Category: समाचार

  • रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

    रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइयो ।

    करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताएका छन् ।
    लामिछाने प्रबन्ध निर्देशक रहेका बेला रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो । यो सहकारीबाट २ करोड रुपैयाँ रवि लामिछानेकै नाममा पनि निकास भएको भेटिएको थियो ।

    लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा पत्रकारले फोटो समेत लिन नपाउने गरी प्रहरीले कडा सुरक्षा घेरा बनाएको थियो । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्‍याइएको थियो । आजको बयान पछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले लामिछानेबिरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् ।

  • नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश

    नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश

    काठमाडौं । नेपाल पहिलोपटक १९ वर्ष मुनिको महिला विश्वकपमा प्रवेश गरेको छ । बुधबार निर्णायक खेलमा युएइलाई हराउदै नेपाल पहिलोपटक यु १९ विश्वकप पुगेको हो । युएइले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन । विश्वकप आगामी वर्ष मलेशियामा आयोजना हुदैछ ।

  • नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै

    नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने एन्फाले जनाएको छ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगेको हो ।


    फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि रहेको ताजकिस्तानविरुद्ध उसैको मैदानमा उत्रन लागेको हो । नेपालले सन् २०१७ पछि पहिलो पटक ताजिकिस्तानसँग खेल्न लागेको हो ।

    एएफसी एसियन कप छनोटका दुई खेलमा नेपाल हारेको थियो । २०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग हारेको थियो । ताजकिस्तानले पछिल्लो समय प्रदर्शनमा सुधार गरिरहँदा नेपालको प्रदर्शन भने कमजोर छ । नेपाली पुरुष टोली ५ महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।

  • विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै

    विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै

    काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।

    प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

  • ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित

    ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित

    काठमाडौं । डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ । सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

    न्यायाधीश जुआन मर्चनले उच्च अदालतको राष्ट्रपतिको उन्मुक्तिसम्बन्धी हालैको फैसलाको आधारमा मुद्दा खारेज गर्ने निर्णय गरेकोमा ट्रम्पलाई नोभेम्बर २६ मा राहत मिल्नेछ । उक्त ऐतिहासिक फैसलामा उच्च अदालतले ६–३ को बहुमतले राष्ट्रपतिहरूले कार्यालयको दायरामा रहँदा गरेका कामहरूका लागि व्यापक छुट पाउने निर्णय गरेको थियो ।

    चुनावअघि ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए । यसलाई अभियोजकहरूले दृढतापूर्वक अस्वीकार गरेका छन् । यदि न्यायाधीश मर्चनले त्यस आधारमा मुद्दा खारेज गरे भने ७८ वर्षीय ट्रम्पलाई कुनै सजाय हुनेछैन ।

    यदि उनले त्यसो गरेनन् भने ट्रम्पको कानुनी टोलीले लगभग निश्चित रूपमा कुनै पनि सजायको विरोध गर्न वा ढिलाइ गर्न खोज्छ । यसले जनवरी २० मा शपथ लिएपछि ट्रम्पको कमान्डर–इन–चिफको भूमिकामा हस्तक्षेप गर्ने कुरामा जोड दिन्छ ।

    “मुद्दाका पक्षहरूको संयुक्त आवेदनमा नोभेम्बर १९ सम्मको वर्तमान समयावधि स्थगन गर्ने अनुरोध स्वीकृत गरिएको छ”, अदालतले मुद्दामा पक्षहरूलाई इमेलमा लेखेको पत्रमा भनिएको छ । रासस-एएफपी

  • जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ

    जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्रलाई २० हजार रुपैयाँ र कम्प्युटर अपरेटर विकास पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

    उनका अनुसार वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

  • उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै

    उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो ।

    त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।

    तर धेरै विद्युत् खपत गर्ने ठूला उद्योगहरुमा भने अहिलेसम्म जोडिएको छैन । भारत विद्युत् निर्यात भइरहेकाले त्यसमा असर नपर्ने गरी ठूला उद्योगहरुमा पछि लाइन जोड्ने जानकारी प्राधिकरणका कर्मचारीले दिएको एक उद्योगीले बताए । यसैबीच बक्यौता नउठाइ बिजुलीको लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता खडानन्द कँडेलले मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

  • कोप सम्मेलनमा राष्ट्रपतिको सम्बोधन, हिमाल बचाउन आह्वान

    कोप सम्मेलनमा राष्ट्रपतिको सम्बोधन, हिमाल बचाउन आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबार सुरु जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रमा राष्ट्रपति पौडेलले नेपालका एजेन्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

    ‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकलाई समेत संकटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न ।’ उनले त्यसका लागि हिमालदेखि समुद्रसम्मको एकिकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक संवादको विषय बनाउन समेत कोप–२९ मा प्रस्ताव गरे । नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको पनि उनले विश्व समुदायलाई जानकारी दिए ।


    राष्ट्रपतिले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको प्रष्ट पारे । ‘गोला बारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीरकण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्छ ।’ उनले जलवायु परिर्वतनको मारबाट पृथ्वी नै संकटमा रहेको बताए । विशेषगरी गरिव, अल्पविकसित, विकासशील तथा साना टापु मुलुक यसको पीडाबाट बढी प्रभावित रहेको उनले प्रष्ट पारे । ‘नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ,’ उनले भने ।

    उनले नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको आलो पीडामा रहेको बताए । राष्ट्रपति पौडेलले हालैको बाढी पहिरो तथा हिमताल विष्फोट लगायतका विपद्बाट सयौं मानिसको मृत्यु र अर्बौंको भौतिक क्षति भएको र त्यसको पुनर्लाभ एंव पुनर्स्थापना अझ भइनसकेको उल्लेख गरे ।

    ‘विश्व समुदायको हित र पृथ्वीको रक्षाका लागि नेपालले प्राकृतिक स्रोतसाधनको उपयोगमा अनुशासन कायम राख्दै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेको छ, वन क्षेत्र बढाएको छ, स्वच्छ उर्जा उत्पादन र आपूर्तिमा जोड दिएको छ तथा अरु थुप्रै प्रयास भएका छन्,’ उनले भने ।

    प्रयासको तुलनामा जलवायु परिवर्तनको असर व्यापक रहेकाले धेरै चुनौती भएको र त्यसको सामाना गर्न नेपालको क्षमताले नपुग्ने प्रष्ट पारे । ‘जलवायु अनुकुलन र उत्सर्जन न्युनिकरणका लागि हामीले गरिबी निवारणमा छुट्याएको बजेट कटौती गर्नुपरेको छ, यसबाट हामी झन अन्यायमा परेका छौं, यसका लागि प्रदुषकले प्रदुषण वापतको क्षतिपुर्ति तिर्नुपर्ने सिद्धान्त व्यवहारमा लागू गर्नुका साथै उत्सर्जन घटाउनु पनि पर्दछ,’ राष्ट्रपति पौडेलले भने ।

    उनले जलवायु वित्त कोषमा घोषणा गरिएका रकम अपुग रहेको र त्यही घोषणा गरिएको रकम समेत जम्मा हुन नसकेको गुनासो गरे । ‘जम्मा भएको रकम पनि झन्झटिलो प्रक्रियाले गर्दा लक्षित समुदायका लागि सहज पहुँच हुन नसक्नु दुःखद विषय हो,’ उनले भने ।

    जलवायु जोखिममा परेका विकाशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानी नोक्सानी कोषलाई छिटो सञ्चालनमा ल्याउन समेत उनले आह्वान गरे । ‘हिमाल, स्वच्छ पानी र जैविक विविधताको संरक्षणमा योगदान गर्ने नेपालजस्ता मुलुकको योगदानको मूल्यांकन र सोको भुक्तानीमा जोड दिन चाहन्छु,’ उनले भने ।

    जलवायु वित्तबाट सञ्चालन हुने कार्यक्रम अनुदानका रुपमा राज्यकोषमार्फत सञ्चालन गर्नु उपयुक्त हुनेमा राष्टपति पौडेलेको जोड थियो । ‘पेरिस संझौताको वाध्यकारी व्यवस्था र विकसित राष्ट्रको प्रतिबद्धताअनुरूप प्रविधि हस्तान्तरण र क्षमता विकासमा यथेष्ट अनुदान रकम प्रदान गरिनुपर्दछ,’ उनले भने ।

    उनले जलवायु न्याय, समता र क्षमताका आधारमा जलवायु वित्तका नवीन साझा परिमाणात्मक लक्ष्य निर्धारण गरिनुपर्ने बताए । पृथ्वीको औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न तथा हिमाली एव अल्पविकसित मुलुकलाई जलवायु न्याय एव दिगो विकास सुनिश्चित गर्न सम्मेलनले ठोस प्रतिबद्धता गर्ने विश्वास व्यक्त गरे ।

    उक्त सत्रमा अजरबैजानका राष्ट्रपति ईलहाम अलियेफले बाकुमा सहभागि सबैलाई स्वागत गरेका थिए । राष्ट्र संघका महासचिव एन्टेरियो गुटेरेसलगायत विश्वका विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्दै जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न सबैलाई आग्रह गरेका थिए ।

  • रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने

    रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने

    काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


    ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भएको हो । भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो ।

    प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो । बयान दिएर फर्कने क्रममा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले समर्थकलाई हेरेर हात हल्लाउंदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भने । विहानै भैरहवा ल्याउने र १० बजेबाट वयान हुने तयारी भएपनि मौसम खराबीका कारण उडान हुन नसक्दा दिउँसो पौने १ बजे उनलाई सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

    सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

    २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेको नाममा १ करोड ९६ लाख ऋण लगिएको देखिन्छ । त्यतिबेला रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको भूमिकामा थिए ।

  • दीपक मनाङ्गे कारागार चलान

    दीपक मनाङ्गे कारागार चलान

    काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) जेल चलान भएका छन् । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सानो भर्‍याङस्थित कम्फर्ट हाउजिङबाट उनलाई मंगलबार पक्राउ गरेको हो । मनाङेलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइयो । त्यसपछि मनाङेलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको थियो । डिल्लीबजार कारागारको ख ब्लकमा उनलाई राखिएको छ ।


    दीपक मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । त्यसपछि मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ एको थियो ।


    फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

    सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो । मनाङ जेल बाहिरै रहे । २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटे ।

    सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने । २०७९ मा निर्विरोध चुनाव मात्र जितेनन्, दुई पटक मन्त्री भए । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा दिए । २० कात्तिकमा सर्वोच्चले उच्चको फैसला सदर गर्दै ५ वर्ष कैदको निर्णय गर्‍यो ।

    यही प्रकरणमा मनाङेले यसअघि २ वर्ष ८ महिना कैद बसिसकेका मनाङे अझै २ वर्ष ४ महिना कैद बस्न बाँकी नै छ । उक्त कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारको ख ब्लकमा चलान भएका छन् ।

  • चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु

    चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु

    काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी चलाउने व्यक्तिले भाग्ने कोसिस गरेका थिए, तर पक्राउ परेका छन् ।

    उनले आफैंमाथि आक्रमण गरेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार आरोपित व्यक्ति सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट थिए । त्यसैले उनले यो घटना गराएको हुनसक्ने आशंका छ । तर उनी कोमामा रहेकाले पुलिसले सोधपुछ गर्न सकेको छैन ।

  • कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान

    कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान

    काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं आउने छन् । योसँगै कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो ।

  • आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै

    आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै

    काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

  • अरब देशले गरे इजरायलको निन्दा

    अरब देशले गरे इजरायलको निन्दा

    काठमाडौं । अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलको ‘नरसंहार’बारे निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार सम्पन्न अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिए । उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आह्वान समेत गरेका छन् ।

    सम्मेलनमा युएईसहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार र पाकिस्तान लगायत देशका सरकार र राष्ट्रप्रमुख सहभागि थिए । सम्मेलनलाई सुरुमा सम्बोधन गर्दै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इजरायलको अत्याचारको सीमा नाघेको भन्दै निन्दा गरे र तुरुन्त युद्धविराम गर्न आग्रह गरे । साथै उनले इरानमाथिको इरानको सम्प्रभुताको सम्मान गर्न पनि अपिल गरे ।

    उनले संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्णरुपमा स्वतन्त्र राज्यको मान्यता दिनुपर्ने भनाइ दोहोर्‍याएका थिए । गत सेप्टेम्बरमा पनि उनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्य नबनेसम्म साउदी अरबले इजरायललाई पनि मान्यता नदिने बताए । सम्मेलनमा प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले गाजा क्षेत्रमा प्यालेस्टाइनको अभिन्न अंग भएको बताए । उनले संयुक्त राष्ट्रसंघले त्यसलाई एक राष्ट्रको रुपमा मान्यता दिन र पूर्ण सदस्यताको मन्जुरी दिन आह्वान पनि गरे ।

    इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि प्यालेस्टिनी क्षेत्र र लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरे । उनले लेबनानलाई ‘भाइ’ भनेर सम्बोधन गर्दै त्यहाँका नागरिकलाई आवश्यक सबै सहयोग गर्ने बताए । शिखर सम्मेलनपछि पत्रकार सम्मेलनमा अरब लिगका महासचिव अहमद अबुल घितले संयुक्त राष्ट्रसंघले इजरायलको सदस्यता निलम्बन गर्नुपर्ने बताएका थिए ।

    गत आइतबार मात्रै हमासले अरब र इस्लामिक देशहरुको गठबन्धन बनाउन अपिल गरेको थियो ताकि प्यालेस्टिनी नागरिकको सबै अधिकारको रक्षा गर्न सकियोस् । साथै हमासले अरब देशहरुले इजरायलका राजदूतहरुलाई देश निकाला गर्नुपर्ने धारणा समेत राखेको थियो ।

  • कोप सम्मेलन सुरु, नेपालका एजेण्डा के ?

    कोप सम्मेलन सुरु, नेपालका एजेण्डा के ?

    काठमाडौं । बढ्दो जलवायु संकट सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सुरु भएको छ । सम्मेलनका क्रममा आगामी दुई साता विश्वका करिब २ सय देशका नेताहरूले जलवायु संकटको सामनाका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । सम्मेलनले पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण उत्पन्न प्रतिकूल मौसमी घटनालाई विश्वव्यापी समाधानका लागि सहभागी देशलाई एकताबद्ध बनाउने राष्ट्रसंघले जनाएको छ ।

    जलवायु परिवर्तनको प्रभावबाट जीवन रक्षा गर्न खर्बौं डलर आवश्यक रहेकाले कोप–२९ खासगरी आर्थिक मामलामा केन्द्रित हुने तथा देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउन आव्हान गर्ने जनाइएको छ । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल ९एनसिक्युजी०’ नाम दिइएको छ । सम्मेलनमा एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे सम्मेलनमा छलफल हुने र यो सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।

    जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनअनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकताहरू कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो ।


    राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा सात महत्त्वपूर्ण विषयहरूलाई उठाउने भएका छन् । सम्मेलनमा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार बाकु गइसकेका छन् ।

    राष्ट्रपति पौडेलले हिमालको सुरक्षा, जलवायु वित्तमा प्रतिबद्धता अनुसारको रकम, हानी–नोक्सानी कोषको शीघ्र सञ्चालन, नेपालजस्ता मुलुकहरूलाई जलवायु वित्तमा सहज पहुँच, कम कार्बन उत्सर्जन गर्ने मुलुकलाई क्षतिपूर्ति, कार्बन उत्सर्जन गर्ने मुलुकबाट प्रभावित नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको सामना गरी पर्यावरणलाई बचाइ राख्न परम्परागत पोखरी र कुवालाई पुनर्जीवित गर्ने विषय उठाउने बताइएको छ ।

    राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार सम्मलेनलाई सम्बोधन गर्दैछन् । उनले बुधबार नेपालले आयोजना गर्ने महत्वपूर्ण सत्रको नेतृत्वसमेत गर्ने कार्यतालिका छ । भ्रमण टोलीमा उनको सचिवालयका सदस्य, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सदस्यहरू तथा परराष्ट्र सचिव सेवा लम्सालसहितका अधिकारी छन् ।

  • ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक

    ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । ०८० पुस २४ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने र तत्काल बिजुली जोड्ने निर्णय गरेको थियो । ऊर्जा सचिव र उद्योग सचिव सदस्य रहने गरी गठित आयोगले गत वैशाख २३ मा तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेतसमक्ष प्रतिवेदन बुझाएको थियो ।

    आयोगले विद्युत् महसुल निर्धारण भई नसकेको अवधि ०७२ साउनदेखि ०७२ पुससम्मको रकम उठाउनुपर्ने जनाएको थियो । दोस्रो अवधि अर्थात् ०७२ माघदेखि ०७५ वैशाखसम्मको हकमा तोकिएको मापदण्डअनुसार ग्राहकहरूलाई विद्युत् आपूर्ति भएका दिन तथा अवधिहरू यकिन गरी पुनः हिसाब गरी छुट महसुल लिनुपर्ने आयोगको सुझाव छ । डेडिकेटेडको हकमा २४ घण्टा निरन्तर आपूर्ति हुनुपर्ने र ट्रंकलाइनको हकमा ६ घण्टा लोडसेडिङ भएको अवस्थामा समेत कम्तीमा निरन्तर २० घण्टा बिजुली आपूर्ति हुनुपर्ने मापदण्ड थियो ।

    तेस्रो अवधि अर्थात् ०७५ जेठदेखि ०७७ असारसम्मको हकमा लोडसेडिङ अन्त्य भइसकेकाले बक्यौता उठाउन नमिल्ने आयोगले सुझाएको छ । ०७२ माघदेखि ०७५ वैशाखसम्म उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ६ अर्ब ६० करोड रुपैयाँ हो । तर बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न उद्योगीलाई प्राधिकरणले भन्दै आएको छ ।

  • श्रम स्वीकृति भएका नेपाली भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी नचाहिने

    श्रम स्वीकृति भएका नेपाली भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी नचाहिने

    काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।

    त्यसैगरी, नेपाली कूटनीतिकरआधिकारिकरसेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज(पासर ९यूएनएलपी० भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक पर्ने छैन । अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।


    ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तिमा सात दिन अगाडि सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ । यात्राको लागि सेवा शुल्क प्रति व्यक्ति १००० भारू तोकिएको छ ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दैनिक १० घण्टा बन्द भएपछि एयरलाइन्स कम्पनीहरुले हवाई भाडा दोब्बरले बढाएका छन् । त्यसैले म्यानपावर व्यवसायीहरुले भारतको बाटो हुँदै श्रमगन्तव्य मुलुक जाने व्यवस्था गर्न अनुरोध गरेपछि सरकारले यो व्यवस्था लागु गरेको हो ।

  • यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

    यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

    काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ । यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको छ ।

  • अमेरिकी निर्वाचत राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपतिबीच के भयो कुराकानी ?

    अमेरिकी निर्वाचत राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपतिबीच के भयो कुराकानी ?

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेका छन् । द वासिङ्टन पोस्टमा प्रकाशित समाचारका अनुसार आफ्नो चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो स्टेटबाट फोनमार्फत कुराकानी गर्दै उक्त कुरा राखेका हुन्।

    ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेका छन्, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौं ।” ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराएकाको नाम नछाप्ने आधारमा कुरा गरेको फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ । उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो समेत व्यक्त गरेका थिए ।

    रुसी सरकारले ट्रम्पको फिर्तीमा सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । ‘सकारात्मक संकेत देखिएको छ, कम्तीमा उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि केही दिनअघि ट्रम्पसँग कुरा गरेका थिए ।

  • काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने

    काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

    शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन (१,२४७ जना), भलिबल (१,२४७ जना), क्रिकेटमा (९६० जना), तेक्वान्दोमा (९२५ जना) विद्यार्थीले रुची देखाएका छन् ।

    बास्केटबलमा (८,९९ जना), कराँते (८९३ जना), कवड्डी (६९० जना), एथलेटिक्स (५४९ जना), बक्सिङ् (४७१ जना), चेसमा (३४६ जना), टेबुलटेनिस (२७८ जना), खोखो (२४५ जना), हक्कीमा (१४९ जना), उसुमा (६६ जना) र जुडो (४० जना) जना विद्यार्थीको रुची छ ।

    पोखरेलका अनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रुचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ । यसको सट्टा विद्यार्थीको रुचिका आधारमा एउटा विधा खेल थप्ने योजना रहेको पोखरेलको भनाइ छ ।

    शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार १८ वटा केन्द्रबाट कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ ।

    मंसिर, पुस र माघ गरी करिब ३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिने महानगरले जनाएको छ ।

    माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बिचमा प्रतियोगिता आयोजना गरिनेछ । यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिने महानगरले जनाएको छ । खेलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ ।

  • यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण

    यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण

    काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू थिए।

    हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले राजधानी सानाको दक्षिणी अल सबिन जिल्लालाई लक्षित गरी तीन अमेरिकी र बेलायती आक्रमण भएको पुष्टि गरेको छ । “प्रत्यक्षदर्शीहरूले राजधानी सानाका विभिन्न भागमा विस्फोटका साथै तीव्र गतिमा भएका उडानको आवाज सुनेको बताएका छन्,” अल मसिराहले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

    संयुक्त राज्य अमेरिका र बेलायतले जनवरीदेखि यमनको हुथी समूहले रेड सी र एडेनको खाडीमा विद्रोहीहरूले गरेको आक्रमणको जवाफमा पटक–पटक आक्रमण गर्दै आएका छन्। विद्रोहीहरूले विश्वव्यापी रूपमा महत्त्वपूर्ण जलमार्गमा सामुद्रिक यातायात अवरुद्ध गरेको र ती आक्रमण इजरायलको स्वामित्व भएका वा यससँग जोडिएका जहाजहरूलाई लक्षित गरी भएका जनाएका छन् ।

    हुथीले गाजा युद्धका बेला प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आक्रमण गरेका बताइएको छ। यी आक्रमणहरूले विश्व व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने ‘रेड सी’ मार्गलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ। करिब एक वर्षको अवधिमा १०० भन्दा बढी हुथी आक्रमणमा चार नाविक मारिएका छन् भने दुई जहाज डुबेका छन् । त्यस्तै एउटा जहाज र यसका चालक दलका सदस्यलाई गत नोभेम्बरमा अपहरण गरी हिरासतमा राखिएको छ ।

    हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई समर्थन गरेको भन्दै आलोचना गरेको तीन दिनपछि शनिबारको आक्रमण भएको हो । ट्रम्पले मध्यस्थता गरेको अरब मुलुक र इजरायलबिच भएको सामान्यीकरण सम्झौताले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न नसकेको र उहाँको दोस्रो कार्यकालमा हुने मध्यस्थता पनि फेरि असफल हुने हुथी अधिकारीले बताएका छन् । रासस\एएफपी

  • लेवनानमा इजरायली आक्रमण, कम्तिमा २३ जना मारिए

    लेवनानमा इजरायली आक्रमण, कम्तिमा २३ जना मारिए

    काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ । त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो । इजरायलले पछिल्लो समय इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

    शनिबार मात्रै इजरायलले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो । इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा पनि आक्रमण जारी राखेको छ । आइतबार दुई वटा घरमा आक्रमण हुँदा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष अक्टुबर ७ मा प्यालेस्टाइन भूमिबाट इजरायलमा घुसेर हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो । हमासले नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएको थियो । हमासले बन्धक बनाएका केहीलाई रिहा गरे पनि विपिनको अवस्था अज्ञात छ ।

    हमासले आक्रमण गरेलगत्तै इजरायलले युद्धको घोषणा गर्दै गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणबाट हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मारिनेमा निर्दोष महिला र बालबालिकाहरुसमेत छन् । लाखौं संख्यामा मानिसहरु विस्थापित भएका छन् ।

  • रुस र युक्रेनबीच ड्रोन हमला बढ्यो

    रुस र युक्रेनबीच ड्रोन हमला बढ्यो

    काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध हालसम्मकै ‘घातक’ ड्रोन हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो । त्यसका कारण मस्कोका प्रमुख तीन विमानस्थलमा उडान अवतरण प्रभावित भएको थियो । हवाईजहाजहरुलाई डाइभर्ट गर्नु परेको थियो ।

    अधिकारीहरुका अनुसार धेरैजसो ड्रोन रामेनस्कोय, कोलोम्ना र डोमोडेडोभोमा खसेका थिए । रुसी रक्षा मन्त्रालयका अनुसार मस्कोको दक्षिण(पश्चिम क्षेत्र रोमेनस्कोयमा खसेको ड्रोनका कारण पाँच जना घाइते भएका छन् भने चार वटा घरमा आगो लागेको छ । मन्त्रालयका अनुसार शहरमाथिको आकासमा आइपुगेका ३४ वटा ड्रोनलाई खसालिएको थियो ।

    यसैगरी रुसले युक्रेनतर्फ १४५ ड्रोन प्रहार गरेको थियो । तीमध्ये धेरैजसोलाई निष्कृय पारेको युक्रेनले दाबी गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न एकअर्कालाई दबाब दिनसक्ने अनुमान भइरहेका बेला आइतबार रुस र युक्रेनले एकअर्काको भूमिमा ड्रोन हमला गरेका थिए ।
    आइतबार मस्कोमा युक्रेनले गरेको हमला हालसम्मकै घातक भएको बीबीसीले जनाएको छ । मस्कोका गभर्नरले पनि यी हमलालाई ‘निकै ठूलो’ भनेका छन् ।

  • टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय

    टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता उठाउने निर्णय गरेको छ । ६ वर्षदेखि जारी विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको हो ।

    आइतवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आयोगकै प्रतिवेदनले गरेको सिफारिसका आधारमा उद्योगीहरुसँग बक्यौता अशुल गर्ने निर्णय भएको समेत बताइएको छ । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।


    मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगमा नेपाल विद्युत प्राधिकरणले काटिदिएको बिजुली लाइन जोड्न निर्देशन दिने निर्णय समेत गरेको छ । प्राधिकरणले ८ कात्तिकमा बक्यौता विवाद रहेका उद्योगहरुको लाइन काटेको थियो ।

  • हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

    हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

    काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।

    बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । सौर्य ऊर्जाको व्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

    ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’,’ बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने । ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्याँसको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिन्छ ।’ उहाँले उक्त क्षेत्रमा दाउरा महंगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गरे ।

    केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नु भएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याइएको बताए। वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने,‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्याउनमा केन्द्रीत थियौं, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायतका कामहरु उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

    लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३र११ केभी सबस्टेसनमा पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको हो ।


    प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

  • राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

    राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार साँझ अजरबैजान प्रस्थान गरेका छन् । उनी अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप(२९) मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक निकायका प्रमुख र उच्च पदस्थ कर्मचारीले बिदाइ गरे । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु गएका हुन् ।

    राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ। सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ। विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये पर्छ।


    बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ। नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ। सम्मेलन कात्तिक २६ सुरु भई मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फकिर्ने कार्यक्रम छ ।

  • कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    काठमाडौं । जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो। घटनास्थल विकट ठाउँमा भएकाले दुर्घटनाका मृतकको पहिचानका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

    खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन्। घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरी उपचार सुरु भएको प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । गाडी सडकदेखि दुई सय सय मिटर तल खसेको थियो ।

  • रविलाइ थप १३ दिन हिरासतमा राख्न अनुमति

    रविलाइ थप १३ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरि कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    सहकारी ठगी प्रकरणमा रविमाथि अनुसन्धान भइरहेको छ । उनिमाथी सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान भइरहेको छ ।

  • मानव तस्करीको आरोपमा एमाले नेता अधिकारी पक्राउ

    मानव तस्करीको आरोपमा एमाले नेता अधिकारी पक्राउ

    काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनिमाथि मानव तस्करीको आरोप लागेको छ । उनलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
    अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।

  • बढ्दो हवाई भाडा नियन्त्रण गर्न व्यवसायी र प्राधिकरणबीच यस्तो भयो सहमति

    बढ्दो हवाई भाडा नियन्त्रण गर्न व्यवसायी र प्राधिकरणबीच यस्तो भयो सहमति

    काठमाडौं । वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको छ । त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द रहेको बेलामा भइरहेको टिकटको मूल्यवृद्धि नियन्त्रण गर्ने उपायस्वरुप उड्डयन क्षेत्रको सरोकारवालाको बैठकले टीबीए खारेज गर्ने निर्णय गरेको हो ।

    नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालक सहभागी बैठकले गरेको यो निर्णय अब सबै वायुसेवा कम्पनीहरूले पालना गर्नुपर्नेछ ।

    बैठकले हवाइ भाडा नियन्त्रणसँग सम्बन्धित विभिन्न ५ निर्णय गरेको छ । जस अनुसार सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाइ सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाइ भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ ।

    ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिने व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ । त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाइ भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको पनि प्राधिकरणले जनाएको छ । २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरूले महँगो हवाइभाडा लिएको गुनासो आइरहेको छ ।