Category: समाचार

  • छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

    छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

    काठमाडौं । छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
    २७ साउन, दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।

    खोजतलास गर्ने क्रममा २८ साउनको बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेो ठोस्ने खोला ती बालिकाको शव भेटिएको थियो । पानीको डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको थियो। उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

    प्रहरी अनुसन्धानका क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार समेत गरेको एसपी सुवेदीले बताए । पक्राउ परेकी प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

  • नागढुंगा पहिरो : सवारी सूचारु, चापमा गुडिरहेका छन् गाडी

    नागढुंगा पहिरो : सवारी सूचारु, चापमा गुडिरहेका छन् गाडी

    काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा नजिक खसेको पहिरो पन्छाइएकोछ । अहिले सवारी साधन चल्न थालेका छन् । तर, लामो ट्राफिक लाइनको सामना गर्नु परेको छ । यस सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो लाइन बनेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ ।

    पहिरो पन्छाएर सवारी सूचारु भएको भए पनि स्याउले नजिकै एक ट्रक बिग्रिएको छ । जसले यातायातर्ला निर्वाध सञ्चालनमा असर गरेको हो । सोमबार नागढुंगा मन्दिर नजिक पहिरो खसेपछि मध्यरातसम्म गाडीहरुको जाम थियो ।

  • नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प

    नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प

    काठमाडौं । नागढुंगा सुरूङमार्ग नजिकै पहिरो जाँदा बाटो अवरूद्ध बनेको छ । धादिङ धुनिबेँसी नगरपालिका ९ स्थित खत्रीपौवा भन्ने ठाउँमा लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरूद्ध भएको प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए। उनका अनुसार बेलुकी छ बजेतिर लेदोसहितको पहिरो खसेको हो।

    दिउँसो भएको भारी वर्षाका कारण लेदोसहितको पहिरो खसेर राजमार्ग अवरूद्ध भएको उनले जानकारी दिए । नागढुंगा सुरूङमार्ग नजिकै भएकाले त्यहाँका एक्सकाभेटरले राजमार्ग खोल्ने गरी काम जारी छ । पहिरो निरन्तर खसिरहेको हुँदा काम गर्न समस्या भएको छ । रातको १० बजेसम्म समेत बाटो नखुल्दा दुबै तर्फ गाडीको लामो लाइन लागेको छ ।

  • नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजिनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजिनामा

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन्। उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन्। पत्रकार महासंघको अधिवेशन दुई पटकसम्म हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ। मिति तोकेको एक सातासम्म पनि कार्यतालिका ल्याउन नसकिएको उनको भनाइ छ।

    साथै सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रूपमा अगाडि बढाउन बोलाएको बैठकमा केही पदाधिकारी र सदस्यहरू बैठक नसकिँदै बाहिरिनु र उपस्थितिमा हस्ताक्षर नगर्नेजस्ता समस्या देखिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। यस्तो अवस्थामा निर्वाचन गराउन नसकिने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएका हुन्।

  • सरकारको पक्षमा एक ढिक्का हुने सत्तारुढ दलको निर्णय

    सरकारको पक्षमा एक ढिक्का हुने सत्तारुढ दलको निर्णय

    काठमाडौं । सत्ता साझेदार दलहरुले सरकार र संसदलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सत्ताको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् । ‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने ।

    उनका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै निम्ति न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको हो । ‘एमाले र हाम्रो बीचमा सात बुँदे भइसकेकै थियो । तर त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौं । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, उनले भने । प्रमुख सचेतक घिमिरेले केही दिनभित्रै न्यूनतम साझा कार्यक्रम तयार हुने बताए ।

    आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।

    प्रमुख सचेतक घिमिरेले कार्यदलबाट बन्ने मस्यौदामाथि अरु सत्ता साझेदार दलहरुको धारणा पनि राखिनेछ । तर प्रमुख दल कांग्रेस र एमाले नै भएकाले दुई दलका नेताहरु रहेको मस्यौदा कार्यदल बनेको उनले बताए । कार्यदल बनेको भोलिपल्ट, आज सत्तारुढ अरु दलहरु जसपा, लोसपा, जनमत पार्टी र नाउपाका नेताहरु सहितको बैठक बोलाइएको थियो । बालुवाटारमा झण्डै तीन घण्टा चलेको छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि कांग्रेसकै घिमिरेसँग मिल्दो निष्कर्ष सुनाएका छन् ।

    ‘सरकार र संसदलाई प्रभावकारी बनाउन सत्तारुढ दलहरु एकताबद्ध भएर उभिनेबारे छलफल थालेका छौं’ प्रमुख सचेतक बर्तौलाले भने । सरकारको पक्षमा एकढिक्का भएर उभिने निष्कर्षसँग सत्तारुढ नेताहरुको बैठकमा संविधान संशोधनबारे पनि छलफल भएको छ । ‘संविधान संशोधन गर्ने कुरामा भ्रमहरु छरिएका छन् । दुई दलीय व्यवस्थामा सरकार लाग्यो भन्ने जस्ता भाष्य निर्माण गर्न खोजिएको छ’ प्रमुख सचेतक बर्तौलाले भने, ‘यस्ता भ्रम चिर्नेगरी अगाडि बढ्नेबारे छलफल भएको छ ।’

  • पारा ओलम्पिक सम्पन्न, चीन प्रथम स्थानमा

    पारा ओलम्पिक सम्पन्न, चीन प्रथम स्थानमा

    काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक समापन भएको छ । आइतबार राति अबेर पेरिसमा भव्य समापन समारोह आयोजना गरियो । समापन समारोहमा विश्व चर्चित कलाकारहरु र खेलाडीहरुले प्रस्तुती दिए । यस वर्षको पारालिम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले पहिलोपटक एउटा पदक जित्न सफल भयो । तेक्वान्दोको के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशा गोबर्धनले कांस्य पदक जितिन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

    पदक तालिकामा पहिलो स्थान चीनको रह्यो । चीनले ९४ स्वर्ण, ७५ रजत र ५० कांस्यसहित कुल २१९ पदक जित्न सफल भयो । दोस्रो भएको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्यसहित कुल १२४ पदक जित्यो । अमेरिकाले ३६ स्वर्ण, ४२ रजत र २७ कांस्यसहित १०५ र नेदरल्याण्ड्सले २७ स्वर्ण, १७ रजत र १२ कांस्यससहित ५६ पदक जितेर क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।

    यसैगरी क्रमशः ब्राजिल, इटली, युक्रेन, फ्रान्स, अष्ट्रेलिया र जापान क्रमशः टप टेनमा स्थान बनाउन सफल भए । नेपाल ७९औं स्थानमा रहेको छ । यही स्थानमा पाकिस्तान, भियतनाम, मोरिसस, मोन्टेनेग्रो, लक्जम्बर्ग र लिथुआनिया पनि छन् ।

  • भारतमा चट्याङ्ग लागेर ७ जनाको मृत्यु

    भारतमा चट्याङ्ग लागेर ७ जनाको मृत्यु

    काठमाडौं । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन् छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको ज्यान गएको र कैयौँ घाइते भएका पुष्टि गरेका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको जानकारी दिएका छन् ।

    मुख्यमन्त्रीले मृतकका परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । हरेक वर्ष मनसुनको समयमा भारतमा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।

  • सत्ता साझेदार दलका शीर्ष नेताको बैठक आज बस्दै

    सत्ता साझेदार दलका शीर्ष नेताको बैठक आज बस्दै

    काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सोमबार बस्दैछ। सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। आज बस्न लागेको बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो। छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको छ।
    त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो। त्यसैमा टेकेर ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्।

  • सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र, गुनासो भए सेवाग्राहीले फोन गरेर उजुरी गर्न सक्ने

    सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र, गुनासो भए सेवाग्राहीले फोन गरेर उजुरी गर्न सक्ने

    काठमाडौं । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । १२ पुस २०८० को मन्त्रिपरिषदको निर्णयअनुसार २९ माघ २०८०मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा सयम तोकेकाले त्यसअनुसासर नै गर्न पत्रमा भनिएको छ ।


    मन्त्रिपरिषदको निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचनापाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बिन्धकत कार्याएलय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ । पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रालय र अन्तरगतका निकायमा तोकिएअनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।

    सरकारले सार्वजनिक विदाबारे हरेक वर्ष प्रकाशित गर्ने राजपत्रमा यसअघि सरकारी कार्यालयको सेवामा बाधा नपर्ने गरी आलोपालो मिलाएर सम्बन्धित कार्यालयले आधा घण्टाका लागि खाजा समय तोक्ने व्यवस्था गर्थ्यो । तर, गतवर्षदेखि सरकारले १ः३० देखि २ः ०० बजेसम्म खाजा समय उल्लेख गरेपनि आलोपालो मिलाउने कुरा उल्लेख गरेन । यसकै कारण सरकारी कार्यालयहरुले खाजा समयमा कर्मचारीहरुबीच आलोपालो मिलाउनेतर्फ ध्यान दिएका छैनन् ।

  • ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

    जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजनमा मैंत्रीपूण फुटबल आयोजना गर्न लागिएको आईतबार काठाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


    हिँउ चितुवाले हिमालको पारिस्थतिक प्रणालीलाइ सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने मात्र नभई हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकोले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक तथा संरक्षणविद डा.पारसविक्रम सिंहले जानकारी दिए ।

    संस्थाले गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङ्गका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटि टिम हिमालयन स्नो लिवपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु) र स्थानिय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याक (स्थानिय युवाहरु) विच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।


    नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टीमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

  • पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान

    पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले गर्यो ५ लाख नगदसहित सम्मान

    काठमाडौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पारा तेक्वान्दो खेलाडी खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन्।

    पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।

    यस्तै खेलाडी भरतसिंह महतालाई ५० हजार र प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले पारालिम्पिकमा पहिलो पटक नेपाललाई कास्य पदक जिताएकोमा खेलाडीहरूलाई बधाई दिएका थिए।

  • नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति

    नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् ।

    ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’, उनले भनेका छन्, ‘तपाइँको लागि हामी छँदै छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि ।’

    मेयर बालेनले खोला किनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएकोसमेत स्पष्ट पारेका छन् । ‘खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्न’, उनले भनेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’

    नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै आएको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेले माग गरेको छ ।

  • नेपाल पर्यटन बोर्डका सीइओ जोशीले सम्हाले कार्यभार

    नेपाल पर्यटन बोर्डका सीइओ जोशीले सम्हाले कार्यभार

    काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम गर्ने बताए । पदभार ग्रहणपछि उनले भने, ‘चुनौती धेरै छन्, यसैलाई अवसर मानेर काम गर्नेछु ।’ बोर्डको आन्तरिक व्यवस्थापनमा धेरै समस्या आइसकेको सुनेको भन्दै त्यसलाई सच्याउँदै आक्रामक पर्यटन प्रवर्द्धनमा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको उनले बताए ।

    होटलररिसोर्टमा निरन्तर लगानी बढे पनि त्यसका लागि आवश्यक पर्यटक आगमन नभएको भन्दै उनले यसमा धेरै काम गर्नुपर्ने देखिएको बताए । सरकार र निजी क्षेत्रबीच समन्वय गरी सार्वजनिक–निजी–साझेदारी मोडलको असली अभ्यासलाई पुनः सक्रिय गराउने उनले बताए । उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास लगायत कार्य प्राथमिकतामा रहने बताए ।

    कुनै पूर्वाग्रह नराखी काम गर्ने भन्दै उनले नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए । बोर्ड कार्यकारी समितिको २० भदौमा बसेको बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।

  • प्रेमिकाको हत्या गरी सुन्दरीजलमा फालेको आरोपमा दुई पक्राउ

    प्रेमिकाको हत्या गरी सुन्दरीजलमा फालेको आरोपमा दुई पक्राउ

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीले बताएको छ । टाउकोमा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको थियो ।

    गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले बोक्सेदहको ढुंगाको कापमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान टोली खटिएको थियो । प्रहरी घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको थियो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा छन् ।

    प्रहरीका अनुसार प्रेमी रामविनय जुत्ता सिलाउने काम गर्थे भने प्रेमिका राम दुलारी ज्याला मजदुरीको काम गर्थिन् । उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर आपसी असमझदारीका कारण उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो ।

    त्यसपछि सन्तोषसँग मिलेर रामविनयले हत्याको योजना बनाएको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । योजनाअनुसार नै रामविनयले प्रेमिका राम दुलारीलाई घुम्न भनेर सुन्दरीजल लगेका थिए । त्यसपछि सन्तोषको सहयोगमा रामदुलारीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । ‘

  • चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन

    चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन


    काठमाडौ । दशै, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ ।


    चाडपर्वको समयमा काठमाडौबाट बाहिरिने यात्रुको चाप अत्याधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले त्यसको नियन्त्रणका मन्त्रालयले अग्रसरता लिएको हो ।

    आईतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरुबिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व शुरु हुनु अघिनै सडकका खाल्डाखुल्टीहरु तत्काल पुरि सक्न निर्देशन दिए ।

    जोखिम रहेका स्थानहरुमा सडक सुरक्षाका पूर्वाधारहरु निर्माण र मर्मत गर्न निर्देशन दिनु हुँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।


    सडक सुरक्षाको दिर्घकालिन व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उहाँले सडक सुरक्षा परिषदलाई क्रियाशिल र प्रभावकारी बनाईने समेत बताए । सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरु विच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिए ।
    मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरु नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्युनिकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । लामो दुरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन समेत उहाँले जोड दिए ।

  • हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने

    हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय  छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५ औं दिनको पुण्य तिथिको सन्दर्भमा आईतवार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै मन्त्री पाण्डेले उक्त कुरा  बताएका हुन ।
    मन्त्री पाण्डेले भने, हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई  कम्पायल गरेर, एकिकृत गरेर एक ठाउँमा राख्नु पर्ने छ ।” उनले अगाडि भने, नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानवीन समिति बनाउने छौं । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ।”

    उनले  सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भईसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य,तथ्य नजिक पुगेको बताए ।  मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरि ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको बताए । उनले  उक्त विधेयक मन्त्रिपरिषद मार्फत संसदमा पेश गरिने विश्वास दिलाए ।

    उनले  दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताउँदै हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरि  परिमार्जन गरिने बताए ।

  • चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

    चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा


    काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।


    रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरु भइरहेका छन् ।
    प्रसारण लाइन निर्माणका बाँकी कामहरु सम्पन्न गरी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०÷१३२÷३३ केभीका चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।
    प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिकहरु परिचालित छन् ।
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दशैंअघि नै काम सक्ने समयसीमा तय गरेको छ ।
    आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन आग्रह गर्दै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ । टोलीले अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको अनुगमनसमेत गरेको थियो ।
    प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ । दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दवावमा प्राधिकरण छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए । ‘यो लाइन बन्न नसक्दा दुई जलविद्युत आयोजनाहरुले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्, विकट भौगालिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, बाँकी काम सम्पन्न गर्न सबैले अन्तिम प्रयास गरौं र दशैं अगाडि जसरी पनि निर्माण सम्पन्न गरौं’,घिसिङले भने ।


    उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मि. लम्बाइमा तार तान्नु पर्ने छ । मैलुङखोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने छ । मैलुङ क्रसिङका लागि लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
    भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभाव पर्दै आएको छ ।
    प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ ।

    आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ ।
    खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरु ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको छ । २ वटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ ।
    प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।


    कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।
    प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।

  • जाजरकोटमा पहिरो जाँदा दम्पत्ति बेपत्ता

    जाजरकोटमा पहिरो जाँदा दम्पत्ति बेपत्ता

    काठमाडौं । जाजरकोटमा गत रात पहिरोमा पुरिएर एक दम्पत्ति बेपत्ता भएका छन् । एक बालिका गम्भीर घाइते छिन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको प्रहरीले बताएको छ ।

    जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएका हुन् ।

    घटनास्थल वाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको उनलाई उदृत गर्दै गोरखापत्रले लेखेको छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए ।

  • पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग

    पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग

    काठमाडौं । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।

    गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

  • ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व

    ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व

    काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

    हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले जानी नजानी गरिएको पापबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

    आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको प्रा डा भट्टराईले बताए । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

    ऋषिपञ्चमीको अवसरमा आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ १७ र बिक्रीदर १०३ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

    यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १० पैसा र बिक्रीदर १३ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

  • भारतको मणिपुर पुनः अशान्त, कारण के हो ?

    भारतको मणिपुर पुनः अशान्त, कारण के हो ?

    काठमाडौं । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ ।

    शुक्रबार एक विद्रोही समूहले मणिपुरको बिष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपनि जवाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

    मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरे पछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ ।

    मेइतेई र कुकी समुदायहरूबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् । रासस

  • डढेकोको चपेटामा जर्मनी, के छ अवस्था ?

    डढेकोको चपेटामा जर्मनी, के छ अवस्था ?

    काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो । स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्नि नियन्त्रक, विमान र हेलिकोप्टरहरू तैनाथ गरिएको छ र वरपरको क्षेत्र बन्द गरिएको छ ।

    शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्नि नियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन वटा विमान र अर्को हेलिकोप्टर पनि यस प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ । अधिकारीले भने, “थप विमानका लागि अनुरोध गरिएको छ । अग्नि नियन्त्रकहरूले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।”

    पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ र शुक्रबार दिउँसो बसमार्फत ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ । सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जङ्गलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपत्कालीन अवस्थाको घोषणा गरी सयौँ अग्नि नियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए ।

    अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ । वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी सङ्कटको सामना गरिरहेका छन् । रासस-एएफपी

  • नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी

    नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी

    काठमाडौं । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड स्टार नवाजुद्दिन सिद्दिकी काठमाडौं आइपुगेका छन् । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    काठमाडौं एयरपोर्टमा पनि सामान्य यात्रुजस्तै गरी प्रस्तुत भएका थिए । फ्यानहरुले उनलाई घेरेका थिए । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाली फिल्म र मेकरको प्रशंसा गरेका छन् । अभिनेता सिद्दिकी पहिलोपटक नेपाल आएका हुन् ।

  • केन्यामा विद्यालयमा आगलागी, कम्तिमा १७ जना मारिए

    केन्यामा विद्यालयमा आगलागी, कम्तिमा १७ जना मारिए

    काठमाडौं । केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यकेन्याको न्येरी काउन्टीमा बिहीवार राति भएको उक्त घटनामा परेर गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
    केन्याका राष्ट्रपति विलिअम रुटोले भयङ्करू र विनाशकारी घटना भएको भन्दै छानबिन गर्न आदेश दिएका छन्। आगलागीको कारण स्पष्ट भइसकेको छैन। त्यसबारे छानबिन भइरहेको प्रहरीकी प्रवक्ता रेसिला ओन्याङ्गोले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्। जो जिम्मेदार छन्, उनीहरूलाई जबाहदेही बनाइन्छ,ू रुटोले सामाजिक सञ्जाल, एक्सुमा लेखेका छन्।

    प्रहरीका अनुसार अनुसन्धान गर्न घटनास्थलमा एउटा टोली पुगिसकेको छ। केन्या रेड क्रसले विद्यार्थी, शिक्षक र प्रभावित परिवारहरूलाई आफूले मनोसामाजिक सहयोग दिने जनाएको छ। सहयोग आवश्यक पर्ने व्यक्तिहरू पहिचान गर्न उक्त संस्थाले सो विद्यालयमा एउटा टोली खटाएको छ। सन् २०१७ मा केन्याको राजधानी नाइरोबीमा छात्राहरू मात्र पढ्ने एउटा विद्यालयमा आगजनीको घटना हुँदा १० विद्यार्थीको जलेर मृत्यु भएको थियो।

  • नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट गैंडाकोट११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् । घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।

  • फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका(३ फिस्लिङ नजिकै सुख्खा पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो । बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक विभागसँग समन्वय गरी खुलाउने प्रयास थालिएको प्रहरीले जनाएको छ ।

  • फेसबुकले हटाएको काठमाडौंका मेयर बालेनको पोष्ट फिर्ता

    फेसबुकले हटाएको काठमाडौंका मेयर बालेनको पोष्ट फिर्ता

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले एमालेकी प्रदेश सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि हटाएको थियो ।

    फेसबुकले साहबाट ह्यारेसमेन्ट र बुलिइङ समेत भएकाले हटाइएको सूचना पठाएको थियो । साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए । त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।

    सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो । ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो । शुक्रबार अपराह्न फेसबुकले उक्त पोस्ट फेरि प्रकाशित भएको खुलाउँदै सूचना पठाएको छ ।

  • काठमाडौं महानगरपालिकामा सुरु भयो एकल सेवा केन्द्र प्रणाली

    काठमाडौं महानगरपालिकामा सुरु भयो एकल सेवा केन्द्र प्रणाली

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ । काठमाडौं प्लाजास्थित कार्यालयको ब्लक ‘क’को भुइँ तलाबाट एकल सेवा सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले बताए । प्रमुख प्रशासकीय अधिकृत परियारका अनुसार महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यसकेन्द्रमा आएर टोकन लिनु पर्ने र त्यसैका आधारमा सेवा प्राप्त हुने विद्युतीय प्रक्रिया अगाडि बढ्ने छ।

    यो सेवा केन्द्रबाट आज वडा नम्बर ५ बाट विपन्न नागरिक सिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन आएका ३२ नम्बर वडाका समिर नेपाललाई टोकन प्रदान गरेर सुरु गरेको हो । उपप्रमुख सुनिता डंगोलका अनुसार केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितको योजना रहेको छ । महानगरपालिकाले गत साउनमा सेवाग्राही सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा व्यक्त गरेपछि यो सेवा सुरु भएको हो ।

    ‘महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन,’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने। केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ ।

    महानगरका स्वास्थ्य विभागका प्रमुख दिपक के। सीका अनुसार सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनु पर्ने अवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’ निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफी केन्द्रका सुविधा हुन् ।

    एकल सेवा केन्द्रबाट पाइने सुविधाहरू

    एकल सेवा केन्द्र सञ्चालन कार्यविधि अनुसार सेवाग्राहीलाई माग भएबमोजिमका सेवाका विषयमा जानकारी प्रदान गरिनेछ । आवश्यकता अनुसार परामर्श र सेवामा सहजीकरण गरिने महनगरले जनाएको छ ।

    कसरी लिने सेवा ?

    महानगरको सेवा माग गर्ने व्यक्ति वा संस्थाको विद्युतीय अभिलेखबाट दर्ता नम्बर सिर्जना गरिनेछ । लिखित रुपमा सेवा माग गरिएको भए सोको पहिलो पाना स्क्यान गरेर विद्युतीय माध्यमबाट सम्बन्धित विभागमा पठाइनेछ । यसरी विद्युतीय माध्यमबाट पठाइएका सक्कल कागजपत्र विभागमा पठाइनेछ ।

    यसरी पठाइएको विभागका बारेमा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । अति गोप्य र गोप्य भनेर आएका मागका सन्दर्भमा बाहिरी विषयलाई अभिलेख गरेर सम्बन्धित विभागमा पठाइनेछ ।

    सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेब पेजबाट हेर्न सक्नेछन् ।

  • नेपालमा चल्न थाल्यो टिकटक

    नेपालमा चल्न थाल्यो टिकटक

    काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।

    टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।

    टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो । टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ ।

    २७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएकै बेलादेखि टिकटकले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न पटक–पटक निवेदन दिएको थियो । चीन सरकारले पनि सरकारमाथि प्रतिबन्ध खोल्न दबाब बढाएको थियो । कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि टिकटकको प्रतिबन्ध हटाउन छलफल सुरु भएको थियो ।

    मन्त्रिपरिषदले सशर्त प्रतिबन्ध खोल्ने निर्णय गरेपनि टिकटकसँग शर्तहरुबारे छलफल भएर सहमति नभएकाले बिहीबार मात्रै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको थियो । मन्त्रालयले पत्र लेखेपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएर प्रतिबन्ध हटाउने निर्णय कार्यान्वयन गरेको छ ।

    सरकारले निर्णय गरेलगत्तै मोफसलका साना शहरहरु र ग्रामीण भेगमा सेवा दिने इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक चल्न दिइसकेका छन् । तर, काठमाडौं, पोखरा लगायतका मुख्य सहरहरुका कतिपय इन्टरनेट सेवा प्रदायकको सेवामा टिकटक प्रतिबन्ध कायम थियो । अब सबैतिर टिकटक चल्न थालेको छ ।