Category: समाचार

  • माडी खोलाले बगाउँदा दुईको मृत्यु

    माडी खोलाले बगाउँदा दुईको मृत्यु

    काठमाडौं । प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।

    बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल शव भेटिएको प्रहरीको भनाइ छ । त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले जनाएको छ ।

  • काठमाडौंमा छ्याप्छ्याप्ती प्लाष्टिकका फूल र माला, महानगरमा ३५ बोरा बरामद

    काठमाडौंमा छ्याप्छ्याप्ती प्लाष्टिकका फूल र माला, महानगरमा ३५ बोरा बरामद

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । महानगरले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले जनाए ।

    महानगरले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ । महानगरले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराएको छ । गत वर्षदेखि महानगरले किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो । किसानलाई सहज होस् भनेर ४६ स्थानमा बिक्री स्थान तोकेको छ ।

  • हङकङ सिक्सेसमा नेपालको ऐतिहासिक जित

    हङकङ सिक्सेसमा नेपालको ऐतिहासिक जित

    काठमाडौं । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो । नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा नेपालले त्यसलाई बिना विकेटको क्षति हात पारेको थियो ।

    नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्‍यो । नेपालको जितमा कप्तान सन्दीप जोरा नायक रहे । उनले १२ बलमा ५० रन बनाए । उनको ब्याटबाट ४ चौका र ६ छक्का निस्केको थियो । लोकेश बमले ११ बलमा २० रन बनाए । उनले एक चौका र दुई छक्का प्रहार गरे ।

    नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान रवि बोपाराको रह्यो । उनले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे । यसतै समित पटेलले १७ बलमा ३९ रन बनाए । उनले भने तीन तीन चौका र छक्का प्रहार गरे । अरू ब्याटरले भने गतिलो योगदान दिन सकेनन् ।

    नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई–दुई विकेट हात पारे । यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो । रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।

  • स्पेनमा भिषण बाढी, मृत्यु हुनेको संख्या १५०

    स्पेनमा भिषण बाढी, मृत्यु हुनेको संख्या १५०

    काठमाडौं । स्पेनमा दशकौँयता आएको भीषण बाढीमा मृत्यु हुनेको सङ्ख्या १५० नाघेको छ। विषम मौषमी अवस्थाबीच उद्धारकर्मीहरू हराइरहेका कैयौँ मानिसहरूको खोजीमा जुटेका छन्। बेपत्ता हुनेहरूको सङ्ख्या अझै प्रस्ट छैन। बिहीवार १,२०० जना उद्धारकर्मीहरू ड्रोन सहित खटिए पनि देशको केही भागमा जारी वर्षाका कारण उनीहरूको काम प्रभावित भएको थियो।

    “अहिलेको सबैभन्दा प्रमुख कुरा सकेसम्म धेरै मानिसहरूको ज्यान बचाउने हो,” बाढी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूसँग भने। ज्यान गुमाउने अधिकांश भ्यालेन्सीया क्षेत्रका छन् जहाँ केही घण्टामै एक वर्षमा पर्ने परिमाणको पानी परेको थियो। उक्त सहरमा मात्रै १५५ जनाको मृत्यु भएको तथ्याङ्क छ।

    मङ्गलवारको मुसलधारे वर्षापछि आएको बाढीले बाँध भत्काउनुका साथै पुल र भवनहरू बगाएको थियो भने मानिसहरू ज्यान जोगाउन घरका छत र रूखहरू चढ्न बाध्य भएका थिए। बाढीले ल्याएको माटो, भग्नावशेष र बगाएका कारहरूका कारण सडकहरू पनि अवरुद्ध छन्। धेरै मानिसहरू विद्युत् विना बसिरहेका छन्। सरकारले देशमा तीन दिने शोकको घोषणा गरेको छ। अझै पनि धेरै मानिसहरू हराइरहेकाले यो प्राकृतिक विपद्‌मा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने पनि सरकारले बताएको छ।


    पूर्वी भ्यालेन्सीया प्रान्त र त्यहाँभन्दा बाहिरका ठाउँहरूमा भीषण वर्षाले दशकौँयताको सबैभन्दा खराब विपद् निम्त्याएको हो। सन् १९७३ यता बाढीका कारणले स्पेनमा यति धेरै सङ्ख्यामा मानिसको ज्यान गएको यो पहिलो पटक हो। त्यसबेला देशको दक्षिण पूर्वी क्षेत्रमा गएको अहिलेसम्मकै सर्वाधिक खराब बाढीमा कम्तिमा १५० जनाको मृत्यु भएको थियो।

    बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरे र पूर्ण रूपमा पुनर्स्थापनाको वाचा गरे। उनले भने, “पूरै स्पेन तपाईँहरूसँगै रोइरहेको छ‘ हामी तपाईँहरूलाई यसै छाडिदिने छैनौँ।”

    स्पेनको सरकारी मौसम एजेन्सीका अनुसार भ्यालेन्सीया नजिकैको एउटा नगर चीभामा एक वर्ष बराबरको पानी जम्मा ८ घण्टामै परेको थियो। स्पेनको सेना र आपत्तकालीन उद्धारकर्ताहरूले बुधवार बिहान मानिसहरूलाई घर र कारको छतहरूबाट उद्धार गरेको थियो। ज्यान जोगाएका मानिसहरूले मंगलवार रातिको बाढीको आतङ्कको चर्चा गरेका थिए। अकस्मात चोक र सडक नदीमा परिणत भएको थियो। धेरै सवारी चालकहरूले बाढीले त्यस्तो स्वरूप लिने अनुमान नै गर्न सकेका थिएनन्।

    भ्यालेन्सीया नजिकैकाका गिलेर्मो सेरानो पेरेजले राजमार्गमा ‘सुनामी’ जस्तै गरी पानी छिरेको बताए। २१ वर्षका उनी र उनका अभिभावक कार छाडेर ज्यान जोगाउन रुखमा चढ्न बाध्य भएका थिए। अर्का प्रत्यक्षदर्शीले मोटरवेमा सवारी चलाइरहेका व्यक्तिहरूले आफूतिर तीव्र गतिमा पानी आइरहेको देखेपछि हाते साङ्लो बनाएर भागेको सम्झना गरे। प्याट्रिसिया रोड्रिगेजले एल पाइस समाचारपत्रलाई भनिन्, “कोही पनि चिप्लिएनन्। किनभने कोही लडेको भए, पानीको वेगले उनीहरूलाई बगाएर लैजान्थ्यो।”

    ला टोरेका एकजना बासिन्दाले बीबीसीसँग कुरा गर्दै उनका कतिपय साथीहरूले घर गुमाएको र मंगलवार राति ‘कार पानीमा तैरिरहेको’ र पानीको वेगले ‘पर्खालहरू भत्काएको’ जनाए। भ्यालेन्सीयाबाहिरको एउटा नगर होर्नो डी एलसिडोका मेयरले बीबीसीको न्यूजआवरलाई केही मिनेटभित्रै पानीको तह एक मिटरभन्दा बढीले बढेको बताए। “पानीको वेग ज्यादै तीव्र थियो त्यही भएर हामीले आपत्कालीन सेवाका मानिसहरूलाई बोलायौँ जसले घाँटीसम्म पानीमा डुबिरहेका केही व्यक्तिहरूको उद्धार गरे,” कोनसुएलो टाराजोनले भने।

    स्पेनमा धेरै घटनाहरूमा विपद् उद्धारसँग सम्बन्धीत चेतावनी दिइदाँसमेत समयमा नै कदम चाल्न अधिकारीहरू असफल हुने गरेका आरोप लागेका छन्। यसको कारण मानिसहरू सुरक्षित स्थानमा पुग्न नसकेको कुरा यसपटक पनि उठिरहेको छ। विपद्को समयमा परिचालित हुने गरेको नागरिक सुरक्षा एजेन्सीले स्थानीय समय अनुसार २०स्१५ सम्म चेतावनी जारि गरेको थिएन। तर त्यो बेलासम्म चीभा र अन्य कैयौँ शहरहरूमा दुई घण्टा देखि बाढी पसिरहेको थियो।

    उद्धारका लागि स्पेनले १ हजार फौज परिचालन गरेको भएपनि सडक, विद्यूत र सञ्चारमा देखिएको अवरोधका कारण धेरै जना प्रभावित रहेका ठाउँसम्म पुग्न विफल भएका थिए। युरोपेली सङ्घकी प्रमुख उर्जुला फोन डेर लाइअनले उद्धारमा सघाउन कोपरनिकस भूउपग्रह प्रणालीलाई सक्रिय तुल्याइएको बताएकी छन्। अरू छिमेकी देशहरूले पनि सहयता पठाउने जनाएका छन्।

    स्पेनकी रक्षामन्त्री मार्गरिटा रोब्लेसले बुधवारको बाढी ‘अभूतपूर्व घटना’ रहेको बताएकी छन्। उक्त वर्षा देशको मध्यपूर्वतर्फ सहज देखिएको थियो तर मौसम अधिकारीहरूले वर्षा उत्तरपूर्वको क्याटोलिनातर्फ अघि बढेको जनाएका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन भन्दै मौसमसम्बन्धी चेतावनी पनि दिइएको छ। बाढीका लागि विभिन्न कारणहरू जिम्मेवार हुन्छन्। तर जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा भीषण वर्षाको सम्भवना बढी हुन्छ।


    बीबीसीबाट सभार

  • आज तिहारको कुनै पर्व नहुने

    आज तिहारको कुनै पर्व नहुने

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कात्तिक १६ गते शुक्रबार कुनै पनि चाडपर्व छैन। औंसी भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिले जनाएको छ । यस वर्ष तिथि घटबढले औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।
    विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको छ । शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

    नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने समितिको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।

    कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ । तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो । यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ । टीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।

  • लक्ष्मी पूजाकै दिन कीर्तिमानी मूल्यमा सुन, तोलाकै १ लाख ७० हजार माथि

    लक्ष्मी पूजाकै दिन कीर्तिमानी मूल्यमा सुन, तोलाकै १ लाख ७० हजार माथि

    काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

    बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई रु. एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला रु. तीन सयले वृद्धि भएको हो । यस्तै चाँदीको मूल्य तोलामा रु। ३० ले घटेको छ । बुधबार प्रतितोला रु. दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु। दुई हजार ९० निर्धारण भएको छ ।

  • एक रुपैयाँ घट्यो मट्टितेल र डिजेलको मूल्य

    एक रुपैयाँ घट्यो मट्टितेल र डिजेलको मूल्य

    काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय ५० रुपियाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

  • वर्तमान सरकारले आर्थिक समृद्धि ल्याएरै छाड्छ : प्रधानमन्त्री

    वर्तमान सरकारले आर्थिक समृद्धि ल्याएरै छाड्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम २०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताए ।

    “देशमा विकास भएको छ, राम्रा काम भएका छन्”, प्रधानमन्त्री ओलीले भने, “देश बनाउने काम एक छिनमा हुने कुरो होइन। देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन्। त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ।”

    प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्कने बताए । उनले भने, “निराश भइहाल्नुपर्ने अवस्था छैन। गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ। गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ, तर, मेरो आग्रह के मात्रै हो भने एउटा शिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो।”

    सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो। “सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरूप कामलाई तीव्रताका साथ अगाडि बढाउँछ”, उनले भने । पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गरे ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गरे । तिहारका अवसरमा विगतका वर्षमा जस्तै सिस्नोपानी नेपालले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भए ।

    देउसी कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति थियो।

    सिस्नोपानी नेपालले समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रहार गर्दै देउसी कार्यक्रम आयोजना गर्ने गरेको छ। सो अवसरमा हास्यकलाकार मनोज गजुरेललगायतको समूहले विशेष प्रस्तुति प्रस्तुत गरेको थियो।

  • सञ्चारमन्त्री भन्छन् : बालेनको साइवर ग्रुपमा एमालेकै छोराछोरी छन्

    सञ्चारमन्त्री भन्छन् : बालेनको साइवर ग्रुपमा एमालेकै छोराछोरी छन्

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् । बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् । ‘हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुमा लेखिरहेका छन्, त्यसमा हाम्रो ध्यान गएको छ ?’ उनले प्रश्न गरे ।

    अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र राजनीतिमा रहेको भन्दै मन्त्री गुरुङले उनीहरु नै अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीहरुमा बाँडिएको बताए । ‘७० देखि ७५ प्रतिशत विद्यार्थी राजनाीतिमा छैनन्, उनीहरु रास्वपा र बालेनजस्ताको सेना भइरहेका छन्’, उनले भने । एमालेले देशभरका छोराछोरी अखिलमा र युवा संघमा होस् भनेपनि उनीहरु कहाँ छन् भन्ने पार्टीका नेता कार्यकर्तालाई थाहै नभएको नेता गुरुङको भनाइ छ ।

    ‘देशैभरि छोराछोरी अखिलमा, युवा संघमा होस् भनेको होइन, कहाँ छन् उनीहरु रु पार्टीले बनाएको योजना हामीले कहाँ कार्यान्वयन गरेका छौं ?’, उनले प्रश्न गरे, ‘नयाँ पुस्ता हामीसँग छैन अहिले, उनीहरुलाई विद्यार्थी, युवा अरु कुन कुन जनसंगठन छन्, त्यसमा आवद्ध गर्नुपर्‍यो ।’

  • अमेरिका भ्रमणबाट स्वदेश फर्किए अर्थमन्त्री

    अमेरिका भ्रमणबाट स्वदेश फर्किए अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरे । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरे ।


    त्यसैगरी, जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरेका थिए । अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताए ।

    अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुसँग अलग–अलग भेटवार्ता गरेका थिए । विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका थिए । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । अर्थमन्त्री पौडेल कात्तिक ५ गते अमेरिका गएका थिए ।

  • महाकवि देवकोटाको जन्मजयन्ती आज

    महाकवि देवकोटाको जन्मजयन्ती आज

    काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि।सं। १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

    १० वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए ।

    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनले ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

    भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेको भनी चर्चा हुने गरेको छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

    विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी वि.सं. १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।

    वि.सं. २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका थिए ।

    तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्ने गरिएको छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

    चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक रूपमा पनि देवकोटा सक्रिय थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो । वि.सं. २००२ मा किनेर २००४ सालमा सर्नुभएको मैतीदेवीस्थित देवकोटाको घरलाई वि.सं २०७९ असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ ।

    नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

  • खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार

    खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सिमित भएको थियो । काठमाडौं महानगरपालिकाले बुधबारै राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।

    महानगरले नेपाली टिमका खेलाडी र अफिसियल सबैलाई गरेर कूल २७ लाख ५० हजारबाट सम्मान गरेको जनाएको छ । तर सम्मान का क्रममा भने २५ लाखको डेमो चेक प्रदान गरिएको थियो । महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतले खेलाडी र अफिसियललाई सम्मान गरे । सम्मान कार्यक्रममा एन्फा अध्यक्ष पंकज विकम नेम्वाङ लगायत एन्फा पदाधिकारी पनि उपस्थित थिए ।

    महानगरले २३ खेलाडीर टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक विनोद महर्जन, टिम डक्टर ज्योती राई, फिजियो नविना श्रेष्ठ, पंकज बहादुर शाही, किट म्यानेजर विकास गुरुङलाई सम्मान गरेको हो ।

    मेयर बालेनले नेपाली टिमलाई उपविजेता भएकोमा बधाई दिँदै सारा नेपाललाई जोड्ने काम गरेको भन्दै धन्यवाद दिए । उनले हारले दुस्खी हुनु भन्दा अब आउने दिन राम्रो खेल्नुपर्ने बताए । उपमेयर सुनिताले एउटा नै अन्त्य नभएको र दुखी हुनु नपर्ने बताइन् ।

  • कुकुर तिहार र लक्ष्मी पूजा आज एकै दिन

    कुकुर तिहार र लक्ष्मी पूजा आज एकै दिन

    काठमाडौं । तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

    वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको संख्यासमेत बढ्न थालेको छ ।

    आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

    लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

    पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ । तर दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

    दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

    लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

    लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ ।

    आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताए ।

    आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए ।

  • स्थानीय तह उपनिर्वाचनमा होमियो कांग्रेस, संयोजन समिति गठन

    स्थानीय तह उपनिर्वाचनमा होमियो कांग्रेस, संयोजन समिति गठन

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि संयोजन समिति गठन गरेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीयसंयोजन समिति गठन गरिएको हो । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार समितिको सदस्यहरूमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता प्रकाशसरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहेका छन् । केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई समितिको सदस्य सचिव तोकिएको छ ।

  • नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद

    नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद

    काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् ।

    बुधबार दशरथ रंगशालामा भएको खेलमा २–१ ले नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो । हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो । बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो ।

  • तिहार बिदामा समेत सर्वोच्च अदालत खुलै रहने

    तिहार बिदामा समेत सर्वोच्च अदालत खुलै रहने

    काठमाडौं । तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।”

  • प्रधानमन्त्रीले गरे नेपाली टोलीको प्रसंशा

    प्रधानमन्त्रीले गरे नेपाली टोलीको प्रसंशा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् ।
    आज भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मिहिनेत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन् । बुधबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले विजयी टिम र खेलाडीहरूलाई दशरथ रंगशालामा पुरस्कार प्रदान गरेका छन् ।

  • साफ वुमन्सको फाइनलमा हार्यो नेपाल

    साफ वुमन्सको फाइनलमा हार्यो नेपाल

    काठमाडौं । नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् ।


    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । ऋतुले गोल गर्दै दशरथ रंगशालमा उस्थित १५ हजार धन्दा बढी दर्शकलाई साइलेन्ट बनाइन् । उनको सेलेब्रेसन पनि त्यस्तै शैलीको थियो । त्यसपछि नेपाली दर्शकले लगातार नेपाल नेपाल ’ भनेर हुटिङ गरिरहेका थिए ।

    नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहेपनि सफल हुन सकेन । घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन । यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

  • काग तिहार आज, के छ महत्व ?

    काग तिहार आज, के छ महत्व ?

    काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

    यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

    लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास रहिआएको धर्मशास्त्रविद् प्रा‍। डा। रामचन्द्र गौतम बताउँछन् । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

    यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।

  • साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

    साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
    दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ ।

    नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्‍याइ फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौं । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौं ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे ।

    बंगलादेशका प्रशिक्षक पिटर बटलरले नेपाल घरेलु टिम भएकाले सम्मान दिएर अट्याकिङ फुटबल खेल्ने बताएका छन् । बंगलादेशकी कप्तान सबिना खातुनले फाइनल प्रतिस्पर्धात्मक हुने बताएकी छन् । नेपाली टिमकी गोल मसिन साबित्रा भण्डारी (साम्बा)ले पनि यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भ एको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् ।

    घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो । उनले भनिन्, ‘यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौं, विगतका हारबाट धेरै कुरा सिकेका छौं । विगतका गल्तीलाई नदोहोर्‍याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौं ।’ साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । अब त्यो कीर्तिमान तोड्ने अवसर साम्बालाई छ ।

  • विद्युत्‌ महसुल बक्यौता विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदै

    विद्युत्‌ महसुल बक्यौता विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदै

    काठमाडौं । सरकारले विद्युत्‌ महसुल बक्यौता समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विषयमा सरकार र नेपाल विद्युत्‌ प्राधिकरणबीच मतभेद भइरहेका बेला मंगलबारको मन्त्रिपरिषद्‌ बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दैप्राधिकरणले कातिक ८ मा बिजुली काटेको छ । उद्योगीहरूले लाल आयोगको प्रतिवेदन अक्षरशः लागू गरे बक्यौता तिर्न तयार रहेको बताइरहेका छन् ।

    लाल आयोगले ०७२ माघदेखि ०७५ वैशाखसम्म अवधिको हकमा डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्दा तोकिएको मापदण्डअनुसार विद्युत् आपूर्ति भएका दिन तथा अवधि यकिन गरी महसुल लिन पाइने सुझाएको थियो । यो अवधिको उद्योगीहरूले तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । विद्युत्को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको छ ।

  • राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत

    राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।

    भ्रमण दलमा वन तथा वातावणमन्त्री ऐनबहादुर शाही अजरबैजान जाने कार्यक्रम स्वीकृत भएको हो । राष्ट्रपति पौडेलले अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सम्मेलनका क्रममा राष्ट्रपतिले विभिन्न मुलुकका राष्ट्रप्रमुखसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

  • स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

    स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।

    गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनाका घाइते थापालाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल लगिएको थियो। अस्पतालका चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

  • भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ

    भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ

    काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाका अनुसार नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए ।
    पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए । हिन्दी भाषामा लेखिएको उनको पुस्तक अंग्रेजीमा पनि अनुवाद भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो । उनी यसअघि पनि २०२१ मा पक्राउ परेका थिए । उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।

    प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ । नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि केही घन्टा विमानस्थल अस्तव्यस्त बनेको थियो । त्यसअघि भिस्टारा एयरवेजको विमानमा पनि बम रहेको हल्ला फैलिएको थियो । ७ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, दुवैपटक शंकास्पद वस्तु फेला परेन ।

  • भौतिक मन्त्रीले गरे यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन

    भौतिक मन्त्रीले गरे यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए । अनुगमनका क्रममा उनले सेवाग्राहीसँग समेत कुराकानी गरेका थिए । उनले विभागबाट प्रवाह सेवाबारे जानकारी लिएका थिए । सेवाग्राहीले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाउन आग्रह गरे ।

    सेवाग्राहीसँग कुराकानीपछि उनले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए । उनले टोकन प्रणाली लागु गरी सेवा लिने प्रबन्ध गर्न समेत निर्देशन दिए । मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोस्ड नम्बर छपाइका बारेमा पनि जानकारी लिए ।

    विभागका महानिर्देशक राजिव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाइ भई रहेको जानकारी दिए । प्रदेश स्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उनको भनाइ छ । इम्बोस्ड नम्बर जडानलाई थप तीव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशै भर कार्यान्वयन गरिने बताए । नयाँ सडकहरूमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ ।

  • बुटवलबाट ५० लाख बराबरको सुनसहित दुई जना पक्राउ

    बुटवलबाट ५० लाख बराबरको सुनसहित दुई जना पक्राउ

    काठमाडौं । रुपन्देही प्रहरीले झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ ।

    कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्राइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरुको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । उनका अनुसार ४९ लाख ५४ हजार बढी मूल्य बराबरको बरामद सुन बिस्कुट आकारमा छ । बरामद सुन र पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

  • धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु

    धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु

    काठमाडौं\रासस। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्छ । सोहीकारण आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

    “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिए । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

    यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।

    बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

    कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गरे । उनका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।

    गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।

    कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।

    सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उनले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

  • कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ

    कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ

    काठमाडौं । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।
    लहान नगरपालिका ४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान २३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् ।


    पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बालोन डी’ ओर अवार्ड रोड्रीलाई

    बालोन डी’ ओर अवार्ड रोड्रीलाई

    काठमाडौं । स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । यस पटक दुई महान खेलाडी रोनाल्डो र मेसी बीना प्रतिस्पर्धा भएको हो । सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जिते । २८ वर्षीय रोड्रीले गत सिजन सिटीका लागि प्रिमियर लिग यूईएफए सुपर र क्लब विश्वकप साथै स्पेनको राष्ट्रिय टोलीबाट युरोकप जितेका थिए ।

    सिटीका खेलाडीले बालोन डी’ओर अवार्ड जितेको यो पहिलोपटक हो । उनले रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङघहम अनि आफ्नै टिममेट एर्लिङ हालान्डलाई पछि पारे । भिनिसियस दोस्रो र बेलिङघहम तेस्रो स्थानमा रहे ।

    अवार्ड प्राप्त गरेपछि रोड्रीले आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए । ‘म र मेरो परिवारको लागि यो एकदमै विशेष क्षण हो,’ उनले भने । बालोन डे’ओभरमा फिफा वरियतामा शीर्ष सयमा रहेका राष्ठ्रका पत्रकारहरुको जुरीले गरेको भोटका आधारमा उत्कृष्ट पुरुष खेलाडी छनोट गरिएको हो । यस्तै महिलातर्फको अवार्ड स्पेनकी आइतना बोनमाटीले जितिन् । उनले लगातार दोस्रो सिनज यो अवार्ड जितेकी हुन् ।

    रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते भने रियल मड्रिडले क्लब अफ दि इअरको अवार्ड पायो । बार्सिलोनाका युवा स्टार लामिन यामलले कोपा ट्रफी जिते भने अर्जेन्टिनाका गोलकिपर एमिलयानो मराटिनेजले उत्कृष्ट गोलकिपर बन्दै यासिन ट्रफी जिते । ह्यारी केन र केलिएन एमबाप्पेले गर्ड मुलर अवार्ड जिते । महिलातर्फ उत्कृष्ट क्लबको अवार्ड बार्सिलोनाले जित्यो । महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड इंग्ल्याण्डकी प्रशिक्षक एम्मा हायसले जिते ।

  • रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी

    रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।

    कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय भएको छ । १२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्नेछन् ।


    पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वापले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ । यस कार्यक्रमका लागि रास्वपाले देशभरबाट कार्यकर्ता उतार्दैछ ।