाँबाट बिदाइ गर्दा मृतआत्माले शान्ति पाउँछ भन्ने विश्वासका साथ कालमोचनघाटबाट बिदाइ गर्ने गरिएको थियो । अहिले त्यो परम्परा हटेको छ । हाल पशुपतिको पश्चिम मूल ढोकाबाट नागा बाबा र साधुसन्तलाई बिदाइ गर्न थालिएको छ”, उनले भने ।


    पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ ।
    पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो ।

    “कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको छ”, कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भने, “कोषले रु पाँच हजार एक २० साधुलाई, रु एक हजार एक दुई सय साधुलाई, रु ७०१ एक हजार साधुलाई, रु ५०१ एक हजार साधुलाई, रु ३०१ एक हजार तीन सय साधुलाई, रु २०१ जोगी सबैलाई र लाइनमा बस्ने जति सबैलाई रु १०१ दक्षिणास्वरुप दिनेछ”। साधुलाई दान दक्षिणाका लागि रु आठ लाख बजेट कोषले छुट्याएको उनले जानकारी दिए ।

    कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनलाई रु सात लाखको ५० हजार किलो दाउरा किनिएको संस्थानका उपप्रशासक पाण्डेले बताए ।


    भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी रु १५ करोड पुगिसकेको पनि कोषले जनाएको छ ।

    पशुपतिमा फोहरको डङ्गुर

    शिवरात्रीको मेलापछि पशुपति क्षेत्र भने फोहरको डङ्गुरले भरिएको छ । करोडौँको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहिसक्नुभएका स्थानीयवासी गोपालप्रसाद सुवेदीले बताए । “कोषले राम्रो व्यवस्थापन गर्न सकेको भए पशुपति क्षेत्रमा फोहर बसिरहने थिएन”, उनले भने ।

    फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आएकी दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताइन् । हजारौँ कर्मचारी भएको कोषले फोहर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आमभक्तजनको गुनासो रहेको छ ।

    कोषका सदस्य सचिव डा टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताए ।

    rss


    नागाबाबा हेर्नेको घुइँचो

    शिवरात्रिका लागि पशुपतिमा नागाबाबाको आगमन हुन थालेपछि फागुन कृष्ण एकादशीदेखि हेर्न आउनेको घुइँचो लागेको छ । शिवरात्रि अगाडिका दुई दिन र शिवरात्रि पछिका दुई दिन पशुपतिमा नागाबाबा रहने भएकाले हेर्न आउनेको घुइँचो लागेको हो । नागाबाबालाई हेर्न आउनेमा अन्य व्यक्तिका अतिरिक्त क्याम्पस अध्ययन गर्ने छात्रछात्राको सङ्ख्या पनि उल्लेख्य देखिएका मन्दिर परिसरमा पूजापाठ गर्र्दै आउनुभएका पण्डित सुन्दर शर्मा कुइँकेलले बताए ।

    क्याम्पसको पोशाकमा आउने गरेका छात्रछात्रा शिवरात्रिका अवसरमा पशुपति मन्दिरभित्रै छिर्ने गरेका छन् । शिवरात्रि अगाडि आफ्ना साथीसँग पशुपति बाहिर घुम्ने छात्रछात्रा शिवरात्रिका अवसरमा भने भित्रै छिरेर नागाबाबाको दर्शन गरेका उनको भनाइ छ । भारत वनारसबाट आउनुभएका सन्त स्वामी महेशानन्दले नेपालमा रहेको पशुपतिनाथ मन्दिर भारतका विभिन्न स्थानमा रहेका द्वादश ज्योतिर्लिङ्गको पनि शिर भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताए ।