Category: समाचार

  • आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

    आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

    काठमाडौँ, ५ फागुन : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेको मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने

    कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेको मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने

    रासस
    गण्डकी, ४ फागुनः कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका लागि अदालतमा दिएको निवेदनमाथि सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा तत्काललाई ‘होल्ड’ गर्ने आदेश गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
    महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरूद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो । जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयका विषयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले सर्वोच्च अदालतबाट आउने आदेशपछि मात्र जिल्ला अदालतले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    “मुद्दा फिर्ता गर्ने वा नगर्ने भन्ने आदेश भएको होइन, यो विषयमा सर्वोच्चमा पनि रिट परेकाले सर्वोच्चको आदेश नआउञ्जेलसम्म होल्डमा राख्ने कुनै प्रक्रिया अगाडि नबढाउने आदेश भएको हो”, स्रेस्तेदार खनालले भने । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछाने प्रतिवादी रहेको सहकारी ठगी मुद्दा यथावत राख्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

  • बंगलादेशका नयाँ प्रधानमन्त्रीको सथपमा भाग लिन परराष्ट्रमन्त्री ढाका जाने

    बंगलादेशका नयाँ प्रधानमन्त्रीको सथपमा भाग लिन परराष्ट्रमन्त्री ढाका जाने

    काठमाडौँ, ४ फागुनः परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ । परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनेछन् । उनी फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी

    पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी

    काठमाडौँ, ४ फागुनः नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आज भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे ।


    यस समझदारीले संयुक्त पर्यटन प्रवद्र्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदानप्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदानप्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दिगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानदेखि गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमण स्वागतयोग्य कदम रहेको उल्लेख गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

    “दुवै देशले सांस्कृतिक विषयलाई उच्च महत्व दिएका छन् । ७० वर्षे कूटनीतिक सम्बन्धको सन्दर्भमा भएको यो सहकार्यले दिगो पर्यटनलाई बलियो आधार प्रदान गर्नेछ”, उनले भने । त्यसैगरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । “नेपाल र जापानबीच लामो समयदेखिको सम्बन्ध छ । हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल नेपालका लागि बजार विविधीकरणका लागि यो समझदारी यो उपयुक्त समय हो”, उनले भने।

    वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । “इतिहास र संस्कृतिले समृद्ध नेपालसँग समझदारी गर्न पाउँदा हामी खुसी छौँ । यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास लिएको छु”, उनले भने,
    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जापानलाई नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब आठ प्रतिशत वृद्धि भएको जानकारी दिए ।

    समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ । सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ । कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

  • नेपालद्धारा म्यान्मारलाई सहायता रकम हस्तान्तरण

    नेपालद्धारा म्यान्मारलाई सहायता रकम हस्तान्तरण

    काठमाडौँ, ४ फागुनः नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभएको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

    साथै उनले गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरे । गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिक स्थल हो । साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ ।

  • राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

    राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

    काठमाडौँ, ४ फागुनः नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंक ऐन तथा बैंक वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनविपरीत काम गरेको आरोपमा एनआइसी एशिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कारबाहीमा परेका हुन् ।

    “एनआइसी एसिया बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लङ्घन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र यस बैंकबाट उक्त बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइएकोले उक्त बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ ९दोश्रो संशोधन २०७३ सहित० को दफा १०० उपदफा २ ९ग० बमोजिम समान रु दुई लाख नगद जरिवाना गरिएको छ”, राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा भएको कारबाहीको विवरणमा उल्लेख छ ।

    त्यसैगरी ग्लोबल आइएमई बैंक लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ को आधारमा कैफियत देखिएपछि उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को व्यवस्थाअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनर्तालिकीकरण तथा पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेका कारण सचेत गराइएको जनाएको छ । बैंकको स्थलगत निरीक्षणका क्रममा ‘कोर बैंकिङ सफ्टवेयर’ मा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’मा राखी पुनः सिर्जना गर्नसक्ने अवस्था रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको विपरीत कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहीछाप नगराएको तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको जनाइएको छ । एउटै प्रकृतिका कर्जाहरुको ब्याजदर अन्तर दुई प्रतिशत विन्दुभन्दा बढीले कायम गरेको तथा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधानविपरीत त्रयमासको अन्तिम महिनाहरुमा नयाँ अल्पकालीन कर्जाहरु प्रवाह गरेका कारण कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । जसको कारबाहीस्वरुप बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

  • सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

    सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

    कायरो, ४ फागुन (रासस–एपी) । सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले सहर कब्जा गरेपछि भएको हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी मानिसको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार तीन दिनभित्रै भएको उक्त आक्रमणमा सडकमा गोली हान्ने, समूहद्वारा कुटपिट, अपहरण, बलात्कार र अन्य अमानवीय क्रियाकलाप समावेश थिए ।

    सहरभित्र सामान्य नागरिक, महिला र बालबालिकासमेत मारिएका छन् । शरणस्थल, विद्यालय, अस्पताल र विश्वविद्यालय परिसरहरू आक्रमणको केन्द्र बनेका थिए । हजारौं मानिस भाग्ने क्रममा मारिएका तथा घाइते भएका थिए । प्रतिवेदनले यस आक्रमणलाई विशेष जातीय समूहहरूलाई लक्षित गरेर गरिएको सामूहिक हत्या र अत्याचारका रूपमा वर्णन गरेको छ ।

    हिंसात्मक गतिविधिहरूमा नागरिकलाई सडकमा गोली हान्ने, घर र संरचना नष्ट गर्ने, बलात्कार, जबरजस्ती नजरबन्द, यातना, अपहरण र शारीरिक हिंसा समावेश थिए । अस्पतालमा रहेका बिरामी, सुत्केरी महिलाहरू र स्वास्थ्यकर्मीहरू पनि आक्रमणको शिकार बनेका थिए । विश्वविद्यालय र छात्रावासमा पनि ठूलो सङ्ख्यामा सामान्य नागरिक मारिएका थिए ।

    संयुक्त राष्ट्रसंघले यस घटनालाई युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा मान्नुपर्ने चेतावनी दिएको छ । यस घटनामा संलग्न उच्च कमाण्डर र जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । यो नरसंहार सुडानमा जारी गृहयुद्धको हिस्सा मानिन्छ, जसले लाखौं मानिसलाई विस्थापित बनाएको, खाद्य अभाव र स्वास्थ्य सङ्कट निम्त्याएको र जनजीवनलाई अत्यन्त भयावह बनाएको छ । यसले सुडान र डारफर प्रान्तमा सुरक्षा, स्थायित्व र मानवअधिकारको स्थितिलाई गम्भीर चुनौती दिएको छ ।

    विशेषगरी डारफर प्रान्तमा नागरिकहरूको जीवन जोखिममा परेको, स्वास्थ्य र खाद्य सेवामा सङ्कट उत्पन्न भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले घटनाका जिम्मेवार व्यक्तिहरूमाथि कारबाही गर्न, हिंसामा संलग्न कमाण्डरलाई जिम्मेवार बनाउन र पीडित समुदायलाई राहत तथा सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ ।

  • आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

    आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

    सिड्नी, ४ फागुन (रासस–एएफपी) । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको छ ।

    बेलायत र संयुक्त राज्य अमेरिकासँगको एयुकेयुएस सम्झौताले अस्ट्रेलियालाई अमेरिकी अत्याधुनिक पनडुब्बीहरूको फ्लीट उपलब्ध गराउने मात्र नभई, उन्नत युद्ध प्रविधिको विकासमा सहकार्य गर्ने मार्ग पनि खोल्ने लक्ष्य राखेको छ । सन् २०३२ देखि पनडुब्बी आपूर्ति सुरु हुने योजना छ र यसलाई प्रशान्त क्षेत्रमा विशेषतः चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।

    सम्झौताले आगामी ३० वर्षमा अस्ट्रेलियालाई करिब दुई खर्ब ३५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्न बाध्य पार्न सक्ने अनुमान गरिएको छ । यसअन्तर्गत भविष्यमा स्वदेशमै पनडुब्बी निर्माण गर्ने प्रविधि हस्तान्तरणसमेत समावेश छ । रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिणी सहर एडिलेड नजिकैको ओसबोर्नस्थित निर्माण स्थललाई परियोजनाको केन्द्रविन्दु हुने बताए । उनका अनुसार दीर्घकालमा सो सुविधामा करिब ३० अर्ब अस्ट्रेलियन डलर लगानी अपेक्षित छ ।

    उनले ओसबोर्नमा भइरहेको पूर्वाधार विस्तारले अस्ट्रेलियालाई आउँदा दशकहरूमा आफ्नै आणविक–सञ्चालित पनडुब्बी निर्माण गर्ने सार्वभौम क्षमता दिलाउने मार्गमा अघि बढाएको उल्लेख गरे । प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनडुब्बी निर्माण यार्डमा गरिएको लगानी परम्परागत रूपमा सशस्त्र, आणविक–सञ्चालित पनडुब्बी आपूर्ति सुनिश्चित गर्न निर्णायक हुने बताए । उनले एयुकेयुएस परियोजनाले रक्षा क्षमताको दीर्घकालीन सुरक्षा, रोजगारी सृजना र औद्योगिक समृद्धिमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।


    यसअघि सेप्टेम्बरमा क्यानबेराले पश्चिमी अस्ट्रेलियाको पर्थस्थित जहाज निर्माण तथा मर्मत परिसरलाई भविष्यका आणविक–सञ्चालित पनडुब्बीका लागि रूपान्तरण गर्न एक दशकमा आठ अर्ब अमेरिकी डलर खर्च गरिने जनाएको थियो । एयुकेयुएस कार्यक्रम सन् २०२१ मा फ्रान्ससँगको बहु–अर्ब डलरको डिजेल–सञ्चालित पनडुब्बी खरिद सम्झौता रद्द गरेपछि अघि बढाइएको थियो, जसले पेरिससँग कूटनीतिक तनाव उत्पन्न गरेको थियो ।

    गत जुनमा वासिङ्टनले उक्त सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ एजेन्डासँग मेल खान्छ कि होइन भनेर समीक्षा सुरु गरेपछि परियोजना अन्योलमा परेको थियो । तर डिसेम्बरमा पेन्टागनले समीक्षा प्रक्रिया हटाइएको र ट्रम्पले कार्यक्रम ‘पूर्ण रूपमा अगाडि बढाउन’ निर्देशन दिएको जनाएको थियो ।

  • नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

    नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

    अबुजा, ४ फागुन (रासस–सिन्ह्वा) । नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र मालवाहक ट्रकबीच भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। उक्त दुर्घटना एनुगु–पोर्ट हरकोर्ट सडकखण्डमा भएको जनाइएको छ। प्रहरीका अनुसार दुवै सवारी साधन विपरीत दिशाबाट आउँदै गर्दा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

    घटनामा करिब ३६ जना यात्रु संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतकका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सुरक्षित राखिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि सुरक्षाकर्मीको सक्रियतामा यातायात पुनः सञ्चालनमा ल्याइएको छ।

    नाइजेरियामा सडक दुर्घटनाका घटनाहरू प्रायः तीव्र गति, सवारीको खराब अवस्था र चालकको लापरबाहीका कारण हुने गरेको अधिकारीहरूले बताएका छन्।

  • सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

    सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

    रासस
    मुस्ताङ, ४ फागुनः आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६÷७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यहाँ लोमान्थाङ–२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो । कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् ।

    त्यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् । कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङलगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ ।

    मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पु¥याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन् । त्यसैगरी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ ।

    दुई हजार ८८५ मतदाता यस पालिकामा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता कायम रहेको छ ।

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

    काठमाडौँ, ४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

    सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।

    आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ । आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।

    आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।

    यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।


    निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौँ, ४ फागुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ ।

    त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।

  • घरजग्गा कारोबारबाट एक महिनामै पाँच अर्ब राजस्व

    घरजग्गा कारोबारबाट एक महिनामै पाँच अर्ब राजस्व

    काठमाडौँ, ४ फागुनः गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

    विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ । विभागका अनुसार गत माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे«सन दस्तुर रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ सङ्कलन भएको विभागले जनाएको छ ।

  • मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र

    मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र

    चितवन, ४ फागुनः पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ ।

    विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । यही पुस १५ मा म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ । सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ । धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ । फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उनले जानकारी दिए ।


    उनले भने, “हामीले अहिले कालोपत्रका लागि तीव्र तयारीमा काम गरिरहेका छौँ ।” अबको मौसम कालोपत्रका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो । झण्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उनले बताए । यसैगरी छ वटा पुलमध्ये हुग्दि र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ । यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उनले बताए ।


    कालोपत्रका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उहाँको भनाइ छ । सामग्री पाएमा अब काम नरोकिने दराई बताउँछन् । यस्तै नाली, बेरियरलगायतका सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् ।

    सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए ।
    उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

    शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

  • नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई बुझायो प्रतिबद्धता पत्र

    नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई बुझायो प्रतिबद्धता पत्र

    काठमाडौं, ४ फागुन । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ । पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।

    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको जनाएको छ ।

  • प्रलोपाले कस्तो ल्यायो घोषणापत्र ?

    प्रलोपाले कस्तो ल्यायो घोषणापत्र ?

    काठमाडौँ, ३ फागुन । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे । अध्यक्ष परिषद्का अध्यक्ष परियारले गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा हुन लागेको चुनावमार्फत आफ्नो पार्टीले गर्ने कामको प्रतिबद्धतापत्र लिएर आएको बताए ।


    अध्यक्ष परिषद्का अध्यक्ष सोब र किरातीले मुलुक चरम आर्थिक सङ्कट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेकाले चुनावमार्फत त्यसलाई सच्याउनुपर्ने बताए । पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिलसमेत गरेको छ । प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य सो पार्टीले लिएको जनायो ।

    पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ । यसको मूल आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुने अध्यक्ष सोबले बताइन् ।

    प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्याङ्कन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ ।

  • अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    काठमाडौँ, ३ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

    आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले आज काठमाडौँमा घोषणापत्र सार्वजनिकको तयारी गरे पनि स्थगन गरी यही फागुन ६ गते मधेस प्रदेशबाट सार्वजनिक गर्ने तय गरेको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।


    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन ७ गतेभित्र घोषणापत्र सार्वजनिकको तयारी गरेको सो पार्टीका निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले केही दिन पहिला घोषणपत्र सार्वजनिक गरिसकेका छन् ।

    यही फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरी यही फागुन ३ गतेभित्र पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ मा निर्वाचनमा सहभागी हुने राजनीतिक दलले निर्वाचन आयोग र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फका उम्मेदवारहरुले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको थियो ।

  • उज्यालो नेपाल पार्टीले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक

    उज्यालो नेपाल पार्टीले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक

    काठमाडौँ, ३ फागुनः उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर विस्तृत योजना अघि बढाएको हो ।

    कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरेको जानकारी दिए ।
    सुशासन र संरचनात्मक सुधारमा जोड

    प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गरिने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाइने तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक सम्पत्ति विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ । शासन खर्च घटाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ ।

    सङ्घीय मन्त्रालय १५ वटामा सीमित गर्ने, प्रदेश मन्त्रालय ५ देखि ७ वटासम्म राख्ने तथा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था मिलाइने पार्टीको प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा पनि अघि सारिएको छ । पार्टीले सरकार गठनपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    समृद्धिका लक्ष्य र आर्थिक रूपान्तरणको लक्ष्य

    उज्यालो नेपाल पार्टीले सन् २०३० सम्म कूल गार्हस्थ उत्पादन (जिडिपी) ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब डलर पु¥याउने लक्ष्य निर्धारण गरेको छ । सन् २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने दाबी गरिएको छ । निर्यातलाई सन् २०३० मा १० अर्ब डलर र सन् २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने लक्ष्यसहित जलविद्युत्, जडीबुटी, सिमेन्ट, पर्यटन र आइटीलाई प्राथमिकता क्षेत्रका रूपमा अघि बढाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    ऊर्जा क्षेत्रमा सन् २०३० सम्म १२ हजार मेगावाट र सन् २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने तथा भारत, बङ्गलादेश र चीनतर्फ विद्युत् निर्यात विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । विद्युत निर्यातबाट वार्षिक पाँच अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य पार्टीले राखेको छ ।

    रोजगारी र युवा केन्द्रित कार्यक्रम

    पार्टीले सन् २०३० मा नौ लाख र सन् २०३५ मा १५ लाखसम्म प्रतिवर्ष रोजगारी वृद्धि गर्ने लक्ष्य प्रस्तुत गरेको छ । युवा स्व–रोजगारी अभियान, न्यून ब्याज ऋण र पाँच लाख रुपैयाँसम्मको स्टार्टअप अनुदानमार्फत युवालाई उद्यमशील बनाइने प्रतिबद्धतापत्रमा उल्लेख छ । सातै प्रदेशमा १६–३५ वर्षका युवाका लागि युवा रोजगार मेला आयोजना गरी निःशुल्क सीप सिकाउने व्यवस्था मिलाइने छ ।

    पार्टीको प्रतिबद्धतापत्र अनुसार प्रत्येक घरमा रोजगारी अभियान ः पाँच वर्षमा १० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता कोषबाट रु १० लाखसम्म निब्र्याजी ऋणसहित मेन्टरसीपको व्यवस्था गरिनेछ । युवा नेतृत्व तालिमः १८–३५ वर्ष उमेरका युवालाई समानुपातिक आधारमा १०१ सदस्यीय युवा संसद् गठन गरी नेतृत्व विकासका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।

    कृषि, पर्यटन र पूर्वाधार

    कृषिमा डिजिटल आइडीमार्फत अनुदान सिधँै किसानको खातामा पठाउने, ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक बनाउने तथा लागत मूल्यमा २० प्रतिशत थप गरी खरिद गर्ने व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । पर्यटनतर्फ सन् २०३५ सम्म वार्षिक ५० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखिएको छ । धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा तथा साहसिक पर्यटनलाई प्राथमिकता दिँदै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन हबका रूपमा विकास गरिने प्रतिबद्धता छ ।

    पूर्वाधारतर्फ आगामी पाँच वर्षमा आठ हजार किलोमिटर कालोपत्र सडक, ४ हजार किलोमिटर ग्राभेल र ३ हजार किलोमिटर नयाँ ट्रयाक खोल्ने योजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । रेलमार्ग, जलमार्ग र स्मार्ट सिटी अवधारणालाई प्राथमिकतामा राखिएको छ ।

    स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा

    हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशेषज्ञ चिकित्सक राख्ने योजना सार्वजनिक गरिएको छ । विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा, नवजात शिशुको नाममा रु १५ हजार बचत खाता र डिजिटल कक्षासहित ‘स्मार्ट स्कूल’ अभियान सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    सामाजिक सुरक्षातर्फ भूमिहीनलाई जग्गा वितरण, सस्तो आवास कार्यक्रम तथा आकस्मिक मृत्युका घटनामा परिवार संरक्षण प्याकेज लागू गरिने पार्टीले जनाएको छ ।

    भ्रष्टाचारविरुद्ध कडा नीति

    भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने र सम्पत्ति राष्ट्रियकरण गर्ने नीति अघि सारिएको छ । ‘उज्यालो हटलाइन’ स्थापना गरी सूचनादातालाई अदालतबाट ठहर भएको रकमको पाँच प्रतिशत पुरस्कार दिने व्यवस्था मिलाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    जवाफदेहिताको प्रतिबद्धता

    पार्टीले आफ्नो प्रतिबद्धतापत्र विज्ञ र सरोकारवालासँगको छलफल तथा अध्ययनका आधारमा तयार गरिएको जनाएको छ । नेपालमा विगतमा लोडसेडिङ अन्त्य गरिएको उदाहरण दिँदै अन्य क्षेत्रमा योजनाबद्ध ढङ्गले सुधार सम्भव रहेको दाबी गरिएको छ । सरकार गठन भए हरेक वर्ष प्रगति विवरण सार्वजनिक गर्दै जनतामाझ प्रत्यक्ष मूल्याङ्कनका लागि प्रस्तुत गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
     

  • रामेछाप दुर्घटना अपडेट : हराइरहेकाहरूको खोजी जारी

    रामेछाप दुर्घटना अपडेट : हराइरहेकाहरूको खोजी जारी

    मन्थली (रामेछाप), ३ फागुन । मङ्गलवार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी तीव्र बनाइएको हो ।

    मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको बा प्र ००१– ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६, स्थित त्रिवेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने आठ जना घाइते र तीन जना बेपत्ता भएका थिए ।

    बेपत्ता हुनेमा रामेछाप जिल्ला मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका वर्ष २४ का विशाल सुनुवार रहेका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए ।

  • राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

    राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, ३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।

    मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहितका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

  • टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

    टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

    काठमाडौँ, ३ फागुनः आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो ।

    यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।

  • आजको मौसम : उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान

    आजको मौसम : उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान

    काठमाडौँ, ३ फागुन : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राती तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • पशुपतिनाथमा दर्शनार्थीसहित साधु-सन्तहरूको घुइँचो

    पशुपतिनाथमा दर्शनार्थीसहित साधु-सन्तहरूको घुइँचो

    काठमाडौँ, ३ फागुन । आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ ।

    महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको थियो । यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले राससलाई जानकारी दिए ।


    उनले भने, “दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न हामीले चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएका छौँ । सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।” दर्शनार्थीको सहजताका लागि आज बिहान ४ः०० बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ ।

    कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ । पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ ।

    दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको प्रवक्ता जोशीले बताउनुभयो । उहाँका अनुसार खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रहरूको सङ्ख्या बढाइएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ ।

    कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको छ । माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण गरिन थालिएको छ । उता काठमाडौँ जिल्ला प्रहरी परिसरले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ । दर्शनार्थी तथा उनीहरूले साथमा ल्याउने सरसामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको छ ।

    उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिएको छ । कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । महाशिवरात्रि पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिएको जनाइएको छ ।

  • निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

    निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

    काठमाडौँ, ३ फागुनः प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।

    आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ । आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् ।

    आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

    आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

  • कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने , बुधबार जनकपुरमा सार्वजनिक गर्ने

    कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने , बुधबार जनकपुरमा सार्वजनिक गर्ने

    काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए ।

    कांग्रेसले ६ गते मधेस प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।

  • मकवानपुरमा छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु

    मकवानपुरमा छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु

    बागमती, २ फागुनः मकवानपुरमा छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा आज गरेको ना ५ ख १८६१ नम्बरको ट्रकमा ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सुवास थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते थिङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित जङ्गदेश्वर महादेव मन्दिर नजिकै बसबाट लडेर गम्भीर घाइते एक वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गत माघ १० गते बाप्र ०३–००१ ख १९७२ नम्बरको बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएका चितवनको रत्ननगर नगरपालिका–६ का ६२ वर्षीय विष्णुबहादुर घिमिरेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

    कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

    सर्लाही, २ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताएका छन् । सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सभापति थापाले मतदातासँग आज भेटघाट गर्दै विगतमा गरेका कमीकजोरीबाट सिक्दै वर्षौँदेखि गर्छौँ भनेर गर्न नसकिएका कामलाई मुर्तरूप दिने योजना तथा तयारीसहित नेपाली कांग्रेस निर्वाचनमा सहभागी भएको बताए ।

    उनले भने, “दोस्रो विशेष महाधिवेशन पश्चात नेपाली कांग्रेस नयाँ भएको छ, यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र सङ्कल्प छ । हामीले विगतबाट सिकेका छौँ, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौँ ।”

    भेटघाटमा सभापति थापाले युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियममार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने बताए । ‘प्रत्येक वर्ष हामीले झन्डै पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । त्यो प्रधानमन्त्री वा सरकारले मात्र गर्न सक्दैन । त्यसका लागि हामीले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने हो, लगानीमैत्री वातावरण बनाउने हो, नीति नियममार्फत प्रोत्साहन गर्ने हो । पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना बढेका छन्, नेपालका युवालाई अझैँ दक्ष बनाएर विदेशी लगानीकर्तालाई आकर्षित गर्न सक्छौँ । लगानीकर्तालाई चाहिने नीति, नियम र दक्ष जनशक्ति हामीसँग हुँदै गर्दा सहयोगी सरकार भएमा विश्वभरका लगानीकर्ता एकपटक नेपालमा लगानी गर्न प्रेरित हुनेछन् । म यिनै विषयमा आगामी पाँच वर्ष काम गर्न चाहन्छु”, सभापति थापाले भने ।


    सर्लाही–४ मा आगामी एक वर्षभित्रमै आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका क्षेत्रमा काम गरेर अहिले देखिएका समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

    यसैबीच नेपाली काँग्रेसका सभापति थापाले संविधान सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् । सर्लाही क्षेत्र नं ४ को बलरा नगरपालिका–९ अचलगढमा आज आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी, लोसपाका महासचिव एवं हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्रलगायत पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

    सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालकी नेतृ वीणा सिन्हा, लोकतान्त्रिक समाजवादी पार्टीबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा विष्णु गाउँ पालिकाबाट अध्यक्षका प्रत्यासी अरविन्दकुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्र नम्बर ४ का क्षेत्रीय उपाध्यक्ष वीरेन्द्रप्रसाद यादव, नवलकुमार सिंह, सोही निर्वाचनमा बहुजन समाजवादी पार्टीबाट गोडैता नगरपालिकामा अध्यक्षका उम्मेदवार श्याम गुप्तालगायतलाई अबिर र माला पहि¥याएर सभापति थापाले पार्टी प्रवेश गराए ।

    सो अवसरमा सभापति थापाले आफू यस क्षेत्रको पारिवारिक सदस्य बन्ने क्रम सुरु भएको बताए । आफूले पाएको माया र स्नेह कुनै पनि हालतमा खेर जान नदिने उनको भनाइ थियो।

  • टिपर र मोटरसाइकल ठोक्किँदा पाल्पामा दुई जनाको मृत्यु

    टिपर र मोटरसाइकल ठोक्किँदा पाल्पामा दुई जनाको मृत्यु

    तानसेन (पाल्पा), २ फागुनः तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
    बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपर आज एकापसमा ठोक्किएका हुन् ।

    मृत्यु हुनेमा मोटसाइकल चालक गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की तथा अर्का परिचय नखुलेकी एक महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुवै जनालाई प्रहरी चौकी दोभानको टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

    निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

    काठमाडौँ, २ फागुनः प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन् । महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए ।


    उनले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरुबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउन समेत निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । आजै आयोजित एक फरक कार्यक्रममा उनले कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरुको सम्मानमा वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा श्रद्धासुमन अपर्ण गरे । त्यसैगरी उनले छाउनीस्थित वीर स्मारकमा पनि वीरगति प्राप्त सैनिकका परिवारलाई सम्मान गरेको निर्देशनालयले जनाएको छ ।

  • महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

    महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

    काठमाडौँ, २ फागुनः महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो । शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो ।

    पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो । महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।