Category: समाचार

  • नेपालमा क्यानडाको दूतावास स्थापना गर्न परराष्ट्र मन्त्रीको प्रस्ताव

    नेपालमा क्यानडाको दूतावास स्थापना गर्न परराष्ट्र मन्त्रीको प्रस्ताव

    काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबीच बुधवार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्री राणाले नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह गरेकी छिन् । नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । क्यानडाली विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा राणा क्यानडा पुगेकी हुन् ।


    भेटका क्रममा उहाँहरूले दुई देशबिच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताएकी छिन् । नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदै छन् । त्यस भेटमा परराष्ट्र मन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन् । नेपालको सांसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिइन् ।


    साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्‍याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गरिन् । नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्‍याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रूपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरेकी छिन् ।

  • प्रधानमन्त्री भन्छन् : स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गरौं

    प्रधानमन्त्री भन्छन् : स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गरौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् ।


    आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस । दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ ।’

    उनी थप लेख्छन्, ‘सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ ।’

    जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सन नहुने भन्दै ओलीले यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरंकुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मष्तिस्कमा आउने उल्लेख गरेका छन् । त्यसैले ओली भन्छन्, ‘यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ । सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना ’

  • संविधानले दिएको अधिकार प्रयोग गरी भ्रष्चारमुक्त अभियानमा लागौं : प्रचण्ड

    संविधानले दिएको अधिकार प्रयोग गरी भ्रष्चारमुक्त अभियानमा लागौं : प्रचण्ड

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लाग्न आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना संदेश दिंदै प्रचण्डले भनेका छन्, ‘जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्न चाहन्छु ।’


    उनले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने पनि बताएका छन् । यसका लागि आफू तयार रहेको उनको भनाइ छ । अबको बाटो सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा अघि बढ्नु रहेको भन्दै उनले संविधान कार्यान्वयनमा बाँकी रहेका कामहरु अझ तदारुकताका साथ र दृढताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

    उनले संविधान दिवस मनाउनुको अर्थ सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोंचका विरुद्ध नेपाल राष्ट्र र नेपाली जनतालाई एकताबद्ध गर्नु भएको बताएका छन् । र, उनको शब्दमा यो चुनौतीपूर्ण छ । संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको बताउँदै उनले यसलाई अझ सुदृढ गर्नुपर्ने पनि बताएका छन् ।

  • राष्ट्रपति र उपराष्ट्रपतिले दिए संविधान दिवसको शुभकामना, के दिए सन्देश

    राष्ट्रपति र उपराष्ट्रपतिले दिए संविधान दिवसको शुभकामना, के दिए सन्देश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसको शभकामना दिएका छन् । दिवसका अवसरमा आज बिहान उनीहरूले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका हुन् । शुभकामना संदेश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए ।

    उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका छन् । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताएका छन् ।

    संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, बचन र कर्मले समर्पित भई आ(आफ्ना तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न पनि राष्ट्रपति पौडेलले आह्वान गरेका छन् । उपराष्ट्रपति यादवले पनि शुभकामना दिंदै संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

    संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुनेमा उनको जोड छ । नेपाली जनताको सङ्घर्ष र बलिदानपछि स्थापित संविधानसभाबाट विसं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ ।

  • आज संविधान दिवस, धुमधामसहित मनाइदैं

    आज संविधान दिवस, धुमधामसहित मनाइदैं

    काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।
    टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ । आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् । साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

    संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

  • आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

    आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

    काठमाडौं । आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

    ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुले । दोस्रो बलमा सकिल अहमदको ब्याटबाट एज लागेर विकेटकिपरकै छेऊबाट चौका गयो । तेस्रो बल सोमपालले डट राखे । चौथो बलमा एक रन बटुले । त्यसपछि दुई बलमा दुई रन आवश्यक थियो ।

    पाँचौं बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए । सकिल १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । नेपालका ािग गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए ।

    तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अव आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

  • दुर्गा प्रसाई विरुद्ध प्रहरीलाई अदालतको अनुमति

    दुर्गा प्रसाई विरुद्ध प्रहरीलाई अदालतको अनुमति

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले जानकारी दिए । उनका अनुसार प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

    उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको उनको भनाइ छ । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

  • कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

    कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

    काठमाडौं । सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका छन् । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यललमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।

    न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको कांग्रेस महामन्त्री थापाले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम र बजेट आइसकेको अवस्थालाई ख्याल गरिएको भन्दै उनले अगाडि भने, ‘मुलतः कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिसहमतिमा व्यक्त भएका प्रतिबद्धतालाई आधार बनाएका छौं ।’

    संविधान जोगाउने, सुदृढ बनाउने दुई दलको जिम्मेवारी रहेको भन्दै उनले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भमा रहेका अफ्ठ्यारा कार्यान्वयनमा लैजान्छौं । बनाउनुपर्ने कानून तत्काल बनाउँछौँ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी प्रणाली अझै मजबुत बनाउन वस्तुनिष्ठ समीक्षा गरेर परिमार्जन गर्छौं ।’


    अर्थतन्त्र थप गतिशील बनाउने विषय पनि न्यूनतम साझा कार्यक्रम छ । पूर्वाधार निर्माणका अलपत्र आयोजनाहरुलाई पूर्णर्ता दिने, संक्रमणकालीन न्यायका बाँकी कुरा टुंग्याउने, युवा साझेदारीको कार्यक्रम अगाडि बढाउने विषय पनि न्यूनतम साझा कार्यक्रमको मस्यौदा समेटिएको छ । कांग्रेस महामन्त्री थापाले अगाडि भने, ‘जुनसुकै काण्डहरुको छानबिन गर्नेकुरामा हामीले जोड दिएका छौं ।’

  • सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताए ।

    सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए । संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेल,, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

  • इजरायलबाट अपाङ्गता भएका १२ सहित ९६ पर्यटक एक साथ नेपाल घुमफिरमा

    इजरायलबाट अपाङ्गता भएका १२ सहित ९६ पर्यटक एक साथ नेपाल घुमफिरमा


    काठमाडौं । अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे ।

    सालोम राफ्टिङ टे«क्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ्ग र मुस्ताङ्गका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ । बुधबार काठमाण्डौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङ्गको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ । 

    अपाङ्गता भएका पर्यटकहरुको आगमन र उहाँहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।

    विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे ।

    “नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृतिर आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ । विगतका वर्षहरुमा नेपाल भ्रमणमा आएका  अपाङ्गता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ, उनले भने ।

  • एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको  छ : प्रधानमन्त्री

    एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको  छ : प्रधानमन्त्री


    काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् ।

    राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको बताए । हाल एसइईम ५० प्रतिशतको हाराहारीमा  विद्यार्थी उत्तिर्ण हुँदै आएका छन् ।
    “एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तिर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन ।” प्रधानमन्त्री ओलीले भने, “सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँ गाउँमा स्वतःस्फुर्तरुपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरुले आफ्नो ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।” उनले  विश्वमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गरे ।


    ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधारमा मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।

  • बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

    बेवनन र सिरियामा पेजर आक्रमण, कम्तिमा ९ जना मारिए–२ हजार घाइते

    काठमाडौं । लेवनन र सिरियामा मंगलबार अपराह्न सयौंको संख्यामा पेजरबाट आक्रमण भएको छ । बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्य र एक बालिका छन्। घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका छन्।

    घाइते हुनेमा इरानी राजदूत पनि छन्। इरानको सरकारी सञ्चालित आइआरएनए समाचार एजेन्सीका अनुसार राजदूत मोजताबा अमानीलाई विस्फोट भएको पेजरले सामान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि लेबननको सीमा क्षेत्रमा तनाव बढेको छ। हिजबुल्लाहले यो घटनामा इसराइललाई दोषी ठहर्‍याएको छ र कारबाहीको चेतावनी दिएको छ। इसराइली सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन।

    हिजबुल्लाहका नेता हसन नसरल्लाहले यसअघि समूहका सदस्यहरूलाई इसराइलले उनीहरूको गतिविधि ट्र्याक गर्न र लक्षित आक्रमण गर्न फोन प्रयोग गर्न सक्ने भनेर मोबाइल नबोक्न चेतावनी दिएका थिए। नाम नखुलाउने सर्तमा बोल्ने हिजबुल्लाहका एक अधिकारीले एपीलाई बताए अनुसार समूहले प्रयोग गर्ने नयाँ ब्रान्डका पेजरहरू पहिले तातेका थिए। अनि विस्फोट भएका हुन्।

    लेबननको स्वास्थ्य मन्त्रालयले पेजर भएका मानिसहरूलाई यसबाट टाढा रहन भनेको छ। साथै स्वास्थ्यकर्मीहरूलाई वायरलेस उपकरण प्रयोग नगर्न पनि सुझाव दिएको छ।

  • आजबाट सोह्र श्राद्ध सुरु, यस्तो छ महत्व

    आजबाट सोह्र श्राद्ध सुरु, यस्तो छ महत्व

    काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष बुधबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो।

    पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ।

    यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ। यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मांगलिक कार्य गर्नुअगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन्।

    यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद प्रा डा रामचन्द्र गौतम बताउँछन्। सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ।

    अरूको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। अरूको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो। कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औंसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।

    यसबीचमा पनि सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिककृष्ण औंसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ। आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले बताए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

    rss

  • आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

    आईसीसी विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो ।

    नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो । नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट बन्न देशबाहिरका खेल जित्न जरुरी छ ।

    नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा छ । आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् ।

    यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ । ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी–२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

    क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्सयीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।

  • दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

    दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

    काठमाडौं । असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ । आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन् ।
    तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए । देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै बादल लागेको छ । तर पछिल्लो १२ घण्टामा पानी भने परेको छैन । काठमाडौं उपत्यकामा पनि अहिले पारिलो घाम लागेको छ । केहीबेर बादलले छोप्ने र फेरि घाम लाग्ने भइरहेको छ ।

    मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।

    तर शुक्रबार पानी पार्ने प्रणाली भित्रिँदा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरु तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • संविधान दिवसमा सांगितिक कार्यक्रम हुने, दरवारमार्गमा आवागमन रोकियो

    संविधान दिवसमा सांगितिक कार्यक्रम हुने, दरवारमार्गमा आवागमन रोकियो

    काठमाडौं । संविधान दिवसको दिन दरबारमार्गमा सांगीतिक कार्यक्रम हुने भएको छ । त्यसको स्टेज बनाउन थालिएाके छ । जसले गर्दा सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

    सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

    सदाझैं यस वर्ष पनि असोज २, ३ र ४ गते दीपावलीसहित विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन गृह मन्त्रालयले मातहतका सरकारी कार्यालयहरुमा परिपत्र गरेको थियो । दिवस मनाउन तीनै तहका सरकारमा संविधान दिवस मनाउन आयोजक समिति गठन गरिएको छ । काठमाडौंमा नागरिकस्तरमा हुने भनिएको सांगीतिक कार्यक्रमलाई ‘नेशनल डे कन्सर्ट’ भनिएको छ ।

    कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक(गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् । उक्त कन्सर्टले नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास छ ।

  • दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

    दिल्लीका मूख्यमन्त्री केजरीवालले दिए राजिनामा, आतिशी नयाँ मूख्यमन्त्री

    काठमाडौं । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाएको बीबीसीले जनाएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताए ।

    विधायक दलको बैठकमा केजरीवालले नै आतिशीको नाम प्रस्ताव गरेका हुन् । आतिशी आउँदो विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनेभएकी छिन् । आतिशीले नयाँ मुख्यमन्त्री बन्न दाबी समेत पेश गरेकी छिन् । दिल्लीले आतिशीलाई तेस्रो महिला मुख्यमन्त्रीका रूपमा पाएने छ । यसअघि सुषमा स्वराज र शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बनेका थिए । दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतको आदेशपछि यही सेप्टेम्बर १३ मा रिहा भएका छन् ।

  • भदौसम्म कस्तो रह्यो सरकारी वित्त ?

    भदौसम्म कस्तो रह्यो सरकारी वित्त ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

    भदौसम्म संकलित राजस्वमध्ये कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ११.३१ प्रतिशत हो । यस अवधिमा २१ अर्ब १९ करोड गैरकर राजस्व उठेको छ । यो लक्ष्यको १५.६९ प्रतिशत हो । यस अवधिमा अनुदान र अन्य आम्दानी हुन नसकेको महालेखाको विवरणमा देखिन्छ ।

    खर्चतर्फ सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । यो कुल बजेटको ७.३९ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये दुई महिनासम्म चालु खर्च ८२ अर्ब ९८ करोड रुपैयाँ भएको छ । यस वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च गर्ने लक्ष्य रहेको छ । भदौसम्म पूँजीगत खर्च १४ अर्ब ८९ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ४.२३ प्रतिशत हो ।

    यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । वित्तीय व्यवस्थामा भदौसम्म ३९८ अर्ब ६७ करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको १०.८ प्रतिशत खर्च हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ६७ अर्ब रुपैयाँ खर्च हुने लक्ष्य रहेको छ । यस वर्ष पूँजीगत खर्च र वित्तीय व्यवस्था गत वर्षको यसै अवधिको तुलनामा धेरै खर्च भएको छ । यसो हुनुमा यसवर्ष सरकारले सुरुवाती महिनाबाटै निर्माण व्यवसायीको भुक्तानी बढाएको देखिन्छ ।

  • उपसभामुख रुस प्रस्थान

    उपसभामुख रुस प्रस्थान

    काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ । उपसभामुख राना दुबई, रुस राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ ।

    रूसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम छ । उपसभामुखको निजी सचिवालयका अनुसार उनले असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • महतोले गठन गरे नयाँ पार्टी

    महतोले गठन गरे नयाँ पार्टी

    काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

    नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ । महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।

  • देउवा भन्छन : प्रदेश संरचना हटाउन सकिन्न

    देउवा भन्छन : प्रदेश संरचना हटाउन सकिन्न

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।

    ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’ उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’

  • किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

    किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका सबैलाई छाडिएको हो । उनका अनुसार सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।

    मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर युवाहरु पुगेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो । स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो । दिउँसो साढे १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।

  • आज विश्वकर्मा पूजा, के छ महत्व ?

    आज विश्वकर्मा पूजा, के छ महत्व ?

    काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

    बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

    द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।
    प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेलले बताए ।
    यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनसमेतमा पूजा आराधना गरिन्छ ।


    यस अवसरमा आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन कार्यक्रम गरिनेछ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहने जनाइएको छ । रासस

  • क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

    क्यानडासँग हार्यो नेपाल, ब्याटिङ कमजोर

    काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।


    ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।

    त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो ।

    कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए ।

    सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।

  • कैलालीमा जेल भित्रै एक बन्दीको मृत्यु, अनुसन्धान हुँदै

    कैलालीमा जेल भित्रै एक बन्दीको मृत्यु, अनुसन्धान हुँदै

    काठमाडौं । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन ।

    उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रास्वपाको राष्ट्रिय भेला काठमाडौंमा

    रास्वपाको राष्ट्रिय भेला काठमाडौंमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन हुनेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब–लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

    सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

    यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक–उपसंयोजक, प्रदेशको समिति–विभाग, केन्द्रीय समिति–विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।


    भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ । आज पहिलो दिन संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुनेछ ।

  • अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

    अमेरिका जानु अघि प्रधानमन्त्रीले भने : नेपालको शिर ढल्ने कुनै काम गर्दिन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाए ।

    उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाए ।
    “विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरू जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ,’’, प्रधानमन्त्री ओलीले भने, “नेपाल असल छिमेकी सम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छौँ । छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ ।’’

    प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताको लागि राजनीति गर्ने तथा आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताए ।

    उनले अमेरिकामा रहँदा न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टनस्थित हार्वर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने जानकराी गराए ।

  • परराष्ट्र मन्त्री अमेरिका र क्यानडा भ्रमणमा प्रस्थान

    परराष्ट्र मन्त्री अमेरिका र क्यानडा भ्रमणमा प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सोमबार साँझ क्यानाडातर्फ लागेकी छिन् । क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी क्यानडा जान लागेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले उनलाइ विदाइ गरेका छन् ।

    क्यानाडा र जमैकाले आयोजना गरेको सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुने कार्यक्रम छ । सो सम्मेलनमा परराष्ट्रमन्त्री राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरुमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

    सो बैठकपछि मन्त्री डा. राणा संयुक्त राज्य अमेरिका जानेछिन्। उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ । अमेरिकामा रहँदा मन्त्री डा. राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा गर्ने तालिका छ ।

    अमेरिकापछि मन्त्री डा. राणाले कतारको दोहा भ्रमणमा गर्नेछिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने छिन् । सो सम्मेलनलाई सम्बोधन गरेर मन्त्री डा. राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्किने कार्यक्रम छ ।

  • तीन महिना भित्र सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस

    तीन महिना भित्र सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस

    काठमाडौं । सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले ३ महिनाभित्र सहकारी प्राधिकरण स्थापना गर्नुपर्ने सुझाव दिएको छ । नियमनकारी निकायका रुपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र राष्ट्र बैंकसँग प्रत्येक्ष समन्वयमा रहेर काम गर्नेगरी सहकारी प्राधिकरण स्थापना गरिनुपर्ने समितिको सुझाव छ । प्राधिकरण स्थापना भएपछि राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी विभागको आवश्यकता नरहने हुँदा तिनको सम्पत्ति तथा दायित्व सर्नेगरी कानुनी प्रवन्ध गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

    प्राधिकरणले गर्ने कामबारे समेत समितिले केही बुँदाहरु प्रष्ट पारेको छ । सहकारीको सञ्चालन इजाजतपत्र दिने, नियमित रुपमा नियमन गर्ने, सुपरीवेक्षण गर्ने, सुपरीवेक्षणमा देखिएका कैफियत कार्यान्वयन गर्ने, कार्यान्वयन नगरेमा कारबाहीको अधिकार समेत दिनेगरी प्राधिकरण स्थापना गर्नुपर्ने समितिको सुझाव छ ।

    त्यस्तै प्राधिकरण सञ्चालक समितिमा विषय विज्ञ र अनुभवी व्यक्तिको आवश्यकता रहने हुँदा सरकार, राष्ट्र बैंक, सहकारी क्षेत्रका जानकार र विज्ञ व्यक्तिको प्रतिनिधित्व हुनेगरी नियुक्ति गर्नुपर्ने सुझाव दिइएको छ । २५ करोडभन्दा बढी सम्पत्ति भएका सहकारीले प्राधिकरण गठन भएको मितिले ६ महिनाभित्र वित्तीय कारोबार सञ्चालन इजाजतपत्र लिनुपर्ने गरी कानुनी प्रवन्ध गर्नुपर्ने सुझाव दिइएको छ ।

    प्राधिकरण गठन नभएसम्म नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमन टोलीले ठूलो वित्तीय कारोबार गर्ने सहकारीलाई प्राथमिकतामा राखी सहकारीको अनुगमनलाई नियमितता दिनुपर्ने सुझाव समितिको छ । बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिति रहेका शहरमा भने सहकारीको संख्या कम हुनेगरी नीति बनाउनुपर्ने सुझाव छ । ‘सहकारीलाई पूँजी, वित्तीय परिचालन क्षमताका आधारमा क, ख र ग वर्गमा विभाजन गरी नियमन गर्नु उपयुक्त हुनेछ’ सुझावमा भनिएको छ ।

  • समस्यामा रहेका सहकारी सञ्चालकको सम्पत्ति रोक्का, विदेश भ्रमणमा रोक

    समस्यामा रहेका सहकारी सञ्चालकको सम्पत्ति रोक्का, विदेश भ्रमणमा रोक

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकहरूको अचल सम्पत्तिदेखि विदेश यात्रामा समेत रोक लगाउन सिफारिस गरेको छ ।

    ‘समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकलाई सरकारको निगरानीमा निज तथा निजको एकाघरका सदस्य समेतको नाममा रहेको अचल सम्पत्ति, बैंक खाता, पासपोर्ट र यात्रा अनुमति रोक्का राखी सहकारीको मुख्य कार्यालय रहेको सहरबाहेक बाहिर जानुपर्दा सरकारको सम्बन्धित निकायको अनुमति लिनुपर्ने गरी नियमित कार्यालय खोल्नुपर्ने सर्तसहित सेटलमेन्टका लागि निश्चित अवधि तोकी उक्त अवधिभित्र पूर्ण समाधान हुन नसकेमा पुनः कानुनी कारबाहीमा जाने गरी व्यवस्थापन गर्न समय दिने,’ समितिले सोमबार प्रतिनिधिसभा बैठकमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

    बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीका लागि कर्जा असुली न्यायाधीकरण रहेकै हुँदा सहकारी कानुनमा प्रबन्ध भए बमोजिम कर्जा असुली न्यायाधिकरण नहुँदा ऋणीहरूलाई जिम्मेवार बनाउन सकिएको छैन । यसका लागि भइरहेको ऋण असुली न्यायाधीकरणलाई जनशक्ति, कानुनी अख्तियारी र स्रोतयुक्त बनाई सहकारीको कर्जा समेत हेर्ने जिम्मेवारी विस्तार गर्नु उपयुक्त हुने समितिको सिफारिसमा छ।

    समस्याग्रस्त घोषणा भएपछि सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट सहकारीपिच्छे फिल्डमा गई कार्यालय खोली ‘टेकओभर’ शैलीमा व्यवस्थापन गर्ने डेडिकेटेड टिम परिचालन गर्न समेत सिमितिले सिफारिस गरेको छ ।

    वर्तमान सहकारी संकट समाधानार्थ सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भई पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र (बन्ड) जारी गरी प्राधिकरणमार्फत फिर्ता गर्ने र सरकारले पछि सरकारी बाँकी सरह असुलउपर गर्ने व्यवस्था तत्काल सुरू गर्न र क्रमशः ठूला बचतकर्ताहरूको बचत रकम कानुन बमोजिम स्रोत खुलाई करको दायरामा ल्याई फिर्ताको लागि सहजीकरण गर्न समेत समितिले सिफारिस गरेको छ ।