काठमाडौं । वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको छ । त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द रहेको बेलामा भइरहेको टिकटको मूल्यवृद्धि नियन्त्रण गर्ने उपायस्वरुप उड्डयन क्षेत्रको सरोकारवालाको बैठकले टीबीए खारेज गर्ने निर्णय गरेको हो ।
नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालक सहभागी बैठकले गरेको यो निर्णय अब सबै वायुसेवा कम्पनीहरूले पालना गर्नुपर्नेछ ।
बैठकले हवाइ भाडा नियन्त्रणसँग सम्बन्धित विभिन्न ५ निर्णय गरेको छ । जस अनुसार सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाइ सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाइ भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ ।
ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिने व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ । त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाइ भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको पनि प्राधिकरणले जनाएको छ । २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरूले महँगो हवाइभाडा लिएको गुनासो आइरहेको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।
काठमाडौं । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् । मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले भनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउनेछन् । उनका अनुसार जति विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछन् । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन् ।
कक्षा १२ कालागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँछन् । यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउँछन् । यस्ता विद्यार्थीहरुको संख्या करिब १४ लाख रहेको अनुमान छ । आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने छ ।
काठमाडौं । फ्लाइ दुबईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थालेको छ । कम्पनीको जहाज शनिबार अपरान्ह यो विमानस्थलमा अवतरण गरेको छ । शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो । दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो ।
यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् । बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाडौं आएका छन् । भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ । फ्लाई दुबईले अब भैरहवामा दुबईबाट नियमित दैनिक एक उडान गर्ने भएको छ ।
काठमाडौ. । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताएका छन् । शनिबार मकवानपुर आएका प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उनले दाबी गरे मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग को नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने बताए ।
मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको भन्दै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको बताए । ञनयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ । बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ, प्रचण्डले भने, प्रचण्ड थाकेको छैन, थाक्दैन पनि ।’ कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै उनले अब नागरिकसँग माफी मागेर अघि बढ्ने बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको जिकिर गरे । विपदका बेलामा पीडितको घरदैलोमा पुग्दा सरकार कहाँ छ थाहा छैन भन्दै आफूलाई भरोसा गरेको उनले दाबी गरे ।
काठमाडौं । नेकपा एमालेले मानव तस्करी आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिनको माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको बताएको छ ।
‘नेकपा एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सावैजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्तिमा भनेका छन् ।
आरोपको अन्तिम निरुपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको खतिवडाले बताएका छन् । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ । उनले पदबाट राजीनामा दिइसकेका छन् । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।
जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भने । पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए ।
यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए । उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।
काठमाडौं । जजिरा एयरवेजले भैरहवामा फुल सिट यात्रुसहित उडान गरेको छ । जजिराको जहाज शनिबार गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । यो जहाजमा कुवेतबाट १७१ जना यात्रु आएका छन् । भैरहवाबाट १६८ जना यात्रु कुवेत उडेको विमानस्थल प्रशासनले जनाएको छ ।
जहाज पुरै क्षमतामा आउँदा व्यवसायी, एयरलाइन्स कम्पनी र प्रशासन उत्साहित भएका छन् । यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन् ।
विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौं उडानमा कटौती गरेका छन् । उक्त कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र पर्यटनमन्त्री बद्री पाण्डे सहितको बैठकमा मन्त्री राणाले हवाई उडानका विषयमा पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका उपाय पहिल्याउन आग्रह गरेकी हुन् । बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूले हवाई उडान समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री राणालाई ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेको र त्यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका बताएका थिए ।
परराष्ट्रमन्त्री राणाले भनेकी थिइन्, ‘वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई महँगो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ । हवाई कम्पनीहरूले यदि एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ ।’
नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन संघका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल गौतम एवं प्रनिनिधिहरू प्रज्ञान न्यौपानेलगायले मन्त्री राणासँग आग्रह गरेका थिए ।
मन्त्री राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिएकी थिइन् । उनले विमानस्थल मर्मत गरिने सूचना नेपालले ६ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीहरूले अस्वाभाविक रुपमा भाडा बढाउन नहुने बताइन् । मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का पर्नु त छँदैछ, यो समस्या राष्ट्रिय समस्या पनि भएकाले समाधानका उपायहरूको खोजी गरिने जानकारी दिइन् ।
नागरिक उड्डयनमन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाई कम्पनीहरूले आफूखुसी भाडावृद्धि गर्न नपाउने बताउँदै समस्या समाधानका विकल्पकहरूका बारेमा छलफल गरिरहेको बताए । उनले विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परस्थितिको समाधानका लागि विकल्पहरू खोजिने बताए ।
काठमाडौं । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताएका छन् ।
आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको बताइएको छ । युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीहरूले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको बताए ।
किएभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ । यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरहरूमा पनि प्रहार भएको र आक्रमणबाट कम्तीमा दुई जना घाइते भएको बताए ।
काठमाडौं । दैलेखबाट सुर्खेत जाँदै गरेको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१४ रातानाङ्लामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो २ः२० बजे दुर्घटना भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । दुर्घटनाको खबर आउने बित्तिकै सुर्खेतका प्रहरी प्रमुख सहितको टोली घटनास्थलमा पुगेको थियो ।
त्यहाँबाट ३० जनालाई उद्धार गरेर अस्पताल पठाइएकोमा चार जनाको मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । अन्य घाइतेको सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ ।
यस उडानमा करिब फुल अक्कुपेन्सीमा यात्रु आउने बताइएको छ । दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आउने तिवारीले जानकारी दिए । यो जहाज भैरहवा अवतरण गरी काठमाडौं जानेछ । काठमाडौंबाट थप यात्रु लगेर दुबई फर्कनेछ ।
शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको जहाजको उडान समेत शनिबारलाई सारिएको उनले जानकारी दिए । ‘कम्पनीले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको छ,’ उनले भने । यो जहाज काठमाडौंबाट भैरहवा अवतरण गरी दुबई उड्ने छ । यी उडानहरू प्रारम्भिक भएको र यात्रु अभ्यस्त नभएका कारण अन्य उडानमा भने धेरै यात्रु छैनन् । जजिराले भने यसअघि पनि उडान गरिसकेका कारण सो कम्पनीले राम्रो यात्रु पाइरहेको छ ।
भैरहवामा शुक्रबार भने थाई एयर एसियाले बैंककबाट उडान गरेको छ । यो उडानमा ७ यात्रु भैरहवा आएका थिए । भैरहवाबाट भने ३२ जना यात्रु लिएर थाई एयर एसिया उडेको छ । थाई एयर एसियाले साताको दुई दिन ९सोमबार र बिहीबार० बैंकक उडान गर्ने गरी उडान स्वीकृत लिएको छ ।
काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् ।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । उनले अगाडि भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई निर्वासन गर्ने योजनाको विकल्पै छैन ।’ चुनावी अभियानको क्रममा ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए ।
ट्रम्पले आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा विजयी भएको उल्लेख गरे । उनले यो चुनावमा आफ्ना अभियानले धेरै थरीका मतदातालाई आकर्षित गरेको बताए । उनले सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने बताए ।
‘तपाईंलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाईं अमेरिका आउन सक्नुहुन्न भनोस्, हामी मानिसहरू यहाँ आऊन् भन्ने चाहन्छौं,’ उनले भने, ‘जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागूऔषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् किनकि उनीहरू यहाँ बस्ने छैनन्।’ चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उनले जानकारी गराए ।
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुँदैछ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको नेपाल नागकि उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ ।
अहिले काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्दै आएको छ । गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।
उनका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको छ । प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् । विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।
त्रिभुवन विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण गत चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरणमा निषेध गरिएको छ । काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन् । स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने विश्वास छ । विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती हुनेछन् ।
काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व चार दिनसम्म मनाइन्छ ।
सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका साथ छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा भेला भएर श्रद्धालुहरुले पूजासमाग्री सूर्यलाई अर्घ दिने गर्दछन् ।
यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल चढाउने गरिन्छ ।
अर्घ्य दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुले कमलपोखरी, गौरीघाट लगायतका स्थानबाट छठ पूजा गरेका छन् ।
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका थिए । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।
मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०–४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसका सहचालक काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अरु दुई जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
काठमाडौं । दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ । आज बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षति पुगेनपुगेको विवरण भने प्राप्त हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दोलखाले अहिलेसम्म क्षतिको सूचना नआएको जनाएको छ ।
काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित उपराष्ट्रपति कमला ह्यारिसले हार स्वीकार गरेकी छन् । वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु, तर निर्वाचनका क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो दुस्प्रचारलाई कहिल्यै स्वीकार गर्ने छैन,’ सम्बोधनका क्रममा उनले भनिन्, ‘मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्न लागेको महसुस गरेका छन् ।’ रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प मंगलबार भएको चुनावबाट अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनले कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ९५ मत प्राप्त गरिसकेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले २२६ इलेक्टोरल मत प्राप्त गरेकी छन् । अझै दुई राज्यको नतिजा सार्वजनिक हुन बाँकी छ । दुई उम्मेदवारबीच सातवटा ‘स्विङ स्टेट्स’मा निकै प्रतिस्पर्धा हुने ठानिएको थियो । पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा राज्यले समग्र चुनावी नतिजा निर्धारण गर्ने सर्वेक्षणहरूले देखाएका थिए । तर नतिजा भने ट्रम्पको पक्षमा आएको छ ।
ट्रम्पले परम्परागत ‘रेड स्टेट’ मा आफ्नो पकड अझ बलियो मात्र बनाएका छैनन्, डेमोक्रेटिक पार्टीको गढ मानिएका ‘ब्लु स्टेट’ मा पनि मत बढाएका छन् । डिसेम्बर १७ मा इलेक्टोरल कलेज बैठकले ट्रम्पलाई औपचारिक रूपमा राष्ट्रपतिमा निर्वाचित गरेपछि उनले आगामी जनवरी २० बाट उनले उनले राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।
काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२र३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्म रहेका छन् । आयोजना अन्तर्गत त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।
अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (ईआईबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।
नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्क बहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् जुनसुकैबेला जोड्न सकिने बताए ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी, ४२।५ मेगावाटको साञ्जेन र १४।८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ ।
रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । दशैं र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो ।
२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो ।
उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनामा लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ । हेलिकोप्टरबाटसमेत निर्माण सामाग्री ढुवानी गरी टावर तयार गरिएको थियो ।
भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो,वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड ९मैलुङ क्रसिङ०मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो ।
प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार ९मल्टी० सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज ९ सँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।
काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता बदल्न पाउने भएका छन् । उनीहरुलाई २ महिनाको समय (ग्रेस अवधि) दिइने भएको छ । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति बनाइरहेको बताइएको छ ।
त्यहाँको मानव संशाधन मन्त्रालयले घरेलु श्रमिक आएको पहिलो २ वर्षभित्र सम्झौता भंग गरेमा त्यसको ६० दिन अर्थात दुई महिनाभित्र देश छाड्नुपर्ने व्यवस्था गरेको छ । यस्तै कुनै रोजगारदाताकोमा काम गर्ने श्रमिकले २ वर्षपछि आफैं काम गर्न छाडेमा ६० दिनभित्र नयाँ रोजगरदाता खोज्न र परिवर्तन गर्न पाउनेछन् ।
नेपाल लगायतका श्रमिक पठाउने मुलुकले साउदी अरेबियाको श्रम कानुन र त्यहाँ घरेलु श्रमिकमाथि हुने गरेको शोषणलाई देखाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्था गरेका छन् । यसका कारण घरेलु श्रमिकको माग उच्च हुँदा पनि आपूर्ति प्रभावित भएसँगै साउदी अरेबियाले श्रम कानुनमा सुधार गरिरहेको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको निर्देशनका आधारमा नेपाल सरकारले ९ वर्षदेखि घरेलु श्रमिकका रुपमा विदेश जान श्रम स्वीकृति बन्द गरेको छ । घरेलु काम गर्न विदेश जानेहरु अवैध बाटो र फर्जी कागजपत्र प्रयोग गरेर जाने गरेका छन् ।
अहिले नेपालबाट साउदीमा पनि अवैध रुपमा घरलु श्रमिकमा रुपमा जानेहरु धेरै छन् । उनीहरु रोजगारदाताबाट ‘एक्जिट भिसा’को अनुमति नपाएर चाहेका बेला नेपाल फर्किन नसक्ने समस्या छ । यसले गर्दा श्रमिकले बन्धक भएर काम गर्न बाध्य भएको भन्दै नेपालले साउदीसँगको श्रम वार्ताहरुमा यो विषयलाई जोडतोडका साथ उठाउने गरेको छ ।
साउदी अरेबियाले श्रम वार्तामा घरेलु श्रमिक लैजाने मुद्दालाई प्रधानता दिने गरेको छ । तर, नेपालले घरमा काम गर्ने श्रमिक रोजगारदाताबाट मानसिक, शारीरिक र आर्थिक शोषणमा परेको भन्दै महिला श्रमिकको हकमा लागु हुने गरी श्रम समझदारी नभएका देशमा नपठाउने नीति लिएको छ ।
श्रम वार्ताहरुमा नेपालले सरकारको वैदेशिक रोजगारसम्बन्धी नीति, नेपालको श्रम कानुन, घरेलु श्रमिक विदेश पठाउनुअघि नेपालले खोजेको सुनिश्चितता र संसदको श्रम मामिला हेर्ने समितिले राखेको चासो र निर्देशनबारे ब्रिफिङ गर्दै आएको छ ।
बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको भाउ बढ्दा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको उदयले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौं । पुनः एक पटक अमेरिकाको राष्ट्रपति बनेकोमा डोनाल्ड ट्रम्पलाई चीन सरकारले बधाई दिएको छ । चीनको विदेश मंत्रालयले आधिकारिक ‘एक्स’ अकाउन्टमा बुधवार एक पोस्ट राखेको छ ।
जसमा अमेरिकी जनताको छनोटको सम्मान गर्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएको उल्लेख छ । अमेरिकाबारे चीनको नीति निरन्तर रहने समेत विदेश मन्त्रालयले उल्लेख गरेको छ । आपसी सम्मान, शांतिपूर्ण सह–अस्तित्व र दुबै मुलुकको फाइदाको सिद्धान्तलाई निरन्तरता दिइने सन्देशमा उल्लेख छ ।
काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।
तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि ‘फास्ट ट्र्याक’मा गर्ने निर्णय भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी तयारी गर्नेछन् भने आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।
बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाई तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।
आयोजनाहरूको तयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिए । नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने उनको भनाइ छ ।
बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो ।
काठमाडौं । अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।
अमेरिकी डलरको यो मूल्य हालसम्मकै उच्च हो । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ८७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा विचाराधीन छन्। दर्जनौँ आपराधिक मुद्दा कायम रहँदा देशको सर्वोच्च पदमा उनी विराजमान हुने अवस्था बनेकाले अमेरिका अनेकौँ नसुल्झिएका मामिला कायम रहेको देश बन्न पुगेको छ। ट्रम्पले ह्वाइट हाउसमा पाइला राख्दै गर्दा उनीविरुद्धका चार कानुनी मुद्दा के होलान् भन्ने धेरैको चासो छ।
डोनल्ड ट्रम्प न्यूयोर्क राज्यमा व्यावसायिक अभिलेखहरू किर्ते गरेका ३४ वटा कसुरमा दोषी ठहर भएका भइसकेका छन्। गत मेमा न्यूयोर्कको एक अदालतले उनलाई एक पूर्वुपोर्नस्टारुलाई चुप बस्नका लागि पैसा दिएको अभियोगमा दोषी पाएको थियो। न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले गत सेप्टेम्बरबाट उनको सजाय तोक्ने मितिलाई चुनावपछि अर्थात् नोभेम्बर २६ का लागि सारेका थिए। ब्रूक्लिनका पूर्वअभियोजनकर्ता जुली र्यान्डल्म्यानले ट्रम्पले चुनाव जितेमा पनि न्यायाधीश मर्चनले सजाय सुनाउन सक्ने बताइन्।
कानुनविद्हरू पहिलो पटक अपराध गरेको एकजना व्यक्तिका रूपमा ट्रम्पलाई जेल सजाय हुन सक्छ भन्ने विषय अविश्वसनीय रहेको बताउँछन्। र्यान्डल्म्यानका अनुसार यदि त्यस्तो भएमा पनि उनका वकिलहरूले त्यसविरुद्ध तत्कालै पुनरावेदन गर्ने छन्। उनीहरूले ट्रम्पलाई जेलमा राखियो भने उनले राष्ट्रपतिका रूपमा गर्नुपर्ने कामहरू गर्न पाउने छैनन् भन्ने तर्क गर्ने छन्। ती कारणहरूले मुद्दा विचाराधीन रहँदा उनी स्वतन्त्र नै रहने छन्।
ूयस्तो अवस्थामा पुनरावेदनको प्रक्रिया वर्षौँसम्म चल्न सक्छ, उनले भनिन्। विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले सन् २०२० को निर्वाचनमा जो बाइडनको जितलाई उल्ट्याउने प्रयास गरेको भन्दै उनीविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेका थिए। ट्रम्पले आफू उक्त मामिलामा दोषी नभएको बताएका छन्। गत ग्रीष्मकालमा सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा गरेका निर्णयहरूमा उनीमाथि लाग्न सक्ने आपराधिक अभियोगहरूमा आंशिक रूपमा छुट पाउने आदेश दिएसँगै उक्त मामिला अहिले कानुनी अनिश्चिततामा फसेको छ।
त्यसपछि स्मिथले पुनः मुद्दा दायर गरेका छन्। त्यसमा उनले चुनावी मतपरिणामलाई उल्ट्याउने कोसिस ट्रम्पको आधिकारिक कामभित्र नपर्ने दाबी गरेका छन्। भूतपूर्व सङ्घीय अभियोजनकर्ता निअमा रहमानीले ट्रम्पले चुनाव जितेपछि यो मामिलामा उनीमाथि लागेको आपराधिक आरोप सकिने बताए।
ूपदासीन राष्ट्रपतिमाथि मुद्दा चलाउन सकिँदैन भन्ने स्थापित भएकाले चुनावमा धाँधली गरेको आरोपमा डीसी जिल्ला अदालतमा उनीमाथि रहेको मुद्दा खारेज हुने छ,ू उनले भने। यदि स्मिथले उक्त मुद्दालाई खारेज गर्न मानेनन् भने ट्रम्पले उनलाई हटाउन सक्छन् र त्यस्तो उनले पहिले नै भनिसकेका छन्। म उनलाई दुई सेकन्डमा हटाइदिन्छु, गत अक्टोबरमा दिएको एउटा रेडिओ अन्तर्वार्तामा उनले भनेका थिए। ट्रम्पले ह्वाइट हाउस छाडेपछि गोप्य दस्तावेजहरूको गलत प्रयोग गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दाको पनि स्मिथले नै नेतृत्व गरिरहेका छन्। उक्त आरोपलाई पनि ट्रम्पले अस्वीकार गरेका छन्।
उनीमाथि फ्लोरिडास्थित घरमा संवेदनशील कागजातहरू भण्डारण गरेको र कागजातहरू पुनःप्राप्त गर्ने कार्यमा न्याय मन्त्रालयलाई अवरोध गरेको आरोप लगाइएको छ। बीबीसी
काठमाडौं । डोनल्ड ट्रम्पले फेरि निर्वाचन जितेर देखाइदिएका छन्। आठ वर्षअघि हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको र चार वर्षअघि उनलाई जो बाइडनले विस्थापित गरेकोमा पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्कने निश्चित भएको छ।
ब्याटलग्राउन्ड स्टेट्स भनिने महत्त्वपूर्ण राज्यहरूमा प्राप्त ठूलो विजय र लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा उनलाई प्राप्त सुधारिएको मत सङ्ख्याको आडमा उनले आफूलाई शासन गर्न “अभूतपूर्व र बलियो म्यान्डेट” प्राप्त भएको बताए । फ्लोरिडाको वेस्ट पाम बीचमा आयोजित एउटा र्यालीलाई सम्बोधन गर्दै उनले भने,”यो वास्तवमा नै अमेरिकाका लागि सुनौलो युग हुनेछ।”
यदि कङ्ग्रेस पूर्णतया रिपब्लिकन नियन्त्रणमा आएमा नयाँ राष्ट्रपतिलाई विगत चार वर्षमा डेमोक्र्याटिक शासनअन्तर्गत लागु गरिएका थुप्रै कार्यक्रमहरूलाई उल्टाउने र तिनका बदलामा कन्जरभेटिभ कानुनहरू लागु गर्ने मौका प्राप्त हुने छ। तिनमा कर नीति, सरकारी खर्च र व्यापार तथा आप्रवाससम्बन्धी मुद्दाहरू पर्दछन्। त्यसो भएमा उनलाई अमेरिकी सरकारमा दिगो छाप छाड्ने मौका पनि मिल्ने छ।
उनको विजय एक त्यस्तो व्यक्तिको उल्लेखनीय पुनरागमन हो जो सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनाका माझ राष्ट्रपतिको पदबाट बिदा भएका थिए र उनको प्रतिष्ठा छियाछिया भएको थियो। डेमोक्र्याटहरू र केही रिपब्लिकनहरूले गरेका चर्को आलोचनापछि उनले थालेको चार वर्ष लामो राजनीतिक पुनरागमनको यात्राले अन्ततस् उनलाई अमेरिकी राजनीतिको सर्वोच्च पदमा पुर्याउने भएको छ।
यस क्रममा उनीविरुद्ध सङ्घीय र राज्यका अदालतहरूमा मुद्दाहरू दायर भए। उनलाई कतिपय फौजदारी अभियोगहरूमा दोषी ठहर गरियो। एउटा यौन हमलासँग सम्बन्धित मुद्दामा पनि उनलाई एउटा देवानी अदालतले जिम्मेवार ठहर गरेको थियो। अर्को अदालतले उनको व्यापार साम्राज्यमाथि ठूलो जरिवाना पनि लगायो।
यी सबैका माझ उनले राजनीतिक उद्देश्यको यात्रालाई रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनको उम्मेदवारी हासिल गर्ने बिन्दुसम्म पुर्याएका थिए। ट्रम्पले र्यालीहरूमा गर्ने भाषण बेलाबेला विषयवस्तुबाट विचलित र जथाभावी रुखो सुनिन्थ्यो। तर उनले आफूवरपर दक्ष तथा व्यावसायिक सहयोगीहरू राखे। वैचारिक मतसर्वेक्षणहरूका अनुसार अमेरिकीहरूले निर्वाचनमा ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको हुन सक्ने देखाएका छन् – आप्रवासनको मुद्दा र अर्थतन्त्र। अनि उनको निर्वाचन अभियानले प्रचारप्रसारका समयमा यिनै विषय निरन्तर उठाइरहेको थियो।
निर्वाचन प्रचार सुरु भएपछि बाइडनको साटो कमला ह्यारिस मैदानमा आएपछि ट्रम्पको टोली थोरै अनिश्चयमा परेको देखियो। तर चाँडै नै पूर्वराष्ट्रपति सम्हालिए अनि शासनमा रहेकाहरूको विरोधमा रहेको जनमतको बलमा अघि बढे। अब उनीसँग शासन चलाउन चार वर्ष छ – यसपालि उनको पछाडि अझ परिष्कृत राजनीतिक सङ्गठन पनि छ जो उनका चुनावी वाचाहरूलाई कार्यान्वयन गर्न तत्पर देखिन्छ।
प्रारम्भिक मतदान अनुमान, एक्जिट पोलहरू, को प्रक्षेपणलाई पछिल्ला मतगणना परिणामअनुसार अद्यावधिक र मिलान गर्ने कार्यहरू जारी रहँदा ट्रम्पले परम्परागत रूपमा डेमोक्र्याट गठबन्धनहरूको कब्जा रहेको मानिने युवा, हिस्पानिक र अश्वेत वर्णका मतदाताहरूलाई आकर्षित गर्न सकेको देखिएको छ। बीबीसी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा बधाई दिंदै लेखेका छन्, ‘राष्ट्रपतिमा पुनरागमन अमेरिकी इतहासको एक ऐतिहासिक अध्याय हो । हामी तपाईं नेतृत्वमा द्धिपक्ष सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको बढावा दिने विश्वास व्यक्त गर्दछौं ।’ रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेट्सकी कमला ह्यारिसलाई पराजित गर्दै बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बुधबार नै बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।
काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।
जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन् ।
यस्तै ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको छ । कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु पनि छठ पूजास्थल जाने कार्यक्रम छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ । छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
काठमाडौं । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए।
“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने।
अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताए।
उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन्।
उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन्।
मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।
डोनल्ड ट्रम्पले फ्लोरिडामा भेला भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न थालेका छन्।
त्यसअघि उनका छोरा एरिकले ट्रम्पको यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
भाषण गर्न मञ्चमा जाँदा ट्रम्पसँग उनकी पत्नी मेलानिया र उनको निर्वाचन अभियानका कर्मचारीहरू पनि छन्।
ट्रम्पले आफ्नो विजयलाई “भव्य” भनेका छन्।
उनले सीमासम्बन्धी विषय समाधान गर्ने घोषणा पनि गरे।
काठमाडौं । तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि जोडिएको छ छठसँग ।
तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।
यी सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरपालिकाले छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थान तोकिएका छन ।
– गौरी घाट, वडा ८
– कोटेश्वर दोभान, वडा ३२
– कमल पोखरी, वडा १
– वंशीघाट, वडा ११
– बालाजु बाइसधारा, वडा १६
– धौखेल खोला, वडा १३
– कुमारी क्लब, वडा १४
– भुवनेश्वरी मन्दिर, वडा १४
काठमाडौं महानगरपालिकाका माथि उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको मेयर बालेनले जनाएका छन् । यसका साथै सम्बन्धित वडाबाट पनि प्रत्यक्ष रूपमा काम गरिरहेको उनले बताएका छन् ।