Category: समाचार

  • व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो

    व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्न १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्‍याइएको छ ।

    यस्तै विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थालाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि १२ हजार डलरसम्म सटही सुविधा उपलब्ध हुँदै आएकोमा बढाएर २५ हजार डलर बनाइएको छ । हवाईजहाज, दूरसञ्चार र स्वास्थ्य उपकरणका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु परे र विक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्यसम्मका सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने सीमालाई बढाएर एक लाख डलर पुर्‍याइएको छ ।

    यस्तै राष्ट्र बैंकले सेवा व्यापारका लागि पनि सटही सुविधा दिने भएको छ । विदेशबाट रकम प्राप्त भएका आधारमा भारत तथा तेस्रो देशबाट आयात भएको सेवा भारतसहित अरू देशमासमेत निर्यात गर्न पाइने भएको हो । अब विदेशबाट विदेशी मुद्रा प्राप्त भएका आधारमा फर्म, कम्पनी, संघसंस्थाले भारत तथा तेस्रो देशबाट सेवा आयात गरी भारतसहित अरू देशमा निर्यात व्यापार गर्न सक्नेछन् । यसरी सेवा व्यापार गर्दा विदेशी मुद्रा प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले विदेशी मुद्रा सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

    निर्यात रकम विदेशबाट सम्बन्धित वाणिज्य बैंकमा विदेशी मुद्रामा नै प्राप्त भएको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ । यसरी प्राप्त रकम ननाघ्ने गरी निर्यात रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले तेस्रो देशका हकमा १२ हजार अमेरिकी डलर र भारतका हकमा ३० लाख भारु सीमाभित्र रहने गरी आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

  • साफ महिला फुटबल मेला आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै

    साफ महिला फुटबल मेला आजबाट काठमाडौंमा, भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।

    अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ । मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताएका छन् ।

    भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताएकी छन् ।

    उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् । पछिल्लोपटक सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३-० ले विजयी भएको थियो ।

    समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् । पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए । ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । यो भन्दा राम्रो के होला । हामी दबाबभन्दा भन्दा पनि इन्जोए गरेर खेल्छौं,’ उनले भने ।

    रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्साहित रहेको बताए । उनले नादिया खान चोटबाट निको भएर फर्कुन राम्रो रहेको बताए । पाकिस्तानकी कप्तान मारिया खानले च्याम्पियनसिप खेल्न आफूहरु उत्साहित रहेको बताएकी छिन् ।

  • बिपी राजमार्गमा राती सवारी चलाउन रोक

    बिपी राजमार्गमा राती सवारी चलाउन रोक

    काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ। रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो। तर डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी सवारी साधन चलाउन रोक लगाएको हो।

    कार्यालयका अनुसार भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेको छ। जुनसुकै समयमा उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना छ। त्यसैले बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द गरिएको हो।

  • डडेलधुरा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

    डडेलधुरा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

    काठमाडौं । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

    उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् ।

    बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरी खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।

  • अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी

    अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक, ६–० ले विजयी

    काठमाडौं । लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ । ब्युनर्स आयर्समा भएको खेलमा मेसीले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । ८४ तथा ८६ औं मिनेटमा थप दुई गोल गरेका उनले ह्याट्रिक पूरा गरे । लउतारो मार्टिनेजले ४३, जुलियन अल्भारेजले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेट तथा थिएगो अल्माडाले ८९ औं मिनेटमा गोल गरेका थिए ।

    जितपछि अर्जेन्टिनाको १० खेलबाट २२ अंक भएको छ र लिग तालिकाको शीर्षमा छ । कुल १० टोली सम्मिलित विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार उत्कृष्ट प्रदर्शन गरिरहको छ । अर्जेन्टिना पछाडि कोलम्बियाको १९ र उरुग्वेको १६ अंक छ । यसअघिका खेलमा कोलम्बियाले चिलीलाई ४–० र पाराग्वेले भेनुजुएलालाई २–१ ले हराएको थियो । यस्तै उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका थिए ।

  • कोजाग्रत पूर्णिमा आज, दसैं समापन

    कोजाग्रत पूर्णिमा आज, दसैं समापन

    काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।

    शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् ।

    माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो ।

    मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

    निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

  • डडेलधुरामा बस दुर्घटना, कम्तिमा ४ जनाको मृत्यु

    डडेलधुरामा बस दुर्घटना, कम्तिमा ४ जनाको मृत्यु

    काठमाडौं । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

  • साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा

    साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा

    काठमाडौं । घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अहिलेसम्म ३ टिम नेपाल आइसकेका छन् । दुई टिम आउट बाँकी छ ।


    केही टिम र अफिसियलहरु बुधबार बिहानसम्म आईपुग्नेछन् । दशरथ रंगशाला तयारी अवस्थामा रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहान सम्म काठमाडौं आइपुग्ने छन् ।

    प्रतियोगिताको तयारीका लागि २३(सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

    प्रतियोगिताको टिकेटिङ्ग अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सलाई प्रदान गरिएको छ। प्रतियोगिताको समुह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु ३०० र भीआइपी तर्फ रु ५०० तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ रु ५०० र भीआईपीतर्फ रु १००० कायम गरिएको छ। प्रतियोगिताको १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

  • नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल

    नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल

    काठमाडौं । नेपालमा भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर ३.८५ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि दर गत भदौको तुलनामा आधा खुम्चिएको हो । गत भदौमा उपभोक्ता मूल्यवृद्धिदर ८.१९ प्रतिशत थियो ।

    खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.०३ प्रतिशत छ भने गैर खाद्य अर्थात् सेवा समूहको मूल्य वृद्धि ३.१९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७७ प्रतिशत र सेवा समूहको ७.१९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहमा पनि दाल तथा गेडागुडीको मूल्यवृद्धि केही धेरै देखिन्छ ।

    दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।

    प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ ।

  • नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा

    नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।
    नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो । शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ । अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

    राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.१ प्रतिशतले बढेर १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेवा आय ९ अर्ब ४० करोड रुपैयाँ थियो । पर्यटक आगमनको सकारात्मक प्रभाव भ्रमण आयमा पर्छ । उता, भ्रमण व्यय भने ४३ अर्ब ४९ करोड पुगेको छ ।

    यसमध्ये शिक्षा बाहेकको भ्रमण व्यय १५ अर्ब ३३ करोड रुपैयाँ थियो । यस आँकडा अनुसार नेपाल आउने पर्यटकको तुलनामा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीले धेरे खर्च गरिरहेको देखिन्छ । अघिल्लो वर्ष भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड थियो ।

  • चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स

    चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल पठाउने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो ।

    अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ । अघिल्लो वर्षको यसै महिनामा डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड थियो । यस महिनासम्म ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा यो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो ।

    यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत केही वृद्धि देखिन्छ । समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ बराबर भएको देखिएको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर २ खर्ब ५१ अर्ब ६५ करोड थियो ।

  • लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा

    लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालद्धारा निन्दा

    काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’

    संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए ।
    लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खटिँदै आएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको न्दिा गरेका छन् । उनीहरुले दक्षिणी लेबनान र मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

    संयुक्त विज्ञप्तिमा हस्ताक्षरकर्ता देशहरुले संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेका छन् । यस्तो आह्वान गर्नेहरुमा नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड छन् । यसैगरी इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानिया छन् ।

  • विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने

    विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको छ । असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    केन्द्रिय बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकका आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको छ ।
    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड कायम भएको छ । २०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । विदेशी विनियम सञ्चिति निरन्तर वृद्धि भएको र आयातमा वृद्धि नहुँदा सञ्चिति पर्याप्तता सूचक पनि बढ्दै गएको छ ।

    आव २०८१\८२ को दुई महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । २०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३७.७ प्रतिशत, कुल आयातसँगको अनुपात ११४.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३०.८ प्रतिशत छ

  • काठमाडौं महानगरले धर्मशाला सुरक्षाको माग्यो माग

    काठमाडौं महानगरले धर्मशाला सुरक्षाको माग्यो माग

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ। मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्‍दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो । पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।

    पत्रमा भनिएको छ, ‘ काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट मिति २० २०८१–०६–०२ मा निर्णय भई पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्‍चालन–व्‍यवस्थापन गर्न मिति २०८१–०२–२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमतिपत्र सञ्‍चालन– व्‍यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका लागि कागजातको छायाँप्रति संलग्न गरी अनुरोध गरिन्छ ।’

    जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ । कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने भन्‍दै होरिङ बोर्डसमेत टांगिसकेको छ ।

  • दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम

    दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम

    काठमाडौं । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम छ । ‘काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ’, मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’

    महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सियस र सोमबार १६ डिग्रि सेल्सियस थियो । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको बताए ।

    काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
    रासस

  • आजबाट सरकारी कार्यालय खुल्दै

    आजबाट सरकारी कार्यालय खुल्दै

    काठमाडौं । दशैंमा बन्द भएका सरकारी कार्यालय आजबाट खुल्दैछन् । सरकारी कार्यालयमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको हो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा खुल्ने छन् । आज दशैंको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।

    खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् । यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ । दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।

  • लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…

    लेवनानस्थित राष्ट्रसंघीय शिविरमा इजरायली सेना छिरेपछि…

    काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ। बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि गरेको थियो। यसबाट शिविरमा धुवाँ फैलिएको र १५ जना शान्ति सैनिकहरू घाइते भएका थिए। उनीहरूलाई छालामा जलन र पेट सम्बन्धी समस्या देखिएको छ।

    तर, इजरायली रक्षा बल (आईडीएफ) ले भने घाइते सैनिकहरूलाई उद्धार गर्न यूनीफीलको आधार शिविरमा प्रवेश गरेको जिकिर गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । इजरायलले बारम्बार शान्ति मिसनलाई युद्ध चलिरहेको दक्षिणी लेबनानका क्षेत्रबाट हट्न आग्रह गर्दै आएको छ। तर, यूनीफीलले यी आग्रहहरूलाई अस्वीकार गर्दै आएको छ।

    लेबनानमा करिब ५० देशका १० हजार यूएन शान्ति सैनिक र ८०० जना सर्वसाधारण कर्मचारी तैनाथ छन्। सन् १९७८ देखि यी सैनिकहरू लितानी नदी र ‘ब्लू लाइन’ भनेर चिनिने लेबनान र इजरायलबीचको सीमा क्षेत्रमा गस्ती गर्दै आएका छन्। लेबनान र इजरायलबीचको संयुक्त राष्ट्रद्वारा मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ। लेबनानमा रहेको संयुक्त राष्ट्र शान्ति मिसनमा नेपाल पनि एक प्रमुख योगदानकर्ता देश हो।

  • भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ

    भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ

    काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको समाचार सार्वजनिक भएको छ । यसका साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ । भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ अक्टुबरको दिन राति १२ बजेभन्दा अगाडि नै भारत छाड्न निर्देशन दिएको छ ।

    क्यानडामा सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा क्यानाडा सरकारले भारतको हात रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तिक्तता बढेको छ । क्यानडाले भारतका उच्चायुक्त सञ्जय कुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरु सन् हरदीप सिंह निज्जरको हत्या प्रकरणमा जोडिएको आरोप लगाउँदै आएको छ । क्यानडाले एक कूटनीतिक नोट पनि भारत पठाएको थियो ।

    भारतले भने क्यानडाले लगाएको आरोप अस्वीकार गर्दै क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गर्ने र आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    सोमबार बेलुका भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘जस्टिन ट्रुडो नेतृत्वको क्यानडा सरकारको रवैयाका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ । हामीलाई क्यानडाको वर्तमान सरकारप्रति कुनै भरोसा छैन । त्यहीभएर भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्तसहितका अन्य कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हामीले क्यानडालाई भनिसकेका छौं कि ट्रुडो सरकारले जसरी भारतविरुद्ध अलगाववादी र अतिवादको समर्थन गरिरहेको छ । त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतलाई छ ।’

    पत्रकार सम्मेलन गरेर ट्रुडोले भने– हामीले प्रमाण भारतलाई बुझाएका छौं भारतको यो निर्णयपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजधानी ओटावामा पत्रकार सम्मेलन गरी भारतलाई आफूहरुले हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धान नसघाएको आरोप लगाए ।

    उनले भने, ‘क्यानडा र भारतबीच लामो समयदेखिको सम्बन्ध छ । व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामीले जे देखिरहेका छौं त्यो सैह्य छैन । भारतको सम्प्रभूता र क्षेत्रीय अखण्डताको क्यानाडाले पूर्णरुपमा सम्मान गर्दछ र हामीलाई विश्वास छ भारतले पनि हामीलाई त्यस्तै गर्ने छ ।’

    यसैगरी भारतले निष्कासित गरेपछि दिल्लीस्थित क्यानडाइ मिसनका बरिष्ठ कूटनीतिज्ञ स्टिबर्ट ह्वीलरले भनेका छन्, भारतले लामो समयदेखि जे माग गरिरहेको थियो, त्यो माग क्यानडाले पूरा गरिदिएको छ । क्यानडाले आफ्नो भूमिमा क्यानडाकै नागरिकको हत्या मामिलामा भारतीय एजेन्ट र उनको भारत सरकारसँग जोडिएको सम्बन्धको ठोस प्रमाण भारतलाई बुझाइदिएका छौं । अब कदम चाल्ने पालो भारतको हो । भारतीय कदम दुवै देश र ती देशका नागरिकका जनताको हितमा हुनेछ । यो प्रकरणमा सहयोग गर्न क्यानडा सरकार तयार छ ।’

  • बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित

    बेल्जियमको स्थानीय निकायको निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवारको जित

    काठमाडौं । बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन् । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् । दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ ।

    स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका छन् ।

    निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भए । ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेका हुन् । उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएका हुन् ।

    कास्की नेपालमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्बाचित २५ बर्षीया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छिन् । आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन् । उनका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निबर्तमान सभापति एबम नेपाल बिद्यार्थी संघ कास्कीका पूर्व सभापति हुन् ।

    बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्बाचनमा ६० प्रतिशत मत खसेको थियो ।
    गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा बिजयी बनेका हुन् ।

    आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू बिजयी बनेपछी भने, “निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु । नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ ।” अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कडेल जितको नजिक पुगेर पराजित भए ।

  • क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला

    क्यानडामा विदेशीका लागि स्थायी बसोबासको अनुमति खुला

    काठमाडौं । क्यानडामा बसोबास गर्न चाहने विदेशीहरूका सरकारले स्थायी बसोबासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो ।

    अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सकिनेछ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १००० जना यो अवसरबाट लाभान्वित हुन सक्नेछन् ।

    रिपोर्टमा उल्लेख गरिएअनुसार, सबैभन्दा कम अंक पाउने आवेदकको सीआरएस (कम्प्रिहेन्सिभ र्‍याङ्किङ सिस्टम) स्कोर ४४४ थियो। क्यानडामा बस्न चाहनेहरूले दिनुपर्ने एक किसिमको भाषा परीक्षालाई सीआरएस भनिन्छ। यसपटक फ्रान्सेली भाषा जान्नेहरूलाई बढी प्राथमिकता दिइएको छ।

    एक्सप्रेस इन्ट्रीका लागि योग्य हुन आवेदकले स्वीकृत भाषा परीक्षा उत्तीर्ण गरी आफ्नो कार्यक्रमका लागि आवश्यक न्यूनतम अंक प्राप्त गर्नुपर्छ। साथै, आवेदन फारम भर्दा अंग्रेजी वा फ्रान्सेली भाषाको ज्ञान भएको प्रमाणित गर्नुपर्छ। आवेदकहरूको अंग्रेजी वा फ्रान्सेली भाषाको स्तर मापन गर्न आईएलसीबी र एनसीएलसी बेञ्चमार्क प्रयोग गरिन्छ। क्यानडा जान चाहनेहरूको अंग्रेजी वा फ्रान्सेली भाषा कति राम्रो छ भनेर जाँच गर्ने विधिलाई आईएलसीबी र एनसीएलसी बेञ्चमार्क भनिन्छ।

    क्यानेडियन सरकारले एक्सप्रेस इन्ट्री प्रणालीमार्फत हरेक दुई हप्तामा आवेदकहरू छनोट गर्दछ। प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) अन्तर्गत पछिल्लो चयन प्रक्रिया अक्टोबर ७, २०२४ मा भएको थियो। क्यानडाका विभिन्न प्रान्तहरूले आफ्नै आवश्यकताअनुसार मानिसहरूलाई छनोट गर्नेगर्दछ जसलाई त्यसबेला १६१३ जनालाई आवेदन दिन निमन्त्रणा गरिएको थियो।

    क्यानडामा बस्न चाहनेका लागि प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) एउटा राम्रो विकल्प हो। यस कार्यक्रममार्फत अन्य देशका नागरिकहरूले क्यानडाको कुनै निश्चित प्रान्तमा गएर स्थायी रूपमा बस्न सक्छन्। उनीहरूले त्यहाँ काम गर्न सक्छन्, पढ्न सक्छन् र आफ्नो परिवारसँग बस्न सक्छन्।

    क्यानडाका हरेक प्रान्तमा विभिन्न प्रकारका दक्ष कामदारको आवश्यकता पर्छ। जस्तै, कुनै प्रान्तमा इन्जिनियरको आवश्यकता छ भने अर्को प्रान्तमा नर्सको आवश्यकता पर्न सक्छ। प्रत्येक प्रान्तले आफ्नो आवश्यकताअनुसार विदेशी कामदारहरूलाई छनोट गर्छ। यसका लागि उनीहरूले शिक्षा, कार्य अनुभव, भाषाको ज्ञान जस्ता कुराहरू हेर्छन्।

    पीएनपी मार्फत क्यानडा आउने व्यक्तिहरूले स्थायी बसोबासको सुविधा पाउँछन्। यसको अर्थ, उनीहरूले क्यानडामा लामो समयसम्म बस्न सक्छन् र आफ्नो परिवारलाई पनि ल्याउन सक्छन्। यसले क्यानडाको अर्थतन्त्रलाई बलियो बनाउन र विभिन्न क्षेत्रमा दक्ष कामदारको अभावलाई पूरा गर्न मद्दत गर्छ भने यसले विदेशी कामदारहरूलाई राम्रो जीवनयापन र उज्ज्वल भविष्यको अवसर प्रदान गर्छ।

  • हिजबुल्लाहको आक्रमणबाट चार इजरायली सैनिक मारिए

    हिजबुल्लाहको आक्रमणबाट चार इजरायली सैनिक मारिए

    काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै एक सैन्य बेसमा ड्रोनबाट आक्रमण गरेको छ । स्थानीय समयअनुसार आइतबार राति भएको हमलामा इजरायलका ४ जवान मारिएका छन् । ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ ।

    इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला यो हमला भएको हो । उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ० ले जनाएको छ। हिजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको प्रतिक्रिया दिएको छ।

    इजरायली रक्षा बल (आइडीएफ)का अनुसार ड्रोन हमला साँझ ७ बजेभन्दा पहिले भएको थियो। इजरायली सञ्चारमाध्यमका अनुसार सैन्य बेसभित्र एउटा डाइनिङ हललाई निशाना बनाइएको थियो । हमलामा थप ७ जना सैनिक गम्भीर घाइते भएका र उनीहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।

    ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन नबज्नाले इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । आईडीएफ प्रवक्ता ड्यानियल हगारीले राति अबेर घटनाको ड्रोन इजरायल प्रवेश गर्दा कुनै चेतावनी साइरन नबजेको बारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् । हगारीले आक्रमणका बारेमा अफवाह नफैलाउन सर्वसाधारणलाई अपिल गर्दै तथ्य संकलन भइरहेको बताएका छन् ।

    इजरायली सेनाका प्रवक्ताले इजरायलले युद्धको सुरुवातदेखि नै (मानवरहित हवाई यान) यूएभीको खतरा सामना गरिरहेको बताएका छन् । ‘हामीले राम्रो सुरक्षा दिनुपर्छ । हामी यस घटनाको छानबिन गर्नेछौं, यसबाट पाठ सिक्नेछौं र सुधार गर्नेछौं,’ उनले भने ।

    टाइम्स अफ इजरायलले आईडीएफको प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै लेबनानबाट प्रक्षेपण गरिएका दुई ड्रोनहरू समुन्द्र मार्गबाट ​​इजरायली क्षेत्रमा प्रवेश गरेको बताएको छ। यी दुवै मिरसाद ड्रोन थिए, जसलाई इरानमा अबबिल-टी भनिन्छ। यो हिजबुल्लाहको आत्मघाती ड्रोन हो।

    इजरायल प्रवेश गरेको दुई ड्रोनलाई इजरायली राडारले ट्र्याक गरेको थियो र एउटा हाइफाको उत्तरी तटमा खसालिएको थियो। इजरायली वायुसेनाका विमानहरू र हेलिकप्टरहरूले दोस्रो ड्रोनलाई पछ्याए पनि ती राडारबाट गायब भएका थिए । सम्भवतः यो जमिनको धेरै नजिक उडेकाले इजरायली सेनाले पत्ता लगाउन नसकेको हो । राडारबाट हराएको ड्रोनबाट नै आक्रमण भएको अनुमान गरिएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

  • कृषि मन्त्री इटाली प्रस्थान

    कृषि मन्त्री इटाली प्रस्थान

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।
    संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए ।

    मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ। बैठक १८ अक्टोबर सम्म सञ्चालन हुने जनाइएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उनले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

  • डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ

    डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ

    काठमाडौं । डडेल्धुरामा किशोरीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।


    जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गर्दै भण्डारी सार्वजनिक गरेको हो । भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुगन्ध श्रेष्ठले बताए । उनकाअनुसार भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

    तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरे ? भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट सवुत प्रमाण फेला पारेको बताउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

    भण्डारीसँग पूरानो चिनजान भएकी भट्टराईलाई पसलमा कुराकानीकै क्रममा भण्डारीले हत्या गरेको देखिएको छ भने पछि उनले भट्टराईको शव व्यवस्थापन गर्ने उद्देश्यले प्लास्टिकको बोरामा हालेका थिए । शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरी राति घटनास्थलमा पुगेका थिए ।

    शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा खसेका थिए भने शवलाई पसल नजिकै फालेर घरतर्फ हिडेका थिए तर राति स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । किशोरीको शव परीक्षण रिर्पोट प्राप्त भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ ।

  • भारतीय नेता बाबा सिद्धिकीको गोली हानेर हत्या

    भारतीय नेता बाबा सिद्धिकीको गोली हानेर हत्या

    काठमाडौं । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो । उनी ४८ वर्षदेखि कांग्रेसमा थिए । यसै वर्षको फेब्रुअरी महिनामा उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए ।

    भारतीय मिडियाहरुका अनुसार उनको हत्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि सोधपुछ चलिरहेको छ ।
    उनी छोरा जिशान सिद्धिकीको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानेको थियो । मुख्यमन्त्री एकनाथ शिन्देले बाबा सिद्धिकीको मृत्यु भएको र घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । अरु दुई जना भने फरार छन् ।

  • टर्कीमा ११ गैरकानूनी आप्रवासी समातिए

    टर्कीमा ११ गैरकानूनी आप्रवासी समातिए

    काठमाडौं । उत्तरपश्चिम टर्की प्रान्त टेकिर्दागमा नियम उल्लंघन गरी सवारीसाधनमा भाग्न खोज्दा ११ गैरकानुनी आप्रवासीलाई पक्राउ परेका छन् । इहलास समाचार एजेन्सीका अनुसार सराय जिल्लामा अनियमित बसाइँसराइ विरुद्ध लड्नका लागि जेन्डरमेरी बलहरूले अभियान शुरु गर्दा उनीहरु पक्राउ परेका हुन् । फरार संदिग्ध मानव तस्करलाई पक्रन प्रयास जारी रहेको बताइएको छ ।

    ग्रीस र बुल्गेरियाको सिमाना नजिकै रहेको टर्कीको उत्तरपश्चिमी थ्रेस क्षेत्र हालसालै जमिनबाट अवैध रूपमा युरोप प्रवेश गर्न खोज्ने गैरकानूनी आप्रवासीहरूका लागि रुचाइएको मार्ग बनेको छ । मानव बेचबिखन नियन्त्रण गर्न प्रहरीले यस मार्गका प्रमुख नाकाहरूमा नियमित चेकजाँच गर्ने गरेको छ । सिन्ह्वा

  • पाकिस्तानमा साम्प्रदायिक झडप, कम्तिमा ११ जनाको मृत्यु

    पाकिस्तानमा साम्प्रदायिक झडप, कम्तिमा ११ जनाको मृत्यु

    काठमाडढौं । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बिचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् । गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको थियो ।


    हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको घटनाको लागि दुई पक्षहरू बिच युद्धविरामको लागि मध्यस्थता गर्न काम गरिरहेका छन् । खैबर–पख्तुनख्वाको कुर्रम क्षेत्रमा सुरक्षा बलले सात आतङ्ककारीहरूलाई गोली हानेर मारेका थिए । मारिएका आतङ्ककारीहरू सुरक्षाकर्मी र निर्दोष नागरिकहरूमाथि आक्रमणमा सक्रिय रूपमा संलग्न थिए । रासस-एएनआई

  • बन्दिपुर पुगेका पर्यटकले लगाए दसैंको टिका

    बन्दिपुर पुगेका पर्यटकले लगाए दसैंको टिका

    काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए ।


    उनले भने, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ ।” केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए । अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो ।

    rss

  • यस वर्षको मनसुन बाहिरियो

    यस वर्षको मनसुन बाहिरियो

    काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भू–भागबाट बाहिरिएको छ । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ । जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।

    नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति अक्टुबर २० भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।

    यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो गरी मनसुन पूर्णरुपमा बाहिरिएको हो । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो । असोज दोश्रो साता अविरल वर्षासँगैआएको बाढी पहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको छ भने अर्बौको भौतिक क्षति भएको अनुमान छ।

    नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म ९जुन २४ देखि सेप्टेम्बर ४सम्म० मात्र मनसुन कायम थियो ।

    पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ ।

  • गुजरातमा पर्खाल भत्कियो, कम्तिमा ६ जनाको मृत्यु

    गुजरातमा पर्खाल भत्कियो, कम्तिमा ६ जनाको मृत्यु

    काठमाडौं । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म ६ जनाको शव निकालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । बीबीसीका अनुसार एक १९ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ ।

    गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँ नजिकै दिउँसो १२ बजेर ४५ मिनेट जाँदा पर्खाल भत्किएको हो । अधिकारीका अनुसार निर्माणस्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो । मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्याङ्कीका लागि खाल्डो खनेका थिए । सिन्ह्वा