Category: समाचार

  • हिजबुल्लाहलाई सहयोग गर्ने इरानी राष्ट्रपतिको संकेत

    हिजबुल्लाहलाई सहयोग गर्ने इरानी राष्ट्रपतिको संकेत

    काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन् । “पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन”, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भने । उनले “लेबनानलाई अर्को गाजा बन्न नदिन” अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । लेबनानमा सोमबार भएको इजरायली हमलामा ३५ बालबालिका सहित करिब ५०० जनाको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायल विरुद्ध “तत्काल कारबाही गर्न” आह्वान गरेको छ । “इरान उदासीन रहनेछैन”, विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भने, “हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ ।”

    हिजबुल्लाहको सञ्चार उपकरण लक्षित आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली आक्रमणहरु सुरु भएका हुन् । संयुक्त राष्ट्र सङ्घको वार्षिक महासभाका लागि न्यूयोर्क भ्रमणमा रहेका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाए । “यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पुर्याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ”, पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भने, “इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।”

    इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उहाँले बताउनुभयो । तर कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पुर्याउने अनुमति नभएकोमा उनले जोड दिएका छन् ।

  • अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

    अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

    काठमाडौं । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरू भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ।

    ‘मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौं,’ आयोजना प्रमुख डा रवीन कडरियाले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ।’ स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको हो।

    संकलन भएको फोहरलाई पोखरामा ल्याई प्रशोधन गर्ने ‘एक्याप’को योजना छ। अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ। ‘एक्याप’भित्र पर्ने स्थानीय तहले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिएका छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र प्लाष्टिक झोला लैजान प्रतिबन्ध लगाइएको छ। ‘एक्याप’ भित्रने पर्यटकलाई ‘मेटाकार्ड’मार्फत फोहर व्यवस्थापनसम्बन्धी सन्देश दिन थालिएको छ। घान्द्रुक, सिकलेस, धम्पुसलगायत सांस्कृतिक पहिचानका गाउँमा पनि सरसफाइ अभियान सुरु भएको ‘एक्याप’ले जनाएको छ।

    सात हजार छ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ। बर्सेनि असोज–कात्तिक र चैत–वैशाखमा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ।

    अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका प्रमुखस्थल हुन्। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्र्रा सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले जानकारी दिए।

    अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए। तीमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन्। चार वर्षअघि अन्तर्राष्ट्रिय ‘ट्राभल साइट’ लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दश गन्तव्य सूचीमा समावेश गरेको थियो।
    राससको सहयोगमा

  • प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेट

    प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेट

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घका लालि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।

    भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग पनि भेटवार्ता गरेका थिए ।

  • क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

    क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

    काठमाडौं । क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने भएको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो । मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा कटौती गरिने जानकारी दिए । उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘हामीले यस वर्ष ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा जारी गर्दछौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्दैछ ।’

    उनले आप्रवासी क्यानडाको अर्थतन्त्रका लागि फाइदाजनक भए पनि खराब व्यक्तिहरुले प्रणालीको दुरुपयोग गर्दै विद्यार्थीको रुपमा फाइदा लिने गरेकाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा थप कटौती गर्न लागिएको स्पष्ट पारेका छन् । क्यानडाले सन् २०२४ का लागि करिब ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्र स्टुडेन्ट भिसा जारी गर्ने निर्णय गरेको थियो । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको थियो ।

    विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा क्यानडामा आवास, यातायात, रोजगारी लगायतका सेवाहरूमा समस्या देखिएका छन् । त्यसैले क्यानडा सरकारले नीतिगत परिवर्तन गर्दै आएको छ । अन्तर्राष्ट्रिय विद्यार्थी भिसा कटौती गर्ने क्यानडा सरकारको निर्णयले नेपाली विद्यार्थी समेत प्रभावित हुनेछन् । तर क्यानडा सरकारको यो निर्णयबाट केवल स्नातक तहमा अध्ययन गर्न क्यानडा जान चाहने विद्यार्थीहरु प्रभावित हुने बताइन्छ । तर स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि भने सीमा लागु नहुने जानकारहरु बताउँछन् ।

  • नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

    नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

    काठमाडौं । मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।
    बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको छ । साथै यस वर्ष अत्यधिक गर्मी भएकाले वायुमण्डलमा न्युनचापीय क्षेत्र विकास भएको छ । न्युन चापीय क्षेत्र भन्नाले हावाको चाप कम भएको र वर्षा गराउने बादल बनेको क्षेत्र भनेर बुझिन्छ । अहिले यो क्षेत्र अधिक गहिरो (जमिनको सतहदेखि वायुमण्डलको मध्यक्षेत्रसम्म फैलिएको) छ । त्यसैले मौसमविदले भिषण वर्षाको प्रक्षेपण गरेका हुन् ।

    नेपालका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले असोज ७ गते विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचना जारी गरेको थियो ।

    प्रक्षेपण अनुसार नै नेपालका धेरै स्थानमा वर्षा भइरहेको छ । यो वर्षाको मात्रा र क्षेत्र दुवै थप बढ्दै जाने छ । महाशाखाले यो वर्षाबाट अत्यधिक प्रभावित हुनसक्ने भनेर २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ । यसैगरी ४२ जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।

    महाशाखाले कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीलाई रातो रङ्गले संकेत गरेर उच्च जोखिमको राखेको छ । यस्तै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ । कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।

  • मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ

    मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ

    काठमाडौं । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं। ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने वर्ष ५० को फकिर अरू दुई जना साथीसहित मुस्ताङ गएका थिए ।

    फकिरले असोज २ गते पोखरा–२५, घट्टेखोलाबाट च्याङ्ग्रा बिक्री गरी अरू नै सवारीमा पठाएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । फकिरमाथि कास्की जिल्ला अदालतबाट छ दिन म्याद थप भएको छ। ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा फकिरमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    असोज १ गते निजी कारमा मुस्ताङ पुगेका फकिरले मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ का किसान ताक्ला गुरुङका च्याङ्ग्रा किनेर पोखरा पुगेपछि पैसा दिने सर्तमा ल्याएका थिए । च्याङ्ग्रा धनी ताक्ला गुरुङसमेत पैसा लिन सँगै पोखरा आएका थिए । पोखरा आइपुगेपछि डेमसाइडको होटलमा गुरुङ सुतिरहेको अवस्थामा फकिर सम्पर्कविहीन बनेका थिए ।

  • अमरासूर्य बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री

    अमरासूर्य बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री

    काठमाडौं । नेशनल पिपुल्स पावर (एनपीपी)की सांसद डा. हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन वामपन्थी दिशानायकेले जितेका थिए । उनले सोमबार शपथ लिएलगत्तै प्रधानमन्त्री दिनेश गुणवर्धनेले राजीनामा दिएका थिए ।

    २२५ सदस्यीय संसदमा एनपीपीका डा। अमरासूर्यासँगै विजिथा हेराथ र लक्ष्मण निपुण अराग्ची मात्र सांसद थिए । राष्ट्रपति दिशानायकेले अमरासूर्यालाई प्रधानमन्त्री र हेराथलाई मन्त्री नियुक्त गरेका छन् । साथै उनले आजै मध्यरातबाट संसद भंग गर्ने श्रीलंकाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

    रक्षा, अर्थसहितका मन्त्रालय राष्ट्रपति दिशानायकेले आफैंसँग राखेका छन् । प्रधानमन्त्री अमरासूर्यालाई शिक्षा, विज्ञान र प्रविधि लगायतका मन्त्रालय दिइएको छ भने विदेश मामिलासहितका मन्त्रालय हेराथलाई दिइएको छ । कोलम्बोकी ५४ वर्षीया अमारासूर्याले एडिनबर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छन् । उनी महिला अधिकारकर्मीसमेत रहेकी उनी प्राध्यापनमा पनि संलग्न थिइन् ।

    तर २०१९ को राष्ट्रपति चुनावका बेला उनी दिशानायकेको चुनावी अभियानमा सहभागी भइन् । अर्को वर्ष २०२० मा जनता विमुक्ति पेरामुना (जेजेपी)ले उनलाई सांसदको टिकट दियो र, उनले चुनाव जितिन् पनि । मंगलबार उनी प्रधानमन्त्री बनिन् । श्रीलंकाको इतिहासमा सिरिमाओ बन्दारानायके र चन्द्रिका कुमारातुङ्गापछि तेस्रो महिला प्रधानमन्त्री हुन् ।

  • योग्यता बुझाउन नसकेपछि प्रस्तावित राजदूतले फिर्ता लिए नाम

    योग्यता बुझाउन नसकेपछि प्रस्तावित राजदूतले फिर्ता लिए नाम

    काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तिीर्ण प्रमाणपत्र मागेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिए । सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।

    भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए । सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैंले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको जानकारी दिएकी थिइन् ।

    त्यसपछि भट्टराईले मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएर गएका उनले बताइन् । १४ साउनमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।

  • दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

    दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

    काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । बस व्यवसायी र सरकारबीच १२ असोजबाट अग्रिम टिकट काट्ने सहमति भएको छ ।

    विगतमा समेत दशैंमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको दाबी गरेको छ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको खनालले बताए । यो वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

    ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’ बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जान सो लाउन्जबाट सेवा लिन सक्छन् । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।

  • दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

    दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

    दशैका लागि सवारी साधनको अग्रिम बुकिङ १२ असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले अग्रिम बुकिङ खुलाउने निर्णय गरेको हो । बैठकले सकेसम्म अनलाइनबाट बुकिङ गर्ने व्यवस्था मिलाउन समेत व्यवसायीलाई आग्रह गरेको छ । घटस्थापनादेखी पुर्णिमासम्म देशैभर रुटपरमिट खुला गरिएको छ । लापसे र मापसे गरेर सवारी चलाउन रोक लगाइएको छ ।

  • क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।


    क्यालिफोर्नियामा करिब एक लाख नेपाली छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरेको थियो । महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।

    प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाए। ‘तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ,’ उनले भने। क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ। उक्त समितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको छ।

  • इजरायलको आक्रमणबाट लेवनानमा ज्यान गुमाउनेको संख्या ५ सय

    इजरायलको आक्रमणबाट लेवनानमा ज्यान गुमाउनेको संख्या ५ सय

    काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या चार सय ९२ जना पुगेको छ । बिबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ । यसले कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएको छैन । त्यहाँ भएको यो घटना २० वर्षको द्वन्द्वको सबैभन्दा घातक दिन भएको समेत जनाएको छ ।

    हिजबुल्लाह पेजर र वाकी टाकी विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका छन् । प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरु हिंसामा तानिएका थिए । इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

    स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरुमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ । मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरु पनि छन् । विश्व शक्तिहरले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरुमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्ररुपमा सरेको छ ।

  • क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

    क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

    काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल हारेको हो । ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो। विश्वकप लिग २ मा नेपालले कुल ७ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एक मात्रै जित निकालेको छ।

    गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो। एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ।

    त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ। लिग–२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०ः३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।

  • त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

    त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

    काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्।
    त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। उक्त निर्णय गरिएको सूचना मंगलबार सार्वजनिक गरिएको छ।

    मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ। बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।

  • नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

    नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना घाइते छन् । घाइतेहरुको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

  • पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

    पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

    काठमाडौं । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेका छन् । विशाल सोमबार साँझ पौने ६ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए । खोजीका क्रममा रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा मृत फेला परेका हुन् ।

  • आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

    आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

    काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ ।
    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

    असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    असोज ९ गते बुधबारदेखि भने मनसुनी वायुको प्रभाव अझै बढ्ने छ । यस दिन सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत चल्ने छ ।

    यी हुन् उच्च जोखिममा परेका जिल्ला

    असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदू््पश्चिमसम्मका जिल्लामा पर्ने छ । ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ । महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन् ।

    यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।
    कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधु्रा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।

    सतर्कता अपनाउन आग्रह

    मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।

    यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ ।

    त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्बसाधारणदेखि सबै सरोकारवालालाई मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

  • लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

    लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

    काठमाडौं । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या दुई सय ७४ पुगेको जानकारी गराएका छन् । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् । “एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ ।

    यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरुबाट हजारौँ परिवार विस्थापित भएका छन् ।” उनका अनुसार हिजबुल्लाह पेजर र वाकी(टाकीहरु विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

    प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरु हिंसामा तानिएका थिए । इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ ।

    हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ । स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरुमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ । मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरु पनि छन् ।

    विश्व शक्तिहरले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरुमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्ररुपमा सरेको छ ।

  • श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक

    श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक

    काठमाडौं । वामपन्थी झुकाव राख्ने अनुर कुमार दिशानायक ऐतिहासिक दोस्रो चरणको मतगणनाबाट श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले सोमबार नयाँ राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि राष्ट्रपति चुनाव देशको इतिहासमा नै पहिलो पटक दोस्रो चरणको मतगणना भएको थियो । श्रीलङ्कामा राष्ट्रपति चुनिनका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। पहिलो चरणमा वामपन्थी नेता अनुर कुमार दिशानायकले ४२.३१ प्रतिशत र विपक्षी नेता सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत ल्याएका थिए।

    सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति लिने वाचा गरेका दिशानायक दोस्रो चरणको मतगणनाबाट निर्वाचित भए । मतदाताहरूलाई आफ्नो रोजाइको क्रम अनुसार तीन जना उम्मेदवार छान्न दिइएको थियो। दोस्रो चरणमा निर्वाचन आयोगले मतदाताहरूले दोस्रो र तेस्रो रोजाइमा राखेका उम्मेदवारहरूले पाएको मतको गणना गरेको थियो। दोस्रो चरणमा दिशानायक र प्रेमदासाबाहेक अरू सबै उम्मेदवारहरूलाई प्रतिस्पर्धाबाट हटाइएको थियो।

    त्यसरी दौडबाट हटेका उम्मेदवारहरूको मतपत्रमा दोस्रो र तेस्रो प्राथमिकता क्रममा परेका उम्मेदवारहरूको मत दोस्रो चरणमा गणना गरिएको थियो। सन् २०२२ मा हालसम्मकै खराब आर्थिक सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजक्षलाई पदबाट बर्खास्त गरेपछि शनिवार पहिलो चुनाव भएको हो। अहिलेको निर्वाचनलाई हालसम्मकै कडा प्रतिस्पर्धाको चुनावका रूपमा लिइएको थियो।

    आइतवार बिहानसम्मको प्रारम्भिक नतिजाले दिशानायक जीततर्फ अग्रसर रहेको देखाएको थियो तर पछिको गणनामा विपक्षी नेता सजिथ प्रेमदासाले मत बढाएपछि गणना अर्को चरणमा प्रवेश गर्यो। मतगणना भइरहँदा दिशनायकलाई हालका राष्ट्रपति रनिल विक्रमसिङ्घ र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूले बधाई दिइसकेका थिए। विदेशमन्त्री अली साबरीले सामाजिक सञ्जाल एक्समा प्रारम्भिक परिणामले दिशानायकको प्रस्ट जीतको सङ्केत दिएको बताएका थिए।

    मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि गए राति कर्फ्यु लगाइएको थियो र त्यसलाई आइतवार अपरान्ह त्यसलाई हटाइएको छ। उक्त निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो। चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारहरूले मुलुकको सर्वोच्च पदका लागि दाबी गरेका थिए। श्रीलङ्कामा सन् १९८२ यता भएका आठवटै राष्ट्रपतीय चुनावमा पहिलो चरणकै गणनाबाट विजेता छानिएका थिए।

    शनिवारको निर्वाचनमा मत खसाल्न झन्डै एक करोड ७० लाख मतदाता योग्य रहेका थिए। दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुने प्रयास गरिरहेका रनिल विक्रमसिङ्घले १७ प्रतिशत मत ल्याएका छन्। हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्‌ले राष्ट्रपतिमा नियुक्त गरेको थियो। यस पटक उनले तेस्रो स्थानमा मत पाए।

    हाल ५५ वर्षका अनुर श्रीलङ्काकाका एक जना वामपन्थी नेता हुन् र सन् २००० बाट उनी निरन्तर सांसद रहँदै आएका छन्। उनी श्रीलङ्काको न्याश्नल पिपुल्स पावर गठबन्धनका नेता हुन् जसमा मार्क्सवादप्रति झुकाव राख्ने उनको दल जीभीपी आबद्ध छ। उनको दलले परम्परागत रूपमा नै राज्यले बलियो हस्तक्षेपहरू गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिहरूमा केही कडा व्यवस्थाहरू ल्याउनुपर्ने नीतिको समर्थन गर्ने गर्छ।

    दिशानायकले मतदाताहरूलाई भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने वाचा गरेका थिए। सन् २०२२ को सङ्कटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो। जीभीपीको संसद्‌मा जम्मा तीन सिट रहेको थियो तर गरिब पक्षधर नीति र भ्रष्टाचारविरुद्ध उभिने प्रतिबद्धताले उनलाई लोकप्रिय बनायो।

    उनले आफूलाई परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्ने क्रममा सत्तामा आएको ४५ दिनभित्र संसद्लाई भङ्ग गरिदिने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमत लिने उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ। श्रीलङ्काका नयाँ राष्ट्रपतिलाई अर्थतन्त्र उकास्ने र दशौँ लाख मानिसहरूलाई गरिबीबाट पार लगाउने चुनौती हुनेछ। श्रीलङ्काको आर्थिक सङ्कटले सन् २०२२ मा राजपक्ष परिवारलाई सत्ताबाट बाहिर पुर्‍याएको थियो।

    त्यो बेला श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति कमजोर भएको थियो भने उक्त देशले इन्धन लगायत अत्यावश्यक वस्तुहरू आयात गर्न सकेको थिएन। सार्वजनिक ऋण वृद्धि भएर ८३ अर्ब डलर पुगेको थियो भने मुद्रास्फीति ७० प्रतिशतले बढेको थियो। सर्वसाधारणहरूलाई खानेकुरा र औषधिजस्ता आधारभूत आवश्यकता पुरा गर्न कठिन भएको थियो। कैयौँ नीतिगत कमजोरी, कमजोर निर्यात र वर्षौँदेखि कर प्रणालीमा रहेका समस्या लगायतलाई त्यस्तो अवस्था आउनुको कारण मानिएको छ।
    बीबीसीको सहयोगमा

  • मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

    मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

    काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो ।

    अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि गजेन्द्र ठाकुरलाई सरह नै कैद र जरिवाना तोकेको छ । विशेष अदालतले परामर्शदाता शिवकुमार शर्मालाई आठ वर्ष कैद र २ करोड ९५ लाख रुपैंया विगो सजाय सुनाएको छ । तर उनी ६५ वर्ष नाघेको देखिएको भन्दै विशेष अदालतले दुई वर्ष कैद छुट दिई छ वर्ष मात्रै कैद बस्नुपर्ने फैसला गरेको छ ।

    ठेकेदार कम्पनी इप्टिसालाई ६ करोड २१ लाख विगो फैसला गरेको छ । अर्को कम्पनी बीईटीएसलाई पनि त्यति नै विगो सजाय भएको छ । ठेक्का पाएको अर्को कम्पनी सीएमसीबाट २६ करोड ११ लाख रुपैंया विगो असुल्ने फैसला भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रुपैंया रोज्यकोषमा नोक्सानी भएको निचोड सहित अख्तियारले मुद्दा दायर गरेको थियो । परामर्शदार्ता परामर्शदाता इप्टिसाका टिम लिडर शिव कुमार शर्मा दोषी ठहर भएका छन् भने इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ ।

  • झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा  लक्जरी रिसोर्ट बन्दै

    झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

    काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट व्यवस्थापन सरोवर होटल्सले गर्ने भएको हो । दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन सरोवर होटल्सले गर्ने गर्छ । यसले नेपाललाई विश्व लक्जरी बजारमा महत्त्वपूर्ण योगदान दिने कम्पनीले जनाएको छ ।

    यो परियोजनाको नेतृत्व ग्लोबल इक्विटी फन्ड लिमिटेड अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक आशिष ढकालले गरेका छन् । रोयल ट्युलिपले नेपालमा नयाँ लक्जरी मापदण्ड स्थापना गर्ने दाबी कम्पनीको छ । बूढानीलकण्ठको शान्त वातावरणमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० मिनेट यात्रामा पुगिने छ । २६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ७५ कोठा रहने छन् । आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्य एकीकृत गर्ने गरी कोठा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

    यहाँ एकैपटक ५ सय जनालाई सेवा दिने ब्यांक्वेट हल, विश्वस्तरीय स्पा, स्टिम रुम, निजी ज्याकुजी र अन्य वेलनेस सुविधा उपलब्ध हुनेछन् । स्वदेशी तथा विदेशी पाहुनाका लागि शान्त र अद्वितीय ‘होलिडे’ अनुभव दिलाउने विश्वास लगानीकर्ताको छ । सरोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा रोयल ट्युलिप ब्रान्ड प्रवेशले उत्साह थप्ने बताए ।

    ‘नेपाल भारतीय र अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बन्दैछ, र हामी यस जीवन्त बजारमा सेवा विस्तार गर्न पाउँदा खुसी छौं,’ उनले भने । यस होटलमा १ अर्ब ८० करोड लगानी हुने भएको छ । रोयल ट्युलिप सरोवर होटल्सको औपचारिक हस्ताक्षर कार्यक्रम मंगलबार नयाँदिल्लीमा गर्ने योजना छ ।

    कम्पनी अध्यक्ष कुँवरले रोयल ट्युलिपलाई नेपाल ल्याउन पाउँदा गर्व महसुस भएको बताए । उनले यस रिसोर्टले देशमा लक्जरी आतिथ्यको नयाँ स्तर स्थापित गर्ने दाबी गरे ।

  • जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

    जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

    काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ । प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो ।

    सोही अनुसार जजिराले जजिराले अनुमतिका लागि पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानस्थल बन्द भइसकेको समय ९रात० को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो । सोही अनुसार ६ः२५ मा नेपाल आएर ७:३० मा उडान गर्ने गरी जजिराले अनुमति लिन पत्र पठाएको छ ।

  • धनुषा प्रहरी कार्यालयबाट ८ जना थुनुवा फरार

    धनुषा प्रहरी कार्यालयबाट ८ जना थुनुवा फरार

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ८ जना थुनुवा फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परी थुनुवामा रहेका ९जना भागेकोमा एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। भागेकामध्ये एकजना जनकपुरबाट पक्राउ परेका हुन्। सोमबार बिहान करिब ४ बजे समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन् ।

    ‘उनीहरु १० जना एउटा कोठामा थिए तीमध्ये एकजना मात्रै भाग्न मानेनन बाँकी सबै भेन्टिलेशन फोडेर त्यहीँबाट निस्केर भागे । सेन्ट्री पनि बाहिर खटिएका थिए तर कसरी थाहा पाएनन अनुसन्धान हुँदैछ । हामी अहिले उनीहरुलाई खोज्नमा खटिएका छौँ त्यहीँ भएर धेरै कुरा बुझ्न पाएका छैनौ,’ डिएसपी अवालेले भनेका छन् ।

    उनकाअनुसार फरार भएका जनकपुरधाम उपमहानगरपालिका २० रुपैठा बस्ने अमित कुमार झा, विदेह नगरपालिका ७ गिद्धा बस्ने रंजित मण्डल, सोही ठाउँ बस्ने रोशन कुमार मण्डल र सिरहा नगरपालिका १३ बस्ने अभास्कर कुमार यादव रहेका छन । खैरो हिरोइन सहित पक्राउ परेका चारै जना लागु औषध मुद्दामा थुनामा थिए। फरार भएका धनुषाको औरही गाउँपालिका २ देउरी परबाहा बस्ने विशाल मुखिया समेत लागुऔषध मुद्दामै थुनामा थिए।

    फराराभएका जनकपुरधाम उपमहानगरपालिका १ बस्ने सुमित मेस्तर, नगराइन नगरपालिका २ बस्ने मनिष मण्डल र जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बिक्की कार्की अभद्र व्यवहार मुद्दामा थुनामा थिए। फरार भएकाहरुलाई कसैलाई देखेमा प्रहरीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

  • लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

    लगातार तेस्रो हार बेहोर्दै नेपालको कमजोर प्रदर्शन

    काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । आइतबार राती क्यानडाले आईसीसी विश्वकप लिग २ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

    क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए । दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १–१ विकेट लिए ।

    त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।
    सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७.१ ओभरमा ८७(७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

    करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४९(४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए । क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १–१ विकेट लिए ।

    नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रन र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले अव अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ । नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

  • प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

    प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।

    परराष्ट्रका प्रवक्ता अमृत राई र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए । भेटमा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यसअघि नै बनेको इपिजी नै सक्रिय गराउने वा नयाँ संयन्त्र बनाउने भन्नेबारे स्पष्ट हुन सकेको छैन । प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।

  • सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

    सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

    बिष्णु सिंह, न्युयोर्क ।

    संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन न्युयोर्क आएको मौका पारि प्रधानमन्त्री के पी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउबासंग नेपालीहरुले आफ्ना सरोकारका बिषयहरुमा भेटघाट गरि जानकारी गराउने र त्यसको समाधान प्राप्तिका लागि आईतबार, सेप्टेम्बर २२ बेलुकी ५:३० बजे, उड्साईड न्युयोर्कस्थित गुलसन टेरेस हलमा कार्यक्रम आयोजना गरिएको थियो।
    सुरक्षाको कारण प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउबाको न्युयोर्कमा नेपालीहरुसंगको भेटघाट कार्यक्रम रद्द भएको छ ।

    नेपाली बाणिज्य दुताबास न्युयोर्क, जनसम्पर्क समिति, प्रवाशी नेपाली मंच, नेपाल आदिबासी जनजाति महासंघ, मधेसी एशोसियसन अफ अमेरिका, गैर आवासीय नेपाली संघ, न्युयोर्क, र अन्य नेपाली संघ संस्थाहरु मिलेर सयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न बिषयहरु जस्तै: बिभिन्न ठाउहरुमा कन्सुलेट कार्यालयको फिल्ड अफिस नहुदा सेवाग्राहीलाई सेवा पाउन कठिन भएको, गैर आवासीय नागरिकता पाउन झन्झटिलो भएको, नेपालमा लगानी गर्न पर्याप्त नियम कानुन नभई कठिनाई भएको, नेपालमा प्रशासनिक झन्झट भई लगानी गर्न कठिनाई भएको; नेपालीहरुले अमेरिकाको प्रभु मनि ट्रान्सफर गरि प्रभु बैंकमा पठाएको रकम प्रभु सहकारीमा पुर्याई रकम फिर्ता गर्न आनाकानि गरिएको लगायत बिभिन्न नेपालीहरुले भोग्दै आएका बिभिन्न सवालहरुमा छलफल र अवगत गराउने गरि अमेरिकाको बिभिन् क्षेत्र र बेलायका समेत नेपालीहरु जमघट भएको कार्यक्रम अन्तत: सुरक्षाको कारणले प्रधानमन्त्री र परराष्ट्रमन्त्री उपस्थित हुन् सकेनन् ।

    आयोजकका पदाधिकारीहरु आनन्द बिष्ट, संजय थापा लगायतका सबै संस्थाका बक्ताहरुले बताए अनुसार अमेरिकी सुरक्षा निकायले कार्यक्रम स्थलको २-३ घण्टा अगाडिदेखि निगरानी गरिरहेको बुझियो। कार्यक्रममा प्रधानमन्त्री आउदा केही समुदायले कालो झण्डा देखाई बिरोध गर्न लागेको पनि बुझियो। अन्तत: सुरक्षा निकायले कार्यक्रम गर्न उपयुक्त नभएको जानकारी गराएपछि आयोजकहरूले ठुलो संख्यामा उपस्थित भएका सहभागीबीच कार्यक्रम रद्द गरिएको जानकारी गराउदै क्षमा याचना गरि कार्यक्रम रद्द गरियो।

  • इरानमा ग्यास चुहावट, कम्तिमा ५१ जनाको मृत्यु

    इरानमा ग्यास चुहावट, कम्तिमा ५१ जनाको मृत्यु

    काठमाडौं । इरानमा ग्याँस चुहावटका कारण एउटा कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जना मारिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका छन्। साउथ खोअर्सन प्रान्तमा भएको विस्फोटमा अन्य २० जना घाइते भएका छन्। राजधानी तेहरान भन्दा ५४० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको खानीमा मिथेन ग्यास चुहावटपछि खानीका दुई वटा ब्लकमा विस्फोट भएको थियो। स्थानीय समय अनुसार शनिवार राती ९ बजे विस्फोट भएको सरकारी सञ्चार माध्यमले जनाएको छ। प्रान्तका गभर्नर जाभेद गेनातजदेहले विस्फोट भएको समयमा ती ब्लकहरूमा ६९ जना कामदार रहेको बताएका छन्।

    “दुर्भाग्यवश मदान्जु खानीमा विस्फोट भएको समयमा ६९ जना मानिसहरू बी र सी ब्लकमा काम गरिरहेका थिए,” उनलाई उद्धृत गर्दै एपी समाचार संस्थाले उल्लेख गरेको छ। एउटा ब्लकमा ४७ र अर्कोमा २२ जना काम गरिरहेका समयमा घटना भएको उनले बताएका छन्। अझै कति मानिसहरू खानीमा थुनिएका छन् र जीवित छन् भन्ने प्रस्ट छैन। आईआरएनए समाचार संस्थाले रेड क्रिसेन्टका इरान प्रमुखलाई उद्धृत गर्दै आइतवार २४ जना हराइरहेको जनाएको थियो।

    समाचार संस्था रोएटर्सका अनुसार इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पीडित परिवारहरूप्रति सहानुभूति व्यक्त गरेका छन्। मैले मन्त्रीहरूसँग कुरा गरेको छु। हामी हामीले सक्ने गति गर्छौँ, उनले टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भनेका छन्।

  • अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

    अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

    काठमाडौं । अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
    धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ ।

    गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन जिल्लामा भएको अधिकारी ट्रुमन फिट्जगेराल्डले एक इमेलमा जानकारी दिनुभयो । घटनास्थलमा पुगेका अधिकारीहरूले फुटपाथमा गोली लागेर घाइते भएका दुई पुरुष र एक महिला फेला पारेका थिए । उनीहरूलाई त्यहीँ मृत घोषित गरियो । फिट्जगेराल्डका अनुसार अर्का एक पुरुष गोली पीडितलाई अस्पतालमा मृत घोषित गरियो ।

    “प्रारम्भिक अनुसन्धानले धेरै शङ्कास्पदहरूले सार्वजनिक क्षेत्रमा बाहिर रहेको ठूलो समूहमाथि गोली चलाएको देखाएको छ”, उनले भने । “अनुसन्धानकर्ताहरूले धेरै पीडित क्रसफायरमा पर्नेगरी भएको गोलीबारी आकस्मिक नभएको र एक अलग घटनाबाट उत्पन्न भएको विश्वास गरेका छन् ।” घाइतेहरू अस्पतालहरूमा देखिन थालेको उनले बताए । आइतबार बिहानसम्म प्रहरीले १८ अन्य पीडित पहिचान गरेको थियो । केहीको अवस्था जीवन–जोखिमपूर्ण रहेको थियो ।

    फिट्जगेराल्डका अनुसार तत्काल कसैलाई पक्राउ गरिएको छैन । अनुसन्धानकर्ताहरूले अझै पनि लक्षित व्यक्तिहरू निर्धारण गरेका छैनन् । कुनै पनि जानकारी भएमा अधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ र पुरस्कारको सम्भावना रहेको प्रहरीले बताएको छ । फाइभ पोइन्ट्स साउथ क्षेत्रमा मनोरञ्जन स्थल, रेस्टुरेन्ट र बारहरू छन् र त्यहाँ शनिबार राति प्रायः भीड हुन्छ ।

  • रवि पक्राउ पर्ने हल्लाका बीच पार्टी कार्यालयमा सयौं कार्यक्रताको भीड

    रवि पक्राउ पर्ने हल्लाका बीच पार्टी कार्यालयमा सयौं कार्यक्रताको भीड

    काठमाडौं । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेको दिन आइतबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरुको भीड लागेको छ । सहकारी बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन छविलाल पक्राउ परेका थिए ।

    छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा। अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए । रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंकाले कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका हुन् ।

  • दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

    दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।

    भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको । ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो । प्रसाईं सहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।