Category: समाचार

  • पूर्वराजाको हातबाट टिका लगाउन  निर्मल निवासमा भीड

    पूर्वराजाको हातबाट टिका लगाउन निर्मल निवासमा भीड

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

    पूर्वराजाको हातबाट नायिका मनीषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएका छन् । दशैंको मुख्‍य दिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका लगाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनसम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।

  • प्रधानमन्त्रीलाई राष्ट्रपतिले लगाइदिए दसैंको टिका

    प्रधानमन्त्रीलाई राष्ट्रपतिले लगाइदिए दसैंको टिका

    काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् । आजै टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइ दिएका हुन् । राष्ट्रपति पौडेल आफूले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट शुभ साइतमा टीका र जमरा लगाएका थिए ।

  • राष्ट्रपतिका हातबाट सर्वसाधारणलाई टिका प्रदान

    राष्ट्रपतिका हातबाट सर्वसाधारणलाई टिका प्रदान

    काठमाडौं । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । सर्वसाधारणले राष्ट्रपतिको हातबाट साँझ ५ बजेसम्‍म टीका लगाउने समय तोकिएको छ ।

    यसअघि टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारी लगायत राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका थिए ।

    राष्ट्रपति पौडेलले आज अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

  • जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार

    जापानका आणविक बम पिडितहरुको संस्थाले पायो यस वर्षको नोबेल पुरस्कार

    काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहन हिडन्क्योलाई प्रदान गरिने भएको छ। निहान हिडान्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो। पुरस्कार समितिले विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।


    सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकोमा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा १९ जना महिला छन्। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।

    गत वर्ष अर्थात् सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी थिइन्। उनलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष था सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि पुरस्कृत गरिएको थियो। २०२२ मा बेलारुसी मानवअधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजले यो पुरस्कार पाएका थिए ।

  • प्रधानमन्त्रीको सन्देशः विपदको पिडाबीच सहयोग र सदभाव बढाऔं

    प्रधानमन्त्रीको सन्देशः विपदको पिडाबीच सहयोग र सदभाव बढाऔं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबिच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् । विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरेका छन् । “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उनले भने ।


    प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् । “विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उनले भनेका छन् । “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

    प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरेका छन् । “प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।”

  • विदेशमा हुनेलाई कति बजे दशैंको उत्तम साइत ?

    विदेशमा हुनेलाई कति बजे दशैंको उत्तम साइत ?

    काठमाडौं । आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

    विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ । त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । उदाहरणका लागि अष्ट्रेलियामा दशैंको टीका नेपालभन्दा एक दिन ढिलो अर्थात् १३ अक्टुबर (असोज २७ गते) परेको छ ।

  • आज बडा दशैंको टिका, ११ बजेर ३६ मिनेटमा उत्तम साइत

    आज बडा दशैंको टिका, ११ बजेर ३६ मिनेटमा उत्तम साइत

    काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’

    ‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने । सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् ।

    ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।

    टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताए । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ३६ मिनेटको दिइएको उनले बताए । समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने उनले बताए । तर टीका लगाउनु अघि देवी विसर्जन भने गर्नैपर्ने उनले बताए ।

    देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए । टीका लगाउनुअघि आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत तोकिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

    कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. गौतमले बताए । ‘देवीको प्रसाद हो, पूर्णिमासम्म लगाउँदा पनि राम्रै हुन्छ,’ उनले भने । मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धीको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

    घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।

  • फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु

    फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। बीस लाख घर तथा व्यवसायहरू अझै विद्युत्‌विहीन छन्। बाढीग्रस्त क्षेत्रबाट हजारौँको उद्धार गरिएको छ। अधिकारीहरूले आउँदा दिनमा पनि बाढी आउने सम्भावना रहेको चेतावनी दिएका छन्। फ्लोरिडाको पश्चिम केन्द्रीय तटमा अवस्थित पिनेलस काउन्टी उद्धारकार्य चलिराखेको स्थानमध्येको हो।

    अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार त्यहाँको एउटा आवासीय भवनको दोस्रो तलाको बार्दलीसम्म पानी भरिएको थियो। उक्त भवनबाट फसेका ४३० जनालाई बाढीबाट उद्धार गरिएको थियो। आँधी आउनुअघि पिनेलस काउन्टीसहित तटीय क्षेत्रका मानिसहरूलाई अन्यत्र जान भनिएको थियो। उक्त आँधी फ्लोरिडामा बज्रिँदा रातिको समय थियो। बिहीवार लिइएका तस्बिरहरूले उक्त आँधीको व्यापक प्रभाव र यसले पुर्‍याएको क्षतिलाई दर्साउँछन्। उद्धारकर्मीहरूले शुक्रवार पनि खोजी कार्य जारी राखेका छन्। सरसफाइ कार्यका निम्ति हप्तौँ वा महिनौँ लाग्न सक्ने बताइएको छ।

    फ्लोरिडाबाट पूर्वतिर सर्दै एट्लान्टिक महासागर पुग्दा उक्त आँधीको गति तीव्र गतिमा कमजोर भइरहेको छ। ट्रपिकल चक्रवातका सबै विशेषताहरू गुमाएको यसलाई अहिले ‘पोस्ट’ ट्रपिकल मिल्टन भनिएको छ। शुक्रबार विशेष गरी फ्लोरिडाको पूर्वी तटमा अलिअलि हावा चल्नेछ, तर दिउँसो कमजोर हुने बताइएको छ। आगामी केही दिन राज्यका अधिकांश भाग सुक्खा रहने छन्, तर शुक्रबार पूर्वी र दक्षिणी फ्लोरिडामा पानी पर्ने सम्भावना छ। तीमध्ये केही ठाउँमा चट्याङसहित ठूलो वर्षा हुन सक्ने ठानिएको छ।
    बीबीसी

  • कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास

    कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास

    काठमाडौं । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् ।

    कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउन दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । साथै उनले उक्त भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको बताए ।

    एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो । यता, पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमाले निकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।

  • उपत्यकाका शक्तिपिठको भ्रमणमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

    उपत्यकाका शक्तिपिठको भ्रमणमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् ।

    राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

  • एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने

    एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने

    काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका १४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए ।


    च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको बताए । शुक्रबार कीर्तिपुर नगरपालिका(२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी दिए । बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई आह्वान गरेको छ।

    उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गरेको बताए । पार्टीले वडा दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ। पार्टीले केन्द्रीय सदस्य रामश्रवण बस्नेत र भीम केसीको आमाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गरेको छ।

  • दक्षिण कोरियाली लेखिकालाई साहित्यतर्फको नोबेल पुरस्कार

    दक्षिण कोरियाली लेखिकालाई साहित्यतर्फको नोबेल पुरस्कार

    काठमाडौं । यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार समितिले ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको हो। उनको प्रसिद्ध भेजिटेरियन किताब नेपाली भाषामा समेत अनुवादित छ ।

  • दशैंमा काठमाडौंमा  नेपाल प्रहरीले बस सेवा दिने

    दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने

    काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क चलाउने भएको छ । दशैंमा सार्वजनिक यातायात कम चल्दा सर्वसाधारण्लाई समन्य हुने गरेको छ । प्रहरीका अनुसार एक बस रिङरोडभित्र चल्ने छ भने अर्को बस बाहिर चलाउने योजना छ ।

    काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

    यसैगरी, अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

  • यात्रुले जहाजको इमर्जेन्सी ढोका खोल्दा उडान सुरक्षामा चूनौति

    यात्रुले जहाजको इमर्जेन्सी ढोका खोल्दा उडान सुरक्षामा चूनौति

    काठमाडौं । विगत केही साता यता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलेका घटना सार्बजनिक भएका छन् । २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं, ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौं र आज फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका छन् ।

    यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको छ । आज बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो ।


    आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पु¥याउँछ । बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।
    हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान छ । उडान सुरक्षामा अनाहक खलल पु¥याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् ।

  • विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित

    विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित

    काठमाडौं । विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए । बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

    आधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिस निकाल्ने समय अब सकिएको छ र लाखौं मानिस पहिले नै आफ्नो घर छोडेर भागेका छन् ।

    यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरूद्ध डोनाल्ड ट्रम्पको कथित प्रचारको आलोचना गरेका थिए । राष्ट्रपति बाइडेनले यो श्रेणी ५ को आँधी शताब्दीमा राज्यमा आइपररेको सबैभन्दा भीषण प्राकृतिक विपत्ति हुनसक्ने चेतावनी दिएका छन् । सम्भावित प्रभावितलाई आग्रह गर्दै बाइडेनले मंगलबार नै भनेका थिए, ‘यो जीवन र मृत्युको कुरा हो, अतिशयोक्ति होइन ।’

    राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हेलेन आँधीपछिको आपत्कालीन प्रतिक्रियाबारे निराशाको फाइदा उठाएका छन् । उनले विपद् रकम आप्रवासीहरूमा खर्च गरिएको झुटो दाबी गर्दै गलत सूचना फैलाएर यसलाई बढावा दिएका हुन् । बाइडेनले ट्रम्पको टिप्पणीलाई ‘गैरअमेरिकी’ भनेर आलोचना गरेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसले सङ्घीय प्रतिक्रियामा गलत सूचनाको खतराबारे चेतावनी दिए ।

  • विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

    विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

    काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।


    उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।

    यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।

  • बडा दशैंको सातौं दिन, आज फूलपात्री भित्राइदैं

    बडा दशैंको सातौं दिन, आज फूलपात्री भित्राइदैं

    काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।


    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने ।


    फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए
    । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।

    गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

    हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्राइने कार्यक्रम रहेको छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

    विहीबार बिहान जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरिन्छ । स्वयम्भूबाट जमलको दशैंघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्राइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

  • दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात

    दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ ।
    नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड ५ लाखको विद्युत् निर्यात भएको जनाएको छ ।

    साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।
    दुई महिना विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा छ । साउनको प्रतियुनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा छ ।

    भदौ तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौ दोस्रो साता (९–१५ गते) मा ६९ करोड ८ लाखको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ ।

    त्यसैले चालू आव दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताएका छन् ।

    ‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु¥याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ घिसिङले भने । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

    प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढी–पहिरोभन्दा पहिले दैनिक ९ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक डेढ सय मेगावाटमात्र निर्यात भइरहेको छ । बाढी–पहिरोका कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सहित करिब ७ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

    गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

  • विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने

    विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने

    काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ ।
    नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहायता रकम स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

    नेपालमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र स्वास्थ्य आपतकालीन अवस्थासँग जुध्न यो सहायता प्रयोग हुने जनाइएको छ । ‘नेपाल डिजास्टर रिजिलेन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफ डिफर्ड ड्रडाउन अप्सन’ (क्याट डीडीओ) सञ्चालनले प्रकोप प्रतिरोधात्मक क्षमता बढाउन नीति र नियामक सुधार हुने र प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्र बलियो बनाउने विश्व बैंकको भनाइ छ ।

    यसले सरकारलाई प्रारम्भिक चेतावनी प्रणाली सुधार गर्न र जोखिम न्यूनीकरण गर्न आवश्यक नीति, संस्था र नियामकीय संरचना निर्माण र महत्त्वपूर्ण पूर्वाधारमा जोखिम सूचित लगानी साथै सार्वजनिक स्वास्थ्य आपतकालका लागि तयारी बढाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।

    विश्व बैंकका अनुसार क्याट डीडीओ मार्फत प्रकोपपछि तत्काल तरलतामा पहुँच प्रदान गर्न आकस्मिक वित्त पोषण, सरकारलाई विपद् प्रतिक्रिया र पुनः प्राप्तिका लागि थप एक उपकरण प्राप्त गर्छ । त्यस्तै नेपालको संघीय प्रणालीका तीन तहमा विपद् प्रतिक्रिया र पुनस्र्थापनाका लागि विपद्पछिका स्रोत महत्त्वपूर्ण हुन्छन् ।

    ‘हालै आएको बाढी–पहिरोले नेपालले प्राकृतिक र जलवायु प्रेरित खतरा र स्वास्थ्य आपतकाल बहुसंकटको सामना गरिरहेको देखाएको छ, जसले नेपाललाई गम्भीर आर्थिक झट्काको बढ्दो जोखिममा पारेको छ,’ माल्दिभ्सका लागि विश्व बैंकका क्षेत्रीय देशीय निर्देशक डेभिड सिस्लेनले भने । विश्व बैंकका अनुसार क्याट डीडीओ विपद् जोखिम वित्त पोषण उपकरण हो जसले सरकारका विकास कार्यक्रमबाट स्रोत नफर्काइ आपतकालीन आवश्यकतामा छिटो प्रतिकार्य गर्न सहयोग पुग्छ ।

  • मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने

    मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ। दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनकाअनुसार बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको छ।

    मेलम्चीको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हालेर वितरण प्रणालीमा जोडिसकिएको छ। प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएको छ। ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी मात्रै प्रशोधन गर्न सक्ने रहेछ, अर्को प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छैन, त्यसैले बढी भएको पानी अहिले बागमती नदीमा बगाइएको छ,’ उनले भने।

    उनकाअनुसार मेलम्चीको पानी मंगलबारदेखि काठमाडौंमा वितरण सुरू भइसकेको छ। आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हालिएको थियो। स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको हो।

    मेलम्चीको पानी काठमाडौंमा अस्थायी तवरले ल्याइएको छ। यसअघिका चार वर्षका हिउँद याममा पनि अस्थायी तवरबाट नै काठमाडौंमा पानी ल्याइएको थियो। २०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको थियो।

    अघिल्लो पटक सुरूङमा लेदो पसेकाले सफा गर्न समय लागेको थियो। यसपटक नदीको बहाव व्यवस्थित गरिएको र सुरूङको मुखमा छेकबार राखिएकाले लेदो पस्न नपाएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए। मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सोमबार राति सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ।

  • अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

    अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

    काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।

    सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।

    ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’

    नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ । यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    अमेरिकी मौसमविदहरुका अनुसार मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ । त्यसैले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ ।

    प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन् । यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ ।

    अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ । केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।

  • आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना

    आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना

    काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

    दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौंथो दिन आइतबार र पाँचौं दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

    दुवै दिन सूर्योदय कालमा चौथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने शास्त्रीय नियम भएकाले त्यसैअनुसार गरिएको हो ।

    आश्विन शुक्ल षष्ठीका दिन मङ्गलबार स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, दक्षिणकाली, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

    यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, अम्बिकेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

    राजधानीका अधिकांश शक्तिपीठमा दिनभर नै भक्तजनको घुइँचो हुने गरेको छ । बेलुकी आरतीदेखि नै शक्तिपीठमा दीपावली गरिएकाले दर्शनका लागि बेलुकी मनिदर धाउने भक्तजन पनि बढ्न थालेका छन् ।

  • राष्ट्रपतिबाट साढे ३ बजेदेखि सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

    राष्ट्रपतिबाट साढे ३ बजेदेखि सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । मंगलबार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै टीका लगाउने समयतालिका सार्वजनिक गरेको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरुका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन् ।

    उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जंगी तथा प्रकरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म राष्ट्रपतिले टीका लगाइदिएका छन् ।

  • सरकारले आरोहणलाई खोल्यो थप ५७ हिमाल

    सरकारले आरोहणलाई खोल्यो थप ५७ हिमाल

    काठमाडौं । सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको हो । यी हिमाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको हो । मन्त्रालय मातहत पर्यटन विभागले हिमाल व्यवस्थापन गर्दै आएको छ ।

    यसअघि गत असारमा पर्यटन विभागले ती हिमाल आरोहण खुला गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिस गरिएका हिमालमा ६ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् । यसपालि पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका चुचुरो आरोहणका लागि खुला भएका हुन् । यसअघि नेपालमा ४ सय १९ हिमाल चुचुरा आरोहणमा खुला भइसकेका छन् । जसमा सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

  • द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन

    द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन

    काठमाडौं । धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए ।

    ‘आफूहरु फर्कने निर्णयमा पुगेको जानकारी उनीहरुले आफ्ना साथीलाई आधार शिविरमा गराएका रहेछन्,’ गुरुङले भने । तर, रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो । सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र उनीलाई प्राणविहिन अवस्थामा फेला पारिएको हो ।

    उनीहरु रसियाका चर्चित र अनुभवी आरोही रहेको गुरुङले जानकारी दिए । यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये दुई समूहमा ७(७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए ।

    बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेर आधार शिविरमा फर्किएका थिए । आरोहणको अठोट बोकेर अघि बढेका आरोहीहरुको निधन भएको हो । प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको विभागले जनाएको छ । आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।

  • सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

    सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

    काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो ।
    आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहनु भएको छ । आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ ।


    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समय अनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरु दिने विश्वास व्यक्त गरे ।
    अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरुको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । आयोगले कार्यविधि आफै बनाउने छ ।

  • नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि

    नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि


    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्रि भएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्रि भएको छ ।

    काठमाडौं भैरहवा रुटमा १५८ सिटनै बिक्रि भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाकी रहेको उनले जानकारी दिए । फुलपातिको दिन नेवानिले १८५ सिटे न्यारोबडी जहाजले आन्तरिक उडान गर्दैछ ।

  • प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध

    प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध

    काठमाडौं । गाजामा युद्ध निम्त्याउने गरी हमासले दक्षिणी इजरेलमा गरेको आक्रमणको ठिक एक वर्ष पुगेको छ । उक्त समूहले सोमवार तेल अभिभलाई निशाना बनाएर कैयौँ रकेट प्रहार गरेको बीबीसीले जनाएको छ । जसका कारण इजरेलमा चेतावनीका साइरन बजाइएको छ । इजरेली सेनाले कैयौँ रकेटहरू आकाशमै नष्ट गरिएको बताएको छ। हमासलाई समाप्त पार्ने लक्ष्यसहित सुरु गरेको आक्रमणको १२ महिनापछि इजरेलले दक्षिणी गाजामा थप आक्रमणहरू हुने चेतावनी दिएको छ।

    हमासले गत वर्ष अक्टोबर ७ मा इजरेलमा हमला गरेको एक वर्ष पुग्दै गर्दा सोमवार इजरेल, हमास र हिज्बुल्लाह सबैले अर्को पक्षविरुद्ध आक्रमण गरेका छन्। इजरेल सहित विश्वभरि हमास हमलाको स्मरण गरिएको छ। उक्त हमलामा हमासले १,२०० जना मानिसको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएको थियो। त्यसयता इजरेली हमलामा गाजा क्षेत्रमा झन्डै ४२ हजार मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    उता, सोमवार इजरेलले दक्षिण लेबननमा गरेको हमलामा कैयौँ अग्नि नियन्त्रकहरू मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेली सेनाले गाजा र लेबननमा हमास र हिज्बुल्लाहका निसानाहरूमा हमला गरेको बताएको छ। गाजाबाट इजरेलतर्फ रकेट प्रहार गर्दा तेल अभिभमा दुईजना घाइते भएको बताइएको छ।

    हिज्बुल्लाहले पनि उत्तरी इजरेलमा क्षेप्यास्त्र प्रहार गर्दै ७ अक्टोबरका घटनालाई “साहसपूर्ण” भनेको छ। उसले इजरेली फौजको प्रतिरोध गर्न सकिनेमा आफूहरू विश्वस्त भएको बताएको छ। अक्टोबर ७ को स्मरण गरिँदै गर्दा गत साता इरानले गरेको बलिस्टिक क्षेप्यास्त्र हमलाको इजरेलबाट हुने ठानिएको बदला कारबाहीलाई लिएर सम्पूर्ण मध्यपूर्व क्षेत्र चिन्तापूर्ण पर्खाइमा रहेको देखिने बीबीसी संवादददाता जेरमी बावेनले जनाएका छन्।

    “इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानको आक्रमणको जबाफ आफूले सही ठहर्‍याएको समय र तरिकामा दिइने बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले इरानको परमाणु वा तेल प्रशोधन स्थलहरूमा आक्रमण भएको हेर्न नचाहेको बताएका छन्। इजरेलीहरू इरानलाई पोहोरको हमास हमलाको समर्थक ठान्छन् र राष्ट्रपति बाइडनको सल्लाह नमान्न त्यहाँ दबाव बढेको छ,” जेरमी बावेन भन्छन्।

    A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel’s prime minister of October 8 warned of a “long and difficult” war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

    अमेरिकी राष्ट्रपति जो बाइडनले यो एक वर्षमा धेरै गैरसैनिकले दुःख पाएको बताएका छन्। इजरेल एक्लो नभएको पनि उनले बताए। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पीडितहरू सदा सम्झनामा रहने बताए भने ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरले अक्टोबर ७ लाई होलोकस्ट यता यहुदीहरूमाथि आइपरेको सबैभन्दा अँध्यारो दिन भनेका छन्। जर्मन चान्सलर ओलाफ सोल्जले उनको देशले इजरेलको पीडा बुझेको बताए।

    इजरेलका राष्ट्रपति आइज्याक हर्जोग नोभा साङ्गीतिक कार्यक्रम भएको स्थलमा पुगेर त्यहाँ आयोजित स्मृति सभामा सामेल भए। हमासले हमला गर्नु अघि बजेको अन्तिम गीत त्यहाँ सोमवार बजाइएको थियो। आफन्तहरूले मारिएका सयौँको फोटो उचालेका थिए।

  • यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

    यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

    अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

    कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

    त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।

    यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

    कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

    त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

  • न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित

    न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित

    म्यानचेष्टर

    न्यूह्यामसर नेपाली समाजको आयोजनामा शनिबार बृहत दशैं उत्सव साँझ सम्पन्न भएको छ । राज्यका बिभिन्न भेगमा बसोबास गर्ने नेपालीहरु म्यानचेस्टरमा भेला भएर सामुहिक रुपले दशै साँझ मनाएका हुन् ।

    उत्सवमा बिभिन्न सांगितक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै दशैं साँझको अवसर पारेर समाजले पूर्व अध्यक्ष एवं समाजवेसी रविन थापालाई सम्मान समेत गरेको छ । स्थानिय समिट न्यूह्यामसरका अध्यक्ष रहेका थापाले समाजले आयोजना गर्ने हरेक कार्यक्रमलाई खुलेर सहयोग गर्दै आएका छन्।

    समाजले बर्षेनी आयोजना गर्ने सकर (फूटबल) प्रतियोगितामा थापाले मुख्य प्रायोजकको रुपमा सघाउँछन् भने अन्य गतिविधीमा पनि उत्तिकै खुलेर सहयोग गर्दै आएका छन् । थापाको समिट न्यूह्यामसरसँगकै सहकार्यमा समाजले बार्षिक रुपले स्वयंसेवी (भोलुनटिअर) अवार्ड पनि वितरण गर्दै आएको छ ।

    थापालाई समाजका अध्यक्ष लाक्पा शेर्पा, संस्थापक अध्यक्ष मिन गौतम एवं पूर्व अध्यक्ष सोम गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान पछि बोल्दै थापाले परदेशमा आएर नेपालीहरुलाई जोड्ने गतिविधीमा समाजले चालेको कदमको सह्राना गरेका थिए । ‘खेलकुद देखि सांस्कृतिक गतिविधीसम्मको प्रवर्धनमा न्यूह्यासर नेपाली समाज खटि रहेको छ, आगामी दिनमा यसले निरन्तरता पाओस्’ थापाको भनाइ थियो ।

    यस्तै समाजले गत बर्ष वितरण सुरु गरेको एनएचएनसी भोलुनटिअर अवार्ड न्यूह्यासर दिदी बहिनी समुहकी अध्यक्ष किरण गुरुङलाई प्रदान गरेको छ । हरेक सामाजीक गतिविधीमा अहोरात्र खट्ने गुरुङको सकृयतालाई कदर गर्दै समाजले उक्त अवार्ड प्रदान गरेको हो । गुरुङलाई समाजका अध्यक्ष शेर्पा एवं पूर्व अध्यक्षहरु गौतम, थापा र गुरुङले सम्युक्त रुपमा सम्मान एवं प्रोत्साहन स्वरुप एक हजार डलर नगद सहित अवार्ड प्रदान गरेका थिए ।

    कार्यक्रममा न्यूह्यामसरका बिभिन्न भेटमा रहेका फरक उमेर समूहका कलाकारहरुले गायन, नृत्य लगायतका कला प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सम्पुर्णलाई स्वागत गर्दै समाजका उपाध्यक्ष माधव गुरुङले दशैंको अवसरले बिदेशको व्यस्त समयमा पनि एक आपसमा भाइचारा र खुसीयाली साट्ने अवसर प्रदान गरेको बताए ।

    समाजका अध्यक्ष शेर्पाले यस्ता सांस्कृतिक चाडबाड र उत्सवमा सबैको सहभागिताले मात्र भावी पुस्तालाई आफ्नो संस्कार र संस्कृति सिकाउन सकिने उल्लेख गरे ।