Category: समाचार

  • नेपाली तरकारी कतार निर्यात

    नेपाली तरकारी कतार निर्यात

    काठमाडौं । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो । सिएफआरडीबाट सञ्चालित कार्यक्रमबाट उत्पादित तरकारी नेपालबाट मध्यपूर्व देशमा निर्यात भएको यो पहिलो हो र यसलाई निरन्तरता दिने जनाइएको छ । सिएफआरडी सहयोगमा २० जना किसानले दैनिक एक हजार पाँच सय केजी तरकारी उत्पादन गर्छन् । ती किसानले उत्पादन गरेको तरकारी एक महिनासम्म लगातार निर्यात हुने बताइएको छ ।

    कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपाली तरकारी कतारमा निर्यात गर्दा किसान उत्साहित भएको बताए । नेपाल तरकारीका लागि भारतमा निर्भर छ तर अहिले चिनियाँ गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा नेपाली किसानले तरकारी उत्पादन गरेर निर्यात गर्ने अवस्थामा पुगेको उनले बताए ।
    नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले सिएफआरडीले सहयोग गरेको ताजा नेपाली तरकारी कतारका लागि निकै महत्वपूर्ण रहेको बताए ।

    कतारमा कार्यरत करिब चार लाख नेपाली कामदारले तातो सुक्खा मौसममा तरकारी खेती गर्न कठिनाइ भोग्नु परेको बताउँदै उनले ताजा तरकारीको आगमन कतारका जनताको हितका लागि महत्वपूर्ण सहयोग रहेको बताए । भविष्यमा पनि नेपाली कृषि उत्पादनको आयात बढ्ने आशा व्यक्त गर्दै यो निर्यातले कतारको बजारको गुणस्तरमा सुधार गर्दै द्विपक्षीय व्यापार सम्बन्धलाई थप मजबुत बनाउने उनले बताए ।

  • एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

    एमाले एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ । नेकपा एमालेका कार्यालय सचिव भीष्म अधिकारीले समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताए । एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।

    बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाउने सम्भावना छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलसमेत गरेका थिए । अध्यक्ष ओलीले तीन शीर्ष नेताबीच भएको छलफल र राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यहरुलाई जानकारी गराउने भएका छन् ।

  • आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

    आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

    काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    सो बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति पनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ ।

    त्यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणाली समेतको प्रभावले नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

    भारी र धेरै भारी वर्षाको कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । अहिले पश्चिम नेपालमा कायम पानी पार्ने प्रणालीको प्रभाव शनिबार दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना छ ।

    शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शनिबार राति भने कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • लगानी बोर्डको सीइओमा ज्ञवाली नियुक्त

    लगानी बोर्डको सीइओमा ज्ञवाली नियुक्त

    काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा थिए । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् ।

    २७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो । सरकारले यसपटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएर नियुक्ति प्रक्रिया अघि बढाएको थियो ।

    मन्त्रिपरिषद्को २२ साउनको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरी सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी सदस्य र पूर्व अर्थसचिव राजन खनाललाई विज्ञ सदस्य थिए ।

  • ३ असोजबाट धराहरा खुला गर्ने सरकारको निर्णय

    ३ असोजबाट धराहरा खुला गर्ने सरकारको निर्णय

    काठमाडौं । काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।


    बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरेको छ । बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।

    अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ । प्रशासनिक भवन र संग्रहालय समेत यहाँ बन्दैछ ।

  • अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार सोमबार सार्वजनिक गरेको तालिका अनुसार सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

    सिरिजको सबै खेल अमेरिकाको टेक्सासमा हुनेछ । यस सिरिजपछि तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ । त्यसअघि नेपालले भदौ ३१ देखि असोज १० गतेसम्म क्यानडामा आयोजक क्यानडा, नेपाल र ओमानले लिग–२ कै सिरिज खेल्नेछ । सिरिजमा सहभागिता जनाउन नेपाली टोली क्यानडा प्रस्थान गरिसकेको छ ।

  • विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

    विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

    काठमाडौं । नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे । उनले गरिबी न्यूनीकरण, उत्थानशील निर्माण र भावी पुस्ताको मानव पूँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताए । ‘नेपालले आफ्नो मानव पूँजी निर्माणमा लगानी बढाउँदै गरेको समयमा सम्मेलन आयोजना भएको छ, हामी भावी पुस्ता र बालबालिकाका आवश्यकता पूरा गर्न थप समावेशी सामाजिक संरक्षण प्रणाली निर्माण गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

    नेपाल तीव्र आर्थिक, सामाजिक र जनसाङ्ख्यिकीय परिवर्तनबाट गुज्रिरहेको भन्दै अझै २० प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी बाँचिरहेको बताए ।
    उनले आर्थिक–सामाजिक असमानता अझै पनि चिन्ताको विषय रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले १६औं योजनामार्फत मानव पूँजी निर्माणलाई उच्च प्राथमिकता प्रदान गरेको र यसका लागि बालबालिकामा लगानी बढाउन आवश्यक रहेको बताए ।

    उनले मानव विकास साधन र साध्य दुवै हुने तथ्यलाई बिर्सन नहुने बताए । युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय बिजेसेकराले सर्वव्यापी बाल अनुदान कार्यक्रममार्फत गरिबीको अन्तर चक्रलाई तोड्न सकिने बताए । यो सम्मेलनले सन् २०१९ को सामाजिक संरक्षण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले उठाएका मुद्दालाई अझ अगाडि बढाउने विश्व बैंकले जनाएको छ ।

    सम्मेलनले बालबालिकाको सामाजिक संरक्षणलाई सुदृढ गर्ने र बाल अनुदानको विस्तार, एकीकृत सामाजिक लगत स्थापना, नगद प्लस दृष्टिकोणको बढ्दो प्रयोग, उत्पादनमूलक क्षेत्रमा लगानी, औपचारिक र अनौपचारिक क्षेत्रका लागि रोजगारी र सामाजिक सुरक्षा जस्ता नीतिगत बहसमा जोड दिइएको छ । सम्मेलनमा नेपाल सरकार, युनिसेफ, विश्व बैंक र विश्वव्यापी सामाजिक संरक्षण क्षेत्रका विज्ञ र विभिन्न क्षेत्रका सरोकारवाला सहभागी छन् ।

  • प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता

    प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् ।

    प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो । नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने छ ।

  • नेकपा समाजवादीले उपमहासचिव चौधरीलाई किन सोध्यो स्पष्टीकरण ?

    नेकपा समाजवादीले उपमहासचिव चौधरीलाई किन सोध्यो स्पष्टीकरण ?

    काठमाडौं । एक अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ । महासचिव घनश्याम भूसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए । ‘‘।

    तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दावी पुग्छ उसको, दावी पुग्छ, भारतले लिन पाउँछ, ‘। (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नुभएको रहेँछ’ स्पष्टीकरण पत्रमा भनिएको छ । चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देन दिइएको छ ।

  • पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ,लागू औषध बिक्रि गरेको आरोप

    पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ,लागू औषध बिक्रि गरेको आरोप

    काठमाडौं । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् ।
    ३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो ।

    उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए । त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

  • नेपालको कन्ट्री रेटिङ गर्न आयो टोली

    नेपालको कन्ट्री रेटिङ गर्न आयो टोली

    काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गर्न फिच क्रेडिट रेटिङ्स कम्पनीको टोली नेपाल आएको छ । कुनै पनि मुलुकको ऋण योग्यता (क्रेडिट वर्दिनेस) तथा लगानीको वातावरण सम्बन्धी स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गर्ने गरिन्छ । विश्वमा मुलुकहरूको क्रेडिट रेटिङ गर्ने ठूला एजेन्सीमध्ये फिच रेटिङ्स एक मानिन्छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    नेपाल आएको फिच क्रेडिट रेटिङ्सको टोलीसँग भेट गर्दै अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधार लगायत क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताए । टोलीमा सहभागीले नेपालमा राजस्व परिचालन, पूँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालनलगायत विषयमा अर्थमन्त्री र मन्त्रालयको टोलीसँग चासो राखेका थिए । कन्ट्री रेटिङसम्बन्धी धेरै काम पृष्ठभूमिका अगाडि बढिसकेको छ । कम्पनीले अनलाइनबाट विवरणहरू मगाउने काम गरिरहेको छ ।

    नेपाल आएको टोलीले भने नीतिगत स्तरमा बढी छलफल केन्द्रित गर्नेछ । जसअन्तर्गत अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक तथा अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसँग यो टोलीले छलफल गर्नेछ । मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधारका रूपमा मानिन्छ ।

    यसबाट मुलुकभित्र लगानी जोखिमको अवस्थाबारे समेत यथार्थ जानकारी प्राप्त हुनेछ । विदेशी लगानीकर्ताले समेत लगानीको पूर्वशर्तका रूपमा सोभरेन क्रेडिट रेटिङलाई मान्ने गरेका छन् । क्रेडिट रेटिङको अभावले अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालमा अहिलेसम्म ठूला पूर्वाधारमा व्यापारिक ऋण प्राप्त हुन सकेको छैन । आगामी महिनासम्म कन्ट्री रेटिङको काम सक्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

    फिच रेटिङ्सको टोली बुधबार नेपाल आइपुगेको हो । सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेटमार्फत सार्वभौम क्रेडिट रेटिङ गराउने घोषणा गरेको थियो । सो बेला सार्वजनिक सूचना जारी गरी यसका लागि कम्पनीहरूलाई आमन्त्रण समेत गरिएको थियो । त्यसबेला रेटिङ सम्बन्धी काम गर्ने तीन कम्पनीले आवेदन दिएका थिए । यसबाट सरकारले फिच रेटिङ्ससँग सम्झौता गरेको थियो । कोभिड–१९ महामारीको समयमा अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र जसले अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने आशंकासहित त्यसपछि कन्ट्री रेटिङको काम रोकियो ।

    अघिल्ला अर्थमन्त्री वर्षमान पुनले यो कामलाई पुनः ब्यूँझाएका थिए । गत वैशाखमा आयोजना भएको लगानी सम्मेलन अगाडि नै कन्ट्री रेटिङ सक्ने योजना थियो । सोही अनुसार अर्थले सक्रियता लिएको थियो । कन्ट्री रेटिङका लागि बेलायती सहयोग नियोग (यूके एड) ले प्राविधिक सहयोग गरिरहेको छ । त्यसो त सरकारले आव २०७५–७६ यता हरेकजसो बजेटमा कन्ट्री रेटिङ गर्ने घोषणा गर्दै आएको छ । आव २०८०–८१ मा समेत सोही घोषणा गरिएको थियो ।

  • इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

    इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

    काठमाडौं । नियमित मर्मतमा इटाली पठाइएको नेपाल एयरलाइनसको वाइडबडी जहाज नेपाल फिर्ता ल्याइएको छ । जहाज २२ जुनमा इटाली पठाइएको थियो । नियमित मर्मत पुरा गरी जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यो जहाजको अभावले जापानसहित लामो दूरीमा निगमको उडान प्रभावित भएको थियो ।

    निगमका प्रवक्ता रमेश पौडेलले अब यी गन्तब्यमा पुनः उडान सूचारु गरिने जानकारी दिए । निगमसँग अर्ब तीन जहाज पुगेका छन् । एउटा वाइडबडी जहाज इटालीमै सीचेकका लागि पुगेको छ । सो जहाज अर्को एक महिनापछि मात्र नेपाल ल्याइने निगमले जनाएको छ । निगमले प्राधिकरणको नियम पुरा गरी जहाज फिर्ता ल्याएको जनाएको छ ।

  • चाडबाड लक्षित सहुलीयत बजार असोज पहिलो साताबाट सञ्चालनमा

    चाडबाड लक्षित सहुलीयत बजार असोज पहिलो साताबाट सञ्चालनमा

    काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको छ ।


    आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।

    सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो सात छुट पाइने छ । सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ । साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो सात छुट दिनेछ ।

    दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ । चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ । त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

    चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।
    रासस

  • पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

    पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

    काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो । बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा बढी वर्षा भएको देखिन्छ ।

    वर्षाको मात्रा अझै बढ्ने सम्भावना छ । खासगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ । त्यसैले ती जिल्लाहरुलाई मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ । भारतको मध्यप्रदेश आसपासमा अवस्थित मनसुनको न्यून चापीय प्रणाली थप विकसित भई उत्तरपश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना छ ।

    त्यसको प्रभावले नेपालको पश्चिमी भूभागमा बढी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ८ जिल्लालाई उच्च जोखिमको सूचीमा राखे पनि मधेशदेखि सुदूरपश्चिमसम्मका १९ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।

    खासगरी बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, अर्घाखाँची, तनहुँ, अर्घाखाँची, रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके, दैलेख, कालिकोट, सल्यान, दार्चुला, बझाङ र बाजुरा जिल्ला मध्यम जोखिममा रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । बाँकी ३३ जिल्लालाई महाशाखाले निम्न जोखिमको सूचीमा राखेको छ । काठमाडौं उपत्यका र हिमाली क्षेत्रसहितका अन्य १७ जिल्लाबारे भने महाशाखाको विशेष बुलेटिनमा केही उल्लेख छैन ।

  • दशैंमा सुकिला नोट १३ असोजबाट साट्न पाइने

    दशैंमा सुकिला नोट १३ असोजबाट साट्न पाइने

    काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए ।

    १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।

    एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताए । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै केन्द्रीय बैंकले यसपटक नयाँ नोट उपलब्ध नगराउने भएको हो ।

  • मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

    मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

    काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ । सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

    अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको हो । ३१ असारदेखि केबलकार सेवा बन्द भएको थियो । यसबीचमा मनकामना दर्शनमा जानेहरूले सडक मार्ग वा पैदल यात्रा प्रयोग गरेका थिए । मनकामना मन्दिरमा नवदुर्गाभर विशेष पूजाआजा हुनेगर्छ ।

  • राप्रपा अध्यक्ष र पूर्वराजाबीच भेटवार्ता

    राप्रपा अध्यक्ष र पूर्वराजाबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । दमकस्थित चिया बगानमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।

    पार्टी कार्यक्रमका सिलसिलामा अध्यक्ष लिङ्देन गृह जिल्ला झापा पुगेका बेला त्यहीं रहेका पूर्वराजा शाहसँग बुधबार हिमालयन टी गार्डेनमा भेट गरेका हुन् । भेटमा पूर्वराजासँग लिङ्देनले आफ्नो पार्टीको घोषित कार्यक्रम र राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको राप्रपाका नेताहरुले बताएका छन् ।

    राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको वकालत गर्दै आएको राप्रपाका अध्यक्ष लिङ्देनले केही समय अगाडि पनि झापामै पूर्वराजासँग भेटेका थिए । बिर्तामोडस्थित एक विद्यालयमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका पूर्वराजासँग लिङ्देनले भेटेका थिए ।

  • कांग्रेसले सांसदहरुलाई भन्यो : उपत्यका नछाड्नु

    कांग्रेसले सांसदहरुलाई भन्यो : उपत्यका नछाड्नु

    काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

    त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए । उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् ।

  • प्रधानमन्त्रीलाई बोलेनको प्रश्न : २०७६ सालमा फैसला आउँदा किन वास्ता गर्नु भएन ?

    प्रधानमन्त्रीलाई बोलेनको प्रश्न : २०७६ सालमा फैसला आउँदा किन वास्ता गर्नु भएन ?

    काठमाडौं । काठमाडौंका नदी किनारबारे एमालेले देखाएको दोहोरो चरित्रबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोस व्यक्त गरेका छन् । उनले एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको यो चरित्रलाई ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ उखानबाट पुष्टी गर्न खोजेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो चरित्रले देश बिगार्दैछ ।’

    आफुले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने प्रधानमन्त्रीले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनिएको उनले स्मरण गराएका छन् ।
    त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री रहेको समेत उनले स्मरण गराएका छन् । उनले नै नियुक्त गरेका महान्यायधिवक्ता अग्नि खरेल, उनकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उनकै पार्टी एमालेले बनाएको काठमाडौंका मेयर विद्यासुन्दर शाक्य त्यसबेला कुर्सीमा रहेको समेत उनले स्रमण गराएका छन् ।

    उनले लेखेका छन्, ‘यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ ।


    प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका किन नगएको भन्दै उनले प्रश्न गरेका छन् । उनी भन्छन्, ‘यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन, हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।’


    उनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गर्न समेत आह्वान गरेका छन् । उनले भनेका छन्, ‘अन्यथा, पछि धोका पाउनु हुनेछ सरकारबाट अर्को मापदण्ड ल्याएर ।’

  • भियतनाममा आँधी, १२७ को मृत्यु

    भियतनाममा आँधी, १२७ को मृत्यु

    काठमाडौं । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २७ जना पुगेको छ । गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनाएको बीबीसीले जनाएको छ । पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने त्यहाँका अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २ सय ३ किलोमिटरको वेगको यस आँधीबाट २ सय ४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् ।

    यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली आँधी हो । भियतनामको व्यस्त रहने फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिए । आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्‍याएको खबरमा उल्लेख छ । भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उत्तरी प्रान्तमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

  • कांग्रेस पदाधिकारीको बैठक आज, के छ एजेण्डा ?

    कांग्रेस पदाधिकारीको बैठक आज, के छ एजेण्डा ?

    काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। बैठक बुधबार बिहान ८ः३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ। विशेषगरी कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउने बैठकको एजेन्डा छ।

    त्यस्तै सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने कार्यसूची छ। सभामुखलाई हटाउने विषयमा सत्ता गठबन्धनको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए। त्यतिबेला कांग्रेस लगायत सत्ता साझेदार दलहरूले पनि सहमति जनाएका थिए।

    मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले संसदबाटै उपसभामुख रानामगरलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए। यद्यपि कांग्रेसका सांसदहरूले भने यसबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। ती सबै विषयमा कांग्रेसले पार्टीभित्र साझा धारणा बनाउनका लागि बैठक बोलाएको हो।

  • वित्त निगमले नेपालमा लगानी बिस्तार गर्ने प्रतिवद्धता

    वित्त निगमले नेपालमा लगानी बिस्तार गर्ने प्रतिवद्धता

    काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिए । आईएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

    क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका छन् ।

  • अब देशैभर सरकारी कार्यालयमा सेयर कारोबार बन्द

    अब देशैभर सरकारी कार्यालयमा सेयर कारोबार बन्द

    काठमाडौं । अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउन नपाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

    टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ । यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।

    कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्नेगरी व्यवस्था गर्न अख्तियारले भनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सरकारी कार्यालयमा सरकारी काम मात्र गर्न आह्वान गरेका छन् ।

  • खुल्यो जग्गाको कित्ताकाट

    खुल्यो जग्गाको कित्ताकाट

    काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

    यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत कार्यालयमा कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न पालिकाहरूलाई आग्रह गरेका छन् । तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका छन् ।

  • भोटेबहालको गेष्टहाउसमा एक जना मृत फेला

    भोटेबहालको गेष्टहाउसमा एक जना मृत फेला

    काठमाडौं । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मङ्लबार दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीन तलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बुद्धको एक जहाजलाई दिइयो अवकाश

    बुद्धको एक जहाजलाई दिइयो अवकाश

    काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको यो जहाजको अन्तिम उडान समेत माउन्टेन फ्लाइट नै गरियो । जसमा बैंकरहरु उडेका थिए । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरिएको हो । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे ।

    यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो । नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

  • आइफोन-१६ सिरिज सार्वजनिक

    आइफोन-१६ सिरिज सार्वजनिक

    काठमाडौैं । एप्पलले आइफोन १६ सिरिज लन्च गरेको छ । ९ सेप्टेम्बरका दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा कम्पनीले एक विशेष समारोह आयोजना गरेको छ । जसमा १६ रिसिज सार्वजनिक गरेको हो । यस इभेन्टलाई एप्पलले इट्स ग्लोटाइम नाम दिएको छ । यसै इभेन्टमा एप्पलका नयाँ डिभाइसहरु समेत सार्वजनिक गरियो ।

    यस इभेन्टमा वाच सिरिज १०, एयरपड्स ४, एप्पल वाच अल्ट्रा २, एयरपोड्स म्याक्सको समेत लन्च गरियो । यसै अवसरमा आइफोन १६ सार्वजनिक गरियो । यस अवसरमा आइफोनका कुल चार मोडल लन्च गरियो । जसमा आइफोन १६, १६ प्लस, आइफोन १६ प्रो र आइफोन प्रो म्याक्स रहेका छन् । आइफोन १६ मा निकै सुधार गरेको कम्पनीले जानकारी गराएको छ ।

  • पाँचथर विष्फोटका घाइतेको सरकारले नि:शूल्क उपचार गर्ने

    पाँचथर विष्फोटका घाइतेको सरकारले नि:शूल्क उपचार गर्ने

    काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

    डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही ५५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

  • वन मन्त्री ब्राजिल प्रस्थान

    वन मन्त्री ब्राजिल प्रस्थान

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल प्रस्थान गरेका छन् । को रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ ।

    ‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री शाहीले भदौ २८ गते सम्बोधन गर्नेछन् । न्यायोचित तथा दिगो भविष्य बनाउनका लागि जलवायु परिवर्तनजस्ता सङ्क्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । मन्त्री शाही भदौ ३० गते स्वदेश फर्किनेछन् ।

  • छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

    छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

    काठमाडौं । छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
    २७ साउन, दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।

    खोजतलास गर्ने क्रममा २८ साउनको बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेो ठोस्ने खोला ती बालिकाको शव भेटिएको थियो । पानीको डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको थियो। उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

    प्रहरी अनुसन्धानका क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार समेत गरेको एसपी सुवेदीले बताए । पक्राउ परेकी प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।