Category: समाचार

  • संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे

    संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।

    हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रका को स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताएका हुन् ।

    मन्त्री पाण्डेले भने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो।

    उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथकाे दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यबस्थापनका बारेमा बुझे । भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुसी ब्यक्त गरे । पशुपति क्षेत्र विकास कोषले लाईन नै बस्न नपर्ने गरि छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै मुक्त कण्ठले प्रशंसा समेत गरे ।
    उनले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्र्र्याउनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले हरितालिका तीजको देश तथा विदेशमा बस्ने महिला दिदीबहिनीहरूलाई शुभकामना समेत दिए ।

  • पूर्वपरामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार

    पूर्वपरामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार

    काठमाडौं । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ।


    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए ।


    अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बहुवर्षिय ठेक्का सहमति माग गर्नु अघि उच्च प्राथमिकताको तत्काल नतिजा देखिने तथा तुलनात्मक रुपमा बढी रकम विनियोजन भएका आयोजनाहरूको सुची तयार पारी प्राथमिकीकरण गर्न आग्रह गरेको छ ।
    यसैगरी गत आर्थिक वर्षमा बहुवर्षिय खरिद प्रकृयामा गइ आगामी वर्षमा भुक्तानी दायित्व सिर्जना हुने आयोजना र दायित्वको रकमको विवरण समेत अद्यावधिक गरी उपलब्ध गराउन आग्रह गरेको छ ।


    पत्राचारमा आगामी आर्थिक वर्षका लागि मध्यमकालीन खर्च संरचना अन्तर्गत कति प्रतिशत रकम बहुवर्षिय दायित्वमा रहने हो त्यसको एकिन गरी निर्णय गर्नुपर्ने उल्लेख छ ।
    अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा आयोजना सम्पन्न भएको, बजेट विनियोजन भएको रकम फ्रिज भएको वा अर्थ मन्त्रालमा रकमान्तर माग गरेकोमा निर्णय हुन नसकेको, चालु आर्थिक वर्षमा उक्त आयोजना तथा कार्यक्रम समावेश नभएको कारणले भुक्तानी दायित्व बाँकी रहेको विवरण र त्यसको व्यस्थापन गर्न सकिने स्रोतको विवरण तयार पारी उपलब्ध गराउन पनि आग्रह गरेको छ ।


    चालु आर्थिक वर्षको बजेटमा समावेश भएका आयोजना, कार्यक्रम तथा क्रियाकलापमा बजेट नपुग भएकोमा स्रोत सुनिश्चतता वा थप निकासका लागि अनुरोध गर्दा मन्त्रालय मातहतकै विनियोजनबाट रकमान्तर गरी स्रोत व्यवस्थापन गर्ने विकल्पसहित पठाउन समेत आग्रह गरेको छ ।


    त्यसैगरी चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम बजेटमा समावेश भएका आयोजना तथा कार्यक्रम मध्ये पूर्व तयारी पूरा नभएका, तत्काल कार्यान्वयनमा लैजान सम्भव नभएका, लागतको तुलनामा अतिकम बजेट विनियोजन भएका कारण खर्च प्रभावकारी नहुने प्रकृतिका आयोजना तथा कार्यक्रम पहिचान गरी तिनीहरूको कार्यान्वयन तत्कालका लागि स्थगित गरिएको विवरण उपलब्ध गराउन पनि पत्राचार गरेको छ ।
    अर्थ मन्त्रालयले आर्थिक वर्षको बजेट कार्यान्वयन मार्ग दर्शनको बुँदा नं. ५० बमोजिम भुक्तानी भएको रकम र सो अनुरुप भुक्तानी गर्न अपुग हुने रकमको विवरणका साथै त्यसरी गत आर्थिक वर्षको दायित्व भुक्तानी गरेको कारण चालु आर्थिक वर्षमा सोही आयोजनालाई थप आवश्यक पर्ने बजेट र सो व्यवस्थापन गर्न रकमान्तर गर्न सकिने स्रोतको विवरण उपलब्ध गराउन पनि पत्राचार गरेको छ ।

  • एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको भ्यालू कति ?

    एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको भ्यालू कति ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ। टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो। जसमा कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको छ।

    यस्तै नेपाल टी–२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँमा स्वामित्व लिएको छ। टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको छ। फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको छ।

    यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई लिएको छ। जनकपुरका लागि २ करोड ५ लाख रूपैयाँ रकम दिइएको छ। यस्तै एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको छ। टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख रूपैयाँ लिर्ने भएको छ। टीम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको छ।

    एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफैँ आयोजना गर्न लागेको हो। यसअघि क्यानले दुई वर्षअघि नेपाल टी-२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो। तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो। अब क्यानले लिगको टोली घोषणा गरेसँगै खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ।

  • चाडबाडमा किसानले पाउने भए दुधको भुक्तानी

    चाडबाडमा किसानले पाउने भए दुधको भुक्तानी

    काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्न सर्तसहित ६० करोड रूपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवालयका अनुसार आफ्नो पहलमा अर्थ मन्त्रालयले भदौ १७ गते सर्त सहित ऋणका लागि सहमति दिएको थियो जुन बिहीबार बैठकले स्वीकृत गरेको हो।

    डिडिसीले यो रकम किसानको बक्यौता भुक्तानीमा प्रयोग गर्नुपर्नेछ। त्यस्तै पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख रूपैयाँ, प्रशिक्षकलाई टिम व्यवस्थापनका लागि पाँच लाख ८५ हजार रूपैयाँ र पुरस्कार दुई लाख ९२ हजार रूपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूले बाँकी निर्णय भने शुक्रबार तीन बजे सार्वजनिक गरिने बताए।

  • आज देशैंभर झरी लाग्दै, तीजमा सास्ती

    आज देशैंभर झरी लाग्दै, तीजमा सास्ती

    काठमाडौं । आज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक वर्षाले खतराको संकेत गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै एसएमएसमार्फत् सूचना पठाइएको छ ।

    पश्चिम राप्तीको जलाधार क्षेत्र प्युठानको लुङ्ग्री र नारायणी नदीको जलाधार क्षेत्र बागलुङको मंगलघाट केन्द्रमा बाढीको स्तर चेतावनीको तहसम्म पुगेको छ । आज बिहान दुई बजे रुपन्देहीस्थित तिनाउ नदी जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको थियो । यसैगरी कपिलवस्तुस्थित कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा पनि बाढी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने बादल लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा केन्द्रित भएकाले त्यहाँ मध्यमदेखि वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भाना रहेको जनाएको छ । आज राति भने गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । निरन्तर पानी परिरहँदा माटो कमलो हुने भएकाले पहिरो र कटानको जोखिम हुने हुँदा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

  • आज तीज पर्व, देशभर मनाईदैं

    आज तीज पर्व, देशभर मनाईदैं

    काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

    तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्याय बताउँछन् । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाइ छ ।

    अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधानसमेत छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

    यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।

    बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

  • बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता

    बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता

    काठमाडौं । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् ।

    कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । बेपत्ता कमलको खोजी भइरहेको छ ।

  • नेपाल पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

    नेपाल पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

    काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् ।

    २० मध्ये तीन प्रतिस्पर्धीको सूचीमा जोशी परेका थिए । निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए । जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईआको जिम्मेवारी पूरा गरेका थिए । जोशी चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् ।


    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले जोशीको नाम दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

  • चाइना साउदर्न पोखरा र भेरहवामा उडान गर्न इच्छुक

    चाइना साउदर्न पोखरा र भेरहवामा उडान गर्न इच्छुक

    काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न तयार रहेको जानकारी गराएका छन् । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेट्दै चाइना साउदर्नका प्रतिनिधिले यस्तो जानकारी गराएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डे समक्ष पोखरा र भैरहवामा उडान गर्न उत्साहित रहेको बताएका हुन् ।

    ४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चिनियाँ सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ । प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई प्रशंसा गरेको समेत मन्त्रालयले जनाएको छ ।

    चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जानकारी गराएपछि मन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडानका लागि सरकारले स्वागत गर्ने बताए ।

    यसबाट द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारमा फाइदा पुग्ने उनको भनाइ छ । यस उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने उनको भनाइ छ ।
    मन्त्री पाण्डेले नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चाइना साउदर्न एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिन सक्ने बताए ।

  • माओवादी अध्यक्षसँग एमाले नेताहरुको भेटको कारण के हो ?

    माओवादी अध्यक्षसँग एमाले नेताहरुको भेटको कारण के हो ?

    काठमाडौं । नकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले जनाएका छन् ।

    भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले बताएको उल्लेख गरेका छन् । यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए ।

  • ४९२ कैदीको कैद कट्टामा उजुरी भए ७ दिन भित्र दिन सकिने

    ४९२ कैदीको कैद कट्टामा उजुरी भए ७ दिन भित्र दिन सकिने

    काठमाडौं । विभिन्न कसुरमा कैदमा रहेका ४९२ कैदीबन्दीको कैद कट्टाका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने सूचना निकालेको हो ।

    कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो तथा उजुरी भए ७ दिनभित्र दिन विभागले सूचना जारी गरेको छ । जसमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनभन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ४९२ जनाको नाम रहेको छ ।

    फौजदारी संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएको घटनामा ४० प्रतिशत कैद भुक्तान पछि बाँकी कैद कट्टा गर्न सकिने व्यवस्था छ । त्यसअघि ९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि ४९२ जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको छ ।

    १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएका थिए । तर यस वर्ष गणतन्त्र दिवशमा कैदी रिहा भएका छैनन् । कैद कट्टासम्बन्धी नियमावली २०७६ संशोधन नभएकाले ६२० जनाको सूचना ढिलो निकालिएको थियो । यसअघिसम्म कैदीबन्दी रिहा गर्दा उनीहरुविरुद्ध उजुरी आह्वान गर्ने र पीडितको सहमति लिने प्रचलन थिएन । तर व्यक्ति हत्यामा सजाय भुक्तान गरिरहेका बाँकेका योगराज ढकाल (रिगल) रिहा भएपछि पीडित पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    उक्त रिटको सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको पूर्ण इजलासले १६ कात्तिक २०८० मा पीडितको हक संरक्षित हुने गरी, सहमति तथा मञ्जुरीसमेत लिई पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरेर मात्र कैदी रिहा गर्नुपर्ने फैसला गरेको थियो ।

    त्यस्तै सर्वोच्च अदालतबाट विगतमा भएका आदेश, प्रतिपादित नजिरसहित कानुनमा उल्लेख भएका शर्तहरुको अनुशरण गरेर सार्वजनिक हित, चासो र सरोकारका विषय समेत विचार गरेर कैद छुट तथा मिनाहा गर्नुपर्ने सर्वोच्चको फैसला छ । सर्वोच्चको यो फैसलापछि कैद कट्टासम्बन्धी नियमावली २०७६ संशोधन गरेर कैद कट्टा गर्न लागेका कैदीहरुले पीडितको मञ्जुरी लिनुपर्ने व्यवस्था राखिएको छ ।

  • अमेरिकी न्यूयोर्क राज्यका गभर्नरकी सहयोगी पक्राउ, चिनियाँ एजेण्ट भएको आरोप

    अमेरिकी न्यूयोर्क राज्यका गभर्नरकी सहयोगी पक्राउ, चिनियाँ एजेण्ट भएको आरोप

    काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर क्याथी होकलकी पूर्ववरिष्ठ सहयोगी लिन्डा सनलाई फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले चिनियाँ एजेन्ट भएको आरोपमा मंगलबार पक्राउ गरेको छ। चीनमा जन्मेर अमेरिकाको अंगिकृत नागरिकता लिएकी ४० वर्षीया लिन्डाले १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी थिइन्। गभर्नर होकल र उनी अघिका गभर्नर एन्ड्रयु कोमोसँग नजिक रहेर काम गरेकी लिन्डालाई एजेन्टका रूपमा चिनियाँ स्वार्थका लागि काम गरेको भनेर संघीय अभियोजनकर्ताले दर्ता गरेको अभियोगपत्रमा आरोप लगाइएको छ।

    त्यसको बदलामा लिन्डा र उनका व्यापारी श्रीमान क्रिस्टोफर हुले चीनबाट दसौं लाख डलर पैसा, भ्रमण लाभ, विभिन्न कार्यक्रमका टिकट र पटक पटक विशेष प्रकारले पकाइएको हाँसको मासु लगायत फाइदा लिएको अभियोगपत्रमा दाबी गरिएको छ। भिसा ठगी, सम्पत्ति शुद्धीकरण र अन्य अपराधमा उनीविरूद्ध १० वटा फौजदारी अभियोग लगाइएको छ। उनका श्रीमानलाई सम्पत्ति शुद्धीकरणको मात्रै अभियोग लगाइएको द न्यूयोर्क टाइम्समा उल्लेख छ।

    चिनियाँ सरकारी अधिकारीहरूलाई अमेरिका भ्रमण गर्न र न्यूयोर्कमा राज्यका अधिकारीहरूसँग भेट सजिलो बनाउन गभर्नर कार्यालयबाट लिन्डाले अनधिकृत निमन्त्रणा पत्र उपलब्ध गराएको आरोप छ। गभर्नर लगायत राज्य सरकारका अधिकारीहरूसँग ताइवानका अधिकारीहरूलाई भेट्न नदिएको समेत आरोप लगाइएको उल्लेख छ। ६५ पृष्ठको अभियोगपत्रमा लिन्डाले कुन कुन मितिमा चीनलाई फाइदा पुर्‍याउन के के गरिन् भन्ने मात्रै उल्लेख छैन। अभियोगपत्रमा विशेष तरिकाले पकाइएको हाँसको मासु कहिले(कहिले पाएकी थिइन् भन्ने समेत विस्तृत रूपमा वर्णन गरिएको छ।

    सन् २०१९ मा ताइवानकी तत्कालीन राष्ट्रपति साइ इंग(वेनले न्यूयोर्क राज्यको भ्रमण गरेकी थिइन्। चीनले व्यापक विरोध गरेको सो भ्रमणमा ताइवानले आयोजना गरेको भोजमा तत्कालीन गभर्नर कोमोलाई पठाइएको निम्ता लिन्डाले कोमोसम्म पुग्नै नदिएको आरोप लगाइएको छ। मैले रोकिसकेँ भनेर त्यसबारे उनले एक चिनियाँ अधिकारीलाई लेखेको समेत अभियोगपत्रमा भनिएको छ। त्यस्तै, २०२१ मा सार्वजनिक सम्बोधन गर्दा गभर्नर होकलले बोल्ने विषय प्रभावित गरेर उनलाई चीनको सिनजियाङ प्रान्तका वीगरले भोगेको उत्पीडनबारे बोल्न रोकेको दाबी गरिएको छ।

    १४ वर्षे सेवा अवधिमा तरक्की गर्दै लिन्डा सन् २०२१ मा वर्तमान गभर्नर होकलको डेपुटी चिफ अफ स्टाफ भएकी थिइन्। सन् २०२३ मार्चमा खराब आचरणका कारण उनलाई पदमुक्त गरिएको थियो। तर पनि उनी राज्य सरकारकी अधिकारी रहिरहेको भन्दै केही महिनासम्म सार्वजनिक कार्यक्रममा सामेल भइरहेकी थिइन्। पछि अगस्टमा सरकारले त्यस्तो कार्य बन्द गर्नू भनेर पत्र लेखेपछि मात्रै उनले त्यस्ता गतिविधि बन्द गरेको आरोप उनीमाथि छ।

    लिन्डाले भने सबै आरोपहरू गलत भएको दाबी गरेकी छन्। चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले यस मुद्दाबारे विस्तृतमा जानकारी नभएको बताएका छन्। तर पछिल्ला वर्षहरूमा अमेरिकी सरकार र मिडियाले बारम्बार तथाकथित चिनियाँ एजेन्ट का कुरा उछालेको र तीमध्ये धेरै आरोप पछि गलत साबित भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

  • हरितालिका तीज : आज दर खाने दिन

    हरितालिका तीज : आज दर खाने दिन

    काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ ।

    दर खाने दिन परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरूलाई आमन्त्रित गरिन्छ । सबैजना एक ठाउँमा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । तीज र दर खाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् ।

    शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको हो ।

    ज्योतिषाचार्य एवम् वास्तुविद् पण्डित नारायणप्रसाद दुलालका अनुसार धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाकै दिन दर खाई तृतीयामा व्रत तथा पूजाको प्रभावले महादेव स्वामी पाएको विश्वास छ । ‘त्यसैले दर खाने दिनले सामाजिक, सांस्कृतिक, र धार्मिक दृष्टिकोणले विशेष महत्त्व राख्दछ,’ उनले भने ।

    तीजको दिन भोले बाबाको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रुपमा व्रतालुको ध्यान भोक र भोजनतिर जाने भएकोले पूर्ण ध्यान भगवानमा मात्र जाओस् भन्ने उद्देश्यले अघिल्लै दिन खाइने पौष्टिकताले भरिपूर्ण दरिलो परिकार भोजन गर्ने चलन छ । परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरू सबैजना एक ठाउँमा भेला भएर विशेष रूपमा गीतसङ्गीत, नृत्य र भजनकीर्तनको पनि आयोजना गरिन्छ । यो दिन पारिवारिक वातावरणलाई अझ रमाइलो बनाउँछ । यो समयमा परम्परागत गीतहरू पनि गाइन्छन् जसमा दुःख, सुख र भावनाहरू व्यक्त हुन्छन् ।

    तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले योग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाहरूले दरका रूपमा खीर, पुरी, तरकारी, सेल रोटी, मिठाइहरू आदि बनाउने परम्परा पनि छ ।

    स्थान अनुसार दरखाने परिकारहरू फरक(फरक छन् । त्यस्तै आधुनिकतासँगै परिकारहरूमा पनि फरक आउन थालेको देखिन्छ । हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गर्दछन् ।

  • आज कहाँ-कस्तो रहनेछ मौसम ?

    आज कहाँ-कस्तो रहनेछ मौसम ?

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एकट्ठदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


    ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सन् २००३ यता पहिलो पटक मेसी र रोनाल्डो बीना बालोन डे’ओर

    सन् २००३ यता पहिलो पटक मेसी र रोनाल्डो बीना बालोन डे’ओर

    काठमाडौं । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ ।
    फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो ।

    मनोनयनमा विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै सन् २००३ पछि पहिलो पटक अटाउन सकेनन् । मेसीले सर्वाधिक ८ पटक बालोन डे’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् ।

    पुरुष वर्ष खेलाडीतर्फ जुड बेलिङघम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, टोनि क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, ह्यारी केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर, अलेजान्द्रद्य ग्रिमाल्डो ३० जनाको मनोनयनमा परेका छन् ।

    यस्तै महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् । जसमा अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्स लगायत खेलाडी छन् । यसैगरी उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा छन् ।

    उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा छन् । उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ जाबी अलोन्सो, कार्लो एन्सेलोट्टी, लुइस डे ला फुएन्टे, लियोनल स्कालोनी, पेप ग्वार्डिओला र जियान पिएरो गास्पेरिनी मनोनयनमा छन् ।

    महिलातर्फको प्रशिक्षकमा सोनिया बोम्वास्टोर, आर्थर एलियास, जोनाथन गिराल्डेज, एम्मा हायेस, फिलिपा पाटाओ, सारिना विएगमान मनोनयनमा छन् । यसैगरी वर्षको उत्कृष्ट क्लबतर्फ रियल मड्रिड, म्यानचेष्टर सिटी, बायर लेभरकुजन, बोरुसिया डर्टमण्ड र जिरोना मनोनयनमा छन् ।

  • धनुषामा पोखरीमा डुबेर  तीन बालकको मृत्यु

    धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

    काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए ।

    उनका अनुसार उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो । डुब्ने बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको प्रहरी निरीक्षक साहले बताए ।

    घटना साढे ७ बेजेतिर साँझको हो । तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सबै भोजमा व्यस्त रहेका बेला उनीहरु पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने वडाध्यक्ष गंगा साहले जानकारी दिए । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा

    पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।


    राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

    सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

    पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । बुधबार नै उनी स्वदेश फर्किएकी हुन् । उनीसहितको टोलीलाई आज नगर परिक्रमासहित स्वागत गरियो ।

  • दुई छोरीको हत्या गरी बेपत्ता महिला पक्राउ

    दुई छोरीको हत्या गरी बेपत्ता महिला पक्राउ

    काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी बेपत्ता महिलालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

    यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पना र एक वर्षीया आइङ्कालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ। दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा फेला पारेको थियो।

    प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा आज झापा जिल्ला विर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।


    आरोपित अस्मितालाई सञ्चारकर्मीको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताए । आरोपि अस्मिताले श्रीमानले आफूमाथि सधैँ कुटपिट गर्ने र मार्छु भन्ने गरेकाले रिसको झोकमा भदौ १४ साँझ १८ः३० बजे आफूले विष खाइ र छोरीलाई खुवाएकोमा छोरीको मृत्यु भएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन्। जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न चार दिनको म्याद गरिएको प्रहरीले जनाएको छ।

  • अमेरिकी नागरिकको हत्या अभियोगमा हमासका प्रमुख नेतामाथि मुद्दा

    अमेरिकी नागरिकको हत्या अभियोगमा हमासका प्रमुख नेतामाथि मुद्दा

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले याह्या सिन्वारसहित हमासका प्रमुख नेताहरूमाथि गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गराएको भन्दै मुद्दा चलाएको छ। अमेरिकाको कानुन मन्त्रालयले हमासका छ जनामाथि विभिन्न सातवटा अभियोग लगाइएको जनाएको छ।

    उनीहरूमाथि अमेरिकी नागरिकको हत्या, आतङ्कवादलाई आर्थिक सहयोग गरेको र विनाशकारी अस्त्रहरू प्रयोग गरेको लगायतका आरोप लगाइएको छ। यो फौजदारी मुद्दा हमासले केही दशकयता गरेको भनिएका आक्रमणहरू र झन्डै एक वर्षअघि दक्षिणी इजरेलमा भएको भीषण हमलासँग सम्बन्धित छ।

    अक्टोबर ७ को आक्रमणका नेतृत्वकर्ताहरूलाई उत्तरदायी बनाउने उद्देश्यले अमेरिकाले त्यस्तो कदम चालेको हो। अमेरिकाले मुद्दा चलाएकामध्ये तीन जनाको मृत्यु भइसकेको ठानिएको छ। सिन्वार गाजामा भूमिगत सुरुङभित्र लुकेर बसेको ठानिएको छ। मङ्गलवार एउटा भिडिओ वक्तव्यमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्लन्डले प्रतिवादीहरू “एक दशकदेखि अमेरिकी नागरिकहरूको हत्या गर्ने, अमेरिकाको सुरक्षामा जोखिम पुर्‍याउने र त्यसका लागि आर्थिक प्रबन्ध गर्ने” काममा संलग्न भएको दाबी गरे।

    प्रतिवादीहरूको समूहले ूइजरेललाई ध्वस्त पार्ने हमासको उक्त उद्देश्यका लागि सर्वसाधारण मानिसहरूको हत्या गर्ने कामको नेतृत्व पनि गरेकोू अमेरिकी आरोप छ। अमेरिकाले मुद्दा चलाएका अन्य हमास नेताहरूमा यो समूहका पूर्वनेता इस्माइल हानिया, सङ्गठनको सैन्य एकाइका उपनेता मार्वान ईसा, गाजाबाहिरको क्षेत्रमा उक्त समूहको नेतृत्व गर्ने खालिद मशालसहित मोहम्मद डेफ र अलि बराका छन्।

    उनीहरूमाथि लगाइएको अभियोगमा सार्वजनिक स्थानमा बम राखेर मानिसहरूको ज्यान लिएको, आतङ्कवादलाई आर्थिक जोहो गर्ने षड्यन्त्र गरेको र मानिसहरूको ज्यान जाने गरेर आतङ्कवादलाई सामान उपलब्ध गराएको जस्ता आरोप छन्। अमेरिकी कानुन मन्त्रालयको उजुरीमा प्रतिवादीहरू “फरार रहेको वा मृत्यु भइसकेको” उल्लेख छ।

  • गोदावरी खोलामा एक पुरुषको शव फेला

    गोदावरी खोलामा एक पुरुषको शव फेला

    काठमाडौं । ललितपुरको गोदावरी खोलामा एक पुरुषको शव भेटिएको छ । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित गोदावरी खोलामा पुरुषको शव भेटिएको हो । ती पुरुषको शव सनाखत हुन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

  • च्यासल पुलबाट हाम फालेकी युवती मकवापुरमा मृत फेला

    च्यासल पुलबाट हाम फालेकी युवती मकवापुरमा मृत फेला

    काठमाडौं । ललितपुर महानगरपालिका ९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ। १६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो। उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

    मृतकका आफन्तले शव सनाखत समेत गरिसकेको उनले बताए । च्यासलबाट बागमती नदीमा हामफालेकी युवती खोजी गर्ने क्रममा पुलमुनि अन्जली शर्मा, घर रुकुम मुसिकोट लेखिएको नोटसहितको झोला र मोबाइल भेटिएको थियो।

  • पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन

    पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन


    काठमाडौं । इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए ।

    “दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भने, “यहाँ पीडितहरूको उपचारका लागि प्राथमिक उपचार चौकी स्थापना गरिएको थियो, यो ठूलो नाटक हो ।”

    दुर्घटनामा कम्तीमा १३ आप्रवासीको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सामुद्रिक उद्धार अधिकारीले बताए ।

    समुद्रको उक्त क्षेत्रको निरीक्षण गर्ने फ्रान्सेली सामुद्रिक प्रान्तका प्रवक्ता एटिने बग्गियोले ‘१० भन्दा धेरै’ को मृत्यु भएको बताए ।  तर उनिसँग सही सङ्ख्या थिएन । प्रान्तले डुङ्गा ग्रिस–नेज विन्दुदेखि टाढा कठिनाइमा परेको बताएको छ ।

    बग्गियो र मेयर दुवैले उद्धारकर्मीहरूले ६१ आप्रवासीलाई पानीबाट उद्धार गरेको बताउनुभयो । उत्तरी फ्रान्समा समुद्रको तापक्रम करिब २० डिग्री सेल्सियस अर्थात करिब ६८ फरेनहाइट थियो ।

    इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष बेलायत जाने प्रयासमा कम्तीमा ३० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् ।

    मङ्गलबार अद्यावधिक गरिएको बेलायती गृह मन्त्रालयको आँकडाअनुसार पछिल्लो सात दिनमा कम्तीमा दुई हजार एक सय नौ आप्रवासीले साना डुङ्गाहरू मार्फत इङ्ग्लिस च्यानल पार गर्न प्रयास गरेका छन् । आँकडामा च्यानलमा वा आगमनमा भेटिएका व्यक्तिहरू समावेश गरिएको हुन्छ ।

    युरोपको तीव्र कडा शरण नियम, बढ्दो जेनोफोबिया (अन्य मुलकका मानिसलाई मन नपराउने) र आप्रवासीप्रति शत्रुतापूर्ण व्यवहारले आप्रवासीहरूलाई उत्तरतिर धकेलिरहेको छ । रासस/एपी

  • कस्तो छ आजको विनिमय दर ?

    कस्तो छ आजको विनिमय दर ?


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ ।

    स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

    क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ ।

    राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

    थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा छ ।

    हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनियय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु

    कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु

    काठमाडौं । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनुपरेको उनले बताए । धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएका तथा घाइते भएका मन्त्रालयको भनाइ छ ।

    कतिपय महिलाहरू बलात्कृतसमेत भएका मन्त्री शाबानीले बताए । जेल परिसरमा हिजो लामो समयसम्म गोली चलेको छ । कङ्गो सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई अहिले स्थिति नियन्त्रणमा रहेको बताए । कङ्गो सरकारले जेल तोड्ने प्रयास किन भयो र कति कैदीबन्दी भागे भन्नेबारेमा केही खुलाएको छैन ।

  • प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री

    प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्रोतको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको समेत बताए ।

    सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने उनको भनाइ थियो । उनले नेपालका लागि बिस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिवद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि आईएमएफसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

    आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत् र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने सुझाव दिए । चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

  • जनआन्दोलनको अग्रपंक्तिमा रास्वपा हुन्छ : लामिछाने

    जनआन्दोलनको अग्रपंक्तिमा रास्वपा हुन्छ : लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपङ्तिमा आफ्नो दल हुने बताएका छन् । रास्वपाको कोशी प्रदेश भेलालाई मंगलबार इटहरीमा सम्बोधन गर्दै लामिछानेले पुराना दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः आन्दोलन हुने बताए । दलका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार नजिकबाट नियालिरहेको लामिछानेले बताए ।


    लामिछानेले आफ्नो दलप्रति नागरिकको विश्वास बढिरहेको दाबी समेत गरे । रास्वपाप्रति नागरिकले देखाएको विश्वासमा पुष्टि आउने चुनावमा हुने उनले बताए । ‘रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन् । अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन् । यो विरोधाभास भयो’, उनले भने । विस्तारित बैठकमा उपसभापति डीपी अर्यालले संगठन विस्तारमा रास्वपा लागेको बताए । स्थानीय तहको भ्रष्टाचारबारे आवाज उनले पार्टी सदस्यलाई आग्रह गरे ।

  • सरकारी अस्पताल अब सरकारी बिदामा पनि खुल्ने

    सरकारी अस्पताल अब सरकारी बिदामा पनि खुल्ने

    काठमाडौं । सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो ।

    मन्त्रालयका अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा सरकारी अस्पतालमा ओपीडी खोल्नुपर्नेछ ।

    जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा रहेका छन् । त्यसैगरी सार्वजनिक दिवश अन्तर्गत गणतन्त्र दिवश, शहीद दिवश, राष्ट्रिय प्रजातन्त्र दिवश, अन्तर्राष्ट्रिय महिला दिवश रहेको छ । जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुनेछन् । तर नेपाल चिकित्सक संघले सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।

    संघले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको जनाएको छ । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेको छ । स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।

  • भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा

    भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा

    काठमाडौं । उरुग्वेका भेट्रान फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनी ३७ वर्षका भए । लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् । उनी उरुग्वेका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वे राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।

    सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले शुक्रबार राष्ट्रका लागि अन्तिम खेल खेल्ने बताए । ‘यो भन्दा मलाई दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’ विश्वकप छनोटको खेलमा उरुऊवेल पाराग्वेसँग घरेलु मैदानमा खेल्नेछ । सन् २००७ देशि उरुग्वेका लागि खेलेका सुआरेजले यो सन्यासको लागि सही समय भएको बताएका छन् । ‘मलाई थाहा छ, अर्को विश्वकपमा पुग्न मलाई गाह्रो छ । चोटका कारण नभई आफैंले सन्न्यास लिनु सान्त्वनादायी छ,’ उनले भने ।

    सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट ४ पटक विश्वकप र ५ पटक कोपा अमेरिका खेलेका छन् । उनले सन् २०११ मा कोपा अमेरिकाको उपाधि समेत जितेका थिए । उनले कोपा अमेरिका जित्न आफ्नो करियरको सबैभन्दा उत्कृष्ट क्षण रहेको बताएका छन् । सुआरेजले हाल आफ्नो नजिकका साथी लिओनल मेसीसँगै मेजर सकर लिग क्लब इन्टर मायमीमा खेल्छन् । उनले क्लब करियरलाई भने निरन्तरता दिनेछन् ।

    सुआरेज र मेसीले सन् २०१४ देखि २०२० सम्म सँगै बार्सिलोनामा खेलेका थिए । यस्तै सुआरेजले अयाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोका लागि पनि खेलेका छन् ।

  • सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

    सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

    काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ । २०७२ सालको भूकम्पबाट बढी प्रभावितमध्ये यो जिल्ला पनि एक हो ।

  • नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । उनलाई क्लबले २०२४–२५ को सिजनका लागि सम्झौता गरेको जनाएको छ । सम्झौता रकम खुलाइएको छैन ।

    एक दशकभन्दा बढी समय एपीएफबाट घरेलु फुटबल खेलेकी एन्जिलाले पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् । उनले यसअघि नेपालबाहेक भारत र पाकिस्तानमा फुटबल खेलेकी थिइन् । पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् ।
    ‘
    एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् । सावित्रा भण्डारीले इजरायली क्लबबाट युरोपियन फुटबलमा इन्ट्री मारेकी थिइन् भने हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् । एन्जिलाले यसअघि भारतीय क्लब सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन् । उनले दुवै क्लबमा कप्तानी समेत गरेकी थिइन् ।