Category: समाचार

  • भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा

    भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा

    काठमाडौं । उरुग्वेका भेट्रान फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनी ३७ वर्षका भए । लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् । उनी उरुग्वेका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वे राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।

    सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले शुक्रबार राष्ट्रका लागि अन्तिम खेल खेल्ने बताए । ‘यो भन्दा मलाई दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’ विश्वकप छनोटको खेलमा उरुऊवेल पाराग्वेसँग घरेलु मैदानमा खेल्नेछ । सन् २००७ देशि उरुग्वेका लागि खेलेका सुआरेजले यो सन्यासको लागि सही समय भएको बताएका छन् । ‘मलाई थाहा छ, अर्को विश्वकपमा पुग्न मलाई गाह्रो छ । चोटका कारण नभई आफैंले सन्न्यास लिनु सान्त्वनादायी छ,’ उनले भने ।

    सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट ४ पटक विश्वकप र ५ पटक कोपा अमेरिका खेलेका छन् । उनले सन् २०११ मा कोपा अमेरिकाको उपाधि समेत जितेका थिए । उनले कोपा अमेरिका जित्न आफ्नो करियरको सबैभन्दा उत्कृष्ट क्षण रहेको बताएका छन् । सुआरेजले हाल आफ्नो नजिकका साथी लिओनल मेसीसँगै मेजर सकर लिग क्लब इन्टर मायमीमा खेल्छन् । उनले क्लब करियरलाई भने निरन्तरता दिनेछन् ।

    सुआरेज र मेसीले सन् २०१४ देखि २०२० सम्म सँगै बार्सिलोनामा खेलेका थिए । यस्तै सुआरेजले अयाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोका लागि पनि खेलेका छन् ।

  • सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

    सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

    काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ । २०७२ सालको भूकम्पबाट बढी प्रभावितमध्ये यो जिल्ला पनि एक हो ।

  • नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । उनलाई क्लबले २०२४–२५ को सिजनका लागि सम्झौता गरेको जनाएको छ । सम्झौता रकम खुलाइएको छैन ।

    एक दशकभन्दा बढी समय एपीएफबाट घरेलु फुटबल खेलेकी एन्जिलाले पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् । उनले यसअघि नेपालबाहेक भारत र पाकिस्तानमा फुटबल खेलेकी थिइन् । पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् ।
    ‘
    एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् । सावित्रा भण्डारीले इजरायली क्लबबाट युरोपियन फुटबलमा इन्ट्री मारेकी थिइन् भने हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् । एन्जिलाले यसअघि भारतीय क्लब सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन् । उनले दुवै क्लबमा कप्तानी समेत गरेकी थिइन् ।

  • पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित

    पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित

    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई भारी मतान्तरले पराजित गर्दै सापकोटा विजयी भए । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे । पाण्डे माओवादी केन्द्र निकट मानिन्छन् ।

    सापकोटा एमाले निकट मानिन्छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार थिए । तर, कांग्रेसको असन्तुष्ट समूहले भने पाण्डेलाई साथ दिएको छ । त्यसको फाइदा पाण्डेलाई भयो । निर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बधाई भनेका छन् ।

    महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा (५५०) विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरे । वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भए । प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।

    सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

  • बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी

    बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी

    काठमाडौं । बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाका कारण शरीरमा पानीको कमी भएकाले मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

    यही भदौ १४ गतेदेखि गेग्ली गाउँका श्यामलाल पासीको घरका सदस्यहरु झाडापखालाबाट बिरामी परेका थिए । ७५ वर्षीया शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र एक वर्षकी नाबालिका नन्दनीको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको थियो । सोही गाउँका १० वर्षीय युसुफ अलीको पनि मृत्यु भएको थियो । उनीहरुमा सुरुमा ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा हुने गरेको थियो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र साहका अनुसार बिरामीहरुले सीमावर्ती भारतको क्लिनिकमा गएर उपचार गराएको र सोही क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनको भनाइ छ । सो घटनाबारे स्वास्थ्य कार्यालयले अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमीका कारण उनीहरुको मृत्यु भएको उल्लेख छ ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख साहले मृतकका आफन्तले समयमा उपचार नगराएको कारण अकालमा ज्यान गएको बताए । ‘समयमै जाँच गरेको भए रोग पहिचान भएर उपचार हुन्थ्यो’, उनले भने, ‘चेतनाको कमीले गर्दा र परिवारका सदस्यको लापरवाहीले गर्दा अकालमा ज्यान गएको हो ।’

    नरैनापुर गाउँपालिका ३ कालाफाँटामा पनि झाडापखालाका बिरामीहरु फेला परेका छन् । एक जनाको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । झाडापखालाका बिरामी भेटिएका गाउँमा स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य जाँच गरिएको छ । स्थानीयलाई पानी शुद्धीकरणका लागि आवश्यक औषधि पनि वितरण गरिएको छ ।

    – राससको सहयोगमा

  • दीपक मनाङेले किन दिए मन्त्री पदबाट राजिनामा ?

    दीपक मनाङेले किन दिए मन्त्री पदबाट राजिनामा ?

    काठमाडौं । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा दिएका छन् । उनको राजिनामा स्वीकृत समेत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए ।

    मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए । मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् । मनाङेले भने कमजोर मन्त्रालय दिएको र बजेट तथा अधिकार नै नभएको भन्दै असन्ष्टी जनाएका हुन् ।

  • नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?

    नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?

    काठमाडौं । नेटफ्लिक्समा स्ट्रिमिङ वेब सिरिज ‘आईसी ८१४ ः द कान्दाहार हाइज्याक’ विवादमा तानिएको छ । थ्रिलर सिरिजको चर्चा भारतसहित नेपालमा पनि भएको हो । भारतीय यात्रुवाहक जहाजलाई अपहरणकारीले काठमाडौं विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्‍याएको वास्तविक घटनाको कथावस्तुमा सिरिज बनेको छ ।

    यो घटना २४ डिसेम्बर १९९९ मा भएको थियो । विजय बर्माको शीर्ष भूमिका रहेको सिरिजको छायांकन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर गरिएको छ । यो सिरिजको प्रस्तुतीकरणलाई लिएर नेपाली नेटिजनले सामाजिक सञ्जालका पेजहरुमा बहस थालेका छन् ।

    वास्तविक घटना भएपनि सिरिजको चित्रण यथार्थपरक नभएको उनीहरुको तर्क छ । विमानस्थलमा सुरक्षा खुकुलो बनाइएकोदेखि सुरक्षामा खटिने प्रहरीलाई कमजोर देखाइएको, हाइज्याक गरिंदाको दृश्यमा ‘आई लभ यु काठमाण्डू’ लेखिएको टिसर्ट लगाएर काठमाडौंलाई बदनाम गरिएको छ ।

    भारतमा भने विमान अपहरणमा संलग्न पात्रको नामलाई लिएर विवाद चलिरहेको छ । पात्रको नाम शंकर र भोला जस्ता हिन्दूको नाम राखिएकोप्रति आपत्ति जनाइएको छ । कतिपयले सिरिज बहिष्कारको माग गरिरहेका छन् । यो विवादबीच भारतको सूचना तथा प्रसारण मन्त्रालयले नेटफ्लिक्सको भारतका कन्टेन्ट प्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको छ ।

    यो वेब सिरिज ‘आईसी ८१४ ः द कान्दाहार हाइज्याक’ पत्रकार श्रीन्जय चौधरी र अपहरणमा परेका विमानका पाइलट क्याप्टेन देवी शरणले लेखेको पुस्तक ‘फ्लाइट इन फियरः द क्याप्टन्स स्टोरी’मा आधारित छ । विजय वर्मा, नसिरुद्दीन शाह, पंकज कपुर, अरविन्द स्वामी, मनोज पाहवा, अनुपम त्रिपाठी, दीया मिर्जा, पत्रलेखा, अमृता पुरी, दिव्यन्दु भट्टाचार्य र कुमुद मिश्रा मुख्य भूमिकामा छन् । यो श्रृंखला गत साता (२९ अगस्ट) मा रिलिज भएको थियो ।

  • अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

    अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति


    काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ ।

    दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।
    चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।

    यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

  • एकै दिन १२७ अंकले बढ्यो सेयर बजार

    एकै दिन १२७ अंकले बढ्यो सेयर बजार


    काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । यस दिन १२७ अंकले बजार बढेको छ । वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो ।


    सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

    २३९ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

    बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल फाइनान्स अगाडी रहे ।

  • चुनावमा गठबन्धन नगर्ने कांग्रेसको प्रस्ताव अनुमोदन

    चुनावमा गठबन्धन नगर्ने कांग्रेसको प्रस्ताव अनुमोदन

    काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जनसहित अनुमोदन गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको नेताहरूको बहिर्गमन नीतिलाई भने संविधान संशोधनमा छलफल अघि बढाउने गरी हाललाई अनिर्णीत अवस्थामा राखिएको कांग्रेसले जनाएको छ ।
    साउन २३ देखि चलेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतरपक्षबीच मुख्य गरी यी दुई विषयमा मतभेद देखिएको थियो ।

    गत फागुन १० मा सम्पन्न महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम टुंगो लगाउने गरी उपसभापति पूर्णबहादुर खड्काको नीति, थापाको संगठन र शर्माको समसामयिक राजनीतिक प्रतिवेदन पारित भएको थियो ।

    त्यतिबेला उपसभापति खड्काको नीति प्रतिवेदनमा माओवादी सशस्त्र युद्धलाई लिएर गरिएको व्याख्या र महामन्त्री थापाको चुनावी गठबन्धन नगर्नेसम्बन्धी प्रस्ताव विवादित बनेका थिए । माओवादीसँगको गठबन्धन तोडिएपछि खड्काको प्रतिवेदनलाई सामान्य भाषा मात्रै संशोधन गरिएको छ । चुनावी गठबन्धनको विपक्षीमा रहेका थापाको प्रस्तावबाट ‘गठबन्धन’ शब्द हटाएर संशोधन गरिएको छ ।

    ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनःस्थापित गर्नेछौं,’ थापाको प्रतिवेदनलाई संशोधित गर्दै भनिएको छ, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनावचिह्न रूखमा नै मत हाल्ने पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’

    सत्ता सहकार्यमा राजनीतिक दलहरूबीच हुने गरेका धोकाधडीका कारण कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन पक्षीय नेताहरूले भविष्यको परिस्थिति हेरेर मात्रै गठबन्धनको विषय उठाउनुपर्ने भन्दै प्रतिवेदनमा नराख्न जोडबल गरेका थिए । बैठकमा संस्थापनपक्षीय नेताहरू ‘गठबन्धन र एक्जिट पोलिसी’ का प्रस्तावित दुवै प्रावधान हटाउनुपर्ने पक्षमा थिए । इतरपक्षका अधिकांश नेताहरू चुनावी गठबन्धन गर्न नहुने थापाको प्रस्तावका पक्ष थिए ।

  • मनोहरामा हाम फालेर किशोरी बेपत्ता, खोजी जारी

    मनोहरामा हाम फालेर किशोरी बेपत्ता, खोजी जारी

    काठमाडौं । मनोहरा खोलामा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ७ बजे ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित पुलबाट मनोहरा खोलामा हामफालेकी १९ वर्षीया अञ्जली शर्माको खोजी सोमबार बिहानबाट पुनः सुरू गरिएको हो। आइतबार अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएकी थिइनन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजी गर्न २३ जनाको टोली परिचालन गरिएको छ।


    नम्बर २१ दक्षिणकाली गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जना र नम्बर २० विपद् उद्धार गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ९ जनाको टोली खटाइएको डिएसपी थापाले जानकारी दिए। सोमबार किशोरी हामफालेकी पुलमुनीबाट उनको मोबाइल र कागजपत्र भेटिएको थियो। सोही आधारमा किशोरी रूकुम मुसिकोट घर भई बालकुमारीमा डेरा गरी बस्दै आएकी २० वर्षीया अन्जली शर्मा रहेको खुलेको थियो।

  • आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै

    आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै

    काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ(आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।

    ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।
    बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरेपनि हजारौ‍ं गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारत समेतबाट हजारौं भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन् ।

  • प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आज पनि जारी

    प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आज पनि जारी

    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ आज पनि जारी राख्ने भएको छ । समितिको आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुलाई सुनुवाइका लागि बोलाइएको छ । इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूत नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । समितिमा तिमिल्सिना र पण्डितविरुद्ध उजुरी परेको छ ।

    समितिका सदस्यहरुले उजुरीहरुमाथि प्रश्न गर्ने र उनीहरुको जवाफ तथा कार्ययोजनामा छलफल गर्ने छन् । सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगेको थियो । प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।

    समितिले आइतबार पहिलो दिन चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा। शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो । सुनुवाइमा प्रस्तावित राजदूतहरुले आ(आफ्ना कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

    आज सोमबार दोस्रो दिन इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ भइसकेपछि कतारका लागि प्रस्तावित रमेशचन्द्र पौडेल, रुसका लागि प्रस्तावित जंगबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेसँग छलफल गर्ने तयारी छ ।

    त्यसपछि दक्षिण अफ्रिकाका लागि प्रा।डा। कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने समितिको तयारी छ । प्रस्तावित सबै राजदूतहरुको सुनुवाइ आठ दिनभित्र सम्पन्न गर्ने योजना छ । सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

  • एमालेकी सांसदले बालश्रम गरेको भन्दै बालेन आक्रोसित

    एमालेकी सांसदले बालश्रम गरेको भन्दै बालेन आक्रोसित

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कारवाही नभएकोमा आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । उनले प्रम ओलीले दोषीलाई कारबाही नगरेकोमा आक्रोश व्यक्त गरेका छन् ।

    उनले भनेका छन् ‘वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

    सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।’

  • विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

    विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

    काठमाडौं । युरोपेली युनियन (ईयू), जर्मनी र युनिसेफबाट नेपालले ५ अर्ब रुपैयाँ बराबर अनुदान लिने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ईयूबाट २ करोड ३० लाख युरो र युनिसेफबाट प्राविधिक सहायताका रूपमा २० लाख युरो गरी कुल २ करोड ५० लाख युरो (झन्डै ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ) बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

    ईयूबाट लिइने अनुदान बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमको तेस्रो चरणका कार्यक्रम कार्यान्वयनमा खर्च गरिने भएको छ । उता, जर्मनी सरकारबाट १ करोड युरो (करिब १ अर्ब ४६ करोड रुपैयाँ) अनुदान समेत स्वीकार गर्ने निर्णय सोही मन्त्रिपरिषद् बैठकले गरेको छ । यो ऊर्जा वितरणको सुदृढीकरणमा खर्च गर्ने योजना छ ।

  • राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

    राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

    काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्म क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने भएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने छ ।

    यसैगरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको १ सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख छ । साथै, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो ।

  • पत्रकार महासंघको चुनाव ५ असोजमा तोकियो

    पत्रकार महासंघको चुनाव ५ असोजमा तोकियो

    काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी ५ असोजका लागि तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले वक्तव्यमा भनेका छन् । सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक(पटक सर्दै आएको छ ।

  • सार्वजनिक बिदाको दिन पनि अस्पतालको बहिरंग सेवा चलाउन निर्देशन

    सार्वजनिक बिदाको दिन पनि अस्पतालको बहिरंग सेवा चलाउन निर्देशन

    काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

    गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ ।

    सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ । मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ ।

    विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवा लगायत सेवा सार्वजनिक बिदाको दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयन गर्ने बताए ।

    ‘हामीले सबै अस्पताललाई मन्त्रालयबाट निर्णय गरेर पत्राचार गर्ने तयारीमा रहेका छौं,’ उनले भने, ‘सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामी छलफलमा छौं ।’ उनले सार्वजनिक दिनमा बहिरङ्ग सेवा बाहेकको सबै सेवा सञ्चालन गरेको उल्लेख गर्दै बहिरङ्ग सेवा पनि कर्मचारीलाई अतिरिक्त समय काममा लगाए हुन्छ कि सिफ्टअनुसार हुन्छ भनेर छलफल गरिरहेको बताए ।

  • माओवादीको कार्यकर्तालाई सर्कुलर के आयो ?

    माओवादीको कार्यकर्तालाई सर्कुलर के आयो ?

    काठमाडौं । उपमहासचिव जनार्दन शर्माको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रले नयाँ सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको छ । हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले आफ्नो मत लिखित रुपमै राखेका थिए ।

    तर बैठक समापन गर्ने बेला प्रचण्डले अब जनार्दनले पार्टी फुटाउँदैनन् भन्ने निष्कर्ष सुनाए । त्यही आशयको सर्कुलर २ भदौमा जारी भयो । त्यसमा विवाद भएपछि आइतबार नयाँ सर्कुलर जारी गरिएको छ, जसमा २ भदौमा जारी गरिएको सर्कुलरमा थप भएका विषयलाई बोल्ड गरेर उल्लेख गरिएको छ ।

  • देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?

    देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?


    काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ ।
    वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ–मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तीब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वबाट पश्चिमतिर बहने भएकाले अहिले विकसित भएको वर्षा गराउने बादल पनि पश्चिमतिर सरिरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा चितवनको कल्याणपुरमा सबैभन्दा धेरै १५३ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी नारायणी फिल्ड अफिसमा १२३, शक्तिखोरमा १०७ र देवघाटमा ९३ मिलिमिटर वर्षा मापन भएको छ ।

    भारी वर्षाका कारण माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गर्दै नारायणगढ–मुग्लिङ सडकखण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
    आज दिनभरी नै पानी पर्ने, एकछिन रोकिने र फेरि पानी पर्ने अवस्था हुनेछ । आज दिउँसो र रातिमा पनि वर्षाको सम्भावना छ । सोमबार आजको तुलनामा कम वर्षा हुने पूर्वानुमान छ ।

  • सरकारले जनताको इच्छा विपरित काम गरिरहेको छ : प्रचण्ड

    सरकारले जनताको इच्छा विपरित काम गरिरहेको छ : प्रचण्ड


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् । आइतबार बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले भने, ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’ यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने धारणा राखे ।

    उनले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताए । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ ।’ ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं,’ उनले भने, ‘संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’ समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए । अब सरकारमा जानुभन्दा पार्टी निर्माण कार्यमा लाग्ने उनको भनाइ छ ।

    पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए । ‘पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५र३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु,’ प्रचण्डले भने । यसैबीच माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिए । पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उनले पार्टी विभाजनको हल्ला असत्य सावित भइसकेको बताए ।

  • रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ

    रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्। पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका हुन्। ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ-बज्छ,’ उनले भने।

    सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने पनि बताए। ‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ। कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ,’ उनले भने। तर घन्टी बोकेर मात्रै नजितिने पनि कार्यकर्ताहरूलाई सभापति लामिछानेले बताए। ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइन्नँ। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ। घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेण्डा बाक्नुपर्छ,’ उनले भने।

    ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको पनि उनले बताए। ‘२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौं,’ उनले भने। सहकारीको विषयमा लामिछाने आफूले कुनै कमजोरी नगरेको पनि दाबी गरे। ‘हुँदै नभएको प्रमाण १२१४ महिना खोज्दा भेटेनन्। भेटेका भए किन छाड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकी, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने।

  • संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा

    संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् ।
    सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए ।

    संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको देउवाको भनाइ छ । ‘कति मानिसहरु चुनावहरु आउन धेरै गाह्रो छ, उहाँहरुलाई त्यसकारण समावेश गर्नुपर्नेछ । राज्य सत्तामा उनीहरुलाई समावेशीताका साथ सहभागी गराउनुपर्छ भन्ने धारणा छ । त्यसको आधारमा समावेशी राखिएको छ ।

    समावेशी सहितको प्रजातन्त्र राखिएको छ’, उनले भने, ‘यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो ।’ प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाएर जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने देउवाको भनाइ थियो । नेपाललाई गरिबीमुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने बताए ।

  • प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन

    प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने बताएका हुन् ।


    ‘नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौं । लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई उल्टै चेतावनी दिए । ‘हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन’, उनले भने ।

    मुलुकमा हिंसात्मक गतिविधि चलेको बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानको पहल गरेको पनि बताए । प्रधानमन्त्री ओलीले कुनैपनि गतिविधि वा अराजकतालाई कानूनी रुपमा रोक्ने पनि बताएका छन् । प्रचण्डप्रति भने प्रधानमन्त्री ओलीले चर्कै आक्रोश जनाएका छन् । ‘मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’, प्रधानमन्त्रीको आक्रोश थियो ।

  • पारा ओलम्पिकमा नेपाललाई पदक जिताउने खेलाडीलाई नेताहरुको बधाई

    पारा ओलम्पिकमा नेपाललाई पदक जिताउने खेलाडीलाई नेताहरुको बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।

    पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् । उता, माओवादी अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवी लामिछाने, कांग्रेस नेता गगन थापासहितका नेताले समेत उनलाँई बधाई दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले समेत नेपाली खेलाडीलाई बधाई भनेका छन् ।

  • कांग्रेस शीर्ष नेताको बैठक बस्दै, के छ एजेण्डा ?

    कांग्रेस शीर्ष नेताको बैठक बस्दै, के छ एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो । आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्दैछ । यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गरेका थिए ।

  • पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक

    पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक

    काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छिन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितिन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरिन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बनिन् ।

    नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् । पलेशाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् ।

    क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०–८ ले पराजित भइन् ।पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् । लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।

    गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
    यस्तै चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।

    पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

  • गौतमबुद्ध विमानस्थल अवलोकन गर्दै पर्यटनमन्त्रीले के भने ?

    गौतमबुद्ध विमानस्थल अवलोकन गर्दै पर्यटनमन्त्रीले के भने ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय यात्रु ल्याउने प्रमुख माध्यम नै यही विमानस्थल बन्ने भएकोले विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको उनले बताए।

    शुक्रबार भैरहवामा विमानस्थलको निरीक्षण गर्दै मन्त्री पाण्डेले विमानस्थल सञ्चालनसँगै भिसा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरू गर्ने निर्णय गरेको बताए। मन्त्री भएपछि पहिलो पटक गौतमबुद्ध विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन्।

    निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए। उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुटसहित हवाई कम्पनीहरूलाई आकर्षित गराउन खोजिएको बताए।


    निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको ब्रिफिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए। मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्ध जन्मस्थल आएको अनुभूति दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए।


    गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए। उनले गौतमबुद्ध विमानस्थल नेपालको पूर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए।

    उनका अनुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलाईसम्म ९२३ जनमले मात्रै उडान भरेका छन्। मन्त्री पाण्डे सहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको छ।

  • नवलपरासीमा सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा तीन जनाको ज्यान गयो

    नवलपरासीमा सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा तीन जनाको ज्यान गयो

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो । सेप्टिक ट्याङ्कीभित्र तीन जना बेहोस भई लडिरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍ प्रभावकारी बनाउन स्टेरिङ कमिटी गठन

    सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍ प्रभावकारी बनाउन स्टेरिङ कमिटी गठन

    काठमाडौं । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍’ को कार्यलाई प्रभावकारी बनाउन ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ । परिषद्‍को दोस्रो बैठकले निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको हो । स्टेरिङ कमिटीमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन् ।

    स्टेरिङ कमिटीमा यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ भने परिषद्‍का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिवको रूपमा काम गर्ने निर्णय भएको छ । परिषद् सदस्यको संख्या भने ३५ जना रहेको छ । परिषद्‍को दोस्रो बैठकले आर्थिक वर्ष २०८०–८१ को खर्च अनुमोदन गरेको छ ।

    साथै आर्थिक वर्ष २०८१–८२ का लागि ९ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सदस्य सचिव नेपालीका अनुसार विनियोजित बटेटबाट जीआईईस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ सिस्टम, एकीकृत एप्लिकेसन निर्माण, तथ्य तथा तथ्यांक संकलन, रुट पुनरावलोकन, सार्वजनिक यातायात सञ्चालन मार्गनिर्देशन तयारी, अनुसन्धानमूलक कार्यक्रम सञ्चालन हुनेछन् ।

    यस वर्ष काठमाडौं महानगरले ८ करोड र संघीय सरकारले १ करोड रुपैयाँ परिषद्‍लाई उपलब्ध गराएको नेपालीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको मौज्दात करिब ६२ लाख रुपैयाँ छ । गत वर्ष परिषद्‍ कोषलाई संघीय सरकारबाट १ करोड र काठमाडौँ महानगरबाट १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । परिषद्‍को पहिलो बैठक २८ भदौ २०८० मा बसेको थियो ।