Category: समाचार

  • २४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित

    २४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित

    काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् ।

    सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।

    नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ । ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।

  • बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने

    बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने

    काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

    शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकस्मिक बैठकले हाललाई विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार विद्यालय भवनमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालय ३ दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको हो ।

  • काठमाडौं नजिकै झ्याप्ले खोला पहिरोमा पुरिए बस-ट्रक, कम्तीमा १४ जनाको शव फेला

    काठमाडौं नजिकै झ्याप्ले खोला पहिरोमा पुरिए बस-ट्रक, कम्तीमा १४ जनाको शव फेला

    काठमाडौं । काठमाडौं । काठमाडौं भित्रिने नागढुङ्गा नौबिसे राजमार्गमा बस, ट्रक तथा हायसलाई पहिरोले पुरेको छ । प्रहरीका अनुसार अहिले उद्दारलाइ तीव्रता दिएको छ । शनिबार साझसम्म १४ वटा शव निकालिएको छ ।

    धादिङको झ्याप्ले खोला भन्ने स्थानमा पहिरोले गाडी पुरेको हो । ३ वटा गाडीबाट ८ पुरुष, ५ महिला र १ बच्चा गरि १४ जनाको शब फेला परेको प्रहरीले बताएको छ ।

  • बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

    बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

    काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित देशभर व्यापक मानवीय क्षति भएको छ । काठमाडौंका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ ।
    काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताएका छन् । १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् । यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।
    बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा ११ र १२ असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ । विपद्का घटनाबाट २५ जना बेपत्ता र ३१ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेका १० जना रहेका छन् ।बाढीपहिरोबाट काभ्रेमै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।

    सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ६ जनाको मृत्यु ४ जना बेपत्ता र १६ जना घाइते, दोलखामा पहिरो खसेर ३ जनाको मृत्यु १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार धादिङ र सिन्धुलीमा १–१ जनाको मृत्यु र १–१ जना घाइते भएको छ । धादिङमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मकवानपुरमा ७ जना बेपत्ता भएका छन् । शनिबार मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, स्थितबत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका बालक पहिरोले पुरिएको विवरणबाहेक प्रदेशका १० जिल्लामा २१ जनाको मृत्यु भएको हो ।

    इन्द्रसरोबरमा पहिरोले पुरिएका ६ जनामध्ये ३ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनीहरुको सनाखत हुन बाँकी छ । पहिरोमो पुरिएर बेपत्ता भएकाका अन्य ३ जनाको अवस्था अझै अज्ञात छ । चितवन, नुवाकोट, रसुवा र रामेछापमा विपदबाट हालसम्म मानवीय क्षति नभएको डीएसपी बस्नेतले जानकारी दिए । विपदका घटनाबाट १५ वटा पशुचौपायाको मृत्यु भएको प्रहरी तथ्यांक छ । ६६ वटा घरमा पूर्ण र २ वटा घरमा आंशिक क्षति पुगेको डीएसपी बस्नेतले जानकारी दिए । १९२ परिवार प्रभावित क्षेत्रबाट स्थानान्तरण भएको उनले बताए । २ वटा पक्की पुल र एउटा बेलिब्रिजमा क्षति पुगेको छ । ५९ वटा घर तथा कार्यालय उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । विपद्तका घटनामा उद्दारका लागि ४ हजार ११९ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

  • वनस्थली क्षेत्रमा बाइकसँगै चालक बगेर वेपत्ता

    वनस्थली क्षेत्रमा बाइकसँगै चालक बगेर वेपत्ता

    काठमाडौं । वनस्थली क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बाप्र– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् । उनको खोजी भइरहेको छ । बुधबार रातिदेखि परेको पानीका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।

  • कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

    कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

    काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको तहमा पानी आइसकेको भट्टले बताए ।

    ‘प्रति तीनघण्टमा एक मिटरसम्म पानीको सतह बढिरहेको छ, जलाधार क्षेत्रमा भारी वर्षा भएकाले बाढी आएर कुलेखानी भरिने चरणमा पुगेको हो,’ उनले भने,‘जलाशय भरिएपछि माथिबाटै ओभरफ्लो भएर पानी जान्छ, तर आकस्मिक अवस्था आए बाँधको गेट पनि खोल्नुपर्ने हुनसक्छ ।’

    कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका सहसचिव बसन्त अधिकारीका अनुसार विगतमा पनि कुलेखानीको बाँध खोल्नु परेको र सतर्कता नअपाउँदा जनधनको क्षति भएकाले अहिले पनि तल्ला तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको बताउँछन् ।

    कुलेखानीको पानी कुलेखानी र सिस्मेरी खोला हुँदै बाग्मती खोला भएर बग्छ । त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बाग्मती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

    केही घण्टापछि कुलेखानी भरिएर खोलामा बढी आउनसक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको सहसचिव अधिकारीले बताए । उनका अनुसार सतर्कताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ सुरु गरेको छ । कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । हिउँदमा रित्ताइने यो जलासय वर्षामा भरेर राख्ने गरिन्छ ।

  • नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक

    नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक

    काठमाडौं । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।
    जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

    समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

    नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ । गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।

  • सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीमा समातिए

    सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीमा समातिए

    काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालिएको छ ।

    नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

    बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो ।

  • झापामा अधिक वर्षा, हाइ अलर्ट जारी

    झापामा अधिक वर्षा, हाइ अलर्ट जारी

    काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बास्तालाले बताए । उनका अनुसार स्थानीयलाई उद्धार गर्नुपर्ने भएमा गाउँ–गाउँमा अस्थायी आश्रयस्थल समेत पहिचान गरी तयारी अवस्थामा राखिएको छ ।
    नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो समाचार तयार पार्दासम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ । सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थलमा भएको छ । यो समाचार तयार पार्दासम्म चन्द्रगढी विमानस्थलमा झण्डै २९७.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    यसैगरी गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ । झापाको छिमेकी जिल्ला इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ । वर्षा क्रमशः पश्चिमतिर पनि बढ्दै गएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

  • कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

    कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

    असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

    यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

    यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

    विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए ।

  • काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी

    काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी

    काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ ।

    त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लगातार झरी पर्ने सम्भावना छ । भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने देखिन्छ । आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना छ ।

    गत मंगलबारदेखि सुरु भएको वर्षा देशभर फैलिँदै गएको छ । दुई दिनअघि नै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाबाट ५६ जिल्लालाई उच्च जोखिममा पर्ने आँकलन सार्वजनिक गरेको थियो । केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसबाट जोगिन देशभर नै उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    त्यसैको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि हिमाली र पहाडी जिल्लामा रात्रिबस नचलाउन अनुरोध गरेको छ । साथै तराईका होचा भूभागमा डुबानको जोखिम पनि भएकाले सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि भनिएको छ ।

    आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको झाले बताए । गत २४ घण्टाको वर्षाको विवरण हेर्दा पूर्वी र पश्चिम तराईमा धेरै वर्षा भएको देखिन्छ भने बाँकी भागमा मध्यम र हल्का वर्षा भएको छ ।

    गत २४ घण्टामा झापाको केचना र मोरङको विराटनगर एयरपोर्टमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केचनामा १७५ मिलिमिटर र विराटनगर एयरपोर्टमा १५१ मिलिमिटर वर्षा रेकर्ड भएको छ । झापाको गौरादह, उदयपुरको सुन्दरपुर र सप्तरीको रुपना बजारमा पनि अत्यधिक वर्षा भएको छ । यसैगरी झापाकै चन्द्रगढी एयरपोर्ट, इलामको कन्काईमाई चुली, कन्याम टि स्टेट, सप्तरीको कल्याणपुर, सिरहा र कैलालीको अत्तरियामा एकसय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।

  • बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु

    बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु

    काठमाडौं । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए । राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दु चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् ।

    जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ । बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सञ्चार माध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घण्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो ।

    भारतमा प्रमुख धार्मिक पर्वहरूमा पूजा स्थलहरूमा घातक घटना हुनु सामान्य हो । अधिकांश ठुला चाडपर्वमा लाखौँ भक्तजन तीर्थयात्रामा निस्कन्छन् । गत जुलाईमा प्रदेशमा भिडभाड भएको एउटा हिन्दु समारोहमा कम्तीमा एक सय १६ जनाको कुल्चिएर मृत्यु भएको थियो । यो एक दशकभन्दा बढी समयमा सबैभन्दा ठुलो दुर्घटना थियो ।

    भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ । मनसुन कृषिका लागि र लाखौँ किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ । तथापि मनसुनी वर्षाले प्रत्येक वर्ष पहिरो र बाढीका रूपमा व्यापक विनाश निम्त्याउँछ । यसले दक्षिण एसियाभर सयौँ मानिसको ज्यान लिने गरेको छ ।

    गत जुलाईमा दक्षिण भारतको केरला राज्यमा मुसलधारे मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानहरू चट्टान र माटोले पुरिँदा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरू बढेका छन् र भारतमा बाँध निर्माण, वन फँडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेका छन् । बिसौँ शताब्दीको मध्यदेखि मनसुनको परिवर्तनबारे पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सन् २०२१ मा गरेको अध्ययनले चरम मौसमी घटनाहरू बलियो र अनियमित हुँदै गएको बताएको छ ।

  • सप्तकोशीमा बस खस्यो, यात्रुको सकुशल उद्धार

    सप्तकोशीमा बस खस्यो, यात्रुको सकुशल उद्धार

    काठमाडौं । सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेजबाट यात्रु बस खसेको छ। पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको हो।
    विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४–३५ नम्बर ढोकामा खसेको हो।

    बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बस भने कोशी नदीमै छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

  • मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि

    मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको देखिएको छ । अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत देखिन्छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशतमात्र छ । अघिल्लो वर्ष साउनमा यी समूहको मुद्रास्फीति क्रमशः ८.९० र ६.६२ प्रतिशत थियो ।

    खाद्य तथा पेय पदार्थभित्र पनि तरकारीको भाउ सबैभन्दा धेरै बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता सूचकांक १९.०७ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडीको १२.०९, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ३.३६ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको मूल्य भने २.७५ प्रतिशतले मात्र बढेको देखिन्छ ।

    गैरखाद्य र सेवा समूह अन्तर्गत सबैभन्दा धेरै विविध वस्तु तथा सेवा उपसमूहको मूल्य धेरै ७.९४ प्रतिशतले बढेको छ । मदिरा ५.३८, कपडा तथा जुत्ताचप्पल ४.४८ र सुर्तीजन्य वस्तुको ३.५२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशत र सहरी क्षेत्रको ४.०३ प्रतिशतले बढेको छ । प्रदेशगत हेर्दा कोसीको ४.६१, मधेश ४.१७, बागमती ३.४९, गण्डकी ३.९०, लुम्बिनी ३.८१, कर्णाली ३.४६ र सुदूरपश्चिमको ६.६९ प्रतिशतले बढेको छ ।

    काठमाडौं उपत्यकामा ३.६२, तराई ४.४९, पहाड ३.६७ र हिमालमा ४.५३ प्रतिशत महँगी बढेको छ । राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष अब २०८०–८१ कायम गरिएको छ । यसअघि आधार वर्ष २०७१७२ थियो ।

  • विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक

    विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक

    काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो । एक महिनामा २।५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो ।

    आव २०८१–८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ । कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा यसको हिस्सा ३०.३ प्रतिशत छ ।

  • सत्ता गठबन्धन छिट्टै भत्किन्छ : प्रचण्ड

    सत्ता गठबन्धन छिट्टै भत्किन्छ : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने बताएका छन् । पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बिहीबार सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा जान आफूहरुले हतार नगरेको बताए । तर यो गठबन्धन धेरै नटिक्ने दाबी गरे । ‘तर उनीहरु मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्रै त्यो अप्राकृतिक गठबन्धन कुहिएर झर्छ’, उनले भने, ‘त्यो बेला के गर्ने भन्ने हामीले सोच्नुपर्ने स्थिति छ ।’

  • एक महिनामै भित्रियो झण्डै १३७ अर्ब रेमिट्यान्स

    एक महिनामै भित्रियो झण्डै १३७ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो । अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ ।

    अघिल्लो वर्ष ८७ करोड ९८ लाख डलर बराबर रेमिट्यान्स आएको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या (संस्थागत र व्यक्तिगत) नयाँमा ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ छ । यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृतिमा विदेश जानेको संख्या बढेको देखिन्छ ।

  • दुई दिन रात्री बस नचलाउन आह्वान

    दुई दिन रात्री बस नचलाउन आह्वान

    सरकारले दुई दिन रात्री बस नचलाउन आह्वान गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि नाइट बस नचलाउन भनेको हो । जल तथा मौसम बिज्ञान विभागका अनुसार आज बिहिवार बाट आइतबार सम्म देशैभर भारी वर्षा हुदैछ । सोही अनुसार ५० भन्दा धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

    हिमाली र पहाडी भेगका राजमार्गमा रातमा सवारी चलाउदा जोजिम हुने भन्दै सरकारले सचेत गराएको छ । सरकारले सकेसम्म तत्काल धान नकाट्न भनेको छ । काटेको धान भुइँतलामा नराख्न भनेको छ ।

  • सम्पर्कविहिन २१ प्रहरीलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम

    सम्पर्कविहिन २१ प्रहरीलाई सम्पर्कमा आउन ७ दिने अल्टिमेटम

    काठमाडौं । नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो ।

    उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ । गैरहाजिर भएकाहरुमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवान छन् ।

  • यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ बिचौलिया पक्राउ

    यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ बिचौलिया पक्राउ

    काठमाडौं । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरेको हो । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

  • विमानस्थल आसपास चङ्गा उडाउँदा जहाजमा असर

    विमानस्थल आसपास चङ्गा उडाउँदा जहाजमा असर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो ।

    दशैं नजिकिएसँगै चङ्गा उडाउने गरिएको छ । त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने अधिकारीहरुको भनाइ छ । त्यसैले सूचनाको पालना गर्दै हवाई जहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो । यदि कसैले यो सूचनाको अवज्ञा गरेरगराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

  • प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

    प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।
    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए । समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताए ।

    प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए । ‘हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ’, उनले भने, ‘आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।’

    यसैबीच प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गरे । उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उनले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्ने माग गरे । प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिएका छन् ।

  • सर्लाहीमा गोली चल्यो, एक महिलाको मृत्यु

    सर्लाहीमा गोली चल्यो, एक महिलाको मृत्यु

    काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चलेको छ । घटनामा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । बिहीबार बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई वायाँ हातमा गोली लागेको छ ।

    घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । डिएसपी श्रेष्ठका अनुसार चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसपछि उनी घरबाट हिँडेका थिए । गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाए भन्नेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु थप पुष्ट्याइँको प्रयासमा छन् । त्यसैले जिल्ला प्रहरी कार्यालयले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको जनाएको छ ।

  • श्रीलंकाका नयाँ राष्ट्रपतिले गरे संसद भंग

    श्रीलंकाका नयाँ राष्ट्रपतिले गरे संसद भंग

    काठमाडौं । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए ।

    राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा. हरिनी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथ मन्त्री बनेका छन् । लगत्तै मंगलबार मध्यरातबाट लागू हुने गरी उनले संसद भंग गरेका हुन् । श्रीलंकाको संविधानले राष्ट्रपतिलाई त्यो अधिकार दिएको छ । साथै १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ । ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ । निर्वाचनबाट आउने नयाँ संसदको पहिलो बैठक २१ नोभेम्बर २०२४ मा बस्ने तय भएको छ ।

  • एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

    एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

    काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्ने क्रममा एडीबीले चालु आर्थिक बर्ष २०८१\८२ मा नेपालको अर्थतन्त्र ४।९ प्रतिशतले विस्तार हुने बताएको हो । साथै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान समेत गरेको छ ।

    यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । ‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन जीडीपी बढ्नेछ’नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।

    एसियन डेभलपमेन्ट आउटलुक सेप्टेम्बर २०२४ का अनुसार, सामान्य मनसुनसँगै समयमै धान रोपाई सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकुलतामा निर्भर रहनेछ । विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ। पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ।

    लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ। कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१्–८२ मा मुद्रा स्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने देखिन्छ । सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फितिमा सामान्य गिरावट आएसंगै मुद्रास्फिति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको छ ।

    बाह्य जोखिमहरू भने सापेक्ष रूपमा नियन्त्रणमा रहने बताइएकोछ । त्यस्तै व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक विप्रेपण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०\८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ । यद्यपि, आर्थिक वर्ष २०८१्–८२ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्छ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो ।

    मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्छ । विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ । प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूमा रहेका छन् ।

    एडिवी समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत् चरम गरिवी निवारणको पहललाई जारी राख्न प्रतिवद्ध रहेको बताएके छ । सन् १९६६ मा स्थापना भएको एडिवीमा ६८ सदस्यहरूको स्वामित्व रहेको छ र ती मध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।
    एडीबी नेपालले समेत बुधबार नेपाल सम्बन्धी विवरणहरु सार्वजनिक गरेको छ ।

    सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान एडीबीले गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । अप्रिलको प्रक्षेपणमा ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो । सन् २०२३ मा २ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको थियो ।

  • साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

    साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

    काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो । जितपछि नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

    नेपालले अब सेमिफाइनलमा समूह्य ए को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भारतले बंगलादेश र माल्दिभ्स दुवैलाई पराजित गरेको थियो । खेलमा अग्रता भने भुटानले लिएको थियो । तर भुटानले अग्रता कायम राख्न सकेन भने दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ४३औं मिनेटमा छिमी तोब्देन दोर्जीले नेपाली खेलाडीको गल्तीमा गोल गर्दै भुटानलाई पहिले अग्रता दिलाएका थिए । नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेको गल्तीमा नेपालले गोल खाएको थियो ।

    गोलकिपर भोटेले कलेक्ट गर्न नसकेको बलमा छिमीले सहजै गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल गर्‍यो । ५५औं मिनेटमा कृष्ण बहादुर आलेले नेपालक लागि बराबरी गोल फर्काए । उनले करिब २५ यार्डमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गरे । बराबरीतर्फ अग्रसर भइरहेको खेलको ८४औं मिनेटमा सुजल डंगोलले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए ।

    सुरुवाती गोल खाँदा गल्ती गरेका नेपाली गोलकिपर भोटेले यस पटक भने चलाखीपूर्ण पास दिँदा त्यसमा सुजलले गोल गरे । गोलकिपर भोटेले हानेको लामो बलमा भुटानी डिपेण्डरले क्लियर गर्न नसक्दा सुजनले विपक्षीको पेनाल्टी बक्सबाट भली गोल गरे । नेपालले अब शनिवार भारतसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल पाकिस्तान र बंगलादेशबीच शनिवारै हुनेछ । सेमिफाइनल विजेताबीच आउने सोमबार फाइनल खेल हुनेछ ।

  • सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

    सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

    काठमाडौं । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।

    मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ । महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।

    महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ । असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ ।

    मौसमविदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।

    यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ । यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ ।

    शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ । त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।

  • चाडपर्व नजिकिएकै बेला एक महिनामा कामको खोजिमा विदेशिए साढे ५७ हजार नेपाली

    चाडपर्व नजिकिएकै बेला एक महिनामा कामको खोजिमा विदेशिए साढे ५७ हजार नेपाली

    काठमाडौं । चाडपर्व नजिकिएकै बेला एक महिनाको अवधिमा साढे ५७ हजार नेपाली कामको खोजिमा विदेशिएका छन् । भदौमा ५७ हजार ४९३ नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका थिए ।


    भदौमा २९ हजार ५२८ जना संस्थात रुपमा र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । त्यस्तै जिटुजीमार्फत एक हजार ३ जना विदेश गएका छन् । यो नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर जाने श्रमिकको संख्या हो ।

    वैदेशिक रोजगार विभागका अनुसार भदौमा सबैभन्दा धेरै यूएई गएका छन् । पछिल्लो एक महिनामा युएइमा मात्र १८ हजार ६०५ नेपाली विदेश गएका छन् ।
    साउदीमा १० हजार ८३५, कतारमा ११ हजार २९१ र कुवेतमा ४ हजार २१५ श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । साउनमा मलेशियामा १ हजार ३४४ जना वैदेशिक रोजगारीमा गएका छन् । भदौमा १ हजार १९३ श्रमिक गएका छन् ।

    भदौमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै श्रमिक गएका छन् । भदौमा रोमनियामा युरोप राष्ट्र रोमनिया एक हजार ८८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्याङ छ । त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।

  • रविन्द्र मिश्रको दाविमा प्रचण्डको खण्डन के आयो ?

    रविन्द्र मिश्रको दाविमा प्रचण्डको खण्डन के आयो ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भनेको रवीन्द्र मिश्रको दाबीमा सचिवालयले खण्डन गरेको छ । प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो ।

    भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रचण्डले निरन्तरताको क्रमभंगता खोजेको दाबी गरेका थिए । प्रचण्ड सचिवालयले भने मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै टिप्पणी गरेको भन्दै खण्डन गरेको छ । ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’, सचिवालयले विज्ञप्तिमार्फत भनेको छ ।

    सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारेबारे जनतामा भ्रम नरहेको भन्दै विज्ञप्तिमा भनेको छ, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’

  • परराष्ट्र मन्त्री देउबा र कोरियाली समकक्षीबीच भेट, के भयो कुराकानी ?

    परराष्ट्र मन्त्री देउबा र कोरियाली समकक्षीबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेपालमा थप लगानी गर्नको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण कोरियालाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग भएको साइडलाइन द्विपक्षीय भेटवार्तामा दक्षिण कोरियालाई नेपालमा थप लगानी गर्न र थप पर्यटन आउनको लागि आग्रह गरेकी हुन् ।

    नेपाली श्रमिक र विद्यार्थीहरुलाई दक्षिण कोरियाले भित्र्याउन खेलेको भूमिकालाई लिएर मंगलबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी हुन् । यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् । उक्त अवसरमा दुई मुलुकबीचको सम्बन्ध तथा संयन्त्रहरूमार्फत सहकार्य गर्ने विषयमा छलफल भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।