Category: समाचार

  • पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग गरे छलफल

    पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग गरे छलफल

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री पाण्डेले यी विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको बताए । पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन खोजिएको भन्दै उनले देशको जटिलता बुझेर सरकारले यस्तो निर्णय गरेको बताए ।

    मन्त्री पाण्डेले दुइटै विमानस्थल सञ्चालन गर्न नीतिगत, व्यावसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारत लगायत देशबाट पोखरा र भैरहवामा पर्यटक भित्र्याउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व संकलन गर्न सक्ने बताए । सरकारले ल्याएको प्याकेज केही समयपछि के होला भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय वायुसेवाका प्रतिनिधिसँग आग्रह गरे ।

    मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन र भारतसँग कूटनीतिक छलफलमा रहेको बताए । छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायत दर्जनभन्दा बढी वायु सेवा सञ्चालकका प्रतिनिधि उपस्थित थिए ।

  • पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

    पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

    काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र आक्रमणकारीहरूले गोली हानी कम्तीमा ३९ जनालाई मारेका छन् । आइतवार राति आक्रमणकारीहरूले उक्त दक्षिणपश्चिमी प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बताइएको छ।

    सरकारी सुरक्षाकर्मीहरूले प्रत्याक्रमण गर्दा विभिन्न स्थानमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ। बलोचिस्तान प्रान्तमा साम्प्रदायिक, जातीय र पृथक्तावादी हिंसा हुँदै आएको छ।

    सशस्त्र समूहले परिचयपत्र जाँच्दै पन्जाब प्रान्तका मानिसहरूलाई छुट्ट्याएर गोली हानेको र सवारीसाधनमा आगो लगाइदिएको आरोप अधिकारीहरूले लगाएका छन्। बलोच लिबरेशन आर्मी (बीएलए) नामक लडाकु समूहले मुसाखेल जिल्लामा भएको उक्त घटना आफूले गराएको दाबी गरेको छ। स्थानीय अधिकारी नजिबुल्लाह काकरका अनुसार उक्त घटनामा ३० देखि ४० लडाकु संलग्न थिए।

    ूपन्जाबबाट आएका र पन्जाबतिर जान लागेका गाडीहरूमा जाँच गरियो अनि पन्जाबका मानिसहरूलाई पहिचान गरी गोली हानिएको बताइएको छ ।
    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले उक्त घटनालाई आतङ्कवादी आक्रमणको सङ्ज्ञा दिँदै त्यसको निन्दा गरेका छन्। समाचारसंस्था रोएटर्सका अनुसार बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको छ।

    उक्त घटनाअघि बीएलएले बलोचिस्तानका सर्वसाधारणलाई राजमार्गबाट यात्रा नगर्न चेतावनी दिएको थियो। उसले आफ्नो सङ्घर्ष बलोचिस्ताने कब्जा गर्ने पाकिस्तानी सेनाविरुद्ध भएको बताएको छ । बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। प्राकृतिक स्रोतमा निकै धनी भए पनि उक्त प्रान्त सबैभन्दा कम विकसित छ।

  • गाडी किन्ने योजनामा हुनुहुन्छ ? नाडा अटो शो आजबाट सुरु हुँदै

    गाडी किन्ने योजनामा हुनुहुन्छ ? नाडा अटो शो आजबाट सुरु हुँदै

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । गाडी किन्ने योजनामा रहेकाहरुलाई लक्षित गरी २३ ब्रान्डका नयाँ मोडल यस शोका दौरान सार्वजनिक गरिँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।

    सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायतको प्रदर्शनी हुनेछ । यस पटक अधिकांश विद्युतीय गाडीको प्रदर्शनी हुनेछ । चीनमा उत्पादित २२ लाखदेखि एक करोड रुपैयाँभन्दा माथिसम्मका विद्युतीय गाडी प्रदर्शनीमा रहने छन् ।


    नाडा अटो सोमा लाइट कमर्सियलका १३ स्टल रहनेछन् । यसैगरी बैंक, बिमा र डिजिटल वालेटका कम्पनीहरूका ११ वटा स्टल रहनेछन् । नाडाले यस पटक चार र दुईपांग्रे सवारीको छुट्टाछुट्टै प्रदर्शनी स्थल निर्माण गरेको छ ।


    सोमा टाटा, हुन्डाई, नेटा, स्काइवेल, आइवन, सेरेस, दोङफेङ, लिपमोटर, रिडारा, किया, सिट्रोन, एक्स–पङ, अवतार, जिकर, दिपल, न्यू ईभी, सुजुकी, बीवाईडी, ओमोडा एन्ड जेकु, एमजी, हेनरी भोल्ट्स, बीएडब्लू र महिन्द्रा ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका छन् ।

  • काठमाडौं–म्यानमार सिधा उडानको पहल

    काठमाडौं–म्यानमार सिधा उडानको पहल

    काठमाडौं । नेपाल म्यान्मार चेम्बर अफ कमर्सले नेपालदेखि म्यान्मारसम्म सिधा उडानका लागि पहल गरेको छ । नेपालका लागि गणतन्त्र म्यान्मारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गसँगको सोमबारको भेटमा चेम्बरले लुम्बिनीदेखि म्यान्मारसम्मको सिधा उडानका लागि आग्रह गरेको हो ।

    भेटमा चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा म्यान्मारबाट सहयोग प्राप्त भएको बताए । उनले नवनियुक्त राजदूत मौङ्गको कार्यकालमा नेपाल र म्यान्मारबिच सिधा हवाई उडानको सुरुवात हुन सके यसमा कोसेढुङ्गा साबित हुने बताए ।

    म्यान्मारमा ८० प्रतिशत बौद्ध धर्मावलम्बी रहेकाले गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा म्यान्मारबाट सिधा हवाई उडान व्यावसायिक रूपमा सम्भव रहेको अध्यक्ष अग्रवालले बताए । म्यान्मारमा ठुलो सङ्ख्यामा रहेका नेपालीभाषीलाई पनि यसले सेवा प्रदान गर्न सक्ने उनको भनाइ थियो ।

    नेपाल र म्यान्मारबिचको व्यापार समस्याका रूपमा रहेको भुक्तानीको समस्यालाई नयाँ राजदूतको कार्यकालमा सहजीकरण गरिदिन पनि चेम्बरले आग्रह गरेको थियो । नेपालले निर्यात गर्न सक्ने क्षेत्रमध्ये सफ्टवेयर, हस्तकला, उच्च मूल्यका कृषि उत्पादन, चिया, कफीलगायतको प्रवर्धन गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको थियो ।

    भेटमा राजदूत मौङ्गले नेपालप्रति म्यान्मारको सरकार र जनताको सद्भाव रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापारमा देखिएका समस्या समाधान गर्ने तथा थप व्यवसाय विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा म्यान्मारका पर्यटकको सङ्ख्या बढाउन सम्भावना रहेकाले सिधा हवाई सेवालाई दिगो रूपमा अघि बढाउने आफ्नो योजना रहेको पनि उनको भनाइ थियो । यसका निम्ति पर्यटनसम्बन्धी प्याकेज कार्यक्रमको आवश्यकता रहेकोमा उनले जोड दिए ।


    पर्यटन प्रवर्धनका लागि दुवै मुलुकले डकुमेन्ट्री प्रदर्शन गरी एकापसमा भ्रमण बढाउनुपर्ने राजदूत मौङ्गको सुझाव थियो । सो क्रममा उहाँले नेपाल म्यान्मार चेम्बर अफ कमर्ससँग सहकार्य गरी म्यान्मार चेम्बर अफ कमर्ससँग भाइचाराको सम्बन्ध विस्तार गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

  • पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने

    पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने

    काठमाडौं । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ । यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुँदैछन् । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरबाट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।

    तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथलाई विक्रम संवत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो । युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो ।

    कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जात्राको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउने योजना रहेको बताएका छन् । प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराई जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताएका हुन् ।

  • रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण

    रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण

    काठमाडौं । रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताए । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन् । साथै रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा पनि आक्रमण गरेको उनले जानकारी दिएका छन् ।

    रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ । युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न स्थानमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको बीबीसीले जनाएको छ । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि जारी लडाइँ जारी छ । भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा २४ फेब्रुअरी सन् २०२२ देखि आक्रमण सुरु गरेको थियो ।

    गत सोमबार रुसले जलविद्युत आयोजनालगायतका ऊर्जा पूर्वाधारका क्षेत्रमा आक्रमण गरेर क्षति पुर्याएको युक्रेनको विदेश मन्त्रालयका अधिकारी एन्ड्री सिबिहाले सामाजिक सन्जाल एक्समा लेखेका छन् । उनका अनुसार यो आक्रमणमा मानवीय क्षति पनि भएको छ ।

    बीबीसीका अनुसार रुसले उत्तरपश्चिमको रिब्ने र बोलिनदेखि लिएर दक्षिण-पूर्वको जापोरिज्जासम्मको क्षेत्रमा आक्रमण गरेको छ । आक्रमणबाट राजधानी कियभको एक जलविद्युत आयोजनाको बाँधमा क्षति पुगेको छ । यसैगरी एउटा विद्युत् सबस्टेसन र तीन वटा ग्याँस कम्प्रेसर स्टेसनमा पनि क्षति पुगेको छ । आक्रमणपछि युक्रेनको राजधानी कियभसहित विभिन्न स्थानमा बिजुली र पानीको आपूर्ति बन्द भएको थियो ।

  • खोटाङमा पोखरीमा डुबेर एकै घरका दाजु -बहिनीको निधन

    खोटाङमा पोखरीमा डुबेर एकै घरका दाजु -बहिनीको निधन

    काठमाडौं । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुइवटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताएका छन् ।


    घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाका लागि आफ्नै नेतृत्वमा जिल्लाबाट प्रहरी टोली जाँदै गरेको उनको भनाइ छ । खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हिउँदको समयमा स्थानीय उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए ।

    हाल बर्खामा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए । सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय रसकुमार राईले बताए । मृतक संगम स्थानीय कलङ्का आविमा कक्षा २ मा अध्ययनरत थिए । बुवा गयन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गयन्द्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

  • ओमनका विदेशमन्त्री काठमाडौंमा

    ओमनका विदेशमन्त्री काठमाडौंमा

    काठमाडौं । ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाडौं आएका हुन् । उनलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् । सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दुतावास छैन ।

    दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदैशिक रोजगारका लागि श्रमिकहरु जाने गरेका छन् । मन्त्री सैयदले यस भ्रमणमा दुई देशबीचको सम्बन्ध, श्रम कुटनीति लगायत विषयमा छलफल गर्ने बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्नेछन् । समकक्षी राणासँग उनको दुईदेशीय हितमा संवाद हुनेछ ।

  • टुडिखेलमा आफ्नै अगाडी नाराबाजी भएपछि आक्रोसित बने कांग्रेस सभापति

    टुडिखेलमा आफ्नै अगाडी नाराबाजी भएपछि आक्रोसित बने कांग्रेस सभापति

    काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

    कार्यक्रममा उपस्थित भएकाहरुलाई देउवाले लाज छैन भन्दै जंगिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ गौरापर्व खेल्न र हेर्न आएकाहरुलाई कार्यक्रम बिथोल्नेहरुले असर पारेको उनले बताए । नाराबाजी गर्नेहरुसँग जंगिएपछि देउवा औपचारिक सम्बोधन सुरु गरेका थिए । सुदूरपश्चिम र कर्णालीको संस्कृति गौरापर्व भएको देउवाले बताए ।

  • आफुविरुद्ध नाराबाजी भएपछि टुडिखेलमा के भने प्रधानमन्त्रीले ?

    आफुविरुद्ध नाराबाजी भएपछि टुडिखेलमा के भने प्रधानमन्त्रीले ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत उपस्थित हुँदा एक समूहले नाराबाजी गरेको थियो । सोही घटनालाई लक्षित गर्दै ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताएका हुन् ।

    ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन’, उनले भने । नेपाल मेलमिलापको देश हो भन्दै उनले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने टिप्पणी गरे । ‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन ।’

  • गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

    गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।

    सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ(आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ । गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारतलगायतका देशमा गएकाहरु फर्किएपछि गाउँघरहरु भरिभराज भएका छन् ।
    भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुआत गर्दछन् ।

    भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।
    भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो ९मन्त्रिएको एक किसिमको धागो० चढाउने चलन छ ।

    अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला ९आँगन०मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्थालगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुखदुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।

  • मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?

    मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?

    काठमाडौं । पाल्पास्थित भगवती रथयात्रामा पहिलोपटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका हुन् । भगवती गुठीका अनुसार भगवती मन्दिरमा पूजा आराधना र रथयात्राको अवलोकेनका लागि लागि राष्ट्रपति पौडेलको उपस्थिति हु ने पक्का भएको छ ।

    नेपाल(अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा ९भगवतीको रथ यात्रा० निकाल्दै आइएको छ । यसपटक १०५ औं रथ यात्रा निकाल्ने तयारी जारी छ । तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो ।

    युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो । कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए । यसैबीच यस वर्षको भगवती रथ यात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लालाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    लुम्बिनी प्रदेश सरकार, आन्तिर मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै ११ गते मंगलबारको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयको कानुन अधिकृत अस्मिता अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा पाल्पा जिल्लामा ११ गते भगवतीको जात्राको अवसरमा सार्वजनिक बिदादा दिइएको उल्लेख छ ।

  • ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।

    दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । उनी मंगलबार ओमान फर्किनेछन् ।

  • श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

    श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

    काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।


    यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना सन्देश दिएका छन् ।

  • पाल्पामा कार दुर्घटना, भारतीय चालकको मृत्यु

    पाल्पामा कार दुर्घटना, भारतीय चालकको मृत्यु

    काठमाडौं । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका १ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो । दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • मुग्लिन–आँबुखैरेनी सडकखण्ड ४ घण्टाका लागि बन्द

    मुग्लिन–आँबुखैरेनी सडकखण्ड ४ घण्टाका लागि बन्द

    काठमाडौं । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि ४ घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

    भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन । आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

    सडक बन्द भएको यही मौकामा मुग्लिन–आँबुखैरेनी सडकखण्डमा पर्ने भित्तोका जोखिमपूर्ण चट्टानहरु काटेर फ्याँक्ने काम पनि हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । हाल मुग्लिन–आँबुखैरेनी सडकखण्ड बिस्तार र पहिरो नियन्त्रणको काम भइरहेको छ ।

  • इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

    इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

    काठमाडौं । इजरेली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबननका विभिन्न ठाउँमा हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ। इजरेलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ। उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ।

    हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरेलतर्फ ३ सय भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ।
    उसले अहिलेका लागि उसको कारबाही सम्पन्न भएको जनाएको छ। लेबननको स्वास्थ्य मन्त्रालयले तीनजना मारिएको जनाएको छ। संयुक्त राज्य अमेरिकाले प्रतिरक्षाका लागि इजरेलले चालेको कदमप्रति समर्थन जनाएको छ।


    आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले भने, “आत्मरक्षाका लागि ती जोखिमहरू हटाउन आईडीएफले आतङ्कवादी निशानाहरूमा आक्रमण गरिरहेको छ।”
    इजरेलले लेबननका सर्वसाधारणहरूलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिज्बुल्लाह रहेका ठाउँ छाड्न आफूले चेतावनी दिएको जनाएको छ।

    त्यस लगत्तै हिज्बुल्लाहले आफूले अघिल्लो महिना समूहका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिएको बदलामा इजरेलमा ठूलो स्तरको ड्रोन हमला गरेको जनाएको थियो। आइतवार बिहानै उत्तरी इजरेलमा रकेट आइरहेको जनाउ दिने चेतावनीका साइरनहरू बजेका थिए। इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ।

    तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ। हिज्बुल्लाहले इजरेलको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ। उसले यसलाई इजरेलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ।

    हिज्बुल्लाहले दक्षिण लेबननको खियाममा आफ्ना एकजना लडाकुको मृत्यु भएको पुष्टि गरेको छ। उक्त समूहले ती व्यक्तिको कुन अवस्थामा मृत्यु भएको खुलाइएको छैन। तर लेबननको स्वास्थ्य मन्त्रालयले उक्त सहरमा इजरेलले गरेको आक्रमणमा एउटा कार परेको र त्यसमा एक जना व्यक्तिको मृत्यु भएको जनाएको थियो।

    हिज्बुल्लाहले लेबनन र दक्षिणको प्रतिरक्षामा आफ्नो राष्ट्रिय र जिहादी दायित्व पुरा गर्ने क्रममा ती व्यक्ति मारिएको जनाएको थियो। लेबननको मन्त्रालयले तीनजनाले इजरेली आक्रमणमा ज्यान गुमाएको बताएको छ। हिज्बुल्लाहले आजका लागि योजना गरिएको इजरेलमाथिको हमला ‘सम्पन्न भएको र सफल भएको’ पनि उल्लेख गरेको छ।

    आईडीएफले एउटा विज्ञप्तिमा हिज्बुल्लाहले ‘१५० भन्दा बढी रकेट लेबननबाट इजरेली भूमिमा प्रहार गरेको’ जनाएको छ। उसले तीनलाई विफल बनाउन ुआइरन डोमु क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा क्याबिनेटको आपत्कालीन बैठक डाकिरहेको जनाएका छन्।

    नेतन्याहूको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्री योआभ गालान्टले तेलअबिबमा रहेको आईडीएफको सैन्य शिविर परिस्थितिलाई ‘व्यवस्थापन’ गरिरहेको जनाएका छन्। सामाजिक सञ्जाल एक्समा इजरेली विदेश मन्त्रालयले इरानको नेतृत्वमा रहेको ‘सैतानहरूको समूह’ बाट आफ्नो ‘नागरिक र भूगोलको रक्षा गर्नका लागि’ कदम चालिरहेको जनाएको छ। बीबीसी

  • लेखा समितिमा आज पनि लफडा, सांसदबीच चर्काचर्की

    लेखा समितिमा आज पनि लफडा, सांसदबीच चर्काचर्की

    काठमाडौं । सार्वजनिक लेखा समितिमा आइतबार समेत सांसदहरुबीच चर्को विवाद भएको छ । लोडसेडिङका क्रममा डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत उपभोग गरेको तर बक्यौता नउठाएकामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरूलाई पनि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्नेलगायतबारे निर्णय गर्नुपर्ने भनी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको प्रस्तावमा प्रमुख प्रतिपक्षी मा‌ओवादी र विपक्षी दल रास्वपाले आपत्ति जनाएका छन् ।

    डेडिकेटडेड र ट्रंक लाइनमार्फत उद्योगीले तिर्न बाँकी २१ अर्ब ८८ करोड रकम पुस मसान्तसम्म उठाउनु भनी समय दिने प्रस्ताव पनि सभापति पोखरेलले राखेका थिए । समितिले २१ अर्ब ८८ करोड बक्यौता उठाउने निर्णय मात्रै दिनुपर्ने माओवादी र रास्वपालगायतको अडानमा कांग्रेस समेत सहमत थियो । सार्वजनिक लेखा समितिको आइतबार १ बजेदेखि ५ बजेसम्म चलेको बैठक सभापतिको निर्णयमा कांग्रेस, माओवादी, रास्वपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले असहमति जनाएपछि निर्णय नगरी स्थगित भएको हो ।

    कांग्रेसले नेपाल विद्युत प्राधिकरणका एमडी घिसिङमाथि छानबिन गर्न अख्तियारलाई पत्र लेख्ने एमाले सांसदहरू र सभापति पोखरेलको निर्णयमा असहमति जनाएको छ । कांग्रेस सांसद अर्जुननरसिंह केसीले पार्टीको तर्फबाट बक्यौता २१ अर्ब ८८ करोड उठाउन निर्देशन दिने, बक्यौता नउठाउनेबारे यसअघि सार्वजनिक लेखा समितिले अख्तियारलाई लेखेको पत्रको कारबाही कहाँ पुग्यो भनेर सोध्ने र मन्त्रिपरिषद्ले गत बैशाख २७ मा गरेको निर्णयको आधार माग गर्ने निर्णयको प्रस्ताव समितिमा राखेका थिए । उक्त प्रस्तावमा माओवादी, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समर्थन जनाएका थिए ।

    बैठकमा सभापति पोखरेलले २१ अर्ब ८८ करोड बक्यौता उठाउने र समयमै बक्यौता उठाउने नेपाल विद्युत प्राधिकरणका पदाधिकारीमाथि अनुसन्धान गर्नका लागि अख्तियारलाई लेखि पठाउने निर्णय अस्वीकृत भएपछि कांग्रेस सांसद केसीले राखेको प्रस्तावमा पनि निर्णय गर्न मानेनन् । सभापति पोखरेलले निर्णय नगरी बैठक सकिएको घोषणा गरेका थिए ।

    सभापतिले सुरुमा आफूले तयार गरेका निर्णय घोषणा गरेर उठेका थिए । त्यसपछि माओवादी सांसदहरू अमनलाल मोदी र लेखनाथ दाहालले विरोध जनाइ नोट अफ डिसेन्ट माग गरेका थिए । त्यो मागमा रास्वपाले पनि समर्थन जनाएको थियो । कांग्रेसले फरक मत राख्न पाउनुपर्ने भनेपछि सभापति पोखरेल फेरि कुर्सीमा बसेका थिए । त्यसपछि सभापति र माओवादी सांसदहरूबीच चर्काचर्की परेको थियो ।

    माओवादी सांसदहरूले सभापति पोखरेलले सुनाएको निर्णय मान्य नहुने भन्दै समितिमा मत विभाजनको माग गरेका थिए । उनीहरूले समिति सचिव एकराम गिरीलाई सभापतिले भनेअनुसार निर्णय नलेखी प्रतिनिधिसभा नियावलीको व्यवस्थाअनुसार मतविभाजन गर्नु सचेत गराएका थिए । घिसिङलाई नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट हटाउने एमालेको निर्देशनअनुसार सभापति पोखरेल चलेको र सोहीअनुसार लेखा समितिमा विषय प्रवेश गराई निर्णय सुनाएको माओवादी सांसदहरूले आरोप लगाएका थिए ।

  • ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदै

    ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनी मंगलबार फर्किने तालिका रहेको छ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ। विदेशमन्त्री अलबुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

  • लोडसेडिङ हटेपछि तीन गुणाले बढ्यो विद्युत खपत

    लोडसेडिङ हटेपछि तीन गुणाले बढ्यो विद्युत खपत

    काठमाडौं । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२-७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०-८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो ।

    आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो । गत आवमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।

    आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८ घण्टा लोडसेडिङ थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । २०७३ को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरका ग्रार्हस्थ तर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । २०७५ वैशाखदेखि सिंगो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

    ८ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जा लगायतबाट विद्युत् उपभोग गरिरहेका छन् । आव वर्षअघि विद्युतका ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुनथालेपछि विद्युत् खपत बढेको बताए ।

    ‘ठूला तथा साना उद्योगहरूले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यसअवधिमा उद्योगहरूको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउन लगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएको छ जसका कारण आन्तरिक रूपमा विद्युतको खपत बढिरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

    ‘हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन्, त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरु योजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको छ,’ उनले भने ।

    उनले आन्तरिक रूपमा विद्युतको खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको बताए । वर्षायामका ६ महिना विद्युत् भारतर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न विद्युत् आयात गर्नु पर्ने अवस्था छ ।

  • साफ यु–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

    साफ यु–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

    पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे । नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने । नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

  • गौशालाबाट नक्कली नेपाली नोट र लागु औषधसहित तीन जना पक्राउ

    गौशालाबाट नक्कली नेपाली नोट र लागु औषधसहित तीन जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-५ घर भई हाल काठमाडौं ९ बस्‍ने ३० वर्षीय एराजुल हक, इलाको फाकफोकथुङ ३ घर भई हाल काठमाडौं-९ बस्‍ने ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामको सूर्योदय नगरपालिका-३ घर भई काठमाडौं-९ बस्‍ने ४७ वर्षीय बोधचन्द्र नामचुङ रहेका छन् ।

    उनीहरूलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनका अनुसार उक्त नेपाली नक्कली नोट १ लाख ९५ हजार ५०० बराबरको बरामद गरेको हो । उनका अनुसार प्रहरीले उनीहरूको साथबाट ७.८१ ग्राम खैरो हेरोइन समेत बरामद गरेको छ ।

  • रामेछापमा पहिरो, दुईको मृत्यु-८ बेपत्ता

    रामेछापमा पहिरो, दुईको मृत्यु-८ बेपत्ता

    काठमाडौं । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि गयराति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको शव भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र ८ जना अझै हराइरहेकाले खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिए ।


    उहाँका अनुसार अहिलेसम्म पहिरोले पुरिएका स्थानीय भिमबहादुर थापामगरको घरमा रहेका ३ जना मध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सो घरमा रहेका भिमबहादुरकी छोरी चण्डीका थापामगर र उनका नाबालक छोराको शव निकालिएको छ । चण्डीका स्थानीय एक आधारभूत विद्यालयका शिक्षिका हुन् ।

    बेपत्ता भनिएका ८ जना मध्ये स्थानीय उर्मिला पहरीको घरमा रहेका ४ जना , काले पहरीको घरमा बसेका ३ जना र एक घरमा रहेकी एक महिलाको खोज कार्य जारी रहेको वडा सदस्य कँडेलले बताए । बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ । गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका ह्युमपाइप बगाएको स्थानीयले बताएका छन् ।

  • धनगढीमा देउवा निवास अगाडी शंकापष्दवस्तु फेला सेनाद्धारा निष्कृय

    धनगढीमा देउवा निवास अगाडी शंकापष्दवस्तु फेला सेनाद्धारा निष्कृय

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि राति १ बजे शङ्कास्पद वस्तु फेला परेको हो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो ।

    बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार सेनाको टोली सो वस्तुलाई निष्क्रिय पारेको छ । झोलामा भाडा वर्तन, तारा र माटो भेटिएको हो ।

  • मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

    मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

    काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

    बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

    दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ

  • साफ यु-२० च्याम्पियनसिप : आज नेपाल र भुटान सेमिफाइनलमा भिड्दै

    साफ यु-२० च्याम्पियनसिप : आज नेपाल र भुटान सेमिफाइनलमा भिड्दै

    काठमाडौं । घरेलु मैदानमा जारी साफ यु २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

    नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले हराएको हो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले हारेको भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेको हो ।

  • अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध

    अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध

    काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् ।

    बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

  • सुनकोशीमा गाडीसहित तीन यात्रु बेपत्ता, एक जनाको उद्धार

    सुनकोशीमा गाडीसहित तीन यात्रु बेपत्ता, एक जनाको उद्धार

    काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा तीन यात्रुसहित जिप खसेको छ । गोताखोरको टोलीले गाडी फेला पारेको छ । त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

    प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।

    गाडिबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन् । उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ । जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो ।

  • पानीबाट बाहिर निकालियो मर्स्याङ्गदीमा खसेको बस

    पानीबाट बाहिर निकालियो मर्स्याङ्गदीमा खसेको बस

    काठमाडौं । आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट शनिबार सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाइ पानी बाहिर निकालेको हो ।

    बस निकाल्नको लागि दमौलीबाट प्राईभेट क्रेन प्रयोग गरिएको थियो । पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडक सम्म निकाल्न सकिएको छैन । आइतबार पनि बस निकाल्ने कार्य जारी रहने छ।

    शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । शनिबार भारतीय एयर फोर्सको जहाजले चितवनबाट शव लिएर स्वदेश फर्किएको छ । घाइतेहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

  • भरतपुरबाट भारतीय वायुसेनाको जहाज बस दुर्घटनाका मृतकको शव लिएर उड्यो

    भरतपुरबाट भारतीय वायुसेनाको जहाज बस दुर्घटनाका मृतकको शव लिएर उड्यो

    काठमाडौं । बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गरिन् ।

    त्यसपछि भरतपुर गई शव जिम्मा लिएर भारत लिएर गएकी हुन् । बस चालक र सहचालकको घर भने नेपाली सीमाबाट नजिकै रहेकाले एम्बुलसेन्सबाट पठाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।