Category: समाचार

  • ग्वाटेमालामा नेपालीसहित आप्रवासी चढेको ट्रकमा सेनाले चलायो गोली, ६ जना मारिए

    ग्वाटेमालामा नेपालीसहित आप्रवासी चढेको ट्रकमा सेनाले चलायो गोली, ६ जना मारिए

    काठमाडौं । ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकले चलाएको गोली लागेर ६ जना आप्रवासी मारिएका छन् । ग्वाटेमाला सिमाना हुँदै अमेरिका गइरहेका नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेको ट्रकबाट मारिएका ती आप्रवासी को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ ।

    मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने । आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् ।


    ती आप्रवासीमाथि छानबिन चलिरहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अखबार हिन्दुस्तान टाइम्सले समाचार छापेको हो । निहत्थामाथि गोली चलाएको पाइएमा सैनिकमाथि समेत कारबाही हुने बताइएको छ । आप्रवासी अधिकारका पैरवीकर्ताले भने सन् २०२१ मा पनि यस्तै अनधिकृत हमलाबाट निहत्था मान्छे मरेको भन्दै सेनाबाट फेरि पनि भयानक गल्ती भएको हुन सक्ने आशंका गरेका छन् ।

  • नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

    नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

    काठमाडौं । नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता भएको छ । सम्झौताले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । अब नेपाल तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्न सक्षम बन्ने भएको छ । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ ।

    काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो । यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।

    नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो। रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरे ।
    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए । गत जुलाईमा त्रिपक्षीय सम्झौता हुने गरी दिन नै तय भए पनि बंगलादेशमा राजनीतिक प्रदर्शनहरू भएपछि त्यो सरेको थियो ।

    दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोसेढुंगा भएको कुलमान घिसिङले ‍‍‍बताए । ‘यो हाम्रो साझा भिजनको परिणति हो । यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने छ,’ उनले भने । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

    बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ । नेपालले भारतको मुजफ्फरपुरमा विद्युतको मिटर राखिनेछ, बंगलादेशमा कति विद्युत् निर्यात भयो भन्ने रेकर्ड त्यही मिटरमा हुनेछ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट बंगलादेशको सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौतामा उल्लेख छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बिक्रीको विद्युतको मूल्य बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान गरिएको छ ।

    भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० बाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ । ५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । यो सम्झौताअनुरूप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी घिसिङले दिए । हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ (९० लाख २० हजार अमेरिकी डलर) को विद्युत् बंगलादेश निर्यात हुने जानकारी पनि घिसिङले दिए ।

    भारतको आवश्यक अनुमति पाएपछि निर्यात सुरु हुने उनले बताए । नेपाल तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो मुलुक हुने जानकारी पनि उनले दिए ।
    १० हजार मेगावाट भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई विद्युत् निर्यात गर्ने लक्ष्य रहेको उनले बताए । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

    प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । यसअघि बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने निर्णय गरेको थियो । गत वर्षको २० मंसिरमा बंगलादेशका तत्कालीन अर्थमन्त्री मुस्तफा कमलको नेतृत्वको मन्त्रिपरिषद्को आर्थिक मामिला समितिले ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेश पावर डेभलपमेन्ट बोर्डको प्रस्ताव स्वीकृत गरेको थियो ।

    प्राधिकरण र बीपीडीबीबीच विद्युतको दरमा गत फागुनको अन्तिममा सहमति भएको थियो । गत १३ साउनमा काठमाडौंमा त्रिपक्षीय सम्झौताको तयारी भएको थियो । तर, बंगलादेशमा चर्किएको आन्दोलनका कारण त्यो रोकिएको थियो ।

    त्यसबीचमा बंगलादेशमा राजनीतिक परिवर्तन भई प्रा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेपछि नेपालले पुनः सम्झौताका लागि पहल थालेको थियो । बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. युनुसलाई भेटी ऊर्जा सहकार्यका विषयमा कुरा गरेका थिए । त्यसबेला प्रा। युनुसले यसलाई अघि बढाउन बंगलादेश तयार रहेको बताएका थिए । त्यसपछि सम्झौताको नयाँ मिति तय भएको हो ।

  • १५ अर्ब लागतमा दुई पेट्रोलियम पाइपलाइन भारतले बनाइदिने

    १५ अर्ब लागतमा दुई पेट्रोलियम पाइपलाइन भारतले बनाइदिने

    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो ।

    बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा बिहीबार भएको हो । सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

    नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ । यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अघिल्लो वर्ष नेपाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनुदानमा यी पाइपलाइन बनाउने बारे छलफल भएको थियो । यसअघि नेपाल र भारतबीच अन्तर देशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगञ्ज भदौ २०७६ मा उद्घाटन भई सञ्चालनमा छ । यो पाइपलाइनको लम्बाइ ६९.१ किलोमिटर छ ।

  • दशैं अगाडी विपी राजमार्ग खुलाउन नसकिने भन्दै सरकारले उठायो हात

    दशैं अगाडी विपी राजमार्ग खुलाउन नसकिने भन्दै सरकारले उठायो हात

    काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने भन्दै हात उठाएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

    वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ ।

    सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्छ । उनले अगाडि भने, ‘अस्थायी रुपमा पनि यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन ।’ सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु वीपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको थियो । ‘तर त्यो साह्रै घुमाउने हुने भयो’, उनले भने, ।

    सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको उनले बताए । सचिव शर्माले अगाडि भने, ‘अहिलेका लागि विकल्प यो छ ।’

    पूर्व जाने गाडीहरुका लागि कान्ति राजपथ र दक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए । भौतिक पूर्वाधार सचिव शर्माले भने, ‘यो बाटोबाट हेटौंडा र त्यहाँबाट भिमान जान सकिन्छ । सिन्धुली एक्लिएर अन्यत्र जाँदा भयो ।’ भोलि वा पर्सिसम्म कान्ति राजपथ र दक्षिणकाली छैमले सडक सञ्चालन गर्ने प्रयासका साथ काम भइरहेको उनले बताए । उनका अनुसार काठमाडौंबाट नौबिसे हुँदै हेटौंडा जाने बाइरोडको बाटो पनि सञ्चालनमा छ । त्यस्तै थानकोट –चित्लाङ भएर पनि हेटौंडा जान सकिन्छ ।

    सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि वीपी राजमार्गमा अलपत्र गरेका गाडीहरुलाई भने कुनै उपाय लगाएर दशैं अगाडि नै सिन्धुली वा काठमाडौं ल्याउने विकल्पमा काम गर्ने जानकारी दिए ।

  • नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत खरीद- बिक्रि सम्झौता हुँदै

    नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत खरीद- बिक्रि सम्झौता हुँदै

    काठमाडौं । नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।

    ‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा अब सीमा नजोडिएको बंगलादेशसँग पनि विद्युत् व्यापार गर्दै छौं,’ नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि यो कोशेढुंगा हो ।’

    नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।

    प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

    प्राधिकरणले वर्षायामको ६ महिना (हरेक वर्षको १५ जुन– १५ नोभेम्बरसम्म) पाँच वर्षका लागि ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युतबिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

    नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर(मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत–भेरमारा–बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने बताए । घिसिङले बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७.६ सेन्ट पुग्ने उल्लेख गरे । ‘हामीले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो’, उनले भने ।

    उनका अनुसार यसरी सरकार-सरकार तहमा बंगलादेशसँग साङ्केतिक रुपमा पहिलो चरणमा हुन लागेको विद्युत् व्यापारले आगामी दिनमा क्षेत्रीय रुपमा ठूलो परिमाणमो व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ । साथै यसले विद्युत् व्यापारका अरु धेरै बाटाहरु खुलाउने उनले विश्वास व्यक्त गरे ।

  • लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

    लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

    काठमाडौं । युद्ध चर्किएपछि नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।

    मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

    कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

  • लेबनानको राजधानीमा इजरायलको आक्रमण सुरु

    लेबनानको राजधानीमा इजरायलको आक्रमण सुरु

    काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले आक्रमण थालेको छ । यसले नेपालीसहित निहत्था नागरिकको असुरक्षाको जोखिम बढेको छ । इजरायलले आफूले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

    इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।

    लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । इजरायली सेनाले लेबनानको ४०० मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको मृत्यु भइसकेको छ । हाल हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ ।

    लेबनान सरकारको समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी (एनएनए)ले लेबनानको एतारुनमा भएको इजरायली आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यसअघि इजरायलको सिमानासँग जोडिएको देबेल गाउँमा पनि तीन जनाको मृत्यु भएको थियो । यो युद्धपछि मध्यपूर्व पुनः तनाव बढेको छ । मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ ।

  • काठमाडौंसहित मध्य र पूर्वी नेपालमा निरन्तर वर्षा

    काठमाडौंसहित मध्य र पूर्वी नेपालमा निरन्तर वर्षा

    काठमाडौं । सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ । काठमाडौंको उत्तरी भेगमा भारी वर्षा भइरहेको छ । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको छ । त्यहाँ एक घण्टायता भने वर्षा कम भएको छ ।

    यसैगरी सिन्धुपाल्चोकको तार्केघ्याङमा पनि भारी वर्षा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २८.४ मिलिमिटर वर्षा भएको छ । सुनसरीको तहरा, धनकुटाको त्रिवेणी, झापाको अर्जुनधारा, इलामको सोक्तिम टिस्टेटमा पनि भारी वर्षा मापन भएको छ । भारतको उत्तर-पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । यसको असर आज र भोलिसम्म रहने सम्भावना छ । यद्यपि पानी पार्ने यो प्रणाली पूर्वबाट पश्चिमतिर सर्ने क्रममा क्रमशः कमजोर हुँदै गएको छ ।

    असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना हुने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । मौसमविदको सुझाव अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ ।

    कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा आज हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो सम्भावना शुक्रबारसम्मै रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यद्यपि नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको उत्तराखण्ड क्षेत्रबाट मनसुन बाहिरिएको छ । भारतीय मौसम विज्ञान विभागले जारी गरेको नक्सा अनुसार सुदूरपश्चिमका केही जिल्लाबाट पनि मनसुनी वायु हटेर पश्चिमी वायु प्रवेश गरिसकेको देखिन्छ ।

  • टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो

    टी २० आइ सिरिज : नेपालले ओमानलाई हरायो

    काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए । ओमानका फयाज बटले, ३ कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १–१ विकेट लिए ।

    नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुग्यो । नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

    ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । बिहीबार ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा ओमान विजयी भएमा नेटरनरेटका कारण नेपाल च्याम्पियन बन्ने समिकरण देखिन्छ । नेपालले अव क्यानडा ए सँग ४, ६ र ८ अक्टोबरमा तीन एकदिवसीय अभयास खेल खेल्नेछ ।

  • सुरु भयो बडा दशैं, आज घटस्थापना

    सुरु भयो बडा दशैं, आज घटस्थापना

    काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

    घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

    ‘विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । कसैकसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतम बताउँछन् ।

    घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

    बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

    दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

    यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

  • अर्थतन्त्रमा ५.१ प्रतिशतको सुधार हुने विश्व बैंकको प्रक्षेपण

    अर्थतन्त्रमा ५.१ प्रतिशतको सुधार हुने विश्व बैंकको प्रक्षेपण

    चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । अघिल्लो आव (सन् २०२४) मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादन वृद्धिले अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा उल्लेख छ ।

    नेपालको अर्थतन्त्र आगामी आव २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ ।

    प्रतिवेदनमा अर्थतन्त्रमा रहेका जोखिम समेत पहिचान गरिएको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिम सहित निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पूँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक माग कम गर्न सक्ने जस्ता जोखिम छन् ।

    बुधबार प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा रहेको बताए । बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनालाई सम्पन्न गरी पूँजीगत खर्च बढाउने नेपालको प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्ने उनले बताए । यसले आन्तरिक उत्पादन बढाउने र धेरै रोजगारी सिर्जना हुने उनको भनाइ छ ।

    आप्रवासी श्रमिक प्राप्त गर्ने खाडी मुलुक र मलेसियामा आएका झट्काले पनि वृद्धिलाई धिमा गर्न सक्ने उनले बताए । खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पूँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पु¥याउने देखिएको छ । नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसर र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको अवस्था कायम देखिएको छ ।

    प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्य प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तार सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपलाई प्राथमिकता साथ उल्लेख गरेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले वृद्धिको गति कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण रहेको बताए ।

    उनले पूर्वाधार, सुशासन, मानव पूँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता रहेको उल्लेख गरे । ‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्स मार्फत धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्षलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्र निर्माण नेपालको भविष्यका लागि महत्त्वपूर्ण छ,’ उनले भने ।

    उनले सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्ने बताए । श्रमिकलाई विदेश जान राम्रो तयारी गराउने र श्रम बजारमा आप्रवासीको सुरक्षा र आवतजावत सुनिश्चित गर्ने उनको भनाइ छ ।

  • हनि ट्रयापको धन्दा र हत्या आरोपमा ५ जनाको समूह पक्राउ

    हनि ट्रयापको धन्दा र हत्या आरोपमा ५ जनाको समूह पक्राउ

    काठमाडौं । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेको पाइएको छ । त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको खुलेको छ । कीर्तिपुरका ५० वर्षीय खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । ७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो ।

    अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ । विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्‍याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।


    प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेकी थिइन् । अंसु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुलेका थिए । त्यहाँबाट फर्किने क्रममा उनीहरुले नेपालमा पनि मनिषामार्फत धनी व्यक्तिलाई ‘हनीट्याप’मा पार्ने र रकम लुट्ने योजना बनाएको प्रहरीको दाबी छ । त्यसमा कीर्तिपुरका विनोद परे ।

    प्रहरीले दिएको जानकारीअनुसार अंशु, शिवम, सरिन र रिकेशले ४ असोजको साँझ मनिषाको राधेराधेस्थित कोठामा भेला भएका थिए । त्यसक्रममा उनीहरुले फिरौतीको योजना बनाए । त्यसअनुसार मनिषाले ५ गते विहान विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्‍यो भन्दै बोलाइन् । साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाउँछन् । त्यही क्रममा खुर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएको र कोठामा पुग्नासाथ आक्रमण गर्छन् ।

    उनीहरुले घाइते विनोदको हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गर्छन् । प्रहरीका अनुसार सुरुमा ३० लाख रुपैयाँ मागेका थिए । तर मनिषाले त्यो रकम धेरै भएको भन्दै १० लाख भन्छिन् । विनोदले त्यति रकम नभएको, ५ लाख ल्याइदिनसक्ने बताउँछन् । त्यसपछि आफ्नो कार्यालय वधशालाका कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर ५ लाख रुपैयाँ ल्याउन अह्राएको प्रहरीले बताएको छ ।

    विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्‍याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ । योजनाअनुसार उनीहरुले घाइते विनोदलाई उनकै गाडीमा राखेर सूर्यविनायक–७ स्थित गुण्डु जाने सडकमा पुर्‍याउँछन् । ‘गाडीभित्रै ढुंगाले छातीमा हानेर उनको हत्या गरेको देखिन्छ’ काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन् ।

    हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा पुर्‍याएर अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर भक्तपुर फर्किन्छन् । पुरानो थिमीमा गाडी छाडेर घर गएका उनीहरुले भोलिपल्ट भेटेर पैसा बाँडछन् । अंशुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार, रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको देखिन्छ ।

    घटनाबारे प्रहरी थाहा पाएपछि मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र विवाद भएपछि आफूखुसी निस्किएको बयान दिने सहमति समेत भएको थियो । तर त्यही दिन प्रहरीले मनिषासहितका व्यक्तिलाई पक्राउ गर्‍यो । भारतीय नागरिक भनिएका अंशु र शिवमको इन्टरपोलमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • डिभी खुल्यो, नेपालीले आजैबाट भर्न पाउने

    डिभी खुल्यो, नेपालीले आजैबाट भर्न पाउने

    काठमाडौं । अमेरिकाको २०२६ डाइभसिर्टी भिसा खोलेको छ । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति ९ : ४५ मा बाट भर्न सकिन्छ । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

    एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन्। डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । डीभीका लागि निःशुल्क रूपमा आवेदन दिन सकिन्छ।

  • विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए

    विश्व वरीयतामा दीपेन्द्रको छलाङ, दोस्रो नम्बरमा उक्लिए

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो ओगट्न सफल भए । यसअघि दीपेन्द्र छैटौँ स्थानमा थिए ।


    शीर्षस्थानमा इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन छन् । दीपेन्द्रको रेटिङ दुई सय ३० छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ । नेपालबाट अलराउन्डतर्फ गुलशन झाले एघार स्थान सुधार गरेका छन् । यथा स्थानमा रहेका कप्तान रोहितकुमार पौडेल र गुलशन ५३औँ स्थानमा छन् । यस्तै कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६०औँ र कुशल मल्ल ४०औँ स्थानमा छन् । ब्याटिङतर्फको दीपेन्द्र दुई स्थान सुधार गरेका छन् । ब्याटिङमा उनी ४३औँ स्थानमा छन् ।


    कप्तान रोहितको एक खस्कँदै ६१औँ र दुई स्थान खस्किएको आसिफ शेख ७०औँ स्थानमा छन् । एक स्थान सुधार गरेका कुशल मल्ल एक सयौँ स्थानमा छन् । बलिङतर्फ दीपेन्द्र २३ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लिएका छन् । एक स्थान खस्किएको सोमपाल कामी ९१औँ स्थानमा छन् । राष्ट्रिय टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा कायम छ ।

  • राष्ट्रपतिले बाढी पिडितका लागि एक महिनाको पारिश्रमिक दिने

    राष्ट्रपतिले बाढी पिडितका लागि एक महिनाको पारिश्रमिक दिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
    उनको सचिवालयले भनेको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरो पीडितको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने हुनुभएको छ।’’ यसैगरी उनका विज्ञ सल्लाहकारले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। असोज ११ र १२ गतेको भारी वर्षाले मुलुकभरमा बाढी र पहिरोले ठुलो क्षति गरेको छ।

  • अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

    काठमाडौं । अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ। सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण वर्षाका कारण बन्दसत्र एक दिनको लागि स्थगित भइ पुनः सुचारु भएको थियो। उनका अनुसार बन्द सत्रमा प्रस्तावित प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

    पाारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न दसैँ अगाडिको समय अपर्याप्त भएको सुझाव प्राप्त भएको छ। अध्यक्ष मण्डलबिच बुधबार बसेको बैठकले यो अवस्था स्थगन गर्न उचित रहेको निष्कर्ष निकाल्दै सो निर्णय गरिएको उनको भनाइ छ।

  • प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

    प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदा कार्ययोजना प्रस्तुत गरेका थिए । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

    सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ। न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको थियो। प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

    यसैबिच, बुधबार संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ। उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

  • बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको सरकारको अनुमान

    बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको सरकारको अनुमान

    काठमाडौं । बाढी र पहिरोका कारण १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन्। विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ।

    कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको मृत्यु भएको छ । पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए।

    बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ। रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ। हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै रु दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ। बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ।

    पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म २२४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन्। १५८ जना घाइते छन्। उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ। कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ। कूल ५८ हजार ४७६ हेक्टरमा लगाइएको रु तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ। किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ।

    भौतिक क्षतितर्फ खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा रु दुई अर्ब ५२ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ। बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन्। त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ। त्यसमा सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ रु ८२ करोड र बेलीब्रिजतर्फ रु २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ। सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ।

    बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ। सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ। अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ।

    लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ। सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ। अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ। यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ। ऊर्जा र जलस्रोततर्फ समग्रमा रु चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ।

    नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ। त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्याङ्कन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए।

    यस्तै, खानेपानी आयोजनामा रु तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ। नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ। काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ। कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ। अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ।

    सरकारले खोज तथा उद्धारमा ३० हजार ७३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ।बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

  • आजबाट नेपालमा वर्षाको सम्भावना, कति घातक ?

    आजबाट नेपालमा वर्षाको सम्भावना, कति घातक ?

    काठमाडौं । देशभर मनसुनी वायुसँगै भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ भने कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

    कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा रातिपनि मेघ गर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित

    टी-२० आई सिरिज : नेपाल क्यानडासँग पराजित

    काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे ।

    दीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । आसिफ शेख ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे । नेपाललाई ओपनर आसिफ र अनिलले ९।१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।

    कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४–४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे । क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले अन्तिम खेल बुधकार राती ओमानसँग खेल्नेछ ।

  • इजरायलले लेबननको स्थलमा समेत थाल्यो सैन्य कारवाही

    इजरायलले लेबननको स्थलमा समेत थाल्यो सैन्य कारवाही

    काठमाडौं । इजरेलले आफूले दक्षिण लेबननका सीमित र निश्चित स्थानमा स्थल कारबाही सुरु गरेको जनाएको छ। इजरेल डिफेन्स फोर्सेज (आईडीएफ) ले इरानबाट समर्थनप्राप्त लेबननी लडाकु समूह हिज्बुल्लाहका भौतिक संरचनाहरूलाई लक्ष्य बनाउँदै अहिले सैन्य कारबाही भइरहेको जनाएको छ। आईडीएफका अनुसार ती संरचनाबाट उत्तरी इजरेलस्थित इजरेली समुदायहरूलाई तत्काल खतरा छ। हिज्बुल्लाहका सहायक प्रमुखले आफ्नो समूह लेबननभित्र इजरेलले गर्ने जस्तोसुकै सैन्य कारबाहीको प्रतिकार गर्न तयार रहेको बताएका छन्।

    लेबननको राष्ट्रिय सेनाले आफ्नो दक्षिणी सीमाबाट आफ्ना सैनिकहरू पाँच किलोमिटर उत्तरतर्फ सार्न थालेको बताएको एक सरकारी सूत्रलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ। इजरेलका रक्षामन्त्री योआभ गालान्टले यसअघि इजरेली सेना लेबननी भूमिमा प्रवेश गर्न तयार रहेको सङ्केत गरेका थिए। दुई देशबीचको सीमानजिकै परिचालित सैनिकहरूलाई सम्बोधन गर्दै उनले इजरेल जल, स्थल र आकाश तीनवटै मोर्चाबाट हिज्बुल्लाहमाथि कारबाही गर्न तयार रहेको बताएका थिए ।

    मङ्गलवार बिहानै सामाजिक सञ्जाल एक्समा प्रेषित एउटा विज्ञप्तिमा आईडीएफले आफ्ना सैनिकहरू सीमा नाघेर लेबननी भूमिमा प्रवेश गरेको जनाएको छ।
    त्यसअघि उत्तरी इजरेलका सीमावर्ती क्षेत्रमा ट्याङ्क र अन्य बख्तरबन्द गाडीहरू भेला भएका थिए। सोमवार इजरेली रक्षामन्त्रीले हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको हत्या एउटा महत्त्वपूर्ण कदम पनि भए पनि त्यो सबै कुरा हैन भनेका थिए। गर्नुपर्ने सबै कुरा गरिने छ। अनि हामी जल, स्थल र आकाशबाट सबै बल प्रयोग गर्ने छौँ। इजरेल सरकारले आफ्ना हजारौँ नागरिकलाई आफ्ना बस्तीमा सुरक्षित फर्किन पाउने अवस्था सिर्जना गर्ने वाचा गरेको छ। गाजामा युद्ध सुरु भएपछि हिज्बुल्लाहले इजरेलभित्र लेबननतिरबाट रकेट प्रहार गर्दै आएको थियो।

    विभिन्न देशले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मान्दै आएका छन्। उक्त समूहले इजरेली सीमानजिकैको भूभागमा सुरुङ, बङ्कर र सैन्य संरचनाहरू बनाएको छ। हिज्बुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले इजरेलले अहिलेसम्म गरेका आक्रमणहरू निकै कम भएको भन्दै सङ्घर्ष धेरै लामो हुन सक्ने जनाएका छन्।

    केही साताअघि भएका पेजर र वाकीटकी आक्रमणहरूमा हिज्बुल्लाहले ठूलो क्षति बेहोर्नुपरेको छ। ती आक्रमण इजरेलले गराएको ठानिएको छ। इजरेलले हिज्बुल्लाहका वरिष्ठ नेताहरूलाई लक्ष्य गर्दै उनीहरूको हत्या पनि गरिदिएको छ। इजरेलले गत शुक्रवार हिज्बुल्लाहका प्रमुख नस्रल्लाहको हत्या गरिदिएको थियो।

    इजरेलले गरेका हवाई हमलाहरूमा हिज्बुल्लाहका सैन्य कमान्डरहरू तथा सर्वसाधारण मानिसहरूक पनि मृत्यु भएको छ। लेबननी अधिकारीहरूका अनुसार विगत दुई सातामा इजरेलले गरेका हमलामा परी १,००० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने १० लाख जना विस्थापित भइसकेका छन्।
    बीबीसी

  • बाढी–पहिरो लक्षित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले के भने ?

    बाढी–पहिरो लक्षित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् । असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए ।

    ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’ भारी वर्षा हुनसक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरु बेलाजस्तै पूर्व तयारी गरेको उनले बताए । उनले भने, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

    बाढी पहिरो आएको बेला प्रधानमन्त्री ओली अमेरिका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका ओली सोमबार मात्र स्वदेश फर्किएका हुन् । आफू ९देश० बाहिर भएपनि यहाँको अवस्थाबारे जानकार रहेको भन्दै ओलीले भने, ‘मलाई पनि यसप्रकारको होला भन्ने अनुमान थिएन ।’

    विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो काम गरेको प्रधानमन्त्री ओलीले बताए । ‘केही गर्दै नगरेको होइन, सक्दो गरेको छ । केही कमजोरी भएको हुनसक्छ’, सबैतिर समस्या भएकाले एकातिर प्राथमिकता दिँदा अर्कोतिर ढिला भएको हुनसक्ने भन्दै उनले भने, ‘जानीजानी लापरबाही त कसरी भयो होला र १’

    ४ हजार बढी मानिसको उद्दार गरेको भन्दै उनले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुपर्ने बताए । साथै अहिले कमी कमजोर देखाउनेभन्दा राहत तथा पुनर्निर्माणमा जुट्ने बेला भएको प्रधानमन्त्री ओलीले बताए । ‘यो बेला भनेको जनताले भोगिरहेको पीडामा उद्धार, राहत सहयोग र पुनर्निर्माणका कामहरु गर्ने हो’, उनले भने, ‘यो साझा राष्ट्रिय पीडा हो । एक भएर साझा विपत्तिको सामना गर्नुपर्छ ।’

    प्रधानमन्त्री कार्यालयका अनुसार बाढी, पहिरोमा परेर २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएका छन् ।

    खानेपानी, सडक, ऊर्जा तथा सिँचाई र पशुपक्षी गरेर १७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । साथै कृषि बाली भएको क्षतिबारे एक महिनाभित्र लगत निकाल्ने मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

    खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए । साथै अवरुद्ध भएका राजमार्गहरुलाई तत्काल अस्थायी रुपमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको समेत उनले बताए ।

  • हिलाम्य पार्टी कार्यालय अवलोकनमा पुगे प्रधानमन्त्री

    हिलाम्य पार्टी कार्यालय अवलोकनमा पुगे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए । महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए ।

    गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो । तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज केन्द्रीय कार्यालय अवलोकन गर्न च्यासल पुगेका हुन् ।

  • अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट काटिने

    अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट काटिने

    काठमाडौं । दशैं लक्षित गरी काटिएका अग्रिम टिकट कायमै रहने भएका छन् । अब नयाँ अग्रिम टिकट भने बाटोको सुनिश्चितता हेरेर मात्र काट्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले धेरै यात्रुले टिकट लिइसकेका कारण अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता साथ गन्तव्य पुर्‍याउने सुनिश्चितता गर्ने निर्णय गरेको छ ।

    थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद् सम्बन्धी सूचना समेत आधार मानेर बाटोको सुनिश्चितता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीलाई बैठकले अनुरोध गरेको छ ।

    बैठकले काठमाडौंबाट छुट्ने यात्रुवाहक बसले सार्वजनिक यातायातबाट सेवा दिँदा अहिले जोखिमयुक्त रहेको काठमाडौं–नारायणगढसम्मको सडक खण्डको अवस्था मध्यनजर गर्दै काठमाडौंबाट सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारीसाधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ । सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय समेत भएको छ ।

    मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथमिक उपचार सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेरमात्र सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरिएको छ । वैकल्पिक मार्ग पहिचान गरी ठूला सवारी चल्ने र साना सवारी चल्ने प्राथिमकताका बाटो छनोट गरी सञ्चालन गर्ने र वैकल्पिक मार्गको जानकारी यातायात व्यवस्था विभागले सार्वजनिक गर्ने निर्णय समेत गरिएको छ ।

    अत्यधिक वर्षाका कारण रेडजोनमा परेका सडक खण्ड तथा सडकमा हेभी इक्विपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध समेत गरिएको छ । वर्षातका कारण अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले आफूसँग भएका हेभी उपकरण प्रयोग गरी बाटो खुलाउन सहयोग गर्न अनुरोध समेत बैठकले गरेको छ । देशभरिको विपद् सम्बन्धी र बाटोको अवस्थाबारे आवश्यक सूचना नेपाल प्रहरीले नियमित रूपमा फेसबुक पेजमा राख्ने निर्णय समेत भएको छ ।

  • दुर्गा प्रसाई एक लाख धरौटीमा छुटे

    दुर्गा प्रसाई एक लाख धरौटीमा छुटे

    काठमाडौं । दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०\ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले बताए ।

    यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो। अदालतको आदेशपछि प्रसाई छूटेका छन् ।

  • बाढी-पहिरोमा फसेका १६३ जना पर्यटकको उद्धार

    बाढी-पहिरोमा फसेका १६३ जना पर्यटकको उद्धार

    काठमाडौं । ११ र १२ असोजमा देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।

    सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्व गरी पर्यटकहरुको उद्धार गरिरहेको बताएको छ । पर्यटक प्रहरी र सेल आफ्नै हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको बताइएको छ ।

    साथै वेभसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था र मौसमबारे जानकारी समिेत दिन थालिएको छ । खोजिका त्रलममा बाढी पहिरोमा हराइरहेका भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको छ । रामेछापबाट एक नेपाली र एक भारतीय पर्यटकको समेत उद्धार गरिएको छ ।

  • दाउन्ने सडक आज रातभर बन्द

    दाउन्ने सडक आज रातभर बन्द

    काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ । बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ । साथै करिब ४ सय मिटर सडक भास्सिएको छ ।

    सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ । सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो । सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ । बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।

  • विपत् कोषमा सरकारले राख्यो १ अर्ब

    विपत् कोषमा सरकारले राख्यो १ अर्ब

    काठमाडौं । सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनबमोजिमको विपत् व्यवस्थापन कोषमा बाढी र पहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयबाट एक अर्ब रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी र पहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको बताए । सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।

    सरकारले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


    सरकारले विपत्बाट भएको क्षतिको सम्बन्धित मन्त्रालयहरूले आकलन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । विपत् जोखिम न्यूनीकरण ऐन २०७४ को दफा २२ बमोजिम विपत् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्यको एक महिना बराबरको पारिश्रमिक दिने निर्णय भएको छ ।


    सरकारले खोज, उद्धार, तत्काल राहत र घाइतेको निःशुल्क उपचारमा उच्च प्राथमिकता दिने निर्णय गरेको छ । साथै बाढीपहिरोबाट प्रभावित एवं विस्थापित परिवारलाई तत्काल अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने निर्णय भएको छ ।

  • बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो

    बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो

    काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए।

    बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

  • बुधबारबाट पूर्वी नेपालमा वर्षाको सम्भावना

    बुधबारबाट पूर्वी नेपालमा वर्षाको सम्भावना

    काठमाडौं । बुधबारबाट दुई दिन लगातार झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने भएको छ । महाशाखाका अनुसार वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ । असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । बुधबार दिउँसो कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुधबार राति भने कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    त्यसैले महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । त्यसैले सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।