Category: समाचार

  • विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो

    विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो

    काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

    उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समिति बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

    यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखाना पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्‍बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञ सहित अध्ययन समिति गठन गरिने छ ।

    सम्पत्ति र दायित्व मूल्यांकन भएपछि विज्ञसहित सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिने छ । समिति बैठकमा दिइएको जानकारी अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग लामो समयदेखि बन्द र रुग्ण छन् ।

    यसैगरी उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, संघीय संसद अर्थ समिति सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य तथा निजीकरण समिति सदस्य राजन केसी, राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल, मन्त्रालयहरूका सचिव लगायत सहभागी थिए ।

  • साफमा माल्दिभ्सविरुद्ध नेपालको रवाफिलो जित, एकोहोरो खेलमा नेपालले गर्यो ११ गोल

    साफमा माल्दिभ्सविरुद्ध नेपालको रवाफिलो जित, एकोहोरो खेलमा नेपालले गर्यो ११ गोल

    काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । नेपाल ११–० को फराकिलो अन्तरले विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । प्रीति राईले समेत ह्याट्रिक पुरा गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरिन् ।

    यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जतिपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

    पहिलो हाफमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक(एक गोल गरेपछि नेपालले ४–० को अग्रता बनाएको थियो । खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो । छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो ।

    सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् । रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् । दोस्रो हाफमा पनि नेपालले माल्दिभ्स विरुद्ध पूर्ण दबाब बनाउँदै एकपक्षीय रुपमा आक्रमण गरेको थियो । त्यसको नतिजा ४८ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। जारी साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

    नेपाली खेलाडीले साफ वुमन्स च्याम्पियनसिपमा २०१६ पछि पहिलो पटक ह्याट्रिक गरेको हो । सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो संस्करणको साफमा सावित्रा भण्डारीले माल्दिभ्स विरुद्ध नै ह्याट्रिकसहित ५ गोल नै गरेकी थिइन् । रेखा ह्याट्रिक पछि पनि रोकिएनन् र ६३ औं र ७८ औं मिनेटमा गोल थपिन् । ६५ औं मिनेटमा प्रीति राईले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रीतिले ८७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अनिता केसीले ६८ औं र अमिशा कार्कीले ८८ औं मिनेटमा गोल गरिन् ।

    यसै खेलबाट पहिलो पटक राष्ट्रिय टिममा परेकी सजनी थोकरले पनि डेब्यूको अवसर पाइन् । उनी ६७ औं मिनेटमा गीता रानाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साफका लागि गएराती नेपाल आइपुगेर टिममा सामेल भएपनि उनी बेन्चमै रहिन् ।
    नेपालले समूहको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।

  • हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम

    हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम

    काठमाडौं । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

    इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्वहरु एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ । लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । यसैबीच इजरायलले हिजबुल्लाहले इजरायली नागरिकमाथि आतङ्क मच्चाइरहेको र आईडीएफले ३७८ दिनसम्म निरन्तर आक्रमण गरिरहेको जनाएको छ । एजेन्सी

  • साफ महिला फूटबल : आज नेपाल र माल्दिभ्स भिड्दै

    साफ महिला फूटबल : आज नेपाल र माल्दिभ्स भिड्दै

    काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

    फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा आजबाट टीममा सहभागी हुनेछिन् । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउने चिन्ता नेपाली टीमलाई छ ।


    माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

  • नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी

    नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी

    काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे ।

    अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिए । यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा १७ रनले विजयी भएको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो ।

  • मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने

    मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने

    काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

    ‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नु भएको हो ? स्पष्टीकराण सोध्ने निर्णय भएको छ’, महासचिव पोखरेलले भने । गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । पूर्व उपाध्यक्ष रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

  • नेपालले कतारलाई हात्ती उपहार दिने

    नेपालले कतारलाई हात्ती उपहार दिने

    काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

    चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ । बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ ।

  • हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति

    हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति

    काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो ।


    बैठकले समितिको कार्यसर्त समेत स्वीकृत गरेको छ । समिति सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी र हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधानलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवलाई सदस्य सचिव तोकिएको छ ।

  • रविलाई थप तीन दिन थुनामा राख्न अनुमति

    रविलाई थप तीन दिन थुनामा राख्न अनुमति

    काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।

    शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । रविलाई कुल ६ दिन थुनामा राख्न अनुमति दिइएको छ । जसमध्ये तीन दिन अगाडी र तीन दिन आगामी गरी ६ दिन भनिएको हो ।

    उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

  • अमेरिकामाथि नेपालको रोमाञ्चक जित

    अमेरिकामाथि नेपालको रोमाञ्चक जित

    काठमाडौं । नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो ।

    नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । अन्तिम ओभरमा जितका लागि नेपाललाई ७ रन आवश्यक थियो । तर, सोमपाल कामीले दुई विकेट झार्दै सो रन बन्नबाट बचाए ।

    सुपर ओभरको बलिङमा समेत सोमपाल नै आए । उनले २ रन दिएर २ विकेट झारेसँगै नेपालले सहज लक्ष्य पायो । उक्त लक्ष्य कुशल भुर्तेल र कप्तान रोहित पौडेलले २ बल बाँकी छँदै पुरा गरे । यसअघि कुशल भुर्तेलको ९२ रनको सहायतामा नेपालले प्रतिस्पर्धी स्कोर बनाउन सक्यो ।

  • वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

    वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

    काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । उनको आइतबार बिहान अस्पतालमा निधन भएको हो । डेंगु संक्रमण भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । परिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने भएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा सक्रिय थिए ।

    ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।

  • रविलाई आज अदालत उपस्थित गराइने

    रविलाई आज अदालत उपस्थित गराइने

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीले बताएको छ ।


    रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामा छन् । शनिबारदेखि पोखरामा प्रदर्शन जारी छ । रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रम राखेका छन् ।

    सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् । शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।

  • इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए

    इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए

    काठमाडौं । उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् । हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो ।

    सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते भएका छन् भने केही व्यक्तिहरु भत्किएका संरचनामा च्यापिएका छन् ।

    बीबीसीका अनुसार इजरायलले यस आक्रमणबारे सार्वजनिक समाचारबारे जाँच गरिरहेको जनाएको छ । इजरायली सेनाका अनुसार हमासले बढाइचढाइ गरेर मिडिया रिपोर्ट सार्वजनिक गर्ने गरेको छ, जुन आफूहरुको रिपोर्टसँग मिल्दैन । यसैबीच स्वास्थ्य अधिकारीहरुले उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले आक्रमण गरेपछि इन्टरनेट र सञ्चार सेवा पनि पूर्णरुपमा अवरुद्ध भएको छ । यसबाट खोज तथा उद्धारको काम प्रभावित भएको छ ।

    हमासको आधिकारिक मिडियाका अनुसार इजरायलले घना वस्ती भएको स्थानलाई लक्षित गरी बम आक्रमण गरेको थियो । प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार इजरायलको आक्रमणबाट एउटा पूरै आवासीय क्षेत्र नष्ट भएको छ ।

  • अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने

    अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भन्दै यसले नै लाइसेन्सको काम गर्ने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

    ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रुपमा यो व्यवस्था सुरु हुनेछ,’ सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

    नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनको भनाइ छ । नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको उनले दाबी गरेका छन् ।

  • इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण

    इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा द्वारा खसालेका थिए ।

    इजरायल र हमासबिच चलिरहेको द्वन्द्वको बिचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने, “यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।”

    इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतङ्ककारी इजरायलले मारेको खुलासा गरेको छ । नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको खुलासा गरेका छन् । जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिक छन् । एजेन्सी

  • जापानमा नेपालीको जनसंख्या २ लाख माथि

    जापानमा नेपालीको जनसंख्या २ लाख माथि

    काठमाडौं । जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ । नेपालीको संख्या पछिल्लो ४ वर्षमा दोब्बर बढेको हो । सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन् २०२२ मा १ लाख ३९ हजार ३९३ जना पुगेका थिए ।

    सन् २०२३ मा १ लाख ७६ हजार ३३६ रहेको नेपालीको जनसंख्या २०२४ मा २ लाख ६ हजार ८९८ पुगेको हो । जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन् । नेपालीहरु उत्पादन, नर्सिङ केयर, कृषि र सेवा क्षेत्रमा कार्यरत छन् ।

  • रवि पक्राउबारे सभामुखलाई गराइयो जानकारी

    रवि पक्राउबारे सभामुखलाई गराइयो जानकारी

    काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।

    नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

    सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

  • रविलाई रातको तीन बजे पोखरा ल्याइयो

    रविलाई रातको तीन बजे पोखरा ल्याइयो

    काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।

    लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

  • साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपाल र भूटान बराबरी खेले

    साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपाल र भूटान बराबरी खेले

    काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र भुटान बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेखेका हुन् । दुबै टीमले अंक बाँडे । साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो ।

    नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा नहुँदा नेपालले गोलमा संघर्ष गर्नु परेको छ । पहिलो हाफको ईन्जुरी टाईममा हिरा कुमारी भुजेल र दोस्रो हाफमा दीपा शाही धाइते भए । बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

  • सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ

    सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

    लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिएका थिए ।

    एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भएको थियो । समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । तर, लामिछाने नेतृत्वको रास्वपाले भने प्रतिवेदनले उनलाई ‘क्लीन चिट’ दिएको दाबी गरेको थियो ।

    प्रहरीले भने प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा ‘जरुरी पक्राउ पुर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लियो । जोशीको परिवारले सर्वोच्च अदालतमा पक्राउ विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिएको थियो । अदालतले १६ असोजमा उनलाई गैरकानूनी हिरासतमा राखेको भन्न नमिल्ने ठहर गर्‍यो । यद्यपि, दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको थियो ।

  • रवि लामिछानेको आक्रामक स्टाटस

    रवि लामिछानेको आक्रामक स्टाटस


    काठमाडौं र रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेलगतै सरकार मरेको भनेर कटाक्ष गरेका छन् । लामिछाने आक्रोस व्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्ट राखेर यस्तो कटाक्ष गरेका हुन् । यस्तो छ रवीले फेसबुकका राखेका स्ट्याटस:

    तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडीरु ‘तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?

    तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।

    तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्नेररु तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्नेरु

    यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता रकार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।

    ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

    अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

  • रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

    अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो । अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा कार्यक्रता उपस्थित छन् ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । अहिले देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

    विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, वाग्ती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

  • हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

    हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

    काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएका छन् । यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको छ। इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि यो राम्रो दिन हो।’

    अमेरिकी राष्ट्रपति बाइडेनले सिनवारको निन्दा गर्दै भने, ‘हमास नेताका रूपमा याह्या सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको मृत्युका लागि जिम्मेवार थिए।’ बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको पनि बताएका छन् ।

    ‘सिनवार ती सबै लक्ष्यहरू प्राप्त गर्नमा एक अपार बाधा थिए। त्यो बाधा अब रहेन। तर अझै धेरै काम बाँकी छ’ बाइडनले विज्ञप्तिमा भनेका छन्, ‘म छिट्टै प्रधानमन्त्री नेतन्याहू र अन्य इजरायली नेताहरूसँग कुरा गर्नेछु र उनीहरूलाई बधाई दिनेछु ।’

    उनले अगाडि थपेका छन्, ‘बन्धकहरूलाई उनीहरूका परिवारहरूमा फर्काउने मार्गका बारेमा छलफल गर्नेछु र यस युद्धलाई एक पटक र सबैका लागि समाप्त गर्नेछु, जसले निर्दोष मानिसहरूलाई धेरै विनाश गरेको छ ।’ उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको मृत्युको स्वागत गर्दै यसलाई ‘अन्ततः गाजामा युद्ध समाप्त गर्ने’ अवसरका रूपमा चित्रित गरेकी छन् ।

    ‘न्याय भएको छ’ ह्यारिसले सञ्चारकर्मीहरूसँग भनिन्, ‘सिनवार हजारौं निर्दोष मानिसहरूको हत्याका जिम्मेवार थिए, जसमा अक्टोबर ७ का पीडितहरू र गाजामा मारिएका बन्धकहरू पनि थिए।’ उनले सिनवारको मृत्युले हमासका पीडितहरूका परिवारले राहतको भावना महसुस गरिरहेको टिप्पणी गरिन् ।

    बिहीबार राति इजरायलले हमासका नेता याह्या सिनवार आफ्नो आक्रमणमा मारिएको जानकारी दिएको थियो । इजरायली विदेशमन्त्री काट्जले विहीबार गाजामा इजरायली सेनाले गरेको कारबाहीमा सिनवार मारिएको बताएका छन् । उनले सिनवारलाई गत अक्टोबर ७ मा भएको आक्रमणको मुख्य योजनाकार भएको बताए ।

    जुलाईमा हमास नेता इस्माइल हानियाको मृत्युपछि याह्या सिनवार हमासको नेता बनेका थिए । इजरायली कारबाहीका क्रममा तेहरानमा इस्माइल हानिया मारिएका थिए । गाजामा हमासको राजनीतिक शाखाका नेता याह्या सिनवार इजरायलको मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए।

  • साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै

    साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै

    काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुनेछिन् । उनी फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले पहिलो खेल गुमाउने भएकी हुन् ।युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने छन् ।


    नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको छ । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८–० ले हराएको थियो । सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८–० ले नै पराजित गरेको थियो । साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।

  • चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली

    चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली

    काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले जनाएको छ । साउनमा ६० हजार र भदौमा ५७ हजार नेपाली वैदेशिक रोजगारीमा हरु वैदेशिक रोजगारीमा गएका थिए ।

    विभागका निर्देशक गुरुदत्त सुवेदीले चाडबाडको मुखमा पनि रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेक्रम नरोकिएको बताए । उनका अनुसार असोजमा रोजगारीको खोजीमा नेपालीहरु सबैभन्दा धेरै खाडी मुलुक गएका छन् । असोजमा १७ हजार नेपाली युएई गएका छन् । त्यस्तै साउदीमा १० हजार, कतारमा ९ हजार ७ सय, कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका विभागका सूचना अधिकारी सुवेदीले बताए ।

    युरोपेली देश रोमानियामा २२ सय, क्रोएसियामा ७८३, साइप्रसमा ४८५ जना रोजगारीका लागि गएका छन् । त्यस्तै जापानमा १ हजार ४५६ र दक्षिण कोरियामा १ हजार १०६ श्रमिक रोजगारीको खोजीमा गएका छन् । असोजमा सबैभन्दा धेरै धुनषा जिल्लाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । विभागका अनुसार धनुषाबाट २ हजार ९४४ हजार ३६० विदेश गएका छन् । त्यस्तै झापाबाट २ हजार ५४५, सिरहाबाट २ हजार ३४१, मोरङबाट २ हजार १८६, महोत्तरीबाट २ हजार २८९, सुनसरीबाट १ हजार ८२८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

  • शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?

    शीर्ष नेताको बैठकमा के बारे भयो छलफल ?

    काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग छिटो गठन गर्नेबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संसदले संशोधन गरिसकेको छ । तर हाल सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छन् ।

    सरकारले यसअघि नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा दुबै आयोगका पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले पूर्णता पाउन सकेको थिएन । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति माओवादी उपमहासचिव बस्नेतले बताए । ‘अब सरकारले आयोगलाई सदस्य पठाउन आग्रह गर्छ’,उनले भने ।

    उपमहासचिव बस्नेतका अनुसार एक दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउँछ । महान्यायाधिवक्ता रमेश बडालले पनि संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।

  • संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?

    संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?

    काठमाडौं । १२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ ।

    जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहमा रहेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए ।

  • बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी

    बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी


    काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ ग‍र्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने।

    पूर्वप्रधानमन्त्री हसिना गत अगष्टमा निर्वासनमा गएकी थिइन्। युवाहरूको प्रदर्शन उग्र बन्दै गएपछि उनी देश छाडेर भारतको शरणमा पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्। १५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको हो। प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत गरेको आरोप छ।

    ‘हसिना जुलाईदेखि अगष्टसम्म नरसंहार, हत्या र मानवताविरूद्धको अपराध गर्ने नेताको रूपमा थिइन्,’ इस्लामले भने। अभियोजक बिएम सुल्तान महमुदले अभियोजन पक्षले दुई उजुरी पेस गरेपछि पुर्जी जारी भएको हो। अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पुर्जी जारी गरेको हो। अन्य ४४ जनाको नाम भने सार्वजनिक भएको छैन। हसिनाको सत्ताच्यूत भएपछि दर्जनौं साथीहरूलाई पक्राउ गरेको थियो।

  • नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए

    नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए

    काठमाडौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट भएको छ । एजेन्सीहरुका अनुसार यस घटनामा कम्तिमा एक सय ४० जना मानिस मारिएका छन् । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ ।

    नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका बेला भएको यो दुर्घटनाले थप क्षति गरेको बताएको छ । दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरियाका प्रहरीले बताएका छन् ।

    राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । राष्ट्रपति बोला अहमद टिनुबुले गएको वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । त्यहाँ पेट्रोल प्रायः अभाव हुने गर्छ । गएको हप्ता मात्र सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।