Category: समाचार

  • मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु

    मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु

    काठमाडौं । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

    मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताए । मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

  • खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा

    खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा

    काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १ः१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।

    तामाकोसी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार ९कन्डक्टर० मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिंक टुटेको थियो । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुन्छ ।

    खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युतलाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । सिन्धुपाल्चोकको भोटेकोसी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि भारततर्फको विद्युत् निर्यात समेत प्रभावित भइरहेको थियो ।

    अहिले ईआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आफैंसँग रहेको ईआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । ईआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर ईआरएस टावर राखिएको हो ।

  • अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा

    अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा

    काठमाडौं । श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । “हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारलाई भने, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।” उनले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई लक्षित गर्ने कथित षड्यन्त्रको सिलसिलामा पक्राउ गरिएको जानकारी दिए ।


    श्रीलंकाले अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि सर्फिङ रिसोर्ट अरुगम बेमा र अन्य लोकप्रिय पर्यटकीय स्थलहरुमा सैनिक तैनाथ गरेको सार्वजनिक सुरक्षामन्त्रीसमेत रहनुभएका हेराथले बताए । यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।

    प्रहरीले इजरायलीहरूका लागि हटलाइन स्थापना गरेको थियो । प्रहरीका अनुसार हाल देशमा करिब पाँच सय ७० इजरायली नागरिकहरु रहेको छ । कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित अरुगम बे इजरायली पर्यटकहरुको लोकप्रिय गन्तव्य हो ।

    अमेरिकी चेतावनी इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा गरिएका पोस्टहरूपछि आएको हो । गाजा र लेबनानमा इरान समर्थित हमास र हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको विरोधमा स्थानीय मुस्लिम समूहहरुले प्रदर्शन पनि गरेका थिए ।

    अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्युजिल्यान्डले आफ्ना वेबसाइटहरुमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरुमा नजान सल्लाह दिएको छ ।

    पैँतालिस विदेशी नागरिकसहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन । तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाउने एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।

    त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो । तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरुको सङ्ख्या बढेको छ । रासस\एएफपी

  • प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल

    प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल

    काठमाडौं । सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिसकिएको छ ।

    साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।
    कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उनले लाइन काट्न शुरु गरेका हुन् ।

    पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक सम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरु छन् ।

  • भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित

    भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित

    काठमाडौं । भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ ।

    ‘दाना’ का कारण यातायात सेवा पहिले नै प्रभावित भएको छ, धेरै रेल सञ्जाल र हवाई उडानहरू रद्द भएका छन् । भारतको मौसम विभागले बंगालको खाडीमा बनेको न्यून चाप बिहीबार साँझसम्म ठूलो आँधीमा परिणत हुने जनाएको छ । आँधीका कारण तटीय क्षेत्रहरू १२० किमि प्रतिघन्टाको गतिमा हावाहुरी आउने बताइएको छ । बुधबार उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएका थिए ।

    अधिकारीहरूले खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारेको जनाइएको छ । ‘हामी आँधीसँग लड्न पूर्ण रूपमा तयार छौं । नआत्तिनुहोस्, सुरक्षित र सावधान रहनुहोस्,’ माझीले भनेका थिए । उडिसा राज्यका १४ जिल्लाबाट कम्तीमा १० लाख र पश्चिम बंगाल राज्यका तटीय क्षेत्रहरूबाट कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । दुवै राज्यमा तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै अधिकारीहरू र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।


    बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म भुवनेश्वर र कोलकाता सहरका विमानस्थलबाट उडान स्थगन गरिएको र आँधीका कारण २ सयभन्दा बढी रेल सेवा अवरुद्ध भएको जनाइएको छ । उडिसा र पश्चिम बंगालमा हरेक वर्ष ठूलो आँधी तथा चक्रवात आउने गर्छ । सन् १९९९ मा उडिसामा चक्रवातका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । गत वर्ष भारत र बंगलादेशमा आँधीका कारण कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

  • रास्वपाका सभापति लामिछाने र पूर्वडीआइजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने

    रास्वपाका सभापति लामिछाने र पूर्वडीआइजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए ।

    अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कास्की प्रहरी प्रवक्ता एवं डीएसपी बसन्तकुमार शर्माले सूर्यदर्शन सहकारी ठगीसँग जोडिएका लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने बताए ।

    ‘एउटै मुद्दामा अब तीनवटा अपराधमा अनुसन्धान हुन्छ,’ उनले भने । संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ ।

  • शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय

    शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय

    काठमाडौं । सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ । सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेंगी फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । डेंगी संक्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयले लगेको त्यस्तो प्रस्ताव उपर मन्त्रिपरिषदले निर्णय लिदैं शुक्रबार १० बजे सबै १० मिनेट सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने भनेको छ ।

    कवाडी सामानहरुमा जमेका पानी फाल्ने सरसफाई गर्न अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद बैठक पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताएका छन् । डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण हो । डेंगी सार्ने लामखुट्टेले जमेको पानीमा फूल पार्छ । थोरै जमेको पानीमा पनि लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी कतै जम्न नदिन विज्ञहरुले सुझाव दिदैं आएका छन् । स्वास्थ्य मन्त्रालयले त्यस्तो अभियाननै चाल्नुपर्ने प्रस्ताव गरेपछि सरकारी कार्यालबाट प्रारम्भ गर्न लागिएको हो ।

  • साफमा नेपालको सानदार प्रदर्शन जारी : टीम सेमिफाइनलमा

    साफमा नेपालको सानदार प्रदर्शन जारी : टीम सेमिफाइनलमा

    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले पराजित गरेर समूह विजेता बन्यो। नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो।

    गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्‍यो। यसअघि नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलेको थियो। अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ। त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्ने छन्।

    बिहीबार समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन्। अघिल्लो खेलमा माल्दिभ्सविरूद्ध पाँच गोल गरेकी रेखाले बिहीबार श्रीलंकाविरूद्ध १३ र ३६ मिनेटमा गोल गर्न सफल भइन्।

    रेखाले १३ मिनेटमा अमिषा कार्कीले गरेको क्रसमा डिबक्स भित्रबाट उत्कृष्ट भलिमार्फत् बललाई गोल पोस्टको दिशा दिएकी थिइन्। ३६ मिनेटमा रेखाले सावित्रा भण्डारी साम्बाले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई गोल लाइन नजिक छुँदा जाली चुमेको थियो।

    त्यसअघि आठौं मिनेटमा सविता रानामगरले साम्बाको पासमा डिबक्सभित्रबाट गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। अघिल्ला दुई खेलमा अनुपस्थित साम्बाले ११ मिनेटमा लोभलाग्दो गोल गरेकी थिइन्। डिबक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारले सिधा गोलपोस्टको दिशा लिएको थियो।

    दोस्रो हाफमा नेपालले थप दुई गोल गर्‍यो। अमिषा कार्कीले ४७ मिनेटमा नेपालका लागि पाँचौ गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफको इन्जुरी समयमा नेपालले छैटौं गोल गरेको थियो। नेपालका लागि रश्मीकुमारी घिसिङले सो गोल गरेका थिइन् भने नेपाललाई समूह विजेता बनाइन्।

  • युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?

    युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?

    काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्किंदै गए पनि सरकारले लेबनानमा त्यहाँ श्रमिक पठाउन बन्द गरेको छैन । लेबनानमा कार्यरत करिब ७ सय जना घरेलु महिला श्रमिकहरु त्रासमा रहेका बेला सरकारले लेबनानमा थप श्रमिक जान नदिने गरी कुनै निर्णय गरेको छैन ।

    वैदेशिक रोजगार विभागले त्यहाँको सुरक्षा अवस्था र थप श्रमिक पठाउँदा हुन सक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार श्रम स्वीकृति रोक्नेबारे छलफल भइरहेको छ ।


    उनका अनुसार ‘परराष्ट्र मन्त्रालयले चासोका साथ त्यहाँको अवस्था हेरिरहेको छ । अहिलेसम्म सरकारले लेबनानमा रहेका नेपालीहरु असुरक्षित रहेको निष्कर्ष निकालिसकेको छैन। लेबनानी मन्त्रिपरिषको विपद् जोखिम व्यवस्थापन इकाइले मंगलबार जारी गरेको प्रतिवेदन अनुसार लेबनानमा इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या २ हजार ५३० पुगेको छ, आक्रमणहरुमा ११ हजार ८०३ जना घाइते भएका छन् ।

    लेबनानमा धेरैजसो महिला घरेलु श्रमिकहरु छन् । धेरैजसो बेरुत लगायतका शहरमा काम गरिरहेका छन् । सरकारले युद्धग्रस्त लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले गत १५ असोजमै सूचना जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको थियो । कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न इजिप्टको कायरोस्थित नेपाली राजदूतावास, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरु र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरिएको छ ।

    कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी मन्त्रालयले परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।

  • उत्तर कोरियाले रुसमा सैनिक पठाएको अमेरिकाको दावि

    उत्तर कोरियाले रुसमा सैनिक पठाएको अमेरिकाको दावि

    काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको दावि गरेका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको बताएका थिए ।

    त्यसलगत्तै अमेरिकी रक्षामन्त्रीको बयान सार्वजनिक भएको हो । इटालीको रोम भ्रमणमा रहेका उनले पत्रकारहरुसँग कुरा गर्दै कोरियाली सैनिकले ठ्याक्कै के गरिरहेका छन्, त्यो हेर्न बाँकी रहेको बताए । उनले भनेका छन्, “यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ”, यसले युरोप र इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उनको दावि छ ।

    दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताएका थिए ।

    अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिकरुपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।

    दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरुलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिएका छन् ।

  • फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु

    फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु

    काठमाडौं । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थापित भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् ।

    पूरै गाउँ डुबानमा छन् । उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेको प्रहरीले बताएका छन् । राजधानी मनिलाबाट करिब चारसय किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ ।

    “हामीले प्रहरी उद्धार टोलीहरू पठाएका थियौँ तर उनीहरूलाई केही क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो” क्षेत्रीय प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले भने ।
    नागाको बिकोल सहरमा बाढीमा डुबेर ११ जनाको मृत्यु भएको स्थानीय प्रहरी प्रमुख इर्विन रिबेलियनले बताए । राजधानीको दक्षिणपूर्व क्वेजोन प्रान्तमा एक वृद्धाको डुबेर मृत्यु भएको छ । एक बालकको पनि बाढी आएको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मनिलाको सिभिल डिफेन्स अफिसले रुखको हाँगाबाट खसेर एक जनाको मृत्यु भएको जनाएको छ । बेलुका ८ बजेसम्म आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्तबाट एकसय ५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रतिघन्टासम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ ।

    यो रातिको समयमा इसाबेलाको तटमा ठोक्किने अपेक्षा गरिएको थियो । यो टापू पार गरेर दक्षिण चीन सागरमा जाँदा थोरै कमजोर हुँदै गएको थियो । विगत २४ घण्टामा यस क्षेत्रमा पाँचसय मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ । रासस, एएफपी

  • रुसमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भेट, कुन मुद्दामा भयो कुराकानी ?

    रुसमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भेट, कुन मुद्दामा भयो कुराकानी ?

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्वीर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘‘दुई देशका नागरिकका साथै क्षेत्रीय र विश्व शान्तिका साथै स्थिरताका लागि भारत र चीनको सम्बन्ध महत्वपूर्ण छ । आपसी विश्वास, आदर र संवेदनशीलताले नै दुबै देशको द्वीपक्षीय सम्बन्धको बाटो देखाउने छ ।’

    भारतीय विदेश मन्त्रालयका अनुसार भेटमा दुबै नेताले एलएसी अर्थात दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् । मोदीले दुबै देशको बीचमा रहेको विवाद र मतभेद हल गर्नुपर्नेमा जोड दिएका छन् । साथै सीमा विवादमा दुबै देशबीच विशेष प्रतिनिधिबारे समेत सहमति भएको छ, जसले सीमामा शान्ति कायम गर्न र पारस्परिक रुपमा स्वीकार्य समाधानको खोजी गर्ने छन् । दुई देशका विदेश मन्त्रीस्तरीय सम्बन्धलाई पुनः अगाडि बढाउन पनि सम्वाद सुरु गरिनेछ ।

    चिनियाँ विदेश मन्त्रालयले पनि दुबै देशको आपसी सम्पर्क र सहयोग बढाउने र असहमति तथा मतभेदलाई समझदारीका साथ सुल्झाउन दुई नेताले जोड दिएको बताएको छ ।

  • महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, के होला निर्णय ?

    महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, के होला निर्णय ?

    काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमा आज सकिँदैछ । प्राधिकरणले यसबारे निर्णय गर्न बोर्ड बैठक बोलाएको छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान नौ बजे बोलाइएको छ । ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने प्रावधान छ ।

    बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले दशैंको फूलपातीको दिन अर्थात् २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।

    प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को महसुल तिरेका छैनन् । प्राधिकरणले त्यस्ता उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको थियो ।

  • ब्रिटेनको लेवर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

    ब्रिटेनको लेवर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

    काठमाडौं । डोनल्ड ट्रम्पको चुनावी अभियानले ब्रिटेनको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा ‘विदेशी हस्तक्षेप’ गरेको आरोप लगाउँदै उजुरी दायर गरेको छ। रिपब्लिकन अभियानको विज्ञप्तिमा ब्रिटेनको ‘द टेलिग्राफ’ पत्रिकामा प्रकाशित एउटा समाचारलाई उद्धृत गरिएको छ। उक्त समाचारले मध्यवामपन्थी लेबर पार्टीसँग आबद्ध व्यक्तिहरू डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको पक्षमा अभियान चलाउन अमेरिका गएको दाबी गरेको थियो।

    ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको निर्वाचन अभियानले लगाएको आरोपको विषयमा प्रतिक्रिया व्यक्त गरेका छन्। ‘लेबर पार्टीका स्वयंसेवकहरू छन्, उनीहरू प्रत्येक निर्वाचनमा गएका छन्, उनले भने। यसअघि लेबर अधिकारीहरूले अमेरिका गएका व्यक्तिहरू व्यक्तिगत हैसियतमा भएको र उनीहरूलाई दलको कोषबाट कुनै आर्थिक सहयोग नगरिएको दाबी गरेका थिए। पार्टीले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको थिएन।

    उक्त उजुरीमा लेबर पार्टीका एक अधिकारीको सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट पनि प्रमाणका रूपमा समावेश गरिएको छ। यद्यपि उक्त पोस्ट पछि मेटिएको थियो। त्यसमा लेबर पार्टीका सयौँ कार्यकर्ताहरूले ‘स्विङ स्टेट’ भनिने राज्यहरूमा डेमोक्र्या‍टिक पार्टीको पक्षमा प्रचार गर्ने योजना बनाइएको उल्लिखित थियो। ‘उनीहरू आफ्नो खाली समयमा त्यसो गर्दै छन्। उनीहरू स्वयंसेवक बनेर त्यसो गर्दै छन्। उनीहरू अरू स्वयंसेवकहरूसँग मिलेर बसेका छन् भन्ने मलाई लाग्छ,’ आफ्ना पार्टी कार्यकर्ता अमेरिका गएको विषयमा उनले भने।

    कमनवेल्थ राष्ट्रका सरकार प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन समोआ जाँदै गर्दा स्टार्मरले विमानमा संवाददाताहरूसँग कुरा गरेका हुन्। डोनल्ड ट्रम्पको अभियानले सङ्घीय निर्वाचन आयोगमा हालेको उजुरीमा यूकेको लेबर पार्टीले ह्यारिस-वाल्ज अभियानलाई सहयोग पुर्‍याउने गरी चर्को वैदेशिक हस्तक्षेप गरेको आरोप लगाइएको छ। उक्त उजुरीमा लेबर पार्टी र ह्यारिसको अभियानबीच सम्पर्क भएको विषयमा सञ्चारमाध्यममा प्रकाशित विवरण र स्वयंसेवाका प्रयासहरूको चर्चा गर्दै त्यस्तो सहयोग गैरकानुनी हुने तर्क गरिएको छ।
    बीबीसीको सहयोगमा

  • राष्ट्रपतिसँग भेटेर विपक्षी दलले के भने ?

    राष्ट्रपतिसँग भेटेर विपक्षी दलले के भने ?

    काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने त्रासमा रहेका विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यादेश रोकिदिन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरुलाई राष्ट्रपति पौडेलले भने आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिएका छन् ।
    प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए ।

    माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा नेताहरुले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री ओलीले अहिले कुनै दल फुटाएर एमालेमा मिलाउने आफ्नो योजना नरहेको जवाफ दिएका थिए । तर सत्ता घटक नेपाली कांग्रेसको साथ नपाएर मात्र ओली रोकिएको विपक्षीको बुझाइ छ । जुन दिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुन्छन्, तत्क्षणमा दल विभाजनसम्बन्धी अध्यादेश आउने उनीहरुको विश्लेषण छ ।

    राष्ट्रपति पौडेलसँग भएको भेटमा पनि विपक्षी दलका नेताहरुले सरकारले कुनै पनि बेला अध्यादेश ल्याउनसक्ने बताए । प्रधानमन्त्री ओली बाढी पहिरो प्रभावित जनताप्रति जवाफदेही नभएको र पूर्वाग्रही ढंगले काम गरिरहेको उनीहरुले बताएका छन् । कांग्रेस र एमालेले मुलुकलाई दुई पार्टी प्रणालीतर्फ लैजान लागेको भन्दै उनीहरुले यो लोकतन्त्रका लागि घातक हुने बताए ।


    जवाफमा राष्ट्रपति पौडेलले भने संविधानले आफ्नो सीमा तोकेको स्मरण गराएका थिए । उनले अध्यादेश आइहाले कानुन हेरेर गर्ने समेत उनले बताए । राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि विपक्षी दलका नेताहरुले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको बताए ।

    राष्ट्रपति पौडेलसँग भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।

  • रास्वपाले विधिको शासनको उपहास गर्यो : कांग्रेस

    रास्वपाले विधिको शासनको उपहास गर्यो : कांग्रेस

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनलाई अवमूल्यन र उपहास गरेको बताएको छ । रास्वपा सभापति रवि लामिछाने शुक्रबार पक्राउ परेर पोखरा लगिएपछि त्यस यता उक्त दलले गरेका गतिविधिले अनुसन्धानलाई प्रभावित पार्नेतर्फ सचेत गराएको छ । लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने कांग्रेसले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

    रास्वपाको विरोध प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने कार्य भएको कांग्रेसको ठम्याइ छ । निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्‍याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्ध उजुरी परेपनि विगतमा छानविन अघि नबढेको कांग्रेसको दाबी छ।

    सहकारी छानबिन समितिले दिएको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लगेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भएपनि अनुसन्धानको दायरामा आउनुपर्ने कांग्रेसले जनाएको छ । न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाउन उत्तेजित र उच्छृङ्खल गतिविधि नगर्न कांग्रेसले रास्वपालाई सुझाव दिएको छ ।

  • संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने

    संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।

    स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमासमेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको छ ।

    हाल राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ । यसैगरी कान्ति बाल अस्पतालमा करिब तीन करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ । यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौं’, उनले भने, ‘यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौं ।’

  • राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी

    राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी

    काठमाडौं । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको पदमा नेपाली सेनाबाट उम्मेदवारी परेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार, संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । यदि प्रतिस्पर्धामा सफल भए रथी पदमा बढुवा गरेर कामकाज गर्न जान स्वीकृति दिएको उनले बताएका छन् ।

    न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाट यसअघि नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिन प्रस्ताव हुँदा नेपालले कसैलाई पठाएको थिएन । यो दर्जामा उम्मेदवारी दिन रथी तहको अधिकारी अनिवार्य भएपनि एक जना प्रधानसेनापति हुने लाइनमा र अर्का शान्ति मिसन फोर्स कमाण्डका रुपमा नेपाल बाहिरै भएकाले सम्भव भएको नभएको बताइएको थियो । तर, प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएलगत्तै उनले अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेका थिए । जंगीअड्डाका स्रोतका अनुसार, फेरि उम्मेदवारी दिने अवसर आएपछि हाल युद्धकार्य विभागमा रहेका उपरथी अधिकारीलाई अघि सारिएको थियो ।

    नेपाली सेनाले यो तहको भूमिका पाएमा शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्नेछ । हालसम्म नेपाली सैनिक अधिकारीहरुले फोर्स कमाण्डर तहसम्म मात्र जिम्मेवारी पाएका थिए । माथिल्लो तहमा भूमिका दिन नेपालले पटकपटक माग गर्दै आएको थियो । सैनिक सल्लाहकारको नियुक्ति संयुक्त राष्ट्र संघको महासचिवले गर्छन् ।

    महसचिव एन्टोनियो गुटेरसले सन् २०२१ मा सेनेगलका जनरल विरामे डियोपलाई सैनिक सल्लाहकार नियुक्त गरेका थिए । यो जिम्मेवारी पाउनुअघि डियोपले सेनेगलका राष्ट्रपतिका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार र एयरफोर्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए । उनीभन्दा अगाडि उरुग्वेका जनरल कार्लोस हम्बर्टो सैनिक सल्लाहकार थिए ।

    सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, सामान्यतः सैनिक सल्लाहकारको कार्यकाल दुई वर्षको हुन्छ । तर, कहिलेकाहीँ आवश्यकता अनुसार म्याद थप समेत हुने गरेको छ ।

  • यस वर्ष कस्तो रहनेछ विश्व अर्थतन्त्र ?

    यस वर्ष कस्तो रहनेछ विश्व अर्थतन्त्र ?

    काठमाडौं । यस वर्ष विश्वको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने भएको छ । सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमान छ । आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

    आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दीविना मुद्रास्फीति विस्तारै सही दिशातर्फ जाने आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चास बताउँछन् । विकसित अर्थतन्त्र सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किने र उदीयमान बजारका लागि भने केही समय लाग्ने अनुमान रहेको उनले बताए ।


    प्रकाशन विश्व अर्थतन्त्रबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आईएमएफ र विश्व बैंकको वार्षिक बैठक अमेरिकामा जारी छ । सोही अवसरमा प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिका तथा फ्रान्स, बेलायत, इटलीलगायतका युरोपेली देशमा आर्थिक वृद्धिदर बढ्ने तर चीन र भारतको अर्थतन्त्र केही सुस्ताउने प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र औसतः रहने अनुमान छ ।

  • प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

    प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
    बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले सय दिनमा कमजोर प्रदर्शन गरिरहेको छ । यसको सर्वत्र आलोचना भइरहेको छ ।

  • बेलायती राजालाई अष्ट्रेलियामा भनियो : तपाई हाम्रो राजा होइन

    बेलायती राजालाई अष्ट्रेलियामा भनियो : तपाई हाम्रो राजा होइन

    काठमाडौं । बेलायती राजा चार्ल्स तृतीय माथि नसोचेको व्यवहार भएको छ । राजा चार्ल्सले सोमबार बिहान अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
    ११ मिनेट लामो सम्बोधन सक्ने बित्तिकै माथिल्लो सदन सिनेटकी एक सदस्यले चार्ल्स अस्ट्रेलियाको राजा नभएको भन्दै चिच्चाएकी छिन् । ‘दिस इज नट योर ल्यान्ड । यू आर नट माइ किङ । भिक्टोरिया राज्यबाट निर्वाचित सिनेट सदस्य लिडिया थोर्पले चार्ल्सलाई भनिन् ।

    अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनमा भएको समारोहमा करिब एक मिनेट आफ्ना असन्तुष्टि पोख्दै चिच्याएपछि आदिवासी सांसदलाई सुरक्षाकर्मीले संसद् भवनबाहिर निकालेका थिए । त्यसअघि राजा चार्ल्स र रानी क्यामिलालाई स्वागत गर्ने आदिवासी अगुवा आन्टी भायोलेट सेरिडनले भने थोर्पको विरोध अपमानजनक भएको बताइन् । थोर्पलाई सुरक्षाकर्मीले भवनबाहिर निकालेलगत्तै स्थिति सामान्य बन्यो र शाही दम्पतीले आफूहरूलाई स्वागत गर्न बाहिर पर्खिरहेका सयौं मानिसलाई भेट्न अगाडि बढे ।


    अस्ट्रेलिया राष्ट्रमण्डलको एक देश हो र त्यहाँ राजाले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्छन् । तर अस्ट्रेलियामा हालै राजालाई भूमिकाबाट हटाउनेबारे बहस सुरू भएको छ । भिक्टोरिया राज्यबाट स्वतन्त्र रूपमा सिनेटरमा निर्वाचित थोर्पले अस्ट्रेलिया सरकार र यसका आदिवासीबीचको सन्धिको वकालत गर्नेहरूमध्ये एक हुन् ।
    चार्ल्सलाई विरोध जनाएपछि थोर्पले बीबीसीसँग आफूले राजालाई स्पष्ट सन्देश दिन चाहेको प्रतिक्रिया दिएकी छन् ।

    ‘सार्वभौम हुनका लागि तपाईं कुनै भूमिको हुनुपर्छ,’ उनले भनिन्, ‘यो उनको देश होइन ।’ राजाले आदिवासीसँग शान्ति सन्धिबारे छलफल गर्न संसदलाई निर्देशन दिनुपर्ने थोर्पको भनाइ छ । ‘हामीले त्यसको नेतृत्व गर्न सक्छौं, हामी त्यो गर्न सक्छौं, हामी राम्रो देश बन्न सक्छौं । तर सामूहिक हत्या र सामूहिक नरसंहारका लागि जिम्मेवार रहेका उपनिवेशकर्ताका पुस्तासँग हामी झुक्न सक्दैनौं,’ थोर्पले भनेकी छन् ।

    बिग्रँदो स्वास्थ्य, सम्पत्ति र शिक्षाका कारण अस्ट्रेलियामा आदिवासी र अन्य नागरिकबीचको असमानता कसरी सम्बोधन गर्ने भन्नेबारेमा लामो समयदेखि बहस जारी छ । गत वर्ष ‘भ्वाइस’ भनेर चिनिने आदिवासी जनजातिलाई बृहत्तर राजनीतिक अधिकार र मान्यता दिने सम्बन्धमा भएको जनमतसंग्रह अस्वीकृत भएको थियो ।

    ग्रीन्सको सदस्यका रूपमा संसद्‌मा निर्वाचित भएकी थोर्पले भ्वाइसको समर्थनका लागि पार्टी छाडेकी थिइन् । उनले विगतमा पनि आदिवासीको पक्षमा बाह्य दुनियाको ध्यान आकर्षित गर्ने विरोध प्रदर्शनहरू गरेकी थिइन् ।

  • विपद्मा ज्यान गुमाएका परिवारलाई दिइयो नगद राहत

    विपद्मा ज्यान गुमाएका परिवारलाई दिइयो नगद राहत

    काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो ।

    विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको तिवारीले बताए । अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनको भनाइ छ ।

    काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाडौंका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७–७ मृतक परिवारले राहत पाएका छन् । त्यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४र४, सर्लाही र सिन्धुलीका ३र३, झापा, महोत्तरी र रुपन्देहीका २–२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १–१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले जनाएको छ । विपद्‍मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।

  • तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने

    तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने

    काठमाडौं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने निर्णय गरेको हो । तारे होटल र सबै रिसोर्टमा प्लास्टिकजन्य बोतलमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा पिउने पानीका लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोतलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए ।

    प्लास्टिकजन्य बोतलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक रेग्मीले बताए ।

  • भिस्ताराको जहाजमा भेटिएन शंकास्पद वस्तु

    भिस्ताराको जहाजमा भेटिएन शंकास्पद वस्तु

    काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टाता एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्ताराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।

    जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु नभेटिएएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् । भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टारको उक्त जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए । भारतबाट ह्वाट्स एपमा आएको कल फेक रहेको पुष्टी भएको हो ।

  • जब भिस्ताराको जहाजमा बम राखेको हल्ला चल्यो..

    जब भिस्ताराको जहाजमा बम राखेको हल्ला चल्यो..

    काठमाडौं । दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला चलेको छ । यससङ्गै नेपाली सेनाले सर्च थालेको छ । काठमाडौं विमानस्थलमा उडान अवतरण रोकिएको छ । काठमाडौं विमानस्थलमा यो जहाजमा बम रहेको खबर नयाँ दिल्लीबाट आएको बताएको छ ।

  • बाढीले भत्काएको सिन्धुली पुलमा बेलिब्रिज सञ्चालन, सेनालाई सम्मान

    बाढीले भत्काएको सिन्धुली पुलमा बेलिब्रिज सञ्चालन, सेनालाई सम्मान

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन् ।
    असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनले सम्मान गरेका हुन् ।

    मंगलबार बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले बिपत्तीका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सवै पक्ष धन्यवादको हकदार रहेको पनि बताए ।
    सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो । त्यस क्रममा उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ् सहित स्थानीय जनप्रतिनिधी, राजनीतिक दलका नेताहरु एवम् सरकारी अधिकारीहरुले मन्त्री दाहालको स्वागत गरेका थिए ।
    बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुननिर्माण पश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा ल्याईएको हो ।

  • ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै

    ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै

    काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिए।

    ‘शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौं, बाढीले छरपष्ट रूपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौं,’ नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं,’ महर्जनले भने। उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताए।

    ‘नख्खु र बागमती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा असरल्ल देखिएको छ, यसले नगरको सौन्दर्य हराउँदै गएको छ । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेका छौं,’ महानगरप्रमुख महर्जनले भने। फोहर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुरलगायत विभिन्न संघसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो । साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताए।

    ‘बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता छ, कसले गर्छ भनेर हेर्ने अहिलेको समय हैन, हामी सबैले मिलेर गर्नुपर्छ। स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्नेछ,’ उनले भने। ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे।

    ‘प्रभावित स्थलको निरीक्षणमा जाँदा सहरको सौन्दर्य हराउँदै गएको पार्‍यौं। साथै फोहरले विभिन्न सङ्क्रमण फैलिन सक्ने भएकाले अभियानमार्फत सरसफाइ थालेका हौं। जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाकर्मीहरुलाई परिचालित गर्नेछौं। भएको जनशक्ति र स्रोतको परिचालन गरेर काम गर्ने, अवरुद्ध बाटो खुलाउने, राहत वितरण गर्ने काम भइरहको छ,’ उनले भने।

    प्रजिअ श्रेष्ठले क्षतिको यकीन विवरण संकलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढंगले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरे।

    महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिए। ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन्। बाढीले बगाएर ल्याएर नख्खु र बागमती नदीको किनारामा थुपारेको फोहर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उनले जानकारी दिए।

  • सीमा क्षेत्रको गस्तीबारे चीन र भारतबीच के भयो नयाँ सम्झौता ?

    सीमा क्षेत्रको गस्तीबारे चीन र भारतबीच के भयो नयाँ सम्झौता ?

    काठमाडौं । चीन र भारतले लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सम्झौता गरेका छन् । यसबाट सीमामा रहेका दुई देशका सैनिक पछाडि हट्ने र सन् २०२० को विवाद समाधान हुने अपेक्षा छ । सोमबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र चीनको बीचमा राजनीतिक र सैन्यस्तरमा कुराकानी भइरहेको थियो । उनले अगाडि भनेका छन्, ‘दुबै देश एलएसीमा सैनिक गस्तीलाई लिएर एउटा सम्झौतामा पुगेका छन् ।’


    २०२० मा पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरुबीच हिंसात्मक झपड भएको थियो । यसमा २० भारतीय सैनिक मारिए, केही चिनियाँ सैनिकको पनि मृत्यु भयो । यो घटनापछि दुबै देशको सीमामा तनाव छ । यो घटनापछि दशजगाको जुन इलाकासम्म भारतीय सैनिकले गस्ती गर्थ्यो, त्यहाँ पुग्न चीनले रोकेको भारतीय दाबी छ । अब भारत २०२० को अवस्थामा फर्किने विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।

    भारतका सामरिक विशेषज्ञ ब्रम्हा चेलानी भने भारत र चीनको बीचमा सन्य गतिविधि अन्त्य गर्ने कुनै घोषणा नभएको बताउँछन् । बीबीसी हिन्दीका अनुसार उनले भनेका छन्, ‘ब्रिक्स समिटमा मोदी र सी जिनपिङको बैठकलाई सहज बनाउन दुबै देश गस्तीबारे एउटा सहमतिमा पुगेका हुन् ।’ब्रिक्स समिट २२–२३ अक्टोबरमा रुसमा हुनेछ । सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्वीपक्षीय भेट हुनसक्ने छ । भारतीय विदेश सचिव मिस्रीले भने भेटवार्ताको पुष्टि गरेका छैनन् ।

  • पशुपति धर्मशालाबारे अध्ययन गर्न सरकारले बनायो समिति

    पशुपति धर्मशालाबारे अध्ययन गर्न सरकारले बनायो समिति

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ । सोमबार धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।

    समितिले गौशाला धर्मशाला स्थापनायताको अध्ययन गर्ने, गौशालाको आयव्यय विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ । अदालतबाट विभिन्न समयमा भएका फैसला, अख्तियार, संसदीय समितिका प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन समेत अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ । समितिले गौशाला धर्मशालामा रहेको जग्गा स्वामित्वका सम्बन्धमा समेत अध्ययन गरी ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।

  • रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी

    रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी

    काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनका बेला सम्झौता भएको ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अस्ट्रेलियाली लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधा सम्पन्न रारा रिसोर्ट खोल्न नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको लगानीकर्ताले जानकारी दिएका छन् । उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले सोमबार स्वीकृति प्रदान गरेको हो । विभागले रारा क्षेत्रमा १९ वटा भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने गरी लक्जरी रिसोर्ट निर्माण गर्न आईईई अनुमति प्रदान गरेको हो ।

    अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्न लागेको उक्त होटलको लागत करिब २ अर्ब रुपैयाँ रहने छ । एक्सपर्ट ग्रुपको मुख्य लगानी रहने उक्त रिसोर्टमा नेपाली साझेदारका रूपमा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले नेतृत्व गर्नेछन् ।

    उक्त रिसोर्ट मुगु छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने छ । डेढ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधन प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको सञ्चालक शाहले बताए ।

    ‘भर्खरै पर्यटन विभागले रिसोर्ट निर्माणका लागि आईईई स्वीकृति प्रदान गरेको छ,’ शाहले भने, ‘अब केही समयभित्रै अन्य थप प्रक्रिया पूरा गरी निर्माण चरणमा प्रवेश गर्नेछौं ।’ साथै, रिसोर्ट निर्माण रारा क्षेत्रको विकासका लागि कोशेढुंगा साबित हुने स्थानीय सरोकारवाला बताउँछन् ।