Category: समाचार

  • कैलालीमा दुई मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    कैलालीमा दुई मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए ।

    उनकाअनुसार चौधरी से६प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका-७ का २२ वर्षीया दिपक बोहोरा घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

  • आजबाट तीन दिन राष्ट्रिय शोक मनाइदै

    आजबाट तीन दिन राष्ट्रिय शोक मनाइदै

    काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।

    प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।

  • अग्रिम टिकट लिनेको चाप कम, दुई दिनमा ३० हजारले मात्र काटे

    अग्रिम टिकट लिनेको चाप कम, दुई दिनमा ३० हजारले मात्र काटे

    काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।


    नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए । सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

    पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासंघ लागिपरेको बताए ।

    वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।

  • पृथ्वी राजमार्गमा पहिरो, सडक रातभर अवरुद्ध

    पृथ्वी राजमार्गमा पहिरो, सडक रातभर अवरुद्ध

    काठमाडौं । धादिङस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो जाँदा सडक अवरूद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका २ परेवा भीरमा सुख्खा पहिरो खसेको हो। पहिरो खस्दा दुई तर्फी सडक अवरूद्ध बनेको हो। सडक खुलाउन सम्पूर्ण सुरक्षा निकाय खटिएको कार्यालयले जनाएको छ। यस्तै राति नै सडक पन्छ्याउन नसकिने अवस्था रहेको हुँदा सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न पनि कार्यालयले अनुरोध गरेको छ।

  • इन्धनको मूल्य घट्यो

    इन्धनको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

    त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।

  • आजैबाट भयो देशभर रुट परमिट खुला

    आजैबाट भयो देशभर रुट परमिट खुला

    काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

    तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय भएको प्रवक्ता दत्तले जानकारी दिए ।

    अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको उनको भनाइ छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या ह्वात्तै बढ्ने गर्छ ।

  • ७१३ जनाको भयो हेलिउद्धार

    ७१३ जनाको भयो हेलिउद्धार

    काठमाडौं । नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौंबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । ‘

    वीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन् स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्धार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याइएको छ।’ प्रवक्ता तिवारीले भने, ‘निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ।’

    गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । ‘हवाइ उद्धारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ।’ प्रवक्ता तिवारीले भने, ‘आवश्यकता अनुसार भोलीबाट पनि हवाइ उद्धार हुन्छ।’ सेनाको टोलीले उद्धारसंगै हवाइ साधन मार्फत राहत सामाग्री समेत प्रभावित क्षेत्रमा पुर्‍याउँदै आएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको कार्य समेत गृह मन्त्रालय गरिरहेको छ।

    विपद्का घटनामा सुरक्षाकर्मीहरुले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्धार गरेको छ । सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरु तीव्र रुपमा सुचारु भइरहेको छ भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।

  • स्वदेश फर्किए प्रधानमन्त्री, विमानस्थलमा के भने ?

    स्वदेश फर्किए प्रधानमन्त्री, विमानस्थलमा के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । १० दिने अमेरिका भ्रमण सकेर सोमबार प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका गएका थिए । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’

    उनले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको भन्दै असन्तोष जनाए । प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं। सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’ ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन् ।

    ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए । वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरिएको छ । विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्केका हुन् ।

  • नेपालबाहिर कु्न देशमा कति बजे छ दशैंको टिका लाउने उत्तम साइत ?

    नेपालबाहिर कु्न देशमा कति बजे छ दशैंको टिका लाउने उत्तम साइत ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ ।

    देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१ बजे, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९ बजे, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५ बजे, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५ बजे, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५ बजे, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ।

    यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए। टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५ बजे, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१ बजे, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७ बजे, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५ बजे, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए।

    लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०्ः२४ बजे, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१ बजे, पेरिस, फ्रान्सका लागि १२ बजे अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इसराइलका लागि १२ अक्टोबर बिहान ०९ः१६ बजे, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए।

    वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उनले बताए।

  • टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

    टी-२० आइमा नेपालले ओमानलाई सजिलै हरायो

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।


    त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४८ रनको अविजित इनिङ खेले । दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

    ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १–१ विकेट लिए । नेपाल त्रिकोणात्मक टी२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।

  • बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या १८८ माथि

    बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या १८८ माथि

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।

    बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् । ३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

  • अमेरिका भ्रमण पुरा गरी प्रधानमन्त्री स्वदेश फर्किदैं

    अमेरिका भ्रमण पुरा गरी प्रधानमन्त्री स्वदेश फर्किदैं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए । त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले साइडलाइन वार्तासमेत गरेका थिए । मुलुकमा बाढी पहिरोले आक्रान्त पार्दा मुलुक बाहिर हुँदा भ्रमण नछोट्याएको भन्दै प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ ।

  • चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए

    चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए

    काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी फेरेको छ । धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए । उनीहरुलाई गृहमन्त्रालयमा तानिएको छ । मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।


    मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको छ । नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । यसैगरी धादिङ-काठमाडौं सडकखण्ड र काभ्रेतर्फ बीपी राजमार्ग खण्डमा क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

  • प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

    प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

    काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ । अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् ।

    बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

    राजमार्गहरुमा अलपत्र यात्रुहरुलाई जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने पनि निर्णय भएको छ । राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ ।

    ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आर्पूति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने पनि बैठकको निर्णय छ ।

    साथै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ । बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरि पुनर्निर्माणका लागि आवश्यक प्रकृया अघि बढाउने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ ।

    बैठकले विपतको मसयमा सबै दल, तीनै तहको सरकार र निजी क्षेत्रको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएको छ । साथै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, संघसंस्था र आम नागरिकलाई अपिल गर्ने निर्णय पनि सर्बदलीय बैठकले गरेको छ ।

  • सर्वदलीय बैठकमा कसले के दिए सुझाव ?

    सर्वदलीय बैठकमा कसले के दिए सुझाव ?

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले पुनर्निर्माणका हुने विगतको ढिलाइबाट सिकेर उद्दार, राहत र पुर्ननिर्माणमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । निरन्तरको वर्षाले पुर्‍याएको क्षतिका बारेमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।

    राहत र उद्दारका लागि पार्टी कार्यकर्ता परिचालन गर्दा ‘वान डोर’ विधि अपनाउन सरकारलाई सुझाव दिएका छन्। राजनीतिक दलले आफ्ना कार्यकर्ता परिचालन गर्नुभन्दा ‘वान डोर’ माध्यमले सरकारले खटाउन उपयुक्त हुने धारणा कांग्रेस महामन्त्री गगन थापाले राखेका थिए ।

    बैठकमा पुनर्निर्माणका कार्यहरु अत्यन्तै सुस्त गतिमा हुने गरेको प्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए । जाजरकोट भूकम्प गएको एक वर्ष पुग्न लागेपनि घर बनाउन दिने भनिएको रकम अझै पूरा नगरेको प्रति सरकारको ध्यानाकर्षण गराइएका थियो। ‘राज्य सञ्चालन गर्दा हामी नियन्त्रणमुखी छौं । जटिल कार्यविधि बनाउँदा नागरिकहरुले दोस्रो किस्ता पाउनै सकेनन्,’ महामन्त्री थापाले बैठकमा भने,‘गल्ति सच्याउने बेला छ । तुरुन्त कार्यविधि मन्त्रिपरिषद्बाट सच्याइदिनुस् ।’

    बैठकमा विपत आउने पूर्व जानकारी हुँदा समेत तयारी नगरेकोप्रति नेताहरुले विपक्षी नेताहरुले आपत्ति जनाएका थिए । सरकारले रात्रीबस रोक्ने निर्णय उपयुक्त समयमा गरेपनि गाडीहरु ओहोरदोहोर गरिरहेको अवस्था नेताहरुले सुनाएका थिए ।

    यातायातका साधन चल्न नदिने सरकारले ठिक निर्णय गरेपनि गाडीहरु रोक्न नसक्नुमा सरकारी कमजोरी भएको नेताहरुले बताएका थिए । ‘कमजोरीलाई गम्भिरतापूर्वक सरकारले लिनुपर्दछ । यसको छानविन गरोस्,’ बैठकमा सहभागी प्रतिपक्ष दलका एक नेताले भने,‘कार्यान्वयन किन भएन भन्ने हाम्रो चासो थियो ।’

    गृहमन्त्री रमेश लेखकले नक्खु घटना बारे नेताहरुलाई जानकारी गराएका थिए । सूचना पाउन साथ उद्दारमा सुरक्षाकर्मीहरु सक्रिय रहेको स्पष्टीकरण दिएका थिए । बचाउनका लागि सुरक्षाकर्मीहरु लाग्दा लाग्दैपनि उद्दार गर्न नसकिएको जानकारी गराएका थिए ।

    ‘उद्दार गर्न जाँदा सुरक्षाकर्मीको डुंगा त्यही पल्टेको हो । जनपद प्रहरीले डोरी फाल्ने काम गरिरहेको थियो,’ लेखकले बैठकमा भने,‘आर्मीको हेलिकोप्टर भिजिबिलिटी नभएर उड्न सकेन।’ सरकारले ३÷४ घण्टासम्म वास्तै गरेन भनी आएका धारणामा सत्यता नभएको लेखकले बताएका थिए ।

    बैठकमा सहभागी माओवादीका नेता शक्ति बस्नेतले सरकारको प्रभावकारीता सुस्त देखिएको बताएका थिए । ‘सरकारको गति कम भयो । जाजरकोटको भूकम्प बेलामा धेरै छिटो काम गरिसकेका थियौं,’ बस्नेतले बैठकमा भने । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बैठकमा सहभागी दलका उपनेता विराजभक्त श्रेष्ठले यो बेला धेरै प्रतिक्रिया व्यक्त नगर्ने बताएका थिए ।

    ‘विपतको बेलामा अरु पार्टीहरु गालि गर्दैनौं । सरकारलाई पनि गालि गर्दैनौं । हामी सँगसँगै छौं,’ श्रेष्ठले बैठकमा भने,‘सरकारको उपस्थिति भने देखिएन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैठकमा सहभागीले पीडितको राहत, उद्दारका काम हेर्ने धारणा राखेका थिए । अहिले आलोचना नगर्ने राप्रपाका नेताको भनाई थियो । राप्रपाले हवाइभाडा महँगो भएको विषय उठान गरेको थियो।

  • बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो

    बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो

    काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ। शुक्रबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्‍यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ।

    उद्धारको क्रममा १०१ जना घाइते समेत छन्। विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ। त्यसैगरी मुख्य राजमार्गहरू पनि अझै अवरूद्ध कै अवस्थामा छन्। काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध छ। त्यहाँबाट मात्रै दुई दिनमा ३५ जनाको शव फेला परेको हो। त्यहाँ चार वटा गाडी पहिरोमा पुरिएका हुन्।

  • धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु

    धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु

    काठमाडौं । धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो। धुनीबेशी नगरपालिका(९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो। हालसम्म ३५ जनाको शव फेला परेको छ।

    पुरिएका चारै वटा गाडीको नम्बर खुलेको सहप्रवक्ता थापाले जानकारी दिए। उनका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप पहिरोमा पुरिएको थियो। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो।

    त्यस्तै गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको बसमा क्षति पुगेको थियो। विंगर जिपमा सवार ८ जना पुरूष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए।

    पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ। उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन वटा जेसिबीको सहायताले पहिरो पन्छाएर खोजी तथा उद्धार कार्य गरिरहेको छ।

  • वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने

    वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने

    काठमाडौं । वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ ।
    आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ ।

    वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् । आइतबार वायुसेवा कम्पनीले सबै टिकट माथिल्लो दरमा बिक्रीमा राखेपछि आलोचना भएको थियो । वायुसेवा कम्पनीले विषय परिस्थितिमा हवाई इन्धनमा सरकारले छुट दिने हो भने कम मूल्यमा यात्रुलाई उडान सेवा दिन सकिने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

  • नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने

    नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने

    काठमाडौं । नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ । अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो ।

    सोही अनुसार यात्रुसँग थप शुल्क नदिने निर्णय भएको नेवानिका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार सो सुविधा ११ अक्टोबर (२६ असोज) सम्म उपयोग गरिसक्नु पर्ने समेत निर्णय भएको छ ।

  • बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति

    बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति

    काठमाडौं । ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले तामाकोसी जलविद्युत् आयोजना बन्द भएको छ ।

    पछिल्लो तीन दिनयता बन्द रहेको तामाकोसी लामो समय बन्द गर्नुपरे लोड व्यवस्थापनमै समस्या हुने देखिएको उनले बताए । उनका अनुसार काबेली करिडोरमा दुई टावरमा क्षति भएको छ । इलाम र पाँचथर फिदिममा बिजुली सेवा अवरुद्ध छ । त्यहाँ सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।

    उता, तामाकोसी नदीले खिम्ती लामोसाँघु टावर बगाएका कारण २ सय मेगावाट ऊर्जामा समेत अवरोध भएको छ । त्यहाँबाट बिजुली काठमाडौं ल्याउने गरिएको छ । तामाकोसीले थप ८ सय मेगावाट बिजुली प्रसारण गर्ने टावर जोखिममा रहेको समेत ऊर्जा मन्त्रालयले जनाएको छ । १ हजार १० मेगावाट विद्युत् जडित क्षमताका १५ निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको छ ।

  • सरकारले सर्वदलीय बैठक बोलाएपछि प्रचण्डले बोलाएको बैठक स्थगित

    सरकारले सर्वदलीय बैठक बोलाएपछि प्रचण्डले बोलाएको बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै आज बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सर्वदलीय बैठक बोलाएका थिए ।

    ‘नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन् । आज दिउँसो १ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाएका छन् ।

  • झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला

    झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला

    काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । बसको केही भाग मात्र देखिएको र बसको नम्बर नखुलेको प्रहरीले जनाएको छ । डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम जारी छ ।

    गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएकोछ । यो पहिरोका कारण काठमाडौं भित्रने सवारी साधन रोकिएका छन् ।

  • कस्तो रहनेछ अबको मौसम ?

    कस्तो रहनेछ अबको मौसम ?

    काठमाडौं आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको हो । आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ ।

    तर, आगामी २४ घण्टाका लागि कोशी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • संकटबारे छलफल गर्न प्रचण्डले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री भने अमेरिका सयरमा

    संकटबारे छलफल गर्न प्रचण्डले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री भने अमेरिका सयरमा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफलका लागि अध्यक्ष दाहालले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।

    कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समेत सर्वदलीय बैठक आह्वान गरेका हुन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । उता, प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिका शयरमा छन् । सामान्यतया मुलुकमा संकट आउँदा कार्यकारी प्रमुखहरुले आफ्नो भ्रमण कटौती गरी स्वदेश फर्कने प्रचलन हुन्छ ।

  • बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

    बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् ।

    कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।

  • जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने

    जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने

    प्रतिकुल मौसकका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ । यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

    शनिबार पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्ने र त्यसका लागि पर्यटन विभाग र पर्यटन बोर्डबीच समन्वय गर्ने निर्णय भएको बैठकका एक सहभागीले जानकारी दिए ।

    हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित र सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ । वायुसेवा कम्पनीका हेलिकप्टर र र्‍याफ्टिङ एशोसिएशनका जनशक्ति र उपकरण अधिकतम परिचालन गर्ने निर्णय भएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

    नेपालका सबै विमानस्थल सञ्चालनयोग्य अवस्थामा रहेका कारण मौसमको अनुकुलता हुने वित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडान अधिकतम सञ्चालन गर्ने निर्णय समेत भएको छ । होटेल संघ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई नियमित र सहुलियत शूल्कमा सेवा दिने निर्णय समेत सरोकारवालाको बैठकले गरेको छ ।

  • नेपाल बाढी-पहिरो : मृत्यु हुनेको संख्या १ सय नाघ्यो

    नेपाल बाढी-पहिरो : मृत्यु हुनेको संख्या १ सय नाघ्यो

    काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।

    दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।

  • काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

    काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

    काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । सडक विभागका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् ।

    अहिलेसम्म २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको छ । यसमध्ये पनि आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ ।

    सडक विभागका अनुसार शनिबार वीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाका विभिन्न स्थान र सिन्धुलीमा सडक अवरुद्ध छ । कान्ति राजमार्गको मकवानपुर खण्ड, त्रिभुवन राजपथको धादिङ र मकवानपुर खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको छ ।

    पुष्पलाल रामार्गको ओखलढुंगा, सिन्धुली, खोटाङसहितका जिल्लामा सडक अवरुद्ध रहेको छ । राप्ती राजमार्गको सल्लान, सिद्धार्थ राजमार्थको पाल्पा, तानसेन–रिडी–कोरला राजमार्गको मुस्ताङ, पृथ्वी राजमार्गको धादिङ र तनहुँका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको छ ।

    सालझण्डी–ढोरपाटन खण्डको अर्घाखाँची र स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड समेत अवरुद्ध रहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस सडक खण्डमा मात्र विभिन्न ६ स्थानमा पहिरो गएको छ । यी पहिरोग्रस्त क्षेत्रमा पैदल यात्रु समेत पास हुन नसक्ने अवस्था छ ।

    महानिर्देशक पोखरेलका अनुसार शनिबार साँझसम्म देशभर करीव आधा दर्जन सडक पुलमा क्षति पुगेको छ । मेची राजमार्गको हेवाखोलामा गत वर्ष मात्र बनाइएको बेली व्रिज आज पुनः भत्किएको छ । इलामको सन्दकपुरस्थित राता खोलामा निर्माणाधिन पुल भत्किएको छ ।

    सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमाथिको पुलमा क्षति पुगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका पुलहरुमा समेत क्षति पुगेको महानिर्देशक पोखरेलले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगेको छ ।

    १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज समेत बगेको छ । तातोपानी नाका जाने लिपिङको पुल समेत बगेको छ । कान्ति लोकपथमा पर्ने बागमति नदीमाथिको पुल समेत बाढीले बगाएको छ ।

  • काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति

    काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति

    काठमाडौं । काठमाडौं उपत्यकामा इतिहासकै धेरै वर्षा भएका छ । यसले भयानक धनजनको क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ । २१ जना हराइरहेका छन् । बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्‍याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा भएको वर्षाले रेकर्ड तोडेको छ ।


    सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको थियो । काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।
    बंगालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । यो नेपालको नजिक थियो ।

    यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले ७ असोजको दिन साँझ ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १० गतेदेखि १२ गतेसम्म मनसुन सक्रिय हुन लागेको भन्दै २७ जिल्लामा रेड अलर्ट जारी गरेको थियो ।

  • उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी

    उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी

    काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।